शल्यक्रिया गर्न पालो कुर्नुपर्ने समस्या अन्त्य गरिने
काठमाडौँ, १९ जेठ I सरकारले सरकारी स्वास्थ्य संस्थामा उपचार तथा शल्यक्रियाका लागि लामो समयसम्म पालो पर्खनुपर्ने अवस्था अन्त्य गर्न अध्ययन गरी प्रतिवेदन पेस गर्न उच्चस्तरीय समिति गठन गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले शुक्रबार मन्त्रिस्तरीय निर्णयबाट अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको मन्त्रालयले जनाएको छ ।
सरकारी अस्पतालमा नागरिकले सहजरुपमा स्वास्थ्य सेवा पाउन नसकेको गुनासा आएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त समस्याको दीर्घकालीन समाधानका लागि आवश्यक कदम चाल्न स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवलाई निर्देशन दिनुभएको थियो । समितिले काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालको स्थलगत अनुगमन गरी अस्पतालमा शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नुपर्ने, प्रेषण (रिफर), सेवाको गुणस्तर तथा प्रक्रियागत झन्झटलगायत अवस्थाका बारेमा अध्ययन गर्ने कार्यादेश दिइएको छ ।
यसैगरी नागरिकको शल्यक्रियाका लागि भइरहेको ढिलाइको कारण, अस्पतालको विद्यमान शल्यक्रिया सेवा दिने विशेषज्ञ चिकित्सकको सङ्ख्या र उनीहरुको दैनिक सेवा विवरण तयार पार्नसमेत समितिलाई निर्देशन दिइएको छ । समितिले अस्पतालबाट प्रवाह हुने बहिरङ्ग (ओपिडी) सेवा सम्बन्धमा सो क्षेत्र हेर्ने चिकित्सकको सङ्ख्या, निजहरुले दैनिक बिरामी हेरेको सङ्ख्या र प्रेषणको अवस्थाका बारेमा विस्तृत विवरण तयार पार्नेछ ।
समितिले अस्पतालमा प्रवाह हुने प्रयोगशाला तथा रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यन्त्र ‘रिफर’ गरेको भए सोको विवरण प्रस्तुत गर्नेछ । अस्पतालमा बिरामीको चाप, जनशक्ति, साधनस्रोत एवं अन्य पूर्वाधारको अवस्था अध्ययन गरी समयमै गुणस्तरीय सेवा प्रवाह भए÷नभएको अवस्था जानकारी गराउँदै समितिले सुझाव पेस गर्ने मन्त्रालयले जनाएको छ । कार्यादेशमा उल्लेख भएका विवरणसहित दुई साताभित्र प्रभावकारी स्वास्थ्य व्यवस्थापन गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन कार्ययोजना पेस गर्न निर्देशन दिइएको छ ।
मन्त्री यादवद्वारा समिति गठन
काठमाडौँ, १८ जेठ I देशभरका अस्पतालमा बिरामीले शल्यक्रियाका लागि लामो समयसम्म पालो कुर्नु परेको गुनासो बढ्दै गएपछि स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले यसको समाधानका लागि एउटा विशेष समिति गठन गर्नुभएको छ ।
मन्त्री यादवले मन्त्रालयका अतिरिक्त स्वास्थ्य सचिव डा दीपेन्द्ररमण सिंहको संयोजकत्वमा समस्याको अध्ययन गर्दै समाधान र सुझावसहितको प्रतिवेदन प्रस्तुत गर्न तीन सदस्यीय समिति गठन गर्नुभएको हो । समितिमा गुणस्तर मापन तथा नियमन महाशाखा प्रमुख डा मदनकुमार उपाध्याय सदस्य र वरिष्ठ जनस्वास्थ्य प्रशासक डा गुणनिधि शर्मा सदस्यसचिव रहनुभएको छ ।
मन्त्री यादवले भन्नुभयो, “सङ्घीय अस्पतालमा शल्यक्रियाका लागि महिनौँ कुर्नुपर्ने, पालो नपाएको र उपचारमा ढिलाइ भएको गुनासा बढ्दै गएपछि गहन अध्ययन गरेर समाधानका उपाय पहिल्याउनुपर्ने आवश्यकता देखिएपछि समिति गठन गरिएको हो ।”
धेरै समयदेखि दुर्गम र टाढाबाट आउनुभएका बिरामीले शल्यक्रियाका लागि पालो नपाएको, उपचारमा ढिलाइ भएको र अस्पतालहरूले अन्य धेरै लापरबाही गरेको गुनासो आइरहेको छ । मन्त्री यादवले भन्नुभयो, “उहाँहरूलाई छिटोछरितो तरिकाले सेवा कसरी प्रदान गर्ने र अन्य सेवाहरू चुस्त दुरुस्त बनाउन तत्काल पहल गर्न आवश्यक कार्यबारे समितिले अध्ययन गर्ने छ ।”
समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाभित्रका सङ्घीय अस्पतालहरूको अनुगमन गर्नेछ । अनुगमनका क्रममा बिरामीहरूले शल्यक्रियाका लागि के–के कारणले लामो समयसम्म पालो कुर्नु परेको छ, प्रेषणको अवस्था, सेवाको गुणस्तर र प्रक्रिया, विशेषज्ञ चिकित्सकहरूको सङ्ख्या र उहाँहरूले दिने सेवाको विवरणजस्ता विषयवस्तुको अध्ययन गरिने छ । साथै समितिले अस्पतालबाट प्रदान गरिने बहिरङ्ग (ओपिडी) सेवाको विस्तृत अध्ययन गर्नेछ । ओपिडी सेवा हेर्ने चिकित्सकको सङ्ख्या, उहाँहरूले दैनिक रूपमा हेर्ने बिरामीको सङ्ख्या, प्रेषणको अवस्था, प्रयोगशाला र रेडियोलोजी सेवाको विस्तृत विवरण तथा सोही सेवाका लागि अन्यत्र रेफर गरिएका बिरामीको विवरण पनि सङ्कलन गर्ने छ ।
स्वास्थ्य सेवा पहुँचमा समानता, समयबद्धता र गुणस्तर सुनिश्चित गर्ने उद्देश्यले गठन गरिएको समितिले स्वास्थ्य सेवामा सुधारका लागि विस्तृत अध्ययन प्रतिवेदन तयार पार्ने र आवश्यक सुधारका लागि ठोस कार्य योजनाहरू प्रस्तुत गर्ने मन्त्री यादवले बताउनुभयो । समितिलाई दुई साताभित्र विस्तृत विवरणसहितको प्रतिवेदन प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिनुभयो ।
संरक्षण अभावमा गौश्वारका प्राचीन सम्पदा जीर्ण बन्दै
गलेश्वर (म्याग्दी), १८ जेठ I बेनीबजारबाट १० किलोमिटर दक्षिणमा अवस्थित बेनी नगरपालिका–२ ज्यामरुककोटको गौश्वारामा मल्लकालीन वास्तुकलाका एक सय वर्ष पुराना ढुङ्गेघर दिनप्रतिदिन जीर्ण बन्दै गएका छन् ।
विसं १९७८–७९ मा सिर्मु र सालका काठमा कुँदिएका कलात्मक बुट्टा, चिल्ला र बाक्ला ढुङ्गाले छाएको धुरी र पालीमुनि टुँडाल राखेर निर्माण गरिएका आकर्षक ढुङ्गेघर संरक्षण अभावमा जीर्ण भएका हुन् ।
मल्ल र राणाकालीन इतिहास दर्शाउने तीनतले ढुङ्गेघर प्राचीन दरबारजस्ता लाग्छन् । मल्ल र राणाकालीन इतिहासको साक्षी बनेका यी घर मल्ल र ठकुरीहरू बसाइँसराइका कारण अलपत्र परेका हुन् । विसं २०४५ सम्म मल्ल वंशीय ठकुरीहरूको बसोबास रहेको यो गाउँका मानिस २०४६ सालमा प्रजातन्त्र पुनःस्थापना भएसँगै बसाइँ सरेपछि घर अलपत्र परेका बेनी नगरपालिका–२ का वडासदस्य चन्द्रकान्त रिजालले बताउनुभयो ।
प्राचीन ती घरको मर्मसम्भार गरेर घरवरपरको क्षेत्रलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने तथा बागलुङको पञ्चकोट, म्याग्दीको गलेश्वर र मुस्ताङको मुक्तिनाथ भ्रमणमा जाने पर्यटकलाई पनि आकर्षण गर्न सकने प्रशस्त सम्भावना भएको वडा सदस्य रिजालले बताउनुभयो ।
गौश्वारामा सुदर्शन मल्ल, माधव मल्ल, घनश्याम मल्ल, परमेश्वर मल्ल र विश्वबम मल्लको स्वामित्वमा रहेका सय वर्षभन्दा बढी पुराना घर गौश्वारा गाउँका सम्पदा भएकाले तिनको सुरक्षा र मर्मतसम्भारमा घरधनी र समुदाय दुवैले चासो दिनुपर्ने स्थानीय बुद्धिजीवी रत्नबम मल्लले बताउनुभयो ।
हाल गौश्वारा गाउँका मल्लकालीन वास्तुकलाका पाँच घरमध्ये दुईमा मात्र बसोबास छ भने तीन घर जीर्ण छन् । भावी पुस्तालाई आफ्ना पूर्वजहरूको निवासको परिचय गराउने यी घर संरक्षण गर्नुपर्ने स्थानीय अर्जुन माध्यमिक विद्यालयका पूर्वप्रधानाध्यापक टीकाबहादुर कार्कीले बताउनुभयो ।
त्यसैगरी मालिका गाउँपालिका वडा नं ६ तल्लो दुखुको रातोढुङ्गामा शेरचन र भट्टचनले निर्माण गरेका एक सय वर्षभन्दा पुराना सातवटा ढुङ्गेघर पनि संरक्षणको अभावमा जीर्ण भएका छन् ।
पेट्रोलियम पदार्थ अन्वेषण : दर्जनौ कामदार उत्खननमा व्यस्त
दैलेख, १८ जेठ I जिल्लाको भैरवी गाउँपालिका–१ जलजलेमा पेट्रोलियम पदार्थ उत्खनन एवं अन्वेषणमा दर्जनौ कामदार एवं प्राविधिक जुटेका छन् ।
उत्खखनका क्रममा दुई सय १८ मिटर ड्रिलिङ भएको छ । ड्रिलिङ चार हजार पाँच सय मिटरसम्म गरिने खानी तथा भूगर्भ विभागअन्तर्गतको पेट्रोलियम अन्वेषण परियोजनाका सूचना अधिकारी प्रकाश लुइँटेलले बताउनुभयो ।
कामदार अहोरात्र खटेका र आलोपालो प्रणाली लागु गरेर काम भइरहेको जानकारी दिँदै उहाँले आगामी चार महिनाभित्र उत्खनन पूरा गर्ने लक्ष्यका साथ काम भइरहेको बताउनुभयो
चीन सरकारसँग २०७५ सालमा भएको सम्झौताअनुसार रु दुई अर्ब ५० करोड अनुदानमा अन्वेषण थालिएको हो ।
सुम्लिखामा यलम्बर उद्यान
खोटाङ, १८ जेठ I खोटेहाङ गाउँपालिका–२ वाप्लुखास्थित सुम्लिखामा किराँती प्रथम राजा यलम्बरको सालिकसहितको पार्क (उद्यान) स्थापना गरिएको छ । खोटेहाङ गाउँपालिका र वडा कार्यालय वाप्लुखाको क्रमागत योजनाअन्तर्गत सात वर्ष लगाएर सुम्लिखामा रु ७० लाख लागतमा पार्क स्थापना गरिएको हो ।
वाप्लुखाका स्थानीय जफतजङ खिम्दुङ राईले निःशुल्क उपलब्ध गराउनुभएको दुई रोपनी जग्गामा स्थापना गरिएको पार्कमा फाइवरबाट निर्माण गरिएको यलम्बरको पूर्णकदको सालिक राखिएको छ । पार्कभित्र नौ फिट अग्लो यलम्बरको पूर्णकदको सालिक, खानेपानीको धारा, प्रतिक्षालय, फलैँचा, सामुदायिक भवनलगायतका संरचना निर्माण गरिएका छन् ।
उद्यान स्थापनाले किराँत समुदायको संस्कृति संरक्षण हुनुका साथै आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको स्थानीय शिक्षक नयन्द्र खिम्दुङ राईले बताउनुभयो । “सुम्लिखामा बान्तावा राई जातिको सेउली लगाउने घर छ । हामीहरू साकेला नाचिसकेपछि त्यो घरमा सेउली मार्छौँ अर्थात् थन्क्याउँछौँ”, उहाँले भन्नुभयो, “यही ऐतिहासिकस्थलको विकास गर्न वडा तथा गाउँपालिकाको लगानीमा पार्क स्थापना गरिएको हो । यसले गाउँपालिकाको आन्तरिक पर्यटन विकासमा समेत सहयोग पुग्ने अपेक्षा गरिएको छ ।”
किराँत राई बान्तावा समुदायको ऐतिहासिकस्थल सुम्लिखामा स्थापना गरिएको यलम्बर पार्क बिहीबार गाउँपालिका प्रमुख उदिमबहादुर राईले औपचारिकरुपमा उद्घाटन गर्नुभएको थियो । बान्तावा राई समुदायले पुज्दै आएको ‘सावा सकेला थान’ नजिकै निर्माण गरिएको यलम्बर पार्क उद्घाटन कार्यक्रमको अवसर पारेर साकेला सिलीसमेत प्रदर्शनी गरिएको स्थानीय इन्द्रहाङ किराँतीले जानकारी दिनुभयो ।
वाप्लुखाका वडाध्यक्ष पारस राईको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा गाउँपालिका प्रमुख राई, वडा नं ९ लिच्किराम्चेका वडाध्यक्ष इन्द्रबहादुर राई, किराँती पुर्खालगायतको उपस्थिति रहेको थियो । सुम्लिखामा हरेक वर्षको उभौली र उधौलीमा साकेला सिलीको सेउली मार्ने चलन रहेको छ ।
जिल्लाका दश स्थानीय तहमा पछिल्लो समय धार्मिक, ऐतिहासिक एवं पुरातात्विकस्थलहरु संरक्षण तथा प्रवर्द्धनका काम तीव्रगतिमा भइरहेका छन् ।
बेलबारीमा बाल कला महोत्सव
बेलबारी (मोरङ), १८ जेठ I विद्यालयस्तरका बालबालिकाको प्रतिभा प्रस्फुट गर्ने उद्देश्यले बेलबारी प्रज्ञा प्रतिष्ठानको आयोजनमा बिहीबार देखि यहाँ बाल कला साहित्य महोत्सव जारी छ । दुईदिने महोत्सवमा कथा, कविता, गायन, वक्तृत्वकला, चित्रकला, नृत्यकलाका कार्यशाला हुनेछन् ।
बेलबारी बहुमुखी क्याम्पस परिसरमा जारी महोत्सवका निम्ति बेलबारी नगरपालिकाले रु चार लाख ८० हजार अनुदान दिएको हो । महोत्सवको उद्घाटन गर्दै बेलबारी नगरपालिकाका प्रमुख दिलप्रसाद राईले नगरको प्राज्ञिक उन्नयनका लागि क्रियाशील बेलबारी प्रज्ञा प्रतिष्ठानले बालबालिकाको सृजनाशीलता विकासमा जोड दिँदै नगरपालिकासँग सहकार्य गरेकामा त्यसको सराहना गर्नुभयो ।
प्राध्यापक टङ्कप्रसाद न्यौपानेले प्रदेशस्तरीय प्रज्ञा प्रतिष्ठान नभए पनि केही पालिकामा प्रज्ञा प्रतिष्ठान स्थापना हुनु सुखद भएको बताउँदै भाषा, साहित्य कलाको संरक्षण एवं विकासका निम्ति काम गर्न सबै पालिकालाई सुझाव दिनुभयो ।
बजेट पारदर्शितामा नेपाल ५८औँ स्थानमा
काठमाडौँ I बजेट पारदर्शिताको मापन गर्ने सर्वव्यापी खुला बजेट सर्वेक्षणको प्रतिवेदन-२०२३ मा नेपालको बजेट पारदर्शिताको अङ्क ५० रहेको छ । सर्वेक्षण गरिएका एक सय २५ देशमध्ये नेपाल ५८औँ स्थानमा छ ।
अन्तर्राष्ट्रिय बजेट साझेदारी (आइबिपी) ले हिजो जारी गरेको प्रतिवेदनमा एक सय एक सय २५ देशको सन् २०२२ को राष्ट्रिय बजेटका आधारमा गरिएको सर्वव्यापी सर्वेक्षणका नतिजाहरू प्रकाशन भएका छन् । नेपालले खुला बजेट सर्वेक्षणका मुख्य तीन विषयमध्ये बजेट पारदर्शिताको अवस्थामा सयमा ५० अङ्क पाए पनि बजेटको निगरानीमा ४६ अङ्क र बजेट प्रक्रियामा जनसहभागिताको अवस्थामा ३१ अङ्क मात्रै प्राप्त गरेको फ्रिडम फोरमले विज्ञप्तीमार्फत आज जनाएको छ ।
खुला बजेट सर्वेक्षणमा ६१ अङ्क वा सोभन्दा बढी प्राप्त भएमा मात्र सोसम्बन्धी देशको बजेटको सन्दर्भमा सुसूचित सार्वजनिक बहसका लागि पर्याप्त सामग्री प्रकाशन गरिएको मानिन्छ । यस सर्वेक्षणमा बजेटअन्तर्गत आठ बजेट दस्तावेजको अनलाइन माध्यममा उपलब्धता, सूचनाको गुणस्तरीयता र समयबद्धतासँग सम्बन्धित एक सय नौ सूचकमा लेखाजोखा गरिन्छ ।
हरेक दुई वर्षमा सार्वजनिक हुने यो सर्वेक्षण प्रतिवेदन नवौँ संस्करण हो । यस अगाडि २०२१ मा जारी भएको प्रतिवेदनमा नेपाल ७७औँ स्थानमा थियो । सर्वेक्षणको सातौँ संस्करणमा भने नेपाल ६५औँ स्थानमा थियो । “नेपालको बजेट पारदर्शिताको अवस्थामा थोरै सुधार भए पनि सर्र्वव्यापी रूपमा औसत ६१ अङ्क ल्याउनु चुनौतीभन्दा धेरै पछाडि देखिएको छ”, विज्ञप्तिमा उल्लेख छ ।
किम्फमा ‘डान्सिङ इन फायर’
काठमाडौँ, १७ जेठः नेपाली समाजमा रहेको वायु उतार्ने र खली खाने परम्परामा आधारित वृत्तचित्र ‘डान्सिङ इन फायर’ काठमाडौँमा जारी २१औँ काठमाडौँ अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा आज प्रदर्शन गरिएको छ ।
नेपालको खलीखाने चलन र जनस्वास्थ्यका विषयमा चार दशकदेखि अध्ययन गरिरहनुभएका अमेरिकी मानवशास्त्री अल्फ्रेड पार्कले निर्माण गर्नुभएको यो वृत्तचित्रलाई रमेश खड्काले निर्देशन गर्नुभएको छ ।
आफ्नो घर तथा कुलमा अकालमा मृत्यु भएका व्यक्तिहरु ‘काँचो वायु’ भएर रहन्छन् र उनीहरुको आत्मालाई पूजाको विधिद्वारा ‘वायु उतार्ने’ जनविश्वास काठमाडौँ उपत्यका आसपासका क्षेत्रमा छ । सोही प्रचलनलाई आधार बनाएर चाँगुनारायण नगरपालिकाको जीतपुरफेदी खड्का गाउँमा भएको वायु उतार्ने र खली खाने चलनलाई समेटिएको वृत्तचित्र ‘डान्सिङ इन फायर’ विश्वका विभिन्न प्रतिष्ठित अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।
एक महिना लामो वायु उतार्ने प्रक्रिया, उनीहरुको सामाजिक माहोल र मृत्युको दुःखबाट छुटकारा पाउन परिवार र सिङ्गो समाजले गरेका गतिविधिमा केन्द्रित वृत्तचित्रलाई किम्फमा मन पराइएको छ ।
“यहाँको प्रदर्शनमा पनि राम्रो प्रतिक्रिया पाएका छौँ । विश्वकै लागि नौलो र फरक विषयवस्तु भएकाले अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा यसलाई सहभागी गराइएको छ । यसले पाइरहेको अन्तर्राष्ट्रिय सफलताप्रति हामी खुसी छौँ”, निर्देशक खड्काले भन्नुभयो ।
गत चैतमा फ्रान्सस्थित पेरिसमा सम्पन्न इथ्नो अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा पहिलो प्रदर्शनी (प्रिमियर) गरिएको वृत्तचित्र फ्रान्सकै कान्स विश्व चलचित्र महोत्सव, जर्मनीको ब्रान्डेनवर्ग अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।
उहाँका अनुसार वृत्तचित्र सिङ्गापुर अन्तर्राष्ट्रिय चलचित्र मेलामा ‘आउटस्ट्यान्डिङ डकुमेन्ट्री’ पुरस्कार, स्वीडिस अन्तर्राष्ट्रिय मोसन पिक्चर अवार्ड र फुकेट अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा ‘उत्कृष्ट वृत्तचित्र’को पुरस्कार जित्नुका साथै डक अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भुटान, दुबई अन्तर्राष्ट्रिय चलचित्र कार्निभल, साउथ एसियन अन्तर्राष्ट्रिय चलचित्र महोत्सव फ्लोरिडामा प्रदर्शन भइसकेको छ ।
यसका साथै यही जेठमा अमेरिकामा हुने फिल्म सोसाइटी अफ समिट २०२४ र अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छनोट भइसकेको छ ।
राप्तीका विद्यालयमा तामाङ भाषामा पढाइ हुने
मुग्लिन (चितवन), १७ जेठ I चितवनको राप्ती नगरपालिकाका विद्यालयमा अब तामाङ भाषामा पनि पढाइ हुने भएको छ । यही शैक्षिक सत्र देखि नगरभित्रका तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ भाषामा पढाइ हुने भएको हो ।
नगरपालिका प्रमुख शमशेर लामाका अनुसार कक्षा सञ्चालन तयारी गर्न शिक्षकका लागि आजदेखि मातृभाषामा पढाइको तालिम दिन थालिएको छ । तामाङ विद्यार्थीको बाहुल्यता रहेका विद्यालयमा तामाङ तथा गैर तामाङ समुदायका शिक्षकलाई मातृभाषाको तालिम दिन थालिएको नगर प्रमुख लामाले जानकारी दिनुभयो ।
नगरभित्र तामाङ समुदायको बाहुल्यता भएका वडामा भाषाको समस्या भएकाले पठनपाठनमा सहज बनाउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको नगर प्रमुख लामाले बताउनुभयो । उहाँले भन्नुभयो, “भाषाको समस्याले बालबालिकालाई पठनपाठनमा समस्या हुदैँ आएको छ । कतीपय बालबालिकाले नेपाली भाषा राम्रोसँग बुझ्दैनन् । सिकाइमा प्रभावकारीता ल्याउन तामाङ भाषामा कक्षा सञ्चालन गर्न लागिएको हो ।”
बाँकेमा गर्मीले खोप अभियान प्रभावित
नेपालगञ्ज १७ जेठ I अत्यधिक गर्मीका कारण बाँकेमा पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको छ । गर्मी र तातो हावा ‘लु’ का कारण नेपालगञ्ज उपमहानगरपालिका, कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिकाका विद्यालय पाँच दिन बन्द भएकाले सो अभियान प्रभावित भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।
बाँकेका खोप स्रोत व्यक्ति नरेश श्रेष्ठले गर्मीका कारण अधिकांश स्थानीय तहले विद्यालय बन्द गरेकाले पोलियो रोगविरुद्धको आइपिभी खोप अभियान प्रभावित भएको जानकारी दिनुभयो । उहाँले यही जेठ १३ गतेबाट जिल्लाका ३५ हजार सात सय पाँच बालबालिकालाई आइपिभी खोप दिने लक्ष्यका साथ सुरु गरिएको अभियानअन्तर्गत जेठ १५ गते बेलुकासम्म १७ हजार तीन सय ३५ बालबालिकालाई खोप दिइसकिएको बताउनुभयो ।
विद्यालय बन्द भएपछि विद्यालयमा स्थापना गरिएका खोप केन्द्रलाई समुदायमा स्थानान्तरण गरेर समुदायमा खोप दिन सुरु गरिएको थियो । खोप अभियान सुरु भएको तीन दिनमा आठ हजार तीन सय ७७ बालिका र आठ हजार नौ ५८ बालक गरेर १७ हजार तीन सय ३५ लाई खोप दिइएको स्वास्थ्य कार्यालयले जनाएको छ । सो कार्यालयका अनुसार हालसम्म लक्ष्यको करिब ४९ प्रतिशत बालबालिकालाई खोप दिइएको छ ।
त्यसमध्ये सबैभन्दा बढी बैजनाथ गाउँपालिकामा ६९ प्रतिशत र सबैभन्दा कम नेपालगञ्ज उपमहानगरपालिकामा करिब ३८ प्रतिशतलाई खोप दिइएको श्रेष्ठको भनाइ छ । बालबालिकालाई पोलियो रोगविरुद्धको आइपिभी खोप दिने अभियान जिल्लाका आठ स्थानीय तहमा आइतबारबाट सुरु गरिएको थियो । खोप दिनका लागि जिल्ला भरि दुई सय ४३ खोप केन्द्र कायम गरिएको थियो ।
राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत जेठ १३ बाट जेठ २६ गतेसम्म सो अभियान सञ्चालन गरिने जनाइए पनि लक्षित सबै बालबालिकालाई खोप नदिएसम्म अभियान जारी रहने स्वास्थ्य कार्यालयका प्रमुख अङ्गदबहादुर शाहीले बताउनुभयो ।