झापाका बाह्र स्थानीय तहका आफ्नै अस्पताल
झापा, ५ भदौः झापाका १५ मध्ये १२ वटा पालिकाले न्यूनतम १५ शय्याको अस्पताल सञ्चालनमा ल्याएका छन् । पालिका आफैले सञ्चालन गरेका अस्पतालमा आपतकालीन, प्रसुति, प्रयोगशाला र अल्ट्रासाउन्डलगायतका सेवा उपलब्ध छन् ।
प्रादेशिक अस्पतालदेखि मेडिकल कलेजको अनुमति प्राप्त बीएन्डसी अस्पताल समेत रहेको जिल्लामा १५ शय्याभन्दा बढी क्षमताका एक दर्जन अस्पताल निजी क्षेत्रबाट सञ्चालित छन् । निजी क्षेत्रका ठूला अस्पतालमा एमआरआई सेवा समेत उपलब्ध छ ।
मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताउनुभयो ।
दमक, विर्तामोड र अर्जुनधारामा नगरक्षेत्रभन्दा बाहिर समेत सेवा दिनेगरी बढी क्षमताको अस्पताल सञ्चालनमा छन् । कचनकबल गाउँपालिका र शिवसताक्षी नगरपालिकामा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन् । ती पालिकाले आधारभूत अस्पताल सञ्चालनका लागि तयारी गरिरहेको जनाएका छन् ।
जिल्लाको पुरानो सदरमुकाम भद्रपुर नगरपालिकामा सुविधासम्पन्न प्रादेशिक अस्पताल छ भने विर्तामोड, दमक, भद्रपुर, मेचीनगर र कनकाईमा निजी क्षेत्रका ठूला अस्पताल छन् ।
मेचीनगरमा अस्पताल उद्घाटन
मेचीनगर वडा नं. १० धुलाबारीमा नगर आधारभूत अस्पताल सञ्चालनमा छ । अस्पतालमा चार जना एमबीबीएस चिकित्सकले सेवा दिन थालेका छन् ।
प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालका रुपमा स्तरोन्नति गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले बताउनुभयो ।
“चार जना एमबीबीएस डाक्टरले उपचार सेवा प्रदान गर्ने गरी नगरस्तरीय अस्पताल सञ्चालनमा ल्याइएको हो”, अधिकारीले भन्नुभयो, “२४सै घण्टा आपतकालीनसहित प्रसुति, अल्ट्रासाउन्ड, इसीजी र ल्याबलगायतका सेवा उपलब्ध गराएका छौँ ।”
नगर अस्पतालले आफ्नै फार्मेसी समेत सुरु गरेको मेचीनगर-१० का वडाध्यक्ष नारायण खनालले जानकारी दिनुभयो । नगर अस्पताल सञ्चालन भएको भवनमा यसअघि एक जना एमबीबीएस चिकित्सकको मात्र दरबन्दी थियो ।
मेचीनगरको पन्ध्र वटै वडामा प्राथमिक स्वास्थ्य सेवा केन्द्र सञ्चालन भइरहेको छ । मेचीनगर-१० मा सरकारी, सामुदायिक र निजी क्षेत्रबाट गरी तीन वटा अस्पताल सञ्चालनमा छन् ।
मेची आम्दा अस्पताल सामुदायिक अवधारणाबाट सञ्चालित अस्पताल हो भने निजी क्षेत्रबाट १५ शय्याको शिखर अस्पताल समेत सञ्चालित छ ।
भोजपुरको आमचोकको चौध सय रोपनीमा चियाखेती
भोजपुर, ५ भदौः पर्यटकीय क्षेत्रको विकाससँगै स्थानीयको आयस्तर सुधार गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकाले चियाखेती थालेको छ । चियाखेतीको प्रशस्त सम्भवना बोेकेका यहाँका खाली पाखापखेरालाई हरियाली बनाउँदै आयस्तर वृद्धिसँगै रोजगारी सृजना गर्न गाउँपालिकाले चियाखेती थालेको हो ।

गाउँपालिकाले आफ्नै लगानीमा यहाँको करिब एक हजार चार सय रोपनीमा चियाखेती गरेको छ । खाली जमिनको सदुपयोग गर्दै पर्यटीय क्षेत्रको रुपमा स्थापित गराउने सोचका साथ गाउँपालिकाले आर्थिक वर्ष २०७४/७५ देखि योजनाबद्ध रुपमा चियाखेती गरिरहेको छ । हालसम्म चियाखेतीका लागि गाउँपालिकाले रु चार करोड ५ं० लाख लगानी गरिसकेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । उक्त पालिकाका वडा नं १ २, ३ र ६ मा खेती विस्तार थालिएको गाउँपालिका अध्यक्ष राईले बताउनुभयो । यी वडामा प्रशस्त खाली जमिन छभने यहाँको प्राकृतिक छटाले पर्यटनको राम्रो सम्भावना बोकेको अध्यक्ष राईले बताउनुभयो ।
“गाउँपालिकाले योजनाबद्ध रुपमा चियाखेती विस्तार गरिरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यहाँका खाली जमिनको सदुपयोग गर्दै आयस्तरमा सुधारसँगै पर्यटनको विकास गर्ने लक्ष्यले काम गरिरहेका छौँ । हालसम्म करिब एक हजार चार सय रोपनी क्षेत्रमा खेती विस्तार भइसकेको अवस्था छ ।” आमचोक गाउँपालिकाको माथिल्लो भेगमा धेरै खाली चौर रहेकोले त्यहाँ चियाखेतीको राम्रो सम्भावना भएको उहाँले बताउनुभयो । गाउँपालिकासँगै स्थानीयलाई पनि निजी खाली जमिनमा चियाखेती विस्तारमा प्रोत्साहन गर्न कार्यक्रम सञ्चालन गरिने उहाँले बताउनुभयो । “यहाँका खाली निजी जमिनमा पनि खेती विस्तारमा स्थानीयलाई उत्प्रेरित गराउन यो वर्षबाट प्रोत्साहनका कार्यक्रम सञ्चालन गर्दैछौँ ।”
स्थानीयको जनसहभागिता बढाउँदै व्यवस्थित र प्रणालीगत रुपमा अघि बढाउन आमचोक चिया तथा कफी सहकारी गठन गरिएको अध्यक्ष राईले बताउनुभयो । गाउँपालिकाले यहाँका स्थानीयको आयस्तरको वर्गीकरण गरेर कमजोर आर्थिक क्षमता भएका स्थानीयलाई शेयरको व्यवस्था गरेको उहाँले बताउनुभयो । वर्गीकरणमा ‘घ’ वर्गमा परेका गरिब तथा विपन्न परिवारलाई गाउँपालिकाले रु नौ हजार र स्वयम व्यक्तिले रु एक हजार गरी १० हजार बराबरको शेयर वितरण गरिएको अध्यक्ष राईले बताउनुभयो । यहाँका अतिगरिब विपन्न एक हजार एक सय ६३ परिवारलाई शेयर वितरण गरिएको उहाँले बताउनुभयो ।
गाउँपलिकाले ऐन निर्माण गरेर चिया विकास संस्था सञ्चालन गर्ने उहाँले बताउनुभयो । यो संस्थाले गाउँपालिकाको मातहातमा रहेर भावी दिनमा चिया र कफीको क्षेत्रमा बृहत्तर रुपमा थप काम गर्ने उहाँले बताउनुभयो । उत्पादित चियाको प्रशोधन गर्नका लागि वडा नं २ मा चिया कारखाना स्थापना भइरहेको प्रमुख प्रशासकीय अधिकृत धनकुमार राईले बताउनुभयो । गाउँपालिकाको रु ४५ लाख र कोशी प्रदेश सरकारको रु एक करोड लागतमा निर्माण भइरहेको प्रशोधन केन्द्र निर्माणको काम अन्तिम चरणमा रहेको उहाँको भनाइ छ ।
“गाउँपालिका क्षेत्रको चियाखेतीको सम्भवनालाई मूर्तरुप दिन बृहत रुपमा चियाखेती विस्तारको काम भइरहेको छ”, प्रशासकीय अधिकृत राईले भन्नुभयो, “उत्पादित चियाको प्रशोधनका लागि कारखाना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । पछिल्लो समयमा आफ्नै नर्सरी स्थापना गरेर खेती विस्तार भइरहेको छ । यसबाट स्थानीयलाई रोजगारीसमेत प्राप्त भइरहेको अवस्था छ ।”
दीर्घकालीन सोचका साथ चिया विस्तार तथा उत्पादित चियाको बजारीकरणसँगै थप व्यवस्थापन गर्ने काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत राईले बताउनुभयो । चिया नर्सरीमा अर्को सिजनमा रोप्नका लागि करिब पाँच लाख बिरुवा उत्पादन भइरहेको गाउँपालिकाले जनाएको छ । चियासँगै कफीखेतीको विस्तारका लागि समेत काम भइरहेको छ । कफीको नर्सरी स्थापना गरेर विस्तारको काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ५ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ ।
हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागका अनुसार आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, लुम्बिनी, गण्डकी, सुदूरपश्चिम र कर्णाली प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।
विभागले भारी वर्षाको सम्भावना रहेका स्थानमा गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम रहेकाले सम्भावित क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।
लोपोन्मुख माछा कोशीमा भेटियो
विवेक मिश्र
बेलबारी (मोरङ), ४ भदौः कोशीमा सङ्कटापन्न सूचीमा रहेको माछाको एक प्रजाति भेटिएको छ । कोशी नदीमा भेटिएको र आसपासका नदीमा पाइन सक्ने यो माछा नेपालका लागि नयाँ प्रजाति भएको पनि जनाइएको छ ।
क्याटफिस समूहमा पर्ने एमब्लिसेम्पस् अरुणाचलेन्स् वैज्ञानिक नाम रहेको सो माछालाई विश्व संरक्षण सङ्घ (आयुसिएन) ले पृथ्वीबाटै सङ्कटापन्नको सूचीमा राखेको छ । जसको तत्काल संरक्षण नगरे लोप हुने उल्लेख गरिएको छ ।
अनुसन्धानकर्ताका अनुसार भारतमा मात्र पाइने विश्वास गरिएको अरुणाचलेन्स् माछा नेपालमा भेटिएको हो । अनुसन्धानकर्ता जसहाङ लिम्बू, दीपक राजवंशी, लक्ष्मण खनाल, रामचन्द्र अधिकारी, सुनिता थापालगायतले उक्त माछा नेपालमा भेटिएको पुष्टि गर्नुभयो ।
पाँच जनानेपाली र तीन चिनियाँ अनुसन्धानकर्ताहरु वाङ हुई, जिनक्वान याङ र चेनहोङ् लीको नामबाट ‘जर्नल अफ एप्लाइड इक्थियोलोजी’ नामक विज्ञान पत्रिकाको सन् २०२४, अगष्टमा सोसम्बन्धी लेख प्रकाशित छ ।
अनुसन्धानकर्ता जसहाङ लिम्बू भन्नुभयो, “माछाको सर्वेक्षण गर्ने क्रममा सन् २०१९ देखि २०२३ सम्म पूर्वी नेपालका मुख्य नदीबाट नमूना सङ्कलन गरेका थियौँ । सोही क्रममा उक्त माछा कोशी ब्यारेज क्षेत्रमा विस्तारै बगिरहेको पानीमा भेटिएको थियो । यसको बाहिरी तथा आणविक बनावटका साथै वंशवृक्षको अध्ययनबाट यो नेपालको लागि नयाँ र विश्वबाटै लोप हुन लागेको प्रजाति रहेछ पाइएको छ ।”
उहाँहरुले अध्ययनका लागि तमोर र कोशीदेखि पूर्वका स्थायी प्रकृतिका सबैजसो नदीमा कम्तीमा ४५ स्थानबाट सात सय वटा नमूना सङ्कलन गरिएको जानकारी दिनुभयो । उक्त नमूनामध्ये एउटा सङ्कटापन्न प्रजातिको माछा भेटिएको हो ।
अनुसन्धानकर्ता रामचन्द्र अधिकारीले २९ वटा प्रजातिको पञ्जीकरण गरिएको र एउटा प्रजाति नेपालका लागि नयाँ भएको पाइएको बताउनुभयो ।
नेपालका लागि नयाँ भनिएको अर्को प्रजातिको वैज्ञानिक नाम इरेथिस्टेस सिकुलाहो । यो पनि कोशी नदी र मोरङको लोहन्द्रा नदीमा पाइएको थियो । यो माछा नदीको तीव्र गतिमा बग्ने भागमा पाइएको उहाँले बताउनुभयो ।
उक्त सिकुला माछालाई पनि आइयुसिएनले ‘तथ्याङ्क अभाव’ भएको सूचीमा राखेको छ । यी दुवै माछा कोशी नदीमा प्रशस्त पाइने र स्थानीय व्यवसायीले दोहन गरिरहेको अवस्था रहेको उहाँले बताउनुभयो ।
अनुसन्धानकर्ता लिम्बूले भन्नुभयो, “यस्तो दुर्लभ माछालाई करेन्ट लगाएर मार्ने गरेको पाइयो । यी दुवै माछा खानका लागि लोकप्रिय मानिन्छन् ।”
अनुसन्धानकर्ता अधिकारीका अनुसार लोपोन्मुख प्रजाति नेपालमा प्रशस्त सङ्ख्यामा पाइनु खुसीको कुरा भएको बताउनुभयो । उहाँका अनुसार एमब्लिसेप्स जातिका तीन प्रजाति मङ्गोइज, अरुणाचलेन्स् र वाइखोमी नेपालमा पाइने पुष्टि भएको छ । अरुणाचलेन्सलाई पहिला मङगोइज हो भनेर विश्वास गरिएको थियो ।
एक दशक अघि नेपालमा पाइने भनेर लेखिएका प्र्रजातिको पहिचानमा त्रुटि भेटिएकाले अहिले डिएनए बारकोडिङबाट यथार्थता पहिचान गर्ने प्रयास गरिएको लिम्बूको भनाइ छ ।
तथ्याङ्कअनुसार नेपालमा पाइने माछामध्ये यस अघिसम्म तीन वटा प्रजाति अति सङ्कटापन्न र शहर माछा सङ्कटापन्नको सूचीमा थियो । अब एम्ब्लिसेप्स अरुणाचलेन्स् पनि सङ्कटापन्नको सूचीमा थपिएको होे ।
खोजकर्ताको उक्त टोलीले दुई वर्षमा माछाका यी दुईसहित छ वटा प्रजाति नयाँ प्रजाति पत्ता लगाइसकेको छ । - रासस
सङ्घीयताबिना जनताको अधिकार सुनिश्चित नहुने
कर्णाली, ४ भदौ: कर्णाली प्रदेशका प्रमुख यज्ञराज जोशीले सङ्घीयताबिना जनताका अधिकार सुनिश्चित नहुने बताउनुभएको छ । कर्णाली प्रदेश स्थापना तथा सहिद दिवसका अवसरमा आज सुर्खेतमा आयोजित समारोहमा उहाँले जनताको बलिदानबाट संविधान र सङ्घीयता प्राप्त भएको बताउनुभयो ।
प्रदेश प्रमुख जोशीले भन्नुभयो, “कर्णाली अधिक साधन स्रोतले भरिपूर्ण प्रदेश हो । यसको भरपूर उपयोग हुन जरुरी छ । भाषा, संस्कृति र सभ्यताको उद्गमस्थल कर्णालीको विकासमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका खेल्नुपर्छ ।” कृषि, प्राकृतिक,सांस्कृतिक र साहसिक पर्यटनका माध्यमबाट कर्णालीलाई समृद्ध तुल्याउन सकिने बताउनुभयो ।
मुख्यमन्त्री यामलाल कँडेलले जुम्लाका हरिबहादुर कुँवर, सुर्खेतका यामबहादुर बिसी, टीकाराम गौतम र गोपालसिंह रजवारको बलिदानीपूर्ण योगदानको स्मरण गर्दै उहाँहरूका परिवारका एक–एकजना सदस्यलाई रोजागरीको व्यवस्था गर्ने निर्णय भएको जानकारी दिनुभयो ।
सीमाङ्कनको विषयलाई लिएर २०७२ साउन २३ गतेदेखि भदौ ४ गतेसम्म भएको कर्णाली आन्दोलनमा जुम्लाका कुँवर, बिसी, गौतम र रजवारको निधन भएको थियो । सहिद तथा प्रदेश स्थापना दिवसका अवसरमा मुख्यमन्त्री कँडेलसहित मन्त्रीहरुले प्रादेशिक सहिद पार्कमा सहिदहरुप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको थियो ।
कर्णालीलाई कार्य क्षेत्र बनाएर पत्रकारिता गर्दै आएका जाजरकोटका पत्रकारद्वय राजेन्द्र कार्की र यज्ञबहादुर खत्री र कालीकोटका तुलराम पाण्डेलाई जनही रु ५० हजार प्रदान गरिएको छ । कर्णाली प्रदेश अस्पतालका निर्देशक प्रा डा डम्बर खड्कालाई सर्वोत्कृष्ट र अन्य दश कर्मचारीलाई उत्कृष्ट पुरस्कारबाट सम्मान गरिएको छ ।
सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

“सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”, उहाँले भन्नुभयो, “बुहारीले सिकाएपछि अहिले विद्युतीय चुल्हो चलाउन सजिलो भएको छ ।”
अर्का उपभोक्ता बाबुलाल श्रेष्ठले पनि विद्युतीय चुल्हो जडान गरेको एक महिना पुगेको छ । उहाँलाई पनि विद्युतीय चुल्हो चलाउन सजिलो र सुरक्षित महसुस भएको छ । “घरमा दुई जना बूढाबूढी छौँ, राइसकुकरमा भात पकाउछौँ । मासु, तरकारी, चिया र पानी तताउने काम सबै विद्युतीय चुल्होमा पाक्छ”, उहाँले भन्नुभयो, “बत्तीको खर्च कति लाग्छ थाहा छैन, सर्वसुलभ भएमा विस्तारै ग्यास विस्थापित गर्ने सोचमा छु ।”
ठूलोवन सामुदायिक वन उपभोक्ता समूह र अजम्बरी विकास फाउन्डेसन तथा विकास यात्राको अनुदानमा उक्त क्षेत्रका प्रत्येक उपभोक्ताको भान्छामा विद्युतीय चुल्हो जडान गरिएको हो । एउटा इलेक्ट्रिक चुल्होलाई रु चार हजार आठ सय पर्ने गरेको छ । त्यसमा वन समूह र अजम्बरी विकास फाउन्डेसनले ५०। ५० प्रतिशत खर्च व्यहोर्ने सहमतिअनुसार उपभोक्तालाई अनुदानमा चुल्हो वितरण गरिएको ठूलोवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार वन समूहमा दुई सय ८० घर आबद्ध छन् । अहिलेसम्म दुई सय ४२ घरमा विद्युतीय चुल्हो जडान भइसकेको छ । बाँकी घरमा चाँडै चुल्हो वितरण गर्ने कार्यक्रम छ । “चुल्हो प्रयोगमा आउँदैन की भनेर प्रत्येक घरलाई चुल्होमा प्रयोग हुने कराइ र कुकर खरिद गराएर मात्र वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “वनको आम्दानीले उपभोक्ताका घरघरमा विद्युतीय चुल्हो वितरण गर्न पाउँदा खुसी लागेको छ ।”

सामुदायिक वनको कोषमा रकम जम्मा गर्नुभन्दा उपभोक्तालाई सुविधा दिने सोचका साथ उपभोक्ताका भान्छामा चुल्हो पु-याउने पहल भएको सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । विद्युतीय चुल्हो प्राप्त गर्न नागरिकता, विद्युत् बिलको प्रतिलिपि र दुईप्रति फोटो अनिवार्य गरिएको छ । प्रत्येक विद्युत् मिटरका आधारमा चुल्हो वितरण गर्ने मापदण्ड तयार गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
विसं २०५३ मा हस्तान्तरण भएको तीन सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा ७० प्रतिशत सालको रुख रहेको छ । वन कार्ययोजना र विधानको परिधिभित्र रहेर उपभोक्तालाई घर, गोठ बनाउन आवश्यक काठप्रति क्यूफिट रु दुई सयका दरले उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । समूहबाट प्राप्त काठ उपभोक्ताले बाहिर बिक्रीवितरण गर्न पाउने छैनन् ।
उपभोक्ताको भान्छा स्वच्छ बनाउने उद्देश्यले चुल्हो वितरण गरिएको अजम्बरी विकास फाउन्डेसन तथा विकास यात्रा कार्यक्रमका प्रमुख राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । परियोजनाले घरधुरीलाई दाउरा वा खनिज इन्धनको सट्टा बिजुली प्रयोगगरी खाना पकाउन सघाएको छ । विद्युतीय चुल्होको प्रयोगले धुवाँजन्य प्रदूषण घटाइ कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ ।
बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशअन्तर्गतका स्थानीय तहमा ३० हजारभन्दा बढी घरधुरीलाई सहयोग गर्ने लक्ष्य परियोजनाको छ । उक्त परियोजनामार्फत कूल ३० हजार चुल्हो वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म छ सय घरलाई विद्युतीय चुल्हो वितरण गरिसकिएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्कीका जिल्ला सदस्य एवं ठूलोवन उपभोक्ता समूहका सदस्य बुद्धिबहादुर घिमिरेले मुलुक विद्युतीय ऊर्जा प्रवद्र्धनमा सक्षम र सबल बन्दै गएकाले हरितगृह ग्यास उत्सर्जनदेखि आर्थिक तथा मानवीय जोखिम न्यूनीकरण गर्न विद्युतीय चुल्होको प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो ।
वन विभागको तथ्याङ्कअनुसार मुलुकमा २३ हजार २६ सामुदायिक वन समूहका ३१ लाख ९५ हजार तीन सय २३ घरधुरीले २४ लाख २५ हजार तीन सय ९२ दशमलव ६० हेक्टर क्षेत्रफलको वन व्यवस्थापन गर्दै आएका छन् । दाउराको प्रयोग गर्ने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखी विद्युतीय चुल्हो विस्तारलाई जोड दिनुपर्ने उहाँको धारणो छ ।
तीन सय बढीलाई छात्रावृत्ति वितरण
मन्थली (रामेछाप), ४ भदौ : यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गर्नुभएको छ । उहाँले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गर्नुभएको हो ।
ती विद्यालयले छनोट गरेका गरिब तथा जेहेन्दार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ । उहाँले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताउनुभयो ।
पूर्ण छात्रावृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको छ, भने आंशिक तर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ । सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताउनुभयो ।
भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफू जस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “गाउँमा अझै छोराछोरीबीचको विभेद् कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ”, तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भन्नुभयो, “शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।”
आठ वर्ष अघिदेखि छात्रावृत्ति कार्यक्रम सञ्चालन गदै आउनु भएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौँ हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष रु १० लाख भन्दा बढी खर्च हुने गरेको छ ।
छात्रावृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसका छ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मावि गैराथोकका १०÷१० जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ र मावि चिण्डे फूलासीका एक सय १३ गरि कूल तीन सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।
माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा
फिक्कल (इलाम), ४ भदौ : इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सरकारको १३ करोड आठ लाख तीन हजार सात सय आठ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म ‘कलेक्सन टेम्बर’, एक सय घनमिटर क्षमताको एउटा ‘रिजर्भ ट्याङ्की’, ५० घनमिटर क्षमताको दुई वटा ‘रिजर्भ ट्याङ्की’, १० घनमिटर क्षमताको चार वटा ‘रिजर्भ ट्याङ्की’ र बिजुली भवन निर्माण सम्पन्न भएका छन् ।
प्रत्येक ‘रिजर्भ ट्याङ्की’सम्मको तीन किलोमिटर तीन सय मिटर एचडिपिइ पाइप (पोलिथिन पाइप) विस्तार गरिएको छ । प्रत्येक ‘रिजर्भ ट्याङ्की’बाट चार सय ७५ घरधुरीमा २२ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान भइसकेको छ । आयोजनाको कार्यालय भवनसहित समुदायका लागि दुईवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

अब ‘रिजर्भ ट्याङ्की’बाट पाँच सय ९१ घरपरिवारका लागि नौ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान गर्न बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । “बाँकी पाइपलाइन विस्तार र धारा जडानको काम धमाधम भइरहेको छ,” उहाँले भन्नुभयो, “अब बढीमा दुई महिनाभित्र आयोजना सम्पन्न भई घरघरमा खानेपानी पुग्छ ।”
आयोजना अन्तर्गत तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरी घरघरमा वितरण गरिनेछ । विद्युतीय माध्यमबाट चल्ने आयोजनामा पानी खपत गरेबापत मिटरमा उठेको महशुल उपभोक्ताले तिर्नुपर्नेछ ।
आयोजनाले लारुम्बासहित वडा नं ५ का सबै क्षेत्र र वडा नं ३ का तल्लो भाग लामिटार र आसपासका क्षेत्र समेट्नेछ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने त्यहाँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने स्थानीय बासिन्दाको समस्या आयोजनाले अन्त्य गर्ने ५ नं वडा अध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो ।
आयोजना निर्माणका लागि विसं २०७८ असार २३ गते ठेकेदार कम्पनी ‘स्वामीनारायण निर्माण सेवा’सँग बहुवर्षे ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट दुई वडाका एक हजार ६१ घरपरिवारका छ हजार तीन सय ९८ उपभोक्ता लाभान्वित हुने भएका छन् । माङसेबुङ गाउँपालिकाको वडा नं २ र ६ मा यसअघि लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ ।
प्रतिकूल मौसमले उडान प्रभावित

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिनुभयो । “मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काँक्रोखेतीबाट मनग्य आम्दानी
इलाम, ४ भदौः सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”
काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।”
काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गर्नुभएको छ । “सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला”, उहाँले भन्नुभयो ।
अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।
अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।
अठार किलोमिटर कालोपत्रको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिनुभयो ।
बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा रु ५० लाख बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकतानुसार वडाले रु एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।
“कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो, “यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।”
वर्षायाम सुरु भएपछि विगत वर्षमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताउनुभयो ।
“मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु”, उहाँले भन्नुभयो, “यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।” यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।

































