इलामको सन्दकपुरमा ‘रेडपाण्डा महोत्सव’ हुँदै, विश्वभरका पर्यटक भित्र्याउने लक्ष्य
काठमाडौं । पूर्वी नेपालको प्रमुख पर्यटकीय गन्तव्य सन्दकपुर गाउँपालिकामा तेस्रो ‘रेडपाण्डा महोत्सव’ आयोजना हुने भएको छ । यही चैत २० गतेदेखि २३ गतेसम्म सञ्चालन हुने महोत्सवले दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षणसँगै पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याउने अपेक्षा गरिएको छ ।
सोमबार काठमाडौंमा एक अन्तरक्रिया एवम पत्रकार भेटघाटको कार्यक्रमको आयोजना गरी महोत्सवका विषयमा जानकारी गराइयो । कार्यक्रममा महोत्सव आयोजक समितिका संयोजक सनम राईले महोत्सवको उद्देश्य रेडपाण्डा लगायतका लोपोन्मुख वन्यजन्तुको संरक्षणबारे जनचेतना अभिवृद्धि गर्नु तथा क्षेत्रीय पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको जानकारी दिए ।
महोत्सव विशेषगरी ‘रेडपाण्डा ट्रेल’ मा आधारित पदमार्ग पर्यटनलाई केन्द्रमा राखेर आयोजना गर्न लागिएको उनले जानकारी दिए ।
४० किलोमिटर लामो रेडपाण्डा पदमार्गले इलामको माईपोखरीदेखि जौबारीसम्मका विभिन्न पर्यटकीय स्थललाई जोड्ने गर्दछ । यस मार्गमा रेडपाण्डासहित विभिन्न वन्यजन्तु, चराचुरुङ्गी तथा जैविक विविधताको अध्ययन अवलोकन गर्न सकिने व्यवस्था रहेको कार्यक्रममा जानकारी गराइयो ।
महोत्सव अवधिमा पर्यटकहरूले सन्दकपुर डाँडाबाट सूर्योदय र सूर्यास्तको अवलोकन, हिमश्रृंखलाको मनोरम दृश्य, जङ्गल सफारी, स्थानीय संस्कृति तथा परिकारको अनुभव लिन पाउनेछन्। साथै, माईपोखरी जस्ता रामसार सूचीमा सूचीकृत क्षेत्रको अवलोकन, चराचुरुङ्गी तथा वनस्पतिको अध्ययनजस्ता गतिविधि पनि समेटिने छन् ।
आयोजक सन्दकपुर गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिल कुमार लिम्बुले महोत्सव सफल बनाउन विभिन्न सहयोगी संस्थाहरुसँग सहयोगको अपेक्षा गरिएको जानकारी दिए । उनले रेडपाण्डा अवलोकन गर्दै गाउँपालिकाभित्रका प्रमुख गन्तब्यहरुको प्रवद्र्धनमा महोत्सवले सहयोग पुर्याउने अपेक्षा गरिएको बताए । विगतका महोत्सवले पर्यटन विकासमा थप टेवा पुगेको जानकारी दिए ।
महोत्सवमा आन्तरिक तथा बाह्य गरी करिब १० हजार आन्तरिक तथा विदेशी पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ । सन्दकपुर क्षेत्र भारतसँग सिमाना जोडिएको हुँदा भारतीय पर्यटकको आगमन पनि उल्लेख्य रहने अपेक्षा गरिएको छ । महोत्सवमा विश्वभरका पर्यटकहरुलाई सन्दकपुर भ्रमण गर्न आब्हान गरिएको छ ।
कार्यक्रममा महोत्सव समितिका सदस्य केशव धौराली र सुजन तिम्सिनाले महोत्सवको महत्व र पालिका भित्रका गन्तब्य स्थलहरुका बारेमा जानकारी दिए । संचारकर्मी समेत रहेका तिम्सिनाले विश्वमै दुर्लभ मानिएको रेडपाण्डाको महत्व र पर्यटन प्रवद्र्धन गर्नुको औचित्यबारे प्रष्ट पारे ।
यसअघि आयोजना गरिएका रेडपाण्डा महोत्सवहरूले स्थानीय स्तरमा पर्यटन व्यवसाय विस्तार, रोजगारी सिर्जना तथा वातावरण संरक्षणप्रति जागरण ल्याउन सहयोग पुगेको जनाइएको छ । आगामी वर्षहरूमा पनि महोत्सवलाई निरन्तरता दिने योजना रहेको गाउँपालिकाले जनाएको छ ।
प्राकृतिक सौन्दर्य, हिमाली दृश्य, जैविक विविधता र सांस्कृतिक सम्पदाले भरिपूर्ण सन्दकपुर क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने लक्ष्यका साथ महोत्सव आयोजना गर्न लागिएको हो। कलाकार कृष्ण मल्लले सन्दकपुर र माइपोखरीको भ्रमण गर्न सबैलाई आब्हान गरे ।
पदमार्गमा आधारित पर्यटन महोत्सव यस वर्ष सन्दकपुर गाउँपालिका–४ को कालपोखरीमा महोत्सवको आयोजना हुने संयोजक राईले बताए । महोत्सवको मुख्य आयोजक सन्दकपुर गाउँपालिका हो । महोत्सवको मुख्य उद्देश्य लोपोन्मुख वन्यजन्तु रेडपाण्डाको संरक्षण गरि पर्यटन प्रवद्र्धन गर्नु हो । पालिकाभित्रको रामसार क्षेत्र माईपोखरीबाट ढापपोखरी हुँदै जौबारी जोड्ने पदमार्गको प्रवद्र्धनका लागि महोत्सवका दुई संस्करण आयोजना भइसकेका छन् ।
११ करोड बढी खर्चमा ५ वर्षमा निर्माण भएको पदमार्ग क्षेत्रमा रेडपाण्डा सहितका वन्यजन्तु, सयौ प्रजातीका चराको अध्ययन गर्न पाइन्छ । १५ बढी पर्यटकीय गन्तव्य रहेको रेडपाण्डा पदमार्गबारे जानकारी दिने र पर्यटनको व्यापारमा महोत्सव केन्द्रित हुने गाउँपालिकाले जनाएको छ ।
चार दिनसम्म आयोजना हुने महोत्सव पुग्ने पर्यटकहरुले आदिवासी जनजातिको सस्कृति, सिमसार, पोखरीहरु, प्राकृतिक सुन्दरता, विश्वको अग्लो सगरमाथा सहित ६० बढी हिमश्रङ्खला, सयौँ प्रजातीका चराहरु, रेडपाण्डा सहितका लोपोन्मुख वन्यजन्तु अध्ययनसँगै पदयात्रा पनि गर्न पाउनेछन् ।
चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक
काठमाडौं । नेपाली कथानक चलचित्र ‘मालती मंगले’ को टाइटल गीत ‘सुनैको सपनी’ सार्वजनिक गरिएको छ । बुधबार एक विशेष कार्यक्रमकाबीच ओएसआर डिजिटलमार्फत निर्माण टिमले गीत सार्वजनिक गरेको हो ।
गीत सार्वजनिक कार्यक्रममा बोल्दै गायिका रचना रिमालले वरिष्ठ गायक रामकृष्ण ढकालसँग सहकार्य गर्ने आफ्नो इच्छा पूरा भएको बताइन् । उनले फिल्मी गीतप्रति आफ्नो रुचि बढ्दै गएको उल्लेख गर्दै यस अवसरप्रति खुशी व्यक्त गरिन् । उनले भनिन्, ‘गीत गाउन रामकृष्ण ढकाल दादासँग एकदमै रहर थियो त्यो पूरा भएको छ । यो गीतमा जोडिनु हुने सम्पूर्णलाई एकदमै सम्झिन चाहन्छु । मलाई फिल्मको गीतहरु अचेल आइरहेको छ । पहिला पहिला कस्तो होला फिल्मको गीतहरु भन्ने लाग्थ्यो । मैले जे चाहेको थिए त्यो पूरा भएको छ ।’
त्यस्तै, गायक रामकृष्ण ढकालले ‘सुनैको सपनी’ गीतले दर्शकको मन छुने विश्वास व्यक्त गरे । उनले चलचित्रले ग्रामीण परिवेशमा आधारित चोखो प्रेमकथा प्रस्तुत गर्ने र सन्देशसमेत दिने बताए । उनले भने, ‘यो गीतले दर्शकको मन छुने कुरामा म विश्वस्त छु । ग्रमिण परिवेशमा गर्ने एउटा चोखो मायाको कथा हो यस फिल्ममा । यो चलचित्रले सन्देश पनि दिएको छ ।’
अभिनेत्री वर्षा राउतले गीतका शब्द र दृश्य संयोजनको प्रशंसा गर्दै यसले दर्शकलाई आनन्द दिने प्रतिक्रिया दिइन् । उनले भनिन्, ‘यो गीत हेर्दा आँखालाई पनि सित्तल भएजस्तो फिल भएको छ । आनन्द आइरहेको छ । गीतमा शब्दहरु एकदमै राम्रो छ । मिठो शब्दहरु मिलाएर मिठो गीत बनेको छ ।’
उक्त गीतमा वर्षा राउत र विजय बराल फिचर्ड रहेका छन् भने स्वर रामकृष्ण ढकाल र रचना रिमालको रहेको छ । गीतका शब्द आनन्द अधिकारीले लेखेका हुन् भने संगीत उज्ज्वल सागरले दिएका छन् । चलचित्रका कार्यकारी निर्माता सागर ज्ञवाली रहेका छन् भने कथा तथा निर्देशन प्रकु पाण्डेयले गरेका हुन् । सह–निर्मातामा बाबु सुवेदी, रबिन श्रेष्ठ, बेदना कर्मचार्य, पद्मावती गुरुङ र स्वीकृति बस्नेत रहेका छन् ।
‘मालती मंगले’ आगामी वैशाख २५ गतेदेखि देशभर प्रदर्शनमा आउने तयारीमा रहेको छ । चलचित्रमा विजय बराल, वर्षा राउत र मेक्सम गौडेल मुख्य भूमिकामा देखिएका छन्। साथै प्रकाश घिमिरे, सरिता गिरी, सुस्मा निरौला, सुनिल तामाङ, उमेश सुनाम, शकु शाह, सुचित्रा उप्रेती, दिनेश शाही, रिजन परियार, तारा शर्मा, गीता श्री, राज पङ्गेनी, सुस्मिता गुरुङ र सागर भट्टराईलगायतका कलाकारहरूको अभिनय रहेको छ ।
नयाँ वर्षमा प्रदर्शन हुने ‘पहाड’ काे टिजर सार्वजनिक
काठमाडौं । निर्देशक तुलसी घिमिरेको निर्देशनमा तयार भएको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक गरिएको छ । आगामी वर्ष २०८३ को वैशाख १ गते अर्थात् नयाँवर्षको दिन प्रदर्शन हुने उक्त फिल्ममा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको लेखकसमेत रहेका निर्देशक घिमिरेले बताए ।
उनले भने,‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन पुर्खा, अग्रजले जीवन समर्पण गरेका छन् । तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाई सरेका छन् । यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ, यसलाई समग्र नेपालकै कथा भन्दा हुन्छ ।’
निर्देशक घिमिरेले वितरकसँग छलफल गर्दै नेपालसँगै अन्तर्राष्ट्रिय प्रदर्शनका लागि उपयुक्त समय मिलाउनुका साथै बाँकी कामलाई पुरा गर्ने अवधि मापन गरेर आगामी वैशाख १ मा फिल्मको प्रदर्शन तय गरिएको जानकारी दिए । निर्देशक घिमिरेले यसपटक ‘बलिदान’ मा काम गरेका मदनकृष्ण श्रेष्ठ, ‘चिनो’ मा काम गरेका शिव श्रेष्ठ र सुनिल थापालाई पनि ‘पहाड’ मा कास्ट गरेका छन् । फिल्मलाई प्रमोद प्रधानले छायाङ्कन गरेका छन् । भारतमा फिल्म, वेबसिरिज र टेलीफिल्मसमेत छायाङ्कन गरिसकेका छायाँकार प्रधानले निर्देशक घिमिरेसँग ‘अन्याय’, ‘कोसेली’, ‘चिनो’ र ‘दक्षिणा’ लगायतका फिल्ममा सहकार्य गरेका छन् ।
‘फिल्मको पटकथा तयार गर्दा देखिएका पात्रमा फिट हुने भएपछि पुरानो सहकार्यलाई पुनः ताजा गरौँ भनेर मैले प्रस्ताव गरें । मेरो प्रस्तावमा सम्पूर्ण कलाकारले सहमति जनाउनु भयो, पुरानो समयलाई स्मरण गर्दै नयाँ उत्साहका साथ काम गरेका छौँ । यसपटक दर्शकसँगै यो फिल्म घर, परिवार र समाजसम्म विचारको रुपमा पुग्छ भन्नेमा विश्वस्त छु’, निर्देशक घिमिरेले भने ।
भाग्यरत्न फिल्म्स प्रालिको व्यानरमा निर्माण भएकोे ‘पहाड’मा विपीन कार्की, सुनिल थापा, मदनकृष्ण श्रेष्ठ, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायतका कलाकारको अभिनय रहेको छ । निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनेत्रीको रुपमा दर्शकसामु ल्याउदैछन् । यस्तै, फिल्मको प्राविधिक टिममा निर्देशक घिमिरेकी जेठी छोरी भावना घिमिरेले प्रोडक्सन डिजाइनरको जिम्मेवारी सम्हालेकी छिन् ।
फिल्ममा रञ्जित सिंह गजमेर सङ्गीत निर्देशक रहेका छन् । उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन् । उक्त फिल्ममा भारती घिमिरे क्रिएटिभ निर्माता रहेकी छिन् । फिल्म नेपालमा वैङ्कटेश इन्टरटेनमेन्ट र डायस्पोरामा सेभेन सिज इन्टरनेशनल फिल्म्सले वितरण गर्नेछ ।
यसको पब्लिसिटी डिजाइन रोयल भीमसेन र ट्राइडेन्ट कन्सेप्टले गरेको हो । फिल्ममा कविराज गहतराज र मिङमा डी लेप्चाको नृत्य निर्देशन, कुमार महर्जनको द्वन्द्व निर्देशन, शङ्कर कोइराला र भारती घिमिरेको सम्पादन राजेको छ ।
वसन्त ऋतुका फूलहरूले चीनका पार्कहरु भरिभराउ
एजेन्सी । पूर्वी चीनका पार्कहरूमा वसन्त ऋतुका फूलहरूले आगन्तुकहरूलाई निकै आकर्षित गरिरहेको छ । वसन्त ऋतुको हावा चलिरहेको बेला ढकमक्क फुलेका रंगीविरङ्गी फूलहरू हेर्नका लागि विभिन्न गतिविधिहरूले आगन्तुकहरूलाई थप आकर्षित गरिरहेको हो ।
वेन्झाउको माआन्ची पार्कमा, आगन्तुकहरुले ७५ विभिन्न प्रजातिका २७०,००० ट्युलिपले सजिएका मार्गहरूमा टहलिरहेका भेटिन्छन् । पार्कमा ‘फूल देवीहरू’ परम्परागत हान पोशाकमा सजिएका युवतीहरू फोटो खिच्न र रमाउन व्यस्त देखिन्छन् ।
सांगीतिक कार्यक्रमहरु पनि भइरहेका जसले फूल अवलोकन सिजनको पहिलो दिन नै लगभग २५,००० पर्यटकहरू ल्याउन सहयोग पुगेको छ । यता, सांघाईमा एक महिना लामो चेरी फेस्टिवल आयोजना भइरहेको छ। पार्कमा पूर्ण रूपमा फुलेका चेरीका रूखहरू सजिएका भेटिन्छन् ।(सीसीटीभीप्लस)
‘लालीबजार’ मा ‘अडिसन’ दिएर अभिनय गर्न छनोट भएकी हुँ : स्वस्तिमा
काठमाडौं । पछिल्लो समयकी नम्बर वान अभिनेत्रीको रुपमा पहिचान स्थापित गरेकी स्वस्तिमा खड्काले अभिनय गर्न थालेको एक दशकपछिको यात्रामा पहिलोपटक ‘अडिसन’ मार्फत फिल्म ‘लालीबजार’ मा अभिनेत्रीको रुपमा अनुबन्धित भएको बताएकी छिन् ।
षट्कोण आर्टसले निर्माण गरेको उक्त फिल्म ‘लालीबजार’ को पहिलो गीत ‘मायालाई के दिउँ म बैना’ सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा अभिनेत्री खड्काले फिल्म निर्माण गर्ने समूह प्रतिको विश्वास र उक्त फिल्ममा उठान गरिएको विषय वस्तुका कारण ‘अडिसन’ दिएको बताइन् ।
‘मैले अभिनय गर्न थालेको दर्शवर्ष पार गरेपछि पहिलोपटक अडिसन दिएर भूमिका प्राप्त गरेकी हुँ । किनकि मैले जुन भूमिका निभाएकी छु, त्यो निकै गम्भीर र मेरो लागि चुनौतिपूर्ण थियो । एउटा कलाकारका लागि यस्तो भूमिका निर्वाह गर्न पाउनु अवसर र चुनौती दुवै हो । मैले निर्वाह गरेको भूमिकाको बारेमा धेरै खुलाउन मिल्दैन तर मैले अहिलेसम्म गरेको काम भन्दा भिन्न छ’, अभिनेत्री खड्काले भनिन् ।
उक्त फिल्ममा अभिनेत्री खड्कासँगै अभिनेता रवीन्द्रसिंह बानियाँ, बालकलाकार समाइरा थापा, मुकुन्द श्रेष्ठ, डेब्यु कलाकार विशाल देवकोटा, अभय बराल, प्रेम पाण्डे, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ । यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले अभिनय यात्रा सुरुआत गरेका छन् । फिल्ममा यम थापाको निर्देशनसँगै कथा लेखन रहेको छ ।
‘मसँग भएको कथा मैले षट्कोण आट्र्समा सुनाएपछि हाम्रो सहकार्य जुरेको हो । खासमा पहिला मैले कथा दिने सोच बनाएको थिएँ, तर मलाई नै निर्देशन गर्न प्रस्ताव गर्नुभयो । मैले यसलाई आफ्नो निर्देशकीय यात्राको निकै महत्वपूर्ण अवसर मानेको छु, मेरो आगामी यात्राले यसले नै तय गर्नेछ’, निर्देशक थापाले भने ।
फिल्मको पटकथा तथा संवाद निर्देशक थापासँगै अर्का निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका छन् । आगामी वैशाख १८ गतेदेखि प्रदर्शन हुने उक्त फिल्मलाई दीपेश खत्री र रविन्द्रसिंह बानियाँले संयुक्त रुपमा निर्माण गरेका हुन् ।
‘झिंगेदाउ २’ को छायांकन सम्पन्न ,आउने फुलपातीमा प्रदर्शन गर्ने तयारी
काठमाडौं । निर्देशक ज्ञानेन्द्र देउजाको चर्चित फिल्म ‘झिंगेदाउ’ को दोस्रो श्रृंखलाको छायांकन सम्पन्न भएको छ । ६३ दिनको सुटिङ्पछि आज बुधबार फिल्म छायांकन सम्पन्न भएको हो । यसको अन्तिम छायांकन चितवनको देवघाटमा भएको निर्देशक ज्ञानेन्द्र देउजाले जानकारी दिएका छन् ।
नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले साढे तीन करोडको लगानीमा फिल्म सम्पन्न गर्ने योजना भएतापनि हलसम्म जाँदा ४ करोडको लगानी हुने जानकारी दिए । उनले भने, ‘ ६३ दिनको सुटिङ्पछि आज फिल्म छायांकन सम्पन्न भएको छ । पहिलासाढे तीन करोडमा फिल्म सकाउने हामीले अनुमान गरेको थियौं तर हलसम्म पुग्दा ४ करोडको खर्च आउने देखिएको छ ।’
यसको पहिलो भाग साहित्यकार भीमनिधि तिवारीको औपन्यासिक कृतिमा आधारित रहेपनि दोस्रो भाग भने फेन्टासी शैलीमा निर्माण भएको पनि उनको भनाई छ । साथै, उनले यो सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित फिल्म भएको भन्दै यसले ६०, ६५ वर्ष अगाडिको काठमाडौंलाई देखाउने प्रयास गरेको बताए ।
‘यो फिल्म सामाजिक सन्देश दिने पारिवारिक कथा वस्तुमा आधारित छ । यसबाट हामीले ६०, ६५ वर्ष अगाडिको काठमाडौंलाई देखाउन खोजेका छौ’ उनले भने । उनका अनुसार ‘झिंगेदाउ २’ लाई २०८३ सालको फुलपातीको दिन प्रदर्शनमा ल्याउने तयारी भैरहेको छ । कथा देउजाकै हो भने पटकथा तथा संवाद परिच्छेद सेन, गोविन्द फुयाँल र शिशिर चालिसेले लेखेका हुन् । साथै, फिल्ममा विष्णु घिमिरे कल्पितको छायांकन, रोशन श्रेष्ठको एक्सन, रामजी लामिछानेको नृत्य, अर्जुन पोखरेलको संगीत, मित्र गुरुङको सम्पादन रहेको छ ।
फिल्मको सुटिङ् पनौती, काठमाडौं, पाटन, भक्तपुर, साँखु, तनहूँ, बन्दीपुर, देवघाट, दोलखा, चित्लाङ, पालुङ लगायतका ठाउँमा खिचिएको छ । दोस्रो श्रृंखलामा सरोज खनाल, आर्यन सिग्देल, महेश त्रिपाठी, केकी अधिकारी, आँचल शर्मा, कुशल विष्ट, बसुन्धरा भुसाल, चैत्यदेवी, हिउँवाला गौतम, विजय देउजा, आशा भुसाल, अभयराज बराल, आशिष पुरुषको अभिनय रहेको छ ।
फिल्मको अघिल्लो भागले घरेलु बक्सअफिसमा साढे चार करोड हाराहारीमा कमाइ गरेको थियो ।
वैशाख १८ गतेलाई तय गर्दै ‘लालीबजार’ टिजर सार्वजनिक
काठमाडौं । षट्कोण आर्टसको निर्माणमा बनेको फिल्म ‘लालीबजार’ प्रदर्शन मिति आगामी वर्ष विसं २०८३ वैशाख १८ गतेलाई तय गर्दै टिजर सार्वजनिक गरिएको छ ।
सार्वजानिक टिजरमा फिल्मको मुख्य पात्रलाई समेटेर कथासार बारे जानकारी दिईएको छ । बर्दियाको राजापुरमा छायांकन गरिएको उक्त फिल्ममा स्वस्तिमा खड्का, रवीन्द्रसिंह बानियाँ, समाइरा थापा, मुकुन्दकुमार श्रेष्ठ, अभय बराल, आशा पौडेल, गोविन्द सुनार, आभा अर्याल, तारा शर्मा, रमेश वादी, सरस्वती अधिकारी लगायतको अभिनय रहेको छ ।
यसै फिल्ममार्फत विशाल देवकोटा र प्रसंशा सुवेदीले डेब्यु गर्दैछन् । निर्देशक यम थापाको कथा तथा निर्देशनमा तयार भएको फिल्म ‘लालीबजार’ को पटकथा र संवाद निर्देशक थापा र निर्देशक प्रदीप भट्टराईले संयुक्त रुपमा तयार गरेका हुन् ।
अभिनेत्री खड्काको नियमित भन्दा फरक भूमिकाले ‘लालीबजार’ प्रति दर्शकको उत्सुकता बढिरहेको छ । फिल्ममा कार्यकारी निर्माता प्रदीप भट्टराई रहेका छन् भने म्याक्स दीपेश खत्री र रविन्द्रसिंह बानियाँ निर्माता रहेका छन् ।
फिल्ममा क्रिएटिभ निर्देशक जेबी रुवाली, द्वन्द्व निर्देशक सम्राट बस्नेत, छायांकन निर्देशक सुशन प्रजापती, सम्पादक मित्रदेव गुरुङ, प्रोडक्सन हेड रुपकप्रताप अधिकारी, कलर रेनिश फागो, भिएफएक्स समिर श्रेष्ठ र सत्यम राना, ब्याकग्राउण्ड म्युजिक र मिक्सिङ रोहित शाक्य र शैलेश श्रेष्ठ, कला निर्देशक उमेश चौधरी, कस्ट्युम डिजाइनर र स्टाइलिस जानकी कडायत, मेकअप काव्या थापा, सङ्गीत प्रकाश सपूत, खेम सेन्चुरी र जयन जे वाइवाको रहेको छ ।
फागुन १ बाट रिलिज हुने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’को नयाँ गीत सार्वजनिक
काठमाडौं । आगामी फागुन १ गतेबाट प्रदर्शनमा आउने सिनेमा ‘श्री बुकुरोः द होम कलिङ’ले आफ्नो प्रचारलाई तीव्र बनाएको छ । पोस्टर र ट्रेलर सार्वजनिक गरिसकेको सिनेमाले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा नयाँ गीत सार्वजनिक गरेको हो ।
सार्वजनिक गरिएको ‘ए साइला दाई’ बोलको गीतमा बसन्त सापकोटाको शब्द तथा संगीत रहेको छ भने गीतमा सविन सुबेदी र युक्ती बिमलीको स्वर रहेको छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार आशीर्वाद क्षेत्री र निकिता आचार्यको आकर्षक नृत्य प्रस्तुत गरिएको छ ।
सुदीप भूपाल सिंहको लेखन तथा निर्देशनमा बनेको यो सिनेमा पारिवारिक कथावस्तुमा आधारित रहेको छ । सिनेमामा आशीर्वाद र निकितासँगै लक्ष्मी गिरी, प्रतीक राज आचार्य, रोशनी कार्की, राजन इशान, दीपिका थापा, लय संग्रौला, मोहन निरौला, रामबाबु रेग्मी, रश्मि भट्ट, उत्तम केसी, गीता थापा, सपना श्रेष्ठ, आशिका शाही, दीपक कार्की र रजिना विश्वकर्मालगायत कलाकारहरूको अभिनय रहेको छ ।
फिल्म रेञ्जको ब्यानरमा निर्माण भएको सिनेमालाई रुबी सेन सिंहले निर्माण गरेकी हुन् । सिनेमाको छायांकन सञ्जय लामा र राजेश श्रेष्ठले गरेका छन् । त्यसैगरी सुरज तामाङ र प्रवीण सिंहको कोरियोग्राफी, आईड्रिम एनिमेसनको भिएफएक्स, मनोरञ्जन श्रेष्ठको कलर ग्रेडिङ, विक्रम कार्कीको ब्याकग्राउन्ड स्कोर तथा बनिष शाह, चन्दन दत्त र परिच्छेद सेनको सम्पादन रहेको छ । सिनेमाका गीतमा रञ्जीत गजमेर र बसन्त सापकोटाले संगीत दिएका छन् ।
अरिजित सिंहले अब चलचित्रमा गीत नगाउने
काठमाडौं । चर्चित भारतीय गायक अरिजित सिंहले ‘प्लेब्याक सिंगिङ’ बाट सन्यास लिएको घोषणा गरेका छन् । उनले मंगलबार साँझ सामाजिक सञ्जालमा एक पोस्ट गर्दै आफूले अब फिल्मका लागि प्लेब्याक गायन नगर्ने बताएका हुन् ।
नयाँ वर्षको शुभकामना दिँदै अरिजितले लेखेका छन्, ‘यो यात्रामा मलाई साथ, माया र समर्थन दिने सबैलाई धन्यवाद । म अबदेखि प्लेब्याक गायकका रूपमा कुनै नयाँ काम लिने छैन । यो यात्रालाई यहीँ समाप्त गर्दैछु । यो एक सुन्दर अनुभव रह्यो ।’
अरिजित सिंह भारतीय फिल्म उद्योगका सफल र चर्चित गायक हुन् । उनका नेपालमा पनि लाखौं फ्यान छन् । संगीतकार समेत रहेका उनले गीत संगीतमा अन्य काम गर्नेछन् वा छैनन् ? त्यो भने केही खुलाएका छैनन् ।
उनका ‘तुम हि हो’, ‘जनम जनम’, ‘अपना बना ले’, ‘ओ माही’, ‘अगर तुम साथ हो’, ‘मस्त मगन’, ‘मुस्कुराने की वजह तुम हो’ लगायत थुप्रै गीत चर्चित छन् । अरिजित सिंहले दुई वर्षअघि काठमाडौंमा समेत भव्य कन्सर्ट गरेका थिए ।
उनले २०१३ को फिल्म ‘आशिकी २’ को ‘तुम ही हो’ गीत अरिजित सिंहको करियरमा एउटा टर्निङ प्वाइन्ट साबित भएको थियो ।
अरिजितको यो घोषणापछि सामाजिक सञ्जालमा प्रशंसकहरूले आश्चर्य र भावुक प्रतिक्रिया दिएका छन् । धेरैले उनको योगदानको प्रशंसा गर्दै आगामी यात्राका लागि शुभकामना व्यक्त गरेका छन् ।
वृत्तचित्र ‘मुक्कुमलुङहरु’ को पहिलो प्रदर्शन
काठमाडौं । पाथिभरा अर्थात् मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबलकार र त्यसविरुद्ध भइरहेको आन्दोलनलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘मुक्कुमलुङहरुः आदिवासीको आस्थामाथि आक्रमण’ को पहिलो प्रदर्शन सम्पन्न भएको छ ।
मन्डला नाटकघरमा आयोजित उक्त प्रदर्शन कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले वृत्तचित्र र आन्दोलनका सन्दर्भमा आफ्ना धारणा राखेका थिए।
करिब एक घन्टा लामो वृत्तचित्रले मुक्कुमलुङ धार्मिक स्थलको ऐतिहासिक र सांस्कृतिक महत्वसँगै त्यसप्रति आदिवासी समुदायको गहिरो अपनत्वलाई उजागर गरेको छ।
साथै, केबलकार निर्माणप्रति राज्यको रवैयाविरुद्ध आवाज उठाइरहेका व्यक्तिहरूको संघर्ष र दृष्टिकोणलाई दस्तावेजीकरण गरिएको छ। वृत्तचित्रले केबलकार परियोजनाले जीवजन्तु, वनस्पति तथा समग्र पर्यावरणमा पार्न सक्ने प्रभावमाथि पनि प्रश्न उठाएको छ।
कार्यक्रममा बोल्दै लेखक तथा साहित्यकार खगेन्द्र संग्रौलाले भाषा, संस्कृति र इतिहासबाट वञ्चित पारिएका समुदायहरूको संघर्षको कथा वृत्तचित्रले प्रभावकारी रूपमा बोलेको उल्लेख गरे।
त्यसैगरी, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राईले संविधानका सुन्दर प्रावधानहरू व्यवहारमा आदिवासी समुदायको हितमा कार्यान्वयन हुन नसकेको अनुभव साझा गरे।
किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रजस्ता दस्तावेजहरू स्वयं प्रमाण भएको बताउँदै, यस्ता प्रमाणहरू मुक्कुमलुङ संरक्षणविरुद्ध उभिनेहरूलाई देखाउन सकिए धारणा परिवर्तन हुन सक्ने सम्भावना रहेको प्रश्न उठाए।
कार्यक्रममा लेखक खगेन्द्र संग्रौला, किरात राई यायोख्याका उपाध्यक्ष युवराज राई तथा किरात याक्थुङ चुम्लुङका महासचिव निरन्ती तुम्बापोले वृत्तचित्रमाथि आफ्ना विचार प्रस्तुत गरेका थिए।
रबिनकुमार नाल्वो र जीवनप्रकाश शेर्मा सहभागी रहेको यस वृत्तचित्रमा मच्छेदेवी गुरुङको सहनिर्देशन तथा भानु बोखिमको निर्देशन रहेको छ।