बकैयामा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण
मकवानपुर । मकवानपुरको बकैया गाउँपालिका–७ स्थित जनक माध्यमिक विद्यालय परिसरमा विद्यालय प्रशासनलाई थाहा नदिई भवन निर्माण सुरु गरेको पाइएको छ ।
विद्यालय परिसरमा स्व. नेत्र राईको नाममा भवन निर्माण कार्य सुरु गरिएको तर विद्यालय प्रशासनलाई खबर नभएको भन्दै आपत्ति जनाएको छ ।
विद्यालय विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुन्दर सिं थिङले विद्यालय परिसरमै भवन निर्माण हुँँदा विद्यालय प्रशासनलाई कुनै जानकारी नआएको बताए ।
उनले भने, ‘विद्यालय व्यवस्थापन समिति र विद्यालय प्रशासनलाई जानकारी नदिई कसरी भवन निर्माण गर्न मिल्छ?, विद्यालय जस्तो सार्वजनिक शैक्षिक संस्थाको क्षेत्रभित्र कुनै पनि संरचना निर्माण गर्दा सम्बन्धित निकायसँग पूर्व स्वीकृति, छलफल तथा पारदर्शिता अनिवार्य छ। तर यहाँ निर्माण समिति वा सम्बन्धित पक्षले सो प्रक्रिया पालना नगरेको देखिएको छ ।’
आजको मौसम : कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ ।
जसका कारण हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा मौसम सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ । मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङसहित वर्षा तथा कोशी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । लुम्बिनी प्रदेशको एक–दुई स्थानमा भने भारी वर्षा पनि भइरहेको छ ।
यस्तै, आज दिउँसोः बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा चट्याङसहित वर्षाको सम्भावना छ । कोसी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
साथै, आज राति कोसी, मधेस, बागमती र गण्डकी प्रदेशलगयात देशका पहाडी भूभागका केही स्थान तथा बाँकी भूभागका थोरै स्थानमा वर्षा र कोसी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा वर्षा र हिमपातको सम्भावना रहेको छ ।
आइटी सदस्यहरूलाई प्रशिक्षण दिँदै जसपा नेपाल
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले आइटी सदस्यहरूलाई प्रशिक्षण दिने भएको छ । पार्टीको केन्द्रीय आइटी विभागको आयोजनामा सामाजिक सञ्जालमा सक्रिय सदस्यहरूको लागि जनकपुरधामस्थित अञ्जनी सुइटमा सोमवार देखि दुई दिवसीय प्रशिक्षण गर्न लागेको प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।
सामाजिक सञ्जालहरूको प्रयोग र परिचालनलाई प्रभावकारी ढङ्गले व्यवस्थित गर्न तथा सूचना, सञ्चार एवं प्रचार प्रसारको संयन्त्रलाई अझ बलियो बनाउन सामाजिक सञ्जाल प्रयोगकर्ताहरूलाई पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका नेता तथा विज्ञहरूले प्रशिक्षण दिन लागेको बस्नेतले बताए ।
सामाजिक सञ्जालमा सक्रिय देशभरीका पार्टी सदस्यहरूलाई सङ्घीयता, सुशासन, सामाजिक न्याय र समाजवादबारे समेत प्रशिक्षित गरिने बताइएको छ ।
इरानले भन्यो : ‘परमाणु वार्ता अघि अमेरिकाले आक्रमण नगर्ने ग्यारेन्टी दिनुपर्छ’
काठमाडौं । इरानले अमेरिकासँगको परमाणु वार्ता पुनः सुरु हुनुअघि वाशिङ्टनले थप सैन्य कारबाही नगर्ने स्पष्ट प्रतिबद्धता जनाउनुपर्ने चेतावनी दिएको छ ।
इरानी उपविदेशमन्त्री मजिद तख्त–रवान्छीले दिएको एक अन्तर्वार्तामा अमेरिकी ट्रम्प प्रशासनले विभिन्न माध्यमबाट वार्तामा फर्कन संकेत गरे पनि, सैन्य हमलाबारे ठोस आश्वासन नदिएको बताएका हुन् ।
जुन १३ मा इजरायलले इरानविरुद्ध सैनिक कारबाही थालेपछि मस्कटमा तय गरिएको छैटौँ चरणको अप्रत्यक्ष परमाणु वार्ता स्थगित भएको थियो । दुई दिनपछि हुने भनिएको वार्ता विफल हुनुको कारण यही सैन्य तनाव भएको इरानी पक्षको दाबी छ ।
त्यसयता, इजरायल र इरानबीच झण्डै दुई हप्ता लामो द्वन्द्व चल्यो। यस अवधिमा इरानले मिसाइल आक्रमण गरेर जवाफ दिएको थियो भने अमेरिका पनि इजरायलको पक्षमा उभिँदै प्रत्यक्ष रूपमा भिडन्तमा उत्रिएको थियो। अमेरिकी सेनाले इरानका तीन प्रमुख आणविक स्थलहरू — फोर्डो, नटान्ज र इस्फहान — मा शक्तिशाली बम प्रहार गरेको पुष्टि भएको छ ।
इरानले भने बारम्बार आफ्नो आणविक कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको दाबी गर्दै आएको छ । मन्त्री तख्त–रवान्छीले गोप्य रूपमा आणविक हतियार निर्माण गरिरहेको आरोपलाई अस्वीकार गरेका छन् ।
यसबीच, इजरायलले इरान आफ्नो आणविक हतियार निर्माणको अन्तिम चरणमा पुगेको भन्दै निशाना बनाएको र इरानका वैज्ञानिक तथा सैन्य कमान्डरहरूलाई लक्षित हत्या गरेको थियो। त्यसपछि युद्ध १२ दिनसम्म लम्बिएको थियो।
म चोरेर खाने मान्छे होइन, काम गरेर खान्छु, निराधार आरोप मान्य छैन् : डीपी अर्याल
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद डोलप्रसाद अर्यालले आइतवार प्रतिनिधिसभाको बैठकमा बोल्दै भिजिट भिसाका नाममा भइरहेको मानव तस्करीविरुद्ध आन्दोलन जारी रहेको बताएका छन् । उनले काम गरेर खानेलाई चोरेर खानेहरूले जबाफ दिनुपर्ने अवस्था आएको भन्दै आक्रोश व्यक्त गरे ।
सांसद अर्यालले गत ३३ दिनदेखि भिजिट भिसाको नाममा भइरहेको मानव तस्करीप्रति सरकार गम्भीर नदेखिएको आरोप लगाए ।
उनले भने, ‘हामीले हाम्रो आन्दोलन आजपनि जारी नै राखेका छौँ । यहाँ काम गरेर खानेहरूले चोरेर खानेहरूलाई जवाफ दिएर हिँड्नुपर्ने अवस्था आयो ।’
उनले मानव तस्करी प्रकरणमा संसदीय छानबिन समिति वा उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै आएका छन् तर, उनले सदनमा उनीहरूमाथि निराधार आरोप लगाइएको भन्दै आपत्ति जनाए ।
‘यस विषयलाई विषयान्तर गर्ने गरी हिजो यही सदनमा निराधार आरोप लगाउने प्रयास गरियो,’उनले भने, ‘राजनीतिलाई पेसा बनाएर वर्षौँ देखि देश दोहन गरिरहेकाहरूले आफू जस्ता व्यवसाय गरेर खानेहरूमाथि गम्भीर आरोप लगाइरहेका छन् ।’
सांसद अर्यालले आफ्नै ट्राभल्स कम्पनीको नाम सार्वजनिक गर्दै आफूमाथि लागेका आरोपलाई स्पष्ट रूपमा अस्वीकार गरे । ‘सुमेरे टुर एण्ड ट्राभल्स मेरो कम्पनी हो। म यो देशमा केही गरेर खाने मान्छे हुँ, चोरेर खाने मान्छे होइन,’उनले भने।
उनले कम्पनीमार्फत एक जना पनि व्यक्ति जापान वा कुनै देशमा भिजिट भिसामा गएकै छैनन् भन्ने दाबी गर्दै प्रमाण माग गरे ।
‘यदि कसैले प्रमाण दिन्छ कि हामीले पैसा लिएका छौं र मान्छे फर्किएका छैनन् भने म जिम्मेवारी लिन्छु । होइन भने निराधार आरोप संसदको रेकर्डबाट हट्नुपर्छ’ उनले भने ।
इजरायली हवाई आक्रमणबाट गाजामा कम्तीमा ८१ जनाको मृत्यु
काठमाडौं । इजरायली हवाई आक्रमणमा गाजामा कम्तीमा ८१ जनाको मृत्यु भएको छ भने ४०० जना घाइते भएका छन् । हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार गाजा शहरको एक रंगशाला नजिकै भएको आक्रमणमा एक बच्चासहित ११ जनाको मृत्यु भएको अल–शिफा अस्पतालका कर्मचारी र प्रत्यक्षदर्शीहरूले बताएका छन्।
अक्टोबर ७, २०२३ मा हमास र इजरायलबीचको द्वन्द्व सुरु भएदेखि युद्धग्रस्त गाजा पट्टीमा प्यालेस्टिनीहरूको मृत्यु हुने संख्या ५६ हजार चार सय १२ पुगेको छ भने अन्य १३ लाख तीन हजार ५४ जना घाइते भएका छन् ।
आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व,
काठमाडौं । आज राष्ट्रिय धान दिवस र दही चिउरा खाने पर्व । प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गर्दै दही चिउरा खाएर मनाइँदै छ।
कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन्। यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने विश्वास गरिन्छ। असार १५ लाई नेपाली समाजमा दही चिउरा खाने पर्वका रूपमा पनि लिइन्छ। खेतीपातीबाहेक अन्य पेसा र व्यवसायमा लागेका नेपालीले पनि आज दही चिउरा खाएर असार १५ मनाउँने गर्दछन् ।
नेपाली संस्कृतिमा दहीको स्थान महत्त्वपूर्ण रहेको छ । शुभकार्यका लागि घरबाहिर निस्कने, विदेश जाने आदि महत्त्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ। यस्ता शुभकाममा निस्कनुअघि सगुनका रूपमा पनि दही खुवाएर बिदाइ गरिन्छ। निस्कने बेलामा दही खाएर हिँडे साइत पर्ने जनविश्वास रहिआएको छ।
दही वैज्ञानिक दृष्टिले पनि स्वास्थ्यवद्र्धक मानिन्छ। गुरु गोरखनाथले नेपालको एकीकरणकर्ता श्री ५ बडामहाराजाधिराज पृथ्वीनारायण शाहलाई दही खान दिएर पराक्रमी हुने भविष्यवाणी गरेको मानिन्छ। आयुर्वेदमा भोजनको अन्त्यमा दही मथेर बनाएको मोही पिएमा औषधि उपचारका लागि स्वास्थ्यकर्मीकहाँ जानु नपर्ने बताइएको छ।
धान दिवस
विसं २०६१ मङ्सिर २९ गते मन्त्रीस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो। कृषिप्रधान देश भएकाले नेपालका अधिकांश मानिसहरु खेतीपातीमा संलग्न रहेका छन् ।
किसान वर्षभरका लागि छाक जुटाउन यो महिना खेतीमा व्यस्त हुन्छन्। आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोपिन्छ। ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’जस्ता लोकलयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ।
मध्य गर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन्। असारमा एकपटक हिलोमा पस्नैपर्ने मान्यता पनि नेपालीमा समाजमा रहेको छ।
एमालेको राजनीतिमा पुनः सक्रिय हुने विद्या भण्डारीको घोषणा
काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू एमाले राजनीतिमा फर्किने तयारीमा रहेको सुनाएकी छिन् । उनले जनताको सुख र राष्ट्रको समृद्धिका लागि आफ्नो दायित्व पूरा भइनसकेकाले फेरि सक्रिय राजनीतिमा फर्किने संकेत गरेकी हुन् ।
भण्डारीले आफूले एमालेको सदस्यता नवीकरण गरेको र अब एमालेको परिवारको सदस्यका रूपमा राजनीतिमा सक्रिय रहने भण्डारीको भनाइ थियो ।
शनिबार जननेता मदन भण्डारीको ७४औं जन्मजयन्ती समारोह कार्यक्रममा बोल्दै उनले एमालेको राजनीतिमा पुनः सक्रिय भएको औपचारिक घोषणा समेत गरिन् ।
उनले पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने उद्देश्यका साथ एमाले परिवारको एक सदस्यको रुपमा पुनः जोडिएको घोषणा गरेकी हुन् ।
उनले देश र जनताको हित नै आफ्नो ध्येय र लक्ष्य रहेको बताइन् । राजनीतिक यात्रामा आजका दिनसम्म आइपुग्दा राजनीतिक उतारचढावले धेरै कुरा सिकाएका बुझाएका छन् र थप परिपक्व समेत बनाएको बताइन् ।
जननेता मदन भण्डारीद्वारा प्रतिपादित नेपाली क्रान्तिको मौलिक सिद्धान्त जनताको बहुदलीय जनवादको मार्गदर्शनमा सामाजिक–आर्थिक रूपान्तरण गर्ने दायित्व बाँकी नै रहेको उनले बताइन् ।
उनले भनिन्, ‘अब म नेकपा एमाले परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु । र यसमा म गर्व गर्दछु । मेरो कुनै विशिष्ट महत्वाकांक्षा छैन्,’उनले भनिन्, ‘जननेताले भन्ने गर्नुहुन्थ्यो– जनता भनेका भगवान हुन् । साथै उहाँले भन्नुभएको थियो– राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन । आज तपाईँहरूका बीचमा हुँदा मदनका यी भनाईहरू मैले पुनः स्मरण गर्दै यहाँ उल्लेख गरेको छु । व्यवहारका कसीबाट खारिएका यी भनाईलाई आदर्श मानेर म समर्पित बनिरहनेछु ।’
भण्डारीले ‘मलाई जस्तै विगतले अरुलाई पनि महत्वपूर्ण शिक्षा र अनुभव अवश्य दिएको छ । समयको पदचापलाई राम्रोसँग बुझेर र त्यसलाई आत्मसात गरेर संयमतापूर्वक अग्रसर हुनुपर्दछ । सदा झैं सबैको सधैँभरि माया र विश्वास पाइरहुँ,’उनले भनिन् ।’
‘यस्तो महत्वपूर्ण दायित्व पूरा गर्न नेपाली कम्युनिष्ट आन्दोलनको मूल प्रवाहको रूपमा विकसित नेकपा एमाले सक्षम हुनेछ र निर्णायक राष्ट्रिय शक्ति निर्माण गरी यसलाई अक्षुण्ण राख्दै नेपाललाई विश्वसामु एक समुन्नत राष्ट्रको रूपमा चिनाउन एमालेलाई सफलता मिल्नेछ भन्ने दृढ विश्वाससमेत लिएको छु,’उनले भनिन् । कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी थिए ।
सरकारले अध्यक्ष नेपालमाथि राजनितिक प्रतिशोध साँधेको नेकपा एसको निष्कर्ष
काठमाडौं । नेकपा एकीकृत समाजवादीले अध्यक्ष माधव कुमार नेपालमाथि राजनीतिक प्रतिशोध साँधेको निष्कर्ष निकालेको छ । शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकले पताञ्जली जग्गा हिनामिना प्रकरणमा अध्यक्ष नेपालमाथि षड्यन्त्रपूर्वक मुद्दा दायर गरिएको निष्कर्ष निकालिएको उपाध्यक्ष प्रकाश ज्वालाले जानकारी दिए ।
’विद्रोह गरेर नयाँ पार्टी स्थापना गरेदेखि हामीमाथि निसाना साँधिँदै आएको छ । त्यही व्यक्तिहरूले नै अध्यक्षमाथि राजनीतिक षड्यन्त्र गरेका हुन्,’उनले भने ।
उपाध्यक्ष ज्वालाले आफूहरूले विद्रोह गरेर नयाँ पार्टी जन्माएसँगै निशानामा पर्दै आएको बताए । उनले पताञ्जली जग्गा हिनामिना प्रकरणमा कानुनी उपचारका निम्ति लडिरहने निष्कर्ष बैठकको रहेको बताए ।
अध्यक्ष नेपालले जिम्मेवारीबाट राजीनामा दिने विषयमा छलफल भइनसकेको पनि उनले बताए ।
उनले भने, ’त्यस विषयमा छलफल भएको छैन । उहाँले बैठकको अध्यक्षता गर्दै हुनुहुन्छ। संसदीय दलको बैठकबाट संसदीय दलको नेताबारे छलफल होला। अहिले त्यस्तो केही भएको छैन ।’
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालमाथि विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ । गत बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटी माग गर्ने आदेश सुनाएको थियो ।
पत्रकार हिमाल राईको स्मृतिमा अक्षयकोष स्थापना
बराहक्षेत्र, सुनसरी। स्वर्गीय पत्रकार हिमाल राईको स्मृतिमा उनकी धर्मपत्नी पर्वता तुम्बाहाम्फे राईले दुई लाख पाँच रुपैयाँको 'हिमाल राई स्मृति पुरस्कार अक्षयकोष' स्थापना गरेकी छन्। आज शुक्रवार बराहक्षेत्र नगरपालिका-२ स्थित आफ्नै निवासमा आयोजित एक कार्यक्रमका बीच उनले उक्त अक्षयकोष घोषणा गर्दै सो रकम फोनिज सुनसरीका कोषाध्यक्ष स्वर्णिम राईलाई हस्तान्तरण गर्नुभएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), सुनसरी शाखाले यस कोषलाई वार्षिक रूपमा सञ्चालन गर्नेछ। फोनिजको विधान र दाताको उद्देश्यअनुसार कोषबाट प्राप्त हुने रकम पत्रकारिता क्षेत्रमा योगदान पुर्याउनेहरूलाई पुरस्कृत गर्न प्रयोग गरिनेछ।
कार्यक्रममा फोनिज सुनसरीले स्वर्गीय पत्रकार राईकी धर्मपत्नी पर्वता तुम्बाहाम्फे राई र उनको परिवारप्रति विशेष धन्यवाद ज्ञापन गरेको थियो। यस अवसरमा वरिष्ठ पत्रकार हर्ष सुब्बा, अग्रज पत्रकार जनक ऋषि राई, फोनिज सुनसरीका अध्यक्ष सुनिल चौधरी र जिल्ला सचिव प्रमिला राई लगायतले स्वर्गीय राईको पत्रकारिताप्रतिको योगदानको चर्चा गर्दै दाता परिवारलाई धन्यवाद व्यक्त गरे।
कार्यक्रममा फोनिज सुनसरीका सदस्य सन्तोष गुप्ता, सदस्यहरू बुद्धहाङ लिम्बू, स्मारिका राई, सचिन राई, किरात राई यायोक्खा बराहक्षेत्र नगर समितिका कोषाध्यक्ष तथा किरात राई बान्तावा खिम बराहक्षेत्र नगर उपाध्यक्ष चिना राई लगायत स्थानीय समाजसेवीहरूको उपस्थिति रहेको थियो।
बराहक्षेत्र नगरपालिका वडा नं. २ स्थायी घर भई दुई दशकभन्दा बढी समयदेखि पत्रकारिता पेशामा सक्रिय पत्रकार हिमाल राईको २०८२ वैशाख १४ गते निधन भएको थियो। स्वर्गीय राई नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) सुनसरीका उपाध्यक्षसमेत थिए। उनले आफ्नो पत्रकारिता यात्रामा सधैँ सत्य-तथ्य खबरहरूलाई निडर भएर बाहिर ल्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
