भरतपुर महानगरको दुई सय ६६ विद्यार्थीले पूर्ण छात्रवृत्ति पाए
भरतपुर (चितवन), १० भदौः भरतपुर महानगरपालिकाले संस्थागत विद्यालयको कक्षा ११ मा अध्ययनरत दुई सय ६६ विद्यार्थीलाई पूर्ण छात्रवृत्ति गरेको छ । ती विद्यार्थीलाई अनलाइन आवेदन माग गरी शिक्षा ऐन तथा भरतपुर महानगरको छात्रवृत्ति व्यवस्थापन कार्यविधिअनुसार छात्रवृत्तिमा छनोट गरिएको हो । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आइतबार आयोजित कार्यक्रममा विद्यार्थीको क्षमता र योग्यताका आधारमा कक्षा १२ सम्म पढ्नका लागि छात्रवृत्ति वितरण गरिएको बताउनुभयो ।
उहाँले शिक्षा क्षेत्रमा भरतपुर महानगरले उल्लेख्य फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले भन्नुभयो, “महानगरले शिक्षा क्षेत्रमा शैक्षिक तथा भौतिक रूपमा ठूलो फड्को मारेको छ ।” शिक्षामा सबैको पहुँच पुर्याउने उद्देश्यले महानगरपालिका अघि बढिरहेको उहाँले बताउनुभयो । सरकारी विद्यालयको सुधार गर्दै संस्थागत विद्यालयसरह बनाउनेगरी महानगरले शिक्षा क्षेत्रमा काम गर्दै आएको उहाँको भनाइ थियो ।
छात्रवृत्तिका लागि छनोट भएका विद्यार्थीलाई सिफारिसपत्र वितरण गरिएको छ । अल्पसङ्ख्यक र सीमान्तकृत समुदायका विद्यार्थीलाई पनि छात्रवृत्ति वितरण गरिएको छ । “जेहेन्दार विद्यार्थीलाई पढाइमा प्रोत्साहन गर्ने नीति लिएका छौँ”, शैक्षिक प्रशासन महाशाखा प्रमुख सुभाषचन्द्र आचार्यले भन्नुभयो । तीसवटा संस्थागत विद्यालयबाट छात्रवृत्ति दिइएको छ । छात्रवृत्ति पाएकामध्ये विज्ञानतर्फ एक सय ८९ र अन्य ७७ जना छन् ।
छात्रवृत्ति पाउनेमा जेहेन्दारतर्फ ९९, गरिब तथा विपन्नतर्फ ९६, आदिवासी जनजातितर्फ २६, दलिततर्फ १३, अपाङ्गता भएका आठ, जनआन्दोलनका घाइते तथा सहिदका सन्ततितर्फ २४ रहेका छन् । महानगरले वार्षिक रूपमा छात्रवृत्ति वितरण गर्दै आएको छ । गत वर्ष महानगरले दुई सय ७४ जनालाई छात्रवृत्ति दिएको थियो ।
पर्यटक लोभ्याउने ‘ढोरपाटन बुकी’
डम्मर बुढामगर
ढोरपाटन (बागलुङ), ९ भदौ : अग्ला पहाडको शिरमा टक्क अडिएका समथर भू–भाग । कतै भिराला डाँडा, त कतै खोल्साखोल्सी । चारैतिर हरियाली । उत्तरतिर हेताम्य हिमाल । टाढा–टाढा छरिएर रहेका भेडीगोठ । भेडा र बाख्राका बथानले ढपक्क ढाकिएको बुकी हेर्न हजारौँ पर्यटक लालायित छन् । ढोरपाटनको बुकी हिजोआज चर्चामा छ । एक दशक अगाडिसम्म बर्खामा भेडा र भेडीगोठले भरिने बुकी क्षेत्र अहिले पर्यटकको चहलपहल बढ्न थालेको हो ।
नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन यसै पनि चर्चित छ । त्यसमाथि आन्तरिक तथा बाह्य पर्यटकको बढ्दो आगमनले यसको प्रचारले व्यापकता पाएको हो । प्राकृतिक सुन्दरताले परिपूर्ण ढोरपाटनमा धेरैको रोजाइमा परेको छ । ढोरपाटनसँगै पछिल्लो समय बुकी पनि पर्यटक आकर्षणको केन्द्र बन्दै गएको छ । गत वर्षसम्म बुकी जाने पर्यटक निकै कम थिए ।
बुकी पुगेका पर्यटकले त्यहाँको भिडियो तथा तस्बिर सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा फैलाएपछि भाइरल बन्यो । अहिले ढोरपाटन पुग्ने पर्यटक बुकीमा पुग्न चाहन्छन् । दशक अगाडिदेखि नै ढोरपाटन उपत्यका क्षेत्रमा फाट्टफुट्ट पर्यटक पुगे पनि अहिले बर्सेनि हजारौँको सङ्ख्यामा आउने गरेका छन् । ढोरपाटन उपत्यका समुन्द्री सतहदेखि करिब २९ सय मिटरको उचाइ पर्छ । ढोरपाटन उपत्यकादेखि बुकी पुग्न पैदल यात्रा गर्नुपर्छ । पैदल यात्रामार्फ बुकीमा तीनदेखि पाँच घण्टामा पुग्न सकिन्छ । २९ सयदेखि ४५ सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बासस्थान हो । यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु अस्थायी गोठ बनाएर बसेका हुन्छन् । उनीहरुको हजारौँ भेडाबाख्रा, गाईभैँसी हुन्छन् ।
बर्खाको समयमा बढी चहलपहल हुने बुकी क्षेत्र हिउँदमा भने सुनसान हुन्छ । बर्खायाममा बुकी पुग्ने पर्यटकले हरियाली उच्च पहाड, पाटन, खर्क, दर्जनौँ हिमशृङ्खलाको दृश्यावलकन गर्न सक्छन् भने नजिकबाट गोठालाको जनजीवन अनुभूति गर्न सक्छन् । बागलुङको उच्च पहाडी क्षेत्र पर्ने बुकी निकै मनमोहक छ । प्रचारप्रसारको अभावमा आझेलमा परेको बुकी पछिल्लो समय पर्यटक पुग्न थालेपछि व्यापक प्रचार हुन थालेको छ । त्यसले गर्दा एकै महिनामा सयौँ आन्तरिक पर्यटक बुकी चढ्ने गरेको ढोरपाटन नगरपालिका–९ का व्यवसायी सन्देश थापाले बताउनुभयो । गत असारदेखि हालसम्म ८० समूहका करिब पाँच सय पर्यटकलाई आफूले मात्रै बुकीमा बास दिएको उहाँको भनाइ छ ।
बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत थुप्रै ठाउँ पर्छन् । बुकी पुग्ने पर्यटक गोठालाको गोठमा बास बसेर फर्किने गरेका छन् । यस वर्षदेखि बुकी पुग्ने पर्यटकका लागि लक्षित आफूले गोठस्टे (गोठबास) सञ्चालन गरेको उहाँको भनाइ छ । बुकीमा टाढा–टाढाबाट पर्यटकहरु पुग्ने र त्यहाँ बास बस्नका र खानाको व्यवस्था नभएको हुँदा गत असार २९ गतेदेखि गोठस्टे सञ्चालन गरेको थापा बताउनुहुन्छ । बुकी पुग्ने पर्यटकले हरिया पाटनहरु, गोठलो जीवन, धौलागिरि, माछापुच्छ«े, पुठा हिमचुली, चुरेन, गुर्जा अन्नपूर्ण हिमशृङ्खला अवलोन गर्न सक्ने उहाँको भनाइ छ । बुकी चढ्ने सिजन जेठदेखि कात्तिक पहिलो साता भएको थापा बताउनुहुन्छ ।
थापाले भन्नुभयो, “बुकी त ढोरपाटनवासीको पशु चरन क्षेत्र हो, यो ठाउँ निकै मनोरम छ, अहिल जति पनि ढोरपाटन उपत्यकामा पर्यटक आउनुहुन्छ, उहाँहरुले यहाँको कुनै महसुस गर्न सक्नुभएको छैन, ढोरपाटन घुम्ने र रम्ने हो भने बुकीमा एकपटक पुग्नै पर्छ, गत वर्षसम्म त खासै मान्छे आउँदैनथे, फाट्टफुट्ट आएका पर्यटकले ‘भिडियो’ र फोटो खिचेर जानुभयो, ती भिडियो र फोटो भाइरल भएपछि अहिले बुकीमा आउने मान्छेको चाप बढेको छ ।”
कात्तिकदेखि चिसो बढ्ने हुँदा जेठसम्म बुकी सुनसान हुन्छ । गोठाला पनि बँेसी झर्ने हुँदा पर्यटक पनि बुकी उक्लिदैनन् । ढोरपाटन उपत्यका होटल व्यवसायी सङ्घका अध्यक्ष जीवन पुनले ढोरपाटन आउने पर्यटकको रोजाइमा बुकी पर्न थालेको बताउनुभयो । पाँच वर्षदेखि ढोरपाटन उपत्यकामा आउने पर्यटकको सङ्ख्या बढेको भन्दै पोहोर सालदेखि त बुकीमा समेत जान थालेको उहाँको भनाइ छ । बुकी चढ्ने पर्यटकलाई लेक लाग्ने हुँदा आफूहरुले प्राथमिक उपचारका बिधि सिकाउने र बेँसीबाट आएकाहरुलाई एकै पटक बुकी नचढ्न सुझाउने गरेको पुन बताउनुहुन्छ । यसै बर्खा लागे सयौँको सङ्ख्यामा पर्यटक बुकी उक्लिएको उहाँको भनाइ छ ।
“बुकीमा यति धेरै पर्यटक जालान् भन्ने लागेको थिएन तर नपत्याउँदो तरिकाले पर्यटक दिनदिनै बुकी उक्लिएको पाएका छौँ, शुक्रबार र शनिबार सबैभन्दा बढी पर्यटक बुकी जान्छन्, बुकी घुम्न र रमाउनका लागि निकै सुन्दर छ तर त्यहाँ जाँदा धेरै कुरामा ख्याल राख्नु पर्छ,” अध्यक्ष पुनले भन्नुभयो, “चार÷पाँच घण्टा यात्रा गर्नुपर्छ, यात्रा गर्दा लेक पनि लाग्न सक्छ, अति आवश्यक सामानहरु छुटाउनु हुँदैन, अब ढोरपाटन उपत्यकामा आउने धेरै पर्यटक बुकी पुग्ने देखियो, हामीहरुलाई पनि पर्यटकको आगमनले धेरै खुसी बनाएको छ ।”
गलकोटबाट घुम्न आउनुभएकी समिता अर्गेजाले बुकी मनमोहक रहेको बताउनुभयो । ढोरपाटन उपत्यकादेखि पाँच घण्टाको यात्रा गर्दा थकाइ लागेको सुनाउँदै बुकी पुगेपछि देखिएको दृश्यले एकै छिनमा थकान मेटाएको उहाँको भनाइ छ । अर्गेजाले चारजनाको टोली गएको भन्दै बुकी पुग्ने ठाउँ–ठाउँमा सूचना बोर्ड राखे बाहिरबाट आउने पर्यटकलाई ठाउँ पहिचान गर्न सहज हुने बताउनुभयो । बुकी प्रचारप्रसार गर्न सके देशै उत्कृष्ट पर्यटकी गन्तव्य बन्नेमा दुई मत नभएको उहाँ बताउनुहुन्छ । -रासस
कृषि र पशुपालनबाट वार्षिक १५ लाख कमाउँदै ८० वर्षीय वृद्ध
गाईघाट (उदयपुर), ९ भदौः यहाँको रौतामाई गाउँपालिका–७ मुर्कुचीका जीतुहर्क तामाङ उमेरले ८० वर्ष पुगिसक्नुभयो । तर उहाँ अहिले पनि कृषि र पशुपालनमा सक्रिय हुनुहुन्छ । यही पेशाबाट उहाँले वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ ।
उहाँले १३ रोपनी जग्गामा फलफूलखेती गर्नुभएको छ । सबैभन्दा धेरै लिच्ची र कागती रोप्नुभएको छ । कागती बिक्रीबाट वार्षिक रु पाँच लाख आम्दानी गर्ने गरेको उहाँले जानकारी दिनुभयो । विगत ३० वर्षदेखि उहाँले खसीबाख्रा पाल्दै आउनुभएको छ । अहिले उहाँको गोठमा एक सयको सङ्ख्यामा खसीबाख्रा छन् । एक सयमध्ये ३८ वटा त खसीमात्र छन् ।
उहाँले एक हजारको सङ्ख्यामा लोकल कुखुरा र एक हजार हाँस पाल्नुभएको छ । खसीबाट वार्षिक रु सात लाखसम्म र हाँस कुखुरा बिक्री गरी रु चार लाखसम्म आम्दानी गर्नुहुन्छ । विगतमा राजनीतिमा समेत सक्रिय तामाङ अहिले राजनीति छाडेर कृषिमा मात्र सक्रिय हुनुहुन्छ ।
“मैले कृषि पेशा गर्दागर्दै पनि पञ्चायत व्यवस्थामा एकपटक प्रधानपञ्च भएँ । बहुदल आएपछि एकपटक गाविस अध्यक्ष पनि भएँ”, उहाँले भन्नुभयो, “राजनीति त सेवा हो, आर्थिक आम्दानी नगरी परिवार र जीवन नचल्ने हुनाले राजनीतिभन्दा कृषिलाई निरन्तरता दिएको हुँ ।”
अहिले पनि तामाङ दैनिक बिहान उज्यालो भएदेखि बेलुका ६ बजेसम्म फलफूल बगानमै भेटिनुहुन्छ । साँझ ७ बजेदेखि ९ बजेसम्म खसीबाख्रा, कुखुरा, हाँसको रेखदेखमा समय दिनुहुन्छ । उहाँका चार छोरामध्ये उहाँ साहिँला छोरासँग बस्नुहुन्छ । हजुरबुबा र बुबाको पालादेखि कृषि तथा पशुपालन सिकेको बताउनुहुन्छ उहाँ । उहाँलाई नजिकबाट जान्ने जनता मावि मुर्कुचीका प्राचार्य खड्ग थापामगर भन्नुहुन्छ, “उहाँ कर्मठ कृषक हुनुहुन्छ । यस्तो व्यक्ति देशमा बिरलै पाइन्छन्, तीमध्येका एक हुनुहुन्छ । उहाँ सफल कृषकमात्र नभई समाजसेवी पनि हुनुहुन्छ ।”
पञ्चायतकालमा प्रधानपञ्च हुँदा उहाँले रौता मुर्कुचीको जनता माध्यमिक विद्यालय स्थापना गर्नुभयो र नामेटार गाउँका दुईवटा विद्यालय स्थापना गर्न पहल गर्नुभएको प्राचार्य थापामगरले जानकारी दिनुभयो । रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्र मगरले भन्नुभयो, “जीतुहर्क एक सङ्घर्षशील र सफल कृषक हो । गाउँका जनप्रतिनिधि हुँदा जनताको सेवा गर्नुभयो र त्यसपछि कृषि पेशामै फर्कनुभयो ।”
असी वर्षको उमेरमा अझै तन्नेरी जाँगर र जोशका साथ कृषि पेशामा सक्रिय तामाङ आफू यही पेशाले निरोगी भएको बताउनुहुन्छ । “सात वर्षको उमेरदेखि हजुरबुबा र बुबासँग खेतीपाती गर्न सिकेँ । जिन्दगीमा जेजे गरे पनि कृषिलाई छाड्न सकिँन”, उहाँ भन्नुहुन्छ, “यही काम गर्दागर्दै मर्न परोस् अरु मलाई केही चाहिएको छैन । म यसमै सन्तुष्ट छु ।”
उहाँ दैनिक दूधभात, मासु र फलफूल खाने गर्नुहुन्छ । आम्दानी राम्रो हुने गरेकाले गाउँघरका छिमेकीलाई आर्थिक सङ्कट पर्दा उहाँले सरसापटी दिने गर्नुभएको छ । ८० वर्षको उमेरमा पनि उहाँको जाँगर देख्ने जोकोहीले काम गर्न उमेरले नछेक्ने रहेछ भन्ने गरेको मुर्कुचीका स्थानीय देवप्रसाद खड्का बताउनुहुन्छ ।
ताप्लेजुङ गोल्डकपः टिकट बिक्रीबाट १३ लाख बढी आम्दानी
फुङलिङ (ताप्लेजुङ), ९ भदौः ताप्लेजुङमा जारी अन्तर्राष्ट्रिय आमन्त्रण दोस्रो ताप्लेजुङ गोल्डकप फुटबल प्रतियोगितामा टिकट बिक्रीबाट अहिलेसम्म रु १३ लाख ६३ हजार सात सय सङ्कलन भएको छ । प्रतियोगिताको सेमिफाइनलसम्मको खेलहरुमार्फत उक्त रकम सङ्कलन भएको हो ।
आयोजक लाखेजात्रा सञ्चालन समितिका कोषाध्यक्ष निरोज श्रेष्ठका अनुसार शुक्रबार र शनिबार दुई दिनमा मात्रै सेमिफाइनल खेलहरूबाट रु छ लाख ५२ हजार आठ सय सङ्कलन भएको थियो । शनिबारको खेलबाट मात्र रु तीन लाख ४४ हजार र शुक्रबारको खेलबाट रु तीन लाख आठ हजार आठ सय सङ्कलन भएको उहाँले जानकारी दिनुभयो ।
यसअघि, क्वार्टरफाइनल चरणका चार खेल सम्पन्न हुँदा रु सात लाख १० हजार नौ सय रकम सङ्कलन भएको थियो । सेमिफाइनल खेलका लागि टिकट दर प्रतिव्यक्ति रु दुई सय तोकिएको थियो भने क्वार्टरफाइनल खेलमा रु एक सय राखिएको थियो । फाइनल खेल यही भदौ १० गते सोमबार सम्पन्न हुनेछ । फाइनल खेल हेर्नका लागि टिकट दर रु दुई सय ५० निर्धारण गरिएको आयोजकले जनाएको छ ।
समितिका अध्यक्ष देवराज गुरुङले यस वर्ष टिकट बिक्रीबाट रु २० लाखसम्मको आम्दानी गर्ने लक्ष्य राखिएको बताउनुभयो । प्रतियोगिताको विजेताले ट्रफी, मेडल, प्रमाणपत्रसहित रु पाँच लाख नगद पुरस्कार प्राप्त गर्नेछन् भने उपविजेताले रु दुई लाख ५० हजार पाँच सय ५५ नगद पुरस्कार पाउनेछन् । टिकट बिक्रीबाहेक प्रतियोगिताका लागि अन्य माध्यमबाट आर्थिक सहयोग सङ्कलन भइरहेको समितिले जनाएको छ ।
दशगजामा स्थानीयले बाटो खन्न दिएनन्
बनियानी, ९ भदौ: झापाको कचनकवल गाउँपालिका–१ घेराबारीस्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयवासीले अवरोध गरेका छन् ।
गए रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जित लिम्बूले जानकारी दिनुभयो । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उहाँले भन्नुभयो, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको रहेछ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँले बताउनुभयो ।
हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकिएको उहाँले बताउनुभयो । “हामीले खनिएको बाटो पुर्ने प्रयास गरेका छौं”, उहाँले भन्नुभयो, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा कार्यालयदेखि करिब चार सय मिटर बाटो दशगजामा खनिएको उहाँले बताउनुभयो ।
झापाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बाँस्तोलाले दशगजा नजिकै सडक खनिएपछि दुवै पक्षबीच विवाद भएको बताउनुभयो । विवाद बढेपछि काम बन्द गरेर छलफल भइरहेको जानकारी उहाँले दिनुभयो ।
महिला उद्यमीबाट उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी
त्रिशूली (नुवाकोट), ९ भदौः तीज पर्वका अवसरमा नुवाकोट उद्योग वाणिज्य सङ्घले ‘महिला उद्यमीले उत्पादन गरेको कृषि उब्जनी तथा हस्तकलाको सामग्री बिक्री तथा प्रदर्शनी’मा राखेको छ ।
तीज विशेष कार्यक्रमसहित जिल्लाका किसान तथा उद्यमी महिलाले तयार गरेको स्थानीय उत्पादनलाई शनिबारदेखि प्रदर्शनी तथा बिक्री कक्षमार्फत उद्यमी र उपभोक्तालाई प्रत्यक्ष लाभ पुग्ने कार्यक्रम सञ्चालनमा ल्याएको सचिव मधुसुदन थपलियाले जानकारी दिनुभयो ।
सचिव थपलियाका अनुसार तीजपर्व सुरु हुनुभन्दा धेरैअघिदेखि उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनीबाट उद्यमी र उपभोक्ता दुवै पक्ष लाभान्वित भएका छन् । “प्रदर्शनीमा हस्तकला, साना तथा घरेलु उद्योगबाट उत्पादित ढाका सरसफाइलगायत दैनिक उपभोगका सामग्रीको कारोबार उत्साहजनक छ ।” सहुलियतमा स्थानीय उत्पादन उपलब्ध भएकामा महिला उद्यमीलाई प्रोत्साहन मिलेको विदुर नगरपालिका–२ शेराका सरस्वती अधिकारीले बताउनुभयो ।
बागमती नदी जोगाउन सबै लागौँ : उपप्रधानमन्त्री सिंह
ललितपुर, ८ भदौ : उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले देशको गौरव बागमती नदी सफा राख्न र जोगाउन आफ्नो क्षेत्रबाट सबै लाग्नुपर्ने बताउनुभएको छ ।
ललितपुरमा आज नेपाल नदी संरक्षण संस्था तथा फ्रेन्ड्स क्लब कुपण्डोलको संयुक्त रुपमा आयोजना गरेको महा जलजात्राको समापन कार्यक्रममा उपप्रधानमन्त्री सिंहले सहरीकरण तीव्र रुपमा बढेकाले त्यसको असर बागमती नदीमा परेको हुँदा यसको दीर्घकालीन असर समाधान गर्ने विषयमा सबैले सोच्नुपर्ने उल्लेख गर्नुभयो ।
उहाँले भन्नुभयो, “बागमती नदी वर्षात्को समयमा बगे पनि सुक्खा समयमा निकै दुर्घन्धित हुने हुँदा यस्तो समस्याको समाधन गर्ने प्रयास सरकारको तर्फबाट भइरहेको छ ।”
बागमती नदी सफा राख्न र बागती जोगाउन विभिन्न समाजसेवी तथा अभियन्ता सधँै सक्रिय रुपमा लागेकामा उपप्रधानमन्त्री सिंहले खुसी व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “बागमती सभ्यतालाई जोगाउन र नदी सफा राख्न जुटेका सबै संस्था र अभियन्तासँग सहरी विकास मन्त्रालय सहकार्य गर्न चाहन्छ ।”
उपप्रधानमन्त्री सिंहले बागमती नदीको दुर्गन्धले कति असर गर्छ भन्ने आफूले पनि महसुस गरेको कारण लामो सभ्यता बोकेको बागमती नदीलाई दुर्घन्धरहित र हरियाली बनाउन सरकारले प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “तीव्र सहरीकरणको कारण वर्षौँदेखि दुर्घन्धित अवस्थामा रहेको बागमती नदीको समस्या तत्काल समाधान नभए पनि समस्या समाधानका लागि सरकार लागिपरेको छ ।”
ललितपुरको बागमती नदी करिडोरमा आयोजित बागमती नदी महोत्सव (२१ औँ शताब्दीको महोत्स्व) महा—जल जात्रा २४औँ संस्करणमा मैत्री जल विहार, बागमती सभ्यता संवादलगायत कार्यक्रम आयोजना गरिएका छन् ।
गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व पदाधिकारीसँग सोधपुछ
काठमाडौँ, ७ भदौः सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले आज गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक एवं प्रबन्ध निर्देशक रवि लामिछानेसँग सोधपुछ गरेको छ ।
समितिको आज बसेको बैठकमा समितिको कार्यविधिअनुसार विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा संलग्नका रुपमा आरोपितमध्ये पूर्वउपप्रधानमन्त्री समेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेसँग सोधपुछ गरिएको समिति सभापति सूर्य थापाले जानकारी दिनुभएको छ ।
समिति सचिव बविता मिश्रकाअनुसार आजै गोरखा मिडिया नेटवर्क प्रालिका पूर्व सञ्चालक छविलाल जोशीसँग पनि सोधपुछ गरिएको थियो ।
समितिले विभिन्न सहकारी र कम्पनीको रकम दुरुपयोगमा सङ्लग्नको रुपमा आरोपित व्यक्तिहरुसँग सोधपुछ तथा बयान लिइरहेको छ । विभिन्न सहकारी संस्थाका सदस्य (शेयरधनी) एवम् बचतकर्ताको रकम हिनामिना, अपचलन, अनुचित लेनदेन भएको विषयमा अध्ययन गर्ने कार्यादेश समितिले पाएको छ ।
विभिन्न सहकारी संस्थाहरुबाट प्रवाह भएको रकमको स्थिति, सो रकम गैरकानुनी रुपमा प्रवाह भए वा नभएको र त्यस्तो गैरकानुनी वा अनुचित कार्यमा कोही संलग्न देखिएमा त्यस्ता व्यक्तिहरुको बारेमा अध्ययन छानबिन गरी जोखिममा परेको रकमको असुलीको उपाय र संलग्न देखिएका व्यक्तिलाई कानून बमोजिम कारबाहीका लागि आवश्यक सिफारिस गर्ने कार्यादेश समितिले पाएको छ ।
छानबिन समितिले समस्याग्रस्त घोषणा भएका र सामाजिक रुपमा प्रश्न उठेका सहकारी संस्थाहरुको अध्ययन गरिरहेको छ । समस्याग्रस्त घोषणा भएका बाहेक स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी, सुमेरु बचत तथा ऋण सहकारी, सूर्यदर्शन बचत तथा ऋण सहकारी, सुप्रिम बचत तथा ऋण सहकारी, सानो पाइला बचत तथा ऋण सहकारी, समानता बचत तथा ऋण सहकारी, इमेज बचत तथा ऋण सहकारी, आइडियल यमुना बहुउद्देश्यीय संस्थाको रकम हिनामिना भएको विषयमा समितिले अध्ययन गरिरहेको छ ।
सवारी चलाएरै बहिनीलाई डाक्टर बनाउने किशोरीको सपना
टीका खतिवडा
मङ्गलबारे (इलाम), ७ भदौः छेकी शेर्पा १९ वर्षकी हुनुभयो । उहाँ इलामको कच्ची सडकमा सवारी चलाउनुहुन्छ । साहस र आँटिलो स्वभावकी छेकीले डेढ वर्षयता निरन्तर बोलेरो जिपमा यात्रु बोक्ने काम गर्दै आउनुएको छ ।
त्यसो त सवारी चलाउने महिला नभएका हैनन् । तर पहाडी जिल्लाको कच्ची बाटोमा सार्वजनिक यातायातको साधन चलाउने महिलाको सङ्ख्या नगण्य छ । यात्रुसहितको सवारी चलाउने उहाँ इलाम जिल्लाको मात्र नभई पूर्वी पहाडीकै एकमात्र किशोरी हुनुहुन्छ ।
पहाडको कच्ची सडकमा खोलानाला र भिरालो सडकमा गाडी चलाउन जो कोहीले हिम्मत गर्दैनन् । घरपरिवारले गाडी खरिद गरिदिएपछि उहाँले गाडी चलाउन थाल्नुभएको हो । बोलेरो डबल क्यापको जिपमा यात्रु र भारीसहित उहाँ बिहान इलाम सन्दकपुरको जमुनास्थित सिस्नेबाट इलाम सदरमुकाम जानुहुन्छ । दिउँसो सदरमुकाम तथा बिब्ल्याँटेबाट जमुना फिर्ने गर्नुहुन्छ ।
उहाँको बुवा पहिलेदेखि सवारी चालकको काम गर्नुहुन्थ्यो । घरमा तीन छोरी भएका कारण बुवाकै सहयोगमा चालक बनेको उहाँ बताउनुहुन्छ । सुरुमा बुवाले नजिकैको दूरीमा गाडी चलाउन सिकाएपछि उहाँले विस्तारै राम्रोसँग चलाउन थाल्नुभयो । छोरीले राम्रोसँग गाडी चलाउन जानेपछि छोरीलाई चलाउन दिएको फुर्वा शेर्पाले बताउनुभयो ।
“मलाई बुवाले नै गाडी चलाउन सहयोग गर्नुभएको छ । परिवारको साथ पाएरै म राम्रोसँग गाडी चलाउन सक्ने र यही पेसा गर्नसक्ने भएकी छु”, उहाँले भन्नुभयो । छेकीले गाडी चलाउँदा केही यात्रुहरुले सुरुमा विश्वास गर्दैनथे । उहाँले चलाएको गाडीमा चढ्नै मान्दैनथे । तर, हिजोआज यात्रुहरुले छेकीमाथि यति विश्वास गर्न थाले कि उहाँले चलाएको गाडी खोजी खोजी चढ्न थालेका छन् ।
उहाँले बर्खायाममा पनि खर्च कटाएर मासिक रु ३० हजारभन्दा बढी कमाउने गर्नुभएको छ । बर्खामा हिलो बाटोका कारण गाडी मर्मत धेरै गर्नुपर्ने हुँदा पैसा थोरै बच्ने गरेको छ । हिउँद याममा धेरै आम्दानी हुने गरेको उहाँको भनाइ छ । सिजनमा मासिक रु एक लाख हाराहारी कमाउने गरेको सो क्षेत्रका सवारी चालकहरु बताउँछन् ।
कक्षा १२ सम्म अध्ययन गर्नुभएकी उहाँले पढ्दै गरेको समयमा पनि गाउँमा गाडी कुदाएको स्थानीयको भनाइ छ । उहाँले गाडी चलाएरै बहिनीलाई डाक्टर बनाउने सपना देख्नुभएको छ । “दाजुभाइ नहुँदा सानैदेखि हामीले छोरा र छोरी दुवैको काम गर्दै आएका छौँ”, उहाँले भन्नुभयो । रोजगारीको खोजीमा धेरै नेपाली महिला विदेसिने गरेका छन् । तर महिलाले गाउँमै सवारीचालकको काम पनि गर्न सकिने काम रहेछ भनेर उदाहरण दिनुभएको छ छेकीले ।
जोखिमपूर्ण सडकमा पनि एकदमै सरल तरिकाले गाडी चलाउने गरेकाले यात्रुहरूले उहाँको गाडी रोज्ने गरेको बताउँछन् । “केही पुरुष चालकहरुले मादक पदार्थ सेवन गरेर पनि सवारी चलाएको पाएका छौँ”, स्थानीय यात्रु दावा शेर्पाले भन्नुभयो, “तर उहाँले त मदिरा सेवन समेत नगर्ने हुँदा हामी ढुक्कले यात्रा गर्छौँ ।”
व्यावसायिक कृषि क्षेत्रमा आकर्षित बालचन खोरियाका किसान
धरान (सुनसरी) ७ भदौः बराहक्षेत्र नगरपालिका–२ बालचन खोरियाका किसान कृषिकर्मलाई नै आम्दानीको मूल आधार मानेर अहोरात्र खेतबारीमा नै श्रम गरिरहेका छन् । बालचन खोरिया बस्तीका किसानले अहिले धान, कागती, किम्बु, सजिवन, किबी, कुखुरा, केराखेतीमा दत्तचित्त भएर लागेका छन् ।
बालचन खोरियाका किसान केवल राईले सात कठ्ठा जग्गामा अहिले सजिवन, किम्बु, केराखेती गर्दै आएको बताउनुभयो । उहाँले भन्नुभयो, “सात कठ्ठा जग्गामा वरपर घेरा हालेर गाउँमै कृषि, पशुपालन तथा पोल्ट्री फार्म सञ्चालन गर्दै आएको छु । यसैबाट घर खर्च पुगेको छ । व्यावसायिक रूपमा सुरु गरिएको कृषि व्यवसाय सन्तोषजनक रहेको उहाँ बताउहुहुन्छ ।
बालचन खोरियाका अर्का किसान नरेश रानामगरले कागतीखेतीबाट राम्रो आम्दानी गरिरहनुभएको बताउनुभयो । उहाँले अहिले चार कट्ठा जग्गामा कागतीखेती गर्दै आउनुभएको छ । सुरुमा उहाँले एक सय ५२ बोटबिरुवा लगाएर सुरु गर्नुभएको कागतीखेती सिजनमा रु ३० हजारदेखि ४० हजारसम्म कागती बिक्री गर्दै आउनुभएको बताउनुभयो । कागतीबाहेक उहाँले धानखेती पनि गर्दै आउनुभएको छ । बालचन खोरियामा किसानले बर्सेनि पाँच–छ पटकसम्म विभिन्न संस्थाको सहयोगमा कृषिखेतीको सामूहिक तालिम लिँदै आएको उहाँले बताउनुभयो ।
किसान रानामगरले भन्नुभयो, “कृषिको तालिम त लियौँ, तर अझै बेमौसमी खेतीमा चुनौती छ, तरकारीखेती गर्न स्थायी टनेलको आवश्यकता छ”, उहाँ भन्नुहुन्छ, “किसान विपन्न हुँदा लगानी गर्न सक्ने अवस्था भने छैन ।” यस विषयमा स्थानीय तथा प्रदेश सरकारले किसानलाई आर्थिक अनुदान र प्रोत्साहन गर्नुपर्ने रानामगर बताउनुहुन्छ । कम्तीमा नमूनाका लागि मात्रै भए पनि टनेल बनाउने व्यवस्था गरिदिए किसानलाई सहयोग पुग्छ रानाले बताउनुभयो ।
विसं २०६९ मा स्थापना गरिएको बालचन खोरिया कृषि सहकारी संस्थामा अहिले ९० घरपरिवारभन्दा धेरै किसान आबद्ध रहेको कृषि सहकारीका अध्यक्ष प्रेम खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँ सबै घरपरिवारले केही न केही कृषि उद्यम गर्दै आएका छन् । बेलीचण्डाको घारी रहेको र माछा मारेर जीविकोपार्जन गर्ने दुई–चार घर किसान थिए अहिले उहाँहरू पनि व्यावसायिक कृिष क्षेत्रमा लाग्नुभएको छ ।
बालचन खोरियामा हाल अधिकांश किसानले धान, सब्जी, कागती, फलफूलखेती लगाएका छन् । त्यस क्षेत्रमा एकै खालका चिटिक्क परेका घर वरपर खेतबारी र करेसाबारीले ढपक्क ढाकेको गाउँ देखिन्छ । कृषि सहकारीका अध्यक्ष खड्काले भन्नुभयो, “कृषि क्षेत्रमा फड्को मार्ने प्रयासमा छ, बालचन खोरिया ।”
आर्थिक वर्ष २०७९/८० र २०८०/८१ मा प्रदेश सरकारको बजेटमा सिँचाइ र किसानको सहयोगका लागि दुईवटा डिपबोरिङको योजना भएको छ । रु ३८ लाख लागतमा आएको ‘डिपबोरिङ’को विद्युत् र पाइप लाइन विस्तारको काम भइरहेको कृषि सहकारीका अध्यक्ष खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “पूर्वमा चतरा नहर र पश्चिममा सप्तकोशी नदी भए पनि डाँडा र बगर रहेकाले पानी नचढ्ने र सुकेर जाने समस्या छ ।” प्रदेश सरकारले डिपबोरिङ व्यवस्था गरिदिएको छ, काम भइरहेकाले पानी लाग्न थालेपछि एकीकृत कृषिखेतीको अवधारणामा अघि बढ्ने बताउनुभयो ।
“भूमिगत डिपबोरिङ सिँचाइ योजनाबाट पानी आउने भएपछि बस्तीवासी खुसी भएका छन् । बस्तीमा नयाँ ट्रान्सफर्मर जोडिएको छ । आर्थिक वर्ष २०८१÷८२ मा बजेट परेको जानकारी आएको छ, बस्ती विस्तारसँगै कृषि पर्यटकीय क्षेत्र निर्माण गर्ने सम्भावना बढेको छ,” अध्यक्ष खड्काले भन्नुभयो ।



































