श्रमिकको न्यूनतम तलब बढ्यो
काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको न्यूनतम तलब बढेर १९ हजार ५५० रुपैयाँ पुगेको छ । सरकार, रोजगारदाता र ट्रेड युनियनबीच चियाबगान बाहेकका क्षेत्रमा कार्यरत श्रमिकको न्यूनतम पारिश्रमिक १९ हजार ५५० रुपैयाँ निर्धारण गर्ने सहमति भएको हो ।
सहमतिअनुसार उक्त पारिश्रमिकमध्ये आधारभूत पारिश्रमिकबापत १२ हजार १७० रुपैयाँ र महङ्गी भत्ताबापत ७ हजार ३८० रुपैयाँ रहेको छ । श्रमिकको तलब यसअघिको भन्दा २ हजार २५० रुपैयाँले बढी हो । यसअघि चिया बगानबाहेकका श्रमिकको न्यूनतम तलब १७ हजार ३ सय रुपैयाँ थियो । यो पारिश्रमिक प्रतिघण्टाको ज्याला ८९ रुपैयाँ थियो भने आंशिक रूपमा काम गर्ने श्रमिकको भने प्रतिघण्टा ९५ रुपैयाँ न्यूनतम पारिश्रमिक थियो ।
नयाँ पारिश्रमिक साउन १ गतेदेखि नै लागू भएको छ । चिया बगानको हकमा भने सरोकार पक्षसँग थप छलफल गरेरपछि निर्धारण हुनेछ । यसैगरी, दैनिक ज्यालादारीमा काम गर्ने श्रमिकको न्यूनतम पारिश्रमिक ७५४ रुपैयाँ रहेको छ । यसमध्ये आधारभूत ४७० र महङ्गी भत्ता २८४ रुपैयाँ छ । त्यस्तै, प्रतिघण्टाको पारिश्रमिक १०१ रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ । यसमध्ये आधारभूत ६३ र महङ्गी भत्ता ३८ रुपैयाँ कायम गरिएको छ ।
राष्ट्रिय एकता अभियान र एकीकृत समाजवादीबीच आज एकीकरण हुँदै
काठमाडौं । वामदेव गौतमको नेतृत्वमा रहेको नेकपा राष्ट्रिय एकता अभियान आज नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सँग औपचारिक रूपमा एकीकरण हुँदैछ । भैंसेपाटीमा सम्पन्न अभियानको अन्तिम केन्द्रीय समिति बैठकले चार वर्षको समग्र समीक्षा गर्दै एकता गर्ने निर्णय लिएको हो ।
बैठकमा संयोजक गौतमको अध्यक्षता रहेको थियो, जहाँ दुवै पक्षका शीर्ष नेताहरूबीच यसअघि नै सैद्धान्तिक समझदारी बनेको औपचारिक अनुमोदन गरिएको छ ।
एकतापछि पार्टीको राजनीतिक दर्शन, कार्यक्रम, रणनीति र कार्यदिशामा एकरूपता रहने बताइएको छ । साथै, नेपालको कम्युनिष्ट आन्दोलनलाई थप संगठित र सुदृढ बनाउने साझा उद्देश्यका साथ यो एकता अघि बढाइएको हो ।
यस एकीकरणको औपचारिक घोषणा आज राष्ट्रिय सभागृहमा हुनेछ । उक्त सभाका लागि एकीकृत समाजवादीले आफ्नो मातहतका सम्पूर्ण कमिटीहरूलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिइसकेको छ ।
मौसम पूर्वानुमान : चार प्रदेशमा अत्यधिक वर्षा हुने सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो देशभर साधारणतया बदली रहने छ । महाशाखाका अनुसार कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशलगायत अन्य प्रदेशका पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ । साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा हुरीको सम्भावना छ ।
त्यसैगरी, आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेस प्रदेशलगायत पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना छ ।
सम्भावित वर्षाका कारण बाढीपहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको बताउँदै महाशाखाले सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले सावधान रहन ती क्षेत्रका सर्वसाधारणलाई अनुरोध गरेको छ ।
एमाले बैठकमा पूर्वराष्ट्रपति भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल
काठमाडौं । नेकपा एमालेको सचिवालय बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दिइने जिम्मेवारीबारे छलफल भएको छ ।
बिहीबार बसेको सचिवालय बैठकमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै भण्डारीको विषय प्रवेश गराएका हुन् ।
एमाले सचिव योगेश भट्टराईका अनुसार बैठकमा अध्यक्ष ओलीले भण्डारीलाई दिने जिम्मेवारीबारे विषय प्रवेश गराएका थिए । यसबारे थप छलफल गरेर आवश्यक निर्णय लिनेबारे नेताहरूबीच कुराकानी भएको थियो ।
‘विधान महाधिवेशन सम्वन्धि छलफल भैइरहेको हो के कसरी जाने भनेर । छलफल हुँदैछ । पार्टीमा सबैको ठूलो नेतृत्व छ । भण्डारी जीको बारेमा पनि छलफल हुन्छ । अध्यक्ष जी ले पनि छलफल गरैँंला भन्नु भएको छ । उहाँको व्यक्तिगत निजी विषय पनि भएन । उहाँले सबै त्यागेर आईसकेपछि यो पार्टीको कुरा हो छलफल हुन्छ । उहाँ आउनुहुन्छ भनि उहाँलाई उचित स्थान दिनुपर्ला । त्यो पनि पार्टीको हाइलेबलमा कुराकानी होस् भन्ने हाम्रो चाहाना हो । यो सार्वजनिक विषय हो यस्लाई हल गर्नैपर्छ’, उनले भने ।
१४ असारमा मदन जयन्तीका अवसरमा भण्डारीले एमाले राजनीतिमा पुनरागमन गरेको र आफूले सदस्यतासमेत नवीकरण गरिसकेको जानकारी दिएकी थिइन् ।
रास्वपाले सार्वजनिक गर्यो उम्मेदवार छनोटका लागि वैज्ञानिक र लोकतान्त्रिक विधि
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सबै तहका निर्वाचनमा योग्य उम्मेदवार चयन गर्न पारदर्शी, लोकतान्त्रिक र वैज्ञानिक पद्धतिमा आधारित उम्मेदवार छनोट विधि सार्वजनिक गरेको छ ।
पार्टीको विधानको भाग १९ र २० मा उल्लेखित लिडरशिप एकेडेमी, उम्मेदवार क्लब र प्रारम्भिक निर्वाचन प्रणालीको मर्म अनुसार तयार गरिएको यो विधि उम्मेदवार छनोटलाई थप व्यवस्थित, संस्थागत र वस्तुनिष्ठ बनाउने उद्देश्यले ल्याइएको हो ।
पार्टीले यस्तो विधिबाट मात्रै देश र जनताप्रति प्रतिवद्ध, योग्य, र सक्षम उम्मेदवार चयन गर्न सकिने जनाएको छ । यस प्रणालीले पार्टीभित्रको आन्तरिक लोकतन्त्र बलियो बनाउने, निर्वाचनमा प्रतिस्पर्धात्मकता बढाउने र आम नागरिकको विश्वास जित्ने अपेक्षा गरिएको छ ।
रास्वपाको यो नयाँ उम्मेदवार छनोट विधिले नेपाली राजनीतिको पारदर्शिता, जवाफदेहीता र समावेशितालाई संस्थागत गर्दै जनतामाझ पार्टीको विश्वसनीयता बढाउने ठोस प्रयासका रूपमा हेरिएको छ । पार्टीले नेतृत्व विकासमा लगानी गर्दै अबको राजनीति मूल्य, सिद्धान्त र क्षमतामा आधारित हुने संकेत दिएको छ ।
आजदेखि नयाँ आर्थिक वर्ष सुरु
काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ आजदेखि सुरु भएको छ । प्रत्येक वर्ष साउन १ गतेदेखि नयाँ आर्थिक वर्ष सुरु हुने व्यवस्थाछ । सोहीअनुसार नयाँ आर्थिक वर्ष सुरु भएको हो ।
सरकारले वि.सं. २०१८ सालदेखि आर्थिक वर्षको सुरुवात साउन महिनामा सुरु भई असार महिनामा सकिने व्यवस्था गर्दै आएको छ ।
नयाँ आर्थिक वर्षले खासगरी सरकारी कारोबारसँग सम्बन्धित विषयका परिवर्तन गर्नेछ । यसले राजस्व, शुल्क, जरिबाना लगायतका व्यवस्था गरिएका परिवर्तन लागु गर्न सुरु गर्नेछ ।
तीनतहका सरकारले सार्वजनिक गरेको बजेटको आज देखि पूर्ण कार्यान्वयनको सुरुवातहुनेछ ।
करको दरमा भएको परिवर्तन मध्ये आज लेखि नै कतिपय व्यवस्था लागु भइसकेका छन् । विलासिता कर लगायतका केही व्यवस्थाको कार्यान्वयन आज देखि सुरु हुनेछ ।
आजको मौसमःयी स्थानमा भारी वर्षा हुने
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै देशमा हाल भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको र मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा रहेको महाशाखाकाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो देशभर साधारणतया बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
यस्तै,बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
त्यस्तै, राति भने देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशका तराईका थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको महाशाखाकाले जनाएको छ।
कल्याणपुरका मेयर साह १ लाख घुससहित रंगेहात पक्राउ
सिरहा । सिरहाको कल्याणपुर नगरपालिकाका मेयर रामपुकार साह घुससहित रंगेहात पक्राउ परेका छन् । मेयर साहलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासको टोलीले बुधबार १ लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो ।
अहिले टोली कल्याणपुर नगरपालिकाको कार्यालयमै रहेको र मुचुल्कालगायतका कानूनी प्रक्रिया पूरा गर्ने काम भइरहेको अख्तियार स्रोतले जनाएको छ । अख्तियारका अनुसार, नगरपालिकामा २० लाख बजेटमा निर्माण भएको नालाका एक उपभोक्ता समितिसँग उनले २० प्रतिशत कमिसन माग गरेका थिए ।
तर, उपभोक्ता समितिले रकम दिन नसकेपछि मेयर साहले योजनाको चेक दिन मानेका थिएनन् । एक साताको बार्गेनिङपछि मेयर साहले चेक लिनुअघि कम्तीमा १ लाख रुपैयाँ दिन र चेकको रकम खातामा आइसकेपछि बाँकी रकम दिन उपभोक्ता समितिलाई भनेका थिए ।
यस विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग, बर्दिबासका प्रमुख रामबहादुर कुरुम्वाङले जानकारी दिए ।
पेट्रोल र डिजलको मूल्य घटयो
काठमाडौं । नेपाल आयल निगमका अनुसार पेट्रोलियम पदार्थको मूल्य घटेको छ । इन्डियन आयल कर्पोरेशनबाट ३१ असारमा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्य अनुसार मूल्य घटाइएको हो ।
मंगलबार एक विज्ञप्ति जारी गर्दै निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजल÷मट्टीतेलमा १ रुपैयाँ मूल्य घटाएको जानकारी दिएको छ ।
यसअघि पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४९ रुपैयाँ थियो । परिवर्तित मूल्यसूची अनुसार अब पेट्रोल प्रतिलिटर १६० रुपैयाँ तथा डिजल र मट्टीतेल प्रतिलिटर १४८ रुपैयाँ कायम भएको छ ।
खुद्रा विक्री मूल्यमा प्रति लिटर पेट्रोलमा ५ रुपैयाँ र डिजेल ÷ मट्टितेलमा प्रति लिटर १ रुपैयाँ ले घटाईएको छ ।
आजको मौसमः मधेशमा हावाहुरिसहित देशभर भारी वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानको केही उत्तरतर्फ रहेको जनाएको छ ।
जसका कारण हाल देशभरको मौसम आंशिकदेखि साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी, कर्णाली, कोशी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
महाशाखाका अनुसार देशभर साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरूमा र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशको थोरै स्थानहरूमा भारी देखि धेरै भारी साथै मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, आज देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। कोशी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ।
आज राति देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू–भागका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशको उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ। मधेश प्रदेशको थोरै स्थानहरुमा हावाहुरिको पनि सम्भावना रहेको छ ।