शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा
काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् ।
यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन महासंघले सबै शिक्षकहरुलाई आग्रह गरेको छ। ‘यो अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण जस्ता कुनै पनि काममा संलग्न नहुन सबै साथीहरुमा जोडदार आग्रह गर्दछौं,’ महासंघले आइतबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘यो आन्दोलनप्रति ऐक्यवद्धता प्रकट गरी दिनु हुन विद्यार्थी, अभिभावक, विं व्य स लगायत सबै शैक्षिक सरोकार पक्षसँग आग्रह गर्दछौं ।’
शिक्षा ऐन जारी गर्नका लागि नेपाल शिक्षक महासंघ माघ २० गतेदेखि निरन्तर आन्दोलनमा छ । सरकारसँग औपचारिक संवाद गर्न अस्वीकार गर्दै नेपाल शिक्षक महासंघले बुधबारदेखि काठमाडौंमा सडक आन्दोलनलाई निरन्तरता दिएको छ । शिक्षक काठमाडौं केन्द्रित आन्दोलनमा सहभागी हुँदा विद्यालयको शैक्षिक गतिविधि र एसईईको उत्तरपुस्तिका परीक्षण कार्य समेत प्रभावित भएको छ । शिक्षा मन्त्रालयले सार्वजनिक अपिल र पत्राचार गर्दै वार्तामा बस्न आह्वान गरे पनि महासंघले भने अस्वीकार गर्दै आएको हो ।
आज रामनवमी पर्व मनाइँदै, देशभर सार्वजनिक बिदा
काठमाडौं । चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ । त्रेतायुगमा अयोध्याका राजा दशरथ र महारानी कौसल्यादेवीको सुपुत्रका रुपमा श्री रामचन्द्रको जन्म चैत्र शुक्ल नवमीकै दिन भएको थियो । विष्णुको सातौँ अवतार मानिने उनको जन्म हुँदा पुनर्वसु नक्षत्र थियो । कुण्डलीमा चन्द्रमाका साथ वृहस्पति रहेको कर्कट लग्नको योग परेको थियो ।
भगवान् रामचन्द्रको कुण्डलीमा पाँचग्रह सूर्य, मङ्गल, गुरु, शुक्र र शनि एकसाथ हुने दुर्लभ योग परेको थियो ।
वर्षका चार नवरात्रमध्येको वासन्तीय नवरात्रका नवमीका दिन जन्मिएका रामचन्द्रले राक्षसी प्रवृत्तिको अन्त्य गरी रामराज्य स्थापना गरेका थिए ।
रामनवमीको महत्वका विषयमा गाग्र्यतन्त्र कृष्ण वचनअनुसार चैत्र अष्टमीका दिन अष्ट मातृकाको पूजा गरेर नवमीका दिन रामचन्द्रको पूजा गरी जप, पाठ र ध्यान गर्नाले मनले चिताएको काम सफल हुने उल्लेख छ । यस अवसरमा नेपालको जनकपुर र भारतको अयोध्यामा रामलीला प्रदर्शन गरिन्छ। रामनवमीका दिन देवी पूजा गरी रामचन्द्रको पूजा, पाठ एवं आराधना गरेमा ‘श्री’ प्राप्त हुने शास्त्रीय मान्यता छ ।
आजका दिन व्रत बसी श्री रामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा वैकुण्ठ बास हुने कुरा ‘व्रतार्क’ नामक धर्मग्रन्थमा उल्लेख छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको सातौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेपछि संसारबाट पापी तथा दुष्ट राक्षसको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएकाले उनको सम्झनामा रामनवमी पर्व मनाउन थालिएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ।
सरकारले रामनवमीको अवसरमा आज सार्वजनिक बिदासमेत दिएको छ ।
यस्ता छन् नेपाल र थाइल्याण्ड सरकारबीच भएका सम्झौताहरु
काठमाडौं । नेपाल र थाइल्याण्डबीच आपसी सहकार्यलाई प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न समझदारीपत्रमा हस्ताक्षर भएको छ । थाइल्याण्डको औपचारिक भ्रमण सकेर स्वदेश फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सरकार र थाइल्याण्ड सरकारबिच दुईवटा सरकारी तथा छ वटा निजी क्षेत्रसम्बन्धी सहमति गरिएको बताएका छन् ।
यस्ता छन् नेपाल सरकार र थाइल्याण्ड सरकारबिच भएका सम्झौताहरु
१. पर्यटन क्षेत्रमा सहयोग सम्बन्धी सम्झौता
२ . सांस्कृतिक सहयोग सम्बन्धी सम्झौता
निजी क्षेत्रसम्बन्धी भएका सहमति
१. नेपाल उद्योग वाणिज्य महासंघ र बोर्ड अफ ट्रेड, थाइल्याण्ड
२. नेपाल चेम्बर अफ कमर्स, पर्यटन तथा सँस्कृति प्रवर्धन समिति एवँ थाइल्याण्ड पर्यटन काउन्सिल
३. नेपाल उद्योग महासंघ र थाइ उद्योग महासंघ
४. काठमाण्डौं विश्वविद्यालय र सियाम विश्वविद्यालय
५. जनता एग्रो तथा फोरेष्ट्री लिमिटेड र कासेचार्ट विश्वविद्यालय
६. नेपाल नेत्रज्योति संघ र माहिडोल विश्वविद्यालय ।
भृकुटीमण्डपको भाडा नतिर्नेमा पर्यटन बोर्डदेखि रिपोर्टस क्लबसम्म
काठमाडौं । समाज कल्याण परिषद्को स्वामित्व रहेको काठमाडौंको भृकुटीमण्डपस्थित भवन र जग्गा भोगचलन गरेबापत भाडा नतिर्नेहरू ५१ संस्था र व्यक्ति नाम सार्वजनिक भएको छ ।
समाज कल्याण परिषद्ले २०८१ चैत्र २१ गते दैनिक पत्रिकामा ३५ दिने सूचना जारी गर्दै ५१ संस्थाको सूची सार्वजनिक गरेको हो । सूचीमा नेपाल पर्यटन बोर्डदेखि चर्चित पत्रकार ऋषि धमलाको रिपोर्टस क्लबसम्म छन् । बोर्डको १ करोड ६७ लाख बढी बक्यौता छ भने क्लबको मात्रै ४६ लाख ५८ हजार ६४९ रुपैयाँ बक्यौता तिर्न बाँकी देखिन्छ ।
परिषद्को भृकुटीमण्डप व्यवस्थापन विभागले ५१ संस्था/व्यक्ति/व्यवसायीहरूको सूचीमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखादेखि काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालयको नाम समेत छ ।
पटक-पटक पत्राचार र सूचना प्रकाशित गरी भाडा तिर्न निर्देशन दिए पनि बेवास्ता गरेको विभागले जनाएको छ। तोकिएको समयभित्र भाडा नबुझाएको खण्डमा कानुनबमोजिम असुलउपर गरिने विभागले चेतावनी दिएको छ ।
सगरमाथा संवादमा भारतीय प्रधानमन्त्री मोदी नआउने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदी सगरमाथा संवादमा नेपाल नआउने जानकारी गराएका छन् । शनिबार थाइल्यान्ड भ्रमण सकेर स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा ओलीले यसबारे जानकारी गराएका हुन् ।
पत्रकार सम्मेलनमा ओलीले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग मेरो भेटघाट अत्यन्त सुमधुर वातावरण र हार्दिकताका साथ भयो । यस पटक सगरमाथा संवादमा मोदीजी आउन भ्याउनुहुन्न । किनभने सगरमाथा संवादकै बेला युरोपको कार्यक्रम तय भइसकेको रहेछ । युरोपमा कार्यक्रमहरु तय भइसकेकाले बदल्न सक्ने अवस्था छैन । तर भारतबाट सगरमाथा संवादका लागि राम्रै प्रतिनिधित्व हुने जानकारी मोदीले गराउनुभएको छ ।’
उनले मोदीसँग भेट अत्यन्तै राम्रो र सुमधुर वातावरणमा भएको पनि बताए । उनले कुनै सानातिना छिमेकमा समस्या देखिए तत्काल एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याई हाल्ने अठोट गरेको समेत बताए ।
उनले भने, ‘दुई प्रधानमन्त्रीका बिचमा पारस्पारिक सहयोगका विभिन्न सहयोगहरुको सम्बन्धमा, लगानी, व्यापारका क्षेत्रहरुका सन्दर्भमा र पञ्चेश्वर लगायतका विषयहरु दोधारा चाँदनीमा महाकाली सिँचाई योजना गर्नेलगायतका विषयहरुमा कुरा भयो । दुई पक्षीय पारस्परिक हितका विषयमा कुराकानीहरु भए । हामीले एउटा अठोट गरेका छौं । नेपाल–भारत सम्बन्धलाई अझ व्यापक, विस्तृत, सुदृढ गर्दै लाने र कुनै सानातिना छिमेकमा समस्या देखिए भनेपनि एकआपसमा संवाद गरिहाल्ने र समस्याहरुलाई टुंग्याईहाल्ने जस्ता कुराहरुका बारेमा गहिरो समझदारी गरेका छौं । भेटघाट फलदायी भएको छ ।’
स्वदेश फर्किए प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली थाइल्यान्डको औपचारिक भ्रमणबाट स्वदेश फर्किएका छन् । शनिवार थाइल्यान्डको भ्रमण र बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिई उनी स्वदेश फर्किएका हुन् ।
प्रधानमन्त्रीलाई आज बिहान थाइल्यान्डका उपप्रधानमन्त्री एवं यातायातमन्त्री सुरिया जङ्ग्राउनग्रेङकिट सहितले बिदाइ गरेका थिए । थाइल्यान्डका प्रधानमन्त्री पे थोङ् थान् शिनावात्राको निमन्त्रणामा नेपालका प्रधानमन्त्रीबाट पहिलो पटक थाइल्यान्डको औपचारिक भ्रमण भएको हो । उनी चैत्र १९ गते भ्रमणमा गएका थिए ।
प्रधानमन्त्री ओलीको भ्रमण दलमा प्रथम महिला राधिका शाक्य, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, आर्थिक–विकास सल्लाहकार डा.युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईलगायत थिए ।
मधेशमा मिडियाको समस्या पहिचान गर्न अध्ययन समिति गठन
जनकपुर । मधेश प्रदेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले मधेश प्रदेशको सञ्चार क्षेत्रमा देखिएका समस्याहरूको समाधान खोज्न ११ सदस्यीय अध्ययन समिति गठन गरेको छ । गृहमन्त्री राजकुमार लेखीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकपछि ‘मधेश प्रदेशको सञ्चार क्षेत्रका समस्या पहिचान अध्ययन समिति’ गठन गरिएको हो ।
मन्त्रालयका सचिव उद्वव प्रसाद रिजालको संयोजकत्वमा गठित समितिमा आम सञ्चार प्राधिकरणका पूर्वअध्यक्ष श्यामसुन्दर यादव, मिडिया काउन्सिलका कार्यबाहक अध्यक्ष कैलाश दास, नेपाल पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम प्रसाद बञ्जारा, टेलिभिजन प्रतिनिधि विष्णु कुँवर, रेडियो प्रतिनिधि उपासना तिवारी, बानका प्रतिनिधि आशीक अन्सारी, पत्रपत्रिका क्षेत्रका शंकर साह, महासंघ महिला उपाध्यक्ष ज्योति झा, महासंघ धनुषाका अध्यक्ष पुरन साह र सञ्चारिका समूहकी यमुना खनाल सदस्यका रूपमा रहेका छन् ।
समितिको मुख्य उद्देश्य मधेश प्रदेशको सञ्चार क्षेत्रको वर्तमान अवस्थाको विश्लेषण, पत्रकार र मिडिया संस्थाहरूले भोगिरहेका प्रमुख चुनौतीहरूको पहिचान, प्रेस स्वतन्त्रता तथा मिडिया नैतिकताको मूल्याङ्कन, राजनीतिक तथा आर्थिक प्रभावको परीक्षण, डिजिटल मिडिया प्रविधिहरूको अपनत्वको जाँच तथा नीति सुधार र क्षमता विकासका लागि सुझाव तयार गर्नु हो ।
बैठकमा गृहमन्त्री लेखीले मधेश प्रदेशको सञ्चार क्षेत्रमा गहिरो संकट रहेको र धेरै मिडिया संस्थाहरू आर्थिक, संरचनात्मक तथा नीतिगत समस्याका कारण धराशायी अवस्थामा पुगेको बताए । उनले भने, ‘हामी मिडिया क्षेत्रको वर्तमान अवस्था बुझेर संकटमा रहेका सञ्चार माध्यमलाई कसरी पुनरुत्थान गर्न सकिन्छ भन्ने उद्देश्यका साथ अघि बढिरहेका छौं । समितिले गहिरो अध्ययन गरेर स्पष्ट सुझाव दिनेछ । म त्यसलाई कार्यान्वयन गर्न हरसम्भव प्रयास गर्नेछु ।’
समितिले मिडिया पेशेवर, सरकारी अधिकारी, नागरिक समाज तथा जनतासँग अन्तर्वार्ता, सर्वेक्षण र फोकस ग्रुप छलफलमार्फत प्राथमिक डाटा संकलन गर्नेछ । साथै, मिडिया नीतिहरू, कानुनी ढाँचा, वित्तीय मोडल, तालिम तथा शिक्षा कार्यक्रमहरूको मूल्याङ्कन पनि समितिको कार्यक्षेत्रमा पर्छ ।
समितिलाई अध्ययन सम्पन्न गर्नका लागि एक महिनाको समय दिइएको छ । यस अवधिमा समितिले कार्य योजना सहित प्रारम्भिक प्रतिवेदन, मस्यौदा प्रतिवेदन र अन्ततः निष्कर्ष तथा सिफारिससहितको अन्तिम प्रतिवेदन पेश गर्नेछ ।
बजेट व्यवस्थापन अन्तर्गत अनुसन्धानकर्ताहरूको पारिश्रमिक, कार्यशाला र बैठकहरूको खर्च, यात्रा व्यवस्थापन तथा डाटा संकलन र विश्लेषणका लागि आवश्यक उपकरणहरू उपलब्ध गराइनेछ ।
सभापतिको घरभित्रै छिरेर पूर्जी लेखिएको भन्दै रास्वपाद्वारा भत्र्सना
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी केन्द्रीय सचिवालयको बैठकले नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउनु गैर–संवेदनशील र गैरकानुनी कुरा भएको निर्णय गरेको छ ।
चैत्र २२ गते राति ११ बजे देखि बसेको भर्चुअल बैठकले उक्त निर्णय गरेको विज्ञाप्ती मार्फ जानकारी गराईको छ ।
विज्ञाप्तीमा छ, ‘पक्राउ पुर्जी नलिएरै पक्राउ गर्न आउने कुरा मात्र होइन, सभापतिको घरमा — त्यो पनि बेडरुमभित्र बसेर जुन किसिमले पूर्जी लेख्ने अनौठो अभ्यास प्रहरीले ग¥यो, विधिको शासनमा त्यो क्षम्य हुन सक्दैन । नागरिकको घरभित्र छिरेर कानुनी कागजात बनाउने गैर–संवेदनशील र गैरकानुनी कुराको भत्सर्ना गर्दैछौ ।’
यस्तै, बैठकले उच्च अदालत तुलसीपुर, बुटवल इजलासले पार्टी सभापति रवि लामिछानेको सम्बन्धमा जुन निर्णय गरेको छ, त्यो निर्णयलाई कानुनको एक तहको निर्णयको रूपमा बुझ्दै, पार्टी सभापति रवि लामिछानेले आफ्नो भिडियो सन्देशमा भन्नुभएझैं, अदालत र अदालतको निर्णयको सदैव सम्मान गर्ने, साथै, अदालत, संविधान र कानुनमा आधारित रही अर्को तह र ढोकामा न्यायको लाग अघि बढ्ने निर्णय पनि गरेको छ ।
यसको साथै, चैत्र २३ गते शनिबार २ बजे भरतपुर, चितवनमा आयोजना हुन लागेको जनयात्रा शुभारम्भ सभालाई भव्य रूपमा सफल पार्ने । ‘राज्यले विवेक गुमाएको बेला हामीले विवेक गुमाउनु हुँदैन र हामीले गर्ने सभा शान्त र सौम्य हुनुपर्छ’ भन्ने सभापतिको निर्देशनबमोजिम सभालाई शान्तिपूर्ण बनाउन तथा हुन सक्ने सम्भावित घुसपैठ, चलखेल तथा बिथोल्ने प्रयासहरू रोक्नका लागि सबै सदस्यहरूलाई सचेत, संयमित र गम्भीर रहन अनुरोध गर्ने र पार्टी सभापति रवि लामिछानेले पार्टीको नेतृत्व जिम्मेवारीको लागि कार्यवाहक सभापतिमा उपसभापति डिपी अर्याललाई तोकेकोमा त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ ।
रामेछापमा रोकिएका मध्ये ३६० पर्यटक सोलु पुगे
रामेछाप । सोलुखुम्बुको लुक्लामा मौसम बिग्रिँदा रामेछापको मन्थलीमा रोकिएका मध्ये ३ सय ६० पर्यटक शुक्रबार सोलु पुगेका छन् ।
बिहीबारदेखि मौसमको खराबीको कारण मन्थलीमा रोकिएका पर्यटकहरू शुक्रबार दिउँसो केही बेर मौसम खुलेपछि सोलुको फाप्लु र लुक्ला पुगेका छन् । मौसम खराब हुँदा सगरमाथा क्षेत्र घुम्न आएका ५ सय भन्दा बढी पर्यटक रामेछापको मन्थली रोकिएका थिए ।
शुक्रबार मध्यान्ह मन्थलीमा रोकिएको पर्यटकहरूलाई हेलिकप्टर र प्लेनबाट फाप्ला र लुक्ला पठाएको मन्थली विमान स्थल प्रमुख हिरोण शाहले जानकारी दिए ।
शुक्रबार दिउँसो ७ वटा विमान उडान भएकामा १ सय १० जना पर्यटक फाप्ला पुगेका छन् । त्यस्तै हेलिकोप्टरको ५० वटा उडान मार्फत २ सय ५० पर्यटक लुक्ला पुगेका छन् । शुक्रबार केही बेर खुलेको मौसम फेरी खराब हुँदा आज बिहान पनि जहाज उड्न सकेका छैनन् ।
सगरमाथा क्षेत्र भ्रमणमा आएका विदेशी पर्यटकहरू काठमाडौंबाट रामेछापको मन्थली सम्म गाडीमा आउने गर्दछन् भने रामेछापको मन्थली विमान स्थलबाट जहाजमा लुक्ला जाने र आउने गर्दछन् । यो विमानस्थलबाट मौसम सफा हुँदा दैनिक ६० वटा भन्दा बढी उडान सोलुको लागि हुने गर्दछ ।
ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीद्वयबी भेटवार्ता भएको हो ।
नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयको कूटनीतिक प्रयासपछि बिमस्टेकको साइडलाइन वार्ताका रूपमा ओली र मोदीबीच भेट भएको हो ।
भेटवार्तामा द्विपक्षीय हित र आपसी चासोका बारेमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।


