सोमबार, ०५ असोज २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01HYR28DTFKWAD5WEQ8TFE96P7.jpg

‘थाइराइड देखिँदैमा सन्तान जन्मिदैन भन्ने भ्रममात्र’

काठमाडौँ, १३ जेठ : पछिल्लो समय नसर्ने रोग थाइराइडको समस्या बढ्दै गएको छ । चिकित्सकहरूका अनुसार पुरुषको दाँजोमा महिलामा थाइराइडको समस्या बढी छ । थाइराइड फेडेरेशन इन्टरनेशलका अनुसार प्रत्येक आठ महिलामध्ये एकले आफ्नो जीवनकालमा थाइराइडको समस्या भोग्न सक्छन् ।   
  
महिलामा थाइराइडको समस्या देखिए बच्चा बस्दैन भन्ने बुझाइ भ्रममात्र भएको चिकित्स बताउँछन् । महिलामा थाइराइडको समस्या हुँदा महिनावरी गडबढी हुने, छाला सुक्खा हुँदै जाने, कपाल झर्ने, मुड परिवर्तन भइराख्ने, जाँगर नचल्ने र थकाइ बढी लाग्ने सम्भावना हुन्छ । हार्मोन, थाइराइड तथा मधुमेह रोग विशेषज्ञ डा रुपक भारी भन्नुहुन्छ– “थाइराइडको समस्या भएर बच्चा जन्मिदैन भनेर महिलालाई विभेद गरिन्छ, त्यो सरासर गलत हो ।”   
  
उहाँ भन्नुहुन्छ, “थाइराइडको समस्या हुँदा सजिलै बच्चा नबस्ने, बच्चा बसे पनि खेर जाने अथवा कमजोर बच्चा जन्मिने हुन्छ । तर बच्चै नहुने भन्ने हुन्न ।” कतिपय समस्या भोगेका महिलाले परिवार तथा सामाजबाट यातनासमेत पाउने गरेको उहाँ बताउनुहुन्छ । थाइराइडको समस्याले भन्दा पनि समाज र परिवारले दिने यातनाको तनावले बच्चा नजन्मिने खतरा हुने डा भारीको भनाइ छ । “थाइराइडका कारण नहुने भन्ने हुन्न । हर्मोन सन्तुलन गर्ने उपचारपश्चात महिलाले बच्चा जन्माउन सक्छन्”, उहाँले भन्नुभयो । थाइराइड कुनै रोग होइन, यो घाँटीमा हुने ग्रन्थी भएको उल्लेख गर्दै डा भारीले यसले हार्मोन उत्पादन गर्ने तथा त्यसमा गडबढी आएमा समस्या हुने बताउनुभयो ।   
  
नेशनल इन्स्टिच्युट अफ हेल्थ (एनआइएस)का अनुसार थाइराइड मुख्यतः दुई प्रकारका हुन्छन् । हाइपरथाइरोडिजम (हार्मोन बढी उत्पादन हुने) र हाइपोथाइरोडिजम (हार्मोन कम उत्पादन हुने) । हार्मोन उत्पादन कम भएमा एक्कासी तौल बढ्ने, मुटुको चाल कम हुने, रक्तचाप कम हुने, छाला सुक्खा हुने तथा कब्जियत हुनसक्छ । हार्मोन उत्पादन बढी भएमा शरीरको तौल घट्ने, मुटुको धड्कन तेज भएर जाने, रक्तचाप बढ्ने, आँखाको गेडी नै बाहिर निस्केलाजस्तो ठूलो भएर जाने, आत्तिने र पसिना चिटचिट हुने समस्या देखिन्छ ।   
  
डा भारीका अनुसार थाइराइडको समस्या जोकोहीलाई र जुनसुकै उमेरमा पनि देखिन सक्छ । उहाँ भन्नुहुन्छ, “हार्मोन उत्पादन कम हुने समस्या बढी देखिने गरेको छ । कुनै पनि रोग वा समस्याको सही समयमा पहिचान भयो भने उपचार सम्भव छ । थाइराइडलाई ठूलो समस्या बनाइएको छ । तर उपचारपछि हार्मोन नियन्त्रणमा ल्याउन सकिन्छ, डराउनुपर्ने कारण छैन ।” थाइराइडको समस्या थाहा पाउन वर्षमा एकपटक थाइराइड फङ्सन टेस्ट (टिएफटी) गर्न उहाँ सुझाउनुहुन्छ ।   
  
“थाइराइडमा खानेकुरा बार्नुपर्ने भन्ने छैन । स्वस्थकर खाना मजाले खान सकिन्छ । स्वस्थ जीवनशैली अपनाउन जरुरी छ । स्वस्थकर खाना, सकरात्मक सोच, शरीरको तौल नियन्त्रण, नियमित व्यायाम गर्न आवश्यक छ”, डा भारी भन्नुहुन्छ ।   
  
हरेक वर्ष मे २५ तारिखमा विश्व थाइराइड दिवस मनाइन्छ । यस वर्षको विश्व थाइराइड दिवसको नारा थाइराइडलाई नसर्ने रोगको रूपमा लैजाने भनिएको छ । थाइराइड ग्रन्थीको महत्व र थाइराइड रोग भएका व्यक्तिलाई सही निदान र उचित उपचार सुविधामा पहुँचका विषयमा छलफल तथा चेतना जगाउन यो दिवस मनाइन्छ । थाइराइड फेडरेशन इन्टरनेशलका अनुसार विश्वभर थाइराइडको जोखिममा एक अर्ब ६० करोड व्यक्ति रहेको अनुमान गरिएको छ । थाइराइड रोग पुरुषभन्दा महिलामा १० गुणा बढी देखिने गरेको बताइन्छ ।   

प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१
https://jawaaf.com/storage/01HYQAKCARHN96D0TE8WKXXKGP.gif

असारभित्र नगर अस्पताल सञ्चालन हुने

झापा, १२ जेठ : शिवसताक्षी नगरपालिकामा चालु आर्थिक वर्षभित्र नगर अस्पताल सञ्चालन हुने भएको छ । सुविधासम्पन्न भवन निर्माण भएसँगै १५ श्ययाको नगर अस्पताल चालु आवभित्रै सञ्चालनको तयारी गरिएको हो ।   
  
शिवसताक्षी नगरपालिका–६ मा रु १० करोड ६७ लाखमा ठेक्का लागेर पाँच वर्षपछि डेढ बिघा जमिनमा निर्माण सम्पन्न भइसकेको पालिकाले जनाएको छ ।   
  
यस अस्पतालबाट जिल्लाको दक्षिणी भेगका स्थानीय तहहरु गौरादह, गौरीगञ्ज, शिवसताक्षी, झापा गाउँपालिकाका नागरिकहरुले उपचार पाउने नगरपालिकाका सूचना अधिकारी प्रकाश चौधरीले जानकारी दिनुभयो ।   
  
अस्पतालका लागि ३० जनाको दरबन्दी रहनेगरी मन्त्रालयले सङ्गठानात्मकस्वरुप पठाइसकेको उहाँले जानकारी दिनुभयो । अस्पतालमा चार जना मेडिकल अधिकृत, नर्स तथा अन्य स्वास्थ्यकर्मीले सेवा दिनेछन् । अस्पतालबाट २४सै घण्टा सेवा उपलब्ध गराउने नगरपालिकाको योजना छ ।   
  
नगर अस्पताल सञ्चालन भएपछि उपचारका लागि बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने अपेक्षा गरिएको छ । अस्पतालमा विद्युत्, पानी र कोठाको व्यवस्थापन गर्न बाँकी छ । यसअघि विर्तामोड, कनकाइ, दमक, बुद्धशान्ति र अर्जुनधारा नगरपालिकाले नगर अस्पताल सञ्चालनमा ल्याइसकेका छन् ।  

प्रकाशित मितिः शनिबार, १२ जेठ २०८१
https://jawaaf.com/storage/01HYN9MWTRABM530TCYPH9BZMD.jpg

फिस्टुला निवारणका लागि मार्गचित्र सार्वजनिक

काठमाडौँ, ११ जेठः स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले फिस्टुला निवारणका लागि मार्गचित्र (२०२४–२०३०) सार्वजनिक गरेको छ ।   
  
आज स्वास्थ्य सेवा विभागमा आयोजित कार्यक्रमबीच स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव, स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री हसिना खान, स्वास्थ्य सेवा विभागका महानिर्देशक डा सङ्गीता कौशल मिश्रालगायतले मार्गचित्र सार्वजनिक गर्नुभएको हो ।   
  
अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवसका अवसरमा मार्गचित्र सार्वजनिकीकरण कार्यक्रममा स्वास्थ्य सेवा विभागअन्तर्गतको परिवार कल्याण महाशाखा प्रमुख डा विवेकलाल कर्णले सन् २०१४ देखि सरकारले प्रसूति फिस्टुला रोकथाम तथा उपचारका लागि विभिन्न प्रयास गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “सन् २०३० सम्म निवारण गर्ने लक्ष्य लिएर मार्गचित्र बनाएका छौँ । ‘अब्सटे«टिक’ फिस्टुला पूर्णरूपमा रोकथाम गर्न सकिन्छ । मार्गचित्रका रणनीतिहरूमा रोकथामलगायत ‘स्क्रिनिङ’, उपचार र पुनःस्थापना ध्यान दिइनेछ ।”   
  
उहाँका अनुसार ‘अब्सटे«टिक’ फिस्टुला भनेको योनीबाट निरन्तररूपमा पिसाब वा दिसा दुवै चुहिने समस्या हो । लामो र कठिन प्रसव व्यथाको अवस्थामा, दक्ष प्रसूतिकर्मीबाट समयमा उपयुक्त सेवा नपाउनाले यस्तो समस्या हुने सम्भावना रहन्छ । गम्भीर प्रसव समस्यामध्ये एक फिस्टुलाको उपचारका अभावमा गम्भीर स्वास्थ्य समस्या, सामाजिक भेदभाव र परिवारबाट बहिस्कृत हुन सक्ने सम्भावना धेरै देखिने उहाँको भनाइ छ ।   
  
यो समस्याबाट वार्षिकरूपमा दुई सयदेखि चार सय नयाँ पीडित हुने गरेका र त्यो सङ्ख्या हाल नेपालमा चार हजार तीन सय रहेको मन्त्रालयको तथ्याङ्क छ ।   
  
नेपालका लागि संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या कोष (युएनएफपिए) का वन यङ हङले फिस्टुलाको समस्या भोगिरहेका महिलाले शारीरिक, मानसिकका साथै सामाजिक बहिष्करणसमेत भोगिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “यो निवारण गर्न सचेतना आवश्यक छ । आजैदेखि यसमा लगानी ग¥यौँ भने भोलिका दिनमा निवारण गर्न सहज हुनेछ ।”   
अन्तर्राष्ट्रिय फिस्टुला निवारण दिवस हरेक वर्ष मे २३ का दिन मनाइने गरिन्छ ।  

प्रकाशित मितिः शुक्रबार, ११ जेठ २०८१
https://jawaaf.com/storage/01HYK2YG6Z1RT2KEV4DXS901XW.png

पौडी खेल्ने क्रममा डुबेर दुई बालकको मृत्यु , तीनजनाको उद्धार

मङ्गलबारे (इलाम) I पौडी खेल्ने क्रममा डुबेर इलामको माई नगरपालिकाका दुई बालकको मृत्यु भएको छ । 

मृत्युहुनेमा माई–८का  ११ वर्षीय मिङसुहाङ लिम्बू र  सोही स्थानका आठ वर्षीय  किस्मन  आङदाम्बेको रहेको जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रभुप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार अन्य तीन जनाको उद्धार गरिएको छ ।   लिम्बूलाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।  

प्रकाशित मितिः बिहिबार, १० जेठ २०८१
https://jawaaf.com/storage/01HYFZTZBW0JBFG33CZ2A1WHPV.jpg

स्वास्थ्यमन्त्री यादवद्वारा वीर अस्पतालमा छड्के अनुगमन

काठमाडौं I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आज वीर अस्पतालमा छड्के अनुगमन गर्नुभएको छ । आज दिउँसो १ बजे मन्त्रीसहित सचिव डा रोशन पोखरेललगायत कर्मचारी अनुगमनमा सहभागी हुनभएको थियो ।   
  
मन्त्री प्रदीपले वीर अस्पतालको नयाँ भवनदेखि पुरानो भवनको अवलोकन गर्नुभयो । त्यसपछि नजिकै रहेको राष्ट्रिय ट्रमा सेन्टरको समेत अवस्था बुझ्न जानुभएको थियो । करिब तीन घण्टाको अनुगमनमा मन्त्री यादवले प्रत्यक्षरुपमा बिरामीलाई भेटेर अवस्थाका बारेमा जानकारी लिनुभएको थियो ।   
  
अस्पतालको अकस्मात कक्ष, ओपिटीमा सबैभन्दा बढी समस्या देखापरेको मन्त्री यादवले बताउनुभयो । “देशभरकै बिरामीको उपचारको केन्द्र रहेको अस्पताल व्यवस्थित हुुनुपर्छ”, उहाँले भन्नुभयो, “कतिपय कक्ष तथा सेवा व्यवस्थित नहुँदा बिरामीले दुःख पाउनुभएको छ । मुख्यतया जनशक्तिको अभाव देखिएको छ, यसले व्यवस्थापनमा समस्या देखिएको हो ।”   
  
मन्त्री यादवले अस्पतालको सेवा थप प्रभावकारी बनाउन जनशक्तिको व्यवस्थापन तुरुन्तै गरिने बताउनुभयो । शय्या अभावका कारण एउटै शय्यामा महिला र पुरुष राखेर उपचार गरेकोसमेत भेटिएको थियो ।   
  
अस्पतालमा आएका सर्वसाधारणले सेवासुविधामा भोग्नु परेको समस्या प्रत्यक्ष मन्त्रीसमक्ष राखेका थिए । अस्पतालको औषधि पसलमा घण्टौँ लाइन लागेका सर्वसाधाणलाई मन्त्री यादवले समस्या के छ ? भन्दै सोध्नुभएको थियो । औषधि पसलमा टोकन सिस्टम नहुँदा घण्टौँ लाइनमा बस्नुपर्ने बाध्यता रहेको सर्वसाधारणले सुनाउनुभएको थियो ।   
  
मन्त्री यादवले औषधि पसलको लाइन व्यवस्थापन गर्न तुरुन्तै टोकन सिस्टम ल्याउन अस्पतालका उपकुलपति डा भूपेन्द्र बस्नेतलाई निर्देशन दिनुभयो । त्यस्तै, सर्वसाधारणले स्वास्थ्य बीमामार्फत औषधि नपाएको गुनासो गर्नुभएको थियो ।   
  
डा भूपेन्द्रले अनुगमनकै क्रममा सर्वसाधारणमाँझ औषधि अभाव भएको स्वीकार गर्दै औषधि ल्याउने प्रक्रियामा रहेको र दुई साताभित्र स्वास्थ्य बीमाको औषधि आइपुग्ने जानकारी दिनुभयो । “औषधीको अभाव छ, हामी स्वीकार गर्छौं”, उहाँले भन्नुभयो, “दुई सातभित्र औषधि अभाव पूर्ति गरेसँगै बीमासम्बन्धी हेर्ने छुट्टै डेस्कको व्यवस्थापन समेत मिलाउने छौँ ।”   
  
मन्त्री यादवले अनुगमनका क्रममा वीर अस्पतालको पछाडि थुप्रिएका प्रयोगविहीन भौतिक सामग्रीको तुरुन्तै व्यवस्थापन गर्न समेत निर्देशन दिनुभएको थियो ।  

प्रकाशित मितिः बुधबार, ०९ जेठ २०८१
https://jawaaf.com/storage/01HY61T05XT7NJRN4C22MX9E52.jpg

फोर्ब्सद्वारा प्रकाशित सु ब्रिजम्यानको ‘द सीक्यू एज’ नेपालमा सार्वजनिक

काठमाडौँ  I सु ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । यहाँ आयोजित एक कार्यक्रममा लेखक ब्रिजम्यानको उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो । अन्तर्राष्ट्रिय प्रकाशन ‘फोर्ब्स बुक्स’द्वारा प्रकाशित उक्त पुस्तक आत्मविश्वास अभिवृद्धि, चिन्ता निवारण, प्रभावकारी सञ्चार र बौद्धिकता कसरी बढाउने भन्ने विषयमा केन्द्रित छ ।     
     
“पुस्तक सांस्कृतिक बौद्धिकता कसरी अभिवृद्धि गर्ने, कुशल वक्ता कसरी बन्ने विषयका लागि मार्गदर्शक बन्नेछ”, लेखिका सुले भन्नुभयो, “आत्मविश्वास अभिवृद्धि, प्रभावकारी सञ्चारका लागि सहयोगी हुने विश्वास लिएकी छु ।”     
     
एघार अध्याय रहेको पुस्तक कुशल वक्ता बन्न चाहनेका लागि मार्गदर्शक बन्नेमा लेखक सुले विश्वास व्यक्त गर्नुभयो । “सम्भाषण कला, आत्मविश्वास अभिवृद्धि, प्रस्तुतिको शैलीलाई प्रभावकारी बनाउनका लागि पुस्तक सहयोगी बन्न सक्छ”, उहाँले भन्नुभयो । प्रभावकारी सञ्चारमार्फत कुनै पनि व्यक्तिमा निहित अथाह सम्भावना प्रस्फुटन गराउन सकिने भन्दै उहाँले यस पुस्तक सहयोगी हुने बताउनुभयो ।     
     
लेखक सुले पुस्तकमा आत्मविश्वास बढाउने शैली, सञ्चार शैली प्रभावकारी कसरी बनाउने भन्ने विधि उल्लेख गर्नुभएको छ । सरल सुझाव र सजिलो लेखन शैलीको पुस्तकमा व्यक्तिगत र व्यावसायिक क्षमता अभिवृद्धिका लागि अन्तर–सांस्कृतिक सीप बढाउन चाहनेका लागि उपयोगी मानिएको छ ।     
     
‘स्पिकफ्लुएन्स ग्लोबल’ संस्थाको संस्थापक एवं प्रबन्ध निर्देशकका साथै अधिवक्ता समेत रहनुभएकी लेखक सु ल सोसाइटी अफ अपर क्यानडाको सदस्य हुनुहुन्छ । उहाँ पछिल्लो दुई दशकयता आफ्नो व्यवसायिक अनुभवका आधारमा सकारात्मक सोच प्रबर्द्धनमा सक्रिय हुनुहुन्छ ।   

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY61J4HKC1FZG055R0DZRQNY.jpg

स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सरकार प्रतिबद्धः स्वास्थ्यमन्त्री यादव

पर्सा I स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले देशभरिका सरकारी स्वास्थ्य संस्थाको गुणस्तरमा सुधार ल्याउन सरकार प्रतिबद्ध रहेकोे बताउनुभएको छ । जनता समाजवादी पार्टी पर्साले आज वीरगञ्जमा आयोजना गरेको सम्मान तथा अगुवा कार्यकर्ता भेलामा उहाँले सरकारी अस्पतालबाट वितरण गरिने औषधोपचार सेवाको गुणस्तरसँगै अवश्यकताका आधारमा सरकारी अस्पतालमा विशेषज्ञ सेवासमेत सञ्चालन गर्ने सोचका साथ नेपाल सरकार अगाडि बढिरहेको बताउनुभयो ।     
      
मन्त्री यादवले वीरगञ्जको नारायणी अस्पतालको बजेट बढाउने तयारी भइरहेको पनि जानकारी दिनुभयो । उहाँले नारायणी अस्पतालमा चाँडै क्यान्सर रोगीको उपचारको व्यवस्था गर्ने तयारीमा समेत सरकार रहेको बताउनुभयो ।     
      

पर्साको बहुदरामाई नगरपालिकाका नगरप्रमुख तथा पार्टीका नेता सिङ्घासन साहको अध्यक्षतामा सम्पन्न कार्यक्रम्ममा जसपा मधेस प्रदेशका संयोजक अशोक यादव, वीरगञ्ज महानगरपालिकाका प्रमुख तथा पार्टीका केन्द्रीय सदस्य राजेशमान सिंहलगायतका वक्ताले धारणा राख्नुभएको थियो ।     
 

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY5NAZWT0VQCDFRFV4NTFWVC.jpg

सन्तानब्बे वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया

भरतपुर I चितवनमा ९७ वर्षीया वृद्धाको स्तन क्यान्सरको सफल शल्यक्रिया गरिएको छ । म्याग्दी स्थायी घर भई हाल चितवनको वीरेन्द्रनगर बस्दै आउनुभएकी तमिसरा पुन मगरको भरतपुरस्थित नारायणी सामुदायिक अस्पतालले सफल शल्यक्रिया गरेको हो । शुक्रबार बिहान डा भक्तमान श्रेष्ठ नेतृत्वको चिकित्सकको टोलीले सफल शल्यक्रिया गरेको अस्पतालले जनाएको छ । 

वृद्धावस्थाको यो उमेर समूहमा स्तन क्यान्सरको शल्यक्रिया पहिलोपटक गरिएको डा श्रेष्ठले बताउनुभयो । उहाँले भन्नुभयो, “९७ वर्षका वृद्धालाई शल्यक्रिया गरिएको चितवनमा पहिलोपटक हो, मेरो जानकारीमा भएसम्म नेपालमै पहिलो हुनुपर्दछ ।” सामान्यतया ७० वर्ष उमेर नाघेपछि शल्यक्रिया गर्न उच्च जोखिम मानिन्छ । ८० वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई शल्यक्रिया गर्नु चरम जोखिम मानिन्छ । 

डा श्रेष्ठ वरिष्ठ क्यान्सर सर्जन हुनुहुन्छ । उहाँले २०५० सालदेखि शल्यक्रिया गर्दै आउनुभएको छ । यसअघि ८३ वर्ष उमेर समूहको मानिसको शल्यक्रिया गरेको उहाँको अनुभव छ  । डा श्रेष्ठको नेतृत्वको चिकित्सक र स्वास्थ्यकर्मीको टोलीले करिब एक घण्टा पाँच मिनेट लगाएर शल्यक्रिया गरेको थियो । उपचारमा डा सुरेश गौतम, डा इन्द्रनारायण श्रेष्ठ, डा रवीन्द्र केसी, डा सागर भुसाल, डा सुधीर रेग्मी, डा मणिप्रसाद गौतम, डा किशोर गौतम र नर्सहरु निरु आलेमगर, मुना श्रेष्ठ, शिल्पा पोखरेललगायतको संलग्नता रहेको थियो । अहिले वृद्धाको अवस्था सुधारोन्मुख रहेको श्रेष्ठले बताउनुभयो । “जोखिम लिएर शल्यक्रिया गरेका थियौँ, बेहोस बनाउने चिकित्सकहरु पनि डर मानिरहनुभएको थियो, हामीलाई उहाँहरुले शल्यक्रिया गर्न डेढ घण्टाको समय दिनुभएको थियो, त्यसमा हामी सफल भयौँ,” उहाँले भन्नुभयो, “शल्यक्रिया गरेको पाँच मिनेटमै होसमा आउनुभयो ।” 

तमिसराको स्तनमा गिर्खा देखिएपछि उपचारका लागि अस्पताल आउनुभएको थियो । परीक्षणका क्रममा क्यान्सर पुष्टि भएपछि परिवारको सल्लाहमा शल्यक्रिया गरिएको डा श्रेष्ठले बताउनुभयो । वृद्धाको स्तनमा दुई दशमलब पाँच सेन्टिमिटरको गिर्खा थियो । 

“अहिले सिटिस्क्यानको रिपोर्टअनुसार उहाँ क्यान्सरमुक्त हुनुहुन्छ, इमियुनो हिस्टो केमेष्ट्री (आइएचसी) परीक्षणका लागि नमूना भारत पठाएका छौँ”, उहाँले भन्नुभयो, “उहाँले ९७  वर्षको उमेर समूहमा भएको सफल शल्यक्रियाले आफूलाई खुसी र उत्साहित बनाएको अनुभव सुनाउनुभयो ।”  

प्रकाशित मितिः शनिबार, ०५ जेठ २०८१
https://jawaaf.com/storage/01HY32KMSMHCH74F8TGY5CHECE.jpg

‘उच्च रक्तचाप नियन्त्रणमा राख्नसके दीर्घकालीन असरबाट बच्न सकिन्छ’

चितवन I उच्च रक्तचापलाई नियन्त्रणमा राख्नसके यसबाट हुने दीर्घकालीन असरबाट बच्न सकिने चिकित्सकहरुले बताएका छन् । यो रोग नभएर रोगको कारक भएको भन्दै रक्तचापलाई नियन्त्रणमा राखेर सहज जीवनयापन गर्न सकिने बताएका हुन् । उच्च रक्तचापले शरीरका विभिन्न महत्वपूर्ण अङ्गमा असर पु¥याउने भएकाले नियमित परीक्षण गर्न चिकित्सकले सुझाव दिएका छन् ।
 
चितवन मेडिकल कलेज शिक्षण अस्पतालका मुटुरोग विशेषज्ञ प्रा डा श्यामराज रेग्मीले उच्च रक्तचाप नियन्त्रण गर्नसकेमा दीर्घकालीन असरबाट बच्न सकिने बताउनुभयो । उच्च रक्तचापलाई हल्कारुपमा नलिन सुझाव दिँदै उहाँले नियमित परीक्षण गर्न आमनागरिक सचेतना अभिवृद्धि गर्नुपर्नेमा जोड दिनुभयो ।  

डा रेग्मीले भन्नुभयो, “उच्च रक्तचाप नियन्त्रणमा लिन सकिएन भने मिर्गाैला, मुटु, मस्तिस्क, आँखालगायत अङ्गहरुमा असर गर्दछ ।” वंशाणुगत र मोटोपनबाट उच्च रक्तचाप हुने भन्दै उहाँले चिकित्सकले सुझाएअनुसार नियमित औषधि सेवनबाट नियन्त्रणमा राख्न सकिने बताउनुभयो ।
 
“उच्च रक्तचाप भएका व्यक्तिले मुख्यरुपमा नुनको सेवनमा विशेष ध्यान दिनुपर्छ । सकेसम्म नुन कम खानु उपयुक्त विकल्प हो”, डा रेग्मीले भन्नुभयो । उच्च रक्तचापले मस्तिस्क घातसम्म हुनसक्ने भन्दै आँखामा असर गरे अन्धो, मुटुमा असर गरे हृदयाघात र मिर्गाैला खराब गराउनसक्ने उहाँको भनाइ छ । मिर्गाैला बिग्रँदा पनि उच्च रक्तचापको जोखिम रहने उहाँले जानकारी दिनुभयो । 

चितवन मुटु अस्पतालका मुटुरोग विशेषज्ञ डा शङ्कर लौडारीले उच्च रक्तचाप आफू रोग नभएर रोगको कारक भएको बताउनुभयो । उहाँले उच्च रक्तचाप समयमा नियन्त्रण गर्न नसकेको खण्डमा कालन्तरमा शरीरका विभिन्न अङ्गहरुलाई असर पार्ने बताउनुभयो ।
 
“मधुमेहलाई रोग पनि मान्छौँ, कारक पनि मान्छौँ । उच्च रक्तचाप आफैँ रोग होइन, रोगको कारक मानिन्छ”, डा लौडारीले भन्नुभयो, “यसले मुटुमा असर पार्ने, हृदायघात र हर्टफेलियर पनि गराउन सक्छ । मुटुबाट निस्कने ठूला–साना जुनसुकै रक्तनलीलाई असर पार्नसक्ने भएकाले स्टक (मस्तिष्कको पक्षघात) लगायतका अन्य समस्या हुन सक्छन् ।”
 
रक्तचाप मापन गरेको ठीक छ कि छैन भन्ने कुरा महत्वपूर्ण हुने भन्दै डा लौडारीले रक्तचाप मापनका आफ्नै नियम (प्रोटोकल) हुने बताउनुभयो । हतारमा अस्पताल पुग्ने बित्तिकै रक्तचाप नाप्न नहुने सुझाव दिँदै उहाँले भन्नुभयो, “अस्पताल पुगेको १० देखि १५ मिनेट आराम गरेपछि, कुर्चीमा ढाड सिधा हुने गरी आड लगाएर, खुट्टा भुइँमा राखेर रक्तचाप नाप्नु पर्दछ ।” रक्तचाप नाप्नुभन्दा एक घण्टाअघिदेखि चिया, कफी, चुरोट, मदिरा सेवन गर्न नहुने उहाँको भनाइ छ ।
 
एक पटक रक्तचाप उच्च (हाई) देखियो भन्दैमा तुरुन्त औषधि खान सुरु गर्न नहुने डा लौडारीले बताउनुभयो । “रक्तचाप उच्च देखियो भने १५ देखि २० मिनेटमा पुनःपरीक्षण गर्ने, अर्काे दिन पनि परीक्षण गरेर एकिन गर्नुपर्छ”, उहाँले थप्नुभयो ।
 
पोटासियमयुक्त खानेकुराले रक्तचापलाई नियन्त्रणमा राख्ने भन्दै मुटुरोग विशेषज्ञ डा लौडारीले फलफूल र सागपातमा पोटासियम पाइने भएकाले नियमित खान सुझाव दिनुभयो । नियमित चुरोट, खैनी, सूर्ती, मदिरा सेवनले रक्तचाप बढाउने जनाउँदै उहाँले बाहिरका पत्रुखाना र प्रदूषणसँगै स्टेस (तनाव) ले पनि उच्च रक्तचाप बढाउने बताउनुभयो ।

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१
https://jawaaf.com/storage/01HY20VC4Q4QBWYRCE4WFHPVP9.jpg

आगामी दुई दिन गर्मी बढ्ने, सावधानी अपनाउन आग्रह

काठमाडौँ I विगत केही दिनदेखि देशका अधिकांश भूभागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रूपमा वृद्धि भइरहेको छ । आगामी दुई दिन अत्यधिक गर्मी हुने र तातो हावा चल्ने जोखिम रहेको जनाउँदै जल तथा मौसम विज्ञान विभागले सावधानी अपनाउन अनुरोध गरेको छ ।   
  
विभागले बिहीबार अपराह्न जारी गरेको ‘तातो दिन तथा तातो लहरसम्बन्धी विशेष बुलेटिन’ अनुसार तराईमा धेरै गर्मी र हावासमेत तातो हुनेछ । “विगत केही दिनदेखि देशका अधिकांश भागको अधिकतम तथा न्यूनतम तापक्रम क्रमिक रुपमा वृद्धि भइरहेको देखिन्छ ।सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागका केही स्थानमा विगत केही दिनदेखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सोभन्दा बढी मापन गरिएको छ, ” बुलेटिनमा भनिएको छ ।   
  
आगामी केही दिनसम्म देशभरको तापक्रमको अवस्थाको विश्लेषणअनुसार तराईका भूभागमा अत्यधिक गर्मीको सम्भावना रहकाले आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।   
  
साथै विभागले तातो लहरको असरबाट बच्न गर्मीको समयमा घरभित्र नै रहन, घरबाहिर नजान, हलुका र सुतीका कपडा लगाउन, घरबाहिर निस्कँदा टाउको छोप्ने, टोपी लगाउने, नियमित र पटक –पटक पानी तथा झोल पदार्थ पिउने सुझाव दिएको छ ।   
  
तातो हावा तथा तातो लहर (लू)बाट थकाई लाग्ने, कमजोरी हुने, बढी तिर्खा लाग्ने, टाउको दुख्ने, खुट्टा बाउँडिने, चक्कर आउने, बेहोस हुने, मांसपेसीहरू दुख्ने, बान्ता हुनसक्ने भएकाले लूबाट बच्न सुझाएको छ ।   
  
  
 

प्रकाशित मितिः शुक्रबार, ०४ जेठ २०८१