जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)का विजेता जनकपुर बोल्ट्स टीम बिहीबार जनकपुरधाम आउने भएको छ । जनकपुर बोल्ट्स टीम बिहीबार साँझ जनकपुरधाम आउने र शुक्रवार रजौलस्थित रामजानकी स्टेडियमबाट खेलाडीहरूको सम्मानमा नगरपरिक्रमा गरिने जिल्ला क्रिकेट संघ धनुषाका अध्यक्ष शोभाकान्त पाण्डे ले जानकारी दिए ।
उनले सोही साँझ जानकी मन्दिरमा ट्रफीसमेत प्रदर्शन गरिने बताए । खेलाडीहरूको सम्मानमा बाजागाजासहितको टोली जनकपुरधाम विमानस्थल पुग्ने छ । जिल्ला क्रिकेट संघले टोलीलाई भव्य स्वागतसहित नगरपरिक्रमा गराउने जनाएको छ । टीमलाई स्वागत तथा सम्मान गर्न जानकी मन्दिर, राजदेवी मन्दिर, युवा क्लबहरू, प्याबसन, एनप्याबसन धनुषा, उद्योग वाणिज्य संघ धनुषालगायत विभिन्न संघ संस्थाले तयारी गरेको छ ।
नेपालमा पहिलो पटक आयोजना गरिएको एनपीएल प्रतियोगिताको विजेता जनकपुर बोल्ट्स टीम बनेको छ ।जनकपुर बोल्ट्सले शनिवार काठमाडौँ स्थित त्रिभुवन विश्वविद्यालयको खेलमैदानमा भएको एनपीएलको फाइनल खेलमा सुदूरपश्चिम टीमलाई ५ विकेटले पराजित गर्दै उपाधि कब्जा गरेको थियो ।
संघीय संसद अन्तर्गत तीन समितिको बैठक बस्दैँ
काठमाडौँ । संघीय संसद अन्तर्गत आज तीन समितिको बैठक बस्ने भएको छ । मंगलबार प्रतिनिधि सभा अन्तर्गत कानून, न्याय तथा मानव अधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति र पूर्वाधार विकास समितिको बैठक बस्न लागेको हो ।
कानून, न्याय तथा सत्व अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुने कार्यसूची रहेको छ । बैठकको समय बिहान ११ः०० बजे छ ।
यस्तै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विज्ञसँग छलफल गर्ने कार्यसूची रहेको छ । बैठकको समय दिनको १ः०० बजे रहेको छ ।
त्यस्तै, पूर्वाधार विकास समितिको बैठकमा विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता माननीय सदस्यहरूसँग छलफलको कार्यसूची रहेको छ भने विद्युत् विधेयक, २०८० माथि संशोधनकर्ता माननीयहरूलाई आमन्त्रित गरिएको छ । बैठकको समय बिहान ११ः०० बजे रहेको छ ।
सँगै दीक्षित हुने तयारीमा आमा–छोरा
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले ५० औँ दीक्षान्त समारोहको तयारी गरिरहेको छ । यही पुस १३ गते हुने दीक्षान्त समारोहका लागि आवेदन दिएका विद्यार्थीहरू आवश्यक पर्ने गाउन, स्कार्फ र टोपीको जोहो गर्न व्यस्त छन् ।
सेमेस्टर तथा वार्षिक परीक्षा प्रणाली अनुसार स्नातक, स्नातकोत्तर तह तथा एमफिल तह उत्तीर्ण गरी ट्रान्स्कृप्ट लिएका विद्यार्थीहरूले आवेदन फाराम भरेका आधारमा पोसाकको जोहो गरिरहेका छन् । यसै सिलसिलामा सँगै दीक्षित हुने तयारीमा रहेका आमा र छोराले खुसी साटेका छन् ।
उमेरले ५० नाघेकी लक्ष्मी पौडेल क्षेत्री(सिलवाल)र छोरा अभिनव सिलवाल एकसाथ दीक्षित हुने तयारी गरिरहेको सुनाए । ‘म अहिले ५० नाघिसकेँ । ललितपुरको नमूना मछिन्द्र कलेजबाट प्लसटू र स्नातक पनि त्यहीबाट पास गरेको हुँ । पढाइ छाडेको २० वर्ष भयो । घर परिवार र जिम्मेवारीले गर्दा पढ्न पाएको थिएन । तर अचानक पढाई पूरा गर्ने सोच अनुसार हाललाई त्यो पूरा गरेको छु । र दीक्षान्तको तयारीमा छु,’ उनले भनिन्, ‘मैँले मेरा बच्चाहरूसँगै बसेर पढेँ । परिवारको साथ र सहयोगले पढाइ पुरा गरेर दीक्षित हुने रहर लागेको हो ।’
‘म अहिले औधी खुसी छु । पढाइको यात्रा अहिलेलाई पूरा गरेको छु । मलाई मेरो परिवारबाट पनि धेरै साथ थियो त्यही भएर पनि म आज यहाँ छु । गाउन लगाएर छोरासँगै दीक्षित हुने रहर पूरा गर्दैछु,’ उनले भनिन् ।
छोरा अभिनव सिलवालले आफ्नी आमासँगै पढाई पूरा गरेर दीक्षित हुने तयारी गर्न पाउँदा खुसी लागेको सुनाए । ‘यो मेरा लागि खुसीको पल हो । आमालाई अझै पढ्नु पर्छ भन्न चाहन्छु,’ उनले भने ।
पत्रकार मरासिनीसहित नौँ जनालाई ‘जेसीज उत्कृष्ट युवा पुरस्कार’
इटहरी । पत्रकार एवं लेखक गोविन्द मरासिनीसहित नौँ युवा जुनियर च्याम्बर इन्टरनेशनल नेपाल (जेसीज) ‘उत्कृष्ट युवा पुरस्कार–२०२४’बाट पुरस्कृत भएका हुन् ।
मरासिनीलाई पत्रकारिता र स्वतन्त्र लेखन कार्य मार्फत राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याएको योगदान स्वरूप ‘देशको प्रतिष्ठा बढाउन अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रयास’ विधामा मरासिनीलाई उक्त पुरस्कारबाट पुरस्कृत गरिएको हो ।
करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशील मरासिनीले मूलतः युवा, पर्यटन, सामाजिक, कला र समसामयिक विषयमा विभिन्न राष्ट्रिय स्तरका पत्रिकाहरू र विभिन्न जर्नलमा अनुसन्धानात्मक लेख समेत लेख्दै आएका छन् ।
उनी यसअघि संकटमा सक्रिय पत्रकारीत पुरस्कार, सार्क यूथ लिडर अवार्ड–२०२२, गण्डकी प्रदेश युवा प्रतिभा पुरस्कार, टान पत्रकारिता पुरस्कार लगायतका पुरस्कारबाट सम्मानित भइसकेका छन् ।
जेसिजले हरेक वर्ष राष्ट्रलाई उत्कृष्ट योगदान पुर्याउने १० युवालाई उत्कृष्ट युवा पुरस्कारबाट पुरस्कृत गर्दै आएको छ । नेपाल जेसीजले सधैँका वर्ष झैँ यस वर्षपनि पुरस्कार छनौट समिति बनाएर विभिन्न शाखाबाट सिफारिस उत्कृष्ट युवाहरूलाई छनौट गरी पुरस्कृत गरिएको अध्यक्ष पोखरेलले जानकारी दिए । स्याङ्जा निवासी मरासिनीलाई स्याङ्जाको भीरकोट जेसीजले उक्त पुरस्कारका लागि सिफारिस गरेको थियो ।
मरासिनीसँगै क्रिकेट खेलाडीद्वय करण केसी र रुविना क्षेत्री, साहित्यतर्फ कुमार सिंह, सामाजिक न्यायको क्षेत्रमा क्रियाशील कविता नेपाल, कलाकारितातर्फ पुर्णबहादुरको सारङ्गीका चर्चित कलाकार विजय बराल, आर्थिक क्षेत्रमा प्रगति गर्ने राहिव साहिवाला, विज्ञान प्रविधितर्फ कपिली खनाल र सङ्गीततर्फ सरोज श्रेष्ठ रहेका छन् ।
पुरस्कृत युवालाई जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, कोशी प्रदेशका मुख्यमन्त्री हिक्मकुमार कार्की र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष पोखरेलले प्रमाणपत्र, नगद पुरस्कार र मेडल सहित पुरस्कृत गरे ।
त्रिविसँग मेरो लिनुदिनु केही छैन् तर सुधार हुनुपर्यो : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको अग्रसरतामा त्रिभुवन विश्वविद्यालयभित्रका विविध समस्या र सुधारका विषयमा विश्व विद्यालयसभाको अनौपचारिक बैठक भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा आज(आइतवार)करिब तीन घन्टा भएको अनौपचारिक सिनेट बैठकमा विश्वविद्यालयका प्राध्यापक, कर्मचारी, विद्यार्थी, पब्लिक क्याम्पसलगायत क्षेत्रका प्रतिनिधिले क्षेत्रगत समस्या र समाधानका उपाय सुझाएका छन् ।
ओलीले सबै क्षेत्रका समस्या र मागलाई समेटेर सरोकार भएका पक्षसँग थप छलफल गरी समाधानका उपायसहित निर्णय गर्नुपर्ने विषयहरू प्रस्तावका रूपमा ल्याउन विश्वविद्यालयका पदाधिकारीलाई निर्देशन दिए ।
गत मङ्सिर २७ गते कीर्तिपुरमा भएको त्रिविको सिनेट बैठकमा प्रस्तुत कार्यसूचीमा पदाधिकारी र सिनेट सदस्य बिचको दूरी बढेको महसुस भएपछि कुलपति ओलीले विस्तृत छलफल गर्न आजका लागि समय निर्धारण गरेका थिए ।
सिनेट सदस्यहरूले कुलपतिस्तरबाट यस प्रकारको बैठक पहिलो पटक राखिएको र आफ्ना कुराहरू खुलेर राख्न पाइएको बताएकामा धन्यवाद दिएका थिए ।
सिनेट सदस्यका सुझाव सुनेपछि ओलीले पर्याप्त गृहकार्य र एक प्रकारको सहमति भएपछि औपचारिक बैठकमा प्रस्ताव ल्याउन आग्रह गर्नुभयो । मङ्सिर २७ गतेको सिनेट बैठकका छलफललाई बङ्ग्याएर सामाजिक सञ्जालमा प्रस्तुत गरिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले सिनेटरहरू सार्वजनिक खपतका लागि नभई समस्या समाधान र सुधारको मुख्य मुद्दामा तर्कपूर्ण रुपमा केन्द्रित हुनुपर्नेमा जोड दिए ।
प्रधानमन्त्री ओलीले आफूलाई विश्वविद्यालयबाट व्यक्तिगत रुपमा लिनुदिनु (लाभहानी) केही नभएको स्पष्ट गर्दै त्रिविको विकास, रक्षा, प्रवर्धन र प्रगति नै साझा चिन्ता हुने भएकाले यसको मर्यादा, गरिमा र साखलाई जोगाउन आग्रह सबैलाई आग्रह गरे ।
कुलपति ओलीले त्रिविको वेबसाइटमा यसका जनशक्ति, गरिएका काम र लक्ष्यहरूलाई सार्वजनिक गर्न आग्रह गर्दै यस खालको पवित्र संस्थामा पारदर्शीता कायम गर्न स्मरण गराए ।
‘त्रिविको शैक्षिक क्यालेण्डर पालना हुनुपर्छ । अनौपचारिक बैठक भएपनि यसलाई निर्देशन नै मान्दा हुन्छ । विश्वविद्यालयमा पारदर्शीता हुनुपर्छ । मेरिटोक्रेसी कायम हुनुपर्छ । उत्कृष्ट भएकालाई उत्कृष्ट नम्बर दिइनुपर्छ । फेल भएकालाई फेल गराइनुपर्छ । मेरो भनाइ साँच्चैको मेरिटोक्रेसी होस् भन्ने हो । मलाई कुन डीनको कति मेरिटोक्रेसी छ मलाई थाहा छैन । को नियुक्त हुन्छ, त्यो मेरो रुचिको विषय होइन, मेरो रुचिको विषय यो विश्वविद्यालय सबल होस्, सक्षम जनशक्ति उत्पादन हुन् भन्ने हो । नियुक्तिहरूमा मेरो कुनै हस्तक्षेप हुँदैन । निर्णय गर्ने पदाधिकारीले हो, त्यसकारण सफलता र असफलताको जस तपाईँहरूले लिनुपर्छ । कुलपतिका हैसियतले राम्रो गर्नुस् भन्ने मात्रै मेरो चासो हो । यसलाई पनि हस्तक्षेप मानिए त आश्चर्यबाहेक अरू के मान्न सकिन्छ र ?’
उनले त्रिविको चल–अचल सम्मति खोजबिन समितिको प्रतिवेदन अध्ययन तथा कार्यान्वयनका लागि कार्यदल बनाउनुपर्ने र प्रतिवेदन पर्याप्त नभएकाले थप अध्ययन गर्नुपर्ने बताए । प्रधानमन्त्री ओलीले त्रिवि सेवा आयोगले नियमित परीक्षा लिने काम नगर्ने हो भने यसको औचित्यमा पुनः विचार गर्न आग्रह गरे।
बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं सहकुलपति विद्या भट्टराई, उपकुलपति प्रा डा केशरजङ्ग बराल, शिक्षा मन्त्रालयका सचिव डा दीपक काफ्लेलगायतको सहभागिता रहेको थियो ।
बागमती प्रदेश खेलकुद विकास परिषद्ले २६ जना स्वयंसेवक नियुक्त गर्दै
हेटौँडा । बागमती प्रदेश युवा तथा खेलकुद मन्त्रालय मातहतको प्रदेश खेलकुद विकास परिषद्ले खेलकुदका विभिन्न विद्यामा स्वयंसेवक प्रशिक्षक नियुक्तिको प्रक्रिया अगाडि बढाएको छ ।
बुधवार बसेको स्वयंसेवक छनौट निर्देशक समितिको बैठकको निर्णय अनुसार परिषद्ले विभिन्न १२ विधाका खेलकुदका लागि २६ जना स्वयंसेवक प्रशिक्षक नियुक्त गर्दैछ । परिषद्ले स्वयंसेवक प्रशिक्षकको रूपमा सूचीकृत हुन आज सूचना समेत जारी गरेको छ ।
आर्थिक वर्ष २०८१र०८२ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार स्वयंसेवक प्रशिक्षकहरू सूचीकृत गरी छनौट गर्नुपर्ने र कार्यक्षेत्रमा खटाउनुपर्ने भएकाले सूचना जारी गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले जानकारी दिएका छन् ।
स्वयंसेवक प्रशिक्षकका लागि इच्छुक योग्यता पुगेका खेलसँग सम्बन्धित खेलाडीहरूले १५ दिन भित्र व्यक्तिगत विवरणसहित निवेदन दिनुपर्ने उनले बताए । परिषद्ले करातेमा ४, उसुमा ३, एथलेटिक्समा १, तेक्वान्दोमा २, भलिबलमा १, फुटबलमा १, बक्सिङमा ३, टेबल टेनिसमा २, नेटबलमा २, व्याडमिन्टनमा २, फुलकन्ट्याक्ट करातेमा ४ र आई.टि.एफ. तेक्वान्दोमा १ जना स्वयंसेवक प्रशिक्षक नियुक्तिका लागि निवेदन माग गरेको छ ।
प्राप्त निवेदनका आधारमा लिखित परीक्षा तथा अन्तर्वार्ता मार्फत प्रशिक्षकहरू नियुक्त गरिने युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जनले जानकारी दिए ।
छनौट भएका प्रशिक्षकहरू नियुक्त गरी माग भएका जिल्लाहरूमा खटाइने छ । प्रदेशका १३ जिल्लामा खेलाडी प्रशिक्षणका लागि नियुक्त भएका स्वयंसेवक पशिक्षकहरू खटाइने उनले बताए । स्वयंसेवक प्रशिक्षकले सेवा गरे बापत मासिक २२ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्ने छन् ।
आज विश्व ध्यान दिवस मनाइँदै
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घले घोषणा गरेको विश्व ध्यान दिवस आज नेपालमा पनि विभिन्न धार्मिक, आध्यात्मिक, सांस्कृतिक एवम् सामाजिक संस्थाले मनाउँदै छन् । संयुक्त राष्ट्रसङ्घले डिसेम्बर २१ गते पहिलो विश्व ध्यान दिवस मनाउने घोषणा गरे अनुसार नेपालमा पनि विभिन्न कार्यक्रम हुँदैछन् ।
संयुक्त राष्ट्रसङ्घको महासभाले योग र ध्यानलाई स्वास्थ्यका लागि पूरक उपायका रूपमा स्वीकार गर्दै ध्यान दिवस मनाउने निर्णय गरेको हो । मस्तिष्कलाई तनावमुक्त गर्न र आराम दिनका लागि ध्यान उचित प्रक्रिया र विधि मानिन्छ ।
प्राचीनकालमा आश्रममा बस्ने ऋषिमुनि र योगीहरूले अभ्यास गरे पनि पछिल्लो समय जीवन विज्ञान, विपश्यना, ओमशान्ति, पतञ्जलि लगायतले शान्त र आरोग्य जीवन अपनाउन सकिने गरी जनमानसमा ध्यानको अभ्यास गराउँदै आएका छन् ।
नेपाल विश्वविद्यालयको कुलपतिमा डा. लोहनी चयन
काठमाडौँ । नेपाल विश्वविद्यालयको कुलपतिको पदमा डा।बिन्दुनाथ लोहनी चार वर्षका लागि चयन भएका छन् । नेपाल विश्वविद्यालय ऐन २०८१ को व्यवस्था अनुसार संरक्षण परिषद्को पहिलो बैठकले शुक्रवार डा. लोहरीलाई चयन गरेको हो ।
सन् १९७० मा भारतको बिरला इन्स्टिच्युट अफ टेक्नोलोजीबाट स्वर्ण पदकसहित सिभिल इन्जिनियरिङमा स्नातक अध्ययन पूरा गरेका डा। लोहनले सन् १९७४ मा अमेरिकाको नर्थ क्यारोलिना विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातकोत्तर र सन् १९७७ मा एशियन इन्स्टिच्युट अफ टेक्नोलोजी, बैंककबाट वातावरणीय प्रविधि र व्यवस्थापन विषयमा विद्यावारिधि गरेका छन् ।
कुलपतिमा चयन भएपछि शुक्रवार बसेको परिषद्को पहिलो बैठकलाई सम्बोधन गर्दै उनले विश्वविद्यालयलाई संस्थागत विकास गर्न पहिलो चरणमा स्रोत जुटाउने कामलाई प्राथमिकता दिने बताए ।
निजामती सेवाबाट पेसागत जीवन सुरु गर्नु भएका डा। लोहनी एशियन इन्स्टिच्युट अफ टेक्नोलोजीमा प्राध्यापक हुँदै एसियाली विकास बैँकमा विभिन्न महत्वपूर्ण पदमा ३० वर्ष काम गरिसकेका छन् ।
विकास, वातावरण र व्यवस्थापनको क्षेत्रमा अन्तर्राष्ट्रिय तहमा एक प्रबुद्ध व्यक्तित्वको रूपमा परिचित डा।लोहनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार र सम्मानबाट विभूषित भइसकेका छन् ।
गत भदौ तेस्रो साता सङ्घीय संसदको प्रतिनिधिसभाको बैठकले ‘नेपाल विश्वविद्यालय विधेयक, २०८१ लाई पारित गरेपछि विश्वविद्यालय खोल्ने बाटो खुलेको हो ।
सरकारले दक्ष, सिर्जनशील, उद्यमशील र प्रतिस्पर्धी मानवस्रोत उत्पादन गर्न गैरसरकारी क्षेत्रमा सार्वजनिक विश्वविद्यालय स्थापना र सञ्चालन गर्न आवश्यक ठानी सो विधेयक सदनमा पेस गरेको थियो ।
विश्वविद्यालयमा संरक्षक, प्राज्ञिक र कार्यकारी परिषद् तथा अनुसन्धान केन्द्र, स्कुल र कलेजलगायत संरचनात्मक सङ्गठन तथा कुलपति, उपकुलपति, रजिस्ट्रार, डीन, निर्देशक र प्रिन्सिपल पदाधिकारी हुने व्यवस्था छ ।
आदिवासीको नाममा आएको बजेट सही सदुपयोग नभएको गुनासो
काठमाडौँ । जैविक विविधता सम्बन्धी विश्व सम्मेलन कोप–१६ तथा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय महासन्धि (यूएनएफसीसीसी)का पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप–२९)मा सहभागीहरूले त्यहाँ उपस्थित हुँदा बुझेका, देखेका अनुभवहरूको आदानप्रदान गरेका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) र आदिवासी जनजाति महिला मञ्च (निफ)ले शुक्रबार काठमाडौँमा अन्तरक्रिया कार्यक्रमको आयोजना गरी कोप–१६ र कोप–२९ मा नेपालबाट सहभागी भएका विशेषगरी आदिवासी जनजाति मुद्दामा काम गर्ने सहभागीहरूले अनुभव आदानप्रदान गरेका हुन् ।
त्यस अवसरमा जैविक विविधता र जलवायु परिवर्तन तथा आदिवासी जनजातिको अधिकारका विषय अत्यन्त महत्वपुर्ण भएपनि यसका विषयमा नेतृत्व तहमै राम्रोसँग जानकार हुन् नसकेको सहभागीहरूले बताएका थिए ।
आफूले सिकेका ज्ञानहरू अरूलाई पनि जानकारी दिनुपर्ने भन्दै उनीहरूले जलवायु परिवर्तन मानव सभ्यताकै ठूलो चुनौतीको रूपमा आएकाले यसका विषयमा सबैले जान्न, बुझन र त्यसको अनुकूलनका लागि काम गर्न आवश्यक रहेको बताएका थिए ।
अहिले हिमालमा हिउँ पग्लिएर हिमाल कालो देखिँदै गएको भन्दै हिँउ पग्लिएर बनेको हिमतालको कारणले त्यस आसपासमा रहेका आदिवासी बस्तीहरू सबैभन्दा बढी जोखिममा रहेको सहभागीले बताएका थिए ।
जसले फोहोर गर्छ त्यसले नै त्यो फोहोर सफा गर्नुपर्छ भन्ने मान्यता भएपनि धनी मुलुकहरू जसले जलवायु परिवर्तन गर्न भूमिका खेलेका छन्, ती मुलुकहरूले तिर्छु भनेर कमिटमेन्ट गरेर रकम तिरेका छन् कि छैनन् र उक्त रकम आदिवासी जनजाति समुदायका लागि खर्च भएको छ कि छैन भन्ने कुरा बुझनआवश्यक रहेको उनीहरूको भनाई थियो । हरेक वर्ष जलवायु परिवर्तन अनुकुलनका निम्ति कति बजेट आउँछ र त्यो कहाँ कसरी खर्च हुन्छ ? भन्ने कुरा जलवायु परिवर्तनबाट प्रभावित आदिवासीले थाहा पाउनुपर्ने सहभागीले बताए ।
नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाको अध्यक्षतामा भएको कार्यक्रममा कमल साम्पाङ र टुङ्गभ› राईले जैविक विविधता र कोप सम्बन्धी जानकारी दिएका थिए भने देवकुमार सुनुवारले युएन भोल्युन्टरी फन्डको विषयमा जानकारी दिएका थिए । त्यस अवसरमा नेफिनका अध्यक्ष गेल्जे लामा शेर्पाले केही समय पहिले सोलुखुम्बुको माथि थामेमा दुईवटा हिमतालहरू फुट्दा आदिवासी शेर्पा समुदाय प्रभावित भएको बताए ।
जलवायु परिवर्तनले नेपालमा के असर गरेको छ । त्यसले के कति क्षति पुर्याएको छ ? अहिले हिमालको हिउँ पग्लिएको छ। हिम तालहरूको सङ्ख्या वृद्धि भइरहेका छन् । जसले गर्दा हाम्रा आदिवासी वस्तीहरू जोखिममा छन्’, अध्यक्ष शेर्पाले भने, ‘अहिले त्यस्ता कम्तीमा पनि दुई हजार तालहरू बढेका छन् । भोलि त्यसले ल्याउन्ने क्षति निकै डरलाग्दो छ ।’ शक्ति राष्ट्रहरू जसका कारणले जलवायु परिवर्तन गराउन भूमिका खेलेका छन्, उनीहरूका कारण जलवायु परिवर्तनसँगै आदिवासी जनजाति समुदायका आर्थिक, भौतिक, सांस्कृतिक क्षति भएको उनको भनाई थियो ।
उनले भने, ‘जलवायु परिवर्तनको कारणले हाम्रा हिमाल त पग्लिएका छन् नै सँगै हामी आदिवासीको सांस्कृतिक क्षति भएको छ । भौतिक, आर्थिक क्षति भएको छ । अहिले जलवायु परिवर्तन गराउन भूमिका खेल्ने राष्ट्रहरूले पठाउने क्षतिपूर्ति बापतको रकम हामी आदिवासी जनजातिहरूको नाममा आउँछ । तर त्यो कहाँ कसरी खर्च भएको छ ?’
नेपालमा आदिवासी जनजातिको नाममा धेरै बजेट ल्याएर अरूले नै खर्च गरिरहेको भन्दै जसका निम्ति खर्च हुनुपर्ने हो त्यसका निम्ति खर्च नभएको दाबी समेत अध्यक्ष शेर्पाले गरे । ‘आदिवासी जनजातिका नाममा विभिन्न गैरसरकारी संस्थाहरूले बजेट ल्याएर खाइरहेका छन् । तर नेफिनलाई थाहै छैन । २–४ जना आदिवासीहरू उभ्याएको छ । बजेट जति जम्मै कता गएको छ कता ?, उनले भने, ‘केही गैरसरकारी संस्थाहरूले विदेशमा गएर नेपालमा आदिवासी जनजातिहरूको क्षेत्रमा काम गर्ने त हामी हो नि भनेर बजेट ल्याएर खाइरहेका छन् । तर त्यो आदिवासी जनजातिका लागि खर्च भएको छैन ।’
आदिवासीको नाममा आएको बजेटहरू सहि ठाउँमा लगानी नभएको भन्दै उनले त्यसलाई सही ठाउँमा लगानी गर्नका निम्ति काम गर्नुपर्ने समय आएको बताए । जलवायु परिवर्तनले सबैभन्दा बढी क्षति आदिवासी जनजातिलाई भएकाले उनीहरूका नाममा आएको बजेट उनीहरूकै लागि खर्च हुनुपर्ने उनको भनाई थियो ।
त्यस अवसरमा बोल्दै निफका अध्यक्ष सुनी लामाले जलवायु परिवर्तनका कारण सबैभन्दा बढी आदिवासी महिलाहरू प्रभावित हुने गरेको बताए । प्रकृति र प्राकृतिक स्रोतसँग सबैभन्दा निकट आदिवासी महिलाहरू रहने र त्यसको प्रयोग पनि आदिवासी महिलाहरूले गर्ने भएकाले जलवायु परिवर्तनको असर आदिवासी महिलाहरूले भोग्दै आएको उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै नेफिनका महासचिव दिवस राईले हिउँ पग्लिने र हिउँ नदीहरू बढ्दै गएर त्यसका वरिपरि रहेका आदिवासी वस्तीहरू बढी भन्दा बढी जोखिममा रहने अवस्था रहेको बताए ।
नेपाल इन्जिनियरिङ कलेजमा सेनाका इन्जिनियर
काठमाडौँ । नेपाली सेना, इन्जिनियर तालिम शिक्षालय गौचरण ब्यारेकका इन्जिनियर युवक अधिकृतहरूले नेपाल इन्जिनियरिङ कलेजको स्थलगत भ्रमण गरेका छन् । गौचरण ब्यारेकका १६ जना इन्जिनियर अधिकृतहरूले कलेजको स्थलगत अध्ययन अवलोकन गरेका हुन् ।
सो क्रममा उनीहरूले कलेजको हाइड्रोपावर ब्रेक पोर्टेशन इन्जिनियरिङको अध्ययन, माइक्रो हाइड्रोपावर प्लान्टको अवलोकन गर्दै विषयगत शिक्षकहरूबाट ज्ञान लिएका छन् । नेपाली सेनाका अधिकृतहरूलाई कलेजका एशोसिएट प्रोफेसरद्वय रघुनाथ प्रजापति, सुनिल ख्याजू, असिस्टेन्ट प्रोफेसरद्वय विनय शाक्य, रक्षक ढुंगेल लगायतले ज्ञान र निर्देशन दिएका थिए ।
नेपाली सेनाले विगत नौ वर्षदेखि नेपाल इन्जिनियरिङ कलेजमा आएर इन्जिनियरिङ विधाका विविध विषयमा ज्ञान लिने गरेको छ । इन्जिनियरिङ विधाका सबै विषयहरू प्रयोगात्मक शिक्षण विधिबाट अध्यापन हुने र कलेजले स्थापना गरेका ल्याब, मिनी हाइड्रो पावर प्लान्टहरु उत्कृष्ट रहेकाले नेपाली सेनाका इन्जिनियर अधिकृतहरू अध्ययन र अवलोकनका लागि आउने गरेका छन् ।
मुनाफारहित सामाजिक शैक्षिक संस्थाका रूपमा सञ्चालित कलेज पोखरा विश्वविद्यालयको उत्कृष्ट इन्जिनियरिङ कलेजका रूपमा परिचित छ। पूर्णकालीन शिक्षक शिक्षिका, आफ्नै सुविधासम्पन्न भवन, अत्याधुनिक पुस्तकालय तथा राष्ट्रिय, अन्तर्राष्ट्रिय रिसर्चका अवसरको उपलब्धताले यस कलेजलाई नेपाल इन्जिनियरिङ काउन्सिलले स्थायी प्रमाणपत्र समेत दिएको छ ।








































