पूर्वसांसद आलमलाई मस्तिष्कघात, रौतहट आउने कार्यक्रम स्थगित
रौतहट । नेपाली कांग्रेस नेता तथा पूर्वसांसद मोहम्मद आफताब आलमलाई मस्तिष्कघात भएपछि अस्पताल भर्ना गरिएको छ ।
स्वास्थ्यमा समस्या देखिएपछि उनलाई परिवारले शुक्रबार अस्पताल र्पुयाएका हुन। अहिले आलमको माइतीघर स्थित अन्नपूर्ण न्यूरो अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको छ ।
पूर्वसांसद आलमको मस्तिष्कघातका कारण अस्पताल भर्ना भएकाले आज शनिबार रौतहट आउने कार्यक्रम स्थगित भएको तरुण दलका केन्द्रीय सदस्य शेख नौसाद आलमले बताए । पूर्वसांसद आलम आलम अस्वास्थका कारण तत्काल रौतहट नआउने उनको भनाइ छ ।
उनी उच्च रक्तचाप र मधुमेहका बिरामी पनि हुन्। लामो समयदेखि औषधि सेवन गर्दै आएका पूर्वसांसद आलमको मस्तिष्कघात भएपछि शुक्रबार बिहान करिब ११ बजे परिवारले अस्पताल र्पुयाएका थिए। अहिले आइसियुमा राखेर उनको उपचार भैरहेको छ ।’ केन्द्रीय सदस्य आलमले भने ।
पूर्वसांसद आलमको स्वास्थ्यमा केहि सुधार हुदै गएको उनले जानकारी दिए । राजपुर बमकाण्डको अभियोगमा आलम ५ बर्ष ८ महिना ८ दिन कारागार जीवन बिताएर बुधवार रिहाई भएका हुन। ०६४ चैत्र २८ गते भएको पहिलो संबिधान सभा निर्बाचनको अघिल्लो दिन बम बिस्फोटमा परी घाईते भएकाहरुलाई जिउँदै ईटा भटामा जलाएर हत्या गरेको आरोपमा जिल्ला अदालत गौरले मोहम्मद अफताब आलमसहितलाई ०८१ वैशाख १४ गते जन्मकैदको फैसला गरेपछि कारागार थिए । जिल्ला अदालत रौतहटले उनलाई दोषी ठहर गर्दै जन्मकैदको सजाय सुनाएको फैसला उच्च अदालत जनकपुरको अस्थायी इजलासले उल्ट्याएको हो ।
न्याय परिषदमा उजुरी
उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगन्जका न्यायाधीशद्वय डा।खुसीप्रसाद थारु र अर्जुन महर्जनविरुद्ध न्याय परिषदमा औपचारिक उजुरी परेको छ । न्यायाधीशद्वय विरुद्ध छानबिन गरी कारवाही र निलम्बनको माग गर्दै युवराज पौडेल (सफल) ले उजुरी दर्ता गराएका हुन । उनले उजुरीमा न्यायाधीशद्वयलाई पदबाट निलम्बन गर्न, उच्च अदालतको मिसिल र जिल्ला अदालतको फैसला दुवै अध्ययन गरी तुलना गर्न र उनीहरूले विगतमा गरेका अन्य विवादास्पद फैसलाहरूको पनि पुनरावलोकन गर्नका लागि उजुरीमा माग गरिएको छ ।
चालक अनुमतिपत्रमा भ्रष्टाचार गरेको भन्दै चार जनाविरुद्ध आरोपपत्र दायर
काठमाडौं । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र, रुपन्देहीका तत्कालीन कम्प्युटर अपरेटर कमल पराजुलीसहित चार जना उपर गलत लिखत एवं सरकारी कागजात सच्याई भ्रष्टाचार गरेको सम्बन्धी आरोपपत्र दायर भएको छ ।
कम्प्युटर अपरेटर पराजुली, सहायक कम्प्युटर अपरेटर नारायण प्रसाद पाण्डेय र यातायात व्यवस्था कार्यालय, दाङ्ग, तुलसीपुरका तत्कालीन कम्प्युटर अपरेटर अनिल बुढामगर विरुद्ध अख्त्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार आरोपपत्र दायर गरेको हो ।
संघीय गणतान्त्रिक गठबन्धन घोषणा
जनकपुर । मधेश केन्द्रित साना पाँच दलहरू मिलेर ‘संघीय गणतान्त्रिक गठबन्धन’ बनाएका छन् । बिहिवार जनकपुरधाममा गठबन्धन घोषणा समारोह गर्दै मधेश केन्द्रित ५ दलहरूले गठबन्धन घोषणा गरेका छन । गठबन्धनमा रिजवान अन्सारी नेतृत्वको नेपाल संघीय समाजवादी पार्टी, रामकुमार महतो नेतृत्वको नेपाल सद्भावना पार्टी, बद्री ठाकुर नेतृत्वको इतिहासिक जनता पार्टी, हरिनन्दनकुमार रञ्जन नेतृत्वको बहुजन एकता पार्टी र धुपलालप्रसाद सहनी (निषाद) नेतृत्वको नेपाल जनजागृति पार्टी रहेका छन् ।
घोषणा समारोहमा नेपाल संघीय समाजवादी पार्टीका अध्यक्ष एवम पूर्वगृहराज्यमन्त्री अन्सारीले गणतन्त्रको नाममा सत्ताको खेल मात्र भइरहेको भन्दै गणतन्त्रको वास्तविकतालाई स्थापना र रक्षा गर्न गठबन्धन बनाएको बताए । उनले मधेशका कथित नेताहरूले जहिले पनि मधेशीलाई ठग्ने र धोका दिने काम मात्र गरेको आरोप लगाए ।
कथित मधेशका मसिहा कहलाउनेहरूले शहीदहरूको बलिदानीलाई सत्तासँग साट्ने काम मात्र गरेको उनको आरोप छ । उनले दलाल पुँजीपति, भ्रष्ट नेता र कर्मचारीहरूका कारण देशमा गणतन्त्रको अवस्था निकै खराब रहेको बताए । अन्सारीले जनताको गणतन्त्र निर्माण र स्थापना गर्नका लागि आफूहरूले गठबन्धन गरेको जानकारी दिए । उनले देशमा जस्को भोट त्यसकै राज हुने गरी वातावरण निर्माण गर्ने प्रतिबद्धता जाहेर गरे ।
उनले आफूहरूको गठबन्धन इच्छाले नभई जनता र मधेशलाई अधिकार सुनिश्चित गर्न आवश्यकताले निर्माण गरिएको उल्लेख गरे ।
कोशी र गण्डकी प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुका साथै बंगालको खाडीबाट आइरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो, कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेश र गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का वर्षा÷ हिमपातको सम्भावना छ ।
आज राति भने, कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थान, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागका थोरै स्था र बाँकी भूभागका एक–दुई स्थानमा मेघगर्जन÷चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
आज गणतन्त्र दिवस मनाइँदै
काठमाडौँ । आज गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी देशभर मनाइँदैछ । विसं २०६५ जेठ १५ गतेजननिर्वाचित संविधानसभाको पहिलो बैठकले २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको दिनलाई गणतन्त्र दिवसका रुपमा मनाउने गरिएको छ ।
नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । तत्कालीन सात राजनीतिक दलको शान्तिपूर्ण जनआन्दोलन र नेपाल कम्युनिष्ट पार्टी (माओवादी) को सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष पूरा भएको छ ।
जेठ १५ लाई नेपाली जनताले स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्र र नागरिक सर्वोच्चता प्राप्त गरेका थिए। गणतन्त्र दिवसलाई वंशियतन्त्रलाई जनताले जितेको उत्सवका रूपमा पनि लिइन्छ ।
जनअपेक्षा र जनभावनाअनुरूप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना हो । यसलाई लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिन्छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम मानिन्छ ।
१८ औँ गणतन्त्र दिवसको अवसरमा मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । यस अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
२०८२ उभौली साकेला बराहक्षेत्रमा सम्पन्न : किरात राईहरूको पहिचान र अधिकारमाथि जोड
बराहक्षेत्र, सुनसरी । किराँत राई समुदायको महान् पर्व उभौली साकेला २०८२ जेठ १४ गते बराहक्षेत्र नगरपालिका–३ स्थित बाङ्गेबजारमा भव्यताका साथ सम्पन्न भएको छ। किरात राई यायोक्खा बराहक्षेत्र ३, ४, ५ (साबिक भरौल) को आयोजनामा भएको कार्यक्रममा चतरा, प्रकाशपुर, नडाह, अमाह सिमसार, चक्रघटी, र बिचपानी हुँदै नगर क्षेत्रमा आइपुगेर समापन भएको हो ।
साकेला समापन समारोहको उद्घाटन समाजसेवी तथा शिलीमाङपा सूर्य कुमार राईले गर्नुभएको थियो। कार्यक्रममा उपस्थित विभिन्न वक्ताहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै पर्वको महत्वमाथि प्रकाश पारेका थिए। यो पर्वले किराँत राई समुदायको मौलिक संस्कृति, परम्परा र आपसी भाइचारा प्रवर्धन गर्न महत्वपूर्ण भूमिका खेलेले बताएकाछन् ।
प्रमुख अतिथि किरात राई यायोक्खा सुनसरीका उपाध्यक्ष यलमहाङ राई र विशिष्ट अतिथि जिल्ला कोषाध्यक्ष तेज बान्तावा राईले किराँत राई समुदायको पहिचान, अधिकार र यसलाई स्थापित गर्न यायोक्खाको भूमिकाबारे विस्तृत प्रकाश पार्नुभयो र १ नँ. प्रदेशलाई पहिचानको आधारमा पुनःनामाकरण गरि किरात प्रदेश बनाउनुपर्ने बताउनुभयो।
उहाँहरूले २०८२ को उभौली साकेलाको अन्तिम समापन जेठ १७ गते हुने जानकारी दिँदै सुनसरी जिल्ला भित्रका सम्पूर्ण वडा प्रादेशिक समितिहरूलाई भव्य र सभ्य तरिकाले सहभागिताका लागि अनुरोध गर्नुभयो। यो आह्वानले जिल्लाभरका किराँत राई समुदायलाई एकताबद्ध गरी सांस्कृतिक पर्वलाई अझ उचाइमा पुर्याउने लक्ष्य राखेको छ।
कार्यक्रममा किरात राई यायोक्खा बराहक्षेत्रका विभिन्न तहका प्रतिनिधि तथा विशिष्ट व्यक्तित्वहरूको बाक्लो उपस्थिति थियो। सो अवसरमा किरात राई यायोक्खा बराहक्षेत्र नगर अध्यक्ष नरेश राई, बान्तावा खिम नगर उपाध्यक्ष चिना राई, यायोक्खा नगर सदस्य मणि प्रसाद राई, किरात राई यायोक्खा बराहक्षेत्र १ र २ का अध्यक्ष सुबधन राई, किरात राई यायोक्खा बराहक्षेत्र ६, ७ र ८ (साबिक महेन्द्रनगर) का अध्यक्ष मनिस राई, किरात राई यायोक्खा बराहक्षेत्र ९ र १० प्रकाशपुरका अध्यक्ष जंग बहादुर राई लगायत दहलकुमार राई, बलराज चाम्लिङ राई, मित्रराज राई लगायतको सहभागिता रहेको थियो। यसैगरी, इलाका प्रहरी कार्यालय चक्रघटी र अस्थायी प्रहरी चौकी बाङ्गे बजारका प्रतिनिधिहरूका साथै विभिन्न बुद्धिजीवी तथा संघ-संस्थाका प्रतिनिधिहरूको उपस्थितिले कार्यक्रमलाई थप भव्य बनाएको थियो।
कोशी प्रदेशसभा बैठकमा गृहमन्त्री लेखकको राजीनामा माग, कांग्रेस सांसदको आपत्ति
विराटनगर । संघीय गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै कोशी प्रदेशसभामा बुधबार एक सांसदले गीतमार्फत विरोध जनाएका छन् । नेकपा (माओवादी केन्द्र) का प्रदेशसभा सदस्य गोम्बु शेर्पाले शून्य समयमा चर्चित गीत ‘भिजिट भिसामा हजुर’ गाएर गृहमन्त्री लेखकमाथि गम्भीर आरोप लगाउँदै राजीनामा माग गरेका हुन् ।
शेर्पाले आफ्नो सम्बोधनको सुरुवात चर्चित गीतबाट गर्दै भने, ‘भिजिट भिसामा हजुर, भिजिट भिसामा भुइँ छाडेर उड्ने हजुर, पश्चिम दिशामा’ यस गीतमार्फत उनले विदेश पलायनमा जान बाध्य नेपाली युवाहरूको पीडा चित्रण गरेका थिए । त्यसपछि उनले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भिजिट भिसाको नाममा बेरोजगार युवाहरूबाट लाखौँ रुपैयाँ असुली हुने गरेको दाबी गरे ।
शेर्पाले गृहमन्त्री लेखकको सचिवालयमा ‘बदनाम र विवादास्पद’ व्यक्ति सक्रिय रहेको भन्दै मिलेमतोको आशंका व्यक्त गरे । उनले आरोप लगाए, ‘लुटधन्दा सञ्चालन गर्ने व्यक्तिहरूको मुख्य संरक्षण गृहमन्त्री स्वयं हुन्। त्यसैले अनुसन्धानमा सघाउन उहाँले पदबाट राजीनामा दिनुपर्छ ।’
कांग्रेस सांसदको आपत्ति
शेर्पाको भनाइप्रति नेपाली कांग्रेसका प्रदेशसभा सदस्य प्रदीपकुमार सुनुवारले कडा आपत्ति जनाए । उनले भिजिट भिसा प्रकरण संघीय सरकारले हेर्ने विषय भएको उल्लेख गर्दै प्रदेशसभामा यस विषयलाई अतिरञ्जित ढंगले उठाइएको आरोप लगाए ।
‘संसद्को आफ्नै मर्यादा हुन्छ । संघीय संसद्को अपमान हुनेगरी प्रदेशसभामा यस्ता विषय उठाइनु अनुचित हो ।’ सुनुवारले भने उनले भिजिट भिसा सम्बन्धी विषयमा अनुसन्धान र कारबाहीको प्रक्रिया संघीय सरकारको कार्यक्षेत्रमा पर्ने भएकाले त्यसलाई राजनीतिक रूपमा दुरुपयोग नगर्न आग्रह गरे ।
इटहरीस्थित तिरुपति प्लाइउड उद्योगमा भीषण आगलागी, नियन्त्रणमा चुनौती
विराटनगर । सुनसरी–मोरङ औद्योगिक कोरिडोर अन्तर्गत इटहरी–१२ मा अवस्थित तिरुपति प्लाइउड उद्योगमा गएराति भीषण आगलागी भएको छ । राति साढे २ बजेबाट सुरु भएको आगो नियन्त्रणमा आउन सकेको छैन ।
इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार आगो नियन्त्रणका लागि मोरङ र सुनसरीका विभिन्न स्थानीय तहका एक दर्जन दमकल बिहानैदेखि खटिएका छन् । दमकल टोलीसँगै नेपाल प्रहरी, सशस्त्र प्रहरी र अन्य सुरक्षाकर्मी पनि आगो नियन्त्रणमा जुटेका छन् ।
तर उद्योगभित्र प्लाइउड उत्पादनमा प्रयोग हुने काठ, केमिकल, कागजलगायत अत्यन्तै ज्वलनशील सामग्रीहरू भएकाले आगो नियन्त्रणमा कठिनाइ भइरहेको प्रहरी नायब उपरीक्षक भण्डारीले जानकारी दिए ।
प्रहरीका अनुसार उद्धार र नियन्त्रण कार्य अझै जारी छ र आवश्यक सुरक्षात्मक सावधानी अपनाउँदै अग्निनियन्त्रणको प्रयास भइरहेको छ ।
मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता खुला, यो वर्ष रियालिटी शोको स्वरूपमा प्रस्तुत हुने
काठमाडौं । बहुप्रतिक्षित राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस युनिभर्स नेपाल २०२५ को लागि दर्ता औपचारिक रूपमा खुला गरिएको छ । ग्लोबल ग्ल्यामर भेन्चरको आयोजनामा बुधबार काठमाडौंस्थित हिल्टन होटलमा आयोजित विशेष कार्यक्रममा यो घोषणा गरिएको हो ।
कार्यक्रममा मिस युनिभर्स नेपालकी राष्ट्रिय निर्देशक सङ्गीता पुरीले सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म भएको बताइन् ।
प्रतियोगिताको समावेशी र लोकतान्त्रिक स्वरूपबारे जानकारी दिँदै उनले भनिन्, ‘तपाईं जस्तो हुनुहुन्छ, त्यही नै तपाईंको सौन्दर्यता हो ।’ उनले अगाडि थपिन्, ‘हामी सबै पृष्ठभूमिका महिलाहरूलाई स्वागत गर्दछौं । यो मञ्च आत्मविश्वास देखाउने, अवसर समाउने र सम्पूर्ण ब्रह्माण्डमा नेपाली महिलाहरूको असीम क्षमता उजागर गर्ने प्लेटफर्म हो ।’
यो वर्ष प्रतियोगिता आठ भागमा आधारित रियालिटी टिभी शो को रूपमा प्रस्तुत गरिनेछ । यस माध्यमबाट दर्शकहरूले प्रतियोगीहरूको यात्रा, चुनौती र परिवर्तनलाई नजिकबाट अनुभव गर्न सक्नेछन् ।
दर्ता प्रक्रिया जेठ १५ देखि असार १५ सम्म खुला रहनेछ । इच्छुक सहभागिहरूले खल्ती एप, मिस युनिभर्स नेपालको वेबसाइट वा सोसल मिडिया प्लेटफर्म मार्फत दर्ता गर्न सक्नेछन् । सहभागी महिला कम्तीमा १८ वर्ष उमेर पुगेको र प्लस टु वा सो सरहको शैक्षिक योग्यता प्राप्त गरेको हुनुपर्नेछ ।
प्रतियोगिता समावेशी मूल्यमा आधारित रहेकाले उचाइ, तौल वा वैवाहिक स्थितिमा कुनै प्रतिबन्ध नराखिएको आयोजकले जानकारी दिएको छ । नेपाली नागरिकसँगै गैरआवासीय नेपाली महिलाहरूले पनि प्रतियोगितामा सहभागिता जनाउन पाउनेछन् ।
कार्यक्रममा मिस युनिभर्स नेपाल २०२५ सम्पदा घिमिरे, अन्तर्राष्ट्रिय श्रम संगठन नेपालका देश निर्देशक नुमान ओजकान, मिस युनिभर्स राष्ट्रिय निर्देशक सङ्गीता पुरी, कोरियोग्राफर दिक्पाल कार्की तथा मिस युनिर्भ नेपालकी अध्यक्ष साबी पुरीको विशेष उपस्थिति रहेको थियो ।
प्रतियोगिताका टप प्रतिस्पर्धीहरूले साउन महिनामा २५ दिने इन्टेन्सिभ ट्रेनिङ प्राप्त गर्नेछन् भने भदौमा क्लोज क्याम्प सञ्चालन हुनेछ । ग्रान्ड फिनाले भदौमा महिनामा आयोजना गरिनेछ ।
मिस युनिभर्स नेपालले यस वर्ष समाजसेवा र सामाजिक कल्याणका क्षेत्रमा अन्तर्राष्ट्रिय श्रम संगठनसँग सहकार्य गर्ने घोषणा समेत गरेको छ ।
विपक्षी दलहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक आधा घण्टाका लागि स्थगित
काठमाडौं । गृहमन्त्रीको राजीनामा माग्दै विपक्षी दलका सांसदहरुको नाराबाजीपछि प्रतिनिधि सभाको बैठक स्थगित भएको छ । बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा दिनुपर्ने माग बैठक सुरू हुनासाथ माओवादी, रास्वपा र राप्रपाका सांससहरुले संसद अवरोध गरेका थिए ।
त्यसपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाको लागि स्थगित भएको जानकारी गराए ।