सुनसरीमा चल्यो दोहोरो गोली, एकको अवस्था गम्भीर
इटहरी । सुनसरीको देवानगञ्ज गाउँपालिकामा नयाँ वर्षकै दिन साँझ गोली चल्यो ।
सोमवार साँझ चलेको गोली लागेर देवानगञ्ज गाउँपालिका–७ का २१ वर्षीय शिवकुमार मेहता गम्भीर घाइते भएका छन् ।
सुनसरी प्रहरीका अनुसार आर्थिक लेनदेनको विषयलाई लिएर दोहोरो गोली हानाहान भएको प्रारम्भिक अनुसन्धानका क्रममा देखिन्छ ।
सुनसरीका प्रहरी प्रमुख एसपी सुमनकुमार तिम्सिनाले भने,‘घटनामा ६ जनाको संलग्नता देखिन आएको छ । जसमा तीन जना फरार रहेकाले खोजी कार्य तीव्र बनाइएको छ ।’
उनका अनुसार गम्भीर घाइते बनेका शिवकुमार सहित तीन जना प्रहरीको नियन्त्रणमा रहेका छन् र घटनास्थलबाट गोलीका खोकाहरु समेत प्रहरीले सङ्कलन गरेको छ ।
यस्तै रविन कुमार यादव र पिन्टु यादव पनि प्रहरीको नियन्त्रणमा रहेका छन् । गम्भीर घाइते बनेका मेहताको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ ।
यसै गरी रविन कुमारको नाकको टुप्पामा गोली लागेको छ भने पिन्टुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
तराई मधेशमा आज जुडशीतल पर्व मनाइँदै, मधेश प्रदेशमा सार्वजनिक विदा
जनकपुर । नयाँ वर्ष २०८२ को दोस्रो दिन आज तराई मधेशमा जुडशीतल पर्व मनाइँदैछ । शुद्धता, शान्ति, प्रकृतिप्रेम र सामाजिक सद्भावको प्रतीक रहेको जुडशीतल पर्व आज मनाइँदैछ । जुडशीतलमा शीतल जल (चिसो पानी) ले घर, तुलसी चौरा, बोटबिरुवा र मान्छेको शुद्धीकरण गरिन्छ ।
आजको दिन घरका ठुलाबडाले आफूभन्दा साना घरका सम्पूर्ण सदस्यहरूको टाउकोमा शीतल जल खन्याएर आशीर्वाद दिने परम्परा रहेको छ । यसले आदर, सम्मान र प्रेमको भावना बढाउने मान्यता रहिआएको छ । आजको दिन विभिन्न किसिमको तरुवा खाने मुख्य चलन रहेको छ ।
घर, आँगन र खेतमा रहेका बोट, बिरुवा र रुखमा आजको दिन पानी हालिन्छ । प्रकृतिलाई सम्मान र प्रकृतिसँगको अटुट सम्बन्धलाई जुडशितलले दर्शाउछ । तराईका क्षेत्रहरूमा आज हिलो खेल्ने परम्परा पनि रहिआएको छ । यसले माटोसँगको सम्बन्ध र शीतलता प्रदान गर्ने जन विश्वास रहेको छ ।
जुडशितलको अवसरमा मधेश प्रदेश सरकारले प्रदेशभरि सार्वजनिक विदा दिएको छ ।
पहाडी भू–भागमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना
काठमाडौं । हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । हाल कोशी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भू–भागमा मूख्यतया सफादेखि आंशिक बदली रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज कोशी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहनेछ ।
कोशी, मधेशलगायत देशका पहाडी भू–भागका थोरै स्थानहरू र बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको मौसम विभागले जनाएको छ ।
विभागका अनुसार देशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यसैगरी आज राती, कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रहनेछ । कोशी प्रदेशलगायत गण्डकी प्रदेशको पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
इलाममा १२ देशका राजदूतलाई ‘डिप्लोम्याटिक रिट्रिट’
इलाम । नयाँ बर्ष २०८२ मनाउन परराष्ट्रन्त्री आरजु राणा देउवासहित १२ देशका राजदुत इलाम पुगेका छन् ।
परराष्ट्रमन्त्री सहित १२ देशका राजदुत पर्यटकीय नगरी सूर्योदय नगरपालिका पुगेका हुन् । उनीहरुले कन्यामको चिया बगानमा जातिय पहिरन लगाएर घोड सवार गरी फोटोहरु खिचेका थिए । त्यस्तै अन्तुमा चियाबारी घुम्नुका साथै चियाको स्वाद पनि लिएका छन् ।
परराष्ट्र मन्त्रालय र पर्यटन बोर्डले पूर्वको पर्यटकीय गन्तव्य इलामको कन्याम र श्रीअन्तु डाँडाको प्रवद्र्धनको लागि संयुक्त रुपमा नयाँ बर्षको अवसरमा परराष्ट्रमन्त्रीले रिट्रटको आयोजना गरेकी हुन् ।
मन्त्री देउवासहित राजदूतहरुले विभिन्न जातजातिका साँस्कृतिक पहिरन लगााएर कन्याममा फोटोसुट समेत गरे । होमस्टे एशोसिएसन तथा समुदायले रैथाने लाप्चा संस्कृतिको माला लगाएर मन्त्री देउवा र विभिन्न राष्ट्रका डेलिगेट्सलाई स्वागत गरेका छन् ।
‘डिप्लोम्याटिक रिट्रिट’ नाम दिइएको कार्यक्रममा सहभागी परराष्ट्र मन्त्रीसहितको राजदूतको टोलीलाई नगर प्रमुख रणबहादुर राई, उपप्रमुख दुर्गाकुमार बराल, प्रमुख प्रशासकिय अमृत राई सहित सुर्योदय नगरपालिकाका जनप्रतिनिधिहरुले स्वागत गरेका थिए ।
राजदुतहरुले कन्याममा झाँक्री र साकेला नृत्यको मनोरञ्जन लिदै घोडचढी र चियाबारी भित्रको पदयात्राको मनोरञ्जन लिए । सोमबार(आज)अन्तुडाँडाबाट सुर्योदयको दृश्यावलोकन, अन्तुपोखरीमा वोटिङ, टि टेस्टिङ, टि प्लकिङ र फिसिङ कार्यक्रममा सहभागी भइरहेका छन् ।
वीरगन्जमा कर्फ्यु हट्यो,निषेधाज्ञा जारी
रौतहट । पर्सा प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको छ । जिल्ला प्रशासन कार्यालय एक सूचना जारी गर्दै सोमवार देखि अर्को आदेश नभएसम्मका लागि निषेधाज्ञा जारी गरेको उल्लेख गरेको छ ।
कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरि निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालय पर्साका प्रशासकीय अधिकृत दीपक पटेलले बताए ।
स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क ) बमोजिम निषेधाज्ञा जारी भएको उनले जानकारी दिए । उनका अनुसार सर्वपक्षीय बैठकले शनिवार साँझ देखि लागु गरिएको कर्फ्यु आदेश निरन्तरता दिइरहनु पर्ने नदेखिएकाले केही क्षेत्र र समयका लागि छुट दिने र कर्फ्युको साटो निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
सोही अनुसार निषेधाज्ञा जारी भएको र उक्त आदेशलाई उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिई कानुन बमोजिम कारबाही गरिने पर्साका प्रशासकीय अधिकृत पटेलले बताए ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उतरमा गण्डक चौक र दक्षिणमा शंकराचार्य गेट सम्म निषेधाज्ञा जारी भएको पर्सा प्रशासनले जनाएको छ ।
सर्वदलीय बैठकमा पाँच बुँदे सहमति
जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको सर्वदलीय बैठकले पाँच बुँदे सहमति गरेको छ। बैठकमा प्रशासन, राजनीतिक दल, धार्मिक प्रतिनिधि, नागरिक समाज र सुरक्षा निकायका प्रतिनिधिहरूले सहभागी थिए ।
बैठकमा दोषीमाथि कारबाही, घाइतेको उपचार, धार्मिक सद्भाव कायम राख्ने, हतियार प्रदर्शन निषेध गर्ने र धार्मिक संस्थाहरूको अनुगमन गर्ने जस्ता महत्वपूर्ण निर्णयहरूमा सहमति जनाएका छन्।
हनुमान जयन्तीको अवसरमा आयोजित शोभा यात्राका क्रममा उत्पन्न भएको दुई पक्षबिचको झडपलाई लिएर झडपश्चात् वीरगन्जमा उत्पन्न तनावपूर्ण अवस्था सहमतिपछि क्रमशः सामान्य बन्दै गएको छ ।
नव वर्ष २०८२ शुभारम्भ, उत्साहका साथ मनाइँदै
काठमाडौँ । आज नव वर्ष अर्थात् विक्रम संवत् २०८२ साल वैशाख १ गते देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी उत्साहका साथ मनाइँदैछ ।
नेपालमा विक्रम संवत्ले सांस्कृतिक र औपचारिक मान्यता पाएको छ । त्यसअनुसार वैशाख १ गते नयाँ वर्षकोरुपमा मनाइन्छ ।
आज सूर्य मीन राशिबाट मेष राशिमा प्रवेश गरेको दिन अर्थात् मेष सङ्क्रान्तिका दिन नयाँ वर्षको पहिलो दिन मान्ने प्रचलन छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।
हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता/असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन्।
आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ। विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रूपमा मनाउँछन्।
बैशाख १ गते नव वर्ष मान्ने चलन नेपालमा मात्र नभई भारत, बङ्गलादेश र श्रीलङ्कासहित एसियाका केही अन्य देशमा पनि आजको दिन नयाँ वर्ष मनाइन्छ ।
शुभकामना आदान प्रदान तथा विद्यार्थी सम्मान कार्यक्रम सम्पन्न
बराहक्षेत्र (सुनसरी)। जनता समाजवादी पार्टी बराहक्षेत्र नगर समितिको आयोजनामा नयाँ वर्ष २०८२ सालको अवसरमा शुभकामना आदान प्रदान तथा पार्टी निकटका विद्यार्थीहरूलाई सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
गत चैत्र ५ गते स्ववियु निर्वाचनमा जनता समाजवादी पार्टीको विद्यार्थी भातृ संगठन समाजवादी विद्यार्थी युनियन सप्तकोशी बहुमुखी क्याम्पस बराहक्षेत्र मा प्रत्यक्ष तर्फ सहभागी उमेदवार र समानुपातिक निर्वाचित सदस्यहरूलाई सो कार्यक्रममा खादा-माला र प्रमाणपत्र प्रदान गरि निर्वाचनमा सहभागी विद्यार्थीहरूलाई सम्मान गरेको हो ।
सम्मान कार्यक्रम मा स्वबियु निर्वाचन मा समानुपातिक तर्फ बाट निर्वाचित सदस्य अतीत निरौला र प्रत्यक्ष तर्फका प्रत्याशीहरू अध्यक्ष पदका उमेदवार नीरमाया राई, सचिव पदका उमेदवार बद्रीनाथ गौतम साथै सदस्यहरू मा समीक्षा राई, दीपक पहाडी पोख्रेल, रोशन धामी, रिया शाह, सुम्निमा राई लाई सम्मान गरिएको थियो। चुनावको अन्तिम मत परिणाम अनुसार समाजवादी विद्यार्थी युनियन सप्तकोशी बहुमुखी क्याम्पस इकाइ समितिले समानुपातिक तर्फ १ सदस्य निर्वाचित भएको छ भने क्याम्पसको तेस्रो विद्यार्थी संगठनका रूपमा स्थापित भएकोछ ।
कार्यक्रमका प्रमुख अतिथि जनता समाजवादी पार्टी १ नं. प्रदेश समिति सदस्य मनोज प्रधान, विशिष्ट अतिथि पार्टी सुनसरी जिल्ला समिति कोषाध्यक्ष तथा बराहक्षेत्र नगर कार्यपालिका सदस्य दुर्गा गुरुङ, अतिथिहरू जिल्ला सदस्य तथा बराहक्षेत्र नगर इन्चार्ज मणि प्रसाद राई, पूर्व नगर अध्यक्ष नरेश कुमार राई,जिल्ला सदस्य धन राज राई लगायतको उपस्थिति रहेको थियो।
उक्त कार्यक्रम जनता समाजवादी पार्टी बराहक्षेत्र नगर अध्यक्ष जे.वि. हाङ्ग राईको अध्यक्षतामा भए को थियो भने कार्यक्रम सञ्चालन नगर सचिव भूपेन्द्र राजधामी र उपसचिव देव राम राई ले गर्नु भए को थियो।
वीरगन्जमा लगाएको कर्फ्यु अवधि थप, रात्रि बजार बन्द
रौतहट । पर्सा प्रशासनले वीरगन्जमा लगाएको कर्फ्यु अवधि थप गरेको छ । स्थानीय प्रशासनले एक सूचना जारी गरि आइतवार राती १२ बजे सम्मका लागि कर्फ्यु अवधि थप गरेको उल्लेख गरेको छ ।
जिल्ला प्रशासन कार्यालयमा आइतवार भएको सर्वपक्षीय बैठकले परिस्थितिको मूल्याङ्कन गर्दै जारी कर्फ्यु मध्यरातसम्म कायम राखिन्ने निर्णय गरेअनुसार कर्फ्यु अवधि थप गरेको प्रशासकीय अधिकृत दीपक पटेलले जानकारी दिए ।
विभिन्न राजनीतिक दलका प्रतिनिधि, नागरिक समाज, जनप्रतिनिधि र सुरक्षा निकायका प्रतिनिधिको सहभागीता रहेको बैठकले कर्फ्यु नहटाउने निर्णय गरेको उनको भनाइ छ ।
पूर्वमा बाइपास रोड, पश्चिममा सिर्सया पुल, उत्तरमा पावर हाउस चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कर्फ्यु आदेश थप भएको पर्सा प्रशासनले जनाएको छ । जिल्ला प्रशासन कार्यालयले अर्को सूचना जारी नभएसम्मका लागि रात्रि बजार बन्द रहने जनाएको छ ।
कर्फ्युका कारण बजारमा लगाइएका अस्थायी स्टलहरू हटाइएको छ भने व्यापारीहरूले आफ्नो सामानहरू फिर्ता लैजान थालेका छन् । हनुमान जन्मोत्सवमा शनिवार निकालिएको शोभा यात्रामा सहभागीहरूले उच्छृङ्खल गतिविधि गरेको भन्दै अर्को समूहले आरोप लगाएपछि दुबै पक्ष बिच झडपमा भएको थियो ।
वीरगन्जमा हिजो भएको घटनाको समीक्षा गर्दै धार्मिक सदाभव भड्कन नदिन जनसमुदायलाई अपिल गर्ने निर्णय समेत गरेको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।
पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ
रौतहट । रौतहट सशस्त्र प्रहरीले पेस्तोल सहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मिपुर बेलविछवा नाका नजिकमा रहेको जयसवाल होटेलबाट सशस्त्र प्रहरीले पक्राउ गरेको हो । होटेल बाहिर मदिरा सेवन गरेर हो हल्ला एवं झै झगडा गरिरहेको प्राप्त सूचनाका आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले भारत विहार राज्य सीतामढी जिल्ला नन्दवाराका २३ वर्षीय किशन कुमारलाई नियन्त्रणमा लिएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्वर ११ गण रौतहटका एसपी सन्तोष बस्नेतका अनुसार उनको शरीरबाट पेस्तोल एक थान, लागुऔषध कोरेक्स ३ बोटल, नाईट्रोभेट ५ ट्याब्लेट, मोवाइल १ थान बरामद गरिएको हो।अवैध हतियार, लागुऔषध सहित पक्राउ परेका युवकलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रौतहटको जिम्मा लगाइएको उनले बताए ।
नेपाल भारत सीमा क्षेत्रबाट अवैध हतियार, लागुऔषधको कारोबार हुने गरेको सूचनाका अधारमा निगरानी बढाएको रौतहट सशस्त्र प्रहरीले जनाएको छ ।
करेन्ट लागेर दुई जनाको मृत्यु
विराटनगर । झापा र इलाममा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । झापाको कन्काई नगरपालिका–१ का ६६ वर्षीय तारा बहादुर विश्वकर्माले आफ्नै घरमा पानी तान्ने मोटरको तार जोड्ने क्रममा अचानक करेन्ट लाग्दा घाइते भएका उनलाई उपचारको लागि लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
यसैगरी इलामको माइ नगरपालिका–८ का ४६ वर्षीय मदन कुमार राई घरमा कोही नभएको अवस्थामा मोबाइल फोन चार्ज गर्ने क्रममा करेन्ट लाग्दा मृत अवस्थामा फेला परेका कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।



