कोशी प्रदेशको ३५ अर्ब ८७ करोडको बजेट पारित, मुख्यमन्त्रीले दिए धन्यवाद
विराटनगर । कोशी प्रदेश सरकारको आर्थिक वर्ष २०८२÷८३ का लागि प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट शुक्रबार प्रदेशसभाबाट बहुमतले पारित भएको छ ।
असार १ गते प्रस्तुत बजेटमाथि भएको छलफलमा ३८ जना प्रदेशसभा सदस्यले भाग लिएका थिए । छलफलपछि विनियोजन विधेयक पारित गरिएको हो । प्रदेश सरकारले चालुतर्फ १८ अर्ब ६७ करोड ३३ लाख र पुँजीगत खर्चतर्फ १७ अर्ब १० करोड ६५ लाख रुपैयाँ विनियोजन गरेको छ ।
राजस्व स्रोतका हिसाबले ५ अर्ब ५० करोड आन्तरिक स्रोतबाट उठाउने र १२ अर्ब ३९ करोड राजस्व बाँडफाँटबाट प्राप्त हुने अनुमान गरिएको छ । बाँकी रकम सङ्घीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत व्यवस्थापन गरिने बताइएको छ ।
बजेट पारित भएसंगै कोशीका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक संञ्जालमार्फत माननीयहरुलाई धन्यवाद दिएका छन् । ‘सम्पुर्ण माननीय सदस्य प्रती हार्दिक धन्यवाद एंब आभार ब्यक्त गर्दछु,’उनले लेखेका छन् ।
लागुऔषध इन्जेक्सनको एम्पुल सहित युवक पक्राउ
रौतहट । रौतहट प्रहरीले गौरबाट लागुऔषध इन्जेक्सनको एम्पुल सहित एक युवकलाई पक्राउ गरेको छ । गौर नगरपालिका–१ स्थित भन्सार कार्यालय नजिकको सडकमा भन्सार सुरक्षा गार्डबाट खटिएको प्रहरी टोलीले बिहिवार जाँच गर्ने क्रममा प्रतिबन्धित लागुऔषध सहित युवकलाई पक्राउ गरेको हो ।
स्याङ्गजा जिल्ला हरिबास गाउँपालिका–४ का ३१ बर्षीय निलकुमार थापा मगरलाई प्रतिबन्धित लागु औषधको इन्जेक्सनको एम्पुल सहित पक्राउ गरिएको रौतहट प्रहरीकाडीएसपी दीपककुमार रायले जानकारी दिए ।
उनका अनुसार नुफिन ५० एम्पुल, सेरेजेक ५० एम्पुल र फेनारगन ५० एम्पुल गरी जम्मा १ सय ५० एम्पुल लागुऔषध तथा एउटा मोबाइल फोन बरामद गरिएको छ । भारतको बैरगनिया बजारबाट नेपाल आउँदै गरेको अवस्थामा पक्राउ परेका थापा मगरको साथबाट लागुऔषध फेला परेको उनले जानकारी दिए ।
उनलाई लागुऔषधसम्बन्धी कसुरमा मुद्दा दर्ता गरी जिल्ला अदालतबाट म्याद थप गरेर थप अनुसन्धान कार्य अगाडि बढाइएको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।
चीनमा लोकप्रिय छ ‘बरफको भात’ अर्थात ‘आइस राइस’
एजेन्सी । ‘बरफको भात’ अर्थात ‘आइस राइस’ नेपालमा खासै चल्तीमा छैन् । तर चीनमा गर्मी मौसममा आइस राइस लोकप्रिय बन्दै गएको छ । चीनमा गर्मीको तातो स्वादिष्ट परिकारका रुपमा यो परिकार बढी रुचाइन्छ । पूर्वी चीनको फुझोउ शहरमा यो परिकारका लागि लोकप्रिय छ । बरफको चिसोमा तयार गरिने भात सामान्यतया ताजा फलफूल, कुरकुरे, बदाम, जेलोका टुक्राहरू र दूधमा घोलिएको हुन्छ। गर्मी महिनामा यसको राम्रो व्यापार हुन्छ ।
स्थानीय व्यापारी गाओ यानकिङले २५ वर्षभन्दा बढी समयदेखि उक्त परिकार बेच्दै आएको र दैनिक सयौं कचौरा विक्री गर्ने गरेको सुनाउछन् । ‘गर्मीमा, म सामान्यतया दिनमा लगभग १,५०० कचौरा बेच्छु। यसका लागि ग्राहकहरूले कम्तिमा आधा घण्टा लाइनमा बस्नुपर्छ,’ उनले भने ।
गर्मीका रातहरूमा आफ्नै कचौरा लिएर पनि सयौं ग्राहकहरु प्रतिक्षा गर्ने गरेका छन् । वार्षिक आयोजना गरिने आइस राइस फेस्टिवलले पर्यटकहरूलाई आकर्षित गरिरहेको हुन्छ ।
वाणिज्य ब्यूरोका अनुसार उक्त क्षेत्रमा दर्जनौं आइस राइस रेस्टुरेन्टहरू रहेको र जसले प्रत्येक वर्ष लाखौं डलर राजस्व संकलन गरिरहेको हुन्छ । चाङ्गले क्षेत्रमा मात्रै २० भन्दा बढी रात्रिकालीन बजार र ४० भन्दा बढी आइस्ड राइस रेस्टुरेन्टहरू संचालित छन् । (सीसीटीभीप्लस)
रास्वपाले बोलायो संसदीय दलको बैठक
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय दलको बैठक बोलाएको छ । शनिबार बिहान ९ बजे बस्नेगरी संसदीय दलको बैठक आह्वान भएको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए ।
उनका अनुसार बैठक संघीय संसद भवनमा रहेको रास्वपा संसदीय दल नेताको कार्यकक्षमा हुनेछ । शनिबार नै प्रतिनिधिसभाको बैठक पनि बस्दैछ । संसद बैठकअघि नै रास्वपाका सांसदहरू छलफलमा जुट्न लागेका हुन् ।
केन्द्रीय अफ्रिकी गणराज्यमा ट्रान्सफर्मर विस्फोटपछि भागदौड, २९ बालबालिकाको मृत्यु
काठमाडौं । केन्द्रीय अफ्रिकी गणराज्यको राजधानी बाङ्गुईमा ट्रान्सफर्मर विस्फोटपछि भएको भागदौडमा परी २९ बालबालिकाको मृत्यु भएको छ । बाङ्गुई सामुदायिक अस्पतालले राजधानीको एक विद्यालयमा विद्युत ट्रान्सफर्मर विस्फोट भएपछि ठूलो संख्यामा विद्यार्थीहरूमा डर र आतंक फैलिएको जनाएको छ ।
स्थानीय रेडियोहरुले समेत विस्फोटको आवाज र धुँवा देखेपछि स्नातक तहको परीक्षा दिइरहेका करिब ६ हजार विद्यार्थी आतङ्कित बनेका थिए। यसकै कारण भएको भगदौडमा २९ बालबालिकाको ज्यान गएको र २८० भन्दा बढी घाइते भएको जनाइएको छ ।
राष्ट्रपति फॉस्टिन(अर्चेन्ज टौडोले राष्ट्रिय शोकको घोषणा गर्दै घाइते सबै बालबालिकाको उपचार निःशुल्क गरिने बताएका छन् । उक्त घटना लिसी बार्थेलेमी बोगांडा स्कुलमा भएको हो, जहाँ राजधानीका पाँच विभिन्न विद्यालयका विद्यार्थीहरू स्नातक परीक्षा दिन जम्मा भएका थिए ।
मौसम पूर्वानुमान : यी चार प्रदेशमा भारी वर्षाको सम्भावना
काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले आज दिउँसो देशका पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि साधरणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।
देशको उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षासहित हिमपातको सम्भावना रहेको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईका भूभागका तथा मधेस प्रदेशको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।
स्पेनको औपचारिक भ्रमणमा जाँदै प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणमा जाने भएका छन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार प्रधानमन्त्री ओली स्पेनको औपचारिक भ्रमणमा जान लागेका हुन्
उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा भाग लिनेछन् ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले आफ्ना समकक्षीसँग द्विपक्षीय भेटवार्ता गर्नेछन् । त्यस अवसरमा सहयोग र सम्बन्ध विस्तारसम्बन्धी केही महत्त्वपूर्ण विषयमा नेपाल र स्पेनबीच सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।
माधव नेपालविरुद्धको थुनछेक बहस सकियो
काठमाडौं । पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको थुनछेक बहस सकिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा लगाएपछि बुधबार आफैँ अदालतमा हाजिर हुन पुगेका पूर्वप्रधानमन्त्री तथा एकीकृत समाजवादीका अध्यक्ष नेपालको बुधबार बयान सकेर थुनछेक बहस भएको हो । बहस सकिएसँगै आजै आदेश आउने छ ।
थुनछेक बहसमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, विशेष सरकारी वकिल कार्यालयका प्रमुख मोहनसागर बस्याल, विशेष सरकारी वकिलकै भगवती गौतम, उमाकान्त पौडेल र ज्ञानप्रसाद भुसालले बहस गरेका थिए ।
सरकारीपक्षले मन्त्रिपरिषद्ले २२ पुस २०६६ मा गरेको निर्णय २९ पुसमा उल्ट्याएर पतञ्जलिको व्यापार योजनालाई सहयोग पुग्ने गरी निर्णय गरेका कारण उक्त निर्णय नीतिगत हुन नसक्ने र माधव नेपालमाथि कारबाही अघि बढाउनुपर्ने दलिल प्रस्तुत गरेका थिए । पतञ्जलिको जग्गा खरिदमा हदबन्दी छुटको निर्णय गरेर अनियमितता गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो ।
कोशी प्रदेश मन्त्रिपरिषद् : सवारी नियमावली स्वीकृत, ऐन संशोधन विधेयक पेस हुने
विराटनगर । कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले यातायात, कानुन र मानव संसाधन व्यवस्थापनसम्बन्धी महत्वपूर्ण निर्णयहरू गरेको छ । बैठकपछि आन्तरिक मामिला तथा कानुन मन्त्री रेवती रमण भण्डारीले पत्रकारहरूलाई जानकारी गराउँदै प्रदेश सवारी तथा यातायात व्यवस्था दोस्रो संशोधन नियमावली २०८२ लाई मन्त्रिपरिषद्ले स्वीकृति दिएको जानकारी दिए ।
मन्त्री भण्डारीका अनुसार नयाँ नियमावलीले सिटी रिक्सा चालकहरूलाई लिखित परीक्षा दिनु नपर्ने, तर ट्राफिक नियमसम्बन्धी अनिवार्य तालिम लिनुपर्ने व्यवस्था गरिएको छ । यस्तै, सार्वजनिक सवारी साधनको पञ्जीकरण आवश्यक नरहने, साथै लाइसेन्स र दर्ता प्रक्रियामा सहजता ल्याउने व्यवस्था गरिएको छ ।
बैठकले केही प्रदेश ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८२ लाई प्रतिस्थापन गर्ने विधेयक र सामाजिक संघ–संस्था ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा कार्यरत सचिव पवनकुमार तिमल्सेनालाई प्रदेश लोकसेवा आयोगमा खटाउने निर्णय बैठकले गरेको छ ।
विशेष अदालतमा माधव नेपालको बयान सकियो
काठमाडौं । पतञ्जली जग्गा घोटाला प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेसँगै बुधबार विशेष अदालतमा उपस्थित भएका पूर्वप्रधानमन्त्री तथा नेकपा एर्कीकृत समाजवादीका अध्यक्ष माधव नेपालको बयान सकिएको छ ।
विशेष अदालतमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको बयान सकिएको हो । बयानपछि थुनछेक बहस सुरु भएको छ । थुनछेक बहसमा नेपालका तर्फबाट बहस गर्न वकिलहरुको लामो पंक्ति तयार भएको छ ।
नेपालको तर्फबाट वरिष्ठ अधिवक्ता शम्भु थापा, गोपाकृष्ण घिमिरे, गोविन्द बन्दी लगायत १२० जनाले बहसका लागि नाम टिपाएका छन् ।
तर, थुनछेक बहस लम्बिएमा आज नेपाल न्यायिक हिरासतमा बस्नुपर्ने हुनसक्ने भएकाले नेपालको तर्फबाट केही कानुन व्यवसायीले मात्रै बहस गर्ने बताइएको छ ।
यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तर्फबाटबाट वरिष्ठ अधिवक्ता सुशील पन्तसहितले बहस गर्दै छन् । अख्तियारले पूर्वप्रधानमन्त्री नेपालविरुद्ध पतञ्जली जग्गा घोटाला प्रकरणमा जेठ २२ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।