आइतबार, ०७ असार २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HZ2GTHNR54SCYJEJFQEKH60S.jpg

सन् २०२४ मा विश्व बेरोजगारी थोरै कम हुने

यस वर्ष विश्वव्यापी बेरोजगारी थोरै घट्ने राष्ट्रसङ्घीय एजेन्सीले बुधबार जनाएको छ । यद्यपि एजेन्सीले असमानतालाई सम्बोधन गर्न ‘ढिलो प्रगति’ को चेतावनी दिँदै वृद्धिको अघिल्लो भविष्यवाणीलाई उल्ट्याएको छ ।

अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) ले सन् २०२४ मा विश्वव्यापी बेरोजगारी दर चार दशमलव नौ प्रतिशत हुने अनुमान गरेको छ । यो सन् २०२३ मा पाँच प्रतिशतबाट बढेर यस वर्ष पाँच दशमलव दुई प्रतिशत हुने पूर्वानुमानपछि आएको हो ।

जेनेभास्थित आधारित राष्ट्रसङ्घीय एजेन्सीले एक प्रतिवेदनमा सन् २०२५ मा यो दर दर चार दशमलव नौ प्रतिशतमा रहने प्रक्षेपण गरेको छ । यद्यपि आइएलओले चेतावनी दिँदै भनेको छ, “श्रम बजारमा असमानता कायम छ, कम आय भएका देशहरूमा महिलाहरू विशेषरूपमा प्रभावित छन् ।”

प्रतिवेदनअनुसार १८ करोड ३० लाख मानिसले बेरोजगारीको परिभाषा पूरा गर्छन् । अर्थात उनीहरू सक्रियरूपमा कामको खोजीमा छन् र तुरुन्त उपलब्ध छन् । तर काम गर्न चाहने कामबिनाको व्यक्तिको सङ्ख्या ४० करोड २० लाख पुगेको छ ।

महिलाहरू अनिच्छापूर्वक कामबाट बाहिर हुने र अवसरहरूको अभावबाट असमानरूपमा प्रभावित हुने सम्भावना रहेको एजेन्सीले जनाएको छ । कम आय भएका देशहरूमा महिलाहरू विशेषगरी पीडित रहेका थिए । पुरुषहरूको १५ दशमलव तीन प्रतिशतको तुलनामा २२ दशमलव आठ प्रतिशत महिलाले काममा नभएको काम चाहन्थै । उच्च आय भएका देशहरूको लागि महिलाहरूको यो दर नौ दशमलव सात र पुरुषहरूका लागि सात दशमलव तीन प्रतिशत थियो ।

महिलाहरूले पुरुषको तुलनामा श्रमशक्ति पूर्णरूपमा छाड्ने सम्भावना धेरै रहेको प्रतिवेदनले चेतावनी दिएको छ । प्रतिवेदनमा सन् २०२४ मा काम गर्ने उमेरका ४५ दशमलव छ प्रतिशत महिलाहरू र ६९ दशमलव दुई प्रतिशत पुरुषहरू कार्यरत रहेको उल्लेख छ । 

“विश्वव्यापी असमानता कम गर्ने हाम्रो प्रयासको बावजुद श्रम बजार एक असमान खेल मैदान बनेको छ”, आइएलओका महानिर्देशक गिल्बर्ट होङबोले प्रेस विज्ञप्तिमा भन्नुभयो, “हामीले समावेशीकरण र सामाजिक न्यायलाई हाम्रा नीति र संस्थाहरूको केन्द्रविन्दुमा राख्नुपर्छ ।”

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1SCJMS9JM8GAA8PXXWP65J.jpg

एभरेस्ट म्याराथनको उपाधि कुलुङ र शेर्पालाई

१६ जेठ,सोलुखुम्बु I सगरमाथा दिवसका अवसरमा आयोजित तेन्जिङ–हिलारी एभरेस्ट म्याराथनको उपाधि पुरुषतर्फ अर्जुन कुलुङ र महिलातर्फ ल्हाक्पा ङिमा शेर्पाले जितेका छन् । विश्वकै सबैभन्दा उच्च स्थानमा दौडिदै पुरुषतर्फ सोलुखुम्बु महाकुलुङका कुलुङ र महिलातर्फ नेपाल प्रहरीका शेर्पाले उपाधि जितेका हुन् ।     
     
 सगरमाथा आधार शिविरबाट सगरमाथा राष्ट्रिय निकुञ्जको कार्यालय नाम्चेसम्म ४२ दशमलब १९ किमिको दूरी कुलुङले तीन घण्टा ५२ मिनेट २ सेकेन्डमा पार गर्दै पहिलो हुनुभएको हो । महिलातर्फ सोही दूरी प्रहरी जवान शेर्पाले चार घण्टा ४२ मिनेटमा पार गर्नुभयो । पुरुषतर्फ तीन घण्टा ५३ मिनेट २७ सेकेन्डमा दूरी पार गर्दै सुमन कुलुङ दोस्रो र चार घण्टा सात मिनेट ४० सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै रामकुमार राजभण्डारी तेस्रो हुनुभएको छ । महिलातर्फ पाँच घण्टा एक मिनेट २२ सेकेन्डमा दूरी पार गर्दै प्रिया राई दोस्रो हुनुभएको छ । प्रतियोगितामा दुई सय १० जना धावक सहभागी रहेको आयोजकले जनाएको छ ।     
     
सगरमाथामा पहिलो पटक एड्मन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले ७१ वर्षअघि सन् १९५३ मे २९ मा पाइला राखेको दिनको सम्झनामा हिमालयन एक्स्पिडिसन कम्पनी लिमिटेडले म्याराथन आयोजना गर्दै आएको छ ।     
 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1N92T1ATE9FE7KAEJ0X8QM.gif

उत्खनन र अनुसन्धानको पर्खाइमा मुक्तेश्वर मन्दिर

१६ जेठ, बरहथवा (सर्लाही) I धार्मिक पर्यटनको प्रशस्त सम्भावना बोकेको सर्लाहीको बरहथवा नगरपालिकास्थित मुक्तेश्वर महादेव मन्दिर उत्खनन र अनुसन्धानको पर्खाइमा छ । बरहथवा नगरपालिका–९, मूर्तियामा रहेको ऐतिहासिक मुक्तेश्वर मन्दिर प्रचारप्रसार अभावमा ओझेलमा परेको हो । 

विभिन्न दस्तावेजमा उल्लेख भएअनुसार दुई हजार ६ सय वर्ष पहिला भक्तपुरको तलेजु भवानी मन्दिरसँगै गयासुद्घिन भन्ने भारतका शासकले यस मन्दिर पनि भत्काइदिएका थिए । तलेजु भगवतीको मन्दिर भत्काएर फर्कने क्रममा बाटोमा रहेको यस मन्दिर समेत ध्वस्त बनाइदिएको स्थानीय जानकारहरुको भनाइ छ । यस मन्दिर बजेट अभावमा संरक्षण हुन सकेको छैन । बजेट अभावमा पुनःनिर्माण हुन नसक्दा मन्दिर परिसरमा रहेका ऐतिहासिक संरचना जीर्ण अवस्थामा पुगेका वडाध्यक्ष तुलसीप्रसाद लुइँटेलले बताउनुभयो । 

पूर्व–पश्चिम राजमार्गबाट १० किलोमिटरको दूरीमा रहेको यस मन्दिरमा दैवी शक्ति रहेको स्थानीय विमला कार्कीको भनाइ छ । विषेश गरेर यस मन्दिरमा साउनको सोमबार र शिवरात्रिमा भक्तजनको बाक्लो घुइँचो लाग्ने गर्दछ । मन्दिर दर्शनका लागि भारतका विभिन्न स्थानबाट समेत भक्तजन आउने गर्दछन् । बरहथवा नगरपालिका–९, स्थानीय ८२ वर्षीया चन्द्रनिधि तिवारीले तत्कालीन अवस्थामा यस क्षेत्र चीन र भारतको व्यापारिक केन्द्र सुवर्णग्राम सहरका रुपमा रहेको कौटिल्य शास्त्रमा उल्लेख रहेको बताउनुभयो । गयासुद्घिनले मन्दिर र सहरमा आक्रमण गरेपछि यस क्षेत्र जङ्गलमा परिणत भएको उहाँको भनाइ छ । यस मन्दिर आसपासमा अझै पनि बुद्धकालीन इँटाहरु फेला पर्ने गरेको छ । 

मन्दिर परिसरमार रहेका संरचनामध्ये मूल मन्दिरको पुरातत्व विभागले पुनःनिर्माण गरेको थियो । सोही क्रममा मन्दिरमा प्रयोग भएको कलात्मक ढुङ्गामा दुई हजार ६ सय वर्ष पुरानो बोलीचालीको भाषा ब्रह्म लिपि फेला परेको हो । विभागका तत्कालीन योजना प्रमुख रामबहादुर कुँवरको नेतृत्वमा भएको उत्खनन तथा पुनःनिर्माणका क्रममा ढुङ्गाको ब्लकमा ब्रह्म लिपि अर्थात् पाली भाषा कुँदिएको फेला परेको थियो । “मन्दिर बनाउन प्रयोग गरेको ढुङ्गामा पाली भाषामा लेखिएको भेटियो,” वडाध्यक्ष लुइँटेलले भन्नुभयो, “काम गर्ने मन्दिर बनाउने कर्मीले पक्कै त्यतिबेलाको बोलीचालीको भाषा नै ढुङ्गामा कँुदेको हुनुपर्छ ।” यस क्षेत्रमा चार फिट गहिरो खन्ने बित्तिकै ८÷८, ११÷११, १२÷१२ आकारका बुद्धकालीन इँटा फेला पर्ने गरेको स्थानीय रामकुमार नेपालले बताउनुभयो ।

मन्दिरको तीन किलोमिटर दक्षिणमा लौकठ, हिरापुरलगायतका गाउँ रहेको थियो । उक्त गाउँमा वाग्मतीलगायत विभिन्न नदीको बाढी पसेपछि २०११ सालमा स्थानीय बासिन्दा यस मन्दिर नजिकै बसाइँ सरेका थिए । गाउँ बढ्दै जाँदा यस मन्दिरको संरचनाहरु फेला परेको स्थानीय ७४ वर्षीय कृष्ण कडरियाले जानकारी दिनुभयो । उहाँका अनुसार २०२२ सालमा स्थानीयको पहलमा मन्दिर क्षेत्र सरसफाइ तथा यत्रतत्र रहेका मन्दिरका मूर्ति, गजुरलगायत सामान जम्मा गरेर मन्दिर स्थापना गरिएको थियो । 

मन्दिरको तीन सय मिटरदेखि तीन किलोमिटरको दूरीमा समकालीन चक्रेश्वर महादेव मन्दिर, गणेश मन्दिर, कटकुइँया (काठको पानी खाने डुँड), पोखरी, गुलरिया ताल, किसनपुर पोखरी, ब्रह्मनाल गुफालगायत संरचनाहरु अहिले पनि छन् । यी संरचना संरक्षणको अभावमा नष्ट हुने अवस्थामा पुगेका वडाध्यक्ष लुइँटेलले बताउनुभयोे । मन्दिर परिसरमा रहेको १० फिट गहिरो ४२ फिट लामो टनेलसंरक्षण हुन नसक्दा भत्किने अवस्थामा पुगेको छ । 

बजेट अभावमा यस मन्दिर क्षेत्रको उत्खनन र पुनःनिर्माण पूरा हुन नसकेको बरहथवा नगरपालिकाले जनाएको छ । ठूलो धनराशि लाग्ने भएपछि मन्दिर क्षेत्रको पहिलो चरणको पुनः निर्माण गरेर अरु त्यसै छाडिएको छ । स्थानीय तहको पहलमा २०७२÷७३ सालदेखि मन्दिरको मुख्य संरचनाको पुनःनिर्माण सुरु भएको थियो । दुईपटक गरेर पुरातत्व विभागले पहिलोपटक एक करोड र दोस्रो पटक पाँच करोड ३२ लाख लगानीमा मूल मन्दिरको पुनः निर्माण गरेको हो । विभागले सात वर्ष लगाएर मन्दिरको पुनःनिर्माण तथा उत्खनन गरेको थियो ।

विभागले गरेको अनुसन्धानबाट लुम्बिनीको मायादेवी मन्दिरमा फेला परेकै भाषा र  जमिनमुनिको इँटा यस मन्दिर परिसरमा पनि फेला परेको हो । यस अर्थमा पनि यो मन्दिरको संरचना पनि समकालीन रहेको दाबी गरिएको छ । यस मन्दिरको संरचना पुनः निर्माण तथा यस क्षेत्रको उत्खननका लागि पुरातत्व विभागबाहेक कतैबाट बजेटको व्यवस्था नभएको नगरपालिकाका प्रमुख कल्पनाकुमारी कटुवालले बताउनुभयो । बजेट नभएकै कारण धार्मिक पर्यटनको ठूलो सम्भावना बोकेको यस मन्दिरको प्रचारप्रसार तथा संरक्षण र पुनःनिर्माणका बाँकी काम अलपत्र परेको उहाँको भनाइ छ । 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1MKVDA6CWRPY7P9GJZ4KM1.jpg

धनियाँ बिक्री गरेर वार्षिक आठ लाख आम्दानी

१६ जेठ, देउखुरी (दाङ) I खेतका गराभरी हरियो धनियाँ छ । धनियाँ उखेलेर साना साना मुठा पार्दै गरेको अवस्थामा भेटिनुभयो घोराही उपमहानगरपालिका–६ चोरगाउँका अमित चौधरी । उहाँले दुई कठ्ठा जमिनमा धनियाँखेती गर्नुभएको छ । धनियाँको माग बाह्रैमहिना हुने भएकाले बाह्ैमहिना खेती गर्ने गरेको उहाँले बताउनुभयो ।     
     
उहाँका बुवाले विगत आठ वर्ष अघिदेखि व्यावसायीक रुपमा धनियाँखेती गर्नुहुन्थ्यो । आम्दानी राम्रो भएपछि त्यसैलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । दुई कठ्ठाखेतमा चार किलो धनियाको बीउ रु दुई हजार चार सयमा खरिद गरि खेती गरेको उहाँले बताउनुभयो । त्यो धनियाँ बिक्री गरेर रु दुई लाख आम्दानी गरेको उहाँले बताउनुभयो ।     
     
बाह्रैमहिना धनियाँ माग हुने भएकाले बाहै महिना खेती गर्ने उहाँले बताउनुभयो । सिजनमा रु पाँच मुठाका दरमा बिक्री हुन्छ भने बेमौसममा रु १० मुठाका दरमा बिक्री हुन्छ । धनियाँ उखेल्न समय लाग्ने भएकाले दैनिक धेरै उखेल्न नसकिने उहाँले बताउनुभयो । धेरै उखेल्न सक्यो भने दैनिक रु तीन हजारदेखि रु तीन हजार पाँच सयसम्म आम्दानी हुने गरेको अमितले बताउनुभयो । उखेल्न नसकेको समयमा रु एक हजारदेखि रु एक हजार पाँच सयसम्मको बिक्री हुने गरेको उहाँको भनाइ छ ।     
     
धेरै मेहनत गर्नुनपर्ने, रोगकीरा नलाग्ने र विषादी पनि राख्नु नपर्ने भएकाले कम खर्चमा धेरै आम्दानी गर्न सकिने भएकाले धनियाँखेतीलाई निरन्तरता दिएको उहाँले बताउनुभयो । “वैशाख, जेठ र असारमा धनियाँ रु १० प्रतिमुठाको दरमा बिक्री हुन्छ, यो याममा राम्रो मूल्य पाइन्छ”, उहाँले भन्नुभयो । गत वर्ष यी तीन महिनामा रु दुई लाख आम्दानी गरेको उहाँले बताउनुभयो । सरदर वर्षको रु आठ लाख धनिया बिक्रीबाट मात्रै आम्दानी हुने गरेको उहाँले बताउनुभयो ।     
     
“धनिया छरेको ३५ दिनमा बिक्रीका लागि योग्य हुने भएकाले उखेल्न सुरु गर्छौँ, तयार भएको दुई महिनाभित्र बिक्री गरिसक्नुपर्छ”, उहाँले भन्नुभयो, “लामो समय राख्न मिल्दैन, छिप्पियो भने बिक्री हुँदैन, बिक्री भएर खाली भएको जमिनमा हरेक १० दिनको फरकमा धनियाँ छर्ने गर्छु, त्यसैले एक लट बिक्री गरिसक्दा अर्को लट तयार भइसकेको हुन्छ ।”     
     
उहाँसँग बाह्ैमहिना धनियाँ हुने गरेको छ । छोटो समयमा मनग्य आम्दानी हुने भएकाले धनियाँखेती बाह्ैमहिना गर्ने गरेको उहाँले बताउनुभयो । “इनारको पानीले सिँचाइ गरेर खेती गर्ने गरेका छौँ, पानीको अन्य सुविधा छैन, बिक्रीका लागि घोराही बजारमा लैजानुपर्छ, बजारमा धनियाँ अभाव भयो भने व्यापारी घरमै आउने गर्छन्, खेतीपाती गर्न बुवाआमा र श्रीमतीको सहयोग रहेको छ”, उहाँले भन्नुभयो ।     
 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1JA3KT0A1DTGA6144YR2TR.jpg

सुरक्षा टोलीसहित यार्सा सङ्कलनमा पुगे मनाङवासी

- नवीन लामिछाने  
१६ जेठ, मनाङ I हिमाली जिल्ला मनाङमा अहिले औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन भइरहेको छ । यहाँ वैशाख १० गतेदेखि यार्सागुम्बा सङ्कलनको कार्य पहिलो गन्तव्य नाम्के खर्कबाट सुरु भएको हो । दोस्रो गन्तव्यका रुपमा रहेको फु गाउँमा जेठ १४ बाट यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ । जेठ १३ गतेदेखि पुर्जी काटेर मनाङवासीले मात्रै यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको नार्पाभूमि गाउँपालिकाका अध्यक्ष कोन्जो तेन्जिङ लामाले जानकारी दिनुभयो । उहाँका अनुसार अनुमति पाएका मनाङवासीले फु गाउँको लेकमा एक महिनासम्म यार्सागुम्बा सङ्कलन गर्नेछन् । विगतको घटनाबाट पाठ सिक्दै यार्सागुम्बा सङ्कलनलाई सुरक्षित र व्यवस्थित बनाउन लागिपरेको उहाँले बताउनुभयो ।     
     
अध्यक्ष लामाले भन्नुभयो, “नार्पाभूमिको नार र फु संरक्षित तथा निषेधित दुवै क्षेत्र भएकाले सुरक्षाको दृष्टिबाट पनि विगतको जस्तो अवस्था नआओस् भनी मनाङवासीलाई मात्र यार्सागुम्बा सङ्कलन गर्न अनुमति दिने गर्छौं, हाललाई फु गाउँका लेकमा मात्र यार्सागुम्बा सङ्कलन गर्न पाइन्छ ।” यार्सागुम्बा सङ्कलनका लागि रु ३५ हजार शुल्क तिर्नुपर्ने हुन्छ । शुल्क तिरी सकेपछि मात्र सङ्कलनका लागि पुर्जी दिइन्छ । फु गाउँको लेकमा यार्सागुम्बा सङ्कलकबाट उठेको रकमको ६० प्रतिशत संरक्षण क्षेत्र व्यवस्थापन समितिले राख्छ भने बाँकी ४० प्रतिशत गाउँपालिकाले राख्ने गरी पुर्जी काटिएको अध्यक्ष लामाले जानकारी दिनुभयो ।     
     
यसैगरी सङ्कलन भएको यार्सागुम्बाको प्रतिकिलो १० प्रतिशत निकासी कर लाग्ने उहाँले बताउनुभयो । यार्सागुम्बा सङ्कलनलाई सहज र सुरक्षित बनाउन प्रशासनले सुरक्षा टोलीसमेत खटाएको उहाँले बताउनुभयो । सङ्कलकलाई समस्या भएको खण्डमा पनि सुरक्षा टोलीले जानकारी प्रदान गर्ने र उद्धारका काम गर्ने गर्दछन् ।     
     
सुरक्षा व्यवस्थापन कडा    
लेकका खर्कमा यार्सागुम्बा सङ्कलनको समयमा झैझगडा नहोस् भनी शान्ति सुरक्षा मजबुत पारिएको छ । नार्पाभूमि गाउँपालिकाको संयोजकत्वमा फू गाउँको यार्सागुम्बा सङ्कलनको समयमा शान्ति सुरक्षाको प्रयोजनार्थ च्याँखु र मेताका प्रहरी टोलीलाई त्यसतर्फ खटाइएको छ । च्याँखु प्रहरी पोष्टबाट एक महिनासम्म पाँच जनाको प्रहरी टोलीले यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिनेछ ।     
     
फुमा प्रहरीको दरबन्दी नभएकाले सो टोलीले एक महिनासम्म त्यहाँ बसेर यार्सागुम्बा सङ्कलकलाई सुरक्षा दिने अध्यक्ष लामाले बताउनुभयो । उहाँका अनुसार प्रहरी टोली बसोबासका लागि बन्दोबस्तीका सामानसहित रासनपानीको व्यवस्था गरी परिचालन गरिएको छ । यार्सागुम्बा टिप्ने क्रममा विसं २०६६ मा नारस्थित नाम्ग्य खर्कमा गोरखाका सात जनाको स्थानीयले हत्या गरेका थिए । त्यसपछि सुरक्षा चुनौतीका कारण मनाङका साविकको नार र फु गाउँ विकास समितिमा यार्सागुम्बा सङ्कलन रोकिएको थियो । अहिले त्यस्ता घटना दोहोरिन नदिन अन्य जिल्लाका सङ्कलकलाई अनुमति दिइएको छैन ।     
     
प्रमुख जिल्ला अधिकारी सुवासकुमार लामिछानेले सङ्कलनको रकममध्ये केही पालिकामा नै रहने भएकाले त्यस क्षेत्रको संरक्षण क्षेत्र व्यवस्थापन समिति (सिएमसी) सक्रिय हुनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार जिल्लाभित्र यार्सागुम्बा सङ्कलनको याम सुरु भएसँगै सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । उहाँले भन्नुभयो, “हुन त पाँच जनाको टोलीले के नै सुरक्षा गर्न सकिन्छ र, तैपनि सुरक्षाकर्मी पनि छन् है ढुक्कसँग यार्सागुम्बा सङ्कलन गर्नुहोस् भनी आश्वत पार्न प्रहरी खटाएका छौँ ।”     
     
विगतको जस्तो अप्रिय घटना नहोस् भनी प्रहरी परिचालन गरिएको जनाउँदै उहाँले भन्नुभयो, “यसपाली मनाङवासीलाई मात्रै फुमा यार्सागुम्बा सङ्कलनका लागि अनुमति दिइएको छ, त्यस्तो अप्रिय केही नहोस् भन्ने हाम्रो कामना हो, यदि केही भइहाल्यो भने पनि पहिलो कारबाही भनेको संरक्षण क्षेत्र व्यवस्थापनलाई नै हुनेछ ।” यसलाई व्यवस्थित गर्ने कानुन भनेको यससँग सम्बन्धित निर्देशिकामा यार्सागुम्बा सङ्कलन व्यवस्थापन संरक्षण समितिले गर्ने उल्लेख छ ।     
     
प्रजिअ लामिछानेले भन्नुभयो, “सुरक्षाकर्मी छन् भनेर सोच्यो भने हरेक क्षेत्र सुरक्षित हुन्छ, तर सुरक्षित बनाउन केही मात्रमा मात्रै हाम्रा सुरक्षाकर्मी खटाइएमा पनि त्यस क्षेत्रको सुरक्षा हुन्छ, सूचना समयमा दिने, आवश्यक सहयोग र समन्वय गर्ने कुरामा सहमति भएको छ ।” अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका कार्यालयले यार्सागुम्बा सङ्कलनका लागि स्वीकृति दिएपछि मात्रै सङ्कलनका लागि खर्कतर्फ प्रवेश दिइने गरिन्छ ।     
     
एक्यापका प्रमुख ढकबहादुर भुजेलले नार्पाभूमिका खर्कमा यार्सागुम्बा खोज्न बाहिरी जिल्लाका सङ्कलकलाई अनुमति नदिएको बताउनुभयो । उहाँका अनुसार जिल्लाका तीन खर्कमा यार्सागुम्बा सङ्कलनमा बाहिरी जिल्लाका व्यक्तिलाई रोक लगाइएको छ । नार्पाभूमिका अध्यक्ष लामाले सुरक्षा चुनौतीकै कारण बाहिरी जिल्लाबाट आउने यार्सागुम्बा सङ्कलकलाई रोक लगाइएको बताउनुभयो । उहाँले भन्नुभयो, “विगतमा भएको जस्तो घटना दोहोरिन दिनुहुँदैन भनेर स्थानीयलाई मात्र सङ्कलनको अनुमति दिँदै आएका छौँ ।”     
     
 फस्टाएन यार्सा     
गत वैशाख १४ गतेदेखि मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन भइरहेको छ । यसपालि विगतको तुलनामा थोरै मात्र सङ्कलन गरिएको छ । नासों–८ का वडाध्यक्ष एवं ताचै बगरछाप संरक्षण क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष याद घलेले मलजल नमिल्दा यार्सागुम्बा साना मसिना भेटिएको बताउनुभयो । उहाँले भन्नुभयो, “जलवायु परिवर्तनका कारण समयमा हिउँ परेन, यार्साका लागि मल तथा जल भनेकै हिउँ हो, यसपालि बल्ल थाहा भयो समयमा हिउँ नपर्दा यार्सागुम्बा पनि कम सङ्कलन भएको छ, सङ्कलन गरिएका पनि साना, मसिना मात्रै छन् ।”     
वैशाख १० गतेदेखि दुई सय जनाको टोली औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलनको अनुमति लिएर नाम्के खर्कतर्फ गएको थियो । ताचैको टोली वैशाख २८ गते सङ्कलनका लागि गएको भए पनि जेठ ४ गते फर्कियो । घलेले भन्नुभयो, “सिङ्गो गाउँ नै खर्कतिर लाग्दा मृत्यु संस्कार चलाउनसमेत गाह्रो भयो, गाउँमा ५ गते अर्घौं परेको थियो, अर्घौं सकेर फेरि टोली लेक बसेका छन् ।” नाम्के खर्कमा मनाङवासीका अलावा अन्य गोरखा, लमजुङलगायतका जिल्लाका सङ्कलकलाई पनि यार्सागुम्बा सङ्कलनको अनुमति दिइएको छ ।     
      
नाम्के र हुलाकी ओडारका खर्कमा यार्सागुम्बा सङ्कलन कार्य सकिने क्रममा रहेको छ । मनाङमा यार्सागुम्बा पाइने क्षेत्रमा सङ्कलन गर्न जाने सङ्कलनले १० वटा यार्सागुम्बा टिपिएकामध्ये एउटा सोही स्थानमा छाड्नुपर्ने प्रावधान निर्धारण गरिएको छ । मनाङमा १३ वटा सिएमसीमध्ये हाल धारापानी, थोंचे र चामेले काम गर्न सकेको छैन । दश वटा सिएमसीले भने काम गरिरहेको छ । जिल्लाका नाम्ग्य खर्क, किन्चो लेक, याक खर्क, मनाङ, पिसाङ, खाङ्सार, भ्राका, नाम्के, हुलाकी, नार र फुका खर्कबाट औषधीय जडीबुटी यार्सागुम्बा सङ्कलन गरिन्छ । असारको पहिलो सातासम्म यार्सागुम्बा सङ्कलन कार्य सकिन्छ ।   

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1GDDBHHM4KQAVSHQTNFBGM.jpg

नेपालकै पहिलो एकीकृत च्याङ्ग्रा पस्मिना फार्म स्थापना

१६ जेठ, मुस्ताङ I व्यावसायिक च्याङ्ग्रा खेतीको विकास गर्न र स्थानीय समुदायलाई आर्थिक रूपमा सशक्त बनाउने उद्देश्यले माथिल्लो मुस्ताङको लो मान्थाङमा च्याङ्ग्रा पस्मिना रिसर्च एन्ड एग्रो टुरिजम फार्मको स्थापना गरिएको छ । नेपालको पहिलो एकीकृत च्याङ्ग्रा फार्मका रूपमा स्थापना भएको यस फार्ममा एक हजार भन्दा बढी च्याङ्ग्रापालन गर्न मिल्ने क्षमता रहेको छ ।     
      
स्थानीय च्याङ्ग्रा किसान र नेपाल पस्मिना उद्योग सङ्घको संयुक्त पहलमा स्थापना भएको उक्त फार्मले आधुनिक च्याङ्ग्रापालनको अभ्यासलाई दिगो कृषि पर्यटनसँग एकीकृत गर्नका लागि नयाँ आयाम प्रदान गर्ने विश्वास गरिएको छ । यो फार्म यस व्यवसायसम्बन्धी ज्ञान आर्जन र आदानप्रदान गर्ने केन्द्रका रूपमा रहनाका साथै च्याङ्ग्रा प्रजनन र पालनमा विशेषज्ञता र उत्कृष्ट अभ्यासहरूलाई बढावा दिनका लागि उपयोगी हुने सङ्घले जनाएको छ ।     
      
नेपालका लागि युरोपियन युनियन (इयु) की राजदूत भेरोनिक लोरेन्जोले आज सो फार्मको उद्घाटन गर्दै उच्च गुणस्तरको च्याङ्ग्रा फाइबरको भरपर्दो स्रोत सिर्जना गरी पस्मिना मूल्य शृङ्खलालाई बलियो बनाउने बताउनुभयो । राजदूत लोरेन्जोले च्याङ्ग्रापालनमा युवा र महिलाको महत्वलाई ध्यानमा राखी स्थानीय रोजगारीका अवसरहरू सिर्जना गर्न र ग्रामीण बसाइँसराइको समस्या समाधान गर्न उनीहरूलाई यस व्यवसायमा अझ बढी प्रोत्साहित गर्नुपर्नेमा जोड दिनुभयो ।     
      
सो अवसरमा लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासी नोर्बु गुरुङले स्थानीय सरकारले च्याङ्ग्रा किसानका लागि अनुदान मिलाउने जस्ता कार्यक्रम आफ्नो वार्षिक योजनामा समावेश गरी सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अन्तर्राष्ट्रिय च्याङ्ग्रा विज्ञ डा. सरफराज बानीले दिगो अभ्यासलाई प्रवर्द्धन गर्दै व्यावसायिक च्याङ्ग्रा खेतीमा क्रान्तिकारी परिवर्तन गर्ने सम्भाव्यताबारे चर्चा गर्दै फार्मको प्राविधिक डिजाइन प्रस्तुत गर्नुभएको थियो ।     
      
राजदूत लोरेन्जोले इयू–नेपाल व्यापार तथा लगानी कार्यक्रमको प्राविधिक सहयोगमा स्थापना भएको पस्मिना फाइबर सङ्कलन केन्द्रको अवलोकन गर्नुभयो । नेपालको पस्मिना क्षेत्रको मूल्य शृङ्खला मजबुत बनाउन युरोपियन युनियनले निरन्तर सहयोग गर्दै आएको छ ।     
 

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1C91XEMP60N1DK8MRRK6FK.jpg

भूक्षय नियन्त्रणमा जैविक तटबन्ध प्रभावकारी

कञ्चनपुर, १६ जेठ I कञ्चनपुरमा बाँसको प्रयोग गरी भूक्षय नियन्त्रण गर्न निर्माण गरिँदै आएको जैविक तटबन्ध प्रभावकारी हुँदै गएको छ । थोरै लागतमा निर्माण हुने जैविक तटबन्धबाट खेतीयोग्य जग्गा नदीले कटान गरी बगाउने कार्य नियन्त्रण हुन थालेको छ ।   
  
जैविक तटबन्ध प्रभावकारी हुन थालेपछि स्थानीय तहहरूले दातृ निकायसँग सहकार्य गरी काम अगाडि बढाउँदै आएका छन् । जिल्लाका दोदा, वनहरा, सनवोरालगायत नदीमा दशकअघिदेखि जैविक तटबन्ध निर्माण गर्ने कार्य हँुदै आएको छ । हाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए)ले ‘मर्सिकोर’को सहयोगमा सञ्चालन हुँदै आएको ‘एमरेड परियोजना’अन्तर्गत पालिकासँग सहकार्य गरी जैविक तटबन्ध निर्माण गर्दै आएको छ । यसअघि नेपाल रेडक्रस सोसाइटीले परियोजनासँगको सहकार्यमा जैविक तटबन्ध निर्माण गर्दै आएको थियो ।   
  
चालु आर्थिक वर्षमा शुक्लाफाँटा नगरपालिकासँगको लागत साझेदारीमा कल्याण सङ्घले एमरेड परियोजनाअन्तर्गत तीन सय मिटर जैविक तटबन्ध निर्माण गरेको छ । नगरपालिकाको वडा नं ११, २ र ३ भएर बग्ने सनवोरा नदीमा जैविक तटबन्ध निर्माण गरिएको छ । एमरेड परियोजनाका कार्यक्रम संयोजक महेश घिमिरेका अनुसार नगरपालिका र नेपाल राष्ट्रिय समाज कल्याण सङ्घको सहकार्यमा जैविक तटबन्ध निर्माण गरिएको हो ।   
  
कटानको उच्च जोखिममा रहेको वडा नं ११ कलुवापुरमा एक सय, वडा नं २ मा एक सय र ३ मा एक सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाको तर्फबाट रु एक लाख ७९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत एक सय २६ दिनको रोजगारीवापत दक्ष र अदक्ष कामदारको रु ८३ हजार ज्याला ब्यहोरिएको छ । यसैगरी जनताको तटबन्धबाट रु ६ हजार तीन सय प्लाष्टिकका बोरा सहयोग गरिएको छ । स्थानीय समुदायले रु एक लाख २६ हजार बराबरको श्रमदान गरेका छन् । परियोजनाको तर्फबाट रु एक लाख ७२ हजार रकम व्यहोरिएको छ ।   
  
पुर्नवास नगरपालिका–७ परासन र वडा नं ९ सीताबस्तीको दोदा नदीमा नगरपालिकासँगको सहकार्यमा परियोजनाअन्तर्गत पाँच सय मिटर जैविक तटबन्ध निर्माण गरिएको छ । जैविक तटबन्ध निर्माणका लागि नगरपालिकाले रु तीन लाख ३९ हजार, प्रधानमन्त्री रोजगार कार्यक्रमबाट रु पाँच सय २० दिनको रोजगारीअन्तर्गत रु तीन लाख ४७ हजार र परियोजनाको तर्फबाट रु तीन लाख रकम व्यहोरिएको छ । तटबन्ध निर्माण गर्न स्थानीय समुदायले रु एक लाख १० हजार बराबरको श्रमदान गरेको छ ।   
  
“जैविक तटबन्ध निर्माण गरिएका क्षेत्रका समुदायलाई सङ्गठित गरी खाली रहेको बगरमा उखुखेती प्रवर्द्धनमा सहयोग गरेका छौँ”, संयोजक घिमिरले भन्नुभयो, “परियोजनाअन्तर्गत शुक्लाफाँटामा सात बिघामा २५ परिवारले उखुखेती गरेका छन् ।” पुर्नवास नगरपालिका नदी तटीय क्षेत्रका परिवारले पनि उखुखेती गर्दै आएका छन् । उखुको जराले माटोलाई बाँधेर राख्ने कार्य गर्ने भएकाले भूक्षयबाट रोक्ने र उखु बिक्री गरी नदी प्रभावित समुदायले गतिलो आम्दानी गर्दै आएको संयोजक घिमिरेले बताउनुभयो ।   
  
“उखुखेती गर्दै आएका किसानका लागि बजार प्रवर्द्धन गर्न चिनी मिल, सम्बन्धित पालिकाको कृषि विकास शाखासँग समन्वय र सहकार्य गरेका छौँ”, उहाँले भन्नुभयो, “बीउमा सहयोग, उखु रोप्ने प्राविधिक जानकारी, आधुनिक कृषि औजारमा सहयोग गर्ने कार्य हुँदै आएको छ ।” जैविक तटबन्ध निर्माण भएका क्षेत्रमा पानी सहन सक्ने, छिटो हुर्कने, बलियो र गहिरो जरा हाल्न सक्ने क्षमता भएका बिरुवा लगाउने काम पनि हुँदै आएका छन् ।   
  
राष्ट्रिय समाज कल्याण सङ्घका कार्यकारी निर्देशक अशोकविक्रम जैरुले जैविक तटबन्ध भूक्षय रोक्नमा प्रभावकारी भएकाले यसको माग पालिकाहरूबाट बढ्दो रूपमा आउन थालेको बताउनुभयो । “जैविक तटबन्धको महत्व नबुझ्दा विगतमा सीमित क्षेत्रमा मात्रै निर्माण हुने गरेको थियो, थोरै लगानीमा निकै ठूलो फाइदा पुर्याउन थालेपछि तटबन्ध निर्माणमा स्थानीय तहले सहकार्य गर्न थालेका छन्”, उहाँले भन्नुभयो । बगरमा उखुखेती र बगरखेती गर्न प्रोत्साहीत गर्दै आएकाले स्थानीय समुदायको आर्थिक अवस्थमा सुधार आएको पाइएको कार्यकारी निर्देशक जैरुले उल्लेख गर्नुभयो ।  

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1BW3NS2T8HAFZDN9HPR3JR.jpg

‘विश्वको साझा सम्पत्ति सगरमाथा जोगाऔँ‘

काठमाडौँ, १६ जेठ I सन् २०१९ को वसन्तयामको सगरमाथा आरोहणका क्रममा आरोहीको ट्राफिक जामको खबर नेपालसहित विश्वका चर्चित सञ्चारमाध्यममा पनि छायो । मे २१ मा सगरमाथाको चुचुरो नजिक भएको सो जामको समाचार बिबीसी, सीएनएनलगायतका सञ्चारमाध्यमले पनि प्रशारण गरे । समाचारसँगै छापिएको थियो सगरमाथा आरोहीको भीडको तस्वीर । यति विषय पाएपछि सामाजिक सञ्जालमा नआउने झन् कुरै भएन । तर यता नेपाल सरकारद्वारा गठित छानबिन समितिले भने सगरमाथामा जाम नभई लाम लागेको निष्कर्ष निकालेको थियो । 

पछिल्लो समय हरेक वर्षजसो सगरमाथामा आरोहीको जाम हुने गरेको छ । सगरमाथाको साउथ कोल भनेर चिनिने चौथो शिविर माथितिर हरेक आरोहणको याममा आरोहीको भीड लाग्ने गरेको छ । मौसम अनुकूल आरोहण अवधि छोटो समय भएकाले सबै आरोही एकैपटक गन्तव्यमा पुग्नुपर्ने बाध्यताले सगरमाथामा आरोहीको जाम हुने गरेको आरोहीको अनुभव छ । सगरमाथा आरोहणको समयलाई व्यवस्थित गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या बाक्लो भए पनि आरोहीको ट्राफिक जाम कम हुने सगरमाथा आरोही ज्ञानेन्द्र श्रेष्ठ बताउनुहुन्छ । “समिट विन्डो’ कम हुने भएकाले सगरमाथामा आरोहीको जाम हुने गरेको छ”, उहाँले भन्नुभयो, “मे महिनाका सीमित केही दिनमा मात्रै आरोही चुुचरोमा पुग्नुपर्ने बाध्यता हुन्छ ।”

चुचुरो आसपासमा हिमपात र वायुको गतिजस्ता चुनौती केही सहज बन्छन् । त्यही दिनलाई व्यग्रतासाथ कुरे मौसमी हिासाबकिताब गर्दै आरोहीहरु चुचुरोसम्म पुग्छन् । ‘समिट विन्डो’ भनिने त्यस्तो छोटो समयमा अरु बेला प्रतिघण्टा दुई सय किलोमिटरको वेगमा हुने चुचुरोमा चल्ने वायुले केही उत्तरतर्फ मार्ग फेर्छ । यस्तो विन्डो एक–दुई दिन र कहिले दिनमै धेरैपकट फेरबदल भइरहन्छ ।

श्रेष्ठका अनुसार वसन्तयाम सगरमाथा आरोहणको उपयुक्त समय हो । मे महिनामा सामान्यतया पाँच–छवटा त्यस्ता विन्डो देखिन्छन् । सगरमाथा आरोहणका लागि अलि फराकिलो विन्डो भएका बेला धेरैजसो आरोही उकालो लाग्न थाल्छन् । ढिलो गर्दा कहिलेकाहीँ पछिल्ला अवधिमा विन्डो देखा नपर्न सक्ने जोखिम भएकाले आरोहीहरू अघिल्लो विन्डोमा जान खोज्छन् । यस्तै परिस्थितिमाझ सगरमाथामा ट्राफिक जामको अवस्था सिर्जना हुने गरेको आरोही श्रेष्ठले बताउनुभयो । सगरमाथा आरोहण सुरु हुने १५ दिन अगाडि नै ‘रोप फिक्सिङ’ गर्न सकेको खण्डमा आरोहीको सङ्ख्या पाँच–छ सय भएर पनि केही फरक नपर्ने आरोही श्रेष्ठको भनाइ छ ।

आरोही श्रेष्ठले सगरमाथामा आरोहणको प्रतिस्पर्धा, पर्वतारोहणको तयारीबिनै रेकर्डको होडबाजीले सर्वोच्च शिखर पुग्ने सस्तो लोकप्रियताले सगरमाथाको गरिमा घटाउने बताउनुभयो । विदेशी मुद्राका लागि पर्यटनमा उच्च निर्भर नेपालका लागि आरोहीको सङ्ख्या बढ्नु सुखद् भए पनि अन्तर्राष्ट्रिय जगत्मा यो सङ्ख्यालाई विभिन्न नकारात्मक टीकाटिप्पणी गर्न थलिएको उहाँको भनाइ छ ।

पछिल्लो पाँच वर्षयता सगरमाथामा आरोहीको भीड लाग्ने गरेको छ । एकैदिन एक सयभन्दा बढी आरोही चुचुरोमा पुगेको विषयले पनि निकै चर्चा पाइरहेको छ । वसन्त ऋतुको यो याममा पनि सगरमाथाको चुचुरोमा आरोहीको जाम भएको श्रव्यदृश्य  सामाजिक सञ्जालमा छाएको छ । पर्यटन विभागको साहसिक पर्यटन तथा पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङका अनुसार यस याममा चार सय २१ जनाले सगरमाथा आरोहणको अनुमति लिएकामा शेर्पा सहयोगीसहित ६ सयभन्दा बढीले आरोहण गरेका छन् । अघिल्लो वर्ष सन् २०२३ मा हालसम्मकै बढी चार सय ७८ जनाले सगरमाथा आरोहणको अनुमति लिएका थिए । उनीहरूमध्ये शेर्पा सहयोगीसहित सात सयभन्दा बढीले सगरमाथा आरोहण गरेको जनाइएको छ ।

सगरमाथा आरोहणमा जाने आरोहीको कोटा र आरोहण समयमै तोक्न हालै सर्वोच्च अदालतले आदेश दिएको छ । अधिवक्ता दिवकविक्रम मिश्रले दायर गरेको सार्वजनिक सरोकारको रिटमा गत वैशाख १४ गते सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मालता माथेमाको संयुक्त इजलासले उत्प्रेषण परमादेश जारी गरेको हो । उक्त आदेशानुसार अब हुने पर्वतारोहणको क्रममा पर्वतको सामथ्र्यताको सम्मान गर्दै उसको सीमाको मान्यता दिनुपर्ने भनेको छ ।

नेपाल पर्वतारोहण सङ्घका महासचिव मोहन लम्सालले सगरमाथा आरोहणमा निश्चित सङ्ख्या निर्धारण हुन जरुरी भएको बताउनुभयो । उहाँले भन्नुभयो, “सगरमाथा आरोहमा ‘लिमिट’ गरिनुपर्छ । सङ्ख्या बढी हुँदा आरोहीको जामलाग्ने, फोहर हुने अन्य जोखिम पनि बढ्ने हुँदा आरोहीको सङ्ख्या तीन सय हाराहारी हुँदा भीडभाड कम र फोहरमैला व्यवस्थापनमा पनि सहज हुन्छ ।”

महासचिव लम्सालले यस याममा पनि सगरमाथामा जाम लागेको तस्बिर सामाजिक सञ्जालमा आइरहेको भन्दै सगरमाथाको शानलाई बचाउन, जलवायु परिवर्तनको जोखिमबाट जोगाउन, स्वच्छता कायम गर्न सबै जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । सगरमाथमा जाम हँुदा अक्सिजन कम भएर आरोहीको मृत्यु हुने जोखिम रहन्छ । विभागका अनुसार यस याममा सगरमाथा आरोहणका क्रममा नौजनाको मृत्यु भएको छ । अघिल्लो याममा १८ जनाको मृत्यु भएको थियो । यस वर्ष मकालु हिमालमा पनि दुई आरोहीको मृत्यु भएको छ ।

एकहत्तरौँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइरहँदा सगरमाथाको पहिचान र गौरवलाई कायम राख्न अपनाउनुपर्ने सचेतनाबारे पनि उत्तिकै ध्यान दिन जरुरी छ । विश्वको सर्वोच्च शिखर सगरमाथा (आठ हजार आठ सय ४८ दशमलव ८६ मिटर) को चुचुरोमा मानवले पहिलोपटक पाइला टेकेको ७१ वर्ष पुगेको छ । सन् १९५३ मे २९ तारिखका दिन दुई साहसी पर्वतारोही नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमन्ड हिलारी सगरमाथाको चुचुरोमा पुग्नुभएको थियो ।  यो अवधिमा सगरमाथाले इज्जत, मान, प्रतिष्ठा र आर्थिक हिसाबले पनि नेपाललाई मात्रै होइन, विश्वलाई धेरै दिएको छ । विश्वको साँझा सम्पत्तिको रूपमा रहेको सगरमाथालाई जोगाउने साझा दायित्व पनि हो ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङ सगरमाथा देशको शान, अन्तर्राष्ट्रिय साझा सम्पदा पनि भएकाले यसको संरक्षण गरी पहिचान र गरिमालाई  उँचो बनाउन सबै तवरबाट पहल हुनुपर्ने बताउनुहुन्छ । “सगरमाथा नेपालको भूमिमा रहेको अन्तर्राष्ट्रिय सम्पदा हो, यसलाई प्रवर्द्धन गरेर नेपालमा बढीभन्दा बढी पर्यटक भित्र्याउने हाम्रो उद्देश्य हो, त्यसका लागि विगतबाट सिकेर आगामी दिनमा गर्नुपर्ने काम पक्कै पनि गर्नेछौँ”, उहाँले भन्नुभयो । सगरमाथा आरोहणलाई व्यवस्थित बनाउन विगतको भन्दा यस वर्ष व्यवस्थापकीय हिसाबले धेरै सकारात्मक काम भएको मन्त्री तामाङको भनाइ छ । 

सगरमाथा आधार शिविरमा फिल्ड कार्यालय स्थापना गरिएको, आरोहीको उद्धार केन्द्र बनाउनेलगायत गर्नुपर्ने कामलाई आगामी दिनमा प्राथमिकता दिने पर्यटनमन्त्री तामाङको भनाइ छ । उहाँका अनुसार सगरमाथा दिवसका अवसरमा यसपटक स्वदेशी तथा विदेशी सगरमाथा आरोहीलाई परिचयपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ । साथै कीर्तिमानी आरोही, विदेशी आरोहीलाई सम्मान गरिनेछ ।

यसरी बर्सेनि आरोहीको ट्राफिक जामले सगरमाथाको शान जोगाउन चुनौती बनिरहेको छ । सगरमाथालाई वातावरणमैत्री, सफा राख्न नेपाल मात्र होइन विश्वकै ध्यान जान जरुरी छ । विश्वको सम्पदा संसारकै अग्लो चुली सगरमाथाको गरिमालाई कायम राख्न तथा जलवायु परिवर्तनको जोखिमबाट यसलाई जोगाउन ध्यान दिनुपर्ने अपरिहार्यता छ । आरोहीको सङ्ख्या बढ्दा देशको अर्थतन्त्रमा समेत टेवा पुग्छ । तर पैसालाई मात्र हेरेर हिमालको संरक्षण नगर्ने हो भने एक दिन सगरमाथा पनि कालापत्थरमा परिणत नहोला भन्न सकिन्न । 

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ अनुसार वसन्त ऋतुमा सगरमाथा आरोहणमा जानेबाट प्रतिव्यक्ति विदेशीले रु ११ लाख दस्तुर तिर्नुपर्छ । नेपालीले रु ७५ हजार तिर्नुपर्छ । विदेशीले एकपटक सगरमाथा आरोहण गर्दा कम्तीमा रु ३० लाखदेखि रु एक करोडसम्म खर्च गर्छन् । मुलुकको पर्यटनको महत्त्वपूर्ण आधार मानिने पर्वतारोहण राजस्व आम्दानीका हिसाबले पनि सबैभन्दा धेरै हिमालबाटै ‘रोयल्टी’ उठ्छ । हिमाल आरोहणवापत वार्षिक झण्डै रु एक अर्ब रोयल्टी रकम जम्मा हुने गरेको बताइन्छ ।

पर्यटन विभागका महानिर्देशक रुद्रप्रसाद पण्डितले सगरमाथा आरोहणमा रोजगारी, होटल व्यवसाय, हवाई उडान, पोर्टर आदि जोडिएको विषय भएकाले यस विषयमा नीति थितिबेगर यसो गर्ने भनेर भन्न नसकिने बताउनुभयो । तथापि सगरमाथा आरोहणलाई व्यवस्थित गर्न र स्वच्छता र वातावरणमैत्री कायम गर्न सबै सरोकारवाला जिम्मेवार भएर लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

सगरमाथा आरोहणको ७१ वर्ष

सगरमाथा आरोहणको ७१ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले पहिलोपटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिनुभएको  थियो । सोही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो । यस वर्ष पनि नेपाल सरकारले ‘विश्वको सर्वोच्च शिखर सगरमाथाः नेपालको पहिचान र गौरव’ भन्ने नाराका साथ विभिन्न कार्यक्रमको आयोजना गरी भव्य रूपमा सगरमाथा दिवस मनाइँदै छ । सोही अवसरमा आज बिहान प्रभातफेरी गरिएको छ ।

यस वर्षको ७१औँ सगरमाथा दिवसका अवसरमा कीर्तिमानी आरोहीहरू र पर्वतीय पर्यटन व्यवसायीलाई सम्मान गर्दै हिमालको प्राकृतिक वातावरणको संरक्षण र दिगो तथा सुरक्षित पर्यटन प्रवर्द्धन गर्ने विषयलाई महत्व दिइएको विभागले जनाएको छ । दिवसको आयोजनाले भावी पुस्तालाई हिमाल आरोहणको सपनाहरू पछ्याउँदै भावी परिदृश्यहरूको सम्मान र संरक्षण गर्नसमेत प्रोत्साहित गर्ने विश्वास लिइएको छ ।

पर्यटन विभागका महानिर्देशक पण्डितका अनुसार दिवसलाई भव्य र सभ्य रूपमा मनाउन पर्यटनमन्त्री तामाङको अध्यक्षतामा मूल समारोह समिति गठन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आतिथ्यतामा हुने औपचारिक समारोहमा कीर्तिमानी आरोहीलगायतलाई सगरमाथा पुरस्कार, बाबुराम आचार्य पुरस्कार, तेन्जिङ– हिलारी पुरस्कार प्रदान गरिनेछ । अन्तर्राष्ट्रिय सगरमाथा दिवस नेपाल र विदेशमा समेत विभिन्न कार्यक्रमका साथ मनाउने गरिन्छ । सर्वोच्च शिखर सगरमाथासहित विश्वका आठ हजार मिटर अग्ला आठवटा हिमाल नेपालमा छन् । नेपालमा हाल चार सय पाँच हिमाल आरोहणका लागि खुला गरिएका छन् ।

आठ हजार बढीले चढे सगरमाथा

सगरमाथा आरोहणको इतिहासमा हालसम्म आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी पर्वतारोहीले सर्वोच्च शिखरको साहसिक विजययात्रा पूरा गरिसकेका छन् । सगरमाथा चढ्ने होडबाजीका साथै आरोहीहरूले नयाँ–नयाँ कीर्तिमान समेत थप्दै आएका छन् । कामीरिता शेर्पाले ३० पटक सगरमाथा आरोहण गरी विश्व कीर्तिमान बनाउनुभएको छ । उहाँले वसन्त ऋतुको यही याममा आफ्नै कीर्तिमान तोडेर नयाँ कीर्तिमान कायम गर्नुभएको हो । यस्तै गोरखाकी फुञ्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै सगरमाथा आरोहण गरेर विश्व कीर्तिमान बनाउनुभयो । यस्तै फोटो पत्रकार तथा आरोही पूर्णिमा श्रेष्ठले एकै याममा तीनपटक सगरमाथा आरोहण गरेर महिला आरोहीको विश्व कीर्तिमान बनाउनुभयो । फुन्जो झङ्मु लामाले १५ घण्टाभन्दा कम समयमै विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेर कीर्तिमान कायम गर्नुभएको छ ।

सन् १९७५ मे १६ तारिखका दिन जापानी आरोही जुनको तावेईले सगरमाथा आरोहण गरेर पहिलो महिला सगरमाथा आरोहीको उपमा पाउनुभएको थियो । नेपालबाट पासाङल्हामु शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो महिला हुनुहुन्छ । एक तथ्याङ्कानुसार हालसम्म चार सयभन्दा बढी आरोहीले सगरमाथाको आरोहणका क्रममा ज्यान गुमाएका छन् ।

पर्यटन विभागले प्रकाशन गरेको ‘माउन्टेनरिङ इन नेपाल, फ्याक्ट एण्ड फिगर–२०२३’ का अनुसार नेपाली तेञ्जिङनोर्गे शेर्पा र न्यूजील्याण्डका सर एडमण्ड हिलारीले आरोहण सुरु गरेयता हालसम्म सात हजार ६ सय २६ जनाले सगरमाथाको सफल आरोहण गरेका छन् । सन् २०२३ र २०२४ को आरोही सङ्ख्या जोड्दा आठ हजार बढी हुन आउँछ । हालसम्म सगरमाथा आरोहण गर्ने महिलामात्र पाँच सय १९ जना पुगेका छन् ।

कुन वर्ष कति आरोही ? 

सन् २०२२ मा आरोही तथा सहयोगी शेर्पा समूह गरी ६ सय ५८ जना सगरमाथाको चुचुरोमा पुग्न सफल भएका छन् । यसमा दुई ४० आरोही तथा चार सय १८ सहयोगी छन् । सन २०२१ मा एक सय ८३ र दुई सय ७६ सहयोगी गरी कुल चार सय ५९ जनाले सगरमाथा आरोहण गरे भने सन् २०२० मा सगरमाथामा शून्य आरोहण भयो । सन् २०१९ मा दुई सय ८० आरोही र तीन सय ६४ सहयोगी गरी जम्मा ६ सय ४४ जनाले आरोहण गरे । यस्तै सन् २०१८ मा दुई सय ८२ आरोही तथा दुई सय ९८ सहयोगी गरी पाँच सय ६० जनाले सगरमाथा आरोहण गरेका छन् ।

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ18VMQXX4QVCV5EZ929XFNX.jpg

पश्चिम तराईमा तीन दिनसम्म तातो हावा चल्ने

काठमाडौँ I आगामी तीन दिनसम्म मुलुकको पश्चिमी तराईका भू–भागहरूमा अत्यधिक गर्मीको सम्भावना छ । गर्मीको असरबाट बच्न आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भूभागमा आजदेखि तीन दिनसम्म तातो हावा तथा तातो लहरको सम्भावना रहेको जनाएको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम् तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ ।

तातो हावा तथा तातो लहरबाट थकाइ लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेशी दुख्ने, बान्ता आदि असर हुनसक्ने देखिएकाले सोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

तातो हावा तथा तातो लहरबाट बच्न गर्मीको समयमा घरभित्र अर्थात् चिसो स्थानमा रहने, बाहिरी वातावरणमा बढी नजाने, हल्का लुगा लगाउने, सुती कपडा लगाउने, बाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित पानी तथा झोल पदार्थ (जुस, सर्वत) आदि प्रशस्त मात्रामा पिउन महाशाखाले आग्रह गरेको छ ।

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१
https://jawaaf.com/storage/01HZ1833ZGGEMPXZAF92087QH0.jpg

गर्मी अत्यधिक बढेपछि विद्यालयलाई पङ्खा वितरण

विराटनगर I गर्मी अत्यधिक बढ्न थालेपछि विराटनगर महानगरपालिकाले सामुदायिक विद्यालयलाई सिलिङ पङ्खा उपलब्ध गराएको छ । विराटनगर महानगर क्षेत्रभित्र सञ्चालित ६१ सामुदायिक विद्यालयलाई पहिलो चरणमा पाँच सय थान सिलिङ पङ्खा उपलब्ध गराएको महानगरले जनाएको छ । 

चालु आर्थिक वर्ष २०८०/८१ को विनियोजित बजेटबाटै पङ्खा खरिद गरेर विद्यालयका प्राधानाध्यपकहरुलाई वितरण गरिएको विराटनगर महानगरपालिकाका कार्यवाहक प्रमुख मधु तिवारीले जानकारी दिनुभयो । महानगरपालिका प्रमुख नागेश कोइरालाले गत वर्ष नै सबै सामुदायिक विद्यालयका कक्षाकोठामा पङ्खा जडान गर्ने घोषणा गर्नुभएको थियो । 

महानगरको शैक्षिक प्रशासन महाशाखाका अधिकृत सुशील दाहालका अनुसार विद्यालयलाई पाँचदेखि २० थानसम्म सिलिङ पङ्खा उपलब्ध गराइएको छ । सामुदायिक विद्यालयमा एक हजार पङ्खाको आवश्यकता रहेको तर बजेट अभावका कारण तत्काल पाँच सय पङ्खा मात्र वितरण गरिएको उहाँले बताउनुभयो ।

शैक्षिक प्रशाशन महाशाखाअन्तर्गत आव २०८०÷८१ मा विनियोजित रु २० लाख रकमबाट सामुदायिक विद्यालयमा पङ्खा वितरण गरिएको हो । हाल यस क्षेत्रमा दैनिक ३८ देखि ४२ डिग्री सेल्सियससम्मको तापक्रम मापन गरिएको छ ।

प्रकाशित मितिः बुधबार, १६ जेठ २०८१