काभ्रे बस दुर्घटनामा मृत्यु भएका ८ मध्ये ६ जनाको सनाखत, १६ घाइतेको धुलिखेलमा उपचार हुँदै
रामेछाप । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा शुक्रबार भएको बस दुर्घटनामा मृत्यु भएका आठ जनामध्ये छ जनाको सनाखत भएको छ। दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
प्रहरीका अनुसार बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको यात्रुवाहक बस बुच्चाकोटमा दुर्घटनामा परेको थियो। दुर्घटनामा आठ जनाको घटनास्थलमै मृत्यु भएको थियो।
जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार हालसम्म सनाखत भएका मृतकहरूमा काभ्रेको रोशी गाउँपालिका–६ का ४५ वर्षीय मेघबहादुर तामाङ, सोही स्थानकी ३४ वर्षीया फुलमाया तामाङ, रोशी गाउँपालिका–६ कै ७५ वर्षीय इन्द्रबहादुर तामाङ तथा रोशी गाउँपालिका–८ की ६० वर्षीया प्यारीमाया तामाङ रहेका छन्।
त्यसैगरी, दैलेख निवासी ३० वर्षीय बमबहादुर भण्डारी को पनि पहिचान भएको छ। उनी भकुण्डेबेँसीस्थित त्रिनेत्र दल गणमा कार्यरत नेपाली सेनाका अमलदार रहेको प्रहरीले जनाएको छ। यस्तै, सिन्धुलीको घ्याङलेक गाउँपालिका–४ निवासी २२ वर्षीया सुमि तामाङ को पनि सनाखत भएको छ। उनको पहिचान श्रीमान निराजन घिसिङ ले गरेका हुन्।
प्रहरीका अनुसार दुर्घटनामा मृत्यु भएका अन्य दुई जनाको भने अझै सनाखत हुन सकेको छैन। तीमध्ये एक जना अन्दाजी ६० देखि ६५ वर्ष उमेरका पुरुष र अर्की अन्दाजी ६० देखि ६५ वर्ष उमेरकी महिला रहेको जनाइएको छ।
दुर्घटनामा घाइते भएका १६ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। केही घाइतेको अवस्था गम्भीर रहेको बताइएको छ भने उनीहरूको चिकित्सकको निगरानीमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीले मृतकको सनाखत प्रक्रिया जारी रहेको तथा बाँकी दुई जनाको पहिचान खुलाउने प्रयास भइरहेको जनाएको छ। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
काभ्रेको बुच्चाकोटमा बस दुर्घटना : ७ जनाको घटनास्थलमै मृत्यु
काठमाडौं । काभ्रेको बनेपाबाट रोशी गाउँपालिका–स्थित सुँगुरेतर्फ जाँदै गरेको यात्रुवाहक बस दुर्घटना हुँदा सात जनाको घटनास्थलमै मृत्यु भएको छ । बा३ख ८३९८ नम्बरको बस शुक्रबार विपी राजमार्ग अन्तर्गत नमोबुद्ध नगरपालिका–२ बुच्चाकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा परी सात जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ।
दुर्घटनापछि स्थानीयवासी र सुरक्षाकर्मी उद्धार कार्यमा खटिएका छन्। घटनामा अन्य यात्रुहरू पनि घाइते भएको आशंका गरिएको भए पनि घाइतेको यकिन संख्या सार्वजनिक भएको छैन।
मृतकहरूको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। दुर्घटनाको कारण पनि तत्काल खुल्न सकेको छैन। प्रहरी टोलीले घटनास्थलमा पुगेर उद्धार तथा आवश्यक अनुसन्धान अघि बढाइरहेको छ।
बस सडकबाट तल खसेर दुर्घटनामा परेको बताइएको छ। घटनासम्बन्धी थप विवरण सङ्कलन भइरहेको र मृतक तथा घाइतेहरूको आधिकारिक विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।
हर्क साम्पाङको प्रश्न : ‘नेपालको रक्षा मन्त्री को हो, संसदमा ल्याइदिनुपर्याे’
काठमाडौं । श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले नेपाल–भारत सीमासम्बन्धी विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीले सीमाबारे विवादास्पद अभिव्यक्ति दिएको भन्दै त्यसको विरोधमा आफूले प्लेकार्ड प्रदर्शन गरेको ११ दिन बितिसक्दा पनि प्रधानमन्त्री संसदमा उपस्थित नभएको टिप्पणी गरे ।
उनले भने, ‘प्रधानमन्त्रीज्यूले सीमाबारे विवादित अभिव्यक्ति दिइसकेपछि प्लेकार्ड लिएर विरोध गरेको पनि आज ११ दिन भइसकेको छ । ११औँ दिनमा पनि उहाँ संसदमा आउने छाँटकाँट देखिएन ।’
उनले वर्तमान रक्षा मन्त्री को हुन् भन्ने प्रश्न उठाउँदै सभामुखमार्फत रक्षा मन्त्रीलाई संसदमा उपस्थित गराउन माग गरे । साम्पाङले सुस्ता क्षेत्रमा भारतीय पक्षको सशस्त्र सीमा बल (एसएसबी) का अधिकारीहरूले नेपाली नागरिकलाई हप्कीदप्की गरेको तथा स्थानीय बासिन्दा आफ्नो भूमिको संरक्षणका लागि संघर्षरत रहेको देखिने भिडियोहरू सार्वजनिक भएको उल्लेख गरे ।
उनले भने, ‘म प्रश्न राख्न चाहन्छु, नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ ? रक्षा मन्त्रीलाई सभामुखले बोलाइदिनुपर्छ । उहाँलाई म प्रश्न सोध्न चाहन्छु, यो सुस्ता भन्ने ठाउँमा भारतीय पक्षको एसएसबी (सशस्त्र सीमा बल) आएर नेपाली दाजुभाइहरूलाई हप्कीदप्की गर्दै गरेको र नेपाली दाजुभाइहरू आफ्नो भूमिको लागि लड्दै, भिड्दै गरेको अवस्थाका भिडियोहरू सार्वजनिक भएका छन् ।’
उनले उक्त घटनाप्रति नेपाल सरकार र रक्षा मन्त्रालयको गम्भीर ध्यान जानुपर्ने आवश्यकता औंल्याए । प्रधानमन्त्री संसदमा उपस्थित नभएको अवस्थामा रक्षा मन्त्रीलाई बोलाएर सीमासम्बन्धी विषयमा जवाफ दिनुपर्ने उनको माग थियो ।
उनले भने, ‘यसतर्फ नेपाल सरकारले र रक्षा मन्त्रीले ध्यान दिनुपर्यो । संसदमा प्रधानमन्त्री त आउनुहुन्न, रक्षा मन्त्री छन् भने खोजेर ल्याइदिनुपर्याे ।’
सांसद साम्पाङले सुस्ता क्षेत्रमा देखिएको अवस्थाबारे सरकारले स्पष्ट धारणा सार्वजनिक गर्दै नेपाली भूमिको संरक्षणका लागि आवश्यक कदम चाल्नुपर्ने बताए ।
अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार
काठमाडौं । अध्ययन भिसा सिफारिस प्रक्रियामा शंकास्पद कागजात र नक्कली रसिद प्रयोग भएको आशंका देखिएपछि शिक्षा तथा खेलकुद मन्त्रालयले विस्तृत छानबिन गरी कानुनी कारबाही प्रक्रिया अगाडि बढाउन गृह मन्त्रालयलाई पत्राचार गरेको छ ।
शिक्षा मन्त्रालयले बिहीबार गृह मन्त्रालयलाई पठाएको पत्रमार्फत विदेशी विद्यार्थीका लागि जारी गरिएको अध्ययन भिसा सिफारिससँग सम्बन्धित कागजातहरूमा गम्भीर शंका उत्पन्न भएको भन्दै अनुसन्धान र आवश्यक कानुनी प्रक्रिया अघि बढाउन पत्राचार गरेको हो ।
मन्त्रालयका अनुसार काठमाडौँस्थित वाल्मिकी विद्यापीठको नामबाट ‘एकेडेमिक अध्ययन भिसाका लागि सिफारिस सम्बन्धमा’ भन्ने विषयको पत्र प्राप्त भएपछि अध्ययन भिसाका लागि सिफारिस गरिएको थियो । तर त्यसपछि मन्त्रालयको टोलीले सम्बन्धित शैक्षिक संस्थामा स्थलगत अनुगमन गर्दा सिफारिस गरिएको विद्यार्थीको नाममा जारी गरिएको पत्र र त्यससँग संलग्न आम्दानी रसिद वास्तविक देखिए पनि पत्रमा उल्लेखित व्यक्तिको भर्ना तथा अध्ययनसम्बन्धी विवरणमा गम्भीर असंगति फेला परेको जनाएको छ ।
अनुगमनका क्रममा उक्त व्यक्तिले सम्बन्धित शैक्षिक संस्थामा विदेशी विद्यार्थीका रूपमा अध्ययन गरिरहेको दाबी पुष्टि हुन नसकेको मन्त्रालयको निष्कर्ष छ । साथै मन्त्रालयमा पेश गरिएका केही कागजात र रसिदहरू समेत शंकास्पद तथा नक्कली प्रकृतिका देखिएको शिक्षा मन्त्रालयले जनाएको छ ।
यसै क्रममा मन्त्रालयले सोही विद्यापीठको नामबाट यसअघि प्राप्त अर्को पत्रसमेत नक्कली रहेको पाइएको जनाएको छ । मन्त्रालयका अनुसार प्रारम्भिक अनुसन्धानबाट पेश गरिएका कागजातहरूको विश्वसनीयतामाथि प्रश्न उठेकाले अध्ययन भिसाका लागि जारी गरिएको सिफारिस पत्रसमेत खारेज गरिएको छ ।
मन्त्रालयले गृह मन्त्रालयलाई पठाएको पत्रमा उक्त घटनासँग सम्बन्धित सबै पक्षमाथि विस्तृत छानबिन गरी प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउन आग्रह गरेको हो । साथै अध्ययन भिसा सिफारिस प्रक्रियाको दुरुपयोग रोक्न सम्बन्धित निकायबीच थप समन्वय आवश्यक रहेको पनि औँल्याइएको छ ।
नेपालमा विदेशी विद्यार्थीलाई अध्ययनका लागि भिसा सिफारिस गर्दा सम्बन्धित शैक्षिक संस्थाबाट जारी भएका भर्ना, अध्ययन तथा शुल्कसम्बन्धी आधिकारिक कागजातका आधारमा प्रक्रिया अघि बढाइन्छ । अध्यागमन विभागले समेत अध्ययन भिसा सिफारिस गर्दा विद्यार्थी वास्तविक रूपमा अध्ययनमा संलग्न रहेको सुनिश्चित गर्नुपर्ने व्यवस्था छ ।
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै ऐन निर्माणको प्रक्रिया सुरु
काठमाडौं । विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरेको बताएका छन् ।
बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले मन्त्रालय शून्य अवस्थाबाट सञ्चालन सुरु गर्नुपर्ने भएकाले आधारभूत संरचना र कानुनी व्यवस्था निर्माणलाई प्राथमिकता दिइएको बताएका हुन् ।
उनले लेखेका छन्, ‘पहिलो दिन चालेको कदमहरु—विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन । सर्व प्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो ।’
उनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी बनाउने भन्ने कुरामा तत्काल गहन छलफल सुरु गर्ने निर्णय पनि गरिएको बताए ।
‘विभिन्न मन्त्रालयअन्तरगत छरिएर भैरहेका अनुसन्धान तथा नवप्रवर्तनलाई कसरी प्रभावकारी रुपमा अगाडि बढाउने भन्ने कुरामा गहन छलफल तुरुन्त सुरु गर्ने निर्णय गरियो,’ उनले भने ।
मन्त्रालयलाई प्रभावकारी रूपमा सञ्चालन गर्न आवश्यक कर्मचारी संख्या, दरबन्दी तथा कार्यप्रणाली निर्धारणका लागि विस्तृत अध्ययन र सर्वेक्षण अघि बढाइने भएको उनले बताए ।
‘मन्त्रालय सुचारु रुपमा चलाउन कति कर्मचारी राख्ने, दरबन्दी कति चाहिने र काम कसरी छिटो र प्रभावकारी बनाउने भनेर सर्भेक्षण शून्य र एम गर्ने निर्णय गरियो,’ उनले भने ।
दमकमा हिलाम्मे बाटोमा धान रोपेर स्थानीयको अनौंठो विरोध
काठमाडौं । वर्षायाम सुरु भएसँगै झापाको दमक–९ र १० को सीमावर्ती सडक फेरि हिलाम्मे बनेको छ । सडकभरि पानी जमेको छ, खाल्डाखुल्डीले भरिएको बाटोमा हिँड्नै सकस छ । यही पीडालाई आवाज दिन स्थानीयले यसपटक फरक शैली अपनाए । उनीहरू सडकमै धानको बेर्ना बोकेर पुगे र सडकलाईनै खेत बनाउँदै धान रोपे ।
प्रधानमन्त्रीको निर्वाचन क्षेत्र तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर आसपासको यो सडक वर्षौंदेखि जीर्ण अवस्थामा रहेको स्थानीयको गुनासो छ । पटक–पटक आग्रह, निवेदन र दबाब दिए पनि कुनै निकायले चासो नदिएपछि सांकेतिक रूपमा सडकमै धान रोपेर विरोध गर्नुपरेको स्थानियको भनाइ छ ।
स्थानीयका अनुसार वर्षा लाग्नेबित्तिकै सडक हिलाम्मे बन्छ भने हिउँदमा धुलो उड्छ । दैनिक आवतजावत मात्र होइन, बिरामी अस्पताल लैजान, विद्यार्थी विद्यालय पुग्न र किसानलाई उत्पादन बजारसम्म लैजानसमेत ठूलो समस्या हुने गरेको छ ।
विरोध कार्यक्रममा सहभागी किसान नगेन्द्रमणि न्यौपाने भन्छन,‘चुनावका बेला नेताहरू घरदैलोमा आउँछन । विकासका ठूलाठूला सपना देखाउँछन् । तर निर्वाचन सकिएपछि जनताको समस्या बिर्सिन्छन् । अहिले यो सडक हो कि खेत छुट्याउनै गाह्रो भएको छ, त्यसैले हामीले सडकमै धान रोपेर हाम्रो पीडा देखाएका हौं ।’
उनका अनुसार स्थानीयले वडा कार्यालयदेखि नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसम्म पटक–पटक सडक निर्माणको माग राखे पनि कुनै ठोस काम हुन सकेको छैन । ‘जनताले कर तिर्छन्, भोट दिन्छन्, तर आधारभूत सुविधा पाउँदैनन्। विकासका भाषण धेरै सुनियो, व्यवहारमा हिलो र धुलो मात्रै पाइयो,’ उनी भन्छन् ।
किसान सुरेश धिमाल पनि सडकको समस्या नयाँ नभएको बताउँछन् । उनका अनुसार वर्षामा मोटरसाइकलसमेत चलाउन कठिन हुने अवस्था छ । ‘बालबालिका विद्यालय जाँदा हिलोमा लड्छन्, वृद्धवृद्धालाई हिँड्नै समस्या हुन्छ । चुनावअघि सबैले सडक बनाइदिन्छौं भन्छन्, चुनावपछि फर्केर हेर्ने कोही हुँदैन,’ उनले गुनासो गरे ।
उनले थपे, ‘हामीलाई सडक कसले बनाउँछ भन्ने चासो छैन, बन्नुपर्छ भन्ने मात्रै हो। तर जिम्मेवारी एकले अर्कामाथि थोपर्ने प्रवृत्तिले समस्या झन् लम्बिएको छ ।’
स्थानीय किसान पदम भण्डारीका अनुसार सडकको दुर्दशाले गाउँको दैनिकी नै प्रभावित बनेको छ । ‘वर्षा लागेपछि घरबाट निस्कनै डर लाग्छ। बिरामी पर्दा एम्बुलेन्स आउन सक्दैन, विद्यार्थी हिलोमा लड्दै विद्यालय जान बाध्य छन्। आज धान रोप्नु रहर होइन, बाध्यता हो,’उनले भने ।
त्यस्तै अर्का स्थानिय केदार खतिवडाले जनताको धैर्यको परीक्षा धेरै भइसकेको टिप्पणी गरे । ‘कर तिर्ने बेला हामी नागरिक हौं, सुविधा दिने बेला कसैले सम्झिँदैन। सडक यति बिग्रिएको छ कि खेत र बाटो छुट्याउनै गाह्रो छ । त्यसैले सडकमै धान रोपेर सम्बन्धित निकायलाई वास्तविकता देखाउन खोजेका हौं,’ उनले बताए ।
कार्यक्रममा सहभागी भेषराज थापाले यो आन्दोलन कुनै राजनीतिक उद्देश्यले नभई आधारभूत पूर्वाधारको मागका लागि भएको स्पष्ट पारे । ‘हामीलाई हिँड्न मिल्ने सडक चाहिएको हो । विकासका धेरै भाषण सुन्यौं तर परिणाम देखेनौं । आज सडकमै धान रोप्नु हाम्रो आक्रोश मात्र होइन, राज्यप्रतिको गम्भीर प्रश्न पनि हो,’ उनले भने ।
स्थानीयवासीले सडक स्तरोन्नति र कालोपत्रेको काम तत्काल सुरु नगरे थप सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । उनीहरूले सडक अवरुद्धदेखि नगरपालिका घेराउसम्मका कार्यक्रम गर्न बाध्य हुने बताएका छन् । सडकमा रोपिएको धानको बेर्नाले एउटा गम्भीर सन्देश दिएको छ—जनताले विकासको आश्वासन होइन, व्यवहारमा परिवर्तन खोजिरहेका छन् । स्थानीयको एउटै अपेक्षा छ, अब सडकमा धान होइन, विकास उम्रियोस् ।
अमेरिकी आक्रमणपछि इरानले भन्यो कुनै पनि हमला वा धम्कीको जवाफ दिइनेछ
काठमाडौं । अमेरिकी सैन्य कारबाहीपछि इरानले कुनै पनि आक्रमण वा धम्कीको कडा जवाफ दिने चेतावनी दिएको छ । इरानका विदेशमन्त्री अब्बास अराघचीले देशका सशस्त्र बल उच्चतम युद्ध तयारी अवस्थामा रहेको जनाउँदै अमेरिकालाई क्षेत्र छाड्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जाल एक्समार्फत बुधबार प्रतिक्रिया दिँदै अराघचीले इरानका शक्तिशाली सशस्त्र बलले कुनै पनि हमला वा धम्कीलाई जवाफविहीन नराख्ने बताएका हुन् । उनले क्षेत्र सुरक्षित राख्न चाहनेहरूलाई मध्यपूर्व क्षेत्रबाट बाहिरिनसमेत चेतावनी दिएका छन् ।
यो चेतावनी अमेरिकी केन्द्रीय कमाण्ड (सेन्टकम) ले इरानका विभिन्न सैन्य लक्ष्यविरुद्ध ‘रक्षात्मक आक्रमण’ गरेको घोषणा गरेपछि आएको हो । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा गरिएको उक्त कारबाही अमेरिकी अपाचे हेलिकोप्टर खसालिएको घटनाको प्रतिक्रियास्वरूप भएको अमेरिकी पक्षले जनाएको छ ।
अमेरिकी अधिकारीहरूका अनुसार हर्मुज जलडमरूमध्य आसपास रहेका इरानका हवाई प्रतिरक्षा प्रणाली र रडार संरचनाहरूलाई लक्षित गरी आक्रमण गरिएको थियो । सेन्टकमले अमेरिकी समयअनुसार साँझ ५ बजे सुरु भएको सैन्य कारबाही बुधबार सम्पन्न भएको जनाएको छ । यसअघि मंगलबार इरानी संसदको राष्ट्रिय सुरक्षा तथा विदेश नीति समितिका प्रवक्ता इब्राहिम रेजाइले देशका सशस्त्र बललाई उच्चतम युद्ध तथा प्रतिरक्षा तयारी अवस्थामा राखिएको जानकारी दिएका थिए । उनले आवश्यक क्षतिको मर्मतसमेत पूरा भइसकेको र कुनै पनि आक्रमणको उच्चस्तरीय जवाफ दिन सेना पूर्ण रूपमा तयार रहेको बताएका थिए ।
इरानको रक्षा मन्त्रालयले पनि देशको सुरक्षा, स्वतन्त्रता र भौगोलिक अखण्डताको रक्षा गर्न सैन्य उपकरण, हतियार र रक्षा प्रणालीको उत्पादन थप बढाइने जनाएको छ । मन्त्रालयले प्रतिरोधात्मक क्षमता अझ सुदृढ बनाइने र कुनै पनि शत्रुलाई इरानको सुरक्षामा सामान्य क्षति पु¥याउनसमेत नदिने स्पष्ट पारेको छ ।
यसबीच बुधबार बिहान दक्षिणी इरानको होर्मोजगान प्रान्तका सिरिक बन्दरगाह र मिनाब क्षेत्रमा विस्फोटका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
उता इराकस्थित एक मिलिसिया समूहले इरानी ड्रोनहरूले इराकी आकाश प्रयोग गर्दै अमेरिकी लक्ष्यमा आक्रमण गरेको दाबी गरेको छ । यद्यपि, उक्त दाबी स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
यस्तै, इजरायली सेनाका प्रमुख एयाल जमिरले इजरायली सेना जुनसुकै बेला इरानविरुद्ध पुनः सैन्य कारबाही गर्न तयार रहेको र सबै प्रतिरक्षा तथा आक्रमण प्रणाली उच्च सतर्कतामा राखिएको बताएका छन् ।
गृहमन्त्री गुरुङ र विज्ञान, प्रविधिमन्त्री पुनले लिए सपथ
काठमाडौं । गृहमन्त्री सुदन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले सपथ ग्रहण गरेका छन् । मंगलबार राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति रामचन्द्र पौडेलबाट दुई मन्त्रीले सपथ लिएका हुन् ।
प्रधानमन्त्री बालेन्द्र शाहले आजै पूर्वगृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुदन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका थिए ।
यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।
छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो।
सरकारको निर्णयसँगै गुरुङले पुनः गृहमन्त्रालयको नेतृत्व सम्हालेका हुन् ।
त्यस्तै सांसद महावीर पुनले पनि सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्रीमा प्रस्ताव गरेपछि स्वीकार गरेका हुन् ।
सुधन गुरुङ पुनः गृहमन्त्री बन्ने, ४ बजे शपथ
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले पूर्व गृहमन्त्री एवं प्रतिनिधिसभा सदस्य सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गरेका छन् ।
राष्ट्रपति कार्यालयका अनुसार गुरुङले आज दिउँसो ४ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
यसअघि सम्पत्ति विवरणसम्बन्धी विषयमा प्रश्न उठेपछि गुरुङले गृहमन्त्री पदबाट राजीनामा दिएका थिए । त्यसलगत्तै सरकारले उक्त विषयमा छानबिन गर्न समिति गठन गरेको थियो।
छानबिन समितिले गत शुक्रबार आफ्नो प्रतिवेदन प्रधानमन्त्रीलाई बुझाएको थियो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त प्रतिवेदन स्वीकृत गरेपछि गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने निर्णय गरिएको हो।
सरकारको निर्णयसँगै गुरुङले पुनः गृहमन्त्रालयको नेतृत्व सम्हाल्ने भएका छन् । त्यस्तै सांसद महावीर पुनलाई पनि मन्त्री नियुक्त गर्ने तयारी छ ।
प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक आज दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो ।
सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ । सभामुखले कार्यव्यवस्था परामर्श समितिमा माननीय सदस्यहरूको नाम मनोनयन गरेको बेहोरा जानकारी गराउने कार्यसूची छ ।
यसैगरी, बैठकमा सभामुखले “वैकल्पिक विकास वित्त परिचालन विधेयक, २०८२ राष्ट्रिय सभाबाट अबधिभित्र फिर्ता नभएको जानकारी गराउने छन् ।
बैठकमा आगामी आर्थिक वर्षको बजेटका विषयमा छलफल सुरु गर्ने कार्यसूची छ । बजेटमाथि छलफलका क्रममा उठेका प्रश्नको जवाफ अर्थमन्त्री डा स्वर्णिम वाग्लेले दिने कार्यसूची छ ।
अर्थ मन्त्री वाग्लेले वक्तव्यसहित आ.व. २०८३÷०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।