अमेरिकी खाद्य सहायतामा कटौती : ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’ सरह
एजेन्सी । अमेरिकाको आपतकालीन खाद्य सहायतामा गरिएको कटौतीले अफगानिस्तान प्रभावित हुने देखिएको छ । भोकमरीको सामना गरिरहेको अफगानिस्थानमा विश्व खाद्य कार्यक्रम अन्तर्गतको राशन आधा कटौती गरिने अमेरिकी चेतावनीपछि गरिबहरु बढी मारमा पर्ने देखिन्छ ।
सरकारी घाटा कम गर्ने आफ्नो योजना अनुसार ट्रम्प प्रशासनले जनवरीमा तीन महिनाको लागि सबै विदेशी सहायता फ्रिज गर्ने निर्णय गरेको थियो हालै मात्र आफ्नो आपतकालीन खाद्य कोष समाप्त गर्ने घोषणा गरेको थियो ।
उक्त कटौती लागू भएको खण्डमा ‘लाखौं मानिसहरूको लागि मृत्युदण्ड’बराबर अनुमान गरिएको छ । विश्व खाद्य कार्यक्रमका कार्यवाहक कन्ट्री निर्देशक मुटिन्ता चिमुकाले अफगानिस्तान विश्वको दोस्रो ठूलो मानवीय संकटको सामना गरिरहेको अवस्थामा अन्तर्राष्ट्रिय दाताहरूलाई सहयोग गरिरहन आग्रह गरिन् ।
डब्लुएफपीले आगामी महिनाहरूमा भोकमरी विरुद्ध लड्न २० लाख मानिसहरूलाई खाद्य सहायता प्रदान गर्ने योजना बनाएको छ । तर सीमित कोषको कारण पर्याप्त राशन उपलब्ध गराउन नसकिने बताइन् ।
कर्फ्यू उल्लंघन गर्ने ४० जना पक्राउ
पर्सा । पर्सा प्रहरीले कर्फ्यू उल्लंघन गरेको आरोपमा ४० जनालाई पक्राउ गरेको छ । आइतबार विहानदेखि १० बजेसम्ममा विभिन्न ठाउँबाट उनीहरुलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
स्थानीय प्रशासनले लगाएको कर्फ्यू उल्लंघन गरेको आरोपमा उनीहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायव उपरिक्षक किशोर लम्सालले बताए ।
स्थानीय प्रशासनले तोकेको आदेश विपरित कार्य गर्नेलाई तत्काल नियन्त्रणमा लिने र अटेर गर्नेलाई गोली हान्ने आदेश भएकोले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन उनले आग्रह गरे । अहिले वीरगञ्जको अवस्था सामान्य बन्दै गएको छ ।
जिल्ला प्रशासन कार्यालयमा अहिले सर्वपक्षिय बैठक बसिरहेको छ । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार, बैठकले मध्यान्ह १२ बजेपछि कफ्र्यु हटाउने वा थप समयका लागि जारी राख्नेबारे निर्णय गर्नेछ ।
वीरगञ्जमा शनिबार भएको घटनाले धार्मिक सदभाव विथोल्न सक्ने भन्दै स्थानीय प्रशासनले तनाव व्यवस्थापनको लागि सर्वपक्षिय बैठक राखेको हो ।
यता भारतको रक्सौल नाका हुँदै नेपाल भित्रिने यात्रुहरू कर्फ्यू का कारण सीमा क्षेत्रमा अलपत्र परेका छन् । यात्रुहरूलाई गन्तव्यमा सहज पुग्न स्थानीय प्रशासनले वैकल्पिक नाकाहरू प्रयोग गर्न सुझाएको छ ।
ललितपुरका नापी प्रमुख ज्ञवालीले अनियमितता गरेको आरोप
ललितपुर । नापी कार्यालय ललितपुरमा कार्यरत प्रमुख नापी अधिकृत रमेश ज्ञवाली अनियमिततामा मुछिएका छन् । उनीमाथि भ्रष्टाचार र अनियमितता गरेको आरोप लागेको छ ।
ज्ञवालीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी समेत परेको छ । दर्ता नम्बर ८०४५४ को एक उजुरीअनुसार, ज्ञवालीले नापी कार्यालय, कास्कीमा कार्यरत रहँदा पोखरा उपमहानगरपालिका वडा नम्बर १७ को साबिक सरकारी पर्ती जग्गा मिलाएर छुट दर्ता गर्ने कार्यमा संलग्न रहेको तथ्य समेत उल्लेख गरिएको छ ।
२०७० सालमा रमेश बहादुर भट्टराईका नाममा हालको पोखरा उप–महनगरपलिका वडा नं. १७ नक्सा सिट नं. ०९३१०३९०४ कि.नं. २४७ क्षेत्रफल ४०९.५७ बर्ग मी.को जग्गा रमेश बहादुर भट्टराई पोखरा–६ कास्की (बाबुः भक्त बहादुर, बाजेः कर्ण बहादुर ना.प्र.प.नं. ८६–०१–७०–१०४७।२०७०।१२।१८ कास्की) को नाउँमा साबिकको सरकारी पर्ती जग्गा कित्ता नं.२९९ संग भिडाइ भएको जग्गा दर्ता प्रक्रिया अनियमित गरेको उल्लेख छ ।
उक्त कार्यमा ज्ञवाली स्वयँले लाखौँ रुपैयाँ खर्च गरेर मिलाउन खोज्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि सो कार्य तत्काल रोकिएको जनाइएको छ । उजुरीमा उल्लेख भए अनुसार, ज्ञवालीले कास्की कार्यालयमा कार्यरत रहँदा यस्ता धेरै छुट जग्गा दर्ता गराई अकुत सम्पत्ति आर्जन गरेको आरोप समेत लाग्ने गरेको छ ।
ज्ञवालीले आफन्तजन र नातेदारको नाममा विभिन्न बैंक खाताहरूमा भ्रष्टाचारबाट प्राप्त रकम जम्मा गरेर व्यवस्थापन गरेको आरोप पनि उजुरीमा उल्लेख छ । यसैगरी, बसुन्धरामा १० आना जग्गा खरिद गरी महँगो सजावटसहितको घर निर्माण गरिएको पनि उजुरीमा उल्लेख गरिएको छ ।
जागिर सुरु गरेको पाँच वर्षको सेवा अवधिमा ज्ञवालीले आफ्नो र आफन्तहरूको नाममा काठमाडौँ र अन्य स्थानमा दर्जनौँ रोपनी जग्गा जोडेको, बैंक खातामा ठुलो रकम जम्मा गरेको, काठमाडौँमै आमाबाबुको नाममा घर निर्माण गरेको तथ्य समेत सार्वजनिक भएको छ ।
त्यसैगरी, भूमि व्यवस्था प्रशिक्षण केन्द्र, धुलिखेलमा २०७६/०७७ देखि २०८० असोजसम्म कार्यरत रहँदा उनले करिब ६० लाख मूल्यको ‘क्रस स्टेसन’ खरिदमा ठेकेदारसँग मिलेमतो गरी व्यापक अनियमितता गरेको समेत आरोप लागेको छ ।
२०–२५ हजारमै निर्माण गर्न सकिने ‘क्रस स्टेसन् पिलर’ निर्माणमा करिब आठ लाख खर्च देखाई ठूलो रकम हिनामिना गरेको कर्मचारीहरूले आरोप लगाउने गरेका छन् फिल्ड कार्यमा नजाँदै पनि भ्रमण भत्ता बुझ्ने, तालिममा दोहोरो हाजिरी गरेर पैसा असुल्ने जस्ता गतिविधिमा संलग्न भएको उजुरीमा उल्लेख छ ।
ललितपुरमा कार्यरत रहँदा पनि ज्ञवालीले अनियमिततालाई निरन्तरता दिएको नाम नखुलाउने सर्तमा एक कर्मचारीले बताए । उनले कित्ताकाट, टायल चेकजस्ता कार्यमा कार्यालय सहयोगी र फाँटवालाको सहायतामा मोटो रकम असुल्ने, छुट जग्गा दर्ताको नाममा प्रत्येक आना जग्गाबाट ठुलो रकम उठाउने जस्ता कार्य भइरहेको ति कर्मचारीले बताए । ज्ञवालीले अख्तियारलगायत उच्च निकायमा आफ्ना व्यक्तिहरू रहेको दाबी गर्ने गरेको पनि ति कर्मचारीले बताए ।
पर्सामा आइतवार १२ बजे बिहान सम्म कर्फ्यु
पर्सा । पर्सा प्रशासन कार्यालय पर्साले हनुमान जन्मोत्सवका अवसरमा तनाव बढेसँगै ‘कर्फ्यु’ आदेश जारी गरेको छ ।
वीरगन्जको छपकैयाँमा हिन्दु र मुस्लिम समुदायबिच तनाव बढेपछि हिजो बेलुका साढे ६ः०० देखि आइतवार बिहान १२ः०० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको हो ।
कार्यालयले स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६(क)बमोजिम जिल्लाको वीरगन्ज महानगरपालिकाभित्र चार किल्ला तोकेर सिमानाभित्र कसैले आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरेको छ ।
जसअनुसार पूर्वः भेडियाही चौक– वीरगन्ज महानगरपालिका–१५, पश्चिम सिर्सिया पुल–वीरगन्ज महानगरपालिका–२५ सम्म कर्फ्यु आदेश जारी गरिएको हो । यस्तै, उत्तरतर्फ गण्डक चोकदेखि वीरगन्ज महानगरपालिका–१४ सम्म कर्फ्यु आदेश जारी गरेको छ ।
यसैगरी, दक्षिणतर्फ शङ्कराचार्य गेट– वीरगन्ज महानगरपालिका–१६ सम्म कर्फ्यु आदेश कायम रहने प्रशासनले जनाएको छ । यसअघि हनुमान जयन्तीका अवसरमा निकालिएको शोभायात्राका क्रममा स्थानीय दुई समूहबिच झडप भएको थियो ।
वीरगञ्जमा दुई पक्षबिच झडप, अश्रुग्यास प्रहार
रौतहट । पर्साको वीरगञ्जस्थित छपकैया क्षेत्रमा दुई पक्षबिच झडप हुँदा अवस्था तनावग्रस्त बनेको छ ।
हनुमानको जन्मजयन्तीको अवसरमा वीरगञ्ज निस्केको शोभा यात्रा छपकैया पुग्दा झडप भएको हो । छपकैया क्षेत्रमा रहेका केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीयले जानकारी दिएका छन् ।
झडपको क्रममा जाइका बिरयानी र अन्य केही पसल र मोटरसाइकलमा आगजनी भएको स्थानीय कृषनन्दन साहले जानकारी दिए । प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेको छ ।
हरेक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन मनाइने हनुमान जयन्तीका अवसरमा वीरगञ्जका विभिन्न मन्दिरहरूमा विशेष पूजाआराधना, हनुमान चालिसा पाठ, तथा धार्मिक शोभायात्राको आयोजना हँुदै आएको छ ।
रास्वपा नेतृ राई एमालेमा प्रवेश
झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ प्रियाकुमारी राई आज नेकपा (एमाले) मा प्रवेश गरेकी छन् ।
नेकपा (एमाले) को झापा जिल्ला कमिटीले शनिवार दमकमा आयोजना गरेको जागरणसभा उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाका सचिव राइ एमालेमा प्रवेश गरेकी हुन् ।
उनलाई पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले स्वागत गरेका छन् ।
अरूले २० वर्षमा नसकेको काम ३ वर्षमा बनायौँ : प्रधानमन्त्री
इटहरी । प्रधानमन्त्री केपी शर्मा ओलीले अरुले २० औं वर्षमा गर्न नसकेको काम ३ वर्षमा गरेको उल्लेख गरेका छन् । शनिवार झापाको दमकमा नेकपा एमाले कोशी प्रदेशले आयोजना गरेको प्रदेश स्तरिय जागरणसभालाई सम्बोधन गर्दै प्रधानमन्त्रीले हुलाकी, मदनभण्डारी जस्ता राजमार्ग ३ वर्षमा बनाइएको बताएका हुन् ।
प्रधानमन्त्री ओलीले अराजकताका साथै तोडफोड अब स्वीकार्य हुन नसक्ने बताए । प्रधानमन्त्रीले स्टन्ट बाजी गरेर देश चल्न नसक्ने बताए । उनले भने,‘ड्राइभरको सिटमा कहिले नबसेकोले गाडि हाँक्छु भनेजस्तै हो ।’
उनले राजनीति अस्थिर भएपछि अनेक मानिसहरू निस्किएको बताए । देशमा स्थायित्व ल्याउने उदेश्यका साथ दुई पार्टी हिँडेको प्रधानमन्त्रीको भनाई छ । उनले भने, ‘दुई इतिहास बोकेका पार्टी एक छौं । अब देशले थप गति लिन्छ ।’
नयाँ भन्नेहरूको हालत देखिएको । जथाभाबी छाडा बोलेर देश बनाउँछन् भनेर धाक लगाउनेहरूका भ्रममा नपर्न आग्रह गरे । ऋण तिर्नु पर्दैन भनेर जनता भड्काउनेहरू राज फर्काउछौँ भनेर हिडेको असली स्वरूप चैत्र १५ गते देखिएको प्रधानमन्त्रीको भनाई छ ।
सरकारका सबै सूचकाङ्क सकारात्मक दिशामा रहेको उल्लेख गरेका प्रधानमन्त्री ओलीले आगामी बजेटबाट थप सुधारका बाटोमा लान सकिने उल्लेख गरेका छन् । उनले झापाका कृषहरूलाई आधनीकिकरण गरेर कृषकलाई प्रगति गर्न आग्रह गरे ।
अमेरिका र हुथी विद्रोहीबीच तनाव, हवाई आक्रमणको चर्को विरोध
एजेन्सी । संयुक्त राज्य अमेरिका र हुथी विद्रोहीहरू बीचको तनाव बढेको छ । यमनमा हुथी नियन्त्रित क्षेत्रहरूमा अमेरिकी हवाई आक्रमण बढेपछि त्यसको विरोध सुरु भएको छ । शुक्रबार त्यहाँ विशाल प्रदर्शन गरिएको छ ।
शुक्रबार साँझ, यमनको हुथी समूहले विज्ञप्ति जारी गर्दै अमेरिकी सेनाले राजधानी साना र पश्चिमी अल हुदैदाह गभर्नरेटमा हवाई आक्रमण गरेको जनाएको छ ।
अमेरिकी बी–२ बमवर्षक विमानहरू यमनी हवाई क्षेत्रमा प्रवेश गरेको र धेरै प्रान्तहरूमा उडान गरेका थिए । तर आक्रमण गरेको भन्नेबारे पुष्टि भइसकेको छैन् ।
अमेरिकी आक्रमणको विरोधमा शुक्रबार दक्षिणी सानाको सेभेन्टी स्क्वायरमा ठूलो विरोध प्रदर्शन भएको थियो । जहाँ प्रदर्शनकारीहरूले यमन र प्यालेस्टाइनको झण्डा उठाए र बढ्दो अमेरिकी हवाई आक्रमणको निन्दा गर्दै नारा लगाएका थिए ।
पछिल्लो हप्ता हुथी र अमेरिकी सेनाबीचको टकराव बढेको छ । अमेरिकी युद्धक विमानहरूले साना लगायत धेरै हुथी नियन्त्रित स्थानहरूमा बमबारी गरिरहेका छन् । अमेरिकी विमान वाहक युएसएस कार्ल भिन्सन लाल सागरमा आइपुगेको जनाइएको छ ।
लन्डन पुगेर महासचिव राईले उठाए शिक्षकहरूका मुद्दा
काठमाडौँ । लन्डनमा जारी इन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेशनको चालु विश्व कार्य समितिको बैठकमा काठमाडौँमा भइरहेको शिक्षकहरूको आन्दोलनका विषयमा चर्चा भएको छ ।
नेपालको तर्फबाट प्रतिनिधित्व गर्ने कार्य समिति सदस्य तथा टे«ड युनियन काँग्रेसका महासचिव अजय कुमार राईले नेपालभरका शिक्षकहरूले काठमाडौँमा गरिरहेको आन्दोलनलाई सम्बोधन गर्न सरकारले ढिला गरेकोप्रति आपत्ति जनाएका हुन् ।
गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउनेलगायतका विभिन्न मुद्दाम भएको सम्झौता सरकारले कार्यान्वयन नगर्नाले शिक्षकहरूले पुनः सडक आन्दोलनमा उत्रिदा विश्व समुदायमा नकारात्मक सन्देश गएको जिकिर गरे ।
उनले राज्य, राजनीतिक दलका केही नेताहरू श्रमिकहरूप्रति अनुदार रहेको औँल्याए । उनले हालै फागुन १ गते सर्वोच्च अदालतको बैँक वित्तीय संस्थाहरूबाट श्रम ऐन प्रभावित नहुने कुराले सार्वजनिक क्षेत्रको युनियन आन्दोलन समस्यामा पर्ने भएको, त्यस्तै गत वर्ष विद्यालय शिक्षा ऐन ल्याउने लगायतका विभिन्न मुद्दामा भएको सम्झौता सरकारले लागु नगरेकोले यस वर्ष पनि हजारौँ सङ्ख्यामा शिक्षकहरूले काठमाडौँ केन्द्रित आन्दोलन गर्दै आएको बैठकमा जानकारी गराएका हुन् ।
जसमा एजुकेशन ईन्टरनेशनललगायत नेपालका सबैजसो युनियनहरूले ऐक्यबद्धता जनाईसकेको अवस्थामा सरकार गम्भीर नभएकाले श्रमिक आन्दोलनप्रति राज्यको दृष्टिकोण सकारात्मक नदेखिएको बताएका हुन् ।
राईले नेपालका मुद्दाहरुबारे जानकारी गराउँदै आवश्यक सहयोगको अपिल समेत गरे । नेपालका मुद्दा उठाएलगत्तै फेडेरेशनका अध्यक्ष पेडडी कु्रमलिनले नेपालको श्रमिक आन्दोलन समस्यामा परेका जानकारी गराएकोमा धन्यवाद दिए । सो क्रममा नेपाली श्रमिक, शिक्षक तथा फाइनान्स क्षेत्रका श्रमिकहरूप्रति आइटीएफको सदभाव तथा सहयोग रहने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्री आज दमक आउँदै, कोशी प्रदेशस्तरीय जागरण सभालाई सम्बोधन गर्ने
इटहरी । नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली आज(शनिवार) झापा आउँदै छन् । दमकमा आयोजना गरिने नेकपा एमालेको जागरण सभालाई सम्बोधन गर्नका लागि ओली झापा आउन लागेका हुन् ।
प्रधानमन्त्रीको बिहान १० ः ४५ मा झापा आइपुग्ने कार्यक्रम रहेको नेकपा एमाले प्रदेश अध्यक्ष घनश्याम खतिवडाले जानकारी दिए ।
उनले कुराकानीमा भने, ‘बाहिर जसरी केही भएन भनेर भाष्य सिर्जना भएको नेकपा एमालेका विरुद्धमा चौतफि आक्रमण गर्ने योजना बनाइएकोले हाम्रा दृष्ट्रिकोणहरू, राजतन्त्र ल्याइहाले भन्ने हावा कुराहरूका पछाडि नलाग्नका लागि जनतालाई जागरण गराउनका लागि सन्देश दिनका लागि हामीले प्रदेश स्तरीय जागरण सभाको आयोजना गरेका हौँ ।’
एमालेको सन्देश प्रवाह गर्नका लागि दमकमा हुने सभामा १ लाख कार्यकर्ता उतार्ने तयारी रहेको जानकारी उनले दिए । उक्त जनसभामा झापा मोरङ, सुनसरी उदयपुरसहित कोशी प्रदेशका सबै जिल्लाबाट प्रतिनिधि आउने खतिवडाले बताए ।
खतिवडाले लोकतन्त्र भन्दैमा छाडा तन्त्र स्वीकार्य नहुने पनि बताए । खतिवडाले लोकतान्त्रिक गणतन्त्रको विकल्प अरू केही हुन नसक्ने दाबी समेत गरेका छन् ।