सुर्खेतबाट खाली खुट्टा हिँडेर आएका बोहोराले प्रधानमन्त्रीलाई भेटे
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँसम्मको यात्रा पूरा गरेका अभियानकर्मी नवराज बोहराले आइतबार प्रधानमन्त्री निवास, बालुवाटारमा भेट भएको छ ।
कर्णालीको सुशासन, विकास, पर्यावरणीय सन्तुलन र पशु संरक्षणलागयत मुद्धा उठाएर गत जेठ ४ गतेदेखि यात्रा सुरु गरेका बोहरा ३१ औँ दिनमा यही असार ३ गते काठमाडौँ आइपुगेका हाुन् ।
सोही दिन प्रधानमन्त्री ओलीलाई भेट्न खोजेका बोहराले प्रधानमन्त्रीको कार्यव्यस्तताका कारण आज भेट पाएका हुन् ।
बोहराले प्रधानमन्त्री ओलीलाई आफूले अभियान र यात्राका क्रममा देखेका अनुभव, उपचार नपाएका बालबालिका आदिका समस्या र समस्या समाधानका लागि गरिएका पहलबारे अवगत गराए ।
प्रधानमन्त्री ओलीले पवित्र भावका साथ अभियान सञ्चालन गर्न सुझाव दिँदै शरीर धेरै दुःख नदिइ आफ्नो स्वास्थ्य र परिवारको पनि ख्याल गरेर अघि बढ्न आग्रह गरे ।
प्रधानमन्त्री ओलीसँग भेटेपछि बोहराले आफ्ना कुराहरु सुनाउन पाएकामा हर्ष व्यक्त गर्दै पहिलो चरणको अभियान पूरा भएकाले अब जुत्ता लगाउने, दाह्री काटेर नयाँ स्वरुपमा अघि बढ्ने बताएका छन् ।
इरानी आणविक केन्द्रहरुमा भएको आक्रमणको अमेरीका भित्रै विरोध
काठमाडौं । अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुलाई निशाना बनाएर गरेको आक्रमणको अमेरीका भित्रै विरोध भइरहेको छ ।
इजरायल–इरान बिच भइरहेको युद्धमा अमेरीका प्रवेश गरेको छ । आईतबार अमेरीकाले इरानका तीन आणविक केन्द्रहरुमा आक्रमण गरेको हो । अमेरिकी राट्रपति डोनाल्ड जे. ट्रम्पले आज सामाजिक सञ्जाल एक्समा लेखेका छन् ।
‘हामीले इरानका तीन आणविक स्थलहरूमा धेरै सफल आक्रमण पूरा गरेका छौं, जसमा फोर्डो, नातान्ज र एस्फहान समावेश छन् । हाम्रा सबै विमानहरू अब इरानको हवाई क्षेत्र बाहिर छन् । बमको फोर्डोमा खसालिएको थियो । सबै विमानहरू सुरक्षित रूपमा घर फर्किरहेका छन् । हाम्रा महान अमेरिकी योद्धाहरूलाई बधाई छ । संसारमा यस्तो गर्न सक्ने अर्को कुनै सेना छैन । अब शान्तिको समय हो ।’
तर ट्रम्पको यस्तो कदमको अमेरीका भित्रै र विश्वका अन्य मुलुकका नेताहरुले समेत विरोध गरिरहेका छन् । अमेरिकी सांसदहरूले कंग्रेसको स्वीकृति नलिएकोमा ट्रम्प प्रशासनको आलोचना गरेका छन् ।
बिबिसी न्युजले उल्लेख गरे अनुसार इरानी विदेशमन्त्री सैयद अब्बास अरागचीले अमेरिकी हमलालाई ‘अपमानजनक’ भन्दै निन्दा गरेका छन् । उनले इरानले ‘आफ्नो सार्वभौमसत्ताको रक्षा गर्न सबै विकल्पहरू सुरक्षित राखेको’ बताएका छन् ।
हमलालगत्तै टेलिभिजनमार्फत सम्बोधन गर्ने क्रममा ट्रम्पले इरानका प्रमुख आणविक प्रवद्र्धन केन्द्रहरू पूर्ण रूपमा र पूरै ध्वस्त पारिएको बताउँदै इरानले अब शान्ति कायम गर्नुपर्ने बताएका छन् ।
निर्माण पुरा नहुँदै भत्कियो तामाकोशीको पुल
रामेछाप । रामेछापको मन्थली नगरपालिका–६ को कुनाउरीबाट वडा नं ७ भटौली ठेडिखोला जोड्ने गरी तामाकोशी नदीमाथि निर्माण भइरहेको पक्की पुल सम्पन्न नहुँदै भत्किएको छ ।
आइतबार बिहान पुलको निर्माणाधीन एउटा स्पानको स्ल्याव पुरै खसेको छ । स्ल्याव यसअघि गत बैशाख २६ गते क्रयाक भएको थियो । त्यसपछि निर्माण कम्पनीले सो भागलाई टाल्ने काम गरिहरेको अवस्थामा आइतबार बिहान स्ल्याब पुरै भाँचिएर भुईँमा झरेको स्थानीय पाण्डव प्रसाईँले बताए ।
‘पहिले भाँचिएको पुललाई प्राविधिक र निर्माणका कम्पनीको मिलेमतोमा टालटुल पारेर जिम्मामा लगाउने प्रयास भइरहेको थियो, तर अडिएन आज बिहान पुलको बिचको एक कौल स्ल्याब पुरै भाँचिएर झ¥यो’ उनले भने।
सडक विभागको पुल शाखाबाट आर्थिक वर्ष २०७८÷७९ सो पुल ठेक्का लगाइएको थियो । सो पुल ‘डिजाइन एण्ड विल्ड’ मोडलमा निर्माण भएको हो ।
पुलको निर्माण जिम्मा कालिका–कल्पवृक्ष जेभीले पाएको थियो । पुलको कुल २ सय ३० मिटर लम्बाइ र ११ मिटर चौडाइको छ । पुल कर बाहेक २२ करोड ५५ लाख ४० हजार रुपैयाँमा निर्माण गर्ने ठेक्का सम्झौता भएको थियो । निर्माण कम्पनिले हालसम्म प्रतिशत भुक्तानी भइसकेको छ।
सो पुल निर्माणको म्याद २०८२ साल भदौ मसान्तसम्म भए पनि निर्माण कम्पनीले यसै असारभित्र काम सकेर जिम्मा लगाउने तयारी गरेको थियो । तर पुलको निर्माण नसक्दै भत्किएको छ ।
यो पुल मन्थली नगरपालिका–६ र ७ लाई सिधा जोड्न तथा मन्थलीबाट खाँडादेवी, दोरम्बा शैलुङ, सुनपाति गाउँपालिका जान छोटो दुरीको सडक हुने गरी निर्माण गरिएको थियो ।
भारतमा उद्धार गरिएका ३५ नेपालीलाई नेपाल ल्याइने तयारी, ठगीमा संलग्न तीन पक्राउ
काठमाडौं । आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक संभवत मंगलबार नेपाल फर्काउने तयारी गरिएको छ ।
गत विहीबार नेपाली राजदूतावास, भारतीय प्रहरी र केन इन्डिया नामक सामाजिक संस्थाका निर्देशक नविन जोशीको अगुवाइमा ती नेपालीहरुको उद्धार गरिएको थियो ।
निर्देशक जोशीका अनुसार अदालती र प्रशासनीक प्रक्रिया पूरा गरेर उनीहरुलाई सकुशल नेपाल ल्याउने तयारी भइरहेको छ । ‘एक महिनासम्म निरन्तर खटिएर ठूलो हिम्मत र साहसका साथ ३५ नेपालीलाई उद्धार गर्न सक्षम भएका छौं । नेपालीलाई फसाउने गिरोहमध्ये एक नेपाली र दुई भारतीयलाई पक्राउ गरिएको छ र थप अनुसन्धान जारी छ,’ निर्देशक जोशीले भने ।
पीडितहरूलाई विभिन्न जिल्लाबाट झुक्याएर भारत पु¥याई बन्धक बनाइएकै अवस्थामा कुटपिट, यातना र आर्थिक शोषण गरिएको थियो। पीडित मध्येका इलामको महमाइ–८ का सौगात काफ्लेका अनुसार एकजना विरेन्द्र शाही भन्ने ब्यक्तिले आफ्नो अंकलको फेक आइडी बनाएर महिनाको ३८ हजार दिन्छु भनेर काशिपुरमा ल्याएर फसाएको बताए ।
‘मैंले केही थाहा पाइँन मेरो दिनेश अंकलको फेक आइडी बनाएको रहेछ । अंकलले नै भनिसकेपछि राम्रो पैसा कमाइने रहेछ भनेर पैसा बुझाएर आएँ । लगभग चार लाख ऋण नै लाग्यो । विश्वासमा परेर यता आइयो तर फसियो,’ उनले भने,‘यता रहनुभएको अकंलसँग भेट पनि भएन । खानेकुरा पनि सुरुमा चिकेन-मटन दिने र राम्रो काम लगाइदिने भनियो । तर विभिन्न वहानामा कोठा थुनेर राखियो । यातना दिइयो । खानेकुरा पनि आलु, बेसार–पानी दिइयो । ज्यादै दुःख पायौं ।’
घटनाको जानकारी पाएपछि परराष्ट्र मन्त्रालयको निर्देशनमा दूतावासले उत्तराखण्ड प्रहरीले स्थानीय सामाजिक संस्था केन इन्डियाको सहयोगमा असार ५ गते उनीहरुको उद्धार कार्य सम्पन्न गरेको थियो ।
केन इन्डियाका निर्देशक जोशीका अनुसार गिरोहले सोझा नेपालीहरुबाट ४० देखि ७० हजार रुपैंयाँसम्म असुल्ने गरेको बताए । ‘यसरी गलत व्यक्ति र मानव तस्करहरुमार्फत महिनामा ५० जना नेपालीहरु भारतका विभिन्न ठाउँमा पुर्याइने गरेको हामीले पत्ता लगाएका छौं,’ उनले भने ।
जोशी विगत डेढ दशकदेखि भारतको दिल्लीमा बसेर मानव बेचविखनविरुद्धको अभियानमा सक्रिय रहँदै आएका छन् । नेपालका गाउँहरुबाट भारतका विभिन्न शहर र तेस्रो मुलुक जाने क्रममा दलालबाट ठगिएका, बेचिएका वा अलपत्र पारिएकाहरुलाई जोशीको नेतृत्वको संस्थाले उद्धार गर्दै आइरहेको छ ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । महाशाखाका अनुसार आज देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशको पहाडी भू–भागको धेरै स्थानहरूमा तथा बाँकी भू–भागको केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
कोशी प्रदेशका पहाडी भू–भाग, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरू हल्का वर्षा÷ हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
यस्तै, आज राती कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश प्रदेशका धेरै स्थानहरू र बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन÷चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरूमा भारी देखि धेरै भारी वर्षा तथा गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च–पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा÷ हिमपातको सम्भावना रहेको छ ।
रास्वपाले सुरु गर्यो हस्ताक्षर अभियान
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै त्यसका विरुद्धको हस्ताक्षर अभियान सुरु गरेको छ ।
पार्टी स्थापना दिवसका अवसरमा शनिबार काठमाडौँको माइतीघरमा एक कार्यक्रमको आयोजना गर्दै रास्वपाले लामिछानेमाथि राजनीतिक प्रतिशोध साँधिएको भन्दै जनताको घर दैलोमा लिएर जाने भन्दै हस्ताक्षर अभियान सुरु गरेको हो ।
सदन, सडक र घर दैलोसम्म अभियान पुर्याउने रास्वपाको लक्ष्य छ ।
इरानमा रहेका नेपालीलाई भारतीय दूतावासले उद्धार गरिदिने
काठमाडौँ । इजरायल–इरान युद्धका कारण इरानमा समस्यामा परेका नेपाली नागरिकलाई भारत सरकारले उद्धार गर्ने भएको छ । नेपाल सरकारको अनुरोधमा उनीहरूलाई इरानस्थित भारतीय दूतावासले उद्धार गर्ने भएको हो ।
परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले इरानमा १६ जना नेपाली नागरिक रहेकाले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरी ल्याइदिन भारत सरकारसँग आग्रह गरिन ।
परराष्ट्रमन्त्री डा राणाले भनिन्,‘इरानमा हाम्रा पनि सानो सङ्ख्यामा नेपाली नागरिक हुनुहुन्छ । यहाँहरूले आफ्ना नागरिकको उद्धार गर्ने क्रममा नेपालीहरूलाई पनि उद्धार गरिदिनुहोला भनी मैले भारतीय राजदूत नविन श्रीवास्तवमार्फत भारत सरकारलाई आग्रह गरेकी थिएँ । हामीहरू उहाँहरूको सहयोगको प्रतीक्षामा छौँ ।’
केही दिनयता जारी इजरायल–इरान युद्धका कारण इरानमा रहेका नेपालीको उद्धारका लागि मन्त्री डा.राणाले भारत सरकारसँग सो आग्रह गरेकी थिइन् ।
यस प्रयोजनका लागि मन्त्री डा राणाले भारतका लागि नेपाली राजदूत डा शंकर शर्मालाई पनि आवश्यक समन्वय गर्न निर्देशन दिएकी थिइन् । इरानस्थित भारतीय दूतावासले नेपालको अनुरोध स्वीकार गरेपछि आजै परराष्ट्र मन्त्रालयले इरानमा रहेका नेपालीहरूलाई सम्पर्क गरी भारतीय दूतावासको सम्पर्कमा जान भनेको र इरानस्थित भारतीय दूतावासले पनि सो सूचना जारी गरेको छ ।
परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले त्यहाँ रहेका नेपालीहरू र इरानस्थित भारतीय दूतावासका डिसिएम राखी मायुरीसँग सम्पर्क र समन्वय गरिरहेकी छन् ।
यससँगै भारतीय दूतावासले नेपाल र त्यहाँ स्थित श्रीलंकाली नागरिकहरूलाई पनि सम्पर्कमा आउन भनेको छ । १६ नेपालीमध्ये अध्यागमन सम्बन्धी कानुनका कारण पाँच जना नेपाली इरानी जेलमा रहेकाले उनीहरूलाई पनि जेलमुक्त गरी स्वदेश फर्काउने पहल मन्त्रालयले जारी राखेको छ ।
भारतीय नागरिक अवैध हतियारसहित काँकरभिट्टाबाट पक्राउ
विराटनगर । झापाको मेचीनगर नगरपालिका–६ स्थित काँकरभिट्टा बसपार्कबाट एक भारतीय नागरिकलाई अवैध हतियारसहित प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति भारत पश्चिम बंगाल, सिलिगुढी निवासी ३५ वर्षीय जय प्रकाश कुमार पाठक हुन् । विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन लामाको नेतृत्वमा खटिएको टोलीले भारतीय नम्बरप्लेटको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाई राखिएको एक थान एयर पेस्तोल, पाँच राउन्ड एयर बुलेट तथा दुई थान खुकुरी फेला पारेको प्रहरीले जनाएको छ ।
हाल पक्राउ परेका पाठकमाथि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ ।
बीपी राजमार्गमा रातको समयमा यात्रुबहाक सवारी सञ्चालनमा रोक
रामेछाप । बीपी राजमार्गमा रातको समयमा सवारी सञ्चालनमा १५ दिनका लागि रोक लगाइएको छ । शुक्रबार सिन्धुलीको मूल्कोटमा काभ्रे, सिन्धुली र रामेछापका अन्तर जिल्ला सुरक्षा समन्वय समितिको संयुक्त बैठकले १५ दिनको लागि बेलुका ६ः३० बजेदेखि बिहान ५ बजेसम्म मालवाहक सवारी साधनबाहेक अन्य सबै सवारी सञ्चालनमा रोक लगाउने निर्णय गरेको हो ।
वर्षाको मौसमले राजमार्गका विभिन्न खण्डमा काभ्रे भञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मको खण्डमा क्षति पु¥याएकोले यात्रु तथा चालकको सुरक्षाका लागि यस्तो निर्णय गरिएको बताइएको छ ।
राजमार्गका धेरै ठाउँमा पहिरोको जोखिम र चिप्लो सडक भएका कारण सवारी सञ्चालनलाई अस्थायी रूपमा रोक्ने निर्णय भएको हो । निर्णय अनुसार काठमाडौंबाट बाहिरिने सवारी साधनलाई काभ्रे भञ्ज्याङमै रोकिने भएको छ भने काठमाडौंतर्फ जाने सवारी साधनलाई सिन्धुलीको खुर्कोटमा रोकिने भएको छ । सो निर्णय आजैबाट लागू हुनेछ ।
बीपी राजमार्ग राजधानी काठमाडौंलाई तराईसँग जोड्ने महत्त्वपूर्ण राजमार्ग हो । दैनिक हजारौँ यात्रु र मालवाहक गाडी यही बाटो भएर आवतजावत गर्ने गर्दछन् ।
गएको वर्ष असोज महिनामा आएको बाढीले रोशी खोला क्षेत्रमा सडकमा ठुलो क्षति भएको छ । अप्ठेरो सडक हुँदा चौकीडाँडामा दैनिक जसो सवारी दुर्घटना हुने गरेको
मोरङका निर बहादुर खड्का कोशी प्रदेशकै सर्वोत्कृष्ट प्रहरी
विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले मोरङको इलाका प्रहरी कार्यालय हरैचामा कार्यरत प्रहरी नायव निरीक्षक (प्रनानि) निर बहादुर खड्कालाई २०८२ सालको जेठ महिनाको ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ घोषणा गरेको छ ।
खड्काले विभागीय मूल्य–मान्यता तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र साहससहित आफ्नो कर्तव्य निर्वाह गरेका कारण यस सम्मानका लागि चयन गरिएको कार्यालयले उल्लेख गरेको छ ।
खासगरी उनले गत जेठ २० गते ग्रामथान गाउँपालिका ७ स्थित शंकास्पद अवस्थामा बेवारिसे टाटा सुमो चेकजाँच गर्ने क्रममा दुई जना व्यक्तिसहित ३ सय ४७ किलो १ सय १० ग्राम गाँजा नियन्त्रणमा लिन सफल भएका थिए ।
त्यस्तै, फैसला कार्यान्वयन अन्तर्गत कर्तव्य ज्यान मुद्धामा पाँच वर्ष कैद सजाय सुनाइएका एक फरार अभियुक्तसहित विभिन्न मुद्दामा जरिबाना तोकिएका १४ जना फरार प्रतिवादीलाई कानूनी दायरामा ल्याउन उनले विशेष सफलता प्राप्त गरेको कार्यालयले जनाएको छ ।
यस्तै ग्रामथान ७ की ८९ वर्षीय तिलमाया खड्काको खोजतलास गर्दै ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ परियोजनाको नहरमा डुबेको अवस्थामा शव फेला पारी अनुसन्धानको नेतृत्व पनि उनैले गरेका थिए । सो क्रममा मृतकका सुनका गहना नजिकैको एक घरभित्र माटोमुनी गाडिएको अवस्थामा फेला पारी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको थियो ।
खड्काले आफ्नो क्षेत्रको शान्ति सुरक्षालाई मजबुत पार्दै उल्लेखनीय सफलता हात पारेको भन्दै कोशी प्रदेश प्रहरीले उनको कार्यको उच्च मूल्याङ्कन गर्दै ‘महिनाको सर्वोत्कृष्ट प्रहरी’ को सम्मान प्रदान गरेको हो ।