सालको गोलिया काठ सहित स्कारपियो गाडी गस्ती टोलीको नियन्त्रणमा
रौतहट ।रौतहट वनगस्ती टोलीले सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिएको छ । भारतीय नम्बर प्लेटको एम एच ०४ डि बि ६३५३ स्कारपियो गाडीमा लोड गरिएको अवस्थामा गस्ती टोलीले बरामद गरेको हो । डिभिजन वन कार्यालय, रौतहटका वन अधिकृत बिनोद जेठरा र जमदार उपेन्द्र यादव सहितको गस्ती टोलीले नियमित अनुगमनका क्रममा गएराती सो गाडीलाई नियन्त्रणमा लिएको छ ।
डिभिजन वन कार्यालय रौतहटका वन अधिकृत बिनोद जेठराका अनुसार कटहरिया नगरपालिका वडा नम्बर १ को भसेढवा नजिकबाट सालको गोलिया काठ सहित स्कारपियो गाडी नियन्त्रणमा लिइएको हो । गुजरा नगरपालिकाको सिम्री बन क्षेत्रबाट सब डिभिजन बन कार्यालय जगलसैयाको सडक हुदै लैजादै गरेको अवस्थामा नियन्त्रणमा लिएको उनले जानकारी दिए ।
वनगस्ती टोलीलाई देख्न साथ गाडीका चालकले भागेको उनले बताए ।भारतीय नम्बर प्लेटको गाडीमा लोड गरिएको काठको स्रोत तथा कागजातबारे कुनै वैध प्रमाण नभएको उनले उल्लेख गरेका छन ।चार थान गोलिया बरामद भएको र काठ तस्करीमा संलग्न व्यक्तिहरूको खोजी कार्य भैरहेको डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।
रुसमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प, प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी
काठमाडौं । बुधबार बिहान रुसको कामचट्का प्रायद्वीपको पूर्वी तटमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस) ले जनाएको छ । जसले गर्दा रुस, जापान, गुआम, हवाई र अलास्का सहित प्रशान्त महासागरभरि सुनामीको चेतावनी जारी गरिएको छ ।
एनसीएसले सामाजिक सञ्जाल एक्समा पोस्ट गरे अनुसार, भूकम्प ५२.५६ उत्तर अक्षांश र १६०.१० पूर्वि देशान्तरमा गएको थियो र ५५ किलोमिटर गहिराइमा थियो । अमेरिकी राष्ट्रिय मौसम सेवाले सुनामी अलर्टहरूको श्रृंखला जारी गरेको छ र सुनामी अलर्टहरू, जसमा अट्टुदेखि अमेरिकाको समल्गा पाससम्म अलास्काको अलेउटियन टापुहरूको लागि सुनामी सल्लाह समावेश गरिएको छ । जसमा रूस र जापानको लागि सम्भावित सुनामीको खतरा रहेको जनाएको छ ।
जापानमा १ मिटरसम्म र रूसमा ३ मिटरभन्दा बढी अग्ला सुनामीका छालहरूको चेतावनी दिइएको छ । हवाई, गुआम र उत्तरी मारियाना टापुहरूको लागि पनि सुनामी सम्बन्धी सुचना जारी गरिएको छ । अमेरिकी भूगर्भीय सर्वेक्षण (युएसजीएस) का अनुसार, भूकम्प रूसको पेट्रोपाभ्लोभस्कबाट १३६ किलोमिटर पूर्व–दक्षिणपूर्वमा आएको थियो ।
यसैबीच, जापान मौसम विज्ञान एजेन्सीले भूकम्पपछि १ मिटरको सुनामी जापान पुग्न सक्ने बताएको छ ।
युएसजीएसका अनुसार, प्रशान्त प्लेट प्रतिवर्ष लगभग ७७ मिमीको दरले उत्तर अमेरिकी प्लेटको सापेक्षमा पश्चिम–उत्तरपश्चिम सर्दै जाँदा उथले उल्टो गल्तीको परिणामस्वरूप भूकम्प आएको हो । जबकि उत्तर अमेरिकी प्लेट उत्तर अमेरिकी महाद्वीपभन्दा बाहिर पश्चिमतिर फैलिएको छ । - एएनआइ
हायु परिवारका सदस्य भन्छन् : ऋण लागेर भागेका होइनौं, वाध्यताले हो
काठमाडौं । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएर पोखरामा भेटिएका हायु परिवारले बाध्यताले गाउँ छाड्नु परेको बताएका छन् ।
मंगलबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै हायु परिवारका सदस्य राजु हायुले पानी, बत्तीको अभाव र विद्यालय जान तीन घण्टा लाग्ने भएर बच्चाहरुको लागि गाँउ छाडेको बताएका हुन् ।
उनले भने, ‘त्यहाँ पानी, बत्तीको अभाव भयो, केटाकेटीहरु धेरै बिरामी भए । केटाकेटीको लागि पनि राम्रै ठाउँमा लगेर उपचार गर्न पाए राम्रो हुन्थ्यो कि भन्ने कुरा हो । ठूलो परिवार १८ जना छौं । विकट भयो हस्पिटल जान दुई अढाइ घण्टा, स्कुल जान तीन घण्टा लाग्छ । हामी त्यस्तो ऋण लागेर भागेर आएका हैनौं ।’
उनले सञ्चार माध्यममा आएको जस्तो राती नभई बिहान घरबाट हिंडेको र गाइ नपालेको पनि बताए ।
कास्कीका एसपी श्यामबाबु ओलियाले हायु परिवार आफन्तको जिम्मा लगाइएको र सपरिवार आफूखुसी हिडेको जानकारी दिए । घटनामा आवश्यक परे थप अनुसन्धान गर्ने एसपी ओलियाले जानकारी दिए ।
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाइसकेको छ ।
पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए ।
प्रहरीका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए ।
पोखरामा फेला परेका हायु परिवार आफन्तको जिम्मा लगाइयो
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारलाई प्रहरीले पोखरामा फेला परेपछि आफन्तको जिम्मा लगाएको छ।
पोखरा महानगरपालिका–३०, गगनगौँडामा सोमबार बेलुका भेटिएका उर्मिला हायुको परिवारलाई मंगलबार पोखरा–३० कै वडा अध्यक्ष दुर्गाप्रसाद सुवेदीको रोहबरमा आफन्त धनबहादुर तामाङको जिम्मा लगाइएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी शिव लम्सालले जानकारी दिए । धनबहादुर हराएकी कमला हायुका श्रीमान् हुन् ।
कास्की जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार हायु परिवारका १६ जना सदस्य दुई फरक स्थानमा फेला परेका थिए । तीमध्ये १२ जना सोमनाथ पौडेलको घरमा र बाँकी चार जना चन्द्र भण्डारीको घरमा रहेका थिए।
प्रहरीका अनुसार उनीहरू शनिबार बिहानको राति १ बजेतिर सिन्धुलीबाट हिँडेर आइतबार दिउँसो पोखरा पुगेका थिए । त्यसपछि लेकसाइडस्थित होटल जननीमा बास बसेर होटलबाट चेकआउट गरी हिँडेका उनीहरू सोमबार पोखरा–३० का दुई घरमा फेला परेका थिए ।
प्रहरी अनुसन्धान अनुसार, उनीहरू शनिबार राति १ बजे सिन्धुली तीनपाटन गाउँपालिका–३ निवासी नवीन बिकले चलाएको मधेस प्रदेश ०४–००१–००८१ नम्बरको इभी भ्यान चढेर सिन्धुलीको बलेनीबाट हिँडेको पत्ता लागेको छ । सो भ्यानमार्फत खनियाँखर्क, हेटौंडा, मुग्लिन हुँदै पोखरा पुगेका थिए ।
सिन्धुलीबाट सम्पर्कविहीन भएको हायु परिवारले केही दिनअघि मात्र सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेका थिए । त्यसपछि उनीहरूले गाउँका अन्य व्यक्तिलाई जानकारी नदिई बस्तुभाउ त्यतिकै छाडेर भान्सामा समेत आगो लगाइ अचानक गाउँ छाडेका थिए ।
उनीहरूले गाउँ छाड्नुको कारणबारे प्रहरी अनुसन्धान जारी रहेको छ। प्रारम्भिक बयानमा परिवारका सदस्यले ‘बेलाबेलामा बिरामी पर्ने समस्या रहेकाले धामीले उक्त ठाउँमा नबस्न सुझाव दिएपछि गाउँ छाडेको’ बताएका छन्।
सिन्धुली प्रहरी कार्यालयका प्रवक्ता डिएसपी सूर्यप्रकाश सुवेदीले हायु परिवार सोमबार बिहानदेखि खोजीमा रहेका बेला साँझ पोखरामा सुरक्षित अवस्थामा फेला परेको बताएका छन् ।
सुख्खाग्रस्त क्षेत्र घोषणा गरिएको मधेशमा अन्तर्राष्ट्रिय संस्थाहरु सक्रिय
जनकपुर । सरकारले मधेशलाई सुख्खाग्रस्त क्षेत्र घोषणा पश्चात अन्तर्राष्ट्रिय संस्थाको छाता संगठन (एआइएन) मधेश प्रदेशले सक्रियता देखाएको छ ।
मधेश प्रदेश सरकारका मुख्यमन्त्रीको सुख्खाग्रस्त क्षेत्रमा तत्काल खानेपानी र सिचाई पुरÞ्याउन अनुरोधपछि प्रदेशमा अन्तर्राष्ट्रिय संस्थाहरुले नियमित गतिविधि साथै खानेपानी र सिँचाइमा काम शुरु गरेका छन् ।
समाज कल्याण परिषदले पनि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थालाई सुख्खा क्षेत्रको समस्या समाधानको लागि लाग्न अनुरोध गरेको अवस्थामा सुख्खा क्षेत्रको प्रतिकार्यमा वास क्लस्टर, जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय तहसँगको समन्वय तथा सहकार्यमा अन्तर्राष्ट्रिय संस्थाहरुले मधेशमा सुख्खाग्रस्त क्षेत्रमा स्थानीय साझेदार संस्थामार्फत प्रतिकार्य गरिरहेको एआइएनकी मधेश प्रदेश सम्पर्क व्यक्ति प्रमिल अधिकारी जानकारी दिइन् ।
अधिकारीको अनुसार सेभ द चिल्डेन नेपालले सर्लाहीको इश्वरपुर नगरपलिका वडा १० मा दशहजार लिटर पानी ५३४ घरधुरीलाई वितरण गरेको, अक्सफाममार्फत रौतहटको चपुरमा २०० घरधुरी, सर्लाहीको हरिपुर, हरिवन र मलंगवामा २०० घरधुरीलाई सेलो ट्वेल र खानेपानी वितरण गरेको छ ।
प्लान इन्टरनेसनल नेपालले धनुषा सविला नगरपालिकामा १००० घरधुरीलाई पानीको जार वितरण गरेको छ । वल्र्ड भिजन इन्टरनेशनल नेपालले महोत्तरीको एकडारा र सम्सी गाउँपालिकामा क्रमशः ५५ र ३१४ घरधुरी साथै सर्लाहीको हरिपुर्वामा ९३ र रौतहटको माधव नारायणमा ४२ घरधुरीलाई साना सिँचाइ सहयोग गरेको छ ।
स्लामिक रिलिफबाट रौतहटको राजपुर र चपुरमा १००० घरधुरी साथै बाराको महागडीमाइ र सुवर्णमा ५० घरधुरीलाई पुग्ने डिपबोरिङ गड्ने काम शुरु गरेको छ ।
वाटर एडमार्फत सिराहाको लाहान नगरपालिकामा ३०० दलित बस्तीमा खानेपानीको लागि चापाकल र पाइप वितरण गरेको छ । एसएनभिले प्रदेशको खानेपानीको अवस्था बारे अध्ययन र अनुसन्धानमा सहयोग गरिरहेको छ साथै धनुषा र महोत्तरीको ५ पालिकामा डिपबोरिङको अध्ययन शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरु पिपुल इन निड, एक्सन एड, गुड नेवर्स, युएमएन जस्ता संस्थाहरु योजना छनोट र स्थानीय तहसँग समन्वय भइरहेको छ ।
साथै राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको समन्वयमा र बेलायत सरकारअन्तर्गत सञ्चालित ‘स्टार्ट फन्ड नेपाल’ परियोजना कार्यान्वयनमा संचालनमा आएको छ ।
खडेरी प्रभावित पर्साको विरंगज, बहुरडरमाइ, बाराको सिमसनगडी, रौतहटको परोहा नगरपलिका , सर्लाहीको कविलासी, सिराहाको लक्ष्मी पटहरी गाउँपालिका र सप्तरीको रुपनी, तिलाठी कोइलाडी र हनुमाननगरका १० पालिकामा लागू हुने यो कार्यक्रम आगामी ६० दिनसम्म सञ्चालन हुनेछ।
स्टार्ट फन्ड नेपाल तथा साझेदार संस्थाहरूको समन्वयमा सञ्चालन हुने यो परियोजनाबाट ८ हजार ३ सय ५५ घरधुरीका करिव ४४ हजारभन्दा बढी नागरिक लाभान्वित हुनेछन्।कार्यक्रमका लागि कुल २ करोड ६० लाख ३३ हजार ४ सय ७६ रुपैयाँ बजेट विनियोजन गरिएको प्राधिकरणले जनाएको छ ।
साथै विश्व खाद्य कार्यक्रम मार्फत रौतहटको माधवनारायण नगरपालिका र सप्तरीको हनुमाननगर र तिलाठी कोइलाडीमा स्यालो ट्वेल, पम्पसेट, मोटपाइप बढ्ने कार्य शुरु गरेको छ ।
अन्तर्राष्ट्रिय संस्थाहरुले मधेश प्रदेशमा सुख्खाग्रस्त क्षेत्रको तत्काल र दिर्घकालीन समस्या समाधानको लागि प्रदेश सरकार, स्थानीय तह र जिल्ला विपद् व्यवस्थापन संग सहकार्य गर्दै स्थानीय साझेदार संस्थाहरु मार्फत काम भइरहेको र आगामी दिनहरुमा प्राथमिकता रहने छ । प्रदेश सरकारले दिर्घकालीन समस्या समाधानको लागि स्पष्ट नीति योजना ल्याउन आवश्यक छ ।
सिन्धुलीबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना पोखरामा सुरक्षित अवस्थामा भेटिए
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६, छेत्पाबाट सम्पर्कविहीन भएका हायु परिवारका १६ जना सदस्य पोखरामा सुरक्षित भेटिएका छन् ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले सोमबार राति प्रेस विज्ञप्ति जारी गर्दै उनीहरू सोमबार राति भेटिएको पुष्टि गरेको हो । प्रहरीका अनुसार सोमबार बिहान १० बजे उर्मिला हायु सहित १६ जना परिवारका सदस्य केही दिनदेखि गाउँबाट सम्पर्कविहीन भएको सूचनाको आधारमा प्रहरीले खोजी सुरु गरिएको थियो ।
अनुसन्धानका क्रममा उनीहरु शनिबार बिहानको राती १ बजे सिन्धुली तीनपाटन गाउँपालिका वडा नं. ३ का वर्ष २५ को जिवन भन्ने नविन बिकले चलाउने गरेको मधेश प्रदेश ०४– ००१–००८१ नम्बरको इभी भ्यानमा सिन्धुली जिल्लाको गोलन्जोर स्थित बलेनी भन्ने ठाउँबाट चढी खनियाँखर्क–सिन्धुली–हेटौँडा–मुग्लिन हुँदै पोखरा पुगेर त्यहाँको लेक साईडको होटल जननीमा बसेका थिए ।
आइतबार सो होटलबाट चेक आउट गरी हिडेका उनीहरुलाई सोमबार प्रहरीले दुइवटा घरबाट फेला पारेको सिन्धुलीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनिहरुलाई जिल्ला प्रहरी कार्यालय कास्कीसँग समन्वय गरी खोज तलास गर्दा सोमबार राति कास्कीको पोखरा महानगरपालिका वडा नं. ३० स्थित सोमनाथ पौडेलको घरमा १२ जना र चन्द्र भण्डारीको घरमा ४ जना समेत गरी सबै १६ जना फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूले गाउँ छाड्नुको कारण अहिलेसम्म खुलाइएको छैन । थप अनुसन्धान जारी छ । १८ जनाको संयुक्त परिवारमध्ये दुई जना यसअघि नै काठमाडौंमा रहेको पुष्टि भइसकेको छ। बाँकी १६ जना भने कुनै जानकारी नदिई गाउँ छाडेर हिँडेपछि प्रहरी र स्थानीय प्रशासनले सोमबार बिहानबाट खोजी थालेका थिए ।
सो परिवारले केही दिनअघि मात्रै सरकारले उपलब्ध गराएको सामाजिक सुरक्षा भत्ता बुझेको थिए। त्यसपछि उनीहरू एक्कासि सम्पर्कविहीन भएका थिए ।
सिन्धुलीको गोलञ्जोर–६ बाट एकै परिवारका १७ जना बेपत्ता
रामेछाप । सिन्धुलीको गोलञ्जोर गाउँपालिका–६ स्थित भण्डास बिप्पर कटेरीमा एकै परिवारका १७ जना सदस्य बेपत्ता भएका छन् । स्थानीय करिब ५६ वर्षीया उर्मिला हायुको परिवारका छोरा, बुहारी, छोरी र एक ज्वाइँसहित १७ जना बेपत्ता भएका हुन् । एकान्तमा घर भएको सीमान्तकृत समुदायको सो परिवार तीन दिन अघिबाट बेपत्ता भएको हुनसक्ने अनुमान गरिएको वडाध्यक्ष रवीन श्रेष्ठले जानकारी दिए ।
बुधबार वा बिहीबार परिकारका १८ जना सदस्यको करिब आठ लाख रुपैँया सामाजिक भत्ता बुझेर आएका हायु परिवार सोही भत्ता बुझेको भोलिपल्टबाट बेपत्ता हुनुले घटना रहस्यमय रहेको श्रेष्ठले बताए ।
छिमेकीको घर नजिकै गोठमा बाँधेको पाडोलाई तीन दिनदेखि घाँस पानी हाल्न कोही नआएपछि घरमा हेर्न जाँदा सोमबार बिहान मात्रै उनीहरू घरमा नभएको पत्ता लागेको श्रेष्ठले जानकारी दिए ।
हायुको घरको भान्सामा आगो लागेर सामान्य क्षति भएको छ । जलेको भान्सामा काटेर भाँडामा राखेको सुँगुरको मासु फेला परेको छ । घर पालुवा जनावर भैँसी, बाख्रा, कुखुरा भने अलपत्र अवस्थामा छन् । उनीहरू शुक्रबारबाट बेपत्ता भएको हुनसक्ने वडाध्यक्ष श्रेष्ठको अनुमान छ ।
घटनाबारे थाहा पाएपछि सोमबार बिहान प्रहरी टोली हायुको घरमा पुगेको थियो । प्रहरी पुगेपछि प्रहरी र स्थानीयले अहिले उनीहरूको खोजी गरिरहेका छन् ।
हायुका परिवारका कुनै सदस्यसँग पनि सम्पर्क हुन नसकेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक सूर्यप्रसाद सुवेदीले जानकारी दिए ।
वडाध्यक्ष श्रेष्ठका अनुसार उर्मिलाको श्रीमानको गतवर्ष निधन भएको थियो ।‘ श्रीमान् पोहोर साल बित्नुभयो, उहाँहरूको १८ जनाको परिवार हो ६ भाइ छोरा, बुहारी, ६ बहिनी छोरी छन्, ती मध्ये एउटी छोरी काठमाडौँतिर छिन्, एउटी बुहारी विदेशतिर छिन्, अरू सबै घरमा नै छन्, जेठो ज्वाइँ पनि उहाँहरूसँगै बस्दै आउनु भएको रहेछ’, श्रेष्ठले भने ।
भत्ता ल्याएर घरको सुँगुर काटेर खाएको हायु परिवार कसैले थाहा नपाउने गरी घर छाडेर हिँडेको पनि हुनसक्ने आशङ्का गरिएको छ ।
‘बैङ्कबाट ऋण लिनु भएको रहेछ, बैङ्कमा मान्छे वडा कार्यालयमा पनि पटक पटक आउने गरेका थिए, कतै पैसा ल्याएपछि बैङ्कबाट लिन आउँछ भनेर हिँड्नु भयो कि, अथवा अरू केही भयो कि, अहिले केही भन्न सकिने अवस्था नै रहेन’, श्रेष्ठले भने ।
बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेका र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले मुलुकका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ भने बागमती र गण्डकी प्रदेशका थोरै स्थान तथा कोशी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ ।
बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भू–भाग एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।
यस्तै, आज राती देशभर साधारणतया बदली रहनेछ । गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागका केही स्थानहरूमा तथा तराई भू–भागका थोरै स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाकाले जनाएको छ ।
युवा संघबाट निलम्बित कुलुङले भनिन् : राजनीतिक प्रतिशोध साँधियो
काठमाडौं । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालकी निलम्बित केन्द्रीय सदस्य युवान्तिका कुलुङले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर चरित्र हत्या गर्ने काम भएको बताएकी छन् । गत शुक्रबार उनलाई संगठनले कारबाही गरेको थियो ।
‘म विद्यादेवी भण्डारीको प्रेस मिटमा गएर फर्किएको दिन बेलुका ९ बजे कारबाहीको पत्र आयो । त्यो पत्रभन्दा अगाडि मैंले स्पष्टिकरण दिइसकेको थिएँ । कारबाही गर्न खोजेको चाहीँ धेरै समय भइसक्यो । मेरो नागरिकताको विषय निकालेर पनि मेरो चरित्रहत्या गर्न खोजेकै हो,’उनले भनिन् ।
उनी युवा संघको १०औ राष्ट्रिय महाधिवेशन पोखराबाट खुला महिला सचिवालयमा सुमन पुरीको टिमबाट विजयी भएकी थिइन् । पुरीको टिमबाट विजयी भएकै कारण आफूमाथि अनेक षड्यन्त्र भइरहेको उनको भनाइ छ ।
उनले आफूमाथि विभिन्न आर्थिक चलखेलको आरोपसमेत लगाइएको बताउँदै यसलाई प्रमाणित गरेर देखाउन चुनौति दिइन् ।
‘उहाँहरुले मेरो चरित्र हत्या गर्नका लागि यो विषयलाई तोडमोड गरेर आर्थिक चलखेल गर्यो भन्ने कुरासँग जोडेर उहाँहरुले धेरै प्रपोगाण्डा अपनाउनु भएको छ । मैंले उहाँहरुलाई यो सम्म भनेको छु कि मेरो खातामा यदि कसैको थ्रुबाट पैसा आएको या मलाई कागज गरेर कसैले कुनै पैसा दिएको उहाँहरुले प्रमाण पुर्यादिनुपर्यो,’उनले भनिन् ।
उनले षड्यन्त्र गरेर आफ्नो राजनीति सकाउने प्रयास गरिएको बताइन् ।
बराहक्षेत्र–३ मा ड्रेनसहितको कालोपत्रे सडक निर्माण सम्पन्न, डुबानको समस्या हट्दा स्थानीयवासीमा खुसियाली
बराहक्षेत्र (सुनसरी)। सुनसरी निर्वाचन क्षेत्र नं. १ अन्तर्गत बराहक्षेत्र नगरपालिका–३ को इक्राई चोक देखि समावेशी टोलसम्मको सडक ड्रेनसहित कालोपत्रे गरी निर्माण सम्पन्न भएको छ । करिब ४ सय मिटर लामो सडक निर्माणसँगै वर्षायाममा हुने डुबान र हिलाम्मे समस्या अन्त्य भएको स्थानीयवासीले बताएका छन् । उक्त सडक निर्माण सम्पन्न भए पश्चात् डुबान र हिलाम्मेको समस्या हट्दा स्थानीयवासीमा खुसियाली छाएको छ ।
शहरी विकास मन्त्रालयको बस्ती विकास कार्यक्रम अन्तर्गत संघीय सरकारबाट १ करोड रुपैयाँको बजेट विनियोजन भएको यो योजना सांसद अशोक कुमार राईको सिफारिस र पहलमा कार्यान्वयनमा आएको हो। राई जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष तथा सुनसरी–१ बाट निर्वाचित संघीय सांसद हुन् ।
विगतमा तिलक अधिकारीको घरदेखि भीमबहादुर राउत र मणि राईको घरसम्मको सडक खण्ड बर्खायाममा डुबानमा पर्थ्यो। स्थानीयवासीले आफ्नै पहलमा ४० हजार रुपैयाँ बराबरको माटो र मिक्स गिट्टी हालेर सुधार गर्न प्रयास गरे पनि समस्या समाधान हुन सकेको थिएन ।
“अशक्त, वृद्धवृद्धा र बालबालिकालाई यो बाटो हिँड्न निकै गाह्रो पथ्र्यो,” टोल समितिका अध्यक्ष नरेन्द्र कटुवालले भने, “माननीय अशोक राईज्यूले हाम्रो समस्या सुन्नु भयो, बजेट ल्याउनु भयो र सडक बन्न सक्यो। हामी उहाँप्रति आभारी छौं ।”
टोल सदस्य छिरिमाया राईले पनि सांसद राईको सक्रियताले मात्रै सडक निर्माण सम्भव भएको भन्दै धन्यवाद दिइन्। समाजसेवी मणि राईका अनुसार, स्थानीय तहमा पटक–पटक निवेदन दिँदा पनि सुनुवाइ नभएपछि संघीय सांसदमार्फतै पहल गरिएको थियो ।
सडक निर्माणका लागि तयार गरिएको कुल स्टिमेट ८५ लाख ५४ हजार ९४६ रुपैयाँ ३० पैसा थियो। तर, बोलपत्रमार्फत ६० लाख ७८ हजार १० रुपैयाँ २५ पैसामा ठेक्का सम्झौता गरिएको थियो। संघीय शहरी विकास तथा भवन निर्माण कार्यालय, विराटनगर मोरङसँग २०८१ साउन ४ मा ठेक्का सम्झौता भई २०८२ साउन पहिलो हप्ता निर्माण व्यवसायी भट्टराई एण्ड सन्स कन्स्ट्रक्सन प्रा.लि., बराहक्षेत्र-७, सुनसरीले सफलतापूर्वक काम सम्पन्न गरेको छ ।
सुनसरी निर्वाचन क्षेत्र नं. १ मा संघीय सांसद अशोक कुमार राईको पहलमा ४१ भन्दा बढी भौतिक पूर्वाधार योजनाहरू चालु आर्थिक वर्ष २०८२/८३ मा कार्यान्वयनमा रहेको उनकाे सचिवालयले जनाएको छ।
सांसद राईकाे सचिवालयका अनुसार चालु योजनाहरूको कूल अनुमानित लागत १ अर्ब रुपैयाँभन्दा बढी रहेको छ। ती योजनाहरू संघीय सरकारका विभिन्न मन्त्रालय तथा निकायमार्फत बजेट विनियोजन भई सञ्चालनमा ल्याइएका हुन्।
सुनसरी–१ अन्तर्गत पर्ने विभिन्न स्थानीय तहका सडक, पुल, खानेपानी, विद्यालय भवन, सामुदायिक भवन लगायतका पूर्वाधार सुधारका लागि ती योजना अघि बढाइएको सचिवालयले जनाएको छ। योजनाहरूको प्रभावकारी कार्यान्वयनका लागि सांसद राई स्वयं स्थलगत अनुगमन तथा सम्बन्धित निकायहरूसँग निरन्तर समन्वयमा रहेको सांसद राईको सचिवालयले बताएको छ ।