अमेरिकामा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’
काठमाडौँ, ८ असार I अमेरिकाको मेरिल्याण्डमा ‘नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव’ को सातौँ संस्करण सुरू भएको छ ।
नवीन सुब्बाले निर्देशन गर्नुभएको चलचित्र ‘गाउँ आएको बाटो’ को अमेरिका प्रदर्शनी (युएसए प्रिमियर) सँगै सुरू भएको उक्त महोत्सवमा नेपाल, अमेरिका, इरान, जर्मनी, पाकिस्तानलगायत ११ देशका चलचित्र, वृत्तचित्र, छोटा र सजीवता (एनिमेसन) विधाका गरी ३५ चलचित्र प्रदर्शन गरिने महोत्सव निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिनुभयो ।
“नेपाल र अमेरिकाको कला, संस्कृति, परम्परा, ज्ञानलाई चलचित्रमार्फत जोड्ने उद्देश्यले महोत्सव आयोजना गरेका हौँ । यसपटकको संस्करणमा हामीले छनोट गरेका चलचित्रले नेपालको आम जनजीवन र प्रवास नियतिलाई प्रष्ट्याउने छ”, उहाँले भन्नुभयो ।
यही असार ९ गतेसम्म चल्ने उक्त महोत्सवमा प्रदर्शन गरिएकामध्येबाट उत्कृष्ट चलचित्रलाई विभिन्न अवार्ड प्रदान गरिने छ । महोत्सवको उद्घाटन समारोहमा निर्देशक सुब्बासँगै सहभागी हुनुभएका अभिनेता दयाहाङ राईले यस्ता गतिविधिले नेपाली चलचित्रको प्रवद्र्धनमा मद्दत पुग्ने बताउनुभयो ।
उहाँले भन्नुभयो, “अमेरिकामा बस्ने नेपालीको सक्रियतामा आयोजना हुने महोत्सवले नेपाली चलचित्रका दर्शक बढाउने छन् । यसले नेपाली मात्र नभई विदेशी दर्शकलाई पनि आकर्षित गरेको छ । साथै, यस्ता महोत्सवमा देखाउन योग्य चलचित्र गाउँ आएको बाटो लिएर आउन पाउँदा झनै हर्षित छु ।” महोत्सवलाई नेपाल अमेरिका फिल्म सोसाइटीले आयोजना गरेको हो ।
त्रिविको जग्गा खोजबिन समितिद्वारा कार्यारम्भ
काठमाडौँ, ७ असार I त्रिभुवन विश्वविद्यालय (त्रिवि) को जग्गा तथा सम्पत्ति खोजबिन समितिले कार्यारम्भ गरेको छ । समितिले सिंहदरबारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा सचिवालय सञ्चालनमा ल्याई कार्यारम्भ गरेको समितिका सदस्य जानकीबल्लभ अधिकारीले जानकारी दिनुभयो ।
समितिले त्रिविका जग्गा, भवन, चलअचल सम्पत्तिको हिनामिना र अतिक्रमण भएको कुनै विषयमा जानकारी भएमा समितिलाई विभिन्न माध्यमबाट सूचित गर्न सार्वजनिक आग्रह गरेको छ । समितिले पहिलो चरणमा काठमाडौँ उपत्यकाका त्रिविका जग्गा र सम्पत्तिको खोजबिन गर्नेछ ।
मन्त्रिपरिषद्को गत जेठ १७ गतेको बैठकले पूर्वसचिव शारदाप्रसाद त्रितालका संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेको थियो । समितिका सदस्यमा अधिकारीका साथै महेन्द्रकुमार थापा, प्रा डा प्रेमसागर चापागाईं तथा सदस्यसचिवमा सुशीला अधिकारी रहनुभएको छ । समितिलाई तीन महिनाको अवधि दिइएको छ ।
कोदो उत्पादन बढाउन उपाध्यक्षसँग कृषि कार्यक्रम
तनहुँ, ७ असार I जिल्लाको म्याग्दे गाउँपालिकामा कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम सञ्चालन गरिने भएको छ । गाउँसभाको बिहीबार सम्पन्न १६औँ अधिवेशन तथा आठौँ नीति तथा कार्यक्रमबाट गाउँपालिकामा कोदो उत्पादन कार्यलाई प्राथामिकता दिइएको हो । कोदोको मःम, सेलरोटी, मदिरा, फापरको रोटी, सिस्नोको सुप, बेलको जुसलगायत स्थानीय स्रोतबाट उत्पादन गरी बजारीकरण सहज बनाइने गाउँपालिका उपाध्यक्ष बालकृष्ण घिमिरेले जानकारी दिनुभयो ।
खाद्य स्वच्छता कायम गर्न ‘बसे पनि सहर गाउँकै खाने रहर’ नारालाई व्यावहारिक कार्यन्वयनका लागि कोदोलगायतका स्थानीय उत्पादनलाई बढावा दिन लागिएको हो । गाउँपालिकाको आर्थिक वर्ष २०८१-८२ को नीति तथा कार्यक्रमले पशु सेवा तथा प्रसार कार्यक्रमअन्तर्गत अध्यक्षसँग पशु कार्यक्रम सञ्चालन गरिने छ ।
घरेलु तथा साना उद्योगतर्फका विभिन्न कार्यक्रम समावेश गरिएको छ । उहाँले भन्नुभयो, “स्थानीय सीप स्रोत, साधन एवं प्रविधिको प्रयोगलाई बढवा दिई व्यावसायिक उत्पादन गर्न अग्रसर गराउने योजना रहेको छ ।”
स्थानीय वन पैदावर, प्राकृतिक स्रोतसाधन, जडीबुटीमा आधारित उद्योग स्थापना गरी सञ्चालनमा ल्याइने नीति तथा कार्यक्रम गाउँपालिकाले लिएको छ । पर्यटन, सहकारी विकास, बैंक तथा वित्तीय क्षेत्रका विषय समेटिएका छन् । स्वास्थ्य क्षेत्रतर्फ ‘म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी’ नारालाई स्वास्थ्यको मूल आधार बनाइएको छ । अपाङ्गता, ज्येष्ठ नागरिक र अन्यतर्फका कार्यक्रमलाई उपाध्यक्षसँगको कार्यक्रममा जोडेर अघि बढाइने जनाइएको छ ।
इलामका ग्रामीण किसानलाई उन्नत जातका बाख्रा वितरण
फिक्कल (इलाम), ७ असार I जिल्लाको माङसेबुङ गाउँपालिकाले ग्रामीण किसानको जीवनस्तर उकास्न बाख्रा वितरण गरेको छ । माङसेबुङ गाउँपालिकाले बिहीबार वडा नं ४ का तीनवटा बाख्रापालन समूहलाई ७८ वटा उन्नत जातका पाठी र छवटा जातका ‘ब्याडे बोका’ वितरण गरेको हो ।
कोशी प्रदेश सरकारको बाख्रापालन प्रवर्द्धन कार्यक्रमअन्तर्गत ७५ प्रतिशत सरकारको अनुदान र २५ प्रतिशत किसानको लागत साझेदारीमा बाख्रा वितरण गरिएको माङसेबुङ गाउँपालिका ४ नं वडाध्यक्ष नवीन लिम्बूले बताउनुभयो ।
उक्त कार्यक्रमअन्तर्गत सो वडाका सगरमाथा बाख्रापालन समूह, सरस्वती बाख्रापालन समूह र मिलीजुली बाख्रापालन समूहले प्रतिसमूह २६ वटाका दरले ७८ वटा उन्नत जातका पाठी र प्रतिसमूह दुईवटाका दरले छ वटा ब्याडेबोका पाएका छन् । प्रत्येक समूहमा १३ जना किसान आबद्ध छन् ।
बाख्रापानल प्रवर्द्धन कार्यक्रमअन्तर्गत समूहमा आबद्ध किसानले खोर निर्माण, घाँसखेती व्यवस्थापनलगायत पशुपालनका निम्ति आवश्यक काम गरेका छन् । किसानलाई पशुपालनमा प्रोत्साहन गर्ने उद्देश्यले सञ्चालित कार्यक्रममा रु ३० लाख प्रदेश सरकारबाट प्राप्त भएको थियो भने रु १० लाख तीनवटा बाख्रापालन समूहको लागत साझेदारी रहेको थियो ।
“ग्रामीण क्षेत्रका किसानलाई बाख्रापालनमा प्रोत्साहन गर्न र मासुजन्य पदार्थमा आत्मनिर्भर बनाउने योजनाअनुरुप सञ्चालित कार्यक्रमले किसानमा उत्साह थपेको छ”, वडा अध्यक्ष लिम्बूले भन्नुभयो, “यस्ता कार्यक्रम शून्य लागत सहभागितामा बढाउन सके किसानको आयमा वृद्धि हुने थियो ।”
चेस प्रतियोगिता यसै सातादेखि
काठमाडौँ, ६ असार I हिमालयन चेस एकेडेमीको आयोजनामा ‘गोल्डेनगेट एसइई कप चेस २०२४’ यसै सातादेखि हुने भएको छ । प्रतियोगितामा एसइई दिएका करिब एक सय विद्यार्थीले प्रतिस्पर्धा गर्ने जनाइएको छ ।
यही असार ८ देखि ११ गतेसम्म हुने उक्त प्रतियोगिता गोल्डेनगेट इन्टरनेसनल कलेजको भवनमा आयोजना हुने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा हिमालयन चेस एकेडेका अध्यक्ष मोनालिसा खम्बूले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिता खुला र छात्रा गरी दुई विधामा सञ्चालन गरिनेछ ।
गत फागुनदेखि सञ्चालनमा आएको उक्त हिमालयन चेस एकेडेमीले अहिले पाँच वर्षदेखि १३ वर्षसम्मका ५० जनाभन्दा बढी बालबालिकालाई चेसको प्रशिक्षण दिइरहेको छ । एकेडेमीका अध्यक्ष खम्बूले भन्नुभयो, “एकेडेमीले आयोजना गरेको यो पहिलो प्रतियोगिता हो, प्रतियोगिताको प्रथम हुनेले रु १० हजार, दोस्रो हुनेले रु पाँच हजार र तेस्रो हुनेले रु तीन हजार पाउनेछन् ।”
लालुपाते सहकारी घोटला प्रकरणः बचतकर्ताको रकम फिर्ता गर्दै सञ्चालक समिति
केदार मगर
खोटाङ, ६ असार I लालुपाते बहुउद्देश्यीय सहकारी संस्था सञ्चालक समितिले बचतकर्ताको रकम धमाधम फिर्ता दिन थालेको छ । बचतकर्ताको बचत रकम ठगी प्रकरणमा मुद्दा चलिरहेको अवस्थामा सञ्चालक समितिले ऋणीबाट उठाएर बचतकर्तामध्ये उजुरी दिने दुई सय ६५ बचतकर्तालाई बचत रकम फिर्ता दिन थालेको हो ।
अदालतमा विचाराधीन मुद्दा मिलापत्र गर्ने उद्देश्यले ऋणीले चलाएको रकम उठाएर बचतकर्तालाई फिर्ता दिन थालिएको सहकारीका सहजकर्ता गोपाल सैँजूले बताउनुभयो । “अदालतमा विचाराधीन मुद्दाको फैसला हुन केही समय लाग्छ, फैसला पर्खँदा बचतकर्ता पीडितमाथि झनै पीडित हुने अवस्था देखियो”, उहाँले भन्नुभयो, “‘सर्प पनि नमर्ने, लौरो पनि नभाँचिने’ भन्ने कथनअनुसार मध्यमार्गी भूमिका निर्वाह गरेका छौँ, यसले सबैको भलाइ हुन्छ ।”
बचतकर्ता पदमकुमारी सैँजूसमेत दुई सय ६५ जनाले दिएको जाहेरीमा सरकारी वकिलले मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ३२ बमोजिम रु चार करोड ४० लाख ६१ हजार १८ बिगो मागदाबीसहित अदालतमा अभियोगपत्र दर्ता गराएको थियो । सञ्चालक समितिले उनीहरु सबैजनालाई दिक्तेलमा बोलाएर भर्पाइ गराउँदै बचत रकम फिर्ता दिने काम गरिरहेको छ ।
डुबेको रकम फिर्ता पाएकामा आफूहरू खुसी रहेको बचतकर्ताहरूले बताएका छन् । “घरजग्गा बिक्री गरेर अन्यत्र लगानी गर्न रु ५२ लाख ४४ हजार छ सय ८७ रकम सहकारीमा बचत गरेको थिएँ, सञ्चालक समितिको लापरबाहीले सहकारीमा जम्मा गरेको बचत रकम डुब्ने अवस्थामा पुगेको थियो, ढिलै भए पनि फिर्ता पाएका छौँ”, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका बचतकर्ता लेखनाथ आचार्यले भन्नुभयो, “सञ्चालक समितिको यो भूमिकाप्रति हामी आभारी छौँ, हामीले पसिना बगाएर जम्मा गरेको रकम ढिलै भए पनि फिर्ता पाएका छौँ ।”
सहकारीका तत्कालीन अध्यक्ष अनिल जोशीको कोभिड–१९ को सङ्क्रमणका कारण विसं २०७८ वैशाख १५ गते पोखरामा निधन भएको थियो । जोशीको निधनपछि निक्षेपकर्ता निक्षेप रकम फिर्ता माग्न जाँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोबार एवं हिसाब हेर्ने क्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि बचत अपचलन भएको विषय बाहिरिएको थियो ।
तत्कालीन अध्यक्ष जोशीको निधनपछि विसं २०७८ वैशाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट ऋणीलाई रु २५ हजारदेखि रु ९९ लाखसम्म ऋण दिइएको देखिएको जिल्ला सरकारी वकिलको कार्यालयले जनाएको छ ।
सहकारीका ऋणीमध्ये २४ जनालाई सहकारीको नियम मिचेर ऋण प्रवाह गरेको पाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बेनु कार्कीले जानकारी दिनुभएको छ । “सहकारीको नियम मिचेर मनोमानी गरेकै कारण सहकारी सङ्कटमा फसेको अनुसन्धानमा देखियो, सहकारीको निक्षेप रु चार करोड ४७ लाख ५७ हजार दुई सय २१, शेयर पुँजी रु ५१ लाख १४ हजार सात सय ८१, जगेडा कोषमा रु १९ लाख ५८ हजार चार सय ९२ र संस्थागत कोषमा रु २४ लाख ८६ हजार पाँच सय ६४ देखिन्छ”, उहाँले भन्नुभयो, “सञ्चालक समितिले रु चार करोड ९० लाख ९७ हजार तीन सय ९३ तिर्नुपर्ने देखिएको छ, संस्थाको वित्तीय अवस्था हेर्दा सहकारी ‘डुबेको’ छैन ।”
बचत रकम ठगी प्रकरणमा सहकारीका तत्कालीन अध्यक्ष जोशीका भाइ सौर्य एयरलायन्सका क्याप्टेन सुनिल जोशीसहित चारजना पुर्पक्षका लागि कारागार चलान भएका छन् । तत्कालीन अध्यक्ष जोशीका सहोदर भाइ क्याप्टेन सुनिल, सुनिलकी श्रीमती रविना जोशी (श्रेष्ठ), प्रबन्धक रुकु जोशी र ऋणी जसुदा पौडेल जिल्ला अदालतका तत्कालीन न्यायाधीश सुभाषबाबु गिरीको आदेशमा विसं २०८० मङ्सिर २१ गते कारागार चलान भएका हुन् ।
सुनिल र सुनिलकी श्रीमती रविना विसं २०८० असोज १३ गते काठमाडौँस्थित उनीहरूको घरैबाट पक्राउ परेका थिए । उनीहरूमध्ये सुनिलले सहकारीको रकममा खरिद गरिएको जग्गा आफ्नो नाममा पास गरेको तथा रविनाले रु दुई करोड ३५ लाख बचतकर्ताको रकम अपचलन गरेको अदालतको ठहर छ ।
तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा सहकारीबाट लाखौँ ऋण लगेको तर, फिर्ता नगरेको भन्दै परेको किटानी जाहेरीका आधारमा पोखराकी जसुदालाई प्रहरीले विसं २०८० कात्तिक १५ गते चितवनबाट पक्राउ गरेको थियो । उनीसहित तत्कालीन अध्यक्ष जोशीका परिवारविरुद्ध सहकारी सञ्चालक समितिले विसं २०८० फागुन २ गते प्रहरीमा उजुरी दिएको थियो ।
तत्कालीन प्रबन्धक जोशीले तत्कालीन अध्यक्ष जोशीसँगको मिलेमतोमा बचतकर्ताको करौडौँ रकम अपलचन गरेको अदालतले दिएको थुनछेक आदेशमा उल्लेख छ । प्रबन्धक जोशीलाई सञ्चालक समितिको जाहेरीका आधारमा विसं २०८० असोज १७ गते काठमाडौँबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
सहकारीका लेखा समिति संयोजक प्रितम श्रेष्ठ र कोषाध्यक्ष रमा शाक्य रु १०–१० लाख तथा उपाध्यक्ष अर्जुन चौलागाईँ र सचिव मनोज राई रु पाँच–पाँच लाख धरौटीमा रिहा भएका छन् । लेखापाल सुमना राई अदालतबाट रु १० लाख धरौटी तोकिए पनि बुझाउन नसक्दा कारागार चलान भएर चार महिनापछि अदालतले तोकेको धरौटी रकम बुझाएर छुटेका थिए ।
बचतकर्ताको लगानी डुबाएको भन्दै जाहेरी परेपछि सहकारीका सञ्चालक समितिका उपाध्यक्ष चौलागाईँ, सचिव राई, कोषाध्यक्ष शाक्य, लेखा समिति संयोजक श्रेष्ठ र लेखापाल राईलाई प्रहरीले विसं २०८० कात्तिक १२ गते पक्राउ गरेको थियो । सञ्चालक समितिका पदाधिकारी पक्राउ गर्नुभन्दा महिना दिनअघि ऋणीहरूलाई प्रहरीले पक्राउ गरे पनि अनुसन्धानमा असर गर्ने भन्दै उनीहरूको नाम सार्वजनिक गरेको थिएन ।
प्रहरीले पक्राउ परेका नौ जनालाई सङ्गठित अपराधमा मुद्दा चलाउने भन्दै ६० दिनसम्म हिरासतमा राखेर सरकारी वकिलको कार्यालयमा राय प्रतिवेदन बुझाएको थियो । प्रहरीले सङ्गठित अपराधअन्तर्गतको राय प्रतिवेदन बुझाए पनि सरकारी वकिलले ठगी मुद्दाको अभियोगपत्र तयार गरेर अदालतमा बुझाएको हो ।
सहकारीको नाममा हलेसीमा रु ४८ लाखमा खरिद गरिएको छ रोपनी तीन आना एक पैसा एक दाम (दुई कित्ता) जग्गा तत्कालीन अध्यक्ष जोशीका भाइ क्याप्टेन सुनिलको नाममा पास गरेको पाइएको छ । सहकारीको नाममा जग्गा किन्ने निर्णय गरेर तत्कालीन अध्यक्ष जोशीको मिलेमतोमा व्यक्तिको नाममा पास गरेको पाइएको प्रहरीले जनाएको छ ।
तत्कालीन व्यवस्थापक जोशीको नाममा राखिएको बाम्राङको १६ रोपनी (तीन कित्ता) जग्गा सहकारीको नाममा ल्याइसकिएको पाइएको छ । लालुपाते सहकारी सङ्कटमा फसेको विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीले ऋण तिर्नका लागि सूचना जारी गर्दा तोकिएको समयभित्र पाँच ऋणीले रु १५ लाख १६ हजार फिर्ता गरेका छन् ।
प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्य गरिने
मोरङ, ६ असार I कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी एक वर्षभित्र प्रदेशमा सडक दुर्घटना आधा घटाउने गरी कार्ययोजना तयार गरिने बताउनुभएको छ ।आन्तरिक मामिला तथा कानुन मन्त्रालय र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालय सुनसरीद्वारा संयुक्त रुपमा आज यहाँ आयोजित ‘ट्राफिक सप्ताह’ कार्यक्रममा मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरी, नागरिक समाज, विद्यार्थी र सञ्चारकर्मीको सहकार्यमा सडक दुर्घटना ५० प्रतिशत घटाउने गरी कार्ययोजना तयार गरेर कार्यान्वयन गरिने बताउनुभयो । उहाँले मानवीय क्षति न्यून गर्न समाजका सबै वर्गको सहयोग र योगदान आवश्यक पर्ने उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री कार्कीले दुर्घटना न्यूनीकरण गर्न ट्राफिक प्रहरीलाई साधन स्रोतले सम्पन्न गराउने र जनशक्ति वृद्धि गर्ने जानकारी दिँदै चालक, सहचालक र नागरिक समाज, विद्यालय, शिक्षकलगायत सबैका लागि सचेतना कार्यक्रम गरी सहभागी गराउनुपर्ने आवश्यकता औँल्याउनु भयो ।
उहाँले मोरङ, सुनसरी र झापामा अध्यधिक सडक दुर्घटना हुने १०–१५ किलोमिटर क्षेत्रलाई नमुना ट्राफिक केन्द्रका रुपमा निर्धारण गरी दुर्घटना न्यूनीकरणसम्बन्धी सचेतना, ट्राफिक नियम पालना गर्दाका राम्रा पक्षलगायत विषयमा जानकारीमूलक अभियान सञ्चालन गरेमा अन्यले अनुशरण गर्ने विश्वास व्यक्त गर्नुभयो ।
आन्तरिक मामिला तथा कानुनमन्त्री लीलावल्लभ अधिकारीले सडक अनुशासन र नियम पालना गरी दुर्घटना न्यूनीकरण गर्नुपर्ने आवश्कता औल्याउँदै ट्राफिकलाई आधुनिकरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रमुख चन्द्रकुबेर खापुङ, मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराई, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्था कार्यालयका प्रहरी उपरीक्षक सरोज पौडेल र नेपाल राष्ट्रिय यातायात व्यवसायी महासङ्घ कोशीका संयोजक सरोज श्रेष्ठले जनधनको सुरक्षाका लागि ट्राफिक नियम सबैले पालना गर्नुपर्ने सुझाव दिनुभएको थियो । कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेश ट्राफिक प्रहरीलाई राडार गर्न तथा ट्राफिक दुर्घटना न्यूनीकरणमा सहयोग पु¥याउने विभिन्न सङ्घ संस्था एवं व्यक्तिलाई सम्मान गर्नुभएको थियो ।
यसअघि ट्राफिक सप्ताह–२०८१ अन्तर्गत विराटनगरको रोडशेष चोकबाट निस्केको आन्तरिक मामिला तथा कानुनमन्त्री, विभिन्न निकायका अधिकारी, सुरक्षा निकायका प्रतिनिधि, विद्यार्थीसहितको प्रभातफेरीले नगरको मुख्यमुख्य भागको परिक्रमा गरेको थियो ।
विश्वकप क्रिकेटः इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले हरायो
काठमाडौँ, ६ असार I आइसिसी टि–ट्वान्टी विश्वकप क्रिकेट २०२४ अन्तर्गत सुपर आठको आफ्नो पहिलो खेलमा इङ्ल्याण्डले वेस्टइण्डिजलाई आठ विकेटले पराजित गरेको छ ।
वेस्टइण्डिजले दिएको एक सय ८१ रनको विजयी लक्ष्य पछ्याएको इङ्ल्याण्डले १७ दशमलव ३ ओभरमा दुई विकेट गुमाउँदै पूरा ग¥यो । इङ्ग्लयाण्डका लागि फिल साल्टले अविजित ८७ रनको योगदान दिए । उनले ४७ बलमा सात चौका र पाँच छक्काको मद्दतमा ८७ रनको योगदान गरेका हुन् ।
जोनी बेयरस्टो ४८ रन बनाउँदा कप्तान जोस बटलरले २५ र मोइन अली १३ रन बनाए । बलिङतर्फ वेस्टइन्डिजका आन्द्रे रसेल र रोस्टन चेसले समान एक/एक विकेट लिए ।
त्यसअघि सेन्ट लुसियामा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्टइण्डिजले निर्धारित २० ओभरमा चार विकेट गुमाउँदै एक सय ८० रनको योगफल बनाएको थियो ।
वेस्टइण्डिजका लागि जोनसन चार्लसले ३४ बलमा चार चौका र एक छक्का प्रहार गर्दै सर्वाधिक ३८ रनको योगदान दिए । उनले निकोलस पुरन र रोभम्यान पावेलले समान ३६/३६ रन बनाए । त्यस्तै शार्फेन रदरफोर्डले २८ रन बनाउँदा ब्रान्डोन किङले २३ रन जोडे ।
इङ्ल्याण्डका जोफ्रा आर्चर, आदिल रशिद, मोइन अली र लियाम लिभिगस्टनले समान एक/एक विकेट लिए । विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत आज राति नेपाली समयअनुसार ८ः१५ बजे अफगानिस्तान र भारत आमनेसामने हुनेछन् ।
‘लेसर ग्रे स्राइक’ जातको नयाँ चरो भक्तपुरमा देखियो
भक्तपुर, ६ असार I युरोप, दक्षिण तथा पश्चिम एसियाको रैथाने पन्छी ‘लेसर ग्रे स्राइक’ पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको छ ।
तापक्रम वृद्धिसँगै गर्मी भेगमा मात्रै हुने यो पन्छी असार लागेपछि भक्तपुरको मनोहरास्थित मिनि कोशी टप्पुमा भेटिएको चरा अन्वेषणकर्ता सञ्जय थाश्रेष्ठले जानकारी दिनुभयो । उहाँले काठमाडौँ उपत्यकामा पहिलोपटक भक्तपुरको मनोहरामा देखिएको बताउनुभयो ।
पन्छी पथ प्रदर्शक शङ्कर तिवारीले मनोहरामा ‘लेसर ग्रे स्राइक’ भेटेपछि तस्बिर कैद गर्दै काठमाडौँ उपत्यकासँगै नेपालको पहाडी भेगका लागि पहिलो अभिलेख गरिएको जानकारी दिनुभयो ।
नेपालमा पहिलोपटक गत वर्षको वैशाख अन्तिम साता राष्ट्रिय प्रकृति संरक्षण कोषका वन्यजन्तु प्राविधिक देवराज जोशीले शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको पूर्वी तटीय क्षेत्रमा यो चरा देख्नुभएको थियो । उक्त चरालाई राष्ट्रिय एवं अन्तर्राष्ट्रिय विज्ञहरूको टोलीले नेपालका लागि पहिलो भएको पुष्टि गरेको पन्छी अनुसन्धानकर्ता थाश्रेष्ठले जानकारी दिनुभयो ।
गौथलीझैँ देखिने, निधार र टाउकोमा कालो रङ तथा कालो पखेटाको मध्य भागमा सेतो रङ हुने र लामो दूरीसम्म उड्न सक्ने यो चरा भक्तपुरमा असार लागेपछि जोडीनै देखिएको उहाँले बताउनुभयो ।
युरोप र पश्चिम एसियाका पानी कम पर्ने स्थान मरुभूमि आसपासका भेग र भारतको राजस्थान, पाकिस्तान, अफगानिस्तानका सुक्खा भेगमा लेसर ग्रे पाइने उहाँले जानकारी दिनुभयो । यो सँगै मनोहरामा पन्छीका करिब तीन सय प्रजाति अभिलेख भएका छन् ।
एक महिनाअघि मनोहरामा ‘जल कुखुरा’ पनि देखिएको थियो । नेपालका अन्य भेगमा प्रायः नपाइने ‘ठूलो कस्दरी’ जलपन्छी २०७९ भदौमा, सोही वर्ष ७ भदौमा मनोहरामा सेतो पङ्खे फ्यालफ्याले र २०७८ असोज अन्तिम साता मनोहरा खोला किनारमा एक सय ९२ वर्षपछि पानी गौथली देखिएको अनुसन्धानकर्ता थाश्रेष्ठले राससलाई जानकारी दिनुभयो । -रासस
योगले स्वस्थ र अनुशासित बनाउँछ : प्रदेश प्रमुख खापुङ
मोरङ, ५ असार I कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङले समाजका सबै नागरिकले स्वस्थ एवं अनुशासित हुन योगाभ्यास दैनिक गर्नुपर्ने बताउनुभएको छ ।
इशा फाउण्डेशन आनन्दकुटी आश्रम कमल गाउँपालिका–२ झापाका योग गुरुहरुद्वारा आज प्रदेश प्रमुखको कार्यालय विराटनगरमा आयोजित एकदिने योगा शिविर कार्यक्रमको उद्घाटन गर्दै उहाँले दैनिक योग अभ्यासले रोग लाग्न नदिनुका साथै स्वस्थ शरीर निर्माण हुने बताउनुभयो ।
उहाँले यस प्रकारको योगाभ्यास शिविर मुलुकको दुर्गम र पहाडी क्षेत्रमासमेत गर्नुपर्ने जोड दिँदै यसले समाजमा भाइचारा र सामाजिक सद्भाव कायम गर्न मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो । प्रदेश प्रमुख खापुङ, प्रदेश प्रमुख कार्यालयका सचिव खगेन्द्र पराजुली, कार्यालयका कर्मचारी एवं सर्वसाधारण सहभागी योगाभ्यास कार्यक्रममा मुख्य प्रशिक्षक चन्दा घिमिरेलगायतले अभ्यास गराउनुभएको थियो ।