काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्षको बजेट करिब २५ अर्ब
काठमाडौं । काठमाडौं महानगरपालिकाको राजश्व परामर्श समितिको बैठक सम्पन्न भएको छ । काठमाडौं महागनरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)को अध्यक्षमा महानगरको कार्यालय, काठमाडौं प्लाजामा बसेको बैठकले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि बजेट सिमा निर्धारण गरेको हो ।
बैठकले आगामी आर्थिक बर्षका लागि करिब २५ करोड बजेटको सिमा निर्धारण गर्दै बजेट सार्वजनिकका लागि तयारी गर्दै छ । बैठकमा प्रमुख शाहले जनचाहना अनुरुप विकासका कार्य गर्ने गरी पूर्वाधार विकासमा बजेट थप गर्न निर्देशन दिएका हुन् ।
चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्षमा पूर्वाधार विकासमा बजेट थप गर्ने राजश्व परामर्श समितिले निर्णय समेत गरेको छ । शुक्रबार बस्ने ४० औं नगरकार्यपालिका बैठकले नगरसभाको मिति तय गरी नगरसभा मार्फत बजेट सार्वजनिक गर्ने छ ।
नगरसभा बैठकमा प्रमुख बालेन्द्र शाह (बालेन)ले आगामी आर्थिक बर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने छ भने उपप्रमुख सुनिता डंगोलले बजेट पेश गर्नेछिन् ।
बैठकमा राजश्व परामर्श समितका संयोजक, सदस्य, सदस्य सचिव तथा विभागिय प्रमुखहरुको उपस्थिति रहेको थियो ।
मधेश प्रदेश सुक्खाग्रस्त क्षेत्र घोषणा
जनकपुर । मधेश प्रदेश सरकारले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको छ । बिहीबार साँझ बसेको मधेश प्रदेश सरकारको मन्त्रीपरिषद्को बैठकले प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेको हो । वातावरणीय असन्तुलनका कारण समयमा वर्षा नहुदा धान रोपाईमा समस्या उत्पन्न भएको र धान रोपिएका खेतमा पनि धाँजो फाट्न थालेको अवस्थालाई दृष्टिगत गर्दै सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको जनाइएको छ ।
बैठकले सुक्खाग्रस्त मधेश प्रदेशका किसानहरूका लागि आवश्यक विशेष राहत प्याकेज घोषणा गर्न संघीय सरकारसँग आग्रह गर्ने निर्णय गरेको छ ।
यस्तै कृषि क्षेत्रमा क्रियाशील दातृ निकायहरूलाई पनि आवश्यक सहयोग गर्न प्रदेश सरकारले आह्वान गरेको छ ।
बैठकले पर्साको वीरगंज सहित मधेश प्रदेशका विभिन्न जिल्लामा देखिएको खानेपानी संकट समाधानका लागि आवश्यक स्रोत साधन परिचालन गर्ने निर्णय गरेको छ ।
खानेपानी संकट समाधानमा आवश्यक सहयोग गर्न संघीय खानेपानी मन्त्रालयलाई आग्रह गर्दै ट्याङ्कर सहितका विभिन्न माध्यमबाट पानीको आपूर्ति मिलाउने निर्णय समेत मन्त्रीपरिषद्ले गरेको छ ।
कांग्रेसबाट निकालिएका बिष्णुले भने – आफूलाई पुनः ऊर्जावान बनायो
इटहरी । नेपाली कांग्रेसको कारवाहीमा परेका कांग्रेसका खोटाङ जिल्ला सभापति बिष्णुकुमार राईले आफूमाथि एक वर्षको निलम्बनसहितको राजनीतिक कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई पुनः ऊर्जावान बनाएको बताएका छन् ।
शुक्रबार सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको भावुक अभिव्यक्तिमा उनले कारवाहीपछि जनस्तरबाट प्राप्त सद्भावनाले आफूलाई थप उचाइ दिएका बताएका हुन् ।
उनले लेखेका छन्, ‘फेरि एकपटक निष्ठा र त्यागको राजनीतिले जगतबाट पृष्ठपोषण पाएको छ ।’
राईका अनुसार राजनीतिकमा धूर्त, फट्याई र चाकडिवाजहरुको वर्चस्व रहेको बताए । राईले भने, ‘धूर्त, फट्याई र चाकडिवाज’हरुले वर्चस्व जमाएको भान भइरहेका बेला पनि सत्य र निष्ठाको पक्षमा उभिन जनताको साथले आफूलाई थप उचाइ दिएको छ ।’
उनी थप लेख्छन्,‘जब म माथि १ वर्षे नसिहतको कारवाही सार्वजनिक भयो, जगतले त्यसप्रति गरेको खेदप्रकट र ममाथि देखाएको सदाशयताले पुनः मेरो राजनैतिक निष्ठाको सगरमाथाले थप उचाई प्राप्त गरेको अनुभूति पाईरहेछु ।’
अभिव्यक्तिमा राईले आफ्ना पुराना राजनीतिक स्मृतिहरु पनि साटेका छन् ।
काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्दै
काठमाडौं । आज काठमाडौं महानगरपालिकाको कार्यपालिका बैठक बस्ने भएको छ । शुक्रबार दिउँसो २ बजे बस्नेगरी कार्यपालिका बैठक बस्न लागेको हो ।
महानगरको लामो समयदेखि कार्यपालिको बैठक बस्न नसकेपछि गत जेठ १२ गते महानगरका ४१ सदस्यले मेयर बालेन शाहलाई एक पत्र लेख्दै बैठक बोलाउन आग्रह गरेका थिए ।
महानगरका अनुसार शुक्रबार बिहान ११ बजे सुरुमा मेयरको संयोजकत्वमा हुने स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ भने त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ ।
बैठकले नीति तथा कार्यक्रम र बजेट नगर सभामा पेस गर्नेछ भने सोही कार्यपालिकाले नगर सभाको मिति तोक्ने छ ।
आज विभिन्न कार्यक्रम गरि विश्व जनसंख्या दिवस मनाइदैँ
काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।
सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।
विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।
यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर युवाहरूलाई सहयोग पु¥याउने लक्ष्य राखेको छ ।
आजको मौसम : देशभर वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ भने मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास तथा पश्चिममा सरदर स्थानभन्दा केही उत्तरतिर रहेको छ । यसले गर्दा देशका विभिन्न भागमा भारी वर्षाको सम्भावना बढेको छ।
आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । विशेषगरी बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि रहेको छ ।
यस्तै, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत पहाडी भागमा साधारणतया बदली रहनेछ भने बाँकी भागमा आंशिक बदली रहनेछ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
विशेषगरी मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना पनि कायम रहनेछ ।
महाशाखाले सम्भावित वर्षाका कारण बाढी, पहिरो तथा गेग्य्रान बहावको जोखिम रहेको भन्दै सचेत गराएको छ। सहरी तथा तराई क्षेत्रमा डुबानको जोखिम रहेकाले ती क्षेत्रका सर्वसाधारणलाई सावधान रहन अनुरोध गरिएको छ।
२४ घण्टामा ७० विपद् सम्बन्धी घटना : चार जनाको मृत्यु, ६ बेपत्ता
काठमाडौं । पछिल्लो २४ घण्टामा मुलुकभर विभिन्न ७० वटा विपद् सम्बन्धी घटनाहरू दर्ता भएका छन् । यस अवधिमा चार जनाको मृत्यु, ६ जना बेपत्ता र ६ जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ ।
असार २५ गते बिहान १० बजेदेखि असार २६ गते बिहान १० बजेसम्मको अवधिमा सबैभन्दा धेरै बाढी र पहिरोका घटना दर्ता भएका छन् । बाढीका कारण १ जनाको मृत्यु, ५ जना बेपत्ता र ५ जना घाइते भएका छन् भने पहिरोका कारण १ जनाको मृत्यु, १ जना बेपत्ता र १ जना घाइते भएका छन् ।
चट्याङ लागेर २ जनाको ज्यान गएको छ । त्यस्तै, आगलागी, जनावर आक्रमण लगायतका घटनाहरू समेत रिपोर्ट भएका छन् । यस अवधिमा चौपाया ९ वटा मरेका छन् भने करिब ३८ लाख ३७ हजार ४ सय रुपैयाँ बराबरको सम्पत्ति नोक्सानी भएको अनुमान गरिएको छ ।
यस अवधिमा प्रहरी र उद्धार टोलीहरू गरी ४९८ जना परिचालित भएका छन् ।
काँग्रेसको कारबाही डा.कोइराला समूहले नमान्ने, प्रतिवाद गर्ने
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको भेलाले पार्टीले विभिन्न नेता एवम् कार्यकर्ताहरूमा पार्टी अनुशासन कारबाहीका नाममा एकतर्फी प्रक्रिया अगाडि बढाएकोप्रति आपत्ति जनाएको छ ।
डा.कोइरालाको सम्पर्क कार्यालय विशालनगरमा बसेको भेलाले कांग्रेस केन्द्रीय अनुशासन समितिले पार्टीका नेताहरूलाई एकतर्फी रूपमा विधान विपरीत कारबाही गर्ने भनि नाम सार्वजनिक गरेको भन्दै त्यसको प्रतिवाद गर्ने निर्णय गरेको हो ।
छलफलमा कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने, न्याय दिलाएरै छाड्ने निर्णय समेत भएको छ । कारबाहीका सम्बन्धमा पार्टी सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह गर्ने र राजनीतिक रूपमा सशक्त प्रतिरोध गर्ने र कारबाही नमान्ने निर्णय भएको डा.कोइरालाका स्वकीय सचिव दिनेश थपलियाले जानकारी दिए ।
बैठकमा उपसभापति धनराज गुरुङले सभापति शेरबहादुर देउवा, उपसभापतिहरू र महामन्त्रीहरूका बिच अहिले अनुशासन समितिको फाइल अहिले नचलाउने कुरा भएको तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी एक्कासि विज्ञप्ति निकालेर कारबाही गरिएकाले त्यसको प्रतिकार गर्ने निर्णय गरिएको थपलियाले जानकारी दिए ।
बैठकमा उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए ।
वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गछौँ : मन्त्री यादव
वीरगञ्ज (पर्सा) । खानेपानीमन्त्री प्रदीप यादवले जलवायु परिवर्तनका कारण परेको खडेरीले खानेपानीको गम्भीर अभाव सिर्जना भएको वीरगञ्ज महानगरपालिका सहित तराई–मधेसमा देखिएको खानेपानीको सङ्कट चाडै समाधान गरिने बिश्वास व्यक्त गरेका छन् ।
मन्त्री यादवले वीरगञ्ज महानगरपालिकाका विभिन्न वडा, टोल तथा घर घरमा पुगेर निरीक्षण तथा अनुगमन गरि तत्कालै खानेपानीको समस्या समाधान गर्न आफु लागि परेको बताए ।
उनले भने,‘वीरगन्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म पहल गरिरहेको छु । सयौँ ठाउँमा डिप बोरिङ जडान भइ खानेपानी आपूर्ति भइरहेका छन् । अन्य समस्या ग्रस्थ क्षेत्रमा पनि डिप बोरिङ जडानको कार्य सुरु भएकाले यहाँको समस्या चाडै समाधान हुनेछ ।’
खानेपानीको समस्या ग्रस्थ भएका यहाँका विभिन्न वडा, गाउँ तथा टोलहरुमा निरीक्षण गर्नु हुँदै मन्त्री यादवले पछिल्लो समय जनताले भोगिरहेको खानेपानीको अभावले आफू निकै चिन्तित भएको बताए ।
वीरगञ्जसहित तराई–मधेसमा देखिएको खानेपानीको समस्या समाधान गर्न म स्थलगत रुपमा अनुगमनमा निस्किएको छु । जनताको अत्यावश्यक आवश्यकताको रूपमा रहेको खानेपानीको समस्या समाधानमा कुनै कसर बाँकी राखिने छैन । सरकारको तर्फबाट तीव्र पहल भइरहेको छ ।’उनले भने
मन्त्री यादव सहितको टोलीले वीरगञ्ज महानगरपालिकाका–११ का श्रीपुर, नयाँ बस्ती, रानीघाट, ओमआश्रम, वडा नं १२ का मुर्ली नएका टोला, ब्रह्मचोक, वडा नं १२ का राधेमाई, पण्डितटोल, तीजार्थटोल, मुरली गाउँ, नएको टोल, वडा नं १४ का बहुँअरी राधेमाई, पिपरा, वडा नं १५ का भिष्वा नयाँ बस्ति, लक्ष्मनुवा, वडा नं २१ का तत्वाटोल, ताजपुर, कोईरिया टोल ,परवानापूर वडा नं २४ का रामगढवा, रानीघाट, नयाँ बस्ती, बहुँवरी, वडा नं २६ को सुगौली, अटराहा, वडा नं २५ को डाईपोर्ट, सिरसिया वडा नं १७ को अलौँ, वडा नं १० को घडिहरवा, रानीघाट, वडानं ९ लगायत विभिन्न टोल र घरघरमा अनुगमन तथा निरीक्षण गरेका थिए ।
जलवायु परिर्वतनका कारण यहाँका पानीका चापाकल सुक्दै गएका र खानेपानीको चरम अभाव भएपछि मन्त्री यादव सहित नेपाल खानेपानी संस्थानका कर्मचारीको टोलीले समस्या समाधानका उपाय सहित अनुगमन तथा निरीक्षण गरेको थियो ।
स्थानीय तहसँग सहकार्य गर्दै यहाँको खानेपानीको समस्या समाधान गर्न आफु पूर्ण प्रतिबद्ध रहेको समेत मन्त्री यादवले विश्वास दिलाए ।
उनले भने,‘यो संकटको समाधानका लागि आवश्यक रणनीति, स्रोत परिचालन र दीर्घकालीन योजना निर्माणमा मेरो पहल जारी रहनेछ । विपतको समयमा सबैको साथ तथा सबैको हाथको आशा पनि राखेको छु ।’
कुलिङ पिरियडमा छलफल गर्न छानबिन समितिको बैठक जारी
काठमाडौं । ‘कूलिङ अफ पिरियड’ विवाद सम्बन्धमा छानबिन गर्न बनेको विशेष छानबिन समितिको बैठक जारी रहेको छ । बुधबार सिंहदरबारमा अध्ययन तथा छानबिन विशेष समितिको बैठक जारी रहेको हो ।
सङ्घीय निजामती सेवा विधेयक, २०८० को प्रतिवेदनमा त्रुटि भएको भन्ने सम्बन्धमा अध्ययन तथा छानबिन विशेष समितिको दोस्रो बैठक जारी छ ।
सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा गडबडी भएको थियो । यसबारे व्यापक विरोध र आलोचनापछि गडबडीबारे छानबिन गर्न प्रतिनिधिसभाबाट सोमबार ७ सदस्यीय संसदीय विशेष छानबिन समिति घोषणा भएको थियो ।
समितिको संयोजकमा कांग्रेसका सहमहामन्त्रीसमेत रहेका सांसद जीवन परियार रहेका छन् । संसद्को नियमावली, २०७५ को नियम १८० बमोजिम गठन गरिएको समितिमा नेपाली कांग्रेस र नेकपा एमालेबाट २–२ जना, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट १–१ जना सदस्य छन् ।
समितिलाई छानबिन तथा अध्ययनका लागि २१ दिनको समय दिइएको छ ।