पूर्वराष्ट्रपति भण्डारीलाई ५१ किलोको मालाले स्वागत, एमाले नेताहरुको भीड
रौतहट । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई बाराको सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको छ । वीरगञ्ज उद्योग वाणिज्य सङ्घद्वारा आयोजित ‘वृहत् महिला सम्मेलन–२०८२’ मा प्रमुख अतिथिका रूपमा सहभागी हुन शनिवार काठमाडौँबाट सिमरा विमानस्थल आएकी हुन् ।
पूर्वराष्ट्रपति भण्डारीलाई नेकपा एमालेका नेताहरूले स्वागत गरेका थिए । एमाले स्थायी कमिटी सदस्य मुकुन्द न्यौपाने, पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, केन्द्रीय सदस्यहरू केदार न्यौपाने, अरविन्द सिंह, प्रदेश सचिव मनोज पौडेल, सचिवालय सदस्य जय प्रकाश थारु लगायतका नेताहरुले ५१ किलोको माला लगाइ स्वागत गरेका हुन् ।
पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री पुरुषोत्तम पौडेलले भण्डारीलाई ‘गणतन्त्रको गौरव’ भन्दै स्वागत र सम्मान गरिएको बताए ।
उनले भण्डारीको राष्ट्रपति कार्यकाल र एमाले नेतृत्वमा रहँदा खेलेको भूमिकाको प्रशंसा समेत गरे । पार्टी नेतृत्वले भण्डारीलाई औपचारिक कार्यक्रममा सहभागी नहुन निर्देशन दिएको भए पनि नेता–कार्यकर्ता स्वागतमा सिमरा पुगेका हुन् ।
आजको मौसम : कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिममा सरदर स्थानको आसपासमा अवस्थित रहेको छ ।
जसका कारण देशभर साधारणतया मौसम बदली रहेको छ भने कोशी प्रदेशको तराईदेखि बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रही देशका पहाडी भू–भागका केही स्थानहरू र बाँकी तराई भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
आज राति भने देशभर साधारणतया बदली रही कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानहरूमा तथा बाँकी भू–भागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ भने कोशी प्रदेश र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपाल प्रहरीको आईजीपीमा चन्द्रकुवेर खापुङ नियुक्त
काठमाडौं । सरकारले प्रहरी महानिरीक्षक (आईजीपी) मा एआईजी चन्द्रकुवेर खापुङ नियुक्त गरेको छ । शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले उनलाई आईजीपी बनाउने निर्णय गरेको हो ।
वर्तमान आईजीपी दीपक थापा यही भदौ १७ गते अवकाशमा जाँदैछन् । भदौ १९ गतेदेखि लागू हुनेगरी नेपाल प्रहरीका ३२औँ महानिरीक्षकमा खापुङ नियुक्त भएका हुन्।
प्रधानमन्त्री ओलीले संसदमा विशेष सम्बोधन गर्दै
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज प्रतिनिधिसभा बैठकमा विशेष सम्बोधन गर्दै छन् ।
सभामुख देवराज घिमिरेका अनुसार उत्तरी छिमेकी मुलुक चीन भ्रमणमा जानु अघि त्यसबारेमा प्रधानमन्त्री ओलीले सो भ्रमणका बारेमा सदनमा जानकारी गराउने छन् ।
प्रधानमन्त्री ओली भोलि शनिबार चीन भ्रमणमा जाँदैछन् ।
देशभर आंशिकदेखि साधारणतया बदली, केही स्थानमा भारी वर्षा हुने सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा रहेको जनाएको छ । साथै बंगालको खाडीबाट मनसुनी हावाको प्रभाव केही बढेको विभागले जानकारी दिएको छ ।
महाशाखाका अनुसार शुक्रबार बिहान देशभर आंशिकदेखि साधारणतया बदलीको अवस्था रहेको छ । अधिकांश भूभागमा वर्षा भइरहेको छ भने कोशी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षा समेत भएको छ ।
साँझ र राति पनि देशैभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान गरिएको छ । कोशी र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा भने भारी वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ ।
दारिन्जी शेर्पाले गरे किर्गिस्तानको ‘लेनिन चुचुरो’ को दुईपटक सफल आरोहण
काठमाडौं । नेपालका अनुभवी पर्वतारोही दारिन्जी शेर्पाले किर्गिस्तानको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरोको दुई पटक सफल आरोहण गरेका छन् ।
मध्य एसियाको प्रतिष्ठित ट्रान्स अले दायरा क्षेत्रको सबैभन्दा अग्लो हिमाल लेनिन चुचुरोको दुई पटक सफल आरोहण गर्न सफल भएका हुन् । शेर्पाले यो हिमाल ७ अगस्ट र २६ अगस्टका दिन गरी दुई पटक सफल आरोहण गरेका हुन् ।
‘मैले ७ अगस्ट र २६ अगस्ट गरेर दुई पटक लेनिन चुचुरोको सफल आरोहण गर्न पाएँ,’शेर्पाले भने, ‘मेरो पर्वतारोहण यात्रामा निकै रोमाञ्चक र चुनौतीपूर्ण अनुभव रह्यो।’
लेनिन चुचुरो, जसलाई क्ष्दल क्ष्लब एभबप भनेर पनि चिनिन्छ, समुद्री सतहबाट ७ हजार १ सय ३४ मिटर उचाइमा अवस्थित छ ।
किर्गिस्तान र ताजिकिस्तानको सिमानामा रहेको ट्रान्स अले पर्वत श्रृंखलाको सबैभन्दा अग्लो शिखर हो । यो हिमालको पहिलो सफल आरोहण सन् १९२८ मा भएको थियो, र त्यसयता यो विश्वभरका पर्वतारोहण प्रेमीहरूबीच लोकप्रिय गन्तव्य बन्न पुगेको छ ।
दारिन्जी शेर्पाको यो उपलब्धिले नेपाली पर्वतारोहण क्षेत्रको अन्तर्राष्ट्रिय पहिचान सशक्त बनाएको छ । लेनिन चुचुरो प्राविधिक रूपमा अत्यन्तै कठिन पर्वत नमानिए पनि, यसको उच्च उचाइ, अप्रत्याशित मौसम र लामो आरोहण मार्गका कारण चुनौतीपूर्ण मानिन्छ ।
शेर्पाको सफलता नेपाली पर्वतारोहण समुदायका लागि प्रेरणादायक बन्न पुगेको छ । यसैगरी दारिन्जीसँग पाँच पटक सगरमाथा आरोहण गरेको अनुभव समेत छ ।
प्रधानमन्त्री ओलीको अभिव्यक्तिलाई तोडमोड गरियो, भ्रम फैलाइयो : सचिवालय
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको सचिवालयले हालै विद्यादेवी भण्डारीसँग जोडेर आएका समाचारहरुप्रति आपत्ति जनाएको छ ।
भदौ ११ गते राजधानीमा पार्टीको दोस्रो विधान महाधिवेशनको पूर्वसन्ध्यामा काठमाडौँ जिल्लाबाट प्रतिनिधित्व गर्ने महाधिवेशन प्रतिनिधिहरूसँग अनौपचारिक छलफल गरेका थिए ।
उक्त कार्यक्रमका सन्दर्भमा कतिपय अनलाइन सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमा भ्रमपूर्ण र मनगढन्ते समाचारहरू प्रसारण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले आपत्ति जनाएको हो ।
सचिवालयका अनुसार उक्त कार्यक्रम कुनै औपचारिक प्रशिक्षण वा निर्णयात्मक बैठक नभइ महाधिवेशन प्रतिनिधिसँग सामान्य भेटघाट र विचार आदानप्रदानको उद्देश्यले आयोजित गरिएको थियो ।
कार्यक्रममा पार्टीको ऐतिहासिक पृष्ठभूमि, पछिल्लो समय लिइएको नीति, सरकारको कामकारवाही, तथा पार्टीको केन्द्रीय निर्णयहरूबारे अध्यक्ष ओलीले आफ्ना धारणा राखेका थिए ।
भेटमा अध्यक्ष ओलीले पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसम्बन्धी व्यक्त गरेको भनिएको एमालेमा मलाई धक्का दिन विद्याबाहेक कसैको दम छैन भन्ने अभिव्यक्ति असत्य, भ्रामक र उद्देश्यपूर्ण ढंगले सार्वजनिक गरिएको सचिवालयले स्पष्ट पारेको छ ।
प्रधानमन्त्री ओलीले पूर्व राष्ट्रपति भण्डारीप्रति आफूले गरेको सम्मान र माया अरू कसैले नगरेको उल्लेख गर्दै उनको पछिल्लो गतिविधिप्रति आश्चर्य व्यक्त गरेका थिए ।
पार्टीको औपचारिक प्रक्रिया नअपनाई मिडिया तथा अन्य दलका नेतासँग भेटघाट गर्दै सक्रिय राजनीतिमा फर्किन खोजिएको विषयले पार्टीमा भ्रम सिर्जना भएको ओलीको भनाइ रहेको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्रीको स्वकीय सचिवालयले उक्त भेटघाट कार्यक्रममा भएका विषयवस्तु यथार्थपरक रूपमा प्रस्तुत गर्न सञ्चारकर्मी, विश्लेषक र सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई आग्रह गरेको छ । सचिवालयले भ्रामक समाचारप्रति सचेत रहन पनि अनुरोध गरेको छ ।
रूपन्देही–३ मा उम्मेदवार छान्न रास्वपाको आजदेखि प्रारम्भिक निर्वाचन गर्दै
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रूपन्देही–३ मा उम्मेदवार छान्न आज प्राथमिक निर्वाचन (प्राइमरी इलेक्सन) गराइरहेको छ ।
रास्वपाबाट रूपन्देही–३ को प्रतिनिधि सभा उपनिर्वाचनमा उम्मेदवार बन्न ९ जना आकांक्षी रहेका छन्।
सुलभ खरेल, पार्थिवेन्द्र उपाध्यक्ष, डा. लेखजङ्ग थापा, ज्ञानु पौड्याल, जितबहादुर गुप्ता आकांक्षी छन् । त्यस्तै कुसुम महर्जन, रचना क्षेत्री, पुनमकुमारी अग्रवाल र मधुप्रसाद अर्याल आकांक्षी छन् ।
मतदाताहरूले ९ जनामध्ये एक जना उम्मेदवारलाई छनोट गर्न पाउनेछन् । ९ जनामध्ये कुनै पनि उम्मेदवार मन परेन भन्न पनि पाउने सुविधा रहेको छ ।
मतदाताले मोबाइल एपमार्फत् मतदान गर्नेछन् । मतदान बिहीबार बिहान ७ बजेदेखि शुक्रबार साँझ ७ बजेसम्म समय निर्धारण गरिएको छ।
कोशी प्रदेशले संविधान दिवस भव्य रुपमा मनाउने
विराटनगर । कोशी प्रदेश सरकारले संविधान दिवसलाई भव्य रुपमा मनाउने तयारी गरेको छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कुमार कार्कीको अध्यक्षतामा आज बसेको बैठकले तयारी भव्य रुपमा गर्ने निर्णय गरेको हो ।
सरकारका सबै मन्त्रीहरु, सचिवहरू, सामाजिक क्षेत्रका संघसंस्थाहरूको उपस्थितिमा भएको बैठकले ५ सय एक सदस्य मूल समारोह समिति गठन गरेको छ । त्यस्तै बैठकले आगामी असोज ३ गतेको संविधान दिवसलाई भव्य रुपमा मनाउने र तीन दिनसम्म विविध कार्यक्रमहरू गर्ने निर्णय गरेको छ । वक्तित्वकला प्रतियोगिता, स्वास्थ्य शिविर, प्रभात फेरि, झाँकी प्रदर्शनी, जिल्ला जिल्लामा ,प्रदेश सरकारका सेवाहरू देखिनेगरी कार्यक्रमहरू गर्ने निर्णय गरिएको छ ।
बैठकमा बोल्दै मुख्यमन्त्री कार्कीले प्रदेशभित्रका सबै संघसंस्था लाई संविधान दिवस भव्य रुपमा मनाउन आग्रह गरे। उनले प्रदेशका मौलिकताहरू झल्किने झाँकी र जातजातिका विशेषता झल्किने प्रदर्शनीहरू गर्न पनि निर्देशन दिएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कोशी प्रदेशमा संविधान दिवस मनाउने तयारी गरिएको हो ।
दोलखामा मोटरसाइकल दुर्घटना : स्ववियु सभापति सहित दुई युवाको मृत्यु
दोलखा । दोलखाको भीमेश्वर नगरपालिका–६ रमिते डाँडास्थित लामोसाँघु–जिरी सडकखण्डमा मंगलबार राति दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भीमेश्वर नगरपालिका–५ माटीका २४ वर्षीय शिरिष बस्नेत र बैतेश्वर गाउँपालिका–३ चिलाउनेखर्कका २५ वर्षीय सुजन दाहाल रहेका छन् । बस्नेत गौरीशंकर बहुमुखी क्याम्पस, चरिकोटका स्ववियु सभापति हुन् भने दाहाल चरिकोटस्थित एक होटलमा सवारी चालकका रूपमा कार्यरत थिए ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूलाई राति ९ बजे उपचारका लागि चरिकोटस्थित छोरोल्पा अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । उनीहरूको शव पोष्टमार्टमका लागि पशुपति चौलागाई स्मृति अस्पतालमा राखिएको छ ।
काठमाडौँबाट चरिकोटतर्फ आउँदै गरेको शिरिष बस्नेतले चलाएको बा ५३ प ८८९९ नम्बरको मोटरसाइकल, विपरीत दिशाबाट आएको बा.प्र.०२–०३४ प ३२४२ नम्बरको मोटरसाइकलसँग ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दाहालसँगै सवार बैतेश्वर गाउँपालिका–५ का २५ वर्षीय निर्मल खड्का सामान्य घाइते भएका छन् । उनलाई उपचारपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।