सामुदायिक वन उपभोक्ताका भान्छामा विद्युतीय चुल्हो

“सुरुमा त चलाउन नजान्दा निकै डर लागेको थियो, कुनै खतरा नहुने, धुवाँ धुलो नआउने र खानेकुरा छिटो पाक्ने रहेछ”, उहाँले भन्नुभयो, “बुहारीले सिकाएपछि अहिले विद्युतीय चुल्हो चलाउन सजिलो भएको छ ।”
अर्का उपभोक्ता बाबुलाल श्रेष्ठले पनि विद्युतीय चुल्हो जडान गरेको एक महिना पुगेको छ । उहाँलाई पनि विद्युतीय चुल्हो चलाउन सजिलो र सुरक्षित महसुस भएको छ । “घरमा दुई जना बूढाबूढी छौँ, राइसकुकरमा भात पकाउछौँ । मासु, तरकारी, चिया र पानी तताउने काम सबै विद्युतीय चुल्होमा पाक्छ”, उहाँले भन्नुभयो, “बत्तीको खर्च कति लाग्छ थाहा छैन, सर्वसुलभ भएमा विस्तारै ग्यास विस्थापित गर्ने सोचमा छु ।”
ठूलोवन सामुदायिक वन उपभोक्ता समूह र अजम्बरी विकास फाउन्डेसन तथा विकास यात्राको अनुदानमा उक्त क्षेत्रका प्रत्येक उपभोक्ताको भान्छामा विद्युतीय चुल्हो जडान गरिएको हो । एउटा इलेक्ट्रिक चुल्होलाई रु चार हजार आठ सय पर्ने गरेको छ । त्यसमा वन समूह र अजम्बरी विकास फाउन्डेसनले ५०। ५० प्रतिशत खर्च व्यहोर्ने सहमतिअनुसार उपभोक्तालाई अनुदानमा चुल्हो वितरण गरिएको ठूलोवन सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष इश्वर श्रेष्ठले जानकारी दिनुभयो ।
उहाँका अनुसार वन समूहमा दुई सय ८० घर आबद्ध छन् । अहिलेसम्म दुई सय ४२ घरमा विद्युतीय चुल्हो जडान भइसकेको छ । बाँकी घरमा चाँडै चुल्हो वितरण गर्ने कार्यक्रम छ । “चुल्हो प्रयोगमा आउँदैन की भनेर प्रत्येक घरलाई चुल्होमा प्रयोग हुने कराइ र कुकर खरिद गराएर मात्र वितरण गरेका छौँ”, उहाँले भन्नुभयो, “वनको आम्दानीले उपभोक्ताका घरघरमा विद्युतीय चुल्हो वितरण गर्न पाउँदा खुसी लागेको छ ।”

सामुदायिक वनको कोषमा रकम जम्मा गर्नुभन्दा उपभोक्तालाई सुविधा दिने सोचका साथ उपभोक्ताका भान्छामा चुल्हो पु-याउने पहल भएको सामुदायिक वन उपभोक्ता समूहले जनाएको छ । विद्युतीय चुल्हो प्राप्त गर्न नागरिकता, विद्युत् बिलको प्रतिलिपि र दुईप्रति फोटो अनिवार्य गरिएको छ । प्रत्येक विद्युत् मिटरका आधारमा चुल्हो वितरण गर्ने मापदण्ड तयार गरिएको अध्यक्ष श्रेष्ठको भनाइ छ ।
विसं २०५३ मा हस्तान्तरण भएको तीन सय २२ हेक्टर क्षेत्रफलमा फैलिएको उक्त सामुदायिक वनमा ७० प्रतिशत सालको रुख रहेको छ । वन कार्ययोजना र विधानको परिधिभित्र रहेर उपभोक्तालाई घर, गोठ बनाउन आवश्यक काठप्रति क्यूफिट रु दुई सयका दरले उपलब्ध गराउने गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । समूहबाट प्राप्त काठ उपभोक्ताले बाहिर बिक्रीवितरण गर्न पाउने छैनन् ।
उपभोक्ताको भान्छा स्वच्छ बनाउने उद्देश्यले चुल्हो वितरण गरिएको अजम्बरी विकास फाउन्डेसन तथा विकास यात्रा कार्यक्रमका प्रमुख राजेन्द्र घिमिरेले जानकारी दिनुभयो । परियोजनाले घरधुरीलाई दाउरा वा खनिज इन्धनको सट्टा बिजुली प्रयोगगरी खाना पकाउन सघाएको छ । विद्युतीय चुल्होको प्रयोगले धुवाँजन्य प्रदूषण घटाइ कार्बनडाइअक्साइड उत्सर्जन न्यूनीकरण र जलवायु परिवर्तनमा सकारात्मक योगदान पुग्ने उहाँको भनाइ छ ।
बागमती, गण्डकी, लुम्बिनी र कोशी प्रदेशअन्तर्गतका स्थानीय तहमा ३० हजारभन्दा बढी घरधुरीलाई सहयोग गर्ने लक्ष्य परियोजनाको छ । उक्त परियोजनामार्फत कूल ३० हजार चुल्हो वितरण गर्ने लक्ष्य रहेकामा हालसम्म छ सय घरलाई विद्युतीय चुल्हो वितरण गरिसकिएको छ ।
सामुदायिक वन उपभोक्ता महासङ्घ नेपाल कास्कीका जिल्ला सदस्य एवं ठूलोवन उपभोक्ता समूहका सदस्य बुद्धिबहादुर घिमिरेले मुलुक विद्युतीय ऊर्जा प्रवद्र्धनमा सक्षम र सबल बन्दै गएकाले हरितगृह ग्यास उत्सर्जनदेखि आर्थिक तथा मानवीय जोखिम न्यूनीकरण गर्न विद्युतीय चुल्होको प्रयोगलाई बढाउनुपर्ने बताउनुभयो ।
वन विभागको तथ्याङ्कअनुसार मुलुकमा २३ हजार २६ सामुदायिक वन समूहका ३१ लाख ९५ हजार तीन सय २३ घरधुरीले २४ लाख २५ हजार तीन सय ९२ दशमलव ६० हेक्टर क्षेत्रफलको वन व्यवस्थापन गर्दै आएका छन् । दाउराको प्रयोग गर्ने उपभोक्तालाई पहिलो प्राथमिकतामा राखी विद्युतीय चुल्हो विस्तारलाई जोड दिनुपर्ने उहाँको धारणो छ ।
तीन सय बढीलाई छात्रावृत्ति वितरण
मन्थली (रामेछाप), ४ भदौ : यहाँको मन्थली नगरपालिका–१ सानी मदौका स्थानीय तेजप्रसाद सुवेदीले व्यक्तिगत खर्चमा जिल्लाका विभिन्न नौ वटा विद्यालयका तीन सय १२ जना गरिब तथा जेहेन्दार छात्राहरुलाई छात्रावृत्ति वितरण गर्नुभएको छ । उहाँले जेहेन्दार छात्रा शिक्षा हातेमालो कार्यक्रममार्फत नगद, एक वर्षलाई पुग्ने दुई दर्जन बढी कापी, डटपेन झोला र विद्यालय पोसाक वितरण गर्नुभएको हो ।
ती विद्यालयले छनोट गरेका गरिब तथा जेहेन्दार छात्रामध्ये केहीलाई पूर्ण र केहीलाई आंशिक दिइएको छ । उहाँले ग्रामीण भेगमा छोरीलाई पढाउनुपर्छ भन्ने मान्यता कम भएकाले छोरीलाई पनि छोरा सरह शिक्षा दिनुपर्छ भन्ने मूल सन्देश दिन गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनमा सहयोग पुगोस् भनि विगत आठ वर्षअघिदेखि सहयोग गर्दै आइरहेको बताउनुभयो ।
पूर्ण छात्रावृत्ति अन्तर्गत प्रति विद्यार्थी १८ हजार नगद, विद्यालय पोसाक र झोला वितरण गरिएको छ, भने आंशिक तर्फ विद्यालय पोसाक, झोला र एक वर्षलाई पुग्ने कापी, डटपेन वितरण गरिएको छ । सहयोग रकम पाएपछि आफूजस्ता गरिब तथा जेहेन्दार छात्रालाई पठनपाठनका लागि सहज भएको मन्थली माविको कक्षा ७ मा अध्ययनरत छात्रा इन्दिरा बुढाथोकीले बताउनुभयो ।
भैरवी मावि सुनारपानीमा अध्ययनरत छात्रा गीता कार्कीले आफू जस्ता विद्यार्थी यस कार्यक्रममा सहभागी हुन पाउँदा खुसी लागेको बताउनुहुन्छ । “गाउँमा अझै छोराछोरीबीचको विभेद् कायम छ, छोरालाई निजी र छोरीलाई सामुदायिक विद्यालयमा पढाउने गरिन्छ”, तामाकोशी क्याम्पस खिम्तीका क्याम्पस प्रमुख दिवाकर खड्काले भन्नुभयो, “शैक्षिक सामग्री किन्न नसक्ने ग्रामीण परिवेशका अभिभावकलाई यस कार्यक्रमले सहयोग पुगेको छ ।”
आठ वर्ष अघिदेखि छात्रावृत्ति कार्यक्रम सञ्चालन गदै आउनु भएका सुवेदी परिवारको यस वर्षको कार्यक्रम नवौँ हो । उक्त कार्यक्रममा प्रत्येक वर्ष रु १० लाख भन्दा बढी खर्च हुने गरेको छ ।
छात्रावृत्ति पाउने क्याम्पस तथा विद्यालयमा मन्थली सहिदस्मृति बहुमुखी क्याम्पसका छ जना, तामाकोशी क्याम्पस खिम्तीका १२ जना, सेतीदेवी मावि सालु, भैरवी मावि सुनारपानी र शिद्धेश्वर मावि गैराथोकका १०÷१० जना विद्यार्थी रहेका छन् ।
त्यसैगरी जनविजय आधारभूत विद्यालयका ५७, हरिसिद्धी मावि चौकीघर फुलसीका ६२ र मावि चिण्डे फूलासीका एक सय १३ गरि कूल तीन सय १२ जना छात्रा यो कार्यक्रमबाट लाभान्वित भएका छन् ।
माङसेबुङ खानेपानी आयोजना अन्तिम चरणमा
फिक्कल (इलाम), ४ भदौ : इलामको माङसेबुङ गाउँपालिका–३ र ५ मा निर्माणाधीन बृहत माङसेबुङ लिफ्ट खानेपानी आयोजना अन्तिम चरणमा पुगेको छ । विगत तीन वर्षदेखि निर्माण सुरु भएको आयोजनाको ८४ प्रतिशत काम सम्पन्न भएको सङ्घीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना इलामका इञ्जिनियर सविन श्रेष्ठले जानकारी दिनुभयो ।
नेपाल सरकारको १३ करोड आठ लाख तीन हजार सात सय आठ रुपैयाँ लागतमा आयोजना निर्माण थालिएको हो । माङसेबुङका दुईवटा वडावासीलाई पर्याप्त खानेपानी वितरण गर्ने लक्ष्यसहित सुरु गरिएको आयोजना आगामी कात्तिकभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । अहिलेसम्म ‘कलेक्सन टेम्बर’, एक सय घनमिटर क्षमताको एउटा ‘रिजर्भ ट्याङ्की’, ५० घनमिटर क्षमताको दुई वटा ‘रिजर्भ ट्याङ्की’, १० घनमिटर क्षमताको चार वटा ‘रिजर्भ ट्याङ्की’ र बिजुली भवन निर्माण सम्पन्न भएका छन् ।
प्रत्येक ‘रिजर्भ ट्याङ्की’सम्मको तीन किलोमिटर तीन सय मिटर एचडिपिइ पाइप (पोलिथिन पाइप) विस्तार गरिएको छ । प्रत्येक ‘रिजर्भ ट्याङ्की’बाट चार सय ७५ घरधुरीमा २२ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान भइसकेको छ । आयोजनाको कार्यालय भवनसहित समुदायका लागि दुईवटा सार्वजनिक शौचालय निर्माण गरिएको छ ।

अब ‘रिजर्भ ट्याङ्की’बाट पाँच सय ९१ घरपरिवारका लागि नौ किलोमिटर पाइपलाइन विस्तार गरी धारा जडान गर्न बाँकी रहेको इञ्जिनियर श्रेष्ठले बताउनुभयो । “बाँकी पाइपलाइन विस्तार र धारा जडानको काम धमाधम भइरहेको छ,” उहाँले भन्नुभयो, “अब बढीमा दुई महिनाभित्र आयोजना सम्पन्न भई घरघरमा खानेपानी पुग्छ ।”
आयोजना अन्तर्गत तीन किलोमिटर तल रहेको रतुवा खोलाबाट विद्युतीय मोटरले तानेको पानी ‘रिजर्भ ट्याङ्की’मा भण्डारण गरी घरघरमा वितरण गरिनेछ । विद्युतीय माध्यमबाट चल्ने आयोजनामा पानी खपत गरेबापत मिटरमा उठेको महशुल उपभोक्ताले तिर्नुपर्नेछ ।
आयोजनाले लारुम्बासहित वडा नं ५ का सबै क्षेत्र र वडा नं ३ का तल्लो भाग लामिटार र आसपासका क्षेत्र समेट्नेछ । जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने त्यहाँका बासिन्दा लामो समयदेखि खानेपानीको समस्या भोग्दै आएका छन् । घण्टौँ लगाएर पानी बोकेर खानुपर्ने स्थानीय बासिन्दाको समस्या आयोजनाले अन्त्य गर्ने ५ नं वडा अध्यक्ष नरेन्द्रकुमार राईले बताउनुभयो ।
आयोजना निर्माणका लागि विसं २०७८ असार २३ गते ठेकेदार कम्पनी ‘स्वामीनारायण निर्माण सेवा’सँग बहुवर्षे ठेक्का सम्झौता भएको थियो । आयोजनाबाट दुई वडाका एक हजार ६१ घरपरिवारका छ हजार तीन सय ९८ उपभोक्ता लाभान्वित हुने भएका छन् । माङसेबुङ गाउँपालिकाको वडा नं २ र ६ मा यसअघि लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आइसकेको छ ।
प्रतिकूल मौसमले उडान प्रभावित

विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौलाले आन्तरिक उडान सामान्य प्रभावित रहे पनि अन्तर्राष्ट्रिय उडान नियमित भइरहेको जानकारी दिनुभयो । “मौसम खराब रहेकाले भिजिविलिटी कमजोर हुदाँ पोखरा र भरतपुर गन्तव्यमा उडान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “अन्य पहाडी क्षेत्रका विमानस्थलमा पनि सामान्य उडान प्रभावित भएको छ ।”

बुद्ध एयरका सूचना अधिकारी दीपेन्द्रकुमार कर्णका अनुसार पोखरा र भरतपुरमा अहिलेसम्म कुनै पनि उडान भएको छैन । वर्षा कम भएसँगै भिजिविलिटीमा सुधार आए केहीबेरपछि उडान हुने जानकारी आएको उहाँले बताउनुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान भने नियमित भइरहेको विमानस्थल कार्यालयले जनाएको छ ।

हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेकाले हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ ।
सबै प्रदेशका केही स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
काँक्रोखेतीबाट मनग्य आम्दानी
इलाम, ४ भदौः सूर्योदय नगरपालिका–१२ का रमेस गड्तौलाले यस वर्ष पाँच रोपनी जग्गामा काँक्रोखेती गर्नुभयो । “याम सकिनै लाग्यो । अन्तिम टिपाइ भइसक्यो, यसवर्ष राम्रैगरी काँक्रा बिक्री भए”, उहाँले भन्नुभयो, “झापाको चारआली र बिर्तामोड पुर्याउँदा कम्तीमा प्रतिगोटा रु ३० देखि ९० सम्ममा बिक्री हुन्छ । वरपर अरू किसानबाट जम्मा गरेर पनि त्यहीँ मूल्य हामीले दियौँ ।”
काँक्रो लगाउँदा रु एक लाख ५० हजार खर्च भएको उहाँले बताउनुभयो । “रु छ–सात लाख आम्दानी भयो होला”, उहाँले भन्नुभयो, “हाम्रो गाउँमा धेरै किसानले काँक्रो लगाएका थिए । प्रायः सबैजसो किसानले कम्तीमा चार–पाँच सय काँक्रो बिक्री गरेका छन् ।”
काँक्रोबाट आम्दानी राम्रो हुने भएकाले यो क्षेत्रका धेरै किसानले हरेक वर्ष खेती गर्ने गरेको किसान गड्तौलाले बताउनुभयो । सूर्योदय–१२ कै योगेन्द्र राई र सञ्जय राईले पनि काँक्रोखेती गर्नुभएको छ । “सुरुमा खडेरीले अलि सतायो, सिँचाइ कम भयो तर पनि दुई हजारजति काँक्रो फल्यो होला”, उहाँले भन्नुभयो ।
अहिले सूर्योदयका वडावडामै कच्ची भए पनि बाह्रै महिना सवारीका साधन सञ्चालन हुनसक्ने सडक भएकाले गाउँगाउँबाट किसानलाई तरकारी बिक्री गर्न धेरै सजिलो छ । उत्पादन भए पनि ढुवानी गर्न नसक्दा बारीमै कुहिने बाध्यता भने किसानलाई धेरै टरेको पाइन्छ ।
अघिल्लोपटकको स्थानीय सरकारले नै नगरका १४ वटै वडामा ‘एक वडा–एक सडक’ को नीति लिएर थालेको कम्तीमा तीन किलोमिटर कालोपत्र सडक निर्माणको काम अहिले पनि भइरहेको छ । दोस्रो कार्यकालमा आएको नगर कार्यपालिकाले पनि अघिल्ला काम र योजनालाई निरन्तरता दिइरहेको छ । सबै वडाका सडकमा अहिले पनि नाली, ग्राभेल, पर्खाल र केही ठाउँमा कालोपत्रको काम भइरहेको छ ।
अठार किलोमिटर कालोपत्रको काम भइसकेको सूर्योदय नगरपालिकाका आर्थिक समिति संयोजक देवेन्द्र शर्मा आचार्यले बताउनुभयो । यस्तै, अहिलेसम्ममा एक सय ३० किलोमिटर ग्राभेल सम्पन्न भएको संयोजक शर्माले जानकारी दिनुभयो ।
बाह्मासे सडकका लागि प्रत्येक वडाले बर्सेनि कम्तीमा रु ५० लाख बजेट विनियोजन गर्ने गरेका छन् । आवश्यकतानुसार वडाले रु एक करोडसम्म बजेट छुट्याउने र त्यसमा नगरपालिकाले पनि थप गर्दै गएको नगरप्रमुख रणबहादुर राईले बताउनुभयो ।
“कृषिजन्य उत्पादन गाउँमा छ, त्यसलाई बजारसम्म ढुवानी गर्न बाटो छैन, आफूले उत्पादन गरेको कृषि उपज कुहिएर नाश हुँदा सर्वसाधारणले आर्थिक क्षति व्यहोर्नुपरेको छ । अब विस्तारै गाउँमा सहज यातायातको पहुँच पुग्न थालेको छ”, उहाँले भन्नुभयो, “यातायात र ढुवानी अभावमा अब सूर्योदयका किसानले उत्पादन गरेको कृषि उपज नोक्सान हुन पाउने छैन, किसानले सहज रूपमा बजारसम्म पुर्याउन सक्ने भएका छन्, यसमा हामीलाई गौरव छ ।”
वर्षायाम सुरु भएपछि विगत वर्षमा सडक हिलाम्मे भएर यातायात सुविधा नहुँदा यहाँका किसानले उत्पादन गरेको गोलभेँडा, इस्कुस, अकबरे, काँक्रो, बन्दालगायत कृषि उत्पादन बारीमै कुहिने गरेको थियो । सूर्योदय–१२ का मलिम, आठघरे, याङ तरकारी उत्पादनका लागि राम्रा क्षेत्र हुन् । मलिममा अहिले गोलभेँडा राम्रो रहेको र आफैँले ढुवानी सेवा दिँदै आएको अर्का किसान राम राईले बताउनुभयो ।
“मलिम पुछार, बिरिङखोला नजिकसम्मै गाडी जान्छ, असारेटार, लेप्चा गाउँदेखिका गोलभेँडा र अन्य तरकारी उठाउने गरेको छु”, उहाँले भन्नुभयो, “यस वर्ष त कसैको तरकारी कुहिएन, सबै किसानले फलाएको तरकारी राम्ररी बिक्री गर्न पाएका छन् । हामीले यो तरकारी झापा पुर्याएर बिक्री गरेर आएर, पैसा दिने गरेका छौँ ।” यहाँका किसानले काँक्रो, गोलभेँडा, इस्कुस, अकबरे, फर्सी, बन्दा, काउली, इस्कुसका टुप्पा, फर्सीका टुप्पालगायत तरकारी उत्पादन गरेर बिक्री गर्ने गरेका छन् ।
नेवार समुदायमा जात्राको रौनक
रामबहादुर थापा
गण्डकी, ४ भदौ : सदियौँ पुराना पर्व र परम्परालाई यहाँका नेवार समुदायले निरन्तरता दिइरहेका छन् । जनैपूर्णिमाको भोलिपल्टदेखि ती समुदायमा भदोरै जात्राको रमझम सुरु हुन्छ । ठूला चाडबाड आउनुअघि चल्ने यस्ता सांस्कृतिक जात्रा र नाचले छुट्टै रौनक ल्याउने गर्छ । नेवार जातिको लोकप्रिय नाच लाखे भने घण्टाकर्ण पर्वदेखि नै नचाउन सुरु हुन्छ ।
गत साउन २६ गते लाखे नाचले संस्कृतिमय पोखराको झल्को दियो । नेवाः खलः कचा पृथ्वीचोकले आयोजना गरेको लाखेनाच प्रतियोगितामा २० कलाकार समूहले भाग लिए । तीन समूह अप्रतियोगीका रुपमा मञ्चमा प्रस्तुत भए । पोखरा प्रदर्शनी केन्द्रमा दिनभर लाखेनाचको रौनक चल्यो । कलाप्रेमीले लाखे हेर्दे नेवारी परिकारको स्वाद लिए । दर्शकलाई नेवारी परिकार चखाउन प्रतियोगितास्थलमै ‘झो भ्वयः’ को प्रबन्ध गरिएको थियो ।
प्रतियोगितामा पोखराको मोहरिया सिंहनाथ टोल तायःमचाः समिति प्रथम, रामकृष्ण टोल ल्याम्ह पुचः दोस्रो, समाज कल्याण नेवाः खलः राजाको चौतारा तेस्रो र ग्रैहापाटन नेवाः समाज सान्त्वना भयो । विजेता समूहले क्रमशः रु ५५ हजार पाँच सय ५५, रु ३३ हजार तीन सय ३३, रु २२ हजार दुई सय २२ र ११ हजार एक सय ११ नगद पुरस्कार जिते । लाखे नाचको संरक्षण र पुस्तान्तरणको ध्येयले प्रतियोगिता आयोजना गरिएको मूल संयोजक सुरेन्द्रप्रसाद श्रेष्ठले बताउनुभयो ।
लाखेनाच घण्टाकर्ण पर्वमा सुरु गरी तीजमा अस्ताउने चलन छ । राजाका सिपाहीले घण्टाकर्ण नाम गरेका राक्षसलाई मारेपछि पति बियोगमा व्युहल बनेकी उनकी श्रीमती लाखे बनेर नाचेको किंवदन्ती पाइन्छ । त्यसकै प्रतीकस्वरुप नेवार समुदायले बर्सेनि लाखेनाच प्रदर्शन गर्दै आएका छन् । नेवार समुदाय बसोबास गर्ने ठाउँअनुसार फरक–फरक तरिकाले लाखेनाच नचाउने गरिन्छ । लाखेनाचको प्रचलन र यसको इतिहासबारे पनि विभिन्न तर्क पाइन्छन् ।
लाखेनाचमा हिँडाउने, पड्ताल, भोटेसेलो र झ्यारी गरी चार ताल हुन्छन् । राक्षसको स्वरुप झल्कने मुकुट र देवी वस्त्रसहित कलाकारलाई सिङ्गारेर लाखे नचाउने गरिन्छ । नेवार समुदायको बसोबास रहेको बागलुङ सदरमुकाममा पनि अहिले लाखेलगायत नाच प्रदर्शन भइरहेका छन् । बर्खे नाचलेसमेत चिनिने भदौरे जात्रा आजदेखि सुरु भएको छ । जनैपूर्णिमादेखि कृष्णाष्टमीसम्म भदौरे जात्रा निकाल्ने प्रचलन रहेको नेपाल भाषा मंकाः खलः बागलुङका अध्यक्ष मुकेशचन्द्र राजभण्डारीले बताउनुभयो ।
भदौरे जात्राअन्तर्गत लाखे, बास्सा, रोपाइँ, होवा, जोगी, कटुवाल, घोडालगायत नाच तथा झाँकी प्रदर्शन हुने उहाँको भनाइ छ । गाईजात्रा पर्वका अवसर पारेर वर्ष दिनभित्र दिवङ्गगत भएका आफन्तको सम्झनामा तायामचाः र बास्सा नाच निकाल्ने गरिएको उहाँले बताउनुभयो ।
बागलुङका नेवार समुदायले आफ्नो पुस्तैनी संस्कृतिका रुपमा जात्राको परम्परालाई धान्दै आएका छन् । यहाँ नेपाल भाषा मंका खलः र शाक्य कल्याण समाजको अगुवाइमा भदौरे जात्रा र नाचको परम्परा धानिँदै आएको छ । लाखे र जोगीनाच शाक्य कल्याण समाजले निकाल्दै आएको छ । अन्य नाच नेपाल भाषा मकां खलःअन्तर्गत संरक्षित छन् । नेवार युवाहरुको संस्था नेवाः ल्याम्ह पुचः पनि जात्रा संरक्षणमा सक्रिय छ ।
झण्डै चार सय वर्षअघि भक्तपुर, धुलिखेल र भादगाउँबाट बागलुङ आएका नेवार जातिले भदौरे जात्राको प्रचलन बसालेको संस्कृतिकर्मी प्रेम छोटाले बताउनुभयो । “भाइचारा, मेलमिलाप, सामाजिक सन्देश र मनोरञ्जनको माध्यमको रुपमा जात्रालाई लिइन्छ”, उहाँले भन्नुभयो, “जात्राभित्र विभिन्न परम्परा झल्कने गीत, नाच प्रदर्शन हुने गरेको छ, गाईजात्रा पर्वको दिनदेखि नै बर्खेनाच निकाल्न सुरु हुन्छ ।”
भदौरे जात्रामा देखाइने हरेक नाचका आ–आफ्नै परम्परा र ऐतिहासिक मान्यता छन् । घोडा नाचमा मानिसलाई घोडाको आकृति दिएर टिन र झ्यालीको तालमा जिस्क्याउँदै बजार परिक्रमा गराउने चलन रहेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । कटुवाल नाचमा पनि युवाहरु विभिन्न रुपका मुखुन्डो धारण गरेर मृदङ्गको तालमा नाच्ने र कटुवालको भूमिका निभाउनेले रोपाइँको सन्देश दिने चलन छ । हली, बाउसे र खेतालालाई रोपाइँको सन्देश दिन कटुवाल नाच निकाल्ने गरिन्छ ।
कटुवाल नाचपछि हुने रोपाइँ नाच पनि यहाँको पुरानो जात्रामध्येमा पर्छ । रोपाइँ नाचमा नेवार समुदायका युवा, वयस्कहरु महिलाको भेष धारणा गरेर नाचमा सहभागी हुन्छन् । हातमा धानको बीउ समातेर असारे भाकामा गीत गाउँदै बजार परिक्रमा गर्छन् । असारे नाचमा पनि आफ्ना भावना, विचारलाई गीतको माध्यमबाट स्वतन्त्र ढङ्गले प्रस्तुत गर्ने गरिन्छ ।
जोगी नाच भदौरे जात्राको अर्को आकर्षण हो । नेवारभित्रको शाक्य समुदायले यसको संरक्षण गर्दै आएको छ । जोगीको भेषमा सजिएर बाजाको विभिन्न तालमा लस्कर लागेर नाच्ने प्रचलन छ । जोगी नाचले सामाजिक एकता, भाइचारा बढ्ने, आसुरी प्रवृत्तिको नाश हुने र सहकाल आउने विश्वास गरिन्छ । जोगीनाचमा धेरै कलाकार चाहिने र खर्चिलो हुने हुँदा संरक्षणमा चुनौती रहेको शाक्य कल्याण समाजका अध्यक्ष राजन शाक्यले बताउनुभयो ।
जात्राले गीत, नृत्य र अभिनयबाट व्यङ्ग, पौराणिक कथा, जनजीवनका भोगाइ र स्वस्थ मनोरञ्जनलाई समेट्ने गरेको संस्कृतिकर्मी छोटाले बताउनुभयो । प्रायः नाच गाईजात्राकै भिन्न स्वरुपजस्ता देखिने गरेको उहाँको भनाइ छ । “जात्राले सामाजिक विकृति, विसङ्गतिप्रति व्यङ्ग मात्र गर्दैन”, उहाँले भन्नुभयो, “मौलिक र परम्परागत मूल्य, मान्यताले पनि यो सुसज्जित छ ।”
सबै भदौरे नाचको कथा, पृष्ठभूमि, स्वरुप र शैली भने बेग्लाबेग्लै छ । गाईजात्राका दिन निकालिने तायामचाः र बास्सा नाच दिवङ्गत आफन्तको सम्झना र मोक्ष प्राप्तिको कामनासहित निकाल्ने गरिन्छ । बास्सा नाचमा देवी, देवताको वेशभूषा र बान्कीमा सजिएर भगवान् राम, कृष्ण, विष्णु आदिका लीला प्रदर्शन गर्ने चलन छ ।
नेपाल भाषा मंकाः खलःका अध्यक्ष राजभण्डारीले पहिलेपहिले भदौरे नाच हेर्नकै लागि मानिसहरु गाउँगाउँबाट बागलुङ बजार झर्ने गरेको बताउनुभयो । “दिनभर जात्रामा रमाउने र चाडबाडलाई किनमेल गरेर साँझ घर फर्कने चलन थियो”, उहाँले भन्नुभयो, “ग्रामीण बजार, सडकको विस्तार आदिले अहिले त्यो चलन हट्यो ।”
पछिल्लो समय जात्राको रौनक खुम्चदैँ गए पनि संस्कृति र परम्परा जोगाउन नेवार समुदाय लागिपरेको छ । बागलुङको हरिचौर, हटिया, बलेवालगायत नेवार जातिको बसोबास रहेका ठाउँमा पनि बर्खे नाच देखाउने गरिन्छ । संरक्षण अभावमा कतिपय नाच भने हराएर गएको नेवार अगुवा बताउँछन् ।
“पुस्तान्तरणको अभावमा कतिपय परम्परागत नाच सङ्कटमा छन्, अहिले आप्रवासन बढ्दो छ, युवापुस्ता बाहिर छ, यसले पनि पुरानो संस्कृति संरक्षणमा चुनौती थपेको छ”, अध्यक्ष राजभण्डारीले भन्नुभयो, “नयाँ पुस्तालाई पनि आफ्नो इतिहास, भाषा, कला र संस्कृतिबारे बुझाउनुपर्ने खाँचो छ ।”
म्याग्दी सदरमुकाम बेनी बजारमा पनि साउन शुक्ल चतुर्दशीमा पर्ने घण्टाकर्ण पर्वदेखि बर्खेनाच सुरु भएको नेपाल भाषा मंकाः खलःअन्तर्गतको नेवाः ल्याम्ह पुचःका अध्यक्ष जेनेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बर्खेनाचमा लाखे, नागनागिनी, घोडानाच, श्रीकृष्ण रथयात्रालगायत निकाल्ने गरिएको छ । नयाँ पुस्तामा पुरानो संस्कृतिप्रतिको मोह कम हुँदै जाँदा परम्परागत नाच संरक्षणमा चुनौती थपिएको अध्यक्ष श्रेष्ठको अनुभव छ । बेनीमा तीज पर्वसम्म बर्खेनाच देखाउने चलन छ ।
हिमालपारि मुस्ताङ र मनाङबाहेक नेवार समुदायको सघन बसोबास रहेका पोखरासहित तनहुँको दमौली, बन्दीपुर, पर्वतको कुश्मा गोरखालगायत जिल्लामा यतिबेला सांस्कृतिक नाच र जात्रा चलिरहेका छन् । बसाइँसराइ, युवाको विदेश पलायन, आधुनिकताको प्रभाव, मौलिक संस्कृतिप्रतिको अरुचिजस्ता कारणले पुरानो कला र संस्कृति जोगाउने चुनौती भने नेवार समुदायमा पनि थपिएको छ । समाजमा प्रचलित संस्कृति र परम्परा नास भएर जाने हुन् कि भन्ने चिन्ता नेवार अगुवाहरुलाई छ । नयाँ पुस्तालाई संस्कृति संरक्षणको ज्ञान र सीप हस्तान्तरण गर्नुपर्ने संस्कृतिकर्मी छोटाले बताउनुभयो ।
पर्यटकको रोजाइमा निर्माणाधीन ‘बुङालुङ’ ढुङ्गे बगैँचा
केदार मगर
खोटाङ, ४ भदौः झट्ट हेर्दा बालुवा र सिमेन्ट प्रयोग गरेर कालीगढले बनाएजस्तो देखिने सेतो रङका आकर्षक ढुङ्गाले ककनीडाँडा ढपक्कै ढाकिएको छ । प्राकृतिक रुपमै आकर्षक विभिन्न आकृति देखिने ढङ्गैढुङ्गाले बनेको ककनीडाँडा एक सय ६० रोपनी क्षेत्रफलमा फैलिएको छ ।
त्रिधार्मिकस्थल हलेसीबाट करिब ३० मिनेटको उकालो पैदलयात्रामा पुगिने पर्यटकीयस्थल ककनीडाँडामा ‘रक गार्डेन’ (ढुङ्गे बगैँचा) निर्माणाधीन अवस्थामा छ । लामो समयदेखि स्थानीय बासिन्दा घुमफिर र वनभोज जाने ककनीडाँडालाई स्तरोन्नति गरेर आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षकस्थल बनाउन हलेसी तुवाचुङ नगरपालिका लागिपरेको हो ।
प्राकृतिक रुपमै सजिसजाउ भएका ढुङ्गालाई थप सजाउने, ढुङ्गाका बीचबीचमा सुहाउँदो फूल रोप्ने, ठाउँ–ठाउँमा ढुङ्गे गेट (प्रवेशद्धार) बनाउने, ढुङ्गे धारा निर्माण गर्ने, ढुङ्गा कुँदेर महादेवलाई भस्मासुरले लखेटेको दृश्य झल्काउने मूर्ति बनाउने, प्राकृतिक ढुङ्गालाई नचलाइकन कालो, सेतो र रातो रङको ढुङ्गा मिश्रण गरेर फूलको आकृति बनाउने, विभिन्न कला तथा संस्कृति झल्कने सजावट गर्ने काम भइरहेको छ । हलेसी तुवाचुङ–७ महादेवस्थानस्थित ककनीडाँडामा निर्माणाधीन रक गार्डेनलाई नगरपालिकाले ‘बुङालुङ’ नामकरण गरेको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथालगायत हिमालको तस्बिर कैद गर्ने, दृश्यावलोकन गर्ने र मनोरञ्जन गर्ने ढुङ्गाकै स–साना गेट निर्माण गर्ने र रक गार्डेनका रुपमा विकास गर्ने चारैतिर घेराबार तथा पर्खाल लगाउने काम नगरपालिकाले गरिरहेको छ ।
यसैगरी, एक क्षेत्रबाट अर्को क्षेत्र पुग्न ढुङ्गाकै कलात्मक सिँढी निर्माण गर्न, पर्यटक विश्रामका लागि डाँडाडाँडामा काठका बिसौनी राख्नेगरी तयारी गरिएको छ । यसबाहेक रक गार्डेनमा विद्युत्, खानेपानीको व्यवस्था, विश्रामस्थल, केबलकार, भोजनालयलगायत संरचना निर्माण गर्नेसम्मको परिकल्पना गरिएको छ ।
भस्मासुर राक्षसले महादेवलाई लखेट्दा ककनीडाँडामा महादेवको पाइला परेपछि ढुङ्गाको कलात्मक आकृति निस्किएको किंवदन्ती छ । निर्माणाधीन अवस्थामै आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा परेको ककनीडाँडा हलेसी भएर जाने सरकारको १०० वटा पर्यटकीय गन्तव्य मुन्दुम ट्रेल (पदमार्ग)को प्रवेशस्थलमा पर्दछ ।
किराती सभ्यतासँग सम्बन्धित मुन्दुम ट्रेल हलेसीबाट सुरु भएर रुपाकोट, टेम्के, मैयुङ हुँदै सालपा सिलिचुङसम्मको निर्धारण गरिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल हलेसी र ककनीडाँडा नजिकै किरात सभ्यताको उद्गमस्थल मानिने तुवाचुङ–जायजुम अवस्थित छ ।
सरकारले निर्धारण गरेको १०० वटा गन्तव्यमा पर्ने मुन्दुम ट्रेलको प्रवेशस्थलमा अवस्थित ढुङ्गै÷ढुङ्गाले बनेको रमणीयस्थल ककनीडाँडामा निर्माण सुरु गरिएको रक गार्डेनलाई महत्वका साथ हेरिएको छ । लामो समयदेखि प्रयोगविहीन ककनीडाँडामा नगरपालिकाको पहलमा आधुनिक किसिमको रक गार्डेन निर्माण सुरु गरिएपछि स्थानीय बासिन्दा पनि हर्षित बनेका छन् ।
ककनीडाँडामा रक गार्डेन निर्माण सुरु गरिएलगत्तै आसपासका जग्गा घडेरीका रुपमा किनबेच सुरु भएको नगर प्रवक्ता एवं महादेवस्थानका वडाध्यक्ष कमल गिरीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निर्माणाधीन अवस्थाका रक गार्डेन हलेसी आउने पर्यटकका लागि अर्को गन्तव्यस्थल बनेको छ । रक गार्डेन घुम्न तथा अवलोकन गर्नलाई अहिलेसम्म कुनै टिकट लिनुपर्दैन । निर्माण सम्पन्नपछि ठेक्का लगाएर प्रवेश शुल्क लिने योजना छ । यसले नगरको आन्तरिक आयस्रोत वृद्धिमा सघाउ पुग्ने अपेक्षा गरेका छौँ ।”
फलामे डण्डी तथा तार प्रयोग गरेर निर्माण गरिएका घेराबाराभित्र रहेको रक गार्डेनमा गार्ड हाउस, रेष्टुरेन्ट, प्रमुख प्रवेशद्धार, शौचालय, टिकट काउण्टर निर्माण गरिएको छ । निर्माणाधीन अवस्थामा रहेको रक गार्डेनबाट सर्वोच्च शिखर सगरमाथालगायत विभिन्न हिमश्रृङ्खला, छिमेकी जिल्ला सोलुखुम्बु, ओखलढुङ्गा, भोजपुर र रामेछाप तथा तराईका विभिन्न फाँट अवलोकन गर्न सकिन्छ ।
रक गार्डेनलाई कतिपयले म्युजिक भिडियो छायाङ्कन गर्ने स्थलका रुपमा विकसित हुन थालेको छ । हलेसी नजिकै रहेको रक गार्डन काठमाडौँबाट मध्यपहाडी लोकमार्गमार्फत गाडीमा सिन्धुली–खुर्कोट–घुर्मी–जयरामघाट हुँदै आउन सकिन्छ । तराईका जिल्लाबाट सिराहको मिर्चैया–उदयपुरको कटारी–घुर्मी–जयरामघाट तथा धरान–धनकुटा–भोजपुर–चखेवाभञ्ज्याङ–दिक्तेल हुँदै पनि यहाँ आउन सकिन्छ भने मध्यपहाडी लोकमार्गअन्तर्गत जयरामघाट–हलेसी सडकबाट रक गार्डेन पैदल २०–२५ मिनेटमा र सवारीसाधनमा करिब १० मिनेटमा पुगिन्छ । चट्टानै–चट्टानको प्राकृतिक संरचनामध्ये ५६ रोपनी जग्गालाई समेटेर रक गार्डेन बनाइने विस्तृत परियोजना प्रतिवेदनमा उल्लेख छ ।
रक गार्डेन सम्पन्न गर्न रु पाँच करोडभन्दा बढी लाग्ने गरी डिपिआर तयार भएको नगरउपप्रमुख रमेश राउतले जानकारी दिनुभयो । “रक गार्डेन निर्माणमा अहिलेसम्म करिब रु तीन करोड खर्च भइसकेको छ । निर्माणाधीन अवस्थामै पर्यटकको रोजाइमा परेकाले निर्माणको कामलाई तीव्रता दिएका छौँ”, उहाँले भन्नुभयो, “अहिले रक गार्डेन आवतजावत गर्ने सडक ढलान भइरहेको छ । सडक ढलानको काम सम्पन्न भएपछि सहजरुपमा आवतजावत गर्न हुन्छ ।”
तीन तहका सरकारको संयुक्त लगानीमा रक गार्डेन निर्माण गर्नेगरी स्तरोन्नति थालिए हो । नगरपालिकाभित्र पर्ने सबै पर्यटकीयस्थलको स्तरोन्नति गर्दै पर्यटन प्रवद्र्धन गर्ने योजना बनाइएको नगरप्रमुख विमला राईले बताउनुभयो । उहाँले भन्नुभयो, “हाम्रो नगरपालिकाभित्र विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी, किरात समुदायको उद्गमस्थल तुवाचुङ–जायजुमलगायत दर्जन बढी धार्मिक तथा पर्यटकीयस्थल छन् । ती सबै धार्मिक तथा पर्यटकीयस्थलको स्तरोन्नति एवं प्रवर्द्धन गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “नगरपालिका धार्मिक तथा पर्यटकीयस्थललाई समेटेर क्युआर कोड विकास गरिरहेका छौँ । यसभित्र धार्मिक तथा पर्यटकीयस्थलको परिचय, महत्व, विशेषता, दूरीलगायत विषय समेटिनेछन् । यसले बाहिरबाट आउने पर्यटकका लागि यहाँका धार्मिक तथा पर्यटकीयस्थलका बारेमा बुझ्न र घुम्नका लागि सहयोग पुग्ने अपेक्षा गरेका छौँ ।” नगरपालिकाले सुरु गरेको पर्यटन प्रवर्द्धनका कामप्रति प्रदेश तथा सङ्घीय सरकारले लगानी गरेपछि जिल्लाका पर्यटन व्यवसायी उत्साहित छन् ।
देशभर मनसुनी वायुको प्रभाव कायमै
काठमाडौँ, ४ भदौः हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित रहेको जल तथा मौसम विज्ञान विभाग,मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रही मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।
विभागले भारी वर्षाको पनि सम्भावना रहेका स्थानमा हुनसक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न तथा यसबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनु हुन अनुरोध गरेको छ ।
साफ च्याम्पियनसिपमा भारत विजयी
काठमाडौँ, ३ भदौ : साबिक विजेता भारतले साफ यु–२० च्याम्पियनसिपमा भुटानलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज भएको खेलमा भारतले भुटानमाथि १–० को जित हासिल गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको हो । भारतका लागि मोनिरूल मोल्लले गोल गरे । उनले खेलको ३७औँ मिनेटमा गरेको एक गोल नै भारतको लागि निर्णायक गोल सावित भयो ।
उक्त प्रतियोगिताअन्तर्गत भोलि बङ्गलादेशले श्रीलङ्कासँग खेल्नेछ ।
भोजपुरको आमचोकमा दाक्बुराङ वनस्पति उद्यान निर्माण
भोजपुर, ३ भदौः पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न जातका बोटविरुवाको खोज तथा अनुुसन्धान गर्ने लक्ष्यले भोजपुरको आमचोक गाउँपालिकामा वनस्पति उद्यान निर्माण गरिएको छ । आमचोक–२ यूँमा पर्ने यो स्थानलाई पर्यटकीय क्षेत्रका रूपमा स्थापति गराउन दाक्बुराङ वनस्पति उद्यान निर्माण थालिएको हो ।
समुद्री सतहबाट दुई हजार तीन सय मिटर उचाइमा रहेको यो स्थानमा आर्थिक वर्ष २०७७/८७ बाट उद्यान निर्माण थालिएको हो । यहाँ वनस्पति विभागको अवधारणाअनुसार उद्यानको निर्माण सुरु गरेको थियो । त्यसयता कोशी प्रदेश सरकारको बजेटमा डिभिजन वन कार्यालयले यहाँ उद्यान निर्माण गरिरहेको छ । उद्यान निर्माणमा तीन आवमा गरी प्रदेश सरकारबाट विनियोजन गरिएको रु ७८ लाख बजेट खर्च भइसकेको वन कार्यालयले जनाएको छ ।
उद्यानमा खोजी तथा अनुसन्धानका लागि मध्यपहाडी क्षेत्रमा पाइने विभिन्न प्रजातिका वनस्पति सङ्कलन गरेर रोपन गरिने कार्यालयले जनाएको छ । उद्यानमा पहाडी क्षेत्रको उच्च भागमा पाइने विभिन्न जातका जडीबुटी, रैथाने प्रजाति वनस्पति, विभिन्न जातका लालीगुँरास, सौन्दर्यजन्य बोटविरुवालाई सङ्कलन गरिने डिभिजन वन कार्यालयका सहायक वन अधिकृत खुद्रुस मियाँले जानकारी दिनुभयो ।
दुई सय रोपनी क्षेत्रफल यो स्थानको १० रोपनी क्षेत्रभित्र आवश्यक संरचना निर्माण गरिएको छ । यहाँ प्रशासनिक भवन, अनुसन्धान केन्द्र भवन, प्रदेशद्वार, तीनवटा विश्रामस्थल, शौचालय निर्माण, उद्यानभित्र टायल बिच्छ्याउनेसँगै उद्यान क्षेत्रको घेराबारा गर्ने काम सम्पन्न भएको डिभिजन वनका अधिकृत कपिलदेव अधिकारीले जानकारी दिनुभयो । त्यस्तै यहाँ विभिन्न जातका बोटविरुवाको नर्सरी निर्माण गरिएको उहाँको भनाइ छ । यो आवमा उद्यानको थप विकासका लागि प्रदेश सरकारबाट रु २० लाख विनियोजन भएको उहाँले जानकारी दिनुभयो ।
“उद्यानको भौतिक निर्माणको काम करिव अन्तिम चरण पुगेको अवस्था छ”, उहाँले भन्नुभयो, “उद्यानमा पर्यटन तथा अनुसन्धानमा सहयोग पुग्ने खालका आवश्यक संरचना निर्माण गरिएको छ । खोजीकर्ताले यहाँ आएर एकसाथ धेरै खालका वनस्पतिको खोज तथा अनुसन्धान गर्न सक्नेछन् ।”
उद्यान निर्माणले यहाँको पर्यटकीय क्षेत्रको संरक्षणसँगै स्थानीयवासीको आयआर्जन वृद्धिमा सहयोग पुग्ने डिभिजन वन कार्यालयका प्रमुख वीरेन्द्र शाहले बताउनुभयो । यसको थप विकास तथा संरक्षणमा भने स्थानीय नागरिकसँगै स्थानीय सरकारले भूमिका खेल्नुपर्ने उहाँको भनाइ छ । उद्यान निर्माणले आन्तरिक तथा बाह्य पर्यटनको विकासमा टेवा पुग्ने उहाँको धारणा छ ।
“बहुउद्धेश्यसहित यहाँ वनस्पति उद्यान निर्माण गरिएको छ”, प्रमुख शाहले भन्नुभयो, “उद्यान निर्माणले यहाँका नागरिकको जीवनस्तर सुधारमा केही टेवा पुग्छ भन्ने हामीले अपेक्षा लिएका छौँ । उद्यानले पहाडी क्षेत्रमा पाइने वनस्पतिको खोजी तथा अनुसन्धानमा पनि सहयोग पुग्नेछ ।”
यो स्थानलाई पर्यटकीय गन्तव्यसँगै एक अनुसन्धान केन्द्रका रूपमा विकास गर्ने लक्ष्यले काम भइरहेको गाउँपालिका अध्यक्ष अशोक राईले बताउनुभयो । यो ठाउँमा वनस्पति उद्यान निर्माणले गाउँपालिकाको पर्यटन क्षेत्रको विकासमा टेवा पुग्ने उहाँको भनाइ छ ।
“यहाँको पर्यटकीय क्षेत्रको विकाससँगै विभिन्न वनस्पतिको खोज तथा अनुसन्धान गर्ने उद्देश्यले उद्यान निर्माण भइरहेको छ”, अध्यक्ष राईले भन्नुभयो, “यो स्थान पर्यटनको निकै राम्रो सम्भावना बोकेको क्षेत्र हो । उद्यान निर्माणले यसको थप उजागर हुन्छ । संरक्षण तथा थप विकासका लागि गाउँपालिकाको तर्फबाट आवश्यक भूमिका खेलिरहेका छौँ ।”































