सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JRG2E69PD04S469VECHQRSRW.jpg

एकीकृत समाजवादी कोशीमा महिला नेतृत्व

इटहरी । कोशी प्रदेशकी पूर्व सांसद समेत रहेकी सरिता थापा नेकपा (एकीकृत समाजवादी) पार्टी कोशी प्रदेशको अध्यक्षमा चयन भएकी छिन् । सुनसरीकाे इटहरीमा भएको पहिलाे  प्रदेश अधिवेशनबाट अध्यक्ष पदका लागि सर्वसम्मत चयन भएका हुन ।

पार्टीको प्रदेश अध्यक्षमा धर्म निरौला, महेश रेग्मी, केशव विष्टलगायतको दाबीका बिच खड्कालाई अध्यक्ष चयन गरिएको हो । 

केन्द्रीय सदस्य समेत रहेका एकीकृत समाजवादीका नेता ओसिम आलमले खड्का विजयी भएको उल्लेख गरे । 

नेतृत्व चयनका लागि बुधवार निर्वाचन हुने भनिएको थियो । तर, निर्वाचन प्रक्रिया रोकेर नेताहरूले खड्कालाई सर्वसम्मत अध्यक्ष घोषणा गरेका हुन् ।

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१
https://jawaaf.com/storage/01JRFVV0VP8HE3HBZSK2136W5R.avif

सुरक्षित पानी र सरसफाइका लागि अन्तर–निकाय समन्वय जरुरी : मन्त्री यादव

काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले खानेपानी, सरसफाइ तथा ढल व्यवस्थापनको क्षेत्रमा दिगो विकास सुनिश्चित गर्न र नागरिकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन क्षेत्रीय, संस्थागत तथा अन्तर–निकाय समन्वय अपरिहार्य रहेको बताएका छन् ।

बिहीबार खानेपानी मन्त्रालय र अन्तर्राष्ट्रिय संस्था इसिमोडबिच भएको सहकार्य सम्झौता कार्यक्रममा बोल्दै मन्त्री यादवले नेपाल सरकारअन्तर्गतका २२ मन्त्रालयमध्ये खानेपानी मन्त्रालयले अत्यन्तै संवेदनशील र जीवनसँग प्रत्यक्ष सरोकार राख्ने सेवा पु¥याइरहेको उल्लेख गरेका हुन् ।

उनले मन्त्रालयले नीति निर्माणदेखि कार्यान्वयन, अनुगमन, मूल्याङ्कन र समन्वयसम्मका काम सम्हाल्दै आएको जानकारी दिएका छन् ।

उनले भने, ‘नागरिकलाई सुरक्षित पानी र सरसफाइ प्रदान गर्न विभिन्न तह र निकायबिच समन्वय गर्न जरुरी छ । यो सहकार्यले दिगो विकासका लक्ष्यहरू हासिल गर्न महत्वपूर्ण टेवा पु¥याउनेछ ।’

उनले मन्त्रालय र इसिमोडबीचको सहकार्य नेपालको पहाडी तथा तराई क्षेत्रका समुदायहरूमा दिगो, सुरक्षित र गुणस्तरीय पानी तथा सरसफाइ सेवा पु¥याउने साझा उद्देश्यसहित अघि बढेको स्पष्ट पारे ।

साथै, अनुसन्धान, प्रविधिको हस्तान्तरण, क्षमता अभिवृद्धि तथा सूचनाको आदानप्रदानलाई सहकार्यले सघाउने विश्वास व्यक्त गरे ।

मन्त्री यादवले जलवायु परिवर्तन र भूकम्पका असरहरूका कारण हिमालहरू कालो हुँदै गएका र तराई–मधेसमा भूमिगत जलस्रोत घट्दै गएको अवस्थामा सुरक्षित पानीको आपूर्ति एक चुनौतीको रूपमा देखिएको बताए ।

भर्खरै नेपाल र भारत तथा खानेपानी मन्त्रालय र ऊर्जा मन्त्रालयबिच भएका सम्झौताहरूले पनि यस क्षेत्रमा सकारात्मक प्रभाव पार्ने उनको भनाई छ ।

कार्यक्रममा खानेपानी मन्त्रालयकी सचिव ई प्रमिलादेवी शाक्य बज्राचार्यले सहकार्य सम्झौताले सुक्दै गएका पानीका मुहानहरू पुनः सक्रिय गराउने र दीगो पानी व्यवस्थापनतर्फ ठोस योगदान दिने विश्वास व्यक्त गरेका थिए ।

सम्झौतापत्रमा मन्त्रालयका सहसचिव ई. मीना श्रेष्ठ र इसिमोडका महानिर्देशक डा. पेमा ग्याम्त्सोले हस्ताक्षर गरेका थिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव ई. रमाकान्त दुवाडि, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई. रामकुमार श्रेष्ठ लगायत इसिमोड र मन्त्रालयका कर्मचारीहरूको उपस्थिति रहेको थियो ।

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१
https://jawaaf.com/storage/01JRFQF7F8A5JNRWK7MTMWPWAZ.jpg

चट्याङले लागेर २ जनाको मृत्यु

विराटनगर । झापा र मोरङ जिल्लाको २ स्थानहरूमा चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार चैत्र २७ गते बिहान ७ बजे पाँचथरको मिक्लाजुङ गाउँपालिका ३ घर भई हाल झापाको गौरादह नगरपालिका ५ बालुबथान बस्दै आएकी ५४ वर्षीय दुध कुमार लावतीलाई भान्सा कोठा छेउमा झरेको चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको हो ।

यसका साथै चैत्र २७ गते दिउँसो साढे १२ बजे वर्षा सँगै परेको चट्याङले लाग्दा साइकल कुदाईरहेका  सुनसरीको इटहरी घर भई हाल मोरङको कानेपोखरी गाउँपालिका.१ होक्लाबारी स्थित मामाघरमा आएका १२ वर्षीय बालक आविष्कार बराल घाइते भएका थिए ।

घाइतेको बिराट टिचिङ अस्पताल विराटनगरमा उपचारको क्रममा दिउँसो पौने २ बजे मृत्यु भएको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१
https://jawaaf.com/storage/01JRFNRQ8MJR3PC8DHY59FZ8XG.avif

सवारी दुर्घटनामा बाँचेका प्राविधिक ढुंगाना घरमा मृत भेटिए, आत्महत्या गरेको शंका

हेटौंडा । पाँच दिनको अवलोकन भ्रमण सकेएर घर फर्कदैँ गर्दा बस दुर्घटनामा परेर घाइते भएका भीमफेदी गाउँपालिकाका एक कर्मचारी घरमा मृत भेटिएका छन् ।

यही चैत २२ गते शुक्रबार धरान, धनकुटा, कन्यामलगायतका स्थानहरूको अवलोकनका लागि निस्किएको गाउँपालिकाको टोली भ्रमण गरेर बुधबार (हिजो) राति मकवानपुरको भीमफेदी फर्कने क्रममा धरान–चतरा सडकखण्डमा दुर्घटनामा परेको थियो ।

मकवानपुरको बकैया गाउँपालिका–३, चिसापानीमा आइपुगेपछि उक्त टोली सवार बागमती प्रदेश ०६–००१ ख ०२७० नम्बरको बस ओरालोमा चिप्लिएर दुर्घटना भएको थियो । बसमा सवार ३१ जनामध्ये २३ जना घाइते भएका थिए । तिनै घाइतेमध्येका एक थिए, भीमफेदी गाउँपालिकाको पशु विकास शाखाका प्राविधिक विमल ढुंगाना ।

विगत पाँच वर्षदेखि भीमफेदी गाउँपालिकाको पशु शाखा प्राविधिकको रूपमा कार्यरत ढुंगाना पनि गाउँपालिकाको अवलोकन भ्रमणमा निस्किएका थिए । पालिकाको कृषि तथा पशु शाखाको भ्रमण भएका कारण शाखाका कर्मचारी, किसानहरू र केही जनप्रतिनिधि पनि भ्रमणमा थिए । शुक्रबार बिहान गाउँपालिकाबाट निस्किएको टोली मंगलबार नै आइपुग्ने योजनामा थियो ।

तर, उनीहरू सवार बस बाटोमा बिग्रिने, टायर पञ्चर हुनेजस्ता समस्या देखिएपछि फर्कन एक दिन ढिलो भएको थियो । पशु शाखाको व्यवस्थापनमा आयोजना गरिएको अवलोकन भ्रमणको जिम्मा पशु शाखा प्रमुख सरोज ओझाको थियो । सवारीसम्बन्धी कुराहरू थाहा हुने भन्दै प्रमुख ओझाले विमललाई बस रिजर्भ गर्ने जिम्मेवारी थमाएका थिए ।

सोहीअनुरुप विमलले नै रिजर्भ गरेको बसमा पालिकाको टोली भ्रमणमा निकिस्यो । चार दिन कन्यामदेखि धनकुटासम्म घुमेका उनीहरू बुधबार दिउँसो २ बजे गाईघाट आइपुगेका थिए । भीमफेदी गाउँपालिका–२ का वडाध्यक्ष काशीराम बज्युका अनुसार दिउँसो गाईघाटमा खाना खाएपछि मकवानपुर फर्कनका लागि बाटो लागे । साँझ सिन्धुली आइपुगेपछि खाजा खाएर निस्किएका उनीहरू बीच बाटोमै दुर्घटनामा परे ।

दुर्घटनामा केही घाइतेको अवस्था गम्भीर रहेपनि धेरैको अवस्था मध्यमदेखि सामान्य छ । पशु प्राविधिक विमलको अवस्था पनि सामान्य नै थियो । दुर्घटनापछि उपचारका लागि हेटौंडा अस्पताल ल्याइएका उनी सामान्य उपचारपछि बिहीबार (आज) बिहान ३ बजेतिर डिस्चार्ज भए ।

हेटौंडा–१८, हर्नामाडी घर भएका उनी कहिले हर्नामाडी जाने भन्दै थिए त कहिले भीमफेदी नै जाने भन्दै दोमन गरिरहेका थिए । सँगै भ्रमणमा गएका सोही शाखामा कार्यरत रुविन घर्तीका अनुसार, विमलले भीमफेदी जाने भनेपछि सँगै डिस्चार्ज भएका कर्मचारीहरूले पनि सँगै जाने प्रस्ताव राखेका थिए ।

तर उनी कसैलाई नभनी निस्किएकोमा हेटौंडा–२ स्थित संगमचोकतिर हिँडिरहेको भन्ने खबर पाएपछि भीमफेदी गाउँपालिका–९ का वडासदस्य उदयप्रसाद कटुवालको घरमा गएर बस्न सुझाव दिएको रुविनले बताए ।

आफूहरू भने बजारतिरै साथीको कोठामा सुतेको उनको भनाइ छ । वडासदस्य हटुवालले हेटौंडा–११, नवलपुरमा रहेको आफ्नो घरमा बिहानीपख विमललाई लिएर गएका थिए । बिहान अबेरसम्म पनि नउठेपछि थकाइ लागेर सुतिरहेका होलान् भन्ने लागेर घरका मान्छेले त्यति वास्ता गरेनन् । घरको दोस्रो तल्लामा छुट्टै कोठामा सुतेका विमल निकैबेरसम्म पनि नउठेपछि वडासदस्य कटुवालले ढोका ढकढक्याउँदै बोलाए। तर, भित्रबाट कुनै चालचुल भएन ।

भित्र सुनासान नै भएपछि उनले झ्यालबाट चिह्याएर विमल सुतेको कोठामा हेर्दा पंखामा झुण्डिएको अवस्थामा देखे । केहीबेरको हो–हल्लापछि प्रहरी घटनास्थल आइपुग्यो । उनी सुतेको कोठाको ढोका फुटाएर हेर्दा घाँटीमा पासो लगाएर आत्महत्या गरेको अवस्थामा विमल फेला परे । उनी सुतेको कोठामा रहेको कपडा राख्ने दराजबाट टाई र खादा लगायतका सामग्री निकालेर डोरी बनाएर झुण्डिएको मकवानपुर प्रहरीले जनाएको छ ।

घटनास्थलमा चुँडिएको अवस्थामा पेटीसमेत भेटिएको छ । उनले लगाएको पेटीले पासो लगाउने प्रयास गर्दा चुँडिएपछि खादा र टाई जोडेर डोरी बनाएको हुन सक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबाट ज्यान जोगिएर नयाँ जीवन पाएका उनले किन आत्महत्या गरे होलान् ? परिवार र शुभचिन्तक सबैले अहिले प्रश्न गरिरहेका छन् ।

विमलका छिमेकीका अनुसार भ्रमणमा रिजर्भ गरेर लगिएको बस विमलकै थियो । उनले त्यो बस कहिले किने भन्ने यसभन्दा अघि थाहा नभए पनि घटनापछि उनकै बस रहेछ भन्ने थाहा पाएको उनका एक छिमेकीको भनाइ छ ।

उनले भने, ‘पहिला एउटा स्कारपियो गाडी थियो । सानो एउटा भ्यानजस्तो गाडी पनि थियो । उसले चढ्नेभन्दा पनि भाडामा लगाउँथ्यो क्या र । पछिल्लो समय स्कारपियो बेचेर बस किन्ने भनेको सुनेको थिएँ। किनिसकेका रहेछन्। अहिले दुर्घटना भएपछि पो थाहा भयो ।’

विमल सोही दुर्घटनाकै कारण आत्महत्या गर्ने स्थितिमा पुगेको हुनसक्ने आफन्तहरूले अनुमान गरेका छन् । आफ्नै सवारी क्षति भयो । घाइतेहरूको उपचार गराउनेदेखि मृत्यु भयो भने के गर्ने भन्ने चिन्ता सहन नसकेको हुन सक्ने हेटौँडा अस्पतालमा पोस्टमार्टम रिपोर्ट कुरेर बसिरहेका छिमेकीहरू बताउँछन् ।

यता, सँगै भ्रमणमा गएका साथीहरूले समेत विमलको बस हो भन्ने थाहा पाएका थिएनन् । ‘आफू सामान्य घाइते भए पनि बसमा सवार घाइतेहरूको अवस्थाले विक्षिप्त बनेका देखिनुहुन्थ्यो,’ सँगै भ्रमण गरेर फर्किएका सोही गाउँपालिकाका कृषि प्राविधिक सुदीप पराजुलीले भने, ‘उहाँ निकै अत्तालिएको अवस्था हुनुहन्थ्यो । हामी सबैजना डराएका थियौँ । त्यसैले पनि त्यति ख्याल गरिएन । आज यस्तो घटना सुनेपछि पो उहाँको बस रहेछ भन्ने थाहा पायौँ । त्यतिका दिन भ्रमणमा रहँदा पनि उहाँले कहिल्यै आफ्नो बस भन्नुभएन ।’

विश्वनाथ ढुंगाना र सत्यवती ढुंगानाका कान्छा छोरा हुन् विमल । उनी अविवाहीत हुन् । उनका दाइ कामको सिलसिलामा जिल्ला बाहिर छन् । हाल उनको शव पोस्टमार्टमका लागि हेटौंडा अस्पतालमा राखिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१
https://jawaaf.com/storage/01JRFGHFSNGR061V084KVAHFPS.avif

नेपाल बारको अन्तिम परिणाम सार्वजनिक, अध्यक्षमा मिश्र विजयी (सूचीसहित)

काठमाडौं । नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वमा वरिष्ठ अधिवक्ता प्राध्यापक डा.विजयप्रसाद मिश्र विजयी भएका छन् । नेपाल बार एशोसिएशनको २७ औं केन्द्रीय कार्यसमिति निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गर्दै मिश्र विजयी भएको घोषणा गरिएको हो ।

बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राध्यापक डा. मिश्र विजयी भएका हुन् । 

उनी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठलाई पराजित गर्दै अध्यक्ष बनेका हुन् ।

महासचिवमा पनि डा.मिश्रको समूहमा वरिष्ठ अधिवक्ता केदारप्रसाद कोइरालाले जितेका छन् ।

मुख्य निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालामा अनुसार मिश्रले ५०५२ र कोइरालाले ५०८७ मत प्राप्त गरेका हुन् ।

मिश्रका निकटतम प्रतिस्पर्धी वरिष्ठ अधिवक्ता श्रेष्ठले २६२१ र कोइरालाका निकटतम प्रतिस्पर्धी अधिवक्ता यज्ञमणि न्यौपानेले २३६७ मत प्राप्त गरेका छन् ।

यस्तो छ अन्तिम परिणाम ।

1.jpg 403.9 KB

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१
https://jawaaf.com/storage/01JRFBK2YXNKR7VHX0P24FQRKA.avif

‘कालोमोसो दलियो’ भनेर गलत प्रचार गरियो, चरित्र हत्या गर्न खोजीयो : प्रमुख कर्ण

जनकपुर । त्रिभुवन विश्वविद्यालय अन्तर्गतको रामस्वरुप रामसागर बहुमुखी क्याम्पसका प्रमुख प्राडा वसन्त कुमार कर्णले आफूमाथि चैत २१ गते भएको ‘कालोमोसो प्रकरण’लाई अतिरञ्जित गरिएको भन्दै घटनाको वास्तविकता सार्वजनिक गरेका छन् ।

जनकपुरधाममा बिहिवार पत्रकार सम्मेलनमार्फत क्याम्पस प्रमुख कर्णले घटनाको पृष्ठभूमि, योजनाबद्ध षड्यन्त्र र आन्तरिक शैक्षिक माफियाहरूको भूमिकाबारे १२ बुँदे विवरण सार्वजनिक गरेका हुन् ।

कर्णले सो दिन बेलुका ४ बजेको समयमा विज्ञान भवनबाट मोटरसाइकलमा बाहिर निस्कने क्रममा आफूलाई लुगामा मसि छर्किएको सामान्य घटनालाई ‘कालोमोसो दलियो’ भनेर अनावश्यकरूपमा प्रचार गरिएको दाबी गरेका छन् । उनले यो प्रकरण योजनाबद्ध रूपमा आफ्नो चरित्र हत्या गर्ने र मानसिक दबाब सिर्जना गरी राजीनामा दिन बाध्य पार्ने षड्यन्त्र रहेको बताए ।

कर्णले भने, ‘त्रिभुवन विश्वविद्यालयको इतिहासमै पहिलोपटक खुल्ला प्रतिस्पर्धाबाट योग्यता आधारित नियुक्ति पाएको म एक जना अल्पसंख्यक समुदायबाट आएको प्रमुख हुँ । मलाई असफल साबित गर्न विगतदेखि नै विभिन्न हतकण्डा अपनाइँदै आएको छ ।’

उनले क्याम्पसमा व्यापक परीक्षा सुधार तथा अनियमितता नियन्त्रणका लागि उठाइएका कदमहरु, सबै कक्षा र प्रशासनिक कोठामा सिसिटिभी जडानले आन्तरिक शैक्षिक माफियालाई असहज बनाएको बताए । सँगै, निजी शिक्षण संस्थाहरूलाई केन्द्र बनाएर परीक्षा केन्द्र सार्ने प्रयासलाई रोक्दा पनि धेरैको स्वार्थमा चोट पुगेको उनले जनाए ।

‘परीक्षा प्रणाली मर्यादित बनाइँदै जाँदा विद्यार्थीहरू अध्ययनमा केन्द्रित भएका छन् । तर, केही शिक्षकहरू भने निजी शिक्षण संस्थालाई प्राथमिकता दिँदै क्याम्पसको पठनपाठन बिथोल्ने प्रयत्नमा लागेका छन्,’ उनले भने ।

कर्णले छात्रसंघ चुनावको टिकट नपाएका केही असन्तुष्ट विद्यार्थी नेताहरू र उमेरहद कटेका नेताहरुको उक्साहटमा सातवटै विद्यार्थी संगठनहरुले तालाबन्दी गरिरहेको र त्यसकै आडमा शैक्षिक वातावरण बिथोल्ने र अव्यवस्था सिर्जना गर्न खोजिएको आरोपसमेत लगाए ।

घटनाका योजनाकार क्याम्पसकै सहायक लेखापाल संजय कुमार दास रहेको बताउँदै कर्णले लेखापाल दासले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्तिको संरक्षण गर्न र आफूविरुद्धको अभियानलाई अगाडि बढाउन बाहिरी तत्व र केहि विद्यार्थीहरूलाई समेत प्रयोग गरेको आरोप लगाए । ‘यी सबै प्रयासहरू मलाई मानसिक तनावमा पारेर राजीनामा गराउने योजनाको हिस्सा हुन्,’ कर्णले भने ।

उनले घटनामा संलग्नहरूलाई कानुनी दायरामा ल्याउन सम्बन्धित निकायसँग आग्रह गर्दै क्याम्पसको शैक्षिक मर्यादा र सुधार प्रयासलाई कुनै हालतमा कमजोर नपारिने प्रतिबद्धता जनाए । उनले यस्ता घटनाबाट नडराई अझ दृढताका साथ सुधारको यात्रामा अघि बढ्ने बताए ।

प्रकाशित मितिः बिहिबार, २८ चैत २०८१
https://jawaaf.com/storage/01JRD9VC063FYVZPDVARJC5Y6K.avif

१० करोडको कोशी पर्यटन वर्ष, उद्घाटन मै गएनन् प्रधानमन्त्री

इटहरी । कोशी प्रदेश सरकारले आफ्नो महत्वकांक्षी योजनाका साथ अगाडि सारेको पर्यटन वर्ष २०८२ को उद्घाटनका लागि बुधवार प्रधानमन्त्री केपी शर्मा ओली आउने भनी चौतर्फी निमन्त्रणा गरिएको थियो ।

तेह्रथुम र सङ्खुवासभाको संगमस्थल तीनजुरे मिल्के क्षेत्रमा आयोजना भएको उद्घाटन सत्रको उद्घाटनका लागि मङ्गलवार दिउँसो पनि प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रधानमन्त्री आउने जानकारी गराएका थिए ।

विराटनगरमा आयोजना गरिएको पर्यटन वर्ष समेत लक्षित प्रदेश समन्वय समितिको बैठकमा अध्यक्षता गरिरहेका कार्कीले भनेका थिए, ‘भोलिबाट सुरु हुने कोशीको पर्यटन वर्ष २०८२ लाई सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले उद्घाटन गर्नुहुने छ । यस्तै विशिष्ट अतिथिका रूपमा उपप्रधानमन्त्री प्रकाशमान सिंह आउनुहुने छ ।’

तर प्रधानमन्त्री आउँने भनी महिनौँ तयारी गरेको र निमन्त्रणामा समेत प्रधानमन्त्री आउने चर्चा गरिएको समारोहमा नै भने अनुसारको काम नभएपछि सरकारले लिएको लक्ष्य कसरी पुरा होला भन्ने संका पैदा भएको छ ।

यद्यपि कोशी सरकारले आयोजना गरेको पर्यटन वर्ष २०८२ को उद्घाटन उप–प्रधान एवं सहरी विकाशमन्त्री प्रकाशमान सिंहले गरेका छन् । प्रधानमन्त्री आउने भनेर पुगेका स्थानीय तहका जनप्रतिनिधि तथा स्थानीयलाई खिन्नता छाएको छ ।

एक जना स्थानीय तहका जनप्रतिनिधिले भने, ‘प्रधानमन्त्री आउने भनेर भनिएको थियो तर ढाँट गरेजस्तै भएपछि म पनि गइन ।’

किन आएनन् प्रधानमन्त्री ?

२४ घण्टा अगाडिसम्म प्रधानमन्त्री किन आएनन् भन्ने प्रश्नमा सरकारी अधिकारीहरू भने प्रधानमन्त्रीको कार्य व्यस्तताका कारण आउन नसकेको जवाफ दिन्छन् । उद्घाटन समारोहमा मुख्यमन्त्री हिकमतकुमार कार्कीले नै भने, ‘प्रधानमन्त्रीज्यू कार्य व्यस्तताका कारण आउन सक्नुभएन ।’

तर उनले भनेजस्तो वस्तुस्थिति भने देख्न सकिँदैन । महिनौँ अगाडिबाट प्रधानमन्त्रीको नाम जोडेर प्रचार गरिनुका साथै २४ घण्टा अगाडि मात्रै प्रधानमन्त्री आउने जानकारी गराउनुले पनि कार्य व्यस्तता भनिनु प्रथमतः नै मिल्ने अवस्था रहँदैन ।

खास गरी पर्यटन वर्षको उद्घाटन अपेक्षा गरिए अनुसारको हुने नभएपछि प्रधानमन्त्रीको आउने कार्यक्रम रद्द भएको हो ।

पर्यटन वर्ष उद्घाटन गरिएको ठाउँ गुराँसको राजधानी तेह्रथुम हो । विगतका वर्षहरूलाई हेर्ने हो भने यो मौसममा गुराँसले जङ्गल ढकमक्क ढाक्नुपर्ने हो । तर, यो वर्ष पानी पर्न नसकेका कारण गुराँस फुल्न सकेको छैन ।

गुराँसलाई फुलाउनका लागि केही दिन अघि त्यहाँ दमकल लगायतको प्रयोगले पानी समेत गुराँसका बोटहरूमा हालिएको थियो । त्यस बेला प्रधानमन्त्री आउने भएपछि गुराँसमा पानी हालिएको भन्दै तीव्र आलोचना समेत भयो ।

प्रधानमन्त्री मात्रै नभएर पर्यटन वर्षको उद्घाटन समारोहमा छिमेकी मुलुक भारतका मुख्यमन्त्रीहरूलाई समेत निमन्त्रणा गरिएको भए पनि उनीहरूले पनि सहभागिता जनाउन सकेनन् ।

नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सल्लाहकार विवेक गौतम लेख्छन्, ‘कोशी भ्रमण वर्ष उद्घाटन गर्ने गुराँसको जङ्गल नजिकै कङ्क्रिटका संरचना छन् । जलवायु परिवर्तन र यसको असर गम्भीर बन्दै छ ।’

वातावरण सम्बन्धी जानकारहरू वातावरण सम्बन्धी जानकारहरू जलवायु परिवर्तनका कारण यस प्रकारका असरहरू परिरहेको जनाउँदछन् । कार्यक्रमका सम्बन्धमा आलोचना भइरहेको र समारोह समेत उत्साहजनक नहुने भएपछि प्रधानमन्त्री नआएको कतिपयले तर्क गरेका छन् ।

कहाँ गए प्रधानमन्त्री ?

कोशी पर्यटन वर्षको उद्घाटन गर्न नआएर प्रधानमन्त्री ओली भने अर्घाखाँची पुगेका छन् । उनले अर्घाखाँचीको पाणिनी तपो भूमि सम्मेलनको उद्घाटन गरे ।

के छ पर्यटन वर्षको लक्ष्य ?

बुधवार आलोचना र बिस्मातका साथ उद्घाटन भएको कोशी पर्यटन वर्ष २०८२ को लक्ष्य भने प्रदेशलाई पर्यटकको माध्यमबाट सम्पन्न बनाइने छ । रमणीय कोशी नाराका साथ मनाइने वर्षमा पर्यटक आकर्षित गर्ने कार्यक्रमहरू वर्षै भरी आयोजना गरिने छन् । प्रदेशका मुख्यमन्त्री हिकमतकुमार कार्कीले समेत पर्यटन वर्षमा आवश्यक भौतिक पूर्वाधारको क्षेत्रमा काम गर्न सकिएमा हामी अरू वर्षहरूमा पर्यटकका लागि आवश्यक वातावरण सिर्जना हुने बताएका छन् ।

पर्यटन वर्षमा पर्यटन वर्षमा मुख्यतया भारत, चीन, बङ्गलादेश र भुटानका १५ लाख बढी पर्यटक भित्राउने लक्ष्य राखिएको छ । १० करोडको सुनिश्चितताका साथ आयोजना गरिएको भ्रमण वर्षको उपलब्धि त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://jawaaf.com/storage/01JRCFF7MBZ545F3K1JQRQH1K5.jpg

१ सय ९ किलो लागूऔषध गाँजा र हतियार सहित एक युवक पक्राउ

रौतहट । रौतहट प्रहरीले १ सय ९ किलोग्राम लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको प्रहरी गस्तीको टोलिले ईशनाथ नगरपालिका – १ स्थित झोलुङ्गे पुलको पश्चिममा रहेको केरा घारीबाट लागूऔषध गाँजा र हतियार सहित एक युवकलाई पक्राउ गरेको हो ।

रौतहट प्रहरीका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) दिलीप घिमिरेका अनुसार गौर नगरपालिका – ४ निवासी २१ वर्षीय सावन गिरीलाई पक्राउ गरीएको हो । 

पक्राउ परेका गिरीसँगै रहेका अन्य ६÷७ जना व्यक्ति फरार रहेको र उनीहरूको खोजी कार्य जारी रहेको उनले जानकारी दिए ।

प्रहरीले गिरीको साथबाट १ सय ९ किलोग्राम लागूऔषध गाँजा र ८ एमएम केएफ लेखिएको लोडेड कटुवा पेस्तोल एक थान, ८ एमएम केएफ लेखिएको ३ राउन्ड गोली, रियलमी कम्पनीको स्क्रिनटच एक थान मोबाइल पनि बरामद गरेको छ । 

पक्राउ परेका गिरीलाई लागूऔषध तथा हातहतियार खरखजाना अन्तर्गत मुद्दा चलाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ  ।

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://jawaaf.com/storage/01JRC6M25JWTH7X3RJ4XED36PY.jpg

बिआरआई ऐतिहासिक र बहुआयामिक योजना हो :कोइराला

काठमाडौं । नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना भएको बताएकी छन् ।

मंगलबार काठमाडौंमा फ्रेन्ड्स अफ सिल्क रोड क्लब नेपालले आयोजना गरेको कार्यक्रममा उनले चीनबाट अगाडि सारेको बहुआयामिक योजना बिआरआइले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको बताईन् ।
उनले भनिन्, ‘आजको यो कार्यक्रम केवल पुस्तक प्रकाशन मात्र नभएर नेपाल लगायत विश्वभरका राष्ट्रहरुको सहयोग, समृद्धि र दिगो विकासको मार्गचित्र प्रस्तुत गर्ने महत्वपूर्ण अवसर पनि हो । बिआरआई चीनबाट अगाडि सारेको ऐतिहासिक, बहुआयामिक योजना हो । यसले आर्थिक विकास, पूर्वाधार विस्तार तथा अन्तराष्ट्रिय साझेदारीलाई प्रवद्र्धन गर्ने लक्ष्य राखेको छ ।’
यस्तै, उनले चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुग्ने भन्दै नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँचको लागि पनि सहज हुने बताईन् ।
उनले भनिन्, ‘नेपालका लागि बिआरआई एउटा राम्रो अवसर हो । चीनको नेतृत्वमा अगाडि बढि रहेको यो प्रयोजनाले हाम्रो भौतिक तथा आर्थिक पूर्वाधार विकासमा महत्वपूर्ण योगदान पुर्‍याउन सक्छ । नेपाल जस्तो भूपरिवेस्थित राष्ट्रका लागि अन्तराष्ट्रिय व्यापार मार्गहरुमा पहुँच आवश्यक छ । बिआरआईले यस सन्दर्भमा सहजता प्रदान गर्न सक्छ ।’

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१
https://jawaaf.com/storage/01JRC4NX70A95XAA8B983SXBXS.jpg

देशभर बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव

काठमाडौं । हाल देशमा पश्चिमी वायुका साथै बंगालको खाडीबाट भित्रिएको जलवाष्फयुक्त हावाको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

हाल लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भईरहेको छ भने देशभर तुँवालो लागेको अवस्था छ ।

विभागका अनुसार आज कोशी प्रदेशको हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । 

पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही केही स्थानमा मेघार्जन चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिक देखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

आज बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । पहाडी क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । तराई क्षेत्रमा आंशिकदेखि साधारणतया बदली रही एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ I

प्रकाशित मितिः बुधबार, २७ चैत २०८१