झापाको कचनकवल गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा
बनियानी (झापा) I झापाको कचनकवल गाउँपालिकाले यहाँका पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको छ । गाउँपालिकावासीमा स्वास्थ्य सेवामा पहुँच अभिवृद्धि गर्ने उद्देश्यले गाउँपालिकाले पाँच सय परिवारको निःशुल्क स्वास्थ्य बीमा गरेको हो । गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले पालिकाको नीति तथा कार्यक्रममै बजेट विनियोजन गरेर चालु आर्थिक वर्षमा पाँच सय परिवारको निःशुल्क बीमा गरिएको जानकारी दिनुभयो ।
“अघिल्लो वर्ष एक हजार परिवारको बीमा गरेका थियौँ”, उहाँले भन्नुभयो, “यहाँ आर्थिक रूपले विपन्न परिवारको बसोबास धेरै छ, उहाँहरूमा स्वास्थ्य सेवाको पहुँच बढाउन गाउँपालिकाले स्वास्थ्य बीमालाई प्राथमिकतामा राखेको छ ।”
गत वर्ष गरिएका एक हजार परिवारले नवीकरण गर्दा बीमा शुल्कको २५ प्रतिशत रकम बुझाउनुपर्ने उहाँले बताउनुभयो । कचनकवलले अतिविपन्नसँगै पालिकाभित्रका गर्भवती महिलाको समेत निःशुल्क स्वास्थ्य बीमा गर्ने गरेको छ ।
कचनकवल गाउँपालिकामा वार्षिक सामाजिक सुरक्षा भत्तामार्फत रु पाँच करोड ९५ लाखभन्दा बढी खर्च हुने गरेको अध्यक्ष राजवंशीले बताउनुभयो । गाउँपालिकामा चार हजार तीन सय चारजनाले सामाजिक सुरक्षा भत्ता लिँदै आएका छन् । चालु आवको चौथो त्रैमासिकसम्ममा सामाजिक सुरक्षा भत्ता पाउनेको सङ्ख्या चार हजार तीन सय चार पुगेको गाउँपालिकाले जनाएको छ ।
सरकारले प्रदान गर्ने आठवटा ‘क्लस्टर’का एक हजार सात सय ४१ पुरुष र दुई हजार पाँच सय ७३ महिलाले सामाजिक सुरक्षा भत्ता प्राप्त गरेका छन् ।
एउटा झुलले प्रमुदित दलित बस्तीकी दुखी सदाय
सिरहा I लामखुट्टेले लहानमा कतिसम्म सताएको छ, त्यसको पीडा यहाँका दलित तथा विपन्न समुदायले भोगेका छन् । बिहान बेलुकाको छाक कसरी टार्ने भन्ने समस्यामा रहेका उनीहरू झुलबिनै रात बिताउन बाध्य छन् ।
। चरम गरिबीमा रहेकी लहान नगरपालिका–१५ की दुखी सदाय मङ्गलबार एकाएक हर्षित हुनुभयो– कारण थियो नगरपालिकाले उहाँलाई निःशुल्क प्रदान गरेको झुल । “बिहान–बेलुका छाक टार्ने टुङ्गो छैन, कहाँबाट झुल किन्न सक्नु र हजुर ! दिनभरि ज्याला मजदुरी गरेर जीविका चलाउँदै आएकी छु । एक दिन काम नगरे भोकै बस्नुपर्ने हुन्छ”, आफ्नो दुःख बिसाउँदै उहाँले भन्नुभयो ।
सोही वडाकी ललितदेवी सदायले पनि झुल प्राप्त गरेपछि हर्ष प्रकट गर्दै भन्नुभयो “हामी गरिबका लागि पनि सरकार रहेछ । मेयरसा’बलाई धेरै धन्यवाद ।” गर्मीयाम सुरु भएसँगै लामखुट्टेबाट नगरवासीलाई जोगाउन ललितदेवी, दुखी सदायजस्तै यहाँका दलित तथा विपन्न समुदायका परिवारलाई झुल वितरण अभियान नगरपालिकाले सुरु गरेको छ । मङ्गलबार वडा नं १५ ढोढ्नाबाट दुई सय ७५ दलित तथा विपन्नलाई झुल वितरण गरिएको नगरप्रमुख महेशप्रसाद चौधरीले राससलाई जानकारी दिनुभयो ।
‘एक घर, एक झुल’ अभियान सञ्चालन गरी नगरपालिकाभित्रका गरिब, मजदुर तथा विपन्न परिवारलाई मलेरिया, डेङ्गुलगायत अन्य प्राणघातक रोगबाट बचाउन आफू लागिपरेको नगरप्रमुख चौधरीले बताउनुभयो । “गर्मी र वर्षात्को मौसम सुरु भएपछि लामखुट्टेको प्रभाज बढेको छ । उनीहरूलाई बिरामी हुनबाट जोगाउन नगरपालिकाको तर्फबाट झुल वितरण गरेका हौँ”, उहाँले भन्नुभयो, “एउटा झुल पर्याप्त नभए पनि समुदायमा लामखुट्टेको टोकाइबाट लाग्ने प्राणघातक रोगबाट बच्न झुल लगाउनुपर्छ भन्ने चेतना जागृत हुनेछ । स्थानीयको मागअनुसार नै झुल वितरण गरिएको हो ।”
नगरप्रमुख चौधरीका अनुसार नगरका २४ वटै वडाका गरिब, विपन्न र दलित परिवारलाई पालैपालो झुल वितरण गरिने छ । वडा सदस्य तथा नगरपालिका न्यायिक समितिको सदस्य रामकुमारी दासले झुल वितरण अभियानले दलित समुदायका बालबच्चा तथा महिलालाई सुरक्षित राख्न मद्दत पुग्ने बताउनुभयोे ।
एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको शल्यक्रिया
खोटाङ I नेत्रज्योति सङ्घ खोटाङले दिक्तेलमा आयोजना गरेको तीनदिने निःशुल्क आँखा शल्यक्रिया शिविरमा एक सय दुई वर्षीय वृद्धसहित एक सय ४३ जनाको आँखाको सफल शल्यक्रिया भएको छ ।
गत वैशाख २९–३१ गतेसम्म सञ्चालन भएको शिविरमा दिप्रुङ चुइचुम्मा गाउँपालिका–७ टेम्माका सहरमान विश्वकर्मासहित एक सय ४३ जनाको मोतियाविन्दुको शल्यक्रिया र ३६ जनाको शल्यक्रिया गरिएको हो । चार वर्षदेखि पूर्ण रूपमा देख्न छाड्नुभएका विश्वकर्माले शल्यक्रियापछि पुनः दृष्टि प्राप्त गरेको राससलाई बताउनुभयो ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकासँगको सहकार्य तथा सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक सहयोगमा सञ्चालित शिविरमा १४ जना स्वास्थ्यकर्मीको टोलीले सेवा प्रवाह गरेको हो ।
नगरपालिका, नेत्रज्योति सङ्घ खोटाङ र आँखा उपचार केन्द्र दिक्तेलले वडा–वडामा पुगेर आँखा जाँच गर्दा शल्यक्रिया गर्नुपर्ने अवस्था देखिएका बिरामीलाई लक्ष्यगरी निःशुल्क आँखा शल्यक्रिया शिविर सञ्चालन गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले बताउनुभयो । शिविरमा तीन सय ७३ जनालाई निःशुल्क चश्मा तथा छ सय ५० जनालाई निःशुल्क औषधि वितरण गरिएको थियो ।
खोटाङको जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना
खोटाङ I दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा पाँच शय्याको ‘जनसेवा नगर अस्पताल’ स्थापना भएको छ । अस्पताल स्थापनासँगै विशेषज्ञ डाक्टरबाट सेवा प्रवाह भएको छ ।
जनसेवा समाज नेपाल जालपाले सञ्चालन गर्दै आएको १५ शय्याको जनसेवा सामुदायिक अस्पताललाई नगर अस्पतालमा रुपान्तरण गरेर सेवा प्रवाह गरिएको वडा नं.–१२ का अध्यक्ष दानबहादुर राईले बताउनुभयो ।
जालपाका स्थानीयले २०६९ सालमा चन्दा सङ्कलन तथा श्रमदान गरेर स्थापना गरेको १५ शय्याको सामुदायिक अस्पतालको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेर सोही ठाउँमा नगर अस्पताल सञ्चालन गरिएको हो ।
जनसेवा सामुदायिक अस्पतालको नाममा रहेको चार रोपनी एक आना दुई दाम जग्गामा निर्माण गरिएका भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ध्रुव श्रेष्ठले राससलाई जानकारी दिनुभयो । जालपामा सञ्चालित स्वास्थ्य चौकीको सेवासमेत सोही नगर अस्पतालबाट प्रवाह गर्नेगरी एकीकृत गरिएको जनाइएको छ ।
जनसेवा सामुदायिक अस्पताल व्यवस्थापन समितिले नगरपालिकालाई रु तीन करोड ५० लाख बढीको भौतिक संरचना तथा उपकरण नगरपालिकालाई हस्तान्तरण गरेपछि बुधबारदेखि सेवा प्रवाह प्रारम्भ भएको हो ।
निकट भविष्यमा १५ शय्यामा स्तरोन्नति गर्नेगरी स्थापना गरिएको नगर अस्पतालको उद्घाटन पूर्वसांसद टङ्क राई, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख तीर्थराज भट्टराई र प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले संयुक्तरूपमा सेवा प्रारम्भ गर्नुभएको हो ।
यसैबीच, नगर अस्पताल स्थापनाका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र जनसेवा सामुदायिक अस्पताल जालपाबीच भएको दुई पक्षीय सम्झौतापत्र आदानप्रदान भएको छ । सम्झौतापत्रमा नगर प्रमुख भट्टराई र सामुदायिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।
नगर अस्पतालमा सेवा प्रारम्भ भएको अवसरमा निःशुल्क स्वास्थ्य शिविरसमेत आयोजना गरिएको थियो । नगरपालिका र करुणा फाउण्डेशन नेपालले संयुक्तरुपमा आयोजना गरेको शिविरमा एक सय २४ जनाले सेवा लिएका नगर स्वास्थ्य शाखा प्रमुख खेमराज आचार्यले बताउनुभयो ।
कीर्तिपुर बस दुर्घटनामा एकको मृत्यु, तीन घाइते
काठमाडौँ I काठमाडौँको कीर्तिपुरमा आज भएको बस दुर्घटनामा एक जनाको मृत्यु भएको छ । अन्य तीन जना घाइते भएका छन् ।
कीर्तिपुर-रत्नपार्क चल्ने बा ३ ख २०२७ नम्बरको यात्रुबाहक बस अचानक कीर्तिपुर आयुर्वेदिक अस्पताल अगाडि दुर्घटना हुँदा वर्ष ४२ का ठेगाना नखुलेका डा गोविन्द रिजालको मृत्यु भएको काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रवक्ता, वरिष्ठ प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिनुभयो ।
उहाँका अनुसार आज २ः४५ बजे भएको उक्त दुर्घटनामा गम्भीर घाइते भएका रिजालको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा अपराह्न मृत्यु भएको हो । अन्य तीन घाइतेको उपचार भइरहेको छ । घाइते हुनेहरुमा बैतडी घर भई कीर्तिपुर बस्ने वर्ष २४ का डम्बर पन्त, वर्ष २४ की बिमला श्रेष्ठ र बसका चालक वर्ष २७ का रमेश लामा छन् । लामालाई थप उपचारका लागि ट्रमा सेन्टर ल्याइएको छ ।
अत्यधिक गर्मीका कारण अस्पतालमा बिरामीको चाप बढ्दो
चितवन I गर्मी अत्यधिक बढेपछि जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । गर्मीका कारण ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, भाइरल ज्वरोका बिरामी बढ्न थालेका हुन् । यहाँको सरकारी भरतपुर अस्पतालमा विगतमा आइतबार देखि मङ्गलबारसम्म दुई हजार हाराहारी र बुधबार देखि शुक्रबारसम्म एक हजार छ सय हाराहारी हुने बिरामी अहिले दैनिक दुई हजार देखि दुई हजार दुई सयसम्म पुग्ने गरेका छन् ।
अस्पतालका प्रवक्ता डा रामप्रसाद सापकोटाका अनुसार विगत एक साता देखि बिरामीको चाप बढ्न थालेको हो । मौसममा आएको परिवर्तनसँगै बिरामीको चाप बढ्दै गएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामीको चाप व्यवस्थापन गर्न कठिन हुने स्थित आउन थाल्यो ।” अन्य समयको तुलनामा यो समयमा बिरामीको चाप सामान्य बढ्ने भए पनि अहिले सङ्ख्यात्मकरुपमा केही बढी देखिन थालेको छ ।
लामो समयसम्म वर्षा नहुदा विभिन्न किसिमका बिरामीको चाप बढेको छ । अस्पताल आउने बिरामीको चापलाई मध्यनजर गर्दै अस्पतालले आइतबार देखि टिकट काउन्टर थप गर्न लागेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “बिरामीको चाप व्यवस्थापन गर्न टिकट काउन्टर दुई वटा थप्ने योजनामा अस्पताल रहेको छ ।”
नियमित अस्पताल आउने बाहेक अहिले भाइरल ज्वरो, टाइफाइड, डेङ्गु, मलेरिया, झाडापखाला लगायतका बढीमात्रामा छन् । उनीहरुलाई लक्षित गर्दै अस्पतालले नियमित जाँचका लागि आउने बिरामीको टिकट काउन्टर थप गर्न लागेको हो । बहिरङ्ग सेवामा आउने बिरामीको सङ्ख्या बढ्दो क्रममा छ ।
गत माघ देखिको तथ्याङ्क हेर्ने हो भने अस्पतालको बहिरङ्ग सेवामा उपचारका लागि आउने बिरामीको चाप बढ्दो क्रममा रहेको छ । माघमा ३२ हजार, फागुनमा ३४ हजार पाँच सय, चैतमा ३६ हजार दुई सय र वैशाख २० गते सम्म २४ हजार आठ सय बिरामीले सेवा लिएका छन् ।
अहिले जिल्लाको तापक्रम ४० डिग्री हाराहारीमा रहेको छ । उहाँले आमसर्वसाधारणलाई नियमित झोलिलो पदार्थ सेवन गर्न समेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “अहिलेको समयमा पानी, झोलिलो पदार्थ नियमित सेवन गरौँ ।” सामान्य समस्या देखिए चिकित्सकको परामर्शमा आउन समेत उहाँले आग्रह गर्नुभयो ।
अहिले अस्पतालले तीन वर्ष मुनिका र ज्येष्ठ नागरिकका लागि छुट्टै काउन्टर स्थापना गरेको छ । यो सँगै नियमित औषधि सेवन गर्ने बिरामीका लागि अस्पतालमा परार्मश कक्षको स्थापना गरी चिकित्सकले परामर्श दिँदै आएको उहाँले बताउनुभयो ।
चितवन मेडिकल कलेजका प्रमुख कार्यकारी अधिकृत प्रताप देवकोटाले पछिल्ला दिनमा बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । उहाँले चैतमा भन्दा वैशाख लागे सँगै बिरामीको सङ्ख्या बढ्दै गएको बताउनुभयो । गर्मी बढ्दै जाँदा बिरामीको सङ्ख्या अझै बढ्नसक्ने भन्दै उहाँले सर्वसाधारणलाई सचेतता अपनाउन आग्रह गर्नुभयो ।
सबैभन्दा प्रदूषित सहर काठमाडौँ बन्यो
काठमाडौँ I काठमाडौँ आज फेरि वायु प्रदूषणको हिसाबले विश्वकै पहिलो प्रदूषित सहरका रुपमा सूचीकृत भएको छ । ‘एयर क्वालिटी इन्डेक्स’ को आजको तथ्याङ्क अनुसार समग्र वायु गुणस्तर सूचकाङ्क (एक्युआई) एक सय ६२ पुगेको छ ।
एयर क्वालिटी इन्डेक्स’ का अनुसार दोस्रो प्रदूषित सहरका रुपमा थाइल्याडको चियाङ माई सहर सूचीकृत भएको छ । यसैगरी इन्डोनेसियाको मेदान तेस्रो प्रदूषित सहरका रुपमा सूचीकृत रहेको छ ।
सुक्खा यामसँगै बढ्दै गइरहेको तापक्रम वृद्धिसँगै मुलुकको विभिन्न स्थानमा लागेको वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको हो । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज ३९ जिल्लाका एक सय ६५ स्थानमा वन डढेलो लागिरहेको छ ।
डढेलोविद् सुन्दर शर्माले मुलुकको विभिन्न स्थानमा लागिरहेको वन डढेलोसँगै प्रदूषण पनि बढिरहेको जानकारी दिनुभएको छ । “वनमा लागिरहेको डढेलोका कारण अहिले वायुप्रदूषण बढेर काठमाडौँ लगायतका मुख्य सहरका हावा अस्वस्थ बनेको छ”, उहाँले भन्नुभयो, “केही समय पानी नपरे वन डढेलो पनि नियन्त्रणमा ल्याउन गाह्रो हुने र प्रदूषण अझै बढ्ने खतरा रहेको छ ।” तर जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार केही स्थानमा छिटपुट वर्षा भए पनि तत्कालका लागि राम्रो वर्षाको सम्भावना छैन ।
विपत् व्यवस्थापनविद् डा धर्मराज उप्रेतीका अनुसार ० देखि एक्युआई ५० राम्रो अर्थात् ग्रीन सिङ्गलले चिनिन्छ । “५१ देखि एक सयसम्मको एक्युआइलाई होसियार रहुँ अथवा पहेंलो सङ्कतले चिनिन्छ । यसैगरी एक सय एक देखि एक सय ५० सम्मलाई अस्वस्थ जसमा श्वासप्रश्वास र मुटुरोगीका बिरामीलाई असर गर्छ भन्ने बुझिन्छ”, उहाँले भन्नुभयो, “एक सय ५१ देखि दुई सयदेखिको एक्युआइलाई पनि अस्वस्थ तर सबैलाई असर गर्छ भन्ने बुझिन्छ । २०१ देखि ३०० सयलाई धेरै अस्वस्थ्यका रुपमा लिइन्छ र तीन सय एक देखि चार सयलाई खतरनाक र ४०१ देखि ५० लाई धरै खतरा मानिएको छ ।”
बढ्दो वन डढेलोका कारण वायुप्रदूषण पनि बढिरहेको भन्दै वन डढेलो जतिसक्दो छिटो नियन्त्रण गर्न नसके प्रदूषण बढेर आपत्कालीन अवस्थामा पुग्ने बताउनुहुन्छ वातावरण अभियन्ता राजन थापा । काठमाडौँ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना, २०७६ ले पनि नेपाल सरकारले निर्धारण गरेको एक्युआइको मान ३०० भन्दाबढी भएको अवस्थालाई विपद्का रुपमा लिने बताएको छ । यो विपद् रोक्नका लागि कार्ययोजनामा फोहर बाल्ने कार्य रोक्ने, सडक सफा गर्न ब्रमुर तथा भ्याकुमको प्रयोग व्यापक गर्ने, बालबालिका, ज्येष्ठ नागरिक, बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्न कार्ययोजनामा उल्लेख गरिएको छ ।
दुर्घटनाका घाइते भन्छन्- गाडी पार्किङ गर्न खोज्दा पल्टियो
१८ वैशाख, धरान I धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको शय्यामा भोजपुर आमचोक–१० की सरस्वती राई उपचार गराइरहनुभएको छ । सोमबार पारकुवामा भएको दुर्घटनामा उहाँको खुट्टा र निधारमा चोट लागेको छ । उहाँ भोजपुरबाट धरान फर्कने क्रममा जीपमा सवार हुनुहुन्थ्यो । “गाडीमा समस्या थियो जस्तो लाग्दैन, पारकुवामा चालकले पार्किङ गर्न खोज्दा खै के भयो गाडी पल्टियो”, शय्याबाटै उहाँले सुनाउनुभयो, “पार्किङ गर्न लागेको गाडी एक्कासी पल्टिएर तल खस्यो । हाम्रो होस हवास गुम्यो ।”
हिजो बिहान भोजपुरको आमचोक गाउँपालिका बालङ्खाबाट पारकुवा मैयुङटार आउँदै गरेको बोलेरो जिप पारखुवामा पार्किङ गर्न खोज्दा पौने १० बजे दुर्घटना हुँदा दुई जनाको मृत्यु भइसकेकोछ भने १२ जना घाइते भएका थिए । को २ ज २६१७ नम्बरको जिप सडकबाट करिब ५० मिटर तल खसेको भोजपुर दुङमानास्थित प्रहरी चौकीले जनाएको छ । जिपमा छ महिनाको बच्चासहित जम्मा १४ यात्रु सवार थिए । दुर्घटनामा घाइेत राई जस्तै १२ जनाको सोही अस्पतालमा उपचारका लागि ल्याइएको थियो । जसमध्ये तीन जना डिस्चार्ज भइसक्नुभएको छ भने नौ जनाको उपचार जारी छ ।
सरस्वति जस्तै घाइते भोजपुरको आमचोक गाउँपालिका–१० की सिर्जना राई पनि छोरा र छोरी सहित उपचाररत हुनुहुन्छ । छोरा साइमन राईको खुट्टा भाँच्चिएको छ भने छोरी लिजाको टाउकोमा गहिरो चोट लागेको आकस्मिक कक्षको शय्याबाटै उहाँले सुनाउनुभयो ।
दुर्घटनामा परी आमचोक –३ का सुमन राई गम्भीर घाइते हुनुभएको छ । उहाँ प्रतिष्ठानको आकस्मिक कक्षमै हुनुहुन्छ । उहाँ बोल्न सक्न अवस्थामा हुनुहुन्न । उहाँका आफन्त दिक्पाल राईले दुर्घटनाको कारण थाहा नभएको बताउनुभयो ।
दुर्घटनाको सूचना पाए लगत्तै घटनास्थल पुगेर यात्रुको उद्धारमा लाग्नुभएका भोजपुर आमचोक गाउँपालिकाका उपाध्यक्ष सीता राईले दुर्घटनाले आफूहरुलाई गम्भीर बनाएको बताउनुभयो । “हिजोको घटनाले हामी सबैलाई गम्भीर बनाएको छ, पछिल्लो समय पहाडी क्षेत्रमा सवारी दुर्घटनाको घटना बढ्दै जाँदा स्थानीय सरकारको ध्यानाकर्षण भएको छ”, उहाँले भन्नुभयो ।
उहाँले पहाडी भेगको बाटो मर्मत तथा स्तरोन्नतिका लागि ठूलो बजेट आवश्यक भएकाले सङ्घीय सरकारसँग सहयोगको अपेक्षा गरेका छौँ । उहाँले चार जना घाइतेको अवस्था गम्भीर रहेको र तत्काल आइसीयुको आवश्यकता परेकाले धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्र विक्रम वेघासँग सहयोगको अपिल गरेको बताउनुभयो । उपप्रमुख वेघाले विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी घाइतेहरुको अवस्थाबारे जानकारी लिनुभएको थियो । उहाँले आफूले सक्दो सहयोग गर्ने वचन समेत दिनुभयो ।
धरानबाट भोजपुर पुग्ने सडकको अवस्था राम्रो नहुँदा यात्रुहरुले समय समयमा दुःख पाउने गरेका छन् । कतिपय स्थानमा मोटरेबल पुलको समेत अभाव छ । भोजपुरबासीका लागि दुधकोशीको झोलुङ्गे पुल तरेर फेरि अर्को गाडीमा चढ्नपर्ने बाध्यात्मक अवस्था छ ।
भोजपुरको दक्षिणी क्षेत्रका बासिन्दाका लागि तराईका जिल्लामा आउजाउ गर्ने छोटो दूरीको यो सडक खण्ड सहज छैन । भोजपुरको आमचोक, हतुवागडी देखि, सप्तकोशी नदीपारिको भिरको यो बाटो दूधकोशी किनारको मैयुङटार उदयपुरको मैनामैनी सोमबारे कोठहुँदै सुनसरीको धरान सम्म पुग्छ ।
यसअघि गत चैत्र १ गते भोजपुर मैयुङटार नजिक उदयपुरको वेलका नगरपालिका–७ मैनामैनीमा भोजपुर जाँदै गरेको जिप बाटोबाट करिब चार सय मिटर तल खस्दा चालक सहित दुर्घटनामा आठ जनाको मृत्यु भएको थियो । उक्त दुर्घटनामा घाइते मध्येका केहीको अहिले पनि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको छ ।
अशक्त र असहायको उपचारका लागि घरघरमा डक्टर कार्यक्रम
१८ वैशाख, गोरखा I गोरखाको गण्डकी गाउँपालिकाले पालिका भित्रका ज्येष्ठ नागरिक, अशक्त तथा असहायका लागि ‘घरघरमा डक्टर कार्यक्रम’ सञ्चालन गरेको छ । उक्त पालिकाको स्वास्थ्य शाखाप्रमुख कुमार सुनारका अनुसार अशक्त, अपाङ्गता भएका तथा ज्येष्ठ नागरिक उपचारका लागि नियमित रूपमा स्वास्थ्य संस्था पुग्न कठिन हुने भएकाले उक्त कार्यक्रम सञ्चालन गरिएको हो । कार्यक्रम मार्फत गाउँपालिकाले उपलब्ध गराउँदै आएको नियमित स्वास्थ्य जाँचको सुविधाले पालिका भित्रका दीर्घरोगीको समयमा समस्याको पहिचान हुने र सम्भावित जोखिम घटाउन सजिलो भएको छ ।
घरघरमा स्वास्थ्य परीक्षण गर्न पुग्ने स्वास्थ्यकर्मीले उच्च रक्तचाप, मधुमेह लगायत समस्याबाट पीडित भएकाको परीक्षणका गर्नुका साथै दीर्घरोगीको स्वस्थ्य अवस्थाबारेमा जानकारी लिने गरेका छन् । गाउँपालिकाले प्रत्येक स्वास्थ्य चौकी र आधारभूत स्वास्थ्य एकाइबाट चिकित्सकबाट उपचार सेवा उपलब्ध गराउँदै आएको छ ।
भोजपुरमा बोलेरो दुर्घटना, दुई जनाको मृत्यु
१७ वैशाख, टक्सार (भोजपुर) I भोजपुरको आमचोक गाउँपालिकाको केन्द्र बालखाबाट मैयुँटार जाँदै गरेको बोलेरो गाडी दुर्घटनाहुँदा दुई जनाको मृत्यु भएको छ ।
आज बिहान १ ज २६१७ नम्बरको बोलेरो दूधकोसी नदी किनारमा दुर्घटनाहुँदा एक जनाको घटनास्थलमै र अर्का एकको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दलकुमार राईले जानकारी दिनुभयो ।
प्रहरी निरीक्षक राईका अनुसार आमचोक गाउँपालिका–१० निवासी २७ वर्षीया रुना राईको घटनास्थलमा र शान्ति राईको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको हो । बलेरोमा चौध यात्रु रहेका थिए भने गम्भीर घाइतेलाई थप उपचारका लागि धरान पठाइएको छ ।
घटनाको विस्तृत विवरण आउन बाँकी छ ।