विश्वकप क्रिकेटः नेपालले टिस जित्यो, दक्षिण अफ्रिकाले पहिलो ब्याटिङ गर्ने
काठमाडौँ, १ असार I आइसीसी टि–ट्वान्टी विश्वकप क्रिकेट प्रतियोगिताको समूह ‘डि’अन्तर्गत नेपालले आफ्नो तेस्रो खेलमा आज टेस्ट मान्यता प्राप्त राष्ट्र दक्षिण अफ्रिकाविरुद्ध भिड्दैछ ।
वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाल रङ्गशालामा नेपालले टस जितेर दक्षिण अफ्रिकालाई पहिले ब्याटिङको निम्तो दिएको छ । नेपाल र दक्षिण अफ्रिका पहिलो पटक आमनेसामने हुन लागेका हुन् । नेपाललाई अन्तिम आठमा स्थान बनाउनका लागि दक्षिण अफ्रिकाविरुद्धको आजको खेल जित्नैपर्ने दबाब छ । दक्षिण अफ्रिका भने समूह ‘डि’बाट सुपर आठमा पुगिसकेको छ ।
दक्षिण अफ्रिकाले यसअघि खेलेको तीन वटै खेलमा जित हासिल गरेको थियो । उसले श्रीलङ्का, बङ्गलादेश र नेदरल्याण्डसलाई पराजित गर्दै एक खेल अगावै सुपर आठमा पुगेको हो ।
त्यस्तै नेपालले यसअघि खेलेका दुईमध्ये एकमा हार तथा एउटामा बराबरी खेलेको थियो । नेपाल पहिलो खेलमा नेदरल्यान्डसँग पराजित भएको थियो भने श्रीलङ्काविरुद्धको दोस्रो खेल वर्षाका कारण रद्द हुँदा दुवै टोलीले एक÷एक अङ्क बाँडेका थिए ।
नेपालको प्लेइङ ११ मा कुशल भुर्तेल, आशीफ सेख, अनिल साह, रोहित पौडेल (कप्तान), कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी, गुल्शन झा, करन केसी, सन्दीप लामिछाने र अभिनाश बोहोरा छन् ।
कोशी प्रदेश सरकारको बजेट सिलिङ रु ३५ अर्ब १७ करोड ३४ लाख
मोरङ, ३२ जेठ I कोशी प्रदेश योजना आयोगले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेश सरकारलाई रु ३५ अर्ब १७ करोड ३४ लाख बजेटको सिलिङ तोकेको छ ।
आयोगका उपाध्यक्ष डा राजेन्द्र अधिकारीले दोस्रो आवधिक योजनाअन्तर्गत पहिलो वर्षका लागि उक्त सिलिङ तोकिएको जानकारी दिनुभयो । उहाँले गत वर्ष रु चार अर्ब ५८ करोड राजस्व सङ्कलन भएकामा यस वर्ष हालसम्म रु चार अर्ब ५७ लाख मात्र राजस्व सङ्कलन भएको बताउनुभयो ।
उपाध्यक्ष अधिकारीले सरकारको आगामी आवको बजेटको प्राथमिकीकरणमा कृषि उत्पादन वृद्धि, पर्यटन प्रवद्र्धन, वैदेशिक रोजगारी निरुत्साहित, औद्योगिक उत्पादन वृद्धिका लागि लगानीको व्यवस्था, प्राविधिक शिक्षा, स्वास्थ्य उपचारलगायत रहेको जानकारी दिनुभयो । प्रदेश सरकारले भोलि असार १ गते प्रस्तुत गर्ने बजेटमा कृषि उत्पादन तथा उद्यमशीलताका लागि ब्याज अनुदान दिने र आधुनिक कृषि औजार खरिदमा ५० प्रतिशत अनुदान दिने व्यवस्था गरेको उहाँको भनाइ छ ।
वैदेशिक रोजगारीबाट फर्केका युवायुवतीलाई स्वदेशमा रोजगारी उपलब्ध गराउन कृषि तथा सेवा उद्योग स्थापनामा ब्याज अनुदान दिने व्यवस्था गरेको छ । पहाडी तथा हिमाली भेगका विद्यालहरुमा प्राविधिक शिक्षाका लागि सामुदायिक विद्यालयलाई विशेष अनुदान दिने, हिमाली तथा पहाडी जिल्लाका अस्पतालहरुलाई सुविधा सम्पत्र बनाउन आवश्यक चिकित्सक, स्वास्थ्यकर्मी र उपकरकणको व्यवस्था गरी उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यात्मक परिस्थितिको अन्त्य गरिने विषय आगामी बजेटमा प्राथमिकता राख्ने बताइएको छ ।
प्रदेशको भौतिक विकास सडक, भवन, सञ्चार, विद्युत्, पानी र सरसफाइका क्षेत्रमा लगानी वृद्धि गर्दै जाने र सार्वजनिक सेवालाई नागरिक मैत्री बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । प्रदेशमा उपलब्ध खनिज पदार्थको आवश्यक अनुसन्धान गर्नाका साथै उत्खननमा जोड दिइने भनिएको छ । गाँजाखेतीलाई वैधानिकता दिने सम्बन्ध विभित्र कानुनी बाधा अड्चनलाई फुकाउने कार्य गर्ने र यसलाई उच्च मूल्यको बालीका रुपमा ‘ब्रान्डिङ’ गर्दै जाने कोशी प्रदेश सरकारको नीति रहेको छ ।
पहाडबाट तराईमा हुने बसाइँसराइ रोक्न र तराईका नागरिकलाई पहाडतर्फ आकर्षित गर्न नागरिक आवास अनुदान, निःशुल्क शिक्षा कार्यक्रम लागू गर्ने सरकारको नीतिमा उल्लेख छ । प्रदेश सरकारले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा उल्लेखित कार्यहरु यसै वर्ष पूरा गरिने छभने आवधिक योजनाका कार्यहरु आगामी पाँच वर्षभित्र पूरा गर्ने आयोगका उपाध्यक्ष डा अधिकारीले बताउनुभयो ।
सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रम प्रदेशसभामा बहुमतबाट पारित भइसकेको छ । बजेटको आकार विगतभन्दा केही कम भए पनि आम नागरिकको चाहना र आवश्यकता पूर्ति गर्नमा फलदायी हुने विश्वास लिइएको छ ।
साढे दुई कट्ठामा १४ क्विन्टल धान उत्पादन
नवलपुर, ३२ जेठ I नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट–११ का किसानले दुई कट्ठा १० धुर जमिनमा १४ क्विन्टल धान उत्पादन गरेका छन् । भेडाबारीका ६८ वर्षीय किसान प्रमोद न्यौपानेले यस वर्ष चैते धान १४ क्विन्टल उत्पादन गर्नुभएको हो ।
सामान्यतया प्रतिकट्ठा दुई क्विन्टलसम्म धान उत्पादन हुने यस क्षेत्रमा उहाँले प्रतिकट्ठा करिब छ क्विन्टल धान उत्पादन गर्नुभएको हो । “गत वर्षहरुमा पनि राम्रै धान उत्पादन हुने गरेको थियो”, उहाँले भन्नुभयो, “तर, यस वर्ष सोचेकोभन्दा बढी उत्पादन भएको हो ।” आफ्नो तीन कट्ठामात्रै खेत भएको उल्लेख गर्दै पराजुलीले दुई कट्ठामा धान र बाँकी रहेको १० धुर जमिनमा तरकारी लगाएको बताउनुभयो ।
“घरमा हामी बूढाबूढीमात्रै छौँ, तीनवटा भैँसी र एउटा गाई पालेका छौँ”, उहाँले भन्नुभयो, “गाई भैँसीको मल बिक्री गर्दैनौँ, सबै खेतमा नै हाल्छौँ । त्यसैले हाम्रो उत्पादन बढी हुने गरेको छ ।” उहाँले आफ्नो जमिनमा तीन खेती गर्ने गरेको उल्लेख गर्दै बर्खे धान, तोरी र चैतधान उत्पादन गर्दै आएको बताउनुभयो । “यसपटक चैते पाँच नाम गरेको धान लगाएको थिएँ, खेतीबालीको राम्रो हेरचाह गर्दा उत्पादन राम्रो हुन्छ” उहाँले भन्नुभयो, “धानमा सिँचाइ गर्नका लागि खेतको नजिकै बोरिङ छ, आवश्यक मात्रामा मलजल दिइरहेको हुन्छु ।”
गैँडाकोट–११ को यस क्षेत्रलाई सरकारले धानको ब्लक घोषणा गरेर अनुदानसमेत दिँदै आइरहेको छ । “अरुको भन्दा राम्रो धान उत्पादन हुँदा सन्तुष्ट छौँ तर किसानले उत्पादनको मूल्य आफैँले तोक्न नपाउँदा दुःख लाग्छ”, उहाँले भन्नुभयो, “धान काटेकै दिनमा थ्रेस लगाएर मिलमा लगेर बिक्री गरेँ, प्रतिक्विन्टल रु तीन हजार दुई सयका दरले मूल्य पाएँ ।” मेहनत गरेर कृषि गर्दा उत्पादित वस्तुको मूल्य आफूहरुले निर्धारण गर्ने व्यवस्था भएमा किसानलाई खुसी मिल्ने न्यौपानेको भनाइ छ ।
किसानले खेती गर्दा मलबीउको अभावसँगै विषादीको समस्या पनि आउने गरेको उहाँले बताउनुभयो । “किसानले एग्रोभेटमा गएर जथाभावी औषधि किनेर खेतीमा प्रयोग गर्छन्”, उहाँले भन्नुभयो, “यसमा सरकारले निगरानी नै गरेको छैन, जसले गर्दा माटोसँगै मानव स्वास्थ्यमा पनि नराम्रो असर पर्दैछ ।”
म्याग्दी र बागलुङ जिल्लाको सिमानामा जडीबुटी अनुसन्धान केन्द्र
ढोरपाटन (बागलुङ), ३२ जेठ I जिल्लाको तमानखोला गाउँपालिकाको पर्यटकीयस्थल सोलेडाँडालाई जडीबुटी अनुसन्धान केन्द्र बनाइने भएको छ । समुद्री सतह देखि दुई हजार सात सय मिटरको उचाइमा रहेको सोलेडाँडा म्याग्दी र बागलुङको सिमानामा पर्दछ ।
उच्च पहाडी क्षेत्रमा रहेको सोलेडाँडालाई पर्यटकीय केन्द्रसँगै जडीबुटी अनुसन्धान केन्द्र बनाउन थालिएको तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलला बुढामगरले बताउनुभयो । गाउँपालिकाले अघिल्लो वर्षदेखि अनुसन्धान केन्द्र निर्माण गर्न थालेको उहाँको भनाइ छ ।
सोलेडाँडा र यस क्षेत्र आसपासमा पाइने सबै प्रकारका जडीबुटीको नमूना सङ्कलन गरी विद्यार्थी तथा अन्य व्यक्तिका लागि अनुसन्धान थलोका रुपमा विकास गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । अनुसन्धान केन्द्रमा गाउँपालिकाभरिका जङ्गल तथा तीन हजार पाँच सय मिटरको उचाइसम्म पाइने जडीबुटी सङ्कलन गरिने उहाँले जानकारी दिनुभयो । तमानखोलाको मात्रै नभई ढोरपाटनमा पाइने जडीबुटी पनि ल्याउने योजना रहेको उहाँको भनाइ छ ।
उच्च पहाडी क्षेत्रमा पाइने जडीबुटीको खोजी गरेर नमूना सङ्कलन गर्ने तथा जडीबुटीको महत्व र गुणकाबारे प्रचारप्रसार गरिने अध्यक्ष बुढामगरले बताउनुभयो । उहाँका अनुसार पालिकाले हालसम्म करिब रु १० लाख खर्च गरेर केन्द्र निर्माण गरिरहेको छ ।
योसँगै पालिकाले सोलेडाँडामा रु ५० लाख लगानीमा पर्यटन पूर्वधारसहित सहिद पार्क निर्माण गरेको छ । पर्यटनको विकाससँगै अनुसन्धान केन्द्रले सोलेडाँडामा धेरै पर्यटक आकर्षित गर्ने अपेक्षा लिइएका छ ।
“सोलेडाँडा जिल्लाका साथै वरपर निकै चर्चित छ । यहाँ आन्तरिक पर्यटकको आगमन बाक्लो छ, अनुसन्धान केन्द्रले थप पर्यटक तथा खोज÷अनुसन्धान गर्ने विद्यार्थीलाई आकर्षित गर्नेछ”, अध्यक्ष बुढामगरले भन्नुभयो, अनुसन्धान केन्द्र बनाएसँगै यहाँ पाइने जडीबुटीको पहिचान हुन्छ । त्यसको महत्व आमनागरिकलाई बुझाउन तथा बजारसँग जोड्ने सहज हुन्छ । यसले स्थानीयको आर्थिक स्तर वृद्धि हुनुका साथै अझै धेरै पर्यटक बढ्ने छन् ।”
स्थानीय मीनबहादुर सिर्पालीले सोलेडाँडामा अनुसन्धान केन्द्र सञ्चालनमा आएपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्ने बताउनुभयो । अहिले स्थानीय उत्पादनले खासै बजार नपाएको भन्दै दुई-चार वर्षपछि गाउँबाटै बिक्री हुने उहाँको भनाइ छ ।
अहिले पनि सोलेडाँडामा दैनिक पर्यटक आउने गरेका भन्दै गाउँपालिकाले अनुसन्धान केन्द्र बनाउँदा यस क्षेत्रका नागरिकले बढी लाभ लिन सक्ने सिर्पालीले सुनाउनुभयो । यो क्षेत्र भौगोलिक हिसाबले पिछडिएको जनाउँदै पछिल्लो समय विस्तारै विकासले गति लिन थालेकोमा उहाँले खुसी व्यक्त गर्नुभयो ।
राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने : मन्त्री प्रदीप यादव
(स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव शुक्रबार भरतपुर बिमानस्थलमा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै । तस्बिर : सनद अधिकारी)
चितवन, ३२ जेठ I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले राम्रो काम गर्ने कर्मचारीलाई प्रोत्साहन गरिने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएको भन्दै राम्रो काम गर्नेलाई प्रोत्साहन र नराम्रो गर्नेलाई परिवर्तन गरिने बताउनुभयो ।
अस्पतालमा प्रमुखको जिम्मेवारी हेरफेरले समस्या नहुने भन्दै मन्त्री यादवले सरुवा तथा बढुवा नियमित प्रक्रिया भएकाले आवश्यकता र कामको प्रकृतिका आधारमा कर्मचारीलाई मन्त्रालयमा तान्ने वा अन्यन्त्र पठाउने बताउनुभयो ।
मन्त्री यादवले स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न मन्त्रालयले सरकारसँग समन्वय गरी कार्ययोजना बनाउने बताउनुभयो । बीमा स्वायत्त संस्था भएकाले मन्त्रालयले कुनै पनि हस्तक्षेप गर्न नमिल्ने भन्दै उहाँले यहाँ देखिएका समस्या समाधानका लागि मन्त्रालय र सरोकार भएकाबीच छलफल गरिने बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “स्वास्थ्य बीमामा देखिएका समस्या समाधान गर्न हामी गम्भीर छाैँ । कसरी प्रभावकारी र गुणस्तरीय सेवा दिने भन्नेमा छलफल गरी सहकार्य र समन्वयका आधारमा कार्ययोजना नाउने छौँ ।” उहाँले स्वास्थ्य बीमामार्फत जनताले प्रत्यक्ष राहात पाउने भएकाले यसको प्रभावकारी कार्यान्वयनका लागि मन्त्रालयले योजना बनाइरहेको बताउनुभयो ।
बीमा कार्यक्रमलाई मन्त्रालय माताहत ल्याउन ऐन परिवर्तन गर्नुपर्ने आवश्यकता रहेको भन्दै मन्त्री यादवले यस विषयमा छलफल भइरहेको जानकारी दिनुभयो । जनशक्ति अभाव भएका अस्पतालहरुमा आवश्यक जनशक्ति थप गर्न मन्त्रालयले परिपत्र गरिसकेको उहाँले बताउनुभयो ।
मन्त्री यादवले भन्नुभयो, “देशका सबै अस्पतालमा जनशक्ति थप्ने निर्णय भएको छ । त्यसका लागि प्रक्रिया अघि बढिसकेको छ ।” आवश्यकता अनुसार अस्पतालहरुले कर्मचारी भर्ना गर्न सक्ने व्यवस्था गरिएको उहाँको भनाइ छ ।
म्याग्दीमा कृषि विकासका विविध कार्यक्रम कार्यान्वयनमा
गलेश्वर (म्याग्दी), ३२ जेठ I जिल्लाको कृषि विकासका निम्ति गण्डकी प्रदेश सरकारले चालु आर्थिक वर्षमा रु छ करोड लागतमा उत्पादन, संरक्षण र बजारीकरणका कार्यक्रम सञ्चालन गरेको छ । परम्परागत बालीको संरक्षण–प्रवर्द्धन र बजारीकरण, कृषि उत्पादन वृद्धि गरी कृषि उपज आयात विस्थापन गर्न कृषि कार्यक्रम सञ्चालन गरिएको जिल्ला कृषि ज्ञान केन्द्रले जनाएको छ ।
यस वर्ष जिल्लामा रु पाँच करोड ९७ लाख ५२ हजारको कृषिका कार्यक्रम सञ्चालन भएकामा सबैभन्दा धेरै रु तीन करोड खाद्यन प्रजातिको आलुखेतीमा खर्च भएको केन्द्रका प्रमुख सञ्जीव बाँस्तोलाले जानकारी दिनुभयो । कार्यक्रमअन्तर्गत जौँ, कोदो, लट्टे र फापरको प्रवर्द्धन गर्न चारवटा कृषि समूहमार्फत रु १० लाख खर्चेर विविध कार्यक्रम सञ्चालन गरिएको उहाँले बताउनुभयो ।
त्यसैगरी फलफूल बगैँचा स्थापना कार्यक्रममार्फत रु ३० लाख लगानीमा २० हेक्टर जमिनमा २६ जना किसान र समूह छनोट गरेर कार्यक्रम सञ्चालन गरिएको छ भने फलफूल बगैँचाको सुदृढीकरण गर्न विभिन्न २३ वटा कृषि फार्मसँग सम्झौता गरेर कार्यक्रम कार्यान्वयन भएको छ । फलफूल नर्सरी स्थापना गर्न रु २० लाखमा बेनी नगरपालिकाको भकिम्ली र धवलागिरि गाउँपालिकाका दुईवटा कृषि फार्मसँग ५० प्रतिशतको अनुदानमा कार्यक्रम सञ्चालन गरिएको छ ।
यसैगरी जिल्ला कृषि ज्ञान केन्द्रले कृषिजन्य उत्पादन बढाउन प्राङ्गारिक मल वितरण कार्यक्रम पनि सञ्चालन गरेको छ । सुन्तलाको उत्पादन बढाउन रु १० लाख लागतमा ६३ मेट्रिक टन मल वितरणको गरिएको केन्द्रले जनाएको छ । यस वर्ष विनियोजित रु १५ लाखको बजेटबाट मकैको उन्नत बीउ उत्पादन कार्यक्रम सञ्चालन भएको छ । यो कार्यक्रमअन्तर्गत बेनी नगरपालिकाको तोरीपानी र पात्लेखेतमा दुई सय रोपनीमा मकै लगाइएको छ । कृषिजन्य कार्यक्रममार्फत जिल्लाका किसानको जीवनस्तर सुधार्ने, खेतीयोग्य जमिनको प्रयोग बढाउने र उत्पादन वृद्धिमा ज्ञान केन्द्रले जोड दिएको छ ।
आलुखेती विस्तार
जिल्लामा यस वर्ष एक हजार सात सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ । जिल्ला कृषि ज्ञान केन्द्रका अनुसार आठ सय रोपनीमा हिउँदे आलु र नौ सय ५० रोपनीमा बर्खे आलु गरी एक हजार सात सय ५० रोपनी जग्गामा खायन प्रजातिको आलुखेती विस्तार गरिएको हो ।
हिउँदे आलुखेतीतर्फ जिल्लाभर १७ वटा कृषक समूह र एकवटा कृषि समूहमार्फत आठ सय रोपनीमा आलुखेती विस्तार गरिएको थियो । यसैगरी खायन प्रजातिकै बर्खे आलुखेतीतर्फ १५ वटा कृषक समूहमार्फत नौ सय ५० रोपनीमा आलुखेती विस्तार गरिएको छ भने खायन प्रजातिको हिउँदे आलु उत्पादन कार्यक्रमतर्फ अधिकांश बेनी नगरपालिका क्षेत्र र बर्खेतर्फ बेनीसहित रघुगङ्गा र धवलागिरि गाउँपालिका छन् ।
आलु तथा बेमौसमी तरकारीखेती प्रवर्द्धन कार्यक्रमका लागि रु २८ लाखको लागतमा १७ वटा फार्मलाई छनोट गरिएको छ । मसला तथा निर्यातयोग्य बाली अदुवा र बेसार उत्पादन गर्न मङ्गला गाउँपालिकाको बरजामा कार्यक्रम सञ्चालन भइरहेको केन्द्रका प्रमुख बाँस्तोलाले बताउनुभयो ।
रातो मच्छिन्द्रनाथ रथयात्रा साउन १७ मा
ललितपुर, ३२ जेठ I वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको रथयात्रा आगामी साउन १७ गते प्रारम्भ हुने भएको छ । हाल मच्छिन्द्रनाथको रथ ललितपुरको स्थानीय थती टोलमा रोकिएको छ ।
पुल्चोकमा रथारोहण गरी सुरु भएको मच्छिन्द्रनाथको रथयात्रा ललितपुरको गाःबाहल, मङ्गलबजार, सुन्धारा, लगनखेललगायत विभिन्न ठाउँमा घुमाइएर थती टोलमा राखिएको रथ उक्त दिनदेखि तानिने मच्छिन्द्रनाथका पुजारी शाहु शाक्यले जानकारी दिनुभयो ।
साहु शाक्यका अनुसार गत वर्षको जात्रा ३५ दिनमा सकिए पनि यो वर्षको जात्रा पात्रोअनुसार तीन महिनापछि समापन हुनेछ । उहाँले भन्नुभयो, “साउन १७ गते थतीटोलबाट रथ तानेर जावलाखेल चोकमा पुर्याएमा २० गते भोटोजात्रा हुन्छ । यदि मच्छिन्द्रनाथको रथ जावलाखेल पुग्न दुई दिन लागेमा २१ गते भोटोजात्रा हुनेछ । ”
ललितपुरमा हरेक वर्ष हुने रातो मच्छिन्द्रनाथको रथजात्रा काठमाडौँ उपत्यकाको पुरानो र सबैभन्दा लामो जात्राका रूपमा चिनिन्छ । यो जात्रा वैशाख शुक्ल प्रतिपदादेखि सुरु भएको हो । रथयात्रा ललितपुरको गाःबहाल, सुन्धारा, लगनखेल, कुमारीपाटी हुँदै जावलाखेल चोक ललितमण्डपमा टुङ्ग्याइन्छ । जावालाखेल पुर्याएको चार दिनपछि राष्ट्रप्रमुखलाई भोटो देखाएपछि यो वर्षको जात्रा समापन हुन्छ ।
यस वर्षको रथयात्राको क्रममा रथमा केही समस्या देखिएपछि मर्मत गरेर पुनः सञ्चालनमा ल्याएको रातो मच्छिन्द्रनाथ रथसँग सम्बन्धित नारायण व्यञ्जनकारले बताउनुभयो । उहाँले भन्नुभयो, “यो वर्ष रथमा केही समस्या देखिएकाले मर्मत गरिसकेका छौँ । साउन १७ गतेसम्म ठटीटोलमा रथ रहन्छ र हाल भक्तजनले पूजाआजा गरिरहनुभएको छ ।”
यो वर्षको रथयात्रामा खलपानेजुको रूपमा निमराज शाक्य रहनुभएको छ भने जलपानेजुको रूपमा सम्पूर्ण शाक्य रहनुभएको छ । शभुशाइत पर्खाइमा ठटीटोलमा रोकिएको रातो मच्छिन्द्रनाथ देवताको रथमा पूजाआजाका लागि पुजारीहरु हुनुहुन्छ भने रथको सुरक्षाका लागि नेपाल प्रहरी खटिएको छ ।
सामाजिक न्यायका लागि जलवायु न्यायलाई बिर्सन मिल्दैन : राष्ट्रपति पौडेल
जेनेभा (स्वीट्जरल्याण्ड), ३१ जेठ I राष्ट्रपति रामचन्द्र पौडेलले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन नमिल्ने बताउनुभएको छ ।
स्वीट्जरल्याण्डको जेनेभामा सुरु भएको ११२औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनको उच्चस्तरीय सत्रमा आयोजना गरिएको ‘सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धन’को आज उद्घाटन सत्रलाई मुख्य वक्ताका रूपमा सम्बोधन गर्नुहुँदै उहाँले विश्व समुदाय खास गरेर विगतदेखि हालसम्मका ठूला उत्सर्जनकर्ता यो जिम्मेवारीबाट विमुख हुनु हुँदैन भन्नुभयो । “हामीले सामाजिक न्यायको कुरा गरिरहँदा विश्वस्तरमा स्थापना गरिनुपर्ने जलवायु न्यायलाई बिर्सन मिल्दैन”, राष्ट्रपति पौडेलले भन्नुभयो, “जलवायु परिवर्तनका नकारात्मक असरहरूको सन्दर्भमा जलवायु जोखिममा रहेका देशहरूलाई पर्याप्त कोष र आवश्यक प्रविधि उपलब्ध गराएर जलवायु न्याय तुरुन्तै सुनिश्चित गरिनुपर्छ ।”
उहाँले कार्बन उत्सर्जनमा नगण्य योगदान दिए पनि नेपालले जलवायु परिवर्तनको सबैभन्दा खराब असरको सामना गरिरहेको जनाउँदै यसमा नेपालको कुनै दोष नभएको स्पष्ट पार्नुभयो ।
“पछिल्ला वर्षहरूमा संसारकै सर्वोच्च शिखर सगरमाथालगायत हाम्रा हिमालयहरू आफ्ना हिउँ गुमाउँदै काला पहाडमा परिणत हुन थालेका छन् । हिमनदीहरू अभूतपूर्व परिमाण र गतिमा पग्लिरहेका छन्”, उहाँले भन्नुभयो, “जलवायु परिवर्तनले स्वच्छ पानी, बाली, जैविक विविधता र स्वास्थ्यमा गम्भीर असर पुग्नुका साथै लाखौँ मानिसलाई गरिबी र असमानतातर्फ धकेलिरहेको छ । जलवायु परिवर्तनबाट सिर्जित विपद्का कारण परिवार, समुदायको विस्थापन र जीविकोपार्जनमा हुने क्षतिले समस्या थप जटिल बनाएको छ ।”
राष्ट्रपति पौडेलले श्रमको सम्मान गर्ने संस्कृतिको विकास गर्न सबैलाई अपिल गर्नुभयो । श्रम जगत्ले नै विश्वलाई समृद्घ बनाएको उल्लेख गर्दै उहाँले श्रमबाट आएको प्रतिफलको न्यायोचित हिस्सा कामदारको हातमा पुग्ने कुरा सुनिश्चित गर्नु सबैको साझा दायित्व र सामाजिक न्याय भएको उल्ल्ेख गर्नुभयो ।
“श्रमिकलाई समानता र न्याय कायम गराउनु हाम्रो सामूहिक सङ्कल्प पनि हो, स्वतन्त्रता र सामाजिक न्यायका लागि आफ्नो ऊर्जाशील जीवन अर्पण गरेको, १५ वर्ष जेलजीवन बिताएको एक अधिकारकर्मीका नाताले विश्वका सबै देश र समाजमा रहेका निमुखा र विपन्न नागरिकले न्यायसँगै भोक र भयबाट मुक्ति पाउनुपर्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।
सामाजिक न्यायका माध्यमबाट दिगो शान्ति प्राप्त गर्ने सबैको सामूहिक प्रयास आज पनि उत्तिकै सान्दर्भिक रहेको राष्ट्रपति पौडेलले बताउनुभयो । निमुखालाई न्याय र विपन्नलाई आयको व्यवस्था नभए दिगो शान्ति सम्भव नहुने उहाँको भनाइ थियो । “सामाजिक न्यायका माध्यमबाट दिगो शान्ति प्राप्त गर्ने सामूहिक प्रयास एक सय वर्षअघि जस्तै आज पनि सान्दर्भिक छ”, उहाँले भन्नुभयो ।
राष्ट्रपति पौडेलले आजको श्रमबजार तीव्रगतिमा परिवर्तन भइरहेको जनाउँदै यसले नवीन सीपको, नयाँ प्रविधिको र सिर्जनशील कार्यशैलीको माग गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “औद्योगिक उत्पादन हुन् वा सेवा क्षेत्र वा सूचना प्रविधिमा आधारित बैंकिङ सेवा, यन्त्र सिकाइ र कृत्रिम बौद्धिकता किन नहुन्, सबै क्षेत्रमा परिवर्तन आएको छ, कार्य प्रकृतिमा आएको परिवर्तनको सामना गर्न थप ग्रहणशीलता र नवीन कार्यशैली आवश्यक छ ।”
राष्ट्रपति पौडेलले विश्वले विद्युतीय, दूरसेवा अर्थतन्त्रलगायत नवीन चुनौतीलाई आत्मसात् गरेकाले यी सबै क्षेत्रमा मर्यादित श्रमको कार्यसूची कार्यान्वयन गर्न प्रतिबद्घ रहेको उल्लेख गर्नुभयो । “हामीले नयाँ काम, सीप र कार्यस्थलका लागि आफूलाई तयार राख्नुपर्दछ”, उहाँले भन्नुभयो, “विकासमा खर्च गर्नुपर्ने ठूलो रकम घातक हतियारमा लगानी गरिएको छ, अन्तर्राष्ट्रिय समुदायले यो पथलाई उल्ट्याउनुपर्छ र समग्र मानवताको समृद्धिका लागि स्रोतहरू परिचालन गर्नुपर्छ ।”
राष्ट्रपति पौडेलले दिगो शान्ति हतियारबाट नभइ साझा समृद्धि र विश्वबन्धुत्वको भावनाबाट प्राप्त गर्न सकिने बताउनुभयो ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले राजतन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको हाम्रो राजनीतिक यात्रामा सोही गति र अनुपातमा हामीले श्रम रोजगार र सामाजिक सुरक्षाका क्षेत्रमा पनि सामाजिक न्यायलाई परिवर्तनको केन्द्र भागमा राख्दै आएको जानकारी दिनुभयो । उहाँले नेपालको संविधानले श्रमसम्बन्धी, रोजगारी, ट्रेड युनियन गठन र सामूहिक सौदाबाजीमा सहभागी हुन पाउने हकलाई मौलिक हकका रूपमा व्यवस्था गरेको उल्लेख गर्नुभयो ।
राष्ट्रपति पौडेलले संविधानको उक्त व्यवस्था कार्यान्वयनका लागि श्रम, ट्रेड युनियन, रोजगारीको हकसम्बन्धी, योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तथा राष्ट्रिय रोजगारी नीतिजस्ता कानुनी र संस्थागत प्रबन्धहरू गरिएको पनि बताउनुभयो । उहाँले भन्नुभयो, “सबै उत्पादनशील युवा शक्तिलाई रोजगारीको व्यवस्था गर्न सकिएको छैन । आन्तरिक रोजगारी सिर्जनाको लागि ‘श्रमाधान’ योजनाको सुरूआत गरेका छौँ ।”
वैदेशिक रोजगारीमा गएका नेपाली युवा जनशक्तिलाई सम्मानपूर्ण व्यवहार गर्न अपिल गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “विकासशील मुलुकका युवाहरू कामको खोजीमा श्रम गन्तव्य मुलुकमा जाने क्रम बढ्दो छ । यस तथ्यलाई मध्यनजर गर्दै विश्वका सबै मुलुकहरूलाई म अपिल गर्न चाहन्छु कि वैदेशिक रोजगारीमा गएका श्रमिकको कामको कदर गर्दै उनीहरूलाई स्वदेशी कामदारसरह व्यवहार गरियोस् ।”
उहाँले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा सहभागी भई सामाजिक न्यायप्रति पुनः प्रतिबद्धता जनाउन, बहुपक्षीयताप्रति पुनःविश्वास दोहोर्याउन तथा सामाजिक सम्झौतालाई नवीकरण गर्न पाउँदा आफूहरू अत्यन्त उत्साहित भएको उल्लेख गर्दै उहाँले भन्नुभयो, “आज घोषणा भएको यो विश्वव्यापी गठबन्धन, अन्तर्राष्ट्रिय श्रम सङ्गठनको आदर्शका रूपमा रहेको सामाजिक न्याय सबैका लागि र सबै क्षेत्रमा अङ्गीकार गर्ने दिशामा हाम्रो भद्र समर्थन र साझा प्रतिबद्धता हो । श्रमिकलाई समानता र न्याय कायम गराउनु सामूहिक सङ्कल्प पनि हो । म श्रमको सम्मान गर्ने संस्कृतिको विकासका लागि सबैलाई अपिल गर्न चाहन्छु ।”
दिगो शान्ति र दिगो आर्थिक विकासका लागि सामाजिक न्यायको केन्द्रीय भूमिका निरङ्कुश राजतन्त्रदेखि सङ्घीय लोकतान्त्रिक गणतन्त्रसम्मको आफ्नै कठिन राजनीतिक यात्राबाट आफूहरूले गहिरोसँग बुझेको उल्लेख गर्दै राष्ट्रपति पौडेलले भन्नुभयो, “तसर्थ श्रमको सम्मानसँग जोडिएको यस अहम् मूल्यप्रति हामी अडिग छौँ र हामी यस सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनमा सहभागी हुनुले यो स्पष्ट भएको छ ।”
उहाँले सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनले हाम्रो समाजको विषमता वहन गर्न सक्ने क्षमता विकास गर्न, सामाजिक र आर्थिक नीतिहरूमा सामञ्जस्यता कायम गर्न तथा सामाजिक संवादका माध्यमबाट साझा समृद्घि हासिल गर्ने लक्ष्यमा सबैलाई निरन्तर प्रेरित गर्नेछ भन्ने विश्वास व्यक्त गर्नुभयो ।
राष्ट्रपति पौडेलले अन्तर्राष्ट्रिय श्रम सङ्गठनको संविधानको मूल मर्मका रूपमा रहेको सामाजिक न्यायले निर्दिष्ट गरेका समान अधिकार, समान अवसर र समान व्यवहारसम्बन्धी व्यवस्था नेपालको संविधानमा पूर्ण आत्मसात् गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “निष्कर्षमा, सामाजिक न्यायका लागि विश्वव्यापी गठबन्धनले सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न, आर्थिक विकास र समृद्धि हासिल गर्न सामाजिक संवादका माध्यमबाट सबैलाई ऐक्यबद्ध हुन निरन्तर प्रेरित गर्नेछ भन्ने मैले विश्वास लिएको छु ।”
अन्तर्राष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिलवर्ट टुंग्बोले सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सामाजिक न्याय स्थापनाका लागि जीवनभर गरेको योगदानको उच्च प्रशंसा गर्नुभयो । उहाँले राष्ट्रपति पौडेल सहभागितामूलक लोकतन्न्त्र, सामाजिक मूल्यको पक्षमा सधैँ दृढतापूर्वक उभिएको भन्दै प्रशंसा गर्नुभएको थियो । उहाँले नेपालको संविधानले सन्तुलित समाज निर्माणका लागि सामाजिक न्यायका सिद्धान्तलाई पूर्ण रूपले आत्मसात् गरेको बताउँदै सामाजिक संरक्षण र सामाजिक न्यायका लागि नेपाल एउटा पथप्रदर्शक सदस्यका रूपमा रहेको उल्लेख गर्नुभयो I(रासस)
चितवनबाट रेशमखेती विस्थापित हुँदै
चितवन, ३१ जेठ I पछिल्लो समय जिल्लाका किसान तरकारीखेतीतर्फ आकर्षित हुन थालेपछि रेशमखेती विस्थापित हुँदै गएको छ । केही वर्ष अघिसम्म जिल्लाको माडी क्षेत्रमा व्यावसायिक रुपमा रेशमखेती हुनेमा अहिले यहाँका किसान उक्त पेसाबाट विस्थापित भएका हुन् ।
किम्बू नर्सरी विकास केन्द्र भण्डारा चितवनकी कार्यालय प्रमुख पूर्णिमा क्षेत्रीका अनुसार माडी क्षेत्रमा पहिला सहकारी र संस्था दर्ता गरेर रेशमखेती गरिने गरिएकामा अहिले किसान यस पेसाबाट पलायन हुँदै तरकारीबालीतर्फ आकर्षित भएका बताउनुभयो । उहाँले भन्नुभयो, “रेशमखेतीका लागि लामो समय लाग्ने र व्यवस्थापन झन्झटिलो हुने भएकाले किसानले पेसा परिवर्तन गरेका हुन् ।”
केन्द्रले अहिले व्यावसायिक रुपमा कोया उत्पादन गर्न छोडेको क्षेत्रीले बताउनुभयो । कोया उत्पादन गरेर निजी क्षेत्रलाई दिनुपर्ने तथा बजार समस्या हुँदा व्यावसायिक रुपमा उत्पादन गर्न छोडेको उहाँको भनाइ छ । सुरुमा मकवानपुर र चितवनमा रेशम खेतीको प्रशस्त उत्पादन भए पनि अहिले उत्पादन घट्दै गएको उहाँले जानकारी दिनुभयो ।
नेपालमा उत्पादित रेशम धागोको बजारीकरण नहुँदा व्यवसायी पलायन भएका प्रमुख क्षेत्रीले बताउनुभयो । उहाँले भन्नुभयो, “बाहिरबाट रेशमको धागो आयात हुन्छ । यहाँको धागोको पहिचान हुँदैन । बजार अभाव हुँदा पेसा नै सङ्कटमा परेको छ ।” बजार व्यवस्थापनमा समस्या हुँदा लामो समयसम्म कुर्नुपर्ने र राम्रो उत्पादन भए पनि बिग्रने हुँदा यसतर्फ किसानको आकर्षण घटेको उहाँको भनाइ छ ।
जिल्लामा रेशमखेती गर्ने किसान अहिले छिटो आम्दानी हुने नगदेबालीतर्फ आकर्षित भएका क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो “अहिले केन्द्रमा उत्पादित किम्बूका बिरुवा २० प्रतिशत पनि रेशम खेतीका लागि जान मुस्किल छ ।” उहाँका अनुसार केन्द्रले यसवर्ष पाँच लाख बिरुवा उत्पादन गरेर छ ।
अहिले गर्मी बढेकाले चार लाखसम्म बिक्री गर्ने योजनामा केन्द्र रहेको प्रमुख क्षेत्रीले बताउनुभयो । उहाँका अनुसार करिब छ हेक्टर क्षेत्रफलमा किम्बू नर्सरी उत्पादन हुँदै आएको छ । यहाँ उत्पादित किम्बूका बिरुवा सिन्धुली, गोरखा, काठमाडौँलगायत जिल्लामा जाने गरेको उहाँले बताउनुभयो ।
अष्ट्रेलियाको बेरोजगारी दर ४.० प्रतिशतले घट्यो
क्यानबेरा,अष्टेलिया, ३१ जेठ (रासस/सिन्ह्वा) I अस्ट्रेलियाको बेरोजगारी दर मे महिनामा घटेको राष्ट्रिय तथ्याङ्क कार्यालयले जनाएको छ । अष्ट्रेलियाली तथ्याङ्क विभाग (एबीएस) ले बिहीबार प्रकाशित गरेको श्रमशक्तिको तथ्याङ्कका अनुसार बेरोजगारी दर अप्रिलमा ४.१ प्रतिशतबाट मे मा ४.० प्रतिशतले घटेको छ ।
अस्ट्रेलियन एसोसिएटेड प्रेस (एएपी) ले यो गिरावट अर्थशास्त्रीहरूको अपेक्षा अनुरूप रहेको बताएको छ । एबीएसले अप्रिल र मेको बिचमा ४० हजार मानिसहरूको रोजगारी बढ्नुका साथै सोही अवधिमा नौ हजार मानिसहरूको बेरोजगारी घटेको बताएको छ ।
अप्रिलमा सामान्यभन्दा धेरै बेरोजगार मानिसहरू काम सुरु गर्न चाहेकोमा मे महिनामा बेरोजगारीमा केही गिरावट र रोजगारीमा भएको वृद्धिले मानिसहरूले जागिर सुरु गर्ने प्रतिबिम्बित गर्ने एबीएसका ब्योर्न जार्विसले एक विज्ञप्तिमा जनाउनुभयो ।
“अहिले लगभग छ लाख बेरोजगार व्यक्तिहरू भएता पनि महामारी अघि मार्च २०२० को तुलनामा अझै पनि एक लाख दश हजार कम व्यक्तिहरू छन् ।”
रोजगारीमा वृद्धिका बावजुद, अष्ट्रेलियालीले काम गर्ने घण्टाको सङ्ख्या अप्रिल र मेको बीचमा ०.५ प्रतिशतले घटेको छ ।
जार्विसले घण्टाको कमीले रोगको कारण कामबाट समय निकाल्ने मानिसहरूको बढ्दो सङ्ख्यालाई प्रतिबिम्बित गरेको बताउनुभयो ।
बिरामी भएका कारण थोरै समय काम गरेकोले सन् २०२३ मेको जस्तै लगभग ४.२ प्रतिशत नागरिकले काम गरेको र पूर्व–महामारीको औसत ३.५ प्रतिशतको तुलनामा सामान्य बढी भएको उहाँले बताउनुभयो ।
सहभागिता दरले काम गर्ने उमेरको जनसङख्याको अंश मापन गर्दछ । कार्यरत र सक्रिय रूपमा काम खोज्ने सङख्या ६६.८ प्रतिशतमा स्थिर रहेको छ ।