‘फस्ट फ्लस’को चिया टिपाइ धमाधम, गुणस्तरीय उत्पादनको संभावना
इलाम । पूर्वी नेपालको प्रमुख चिया उत्पादन क्षेत्र इलाममा यसवर्ष चियाको पहिलो टिपाई अर्थात् ‘फस्ट फ्लस’ धमाधम भइरहेकोे छ ।
फागुन र चैत महिनाको पहिलो सातामै वर्षा भएकाले मौसम अनुकूल बनेको छ, जसले चिया किसानहरूलाई उत्पादनमा सहयोग पु¥याएको छ । समयमै परेको पानीका कारण चियाका बोटहरूमा नयाँ मुना राम्रोसँग पलाएका छन्, जसले गुणस्तरीय चिया उत्पादनको सम्भावना बढाएको छ ।
फस्ट फ्लस सिजनमा उत्पादन हुने चिया गुणस्तरका हिसाबले सबैभन्दा उत्कृष्ट मानिन्छ । कोमल पात र विशिष्ट सुगन्धका कारण यस प्रकारको चिया अन्तर्राष्ट्रिय बजारमा उच्च मागमा रहने गर्दछ ।
उत्पादनको मात्रा कम भए पनि यसको मूल्य अन्य सिजनको तुलनामा बढी हुने भएकाले किसान र उद्योगीहरूका लागि यो समय विशेष महत्वपूर्ण मानिन्छ ।
चिया टिपाई सुरु भएसँगै जिल्लाका केही चिया कारखानाले हरियो पत्ती प्रशोधन गर्न थालेका छन् । इलाम अर्थोडक्स चिया उत्पादनका लागि देशकै अग्रणी जिल्ला मानिन्छ । यहाँ वार्षिक रूपमा करिब ६० लाख किलो तयारी चिया उत्पादन हुने तथ्यांक रहेको छ ।
जिल्लामा हाल ठूला र साना गरि १०० बढि चिया कारखाना सञ्चालनमा छन् । साथै, करिब १२ हजार किसान चिया खेतीमा संलग्न छन्, जसले उत्पादन गरेको हरियो पत्ती कारखानामा बिक्री गर्दै आएको केन्द्रिय चिया सहकारी संघका महासचिव रबिन राईले जानकारी दिए ।
इलाममा विभिन्न प्रकारका चिया उत्पादन हुने गरेका छन्, जसमा गोल्डन, गोल्डन फ्लस, सिल्भर, गोल्डन ब्ल्याक, ग्रिन लगायतका चिया प्रमुख छन् ।
चियाले आन्तरिक बजारसँगै अन्तर्राष्ट्रिय बजारमा पनि आफ्नो पहिचान बनाएका छन् । विशेष गरी फस्ट फ्लस चियाले विदेशी बजारमा उच्च मूल्य पाउने भएकाले यसको निर्यात सम्भावना उच्च रहेको छ ।
चिनियाँ वैज्ञानिकद्वारा बहुवर्षीय धानको बीउ विकास: अब वर्षौंसम्म एउटै बोटबाट धान फल्ने
काठमाडौं । हजारौं वर्षदेखि किसानहरूले हरेक सिजनमा धानको बीउ रोप्दै आएका छन् । तर अब यो परम्परा बदलिने संकेत देखिएको छ ।
चिनियाँ वैज्ञानिकहरूले यस्तो बहुवर्षीय धानको विकास गरिरहेका छन जुन एक पटक रोपेपछि वर्षौंसम्म फलिरहनेछ ।
चिनियाँ एकेडेमी अफ साइन्सेसका अनुसन्धानकर्ताहरूको टोलीले जंगली धानमा दीर्घायु जीन पहिचान गरेको हो । उनीहरूले उक्त जीनलाई आधुनिक खेती गरिने धानमा सफलतापूर्वक प्रत्यारोपण गरेका छन् । यसबाट धानको यस्तो नयाँ प्रजाति तयार भएको छ, जुन फसल काटिसकेपछि पनि मर्दैन ।
चीनको दक्षिणी टापु प्रान्त हाइनानमा गरिएको परीक्षणमा यी धानका बोटहरूमा अद्भुत जीवनशक्ति देखिएको छ । धान पाकेर काटिसकेपछि पनि बोट सुकेर जानुको सट्टा फेरि नयाँ पालुवा र मुनाहरू पलाउने गरेका छन् ।
यस अनुसन्धानका प्रमुख वैज्ञानिक हान बिन भन्नुहुन्छ, ‘हाम्रो धानले वर्षमा दुई देखि तीन पटकसम्म उत्पादन दिन्छ । अहिलेसम्मको परीक्षणमा एउटै बोट दुई वर्षसम्म जीवित रहन सफल भएको छ । धानको बाला पाकेपछि, त्यसको छेउबाट फेरि नयाँ मुनाहरू निस्कन्छन् । यसमा रहेको दीर्घायु जीनले यसलाई सधैं जवान राख्न मद्दत गर्छ ।
वैज्ञानिकहरूका अनुसार यो बहुवर्षीय धान विशेषगरी पहाडी र भिरालो जमिनका लागि निकै उपयोगी हुनेछ, जहाँ ठूला कृषि मेसिनरीहरू लैजान कठिन हुन्छ । यसले किसानको लागत र मिहिनेत दुवै बचाउने अपेक्षा गरिएको छ ।
यस सम्बन्धी अध्ययन प्रतिवेदन मार्चको अन्त्यमा प्रसिद्ध वैज्ञानिक जर्नल साइन्समा प्रकाशित भएको थियो । यो सफलताले भविष्यमा विश्वको खाद्य सुरक्षामा ठूलो योगदान पु¥याउने विश्वास गरिएको छ । सीसीटीभी
निफ्राको नाफा २८.५३ प्रतिशतले घट्यो
काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा घटेको छ ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले ६४ करोड ३३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा २८.५३ प्रतिशतले कम हो । गत आर्थिक वर्षको सोही अवधिमा बैंकले ९० करोड ७४ हजार रुपैयाँ नाफा कमाएको थियो ।
बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा घटेसँगै नाफामा गिरावट आएको हो । समीक्षा अवधिमा खुद ब्याज आम्दानी २७.०३ प्रतिशतले घट्दा खुद फि तथा कमिशन आम्दानी भने ६६.३५ प्रतिशतले बढेको छ ।
त्यसैगरी कुल सञ्चालन आम्दानी २६.२० प्रतिशत र सञ्चालन मुनाफा २८.४२ प्रतिशतले घटेको छ । वितरणयोग्य मुनाफा पनि ३०.१२ प्रतिशतले घटेर ५३ करोड ७७ लाख रुपैयाँमा सीमित भएको छ । नाफा घटेसँगै बैंकको प्रतिशेयर आम्दानी पनि प्रभावित भएको छ । समीक्षा अवधिमा प्रतिशेयर आम्दानी १ रुपैयाँ ५९ पैसाले घटेर ३ रुपैयाँ ९७ पैसामा झरेको छ ।
चैत मसान्तसम्म बैंकको प्रतिशेयर नेटवर्थ ११५ रुपैयाँ ८४ पैसा रहेको छ भने मूल्य–आम्दानी अनुपात ६७.४४ गुणा रहेको छ । २१ अर्ब ६० करोड रुपैयाँ चुक्ता पूँजी रहेको बैंकको जगेडा कोषमा ३ अर्ब ४२ करोड ५ लाख रुपैयाँ सञ्चित छ । चैत मसान्तसम्म बैंकले ७ अर्ब ८० करोड ३० लाख रुपैयाँ निक्षेप संकलन गरी २८ अर्ब ५४ करोड ६४ लाख रुपैयाँ कर्जा परिचालन गरेको जनाएको छ ।
धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागु हुँदै
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आगामी सोमबारदेखि धितोपत्र कारोबारका लागि नयाँ मूल्य सीमा र सर्किट ब्रेकर सम्बन्धी व्यवस्था लागू हुने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट ‘धितोपत्र कारोबार सञ्चालन (चौथो संशोधन) विनियमावली, २०८२’ स्वीकृत भएसँगै नेप्सेले यो नयाँ व्यवस्था कार्यान्वयनमा ल्याउन लागेको हो ।
नयाँ व्यवस्थाअनुसार अब सूचीकृत कम्पनीहरूको शेयर मूल्य एकैदिन १५ प्रतिशतसम्म घटबढ हुन सक्नेछ । यसअघि यस्तो सीमा १० प्रतिशत मात्र रहेको थियो । बजारलाई थप चलायमान बनाउन र मूल्य निर्धारण प्रक्रियालाई यथार्थपरक बनाउन यो सीमा बढाइएको नेप्सेले जनाएको छ ।
प्रि–ओपन सेसन र सर्किट ब्रेकरमा परिवर्तन
नयाँ विनियमावलीले बजार खुल्नुअघिको प्रि–ओपन सेसनको मूल्य सीमामा पनि परिवर्तन गरिएको छ । यसअघि २ प्रतिशत रहेको यस्तो सीमालाई बढाएर ५ प्रतिशत कायम गरिएको छ । यसले बजार खुल्ने बित्तिकै हुने अस्वाभाविक उतारचढावलाई नियन्त्रण गर्ने अपेक्षा गरिएको छ ।
यसैगरी, नेप्से परिसूचक (इन्डेक्स) मा आधारित सर्किट ब्रेकर प्रणालीलाई पनि सरलीकृत गरिएको छ । अब तीन तहको सट्टा दुई तहको मात्र सर्किट ब्रेकर रहनेछ । कारोबार सुरु भएको दुई घण्टाभित्र बजार सूचक ५ प्रतिशतले घटबढ भएमा १५ मिनेटका लागि कारोबार रोकिनेछ । यदि सूचक ८ प्रतिशतले घटबढ भएमा उक्त दिनको सम्पूर्ण कारोबार बन्द गरिनेछ । यसअघि ४, ५ र ६ प्रतिशतको तीन तहको जटिल सर्किट प्रणाली रहेको थियो । नयाँ व्यवस्थाले बजारको अवरोध कम गरी कारोबारलाई सहज बनाउने लक्ष्य लिएको छ ।
लगानीकर्तालाई के फाइदा हुन्छ ?
नेप्सेका अनुसार मूल्य दायरा बढेसँगै सेयरको वास्तविक माग र आपूर्ति अनुसार मूल्य छिटो समायोजन हुन मद्दत पुग्नेछ । यसले कृत्रिम रूपमा मूल्य रोकिने समस्या हटाउनुका साथै लगानीकर्तालाई छिटो प्रवेश र बर्हिगमनको अवसर प्रदान गर्नेछ । कारोबारको मात्रा बढ्ने र बजार थप गतिशील हुने विश्वास गरिएको छ ।
नियामक निकाय सेबोनले बजारलाई आधुनिक र लचिलो बनाउन यो कदम चालेको भए पनि, बढेको मूल्य सीमाका कारण हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै लगानीकर्ताले सतर्कतापूर्वक लगानी व्यवस्थापन गर्नुपर्ने सुझाव विज्ञहरूको छ ।
हर्मुज जलमार्ग खुला गर्ने घोषणाले अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि
काठमाडौं । इरानले विश्व व्यापारको महत्वपूर्ण जलमार्ग ‘स्ट्रेट अफ हर्मुज’ पुनः खुला गर्ने घोषणा गरेसँगै अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा उच्च वृद्धि भएको छ । न्यूयोर्क मर्केन्टाइल एक्सचेन्जमा भएको कारोबारमा जुन महिनाका लागि तय भएको सुनको मूल्य करिब २ प्रतिशतले बढेको छ ।
मे महिनाका लागि तय भएको चाँदीको मूल्यमा ४ प्रतिशतभन्दा बढीको उछाल आएको छ । इरानको यो घोषणाले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा भने तीव्र गिरावट ल्याएको छ । विश्लेषकहरूका अनुसार तेलको मूल्य घट्दा अल्पकालीन रूपमा मुद्रास्फीतिको दबाब कम हुने र बजारमा सकारात्मक उत्साह बढ्ने देखिएको छ ।
यसै बीच, अमेरिकी डलर कमजोर बन्नु र तेलको मूल्यमा आएको भारी गिरावटले लगानीकर्ताहरूलाई सुन र चाँदीतर्फ आकर्षित गरेको हो । डलर कमजोर हुँदा बहुमूल्य धातुहरूको माग बढ्ने भएकाले मूल्यमा तीव्र वृद्धि देखिएको हो ।
इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले सामाजिक सञ्जाल एक्स मार्फत लेबनानमा भएको युद्धविरामको भावना अनुरुप हर्मोज जलसन्धि सबै व्यावसायिक जहाजहरूका लागि खुला गरिएको जानकारी दिएका छन् । उनले युद्धविरामको बाँकी अवधिसम्मका लागि यो मार्ग पूर्ण रूपमा खुला रहने घोषणा गरेका छन् । ‘लेबनानमा भएको युद्धविरामसँगै हर्मोज जलसन्धिबाट हुने सबै व्यावसायिक पारवहन अब पूर्ण रूपमा खुला गरिएको छ ।’
मधेश र लुम्बिनी प्रदेशका सांसदसँग गृहमन्त्रीको छलफल : सीमापार तस्करी नियन्त्रणमा जोड
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले मधेश र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभा सांसदहरुसँग छलफल गरेका छन् ।
शुक्रबार गृह मन्त्रालयमा उनीहरुबिच सीमापार तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । छलफलमा सांसदहरुले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रुपमा नियन्त्रण गर्नुपर्ने धारणा राखेका छन् ।
सांसदहरुले विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका सुझाव दिएका छन् ।
छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग सम्बन्धित सवालहरु गृह मन्त्रालयले कार्यान्वयन गर्ने र अर्थ मन्त्रालयसँग सम्बन्धित विषयमा अर्थ मन्त्रालयसँग थप छलफल गरी समाधान गर्ने भएको छ ।
धितोपत्र बोर्डका अध्यक्षले किन दिए राजिनामा ?
काठमाडौं । नेपाल धितोपत्र बोर्ड का अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएका छन् ।
शुक्रबार साँझ बोर्ड सञ्चालक समितिको बैठक बोलाएका अध्यक्ष श्रेष्ठले बैठकमै राजीनामा दिने निर्णय सुनाउँदै पदबाट अलग भएका हुन् । त्यसपछि उनी राति करिब ९ बजे अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा राजीनामा पत्र बुझाएका थिए ।
अर्थ मन्त्रालय स्रोतका अनुसार श्रेष्ठले आफ्नो राजीनामा स्वेच्छिक रहेको बताएका छन्। उनले सरकारलाई सहयोग पु¥याउन र आवश्यक मार्ग प्रशस्त गर्न आफूले राजीखुसीले पद त्यागेको स्पष्ट पारेका थिए ।
बैठकमा उनले व्यक्तिगत कारण देखाउँदै राजीनामा दिन लागेको जानकारी गराएका थिए। बोर्डका एक उच्च अधिकारीका अनुसार उनले सबैलाई धन्यवाद दिँदै पदबाट बिदा लिएका हुन् ।
सरकारले उनलाई २०८१ मंसिर १० गते बोर्ड अध्यक्षमा नियुक्त गरेको थियो ।यद्यपि, अध्यक्ष श्रेष्ठले राजीनामा दिनुको ठोस कारण सार्वजनिक रूपमा खुलाइएको छैन । उनले “व्यक्तिगत कारण” उल्लेख गरे पनि त्यसको विस्तृत विवरण बाहिर आएको छैन ।
चीनमा मोती प्रशोधन उद्योग चम्कियो
एजेन्सी । दक्षिणी चीनको हेनानमा विशेष भन्सार सञ्चालन सुरु भएदेखि, टापु प्रान्तको मोती प्रशोधन उद्योग चम्किएको छ ।
गत वर्षको डिसेम्बरमा लागू गरिएका नयाँ नीतिहरू अन्तर्गत, अन्य देशहरूबाट आयात गरिएका केही कच्चा मोती सामग्रीहरूलाई आयात शुल्क, आयात मूल्य अभिवृद्धि कर र उपभोग करबाट छुट दिइएको छ ।
कच्चा पदार्थको कम लागतका कारण हाइनानमा मोती किनमेल गर्न गहना कम्पनीहरूको संख्या बढ्दै गएको छ ।
‘डिसेम्बर २०२५ मा हेनानले टापुव्यापी विशेष भन्सार सञ्चालन सुरु गरेको थाहा पाएपछि, हामीले जनवरी २०२६ मा सान्याको भ्रमण गर्यौं र फेब्रुअरी १५ मा हाम्रा सबै व्यापार इजाजतपत्रहरू प्राप्त गर्यौं,’ एक गहना कम्पनीका चेन वेइहुआले भने ।
नीतिहरू लागू भएको दुई महिनामा, हाइनानको वैदेशिक व्यापार वार्षिक रूपमा लगभग ३० प्रतिशतले बढेको छ र सोही अवधिमा निर्यात ५५ प्रतिशतभन्दा बढीले बढेको छ। (सीसीटीभीप्लस)
देशभर ४२ वटा शाखा समायोजन गर्दै एनआईसी एशिया बैंक
काठमाडौं । एनआईसी एशिया बैंकले देशभर आफ्ना विभिन्न ४२ वटा शाखा कार्यालयहरू समायोजन (मर्ज) गर्ने निर्णय गरेको छ । बैंकले जारी गरेको सूचनाअनुसार आजदेखि विभिन्न स्थानमा रहेका शाखाहरू एकआपसमा गाभिएर सेवा दिनेछन् ।
बैंकका अनुसार समायोजनपछि तोकिएका शाखा कार्यालयहरूबाटनै सम्पूर्ण बैंकिङ सेवा प्रदान गरिनेछ । यस प्रक्रियाबाट ग्राहकहरूमा पर्न सक्ने असुविधाप्रति बैंकले क्षमायाचना गर्दै सेवा अझ प्रभावकारी बनाउने उद्देश्य रहेको जनाएको छ ।
सूचनाअनुसार बागमती प्रदेशअन्तर्गत काठमाडौं, ललितपुर र चितवनका धेरै शाखाहरू समायोजनमा परेका छन् । काठमाडौंका नागपोखरी, पुतलीसडक, दरबारमार्ग, ज्ञानेश्वर, बागबजार, बोहोराटार, माछापोखरी, ढंगेधारा नर्सरी चोक, न्युरोड खिचापोखरी, बालुवाटार, नरेफाँट लगायतका शाखाहरू गाभिएर क्रमशः कमलादी, बालाजु, न्युरोड विशालबजार, बौद्ध, कोटेश्वर, लाजिम्पाट, नयाँ बानेश्वर, कलंकी, सुकेधारा, सामाखुसी, ठमेल, त्रिपुरेश्वर र बत्तिसपुतली शाखाबाट सेवा दिइनेछ ।
त्यस्तै ललितपुरका लगनखेल, मंगलबजार, सातदोबाटो, खुमलटार र खोकना शाखाहरू गाभिएर जावलाखेल, पुल्चोक, सातदोबाटो र भैंसेपाटीबाट सेवा सञ्चालन हुनेछ भने चितवनको बर्सेनी शाखा हाकिमचोक शाखामा समायोजन गरिएको छ ।
गण्डकी प्रदेशअन्तर्गत कास्कीका पावरहाउस चोक, बुद्धिबजार, महेन्द्रपुल–पोखरा, बगर र बिरौटा शाखाहरू क्रमशः लेखनाथ, अमरसिंह चोक, न्युरोड पोखरा र लेकसाइड–पोखरामा समायोजन गरिएका छन् ।
कोशी प्रदेशको मोरङ जिल्लामा विराटनगर मेनरोड, हाटखोला तथा रानी मिल्स एरियाका शाखाहरू गाभिएर विराटनगर र रोडशेष चोक शाखाबाट सेवा प्रवाह गरिनेछ भने मधेस प्रदेशको पर्सामा लिंक रोड र पावरहाउस चोक शाखा वीरगञ्ज शाखामा समायोजन गरिएको छ ।
बैंकले ग्राहकहरूलाई समायोजनपछि सम्बन्धित शाखाबाट सेवा लिन अनुरोध गरेको छ । साथै थप जानकारीका लागि बैंकको ग्राहक सेवा नम्बर ०१–५९७०१०१ वा इमेलमार्फत सम्पर्क गर्न सकिने जनाएको छ ।
डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि : पेट्रोलको मूल्य यथावत्
काठमाडौं । नेपाल आयल निगमले डिजेल, मट्टितेल र हवाई इन्धनको मूल्यमा वृद्धि गरेको छ । निगम सञ्चालक समितिको बैठकले बैशाख ३ गते बिहानदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
विज्ञप्ति अनुसार डिजेल र मट्टितेलमा प्रतिलिटर ३० रुपैयाँ र हवाई इन्धन (आन्तरिकतर्फ) मा प्रतिलिटर ५ रुपैयाँ वृद्धि गरिएको छ । यद्यपि, पेट्रोलको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर बढिरहेको र इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएकाले मूल्य समायोजन गर्नुपरेको निगमको तर्क छ । निगमका अनुसार यो मूल्य वृद्धिपछि पनि डिजेलमा प्रतिलिटर ९.१६ रुपैयाँ घाटा नै रहने देखिन्छ ।
विगत १५ दिनमा मात्रै निगमलाई करिब ७ अर्ब ८१ करोड ६१ लाख रुपैयाँ घाटा भएको र अहिलेको समायोजनपछि पनि पाक्षिक रूपमा ५ अर्ब ७५ करोड घाटा हुने अनुमान गरिएको छ । निगमले उपभोक्ताहरूलाई पेट्रोलियम पदार्थको प्रयोगमा मितव्ययिता अपनाउन समेत अनुरोध गरेको छ ।