बुधबार, २७ साउन २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J0R603B9MYMEPQ3HAK74537A.jpg

ललितपुर महानगरको नीति तथा कार्यक्रम : आयोजना र श्रम बैङ्क

पाटन (ललितपुर), ५ असार I ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममा आयोजना बैङ्क र श्रम बैङ्कलाई समेटेको छ । महानगरप्रमुख चिरीबाबु महर्जनले प्रस्तुत गर्नुभएको आव २०८१/८२ को नीति तथा कार्यक्रममा महानगरपालिकाको ‘आयोजना बैङ्क’ को कार्य भइरहेकाले आगामी आवदेखि सो बैङ्कबाट आयोजना छनोट गरी वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा गर्ने परिपाटीको विकास गरिने उल्लेख गरिएको छ ।     
     
प्रस्तुत नीति तथा कार्यक्रममा आगामी वर्षदेखि आवधिक योजनाबमोजिम मध्यमकालीन खर्च संरचना तयार गरी सोहीअनुसार वार्षिक वजेट तथा कार्यक्रम तर्जुमा गर्ने व्यवस्था मिलाइने, बजेट तथा कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्न ‘कार्यक्रम कार्यान्वयन कार्ययोजना’ तथा ‘खरिद योजना’ अनिवार्य तवरले तर्जुमा गरिने, स्वीकृत योजनाको कार्यान्वयन तथा प्रगति सम्बन्धमा त्रैमासिक समीक्षा गर्ने व्यवस्था अनिवार्य तवरले गरिने नीति प्रस्ताव गरिएको छ ।     
     
 महानगरपालिकाभित्र विगत लामो समयदेखि अधुरा रहेका प्राविधिक, सामाजिक तथा आर्थिक हिसाबले सम्भाव्य नरहेका योजनाको लगत कट्टा गरिनेछ ।     
     
सोका लागि पेस्की-आयोजना फछ्र्यौट कार्यदल गठन गरिने र महानगर क्षेत्रभित्र विगत आव २०७४/७५ देखि २०७९/८० सम्म सम्झौता भई सञ्चालन भएका तर विविध कारणले सम्पन्न हुन नसकेका र प्रचलित कार्यविधिबमोजिम म्याद थप हुन नसक्ने आयोजनाको हकमा सम्बन्धित उपभोक्ता समितिबाट मूल्याङ्कन गरी फछ्र्याैटका लागि निवेदन पेस हुन आएमा उक्त आयोजना जेजस्तो अवस्थामा छ सोही अवस्थामा मूल्याङ्कन गरी फछ्र्याैट गरिने नीति महानगरले तय गरेको छ ।     
     
बढ्दो सवारी चापको व्यवस्थापन तथा पैदलयात्रीको सहजताका लागि ललितपुर चक्रपथ खण्ड र अन्य उपयुक्त स्थानमा आकाशे पुल निर्माणका लागि सम्बन्धित निकायसँग समन्वय र सहकार्य गर्ने र धुलोरहित सडक व्यवस्थापनका लागि नख्खु खोला तथा अन्य उपयुक्त स्थानमा टिपर पखाल्ने प्रविधि जडानको व्यवस्था मिलाइने विषयलाई नीति तथा कार्यक्रममा पनि समेटिएको छ ।     
     
महानगरको नीति तथा कार्यक्रममा टिपरलगायत मालवाहक सवारी साधनको आवागमन करिडोर (नख्खु, बागमती)बाट मात्र सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गरिनेछ । ठैव, हरिसिद्धि, धापाखेललगायत आवासीय क्षेत्रबाट टिपर चलाउन नपाउने गरी समन्वय गरिने विषयलाई पनि कार्यक्रममा समेटिएको छ ।     
     
महानगर क्षेत्रभित्र रहेका शिल्पकला, काष्ठकला, धातुकला, प्रस्थरकलासँग सम्बन्धित श्रमिकको लगत ‘श्रम बैङ्क’का रुपमा तयार गरी सम्पदा संरक्षणका आयोजनामा परिचालन गर्ने व्यवस्था मिलाइने र पुरातात्विक संरचना, देवालय, शिवालय, मठ, मन्दिर, विहारमा प्रयोग हुने काठ, ढुङ्गा, माटो एवं धातुबाट तयार गर्नुपर्ने विभिन्न कलात्मक वस्तुको प्रदर्शनी कक्ष स्थापना गरिने विषयलाई समेत नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।     

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0R04S6HVV1PTJTMQ2S19HH2.jpg

दलित विद्यार्थीलाई स्नातक तहमा छात्रवृत्ति

दमक(झापा), ५ असार I झापाको कमल गाउँपालिकाले पालिकाभित्रका स्नातक तहमा अध्ययनरत दलित समुदायका १७ विद्यार्थीलाई छात्रवृत्ति रकम प्रदान गरेको छ । 

गाउँपालिकाभित्र स्थायी बसोबास गरी विभिन्न शिक्षण संस्थामा उच्च शिक्षा हासिल गरिरहेका दलित समुदायका ती विद्यार्थीको उच्च शिक्षा अध्ययनमा निरन्तरताका लागि छात्रवृत्तिबापत रु तीन लाख वितरण गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षदेखि सो कार्यक्रम सञ्चालनमा ल्याइएको जनाइएको छ ।
 
गाउँपालिकाको शिक्षा शाखाको वार्षिक चालु आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अन्तर्गत उनीहरूले अध्ययन गरिरहेको विषय र शिक्षण संस्थाको शुल्कका आधारमा जनही रु १७ हजारदेखि अधिकतम रु ५० हजारसम्म छात्रवृत्ति रकम प्रदान गरिएको हो । गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले सो छात्रवृत्ति रकम सम्बन्धित विद्यार्थीलाई हस्तान्तरण गर्दै कमलवासी विद्यार्थीको शिक्षा प्राप्तिको चाहनामा आर्थिक अभावले कुनै बाधा नहोस् भन्ने उद्देश्य राखेर सो रकम प्रदान गरिएको बताउनुभयो । 

उहाँले शिक्षाको माध्यमबाट मात्रै समग्र कमलवासीको भविष्य उज्यालो हुने भएकाले राज्यको मूल प्रवाहमा आउन नसकेका, दलित, अल्पसङ्ख्यक तथा सीमान्तकृत समुदायका नागरिकलाई सहयोग पुग्ने किसिमका कार्यक्रम ल्याइएको बताउनुभयो । 

आगामी आर्थिक वर्षमा पनि यस कार्यक्रमलाई प्राथमिकताका साथ निरन्रता दिइने उहाँको भनाइ छ । छात्रवृत्तिबापतको रकमले आफूलाई थप उच्च शिक्षा अध्ययन गर्न हौसलासमेत मिलेको र उच्च शिक्षा अध्ययन गर्न सहयोग पुग्ने कमल–१ घर भई हाल जनता बहुमुखी क्याम्पस इटहरीमा अध्ययनरत छात्रा कविता दमाइले बताउनुभयो ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0QDXY1HK6G4FJCSRNWBEJD9.jpg

किसान सूचीकरण कार्यक्रममा अठार लाख किसान सूचीकृत

काठमाडौँ, ५ असार I किसान सूचीकरण कार्यक्रममा १८ लाख किसान सूचीकृत भएका छन् । अनुदानलगायत  सहायता उपलब्ध गराउन सरकारले यो कार्यक्रम ल्याएको हो । कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सूचना अधिकारी महानन्द जोशीका अनुसार किसानबाट उत्पादित उपज, खेती गरेको जमिनको क्षेत्रफललगायत विवरणसहितको एकीकृत तथ्याङ्क सङ्कलन भइरहेको छ । राज्यबाट देशभरका किसानलाई विद्युतीय प्रणालीमार्फत सुविधा दिने तयारी भएको छ । यो विद्युतीय सूचना प्रणालीमा किसान जोडिएपछि रासायनिक मल, बीउ, अनुदान, सेवा व्यवस्थापनलगायत सुविधा उपलब्ध गराउन सहज हुने छ ।

कृषि सूचना तथा प्रशिक्षण केन्द्रले समन्वय गरेको उक्त कार्यक्रममा देशभर स्थानीय तहमार्फत किसानका सूचना सङ्कलन गरिएको हो । विसं २०७७ फागुनमा मन्त्रिस्तरीय बैठकबाट सुरु भएको यस कार्यक्रममा आगामी वर्ष १२ लाख सूचीकृत गर्ने योजना रहेको मन्त्रालयका सूचना अधिकारी जोशीले जानकारी दिनुभयो । 

यसैबीच, उक्त मन्त्रालयले कृषि पशुपक्षी विकाससम्बन्धी सार्वजनिक सेवा प्राप्तिको मुख्य आधार तथा किसान पहिचानको प्रमाणका रूपमा किसान परिचयपत्रलाई मान्यता दिने जनाएको छ । किसानलाई प्राविधिक सेवा प्रवाह गर्न निकट भविष्यमा ‘मोबाइल एप्लिकेसन’को विकास गरिने जनाइएको छ ।

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0Q5AWEHY66A25AQ2CRT54QK.jpg

भकिम्लीको आलुलाई ‘ब्राण्डिङ’ गरेर बजार पठाइँदै

गलेश्वर (म्याग्दी), ५ असार I म्याग्दीको बेनी नगरपालिका–३ भकिम्लीस्थित बेलढुङ्गा कृषि फार्मले उत्पादन गरेको उन्नत जातका आलुलाई ‘बेलढुङ्गा’ ब्राण्डिङ गरेर बजार पठाइने भएको छ ।   
  
उक्त फार्मले सय रोपनी जग्गामा फलाएको आलु बेलढुङ्गा ब्राण्डमा बजार पठाउने तयारी गरेको फार्मका अध्यक्ष केयरसिङ पुनले बताउनुभयो । ‘बेलढुङ्गा’ म्याग्दीको भकिम्ली र बागलुङको धम्जाको सिमानामा पर्ने प्रसिद्ध पर्यटकीयस्थल हो । पचहत्तर रोपनीमा बर्खे र २५ रोपनीमा उन्नत जातको जनकदेव र रोजिटा जातका आलुखेती गरिएकामा जनकदेव र रोजिटाको उत्पादन प्रशस्त भएको पुनले जानकारी दिनुभयो । स्वदेश तथा विदेशमा रहेका १९ जनाको लगानी रहेको फार्ममा खेतबारीदेखि उपभोक्ताको भान्सासम्म भकिम्लीको आलुको ब्राण्ड स्थापित गर्नेगरी संस्थाको नाम, ठेगाना र परिमाण उल्लेख गरी बजारमा लैजाने तयारी गरेको उहाँले बताउनुभयो ।   
  
फार्ममा आबद्ध आलु उत्पादक समूहले आफ्नोबाहेक स्थानीय किसानद्वारा उत्पादित आलु बजारीकरणमा सघाउने जनाएको छ । समूहले जनकदेव र रोजिटा जातका आलुको आकारअनुसार मूल्य तोकेको छ । सानालाई प्रतिकेजी रु ३५, मध्यमको रु ४० र ठूलो आलु प्रतिकेजी रु ५० मा खुद्रा बिक्री गर्ने समूहले जनाएको छ ।   
  
समुद्र सतहबाट एक हजार छ सयदेखि तीन हजार पाँच सय मिटरको उचाइसम्म रोजिटा आलु प्रतिहेक्टर १० देखि १४ मेट्रिक टन फल्ने भएकाले आलुको बीउ कृषि ज्ञान केन्द्रले सिफारिस गरेको कृषि प्राविधिक सहायक श्यामशरण कर्मीले बताउनुभयो । उन्नत जातका आलुमा रोग, कीराको प्रकोप नहुने र उत्पादन राम्रो हुने भएकाले किसान त्यसप्रति आकर्षित भएका उहाँले बताउनुभयो ।   
  
जिल्लाको मुसुङ, भुकभुके, भकिम्ली क्षेत्र आलु उत्पादनका लागि उपयुक्त भएकाले केन्द्रले समुदायस्तरमा प्रविधियुक्त कृषि उत्पादन प्रवर्द्धन आयोजनाअन्तर्गत किसानलाई आलुखेतीमा लाग्न प्रोत्साहन गरेको उहाँले जानकारी दिनुभयो । गण्डकी प्रदेश कृषि तथा सहकारी मन्त्रालयले म्याग्दीमा आलुको संरक्षण तथा विस्तार र व्यावसायिकताका लागि चालु आवमा रु तीन करोड बजेट विनियोजन गरेको थियो । केन्द्रका अनुसार म्याग्दीमा वार्षिक २५ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ ।  

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0Q4YT72NGAWWD82QB0Z4C3J.jpg

मेची भन्सारद्वारा १२ अर्ब ९३ करोड बढी राजस्व सङ्कलन

भद्रपुर (झापा), ५ असार I मेची भन्सार कार्यालय काँकडभिट्टाले चालु आर्थिक वर्षको ११ महिनामा १२ अर्ब ९३ करोड १७ लाख ३७ हजार राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले चालु आब सकिन एक महिना बाँकी हुँदा लक्ष्यको ७७ दशमलव ५७ प्रतिशत राजस्व सङ्कलन गरेको हो ।   
  
मेची भन्सार कार्यालय काँकरभिट्टाका सूचना अधिकारी गणपति कँडेलका अनुसार चालु आवको ११ महिनामा गत आवको सोही अवधिको तुलनामा आयात तीन दशमलव ६१ प्रतिशतले घट्दा निर्यात भने १० दशमलव ७६ प्रतिशतले वृद्धि भएको छ । उहाँका अनुसार काँकडभिट्टा भन्सारबाट ४० अर्ब ७९ करोड ६१ लाख ७२ हजारको मालवस्तु आयात हुँदा २२ अर्ब २१ करोड ९० लाख १० हजारको मालवस्तु निर्यात भएको छ ।   
  
चालु आवको जेठसम्म गत आवको तुलनामा निर्याततर्फ छुर्पी ६५ दशमलव २९ प्रतिशत, प्लाउड ५६ दशमलव ३३ प्रतिशत, अदुवा ३५ दशमलव ४५ प्रतिशत, अम्रिसो ३१ दशमलव ३४ प्रतिशत र भेनियस सिट १२ दशमलव ५७ प्रतिशतले वृद्धि भएको सूचना अधिकारी कँडेलले जानकारी दिनुभयो । अलैँची दुई दशमलव ६१ प्रतिशत र चिया १३ दशमलव ४२ प्रतिशतले निर्यात घटेको उहाँले बताउनुभयो ।   
  
यसैगरी, पेट्रोल, फलामका सामग्री र विद्युतीय उपकरणलगायत आयातमा सामान्य वृद्धि हुँदा डिजेल, हवाई इन्धन, तरकारी, जुट, जिप्सम, कपडा, एलपिजीलयायत सामग्री आयात भने गत आवको ११ महिनाको तुलनामा चालु आवको सोही अवधिमा घटेको छ । काँकरभिट्टा नाकाबाट आयात हुने पेट्रोल, डिजेल, जुट र जुटबाट बनेका सामान, खाना पकाउने ग्यास, सबै प्रकारका तरकारी, जिप्सम, अलकिड रेजिन, सबै प्रकारका कपडा तथा फलफूल (जुससमेत), भेनियस सिटलगायत छन् ।   
  
यो नाकाबाट अलैँची, फलामका पाता, प्लाइउड, चिया, छुर्पी, अम्रिसो, अदुवा, सुठो, धातुका अन्य अवशेष, भेनियस सिट, क्लिङ्करलगायत सामग्री निर्यात हुने गरेका छन् ।  

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0Q4KYBFRHJ6JSWHEY6AE7H6.png

कोशी प्रदेशका केही स्थानमा भारी वर्षाको चेतावनी

काठमाडौँ, ५ असार I हाल देशका पूर्वी भू–भागमा मनसुनी प्रणालीको प्रभाव रहेको तथा बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय  क्षेत्रको आंशिक प्रभाव रहेको छ । 

जल तथा मौसम विज्ञान विभागका अनुसार कोशी र मधेश प्रदेशमा पूर्णतया बदली, बाग्मती र गण्डकी प्रदेशमा साधारणतया देखि पूर्णतया बदली  तथा बाँकी भू–भागमा आंशिक बदली देखि मुख्यतया सफा रहेको छ । कोशी, बागमती र कर्णाली प्रदेशका केही तथा गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका  केही  तथा मधेस प्रदेशलगायत बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । 

त्यसैगरी आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ ।  

आगामी २४ घण्टामा कोशी, मधस, बागमती र गण्डकी प्रदेशका केही स्थान  तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाउँदै विभागले अहिले ६ः०० बजे जारी गरेको बुलेटिनमा कोशी प्रदेशका  एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको  बताएको छ । 

विभागले ती क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू–क्षयको जोखिम वा क्षतिबाट बच्न तथा भारी वर्षाबाट ती क्षेत्रमा दैनिक जनजीवनलगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले सतर्कता अपनाउन अनुरोध गरेको छ I

प्रकाशित मितिः बुधबार, ०५ असार २०८१
https://jawaaf.com/storage/01J0P0CRAZ3G89MRAJ0CSAPT6M.jpg

बराहपोखरी पूर्ण खोप सुनिश्चितता गाउँपालिका

खोटाङ, ४ असार I बराहपोखरी गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको छ । नेपाल सरकारले निःशुल्क उपलब्ध गराउँदै आएको १३ वटा रोगविरुद्धको खोप गाउँपालिकाभित्रका सबै बालबालिकाले पाएको सुनिश्चित भएपछि आज औपचारिकरुपमा पूर्ण खोप सुनिश्चितता गाउँपालिका घोषणा गरिएको हो ।   
  
गाउँपालिकाभित्रका १६ महिनादेखि ५९ महिना उमेर समूहका पाँच सय ५७ जना बालबालिकालाई नेपाल सरकारबाट निःशुल्क प्राप्त हुने सबै प्रकारका खोप पाएसँगै पूर्ण खोप सुनिश्चितता पालिका घोषणा गरिएको गाउँपालिका प्रमुख शालिकराम बञ्जराले जानकारी दिनुभयो ।   
  
जिल्ला खोप समन्वय समिति खोटाङले परीक्षण गर्दासमेत गाउँपालिकाका सबै बालबालिकाले पूर्ण खोप पाएको सुनिश्चित भएको जनाएको छ । गाउँपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेको कार्यक्रममा जिल्ला खोप समन्वय समिति खोटाङका संयोजक एवं जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईले उक्त गाउँपालिकालाई पूर्ण खोप सुनिश्चितता घोषणा गर्नुभएको हो ।   
  
यसअघि साकेला गाउँपालिका, हलेसी तुवाचुङ तथा दिक्तेल रुपाकोट मझुवागगढी नगरपालिका, केपिलासगढी, ऐसेलुखर्क, खोटेहाङ र रावाबेँसी गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा भइसकेका छन् ।   
  
नेपाल सरकारको राष्ट्रिय कार्यक्रमअन्तर्गत खोटाङ जिल्लालाई आगामी असार १० गतेभित्र पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा गर्ने तयारी गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा नियमित खोप लगाउने १२ हजार बालबालिका रहेको स्वास्थ्य कार्यालय खोटाङले जनाएको छ ।   
  
सरकारले जन्मेदेखि दुई वर्षभित्र हरेक बालबालिकाले बिसिजी, दादुरा–रुबेला, पोलियो, जापनिज इन्सेफइटिस लगायतका १३ रोगविरुद्धको खोप निःशुल्क उपलब्ध गराउँदै आएको छ । जन्मेदेखि दुई वर्षभित्रका ९५ प्रतिशत बालबालिकाले सबै प्रकारका खोप पाएको खण्डमा सरकारले पूर्ण खोप सुनिश्तिता घोषणा गर्ने गरेको छ ।  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0NZG2V55W64GBNFH4W8CVTK.png

काठमाडौँमा ‘शिक्षा मेला–२०८१’ हुने

काठमाडौँ, ४ असार I काठमाडौँको उत्तरी भेगमा सञ्चालित विद्यालयको शैक्षिक विकासका लागि ‘शिक्षा मेला–२०८१’ हुने भएको छ ।   
  
उच्च माध्यामिक विद्यालय सङ्घ नेपाल (हिसान), निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासिय विद्यालय एसोसिएसन (एनप्याब्सन) को आयोजना तथा स्काइ भिजन फाउण्डेसनको संयोजनमा यही असार ७ गते शुक्रबार मेला आयोजना हुन लागेको हो ।   
  
स्काइ भिजन फाउण्डेशनले आज यहाँ पत्रकार सम्मेलन गरी माध्यमिक शिक्षा परीक्षा (एसइई) दिएर बसेका विद्यार्थीलाई लक्षित गरी मेला आयोजना गर्न लागिएको जनाएको छ । पत्रकार सम्मेलनमा फाउण्डेशनका सञ्चालक सुनिल भट्टराईले उत्तरी क्षेत्रमा सञ्चालित विद्यार्थीको शैक्षिक उन्नयनका लागि मेला आयोजना गर्न लागिएको जानकारी दिनुभयो ।   
  
मेलामा काठमाडौँका दुई दर्जनभन्दा बढी उच्च शिक्षा अध्यापन गराइरहेका कलेजको सहभागिता रहने टोखा नगरपालिका हिसानका अध्यक्ष राजन अधिकारीले जानकारी दिनुभयो । लर्ड प्यालेस ग्रीनल्याण्डमा बिहान ११ बजेदेखि सुरु हुने मेलाको चार हजारभन्दा बढी विद्यार्थीले प्रत्यक्ष अवलोकन गर्ने आयोजकले जनाएको छ ।   
  
मेलामा गायिक रचना रिमाल, श्रीधर अधिकारी र हाँस्य कलाकार शेरबहादुर गुरुङलगायतको प्रस्तुतिसमेत रहने फाउण्डेनका सञ्चालक भट्टराईले बताउनुभयो ।  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0NS6V8EZ5WDVXN9B2DD19GA.jpg

अतिथिलाई काँक्रा उपहार, गलामा दुबोको माला

गण्डकी, ४ असार I “घर व्यवहारै चल्छ, गर्न सके सुन फल्छ”, पोखरा महानगरपालिका–११ को काहँुडाडास्थित सर्वेश्वर आइपिएम कृषक पाठशालाको समापन समारोहमा स्थानीय आमाहरूले गाएको भजनको एक टुक्का हो यो ।     
      
आमाहरूले भजन गाइरहँदा गलामा दुबोको मालासँगै पिपलको पातमा अतिथि लेखिएको ब्याचले सजिएका अतिथिहरूले अभिरुचीपूर्वक सुनिरहेका थिए । कार्यक्रममा खादाजन्य सामग्री प्रयोग गरिएको थिएन । अतिथिलाई उपहारमा काँक्रो प्रदान गरिएको थियो । खाजामा सेलरोटी र काँक्राको अचारसँग मोही थियो ।     
      
पोखरा महानगरपालिकाको सहयोगमा काहुँको सिस्नेरीमा सञ्चालित १४ हप्ताको आइपिएम कृषक पाठशालाको अनुभव सहभागीले व्यवहारमा उतारिरहँदा कार्यक्रमको आकर्षण भिन्नै देखिन्थ्यो ।     
      
कृषिप्रति अनिच्छाका कारण जग्गा बाँझो भइरहेका अवस्थामा पोखरा महानगरपालिका– ११ काहुँ डाँडाका स्थानीय भने आइपिएम कृषक पाठशालाका माध्यमबाट सामूहिक कृषिमा जोडिएका हुन् । पाठशालाबाट धेरै कुरामा सक्षमता हासिल गरेको सर्वेश्वर आइपिएम कृषक समूहका अध्यक्ष इन्द्रकुमारी आचार्यले बताउनुुभयो । समूहमा आवद्ध भई आइपिएम कृषक पाठशाला मार्फत आधा रोपनी क्षेत्रमा गरिएको काँक्रो खेतीबाट पाँच सय किलोभन्दा बढी बिक्री गर्न सफल भएको उहाँको अनुभव छ ।     
      

कार्यक्रमकै क्रममा आमाहरूले कृषि सन्देशमूलक गीत तथा भजन गाउनुका साथै कृषि उत्पादनमा विषादीको प्रयोगले निम्त्याउने समस्यालाई जीवन्त चित्रण गरेको लघु नाटक प्रस्तुत गरे । विषादीको प्रयोगले समाजमा पार्ने नकारात्मक प्रभावबारे जानकारी गराउन नाटक प्रस्तुत गरिएको नाटक अभिनय दलका सदस्य ७५ वर्षीया सावित्री आचार्यको भनाइ छ ।     
      
“हामी आइपिएम कृषक पाठशालाका माध्यमबाट धेरै विषयमा जानकार भएका छौँ यसले हामीलाई सामाजिक सक्षमता बढाएको छ”, उहाँले भन्नुभयो, “पाठशालामा सिकेका सिकाइलाई हामीले व्यावहारिक जीवनमा प्रयोग गर्नेछौँ ।”     
      
पाठशालाको सिकाइसँगै बोल्ने बानीको विकासका कारण आफ्ना कुरा निर्धक्कका साथ राख्ने क्षमतामा वृद्धि भएको समूहका सदस्यहरू बताउँछन् । महानगरपालिकाको सहयोगमा आइपिएम कृषक पाठशाला सञ्चालन गरिएको हो । यहाँका २५ जना महिलाहरू एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) पाठशालामार्फत सामूहिक खेतीमा अध्ययन अनुसन्धानसँगै आयआर्जनमा जोडिएको कृषि महाशाखा प्रमुख मनहर कडरियाले बताउनुुभयो ।     
      
किसानलाई प्राङ्गारिक विधिबाट खेती गर्न ज्ञानसीप उपलब्ध गराउने उद्देश्यले पाठशाला सञ्चालनका लागि सहयोग गरेको उहाँले जानकारी दिनुभयो । “यसका माध्यमबाट उहाँहरूमा धेरै ज्ञान सीप हासिल हुनुका साथै समाजमा आफ्ना कुरा राख्न सक्ने क्षमता वृद्धि भएको छ”, उहाँले भन्नुभयो, “प्राप्त सिकाई र अनुभवलाई गीत भजनका साथै नाटकका माध्यमबाट प्रस्तुत गर्न सक्नुुले सामाजिक सचेतना र क्षमता अभिवृद्धि भएको देखिन्छ ।”     
      
कृषक पाठशालाबाट आफूहरूले कृषिका सम्बन्धमा धेरै विषयहरू जानकारी प्राप्त गरेको अर्का सदस्य सुभद्रा आचार्य बताउनुुहुन्छ । पाठशालामा स्थानीय किसानलाई रासायनिक मल र विषादीको प्रयोगविना प्राङ्गारिक विधिबाट खेती गर्न सिकाइएको थियो ।     
      
सिकाइलाई प्रभावकारी बनाउन गँड्यौला, खपटे, खुम्रे, पुतली र औँसा पाँच समूहमा विभाजित भई प्राविधिकसहित प्रयोगात्मक सिकाइ गरेका थिए । पाठशालाका लागि किसानले गत चैत १६ गते भक्तपुरे लोकल जातको काँक्राका बेर्ना रोपेका थिए ।     
      
कार्यक्रमको समापनमा पोखरा महानगरपालिका–११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्य, वडा कृषि सञ्जालका संयोजक भीमप्रसाद आचार्य, वडा सदस्य विष्णुप्रसाद घिमिरेलगायतले पाठशालाका सिकाइ व्यावहारिक जीवनमा उपयोग गर्नुपर्नेमा जोड दिनुुभयो । 
  

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१
https://jawaaf.com/storage/01J0N7KWKVFM81SGYZ3772TCKR.jpg

कमजोर आर्थिक अवस्थाले मुसहर बालबालिका विद्यालय शिक्षाबाट वञ्चित

मर्चवार (रुपन्देही), ४ असार I संविधानमा माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क पाउने हकलाई सुनिश्चित गरिएको भए पनि नवलपरासी प्रतापपुर गाउँपालिका–६ कठहवाका अधिकांश मुसहर बालबालिका आर्थिक अभावमा विद्यालय जान पाएका छैनन् ।     
     
निजी विद्यालयमा कक्षा २ सम्म अध्ययन गरेर पुनम मुसहरले परिवारको कमजोर आर्थिक अवस्थाका कारण कक्षा ३ मा भर्ना हुन सक्नुभएन । निजी विद्यालयमा शुल्क तिर्न नसकेको र जनजागृति माध्यमिक विद्यालयले पनि उहाँलाई भर्ना नगरेको पुनमका बुवा धिमल मुसहरले बताउनुभयो ।     
     
धिमलले तीन छोराछोरीलाई नजिकैको एक निजी विद्यालयमा भर्ना गर्नुभएको थियो तर अहिले सो विद्यालयमा शुल्क तिर्न नसकेपछि उहाँले छोराछोरीलाई सामुदायिक विद्यालयमा पढाउन खोज्नुभएको थियो तर निजी विद्यालयले रु पाँच हजार शुल्क नबुझाएको भन्दै प्रमाणपत्र दिन अस्वीकार गरेपछि सामुदायिक विद्यालयमा भर्ना गर्न नसकिएको उहाँले सुनाउनुभयो ।     
     
 कठहवामा मुसहर जातिको ४० घर छन् । जहाँ ७० प्रतिशत जनसङ्ख्या विद्यालय जाने उमेर समूहका बालबालिकाको छ । गाउँबाट अहिलेसम्म माध्यमिक शिक्षा परीक्षा अर्थात् (एसइई) दिने उमेश मुसहर एक्ला विद्यार्थी हुन् । हाल उनी परीक्षाको नतिजा कुरिरहेका छन् । “यो गरिबहरुको बस्ती हो, यहाँ मजदुरी नगरे खान धौधौ पर्छ, बालबच्चा कसरी पढाउने”, उहाँले भन्नुभयो ।     
     
जनजागृति माविका प्रधानाध्यापक बाबुराम सुवेदीले स्थानान्तरण प्रमाणपत्र (टिसी) बिना भर्ना गर्न नसकिने स्पष्ट पार्नु भयो  । “अझ यस वर्ष अनलाइन प्रणाली लागू भएकाले अध्ययनरत विद्यालयले स्थानान्तरण प्रमाणपत्र नदिएसम्म अर्को विद्यालयले भर्ना गर्न नपाउने व्यवस्था छ”, उहाँले भन्नुभयो ।     
     
गाउँपालिका शिक्षा शाखा प्रमुख डिल्लीराम ढुङ्गानाले मुसहर गाउँका अधिकांश बालबालिका विद्यालय बाहिर रहेको समस्याबारे आफू जानकार भएको बताउनुभयो । यो समस्या जटिल बन्दै गएको उहाँको भनाइ छ ।     
     
प्रतापपुर गाउँपालिका–६ का अध्यक्ष केशवप्रसाद अधिकारीले मुसहर समुदायको सामाजिक विकासका लागि धेरै प्रयास भए पनि सफलता प्राप्त नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “सामुदायिक विद्यालयमा निःशुल्क शिक्षा, खाजा र छात्रवृत्ति पनि व्यवस्था छ ।” तर मुसहर जातिका बालबालिका विद्यालय जान सकेका छैनन् ।     
 

प्रकाशित मितिः मङ्गलबार, ०४ असार २०८१