सोमबार, १५ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01JP83A4D463TNSBBGKJ7CR7A8.jpg

तामाकोशी पाँचौँको कामकाज ठप्प

दोलखा । दोलखाको बिगु गाउँपालिका–४ लादुकको सुरीटारमा निर्माणाधीन ९९ दशमलव ८ मेगावाट क्षमताको तामाकोशी पाँचौँ जलविद्युत् आयोजनाको काम ठेकेदार कम्पनीको अकर्मण्यताका कारण ठप्प भएको छ ।

कम्पनीमा कार्यरत श्रमिकहरूसँग विभिन्न समयमा भएका सहमति ठेकेदार कम्पनी ‘सिनो हाइड्रो–केएसएनएस जेभी’ले कार्यान्वयन नगर्दा आयोजनाको काम ठप्प पारिएको हो ।

आयोजनाअन्तर्गत अडिट–१ र २ को ठेक्का लिएको सिनो हाइड्रोले आफ्नो कम्पनीमा कार्यरत नेपाली श्रमिकहरूको माग सम्बोधन नगरेपछि हिजो बुधबार (फागुन २८) देखि सम्पूर्ण कामकाज ठप्प पारिएको त्यहाँ कार्यरत श्रमिक जीवन मगरले जानकारी दिए ।

उनका अनुसार यसअघि नेपाली श्रमिकहरूले नेपालको प्रचलित श्रम ऐन, २०७४ को प्रावधान अनुसार आफूहरूलाई रोजगार सम्झौतापत्र दिनुपर्नेलगायत विभिन्न १३ बुँदे माग सिनो हाइड्रोसमक्ष राखेका थिए । 

उक्त मागका सम्बन्धमा श्रमिक र कम्पनीबीच यही फागुन १६ गते सहमति भएको थियो । स्थानीय जनप्रतिनिधि र आयोजनाका पदाधिकारीहरूको रोहवरमा भएको सो सहमति कार्यान्वयन गर्न कम्पनीले उदासिनता देखाएपछि कामकाज ठप्प पार्न बाध्य भएको उनको भनाइ छ ।

‘एक हप्ताभित्र सबै नेपाली श्रमिकहरूलाई रोजगार सम्झौताको पत्र उपलब्ध गराउनुपर्ने सहमति हामीसँग भएको थियो । तोकिएको समयमा कम्पनीले सो काम नगरेपछि हामीले फागुन १९ गते कम्पनी व्यवस्थापलाई पुनः ध्यानाकर्षण गराएका थियौँ । त्यसपछि पनि अहिलेसम्म कुनै काम भएको छैन,’ अर्का कामदार मदन कुमार श्रेष्ठले भने, ‘हामीसँग भएको सहमति कार्यान्वयन नहुँदासम्म कामकाज ठप्प पार्ने हामी सबै नेपाली श्रमिकको निर्णय भएको छ । त्यसै अनुसार अघि बढ्छौँ ।’

श्रमिकहरूले हिजो बुधबार संयुक्त हस्ताक्षरित विज्ञप्ति जारी गरी कामकाज ठप्प पार्दा उत्पन्न हुने सम्पूर्ण परिस्थितिको जिम्मेवार अडिट–१ र २ को ठेकेदार कम्पनी हुनुपर्ने पनि स्पष्ट पारेको छ ।

उनीहरूले यसअघि रोजगार सम्झौता वा नियुक्तिपत्र उपलब्ध गराउनुपर्ने, सेवासुविधा, उपदान, दुर्घटना बीमा, चिकित्सा बीमा, सञ्चय कोष, चाडपर्व खर्च, वार्षिक तलव वृद्धि÷ग्रेड तथा सार्वजनिक, साप्ताहिक, प्रतिस्थापन, घर, बिरामी र सुत्केरीलगायत विदाको बारेमा स्पष्टता खोजेका थिए । त्यस्तै, काम गर्ने घण्टा, ओभरटाइम सुविधा, निर्माण मजदुरको समस्या, स्वास्थ्य र सुरक्षा तथा कार्य विवरणको बारेमा पनि स्पष्ट बन्न÷बनाउन कम्पनीसमक्ष लिखित आग्रह गरेका थिए ।

 नेपालको श्रम कानुन अनुसार श्रमिकले पाउनुपर्ने सेवासुविधालाई समेटेर ठेकेदार कम्पनीसमक्ष १३ बुँदे मागपत्र बुझाएको तर अहिलेसम्म कुनै पनि विषयको सम्बोधन नभएको उनीहरूको भनाइ छ । हाल तामाकोशी पाँचौंमा करिब पाँच सय जना श्रमिक कार्यरत छन् । त्यसमध्ये ४०० जना नेपाली मात्रै छन् ।

प्रकाशित मितिः बिहिबार, २९ फागुन २०८१
https://jawaaf.com/storage/01JP6R3YEXB0FE3VEC088PE7BG.avif

पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन जसपा अध्यक्ष राईको सुझाव

जनकपुर । जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष अशोक राईले पूर्व राजालाई पार्टी खोलेर प्रतिस्पर्धामा आउन सुझाव दिएका छन् । बुधवार जनकपुरधाममा आयोजीत शपथ ग्रहणसभा तथा पार्टी प्रवेश र होली मिलन समारोहमा बोल्दै अध्यक्ष राईले पूर्व राजा ज्ञानेन्द्र साहलाई सडकमा प्रदर्शन गर्नुभन्दा चुनाव लडेर सत्तामा आउन सुझाव दिएका हुन् ।

उनले भने, ‘लोकतन्त्रमा विरोध गर्ने अधिकार छ,राजतन्त्रमा विरोध जुलुस निकालेको भए कारबाही हुन्थ्यो, तर्सथ लोकतन्त्र वैज्ञानिक शासन प्रणाली हो ।’

उनले काठमाडांैमा गरिएको प्रदर्शनबाट विचलित हुनुपर्ने अवस्था नरहेको बताउदै लोकतन्त्रकै सुन्दरता भनेको लोकतन्त्रमा विरोध गर्ने सबैको अधिकार रहेकोले यसबाट विचलित हुनु नपर्ने बताए । अध्यक्ष राईले जनताले खोजेको जस्तो संघियता आउन नसकेको स्वीकार गर्दै जे जस्तो भएपनि संघियतालाई बचाउनुपर्ने अवस्था रहेको र राजतन्त्र ल्याउन खोज्ने संघियता विरोधी रहेको बताए ।

अध्यक्ष राईले छिटै नै प्रतिनिधिसभाले निजामती सेवा ऐन पास गर्ने जानकारी दिए ।  नले बर्खे अधिवेशनमा सो ऐन पास हुनेमा ढुक्क रहेको विश्वास व्यक्त गरे । त्यस्तै, नेपाल प्रहरी र सशस्त्र प्रहरीको ऐन समितिमा छलफलको लागि गएको र यो ऐन पास भएपछि संघियता वास्तविक अभ्यासको थालनी हुने बताए ।

कार्यक्रममा विभिन्न पार्टी परित्याग गरि ५० जनाभन्दा बढी युवाहरूले जसपा प्रवेश गरेका छन् । साथै हाल गठन भएको प्रदेश समितिका पदाधिकारीहरूले शपथ ग्रहणसमेत गरेका छन् ।

प्रकाशित मितिः बिहिबार, २९ फागुन २०८१
https://jawaaf.com/storage/01JP6N7H0EFDBABTSNPB6ENPHB.jpg

समाजवादी विद्यार्थी युनियनको घोषणापत्र : शैक्षिक ऋणको सुनिश्चितता गर्ने

धरान ।  जनता समाजवादी पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी  युनियनले चैत्र ५ मा हुने स्ववियु निर्वाचनको लागि घोषणापत्र जारी गरेको छ ।  सोमवार समाजवादी विद्यार्थी युनियन केन्द्रीय समितिको  ललितपुर स्थित बसेको बैठकले संयुक्त घोषणापत्र जारी गरेको हो । 

शैक्षिक प्रमाणपत्र धितो राखी विद्यार्थीले पाउने शैक्षिक ऋणको सुनिश्चितता कार्यान्वयन सहितको युनियनले आफ्नो ३३ बुँदे घोषणापत्र सार्वजनिक गरेको हो । 

शैक्षिक प्रणालीलाई सुधार गरि वैज्ञानिक संघिय समाजवादी शिक्षा प्रणाली लागु गराउन, वि.सं. २०२८ सालको शिक्षा ऐन खारेज गर्न संसदमा विचाराधीन संघिय शिक्षा ऐन पारित गर्न दवाव दिने,संस्कृत भाषा सहित त्रिभाषिक शिक्षा नीति लागु गराउन, विश्व भाषा जस्तै नेपालको मातृ भाषाहरूको भाषा विद्यालय केन्द्र स्थापना गर्ने,नतिजा प्रकाशन, ट्रान्सक्रिप्ट वितरण रिटोटलिङ्ग जस्ता काम समयमै सेवा उपलब्ध गराउन,ट्रान्सक्रिप्ट वितरण अध्ययन गरेको क्याम्पस बाटै पाउने व्यवस्था गर्ने, भर्ना शुल्क, परीक्षा शुल्क जस्ता सेवा घण्टौ लाइनमा उभिएर बैँक भौचर काटेर बुझाउने पक्रिया अन्त्य गरी अनलाइन प्रविधिमार्फत बुझाउन मिल्लने प्रविधिको विकास गर्ने जस्ता युनियनको मुख्य प्रतिबद्धता रहेको छ ।

युनियनले स्ववियुको निर्वाचन पूर्ण समानुपातिक समावेशीताका आधारमा हुनु पर्ने धारणा व्यक्त गर्दै आएको छ । सामाजिक, सांस्कृतिक, भाषिक तथा क्षेत्रीय वर्गीय विभेद अन्त्य गर्न न्यायपूर्ण विश्वविद्यालय निर्माण गर्न गराउन पूर्ण समानुपातिक समावेशी निर्वाचन उचित रहेको युनियनका अध्यक्ष प्रकाश राईले बताएका छन। देशभर हुने स्ववियु निर्वाचनमा समाजवादी विद्यार्थी युनियनका उम्मेदवारहरूलाई मत दिएर जिताउन समेत उनले अनुरोध गरेका छन ।

प्रकाशित मितिः बिहिबार, २९ फागुन २०८१
https://jawaaf.com/storage/01JP422PR748H36MVF6AS0Q7HX.jpg

मुगुमा पाइने बहुमूल्य जडीबुटी पछिल्लो समय घट्दो

मुगु । जडीबुटीको खानीका रूपमा परिचित मुगु जिल्ला लगायत कर्णाली प्रदेशका अन्य जिल्लाहरुमा पाईने  बहुमूल्य जडीबुटी पछिल्ला बर्षहरुमा घट्दै गएको छ ।

कर्णालीका १० वटै जिल्लामा ५ हजारभन्दा बढी प्रजातिका जडीबुटी पाइने भण्डार प्रदेश भए पनि मुगु लगायत हुम्ला ,कालीकोट,जुम्ला, डोल्फा,जाजरकोट,रुकुम लगायतका जिल्लाहरुका अहिले पाइने जडीबुटीको संख्या घट्दै गएको हो ।

बनपाखामा पाईने बहुमूल्य यार्सागुम्बा, टिमुर, सतुवा, पाखनबेद, पदमचाल, सिताल्चिनी, डाले चुक, चिराइतो, कयर, कुरिलो, कटुको, बायजडी, बोजो,घुच्चीच्याउ,सुगन्धवाल,सेतकचीनी धुपी,वन लसुन,राताच्याउ,कालादान,जिम्बु , अतिस,जटामसी,बिषजरा,लगायतका जडीबुटीहरु  ,जलवायु परिवर्तन, आगलागी, प्रविधिको अभाव, अत्यधिक दोहन तथा चोरी निकासी, अवैधरुपमा विकास निमार्णका संरचना निमार्ण गर्नु, फल नपाक्दै जडीबुटी टीप्नु, खुल्ला पशु बस्तु चरीचराउका कारण बहुमुल्य जडीबुटी दिन प्रतिदिन लोप हुँदै गएको हो ।

जडीबुटीहरुको संरक्षणको लागि स्थानिय सरकार र डिभिजन बन कार्यालयले जडीबुटीको संरक्षणमा कुनै पनि पहल गरेको छैन । डिभिजन बन कार्यालय मुगुले बन पाखाहरुमा जडीबुटीको पछिल्लो उत्पादनको  अवस्था कस्तो छ भन्ने  नबुझेर जडिबुटी संकलनको लागि अनुमति मात्र दिने गरेको छ । 

परापूर्वकालदेखि वन क्षेत्रमा पाइने महत्वपूर्ण जडीबुटी संरक्षण नहुँदा लोप हुने अवस्थामा रहेको छ  । 

बिगतका बर्षहरुमा घर छेउचाउमा बिभिन्न प्रकारका जडिबुटी पाईने गरेका थिए अहिले घर देखी १ दिन हिडेर गए पछि मात्र जडिबुटी पाईने छाँयानाथ रारा नगरपालिका १४ बामका रत्न बढुवालले बताए ।

नेपाल सरकारको प्राथमिकतामा परेका ३३ प्रजाति जडीबुटीमध्ये कर्णालीमा २७ प्रजातिका जडीबुटी पाइन्छन् भने मुगुबाट मात्र प्रत्येक  बर्ष २४ देखि ३० प्रकारका जडीबुटीहरुको कारोवार हुने गरेको देखिन्छ । 

कार्यालयको ५ बर्षिय योजना अनुसार कुन जडीबुटी कति निकासा दिने भन्ने योजना अनुसार जडीबुटी संकलनको लागि अनुमति दिने गरेको र जडीबुटी बनजङ्खल,बन्यजन्तु संरक्षण गर्नको लागि जिल्लामा रहेका सरोकारवालाहरुसंग सहकार्य भई नियमित काम भईरहेको डिभिजन बन कार्यालय मुगुका जीतेन्द्र महतले बताए  I

प्रकाशित मितिः बुधबार, २८ फागुन २०८१
https://jawaaf.com/storage/01JP3XEGJEAM981JA32KRYKYWH.jpg

‘राजालाई बोकेर मुलुकको विकास हुदैँन्’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ् वर्तमान समय राजालाई बोकेर मुलुकको विकास हुने समय नभएको बताएका छन् । 

मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्ने र व्यक्तिगत स्वतन्त्रताको समय भएको हुनाले राजा बोकेर विकास नहुने बताए । 

उनले भने, ‘हुदैँ नहुने मान्छेलाई ल्याएर राजा बनायो, खाई हाल्यो ५९ सालमा, छोडेर भागेको मान्छे हिजा अस्ति आईरहेको थियो । यसको पछाडी जोडिने मान्छेहरुलाई के भन्छु भने अब हामीले बुझ्नु पर्छ, अब राजालाई बोकेर मुलुकको विकास हुने जवाना होईन, सबै व्यक्ति व्यक्तिले अधिकार पाउनु पर्यो नी, आजको समय व्यक्तिगत स्वतन्त्रताको हो ।’ 

यस्तै, उनले जसको घरमा जन्मिए पनि, शितल निवास जान सक्ने र सिंहदरबारमा राज गर्न सक्ने व्यवस्था छोडेर राजाको हिसाबले चल्नुपर्ने व्यवस्थामा जानु उचित नभएको बताए । 

उनले भने, ‘तपाई जसको घरमा जन्मिए पनि, त्यो व्यक्ति योग्य र काबिल छ भने र जनताले विश्वास गर्ने हो भने त्यो शितल निवासमा जान पाउनछ, सिंहदरबारमा राज गर्न पाउछ, त्यो सर्वोच्च अदालतको न्यायाधिश बन्न पाउछ । यो व्यवस्था छोडेर राजाको घरमा जन्मिएको हुनाले ३ करोड नेपालीभन्दा योग्य हुन्छ भन्ने सिद्धान्तमा जानु राम्रो हो । यो गलत हो ।’

प्रकाशित मितिः बुधबार, २८ फागुन २०८१
https://jawaaf.com/storage/01JP2F5KKWSHHNNDV0ZX19JXSS.avif

देशलाई पछाडि फर्काउने होइन, अगाडि बढाउने हो : प्रधानमन्त्री

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउँदै सरकारले सुशासन र समृद्धिको बाटोमा तीव्रताका साथ काम गरेर मुलुकलाई अगाडि बढाउन थालेको बताएका छन् । 

कोशी प्रदेशसभामा आज विशेष सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनताको बलिदानी सङ्घर्षको बलमा प्राप्त संविधानको रक्षा गरी आवश्यकतानुसार जनता र सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षमा संशोधन गर्दै जाने पनि जानकारी गराए । 

यस प्रणालीमा जो कोही पनि प्रतिस्पर्धा गर्न पाउने भएकाले व्यवस्थाविरोधी आवाज उठाउन आवश्यक नभएको स्पष्ट गर्दै उनले संविधानसम्मत्, शान्तिपूर्ण र सुशासनको बाटोबाट यस व्यवस्थालाई अझ उन्नत बनाउन सकिने बताए । 

उनले भने, ‘हामी जनताको गरिबी र पछ्यौटेपन हटाएर जान चाहान्छौँ । गरिबी हटाएर मात्रै हामी सन्तोष मान्दैनौँ । समग्र मानवीय जैविक र न्यायोजित आवश्यकताको परिपूर्ति गरेर मुलुकलाई अगाडि बढाउनुुछ । नागरिक सर्वाेच्चता भएको यस प्रणालीमा रहेर अब हामी समृद्धिका लागि छिटो काम गर्न चाहन्छौँ । रोजगारीका अवसरमा सृजना गर्न चाहन्छौँ । त्योभन्दा पहिला हामीले उद्यमशीलतामा जोड दिनुुपरेको छ । त्यसकारण देशलाई पछाडि फर्काउने होइन, अगाडि बडाउने हो । संविधानबमोजिम तीनै तहका सरकारले सहकार्य गरेर देश विकासमा लाग्नुपर्छ ।’

प्रधानमन्त्री ओलीले देशको भौगोलिक, सांस्कृतिक र जातीय विविधतालाई मनन् गरेर विविधताबीच एकता कायम गरेर ज्ञान र गौरवको यस नेपाललाई विश्व मानचित्रमा सार्वभौम, लोकतान्त्रिक र समृद्ध बनाउन आग्रह पनि गरे ।

प्रकाशित मितिः मङ्गलबार, २७ फागुन २०८१
https://jawaaf.com/storage/01JP255BWRDPJTNDJVWH6VZDAE.jpg

कोटीहोम बिबाद ः पोखरा महानगरले सशर्त वार्ता गर्न खटायो, एमाले र कांग्रेस संसदीय दलका नेता

पोखरा । पोखराको लेकसाइडस्थित बाराहीघाटमा संचालन गर्ने भनिएको कोटीहोमको बिबाद सम्बन्धमा वार्ता गर्न पोखरा महानगरपालिकाले सशर्त दुई जना सदस्य खटाएको छ ।  

पोखरा महानगरपालिकाको आज बिहान बसेको कार्यपालिका बैठकले कोटीहोमको बिबाद सम्बन्धमा वार्ता गर्न नेपाली कांग्रेस संसदीय दलका नेता पोखरा २ का वडाध्यक्ष दिवासमान प्रधानाङ्ग र नेकपा एमाले संसदीय दलकी नेत्री पोखरा १७ की वडाध्यक्ष राधिका शाही योगीलाई खटाउने निर्णय गरेको प्रबक्ता मोतीप्रसाद तिमिल्सिनाले जानकारी दिए। पोखरा महानगरपालिकाभित्र रहेको फेवाताल र बेगानास्तालाको किनारमा कोटीहोम गर्न नदिने निर्णय कार्यपालिका बैठकले गरेको पोखरा २५ को वडाध्यक्ष समेत रहेका प्रबक्ता तिमिल्सिनाले बताए ।  

पोखरा महानगरपालिकामा सोमबार भएको बैठकले बाराहीघाटमा आयोजित कोटीहोम सम्बन्धि बिबाद समाधान गर्न जिल्ला प्रशासन कार्यालय कास्कीका प्रतिनिधिको नेतृत्वमा पोखरा महानगर र कोटीहोम आयोजक मानव सेवा फाउन्डेशनका दुई – दुई जना प्रतिनिधि रहने गरी वार्ता समिति गठन गर्ने निर्णय भएको थियो।  यही समितिले बाराहीघाटमा कोटीहोम गर्न दिने कि नदिने वा अन्यत्र उपयुक्त ठाउँको टुंगो लगाउने बताइएको छ ।  

पोखरा महानगरपालिका मानव सेवा फाउन्डेशनलाई पोखराको लेकसाइडस्थित बाराहीघाटमा कुनै पनि हालतमा कोटीहोम गर्न नदिने पक्षमा देखिएको छ भने कोटीहोम आयोजक पक्ष मानव सेवा फाउन्डेशनले शुरुमा बाराहीघाटमा कुनै पनि हालतमा कोटीहोम गरि छाड्ने अडान लिएको भए पनि सोमबारको बैठक पछि भने उपयुक्त स्थान भएमा कोटीहोम अन्यत्र सार्न पनि मानसिक रुपमा रहेको संकेत दिएको छ।  

यसैबीच मानव सेवा फाउन्डेशनले बाराहीघाटमा कोटीहोम गर्न नपाएको अवस्थामा कुन ठाउँमा कोतीहोम गर्न उपयुक्त हुन्छ भन्ने बारेमा चर्चा शुरु भएको छ। तर उक्त कोटीहोम पोखरा महानगरपालिका वडा नम्बर १७ ढुंगेसाँघुस्थित हरिहर मन्दिर क्षेत्रमा हुनसक्ने आंकलन गर्न थालिएको छ।  

महानगरपालिकाको तर्फबाट वार्ता टोली सदस्य रहेकी राधिका शाही योगी हरिहर मन्दिर रहेको पोखरा १७ कि वडाध्यक्ष समेत रहेकाले हरेक वर्ष माघे संक्रान्तिमा ढुंगेसाँघु मेला लाग्ने स्थानमा कोटीहोम हुनसक्ने सबैको आंकलन रहेको छ।

प्रकाशित मितिः मङ्गलबार, २७ फागुन २०८१
https://jawaaf.com/storage/01JP1FB8EX585YQNY26PVWS9QJ.avif

बीमा बोर्डको कार्यकारीमा डा. रघुराज नियुक्त

काठमाडौँ । विकास अर्थशास्त्री तनहुँका डा. रघुराज काफ्ले स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक नियुक्त भएका छन् । सिफारिस समितिको सुझावका आधारमा छनौटमा परेका तीन जनामध्ये डा.काफ्ले कार्यकारी निर्देशक नियुक्त भएका हुन् ।

समितिले आवेदन स्वीकृत भएका १० उम्मेदवारमध्ये गत फागुन १८ र १९ गते प्रस्तुतीकरण तथा अन्तर्वार्ता पश्चात् अन्तिम सूचीमा डा. काफ्लेसहित डा. कृष्णप्रसाद अधिकारी र कमल पन्थीको नाम मन्त्रीपरिषद्मा सिफारिस गरेको थियो ।

मन्त्री पौडेलले गठन गरेको बीमा सुझाव कार्यदलमा डा. काफ्ले सदस्य थिए । प्रतिवेदनको मस्यौदामा डा. काफ्लेले महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । कार्यदलले स्वास्थ्य बीमा सुधारका लागि सुझावसहितको प्रतिवेदन मन्त्री पौडेललाई हस्तान्तरण गरेको थियो । अब व्यास नगरपालिकाका डा. काफ्लेले सोही प्रतिवेदन कार्यान्वयनको महत्वपूर्ण निकायको कार्यकारीको जिम्मेवारी प्राप्त गरेका हुन् ।

यसअघि डा. काफ्लेसँग गण्डकी प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्ष तथा वैदेशिक रोजगार बोर्डको कार्यकारी भएको अनुभव छ । बोर्डमा रहँदा डा. काफ्लेले श्रमिक र आश्रित परिवारको हितमा विभिन्न कल्याणकारी नयाँ कार्यक्रम शुरु गरेका थिए । राहत रकममा ४ सय प्रतिशत वृद्धि तथा बीमामा शत प्रतिशत वृद्धि गर्ने निर्णय उनको नेतृत्वमा भएको थियो । गम्भीर रोगका लागि श्रमिक बीमा कार्यक्रम उनले आरम्भ गरेका थिए ।

डा. काफ्ले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रममा एक दशक बढी वरिष्ठ अधिकारीका रूपमा कार्यरत थिए । यसैगरी उनी विभिन्न विकास रणनीति निर्माणमा संलग्न रहँदै आएका छन् । अर्थशास्त्रमा विद्यावारिधि डा.काप्लेले लामो समय प्राध्यापनसमेत गरेका थिए ।

Bantawa Hardware.gif 828.52 KB

प्रकाशित मितिः मङ्गलबार, २७ फागुन २०८१
https://jawaaf.com/storage/01JNZSBD6FV0JWVSFMR6W80CD2.avif

विद्यार्थीका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न आवश्यक : मन्त्री यादव

पर्सा ।  खानेपानी मन्त्री प्रदीप यादवले विद्यार्थीहरूका अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न अति आवश्यक रहेको बताएका छन् । सोमवार वीरगन्ज महानगरपालिकामा समाजवादी विद्यार्थी युनियनद्वारा आयोजित होली मिलन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले विद्यार्थीहरूका चाहना, आकाङ्क्षा र भावना अनुरूप नीति निर्माण गरी कार्यान्वयन गर्नुपर्ने उल्लेख गरेका हुन् ।

उनले भने, ‘विद्यार्थी राष्ट्र निर्माणका आधारशिला हुन् । उनीहरूको अधिकार, भविष्य र समृद्धिका लागि सकारात्मक कदम चाल्न जरुरी छ ।’ कार्यक्रममा मन्त्री यादवले विगतको तुलनामा अहिलेका विद्यार्थी झन् सचेत, जागरुक र परिवर्तन मुखी रहेको हुँदा देश निर्माणमा उनीहरूले महत्वपूर्ण भूमिका खेल्न सक्ने विश्वास व्यक्त गरे ।

देशको भविष्य निर्माण गर्ने र परिवर्तनका संवाहक विद्यार्थीहरूलाई साथ र सहयोग गर्न आफू सधैँ तयार रहेको मन्त्री यादवले बताए । क्याम्पसका जीर्ण रहेका भौतिक संरचनाहरूको पुर्नः निर्माण गरीने भन्दै ठाकुराम क्याम्पसमा विद्यार्थी सँगसँगै कर्मचारीहरू पनि आफ्नो कामको जिम्मेवारीमा निपूर्ण हुनु पर्नेमा मन्त्री यादवले जोड दिए ।

क्याम्पसमा वैज्ञानिक शिक्षा प्रणाली लागु हुनु पर्ने मन्त्री यादवको भनाई थियो । मन्त्री यादवले ठाकुरराम क्याम्पसमा आउँदो चैत ५ गते हुन लागेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन शान्तिपूर्ण र सफलतापूर्वक सम्पन्न होस् भन्ने शुभेच्छा व्यक्त गर्दै विद्यार्थीहरूलाई विगतका कमजोरी सुधार गर्दै, रिस–राग त्यागेर निर्वाचनमा संलग्न हुन आग्रह गरे ।

प्रकाशित मितिः सोमबार, २६ फागुन २०८१
https://jawaaf.com/storage/01JNZANMF87EPDE037T1J9FWQQ.avif

कोशीमा प्रहरीको ‘फ्यान’ अभियान प्रभावकारी

इटहरी । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । ‘अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो । विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । 

सुनसरीबाट सुरु भएको दुव्र्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदैछ । अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले गरेका थिए । 

अधिकारीको नेतृत्वमा यस अभियानलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समेटेर अघि बढाइएको थियो । जसले समाजमा सकरात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ । 

डीआईजी अधिकारीले अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताए । अधिकारीले यस अभियानको माध्यमबाट दुव्र्यसनको समस्या समाधानमा पहल गरेको बताए । 

सुनसरी जिल्लामा अभियानको प्रारम्भिक सफलतापछि यसलाई प्रदेशभरि सञ्चालन गरिएको छ । यहि फागुन २८ गते इटहरीबाट फ्यान प्रदेश अभियान विभिन्न क्षेत्रको सहभागितामा औपचारिक प्रारम्भ गरिँदैछ । अभियानले दुव्र्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।  

दुव्र्यसनको कहालीलाग्दो अवस्था युद्धजस्तै खतरनाक भएकाले रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट भएर युद्धस्तरकै तयारी, सहकार्य, अग्रसरता र निरन्तरता चाहिने डिआईजी अधिकारीले बताए । दुव्र्यसन रोकथाम तथा नियन्त्रण  सबैको सरोकारको विषय भएकाले प्रत्येक ब्यक्तिले, सरकारी तथा निजी संघसंस्थाले आ–आफ्नो व्यक्तिगत वा संस्थागत काम भन्दा उच्च महत्व दिएर अग्रसर हुनु जरूरी भएको उनको भनाइ छ । 

२०७५ साल माघ १४ गते सुनसरी जिल्ला प्रहरी कार्यालयले ‘शान्तिपूर्ण र सुरक्षित समाज निर्माणका लागि’ समुदाय प्रहरी साझेदारीअन्तर्गत ‘दुव्र्यसनविरुद्द ‘फ्यान’ अभियानको अवधारणा  लागु गरेको थियो ।

अभियानको प्रारम्भिक चरणमा सुनसरी जिल्लाका १६ वटा माध्यमिक विद्यालयहरूलाई समावेश गरिएकोमा हालसम्म ७२ वटा विद्यालयमा विस्तार भइसकेको छ । 

अभियानको मूल उद्देश्य विद्यालयमा ‘फ्यान क्लब’ गठन गरेर विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतना फैलाउने र जोखिम पर्नसक्ने युवालाई नै दुव्र्यसन विरूद्धको सशक्त योद्धा बनाउने भएकाले क्लबमार्फत विद्यार्थीलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै नकारात्मक क्रियाकलापका रूपमा रहेको दुव्र्यसनको जोखिम न्यूनीकरण गर्न पहल गर्ने गरिएको डीआईजी अधिकारी बताउँछन् । 

अभियानबाट हालसम्म ७० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन् । सुनसरी जिल्लाका ७२ वटा विद्यालयमा ‘फ्यान क्लब’ गठन गर्दा ९ सय ३६ जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा अभियानमा आबद्ध भसकेका छन् । 

फ्यान क्लबका विद्यार्थीहरूलाई सहजीकरण गर्न तत् तत् बिद्यालयका १ सय ४४ जना सम्पर्क शिक्षकहरू खटाइएको छ । शिक्षकहरुले नेतृत्व विकास, सचेतनामूलक कार्यक्रम तथा विद्यालयस्तरमा सामाजिक परिवर्तनका गतिविधिहरू सञ्चालन गर्न मद्दत गर्नेछन् । 

‘फ्यान’ अभियान विद्यालयस्तरमा मात्र सीमित नभइ समुदायमा समेत प्रभावकारी रूपमा विस्तार भएको छ। अभियानअन्तर्गत सार्वजनिक स्थलहरूमा धुम्रपान, मद्यपान तथा लागुऔषध सेवनलाई निरुत्साहित गर्न स्वयंसेवक परिचालन गरिएको छ । 

धार्मिक तीर्थस्थल वराहक्षेत्र कुम्भ मेलामा ३ सय ९० जना स्वयंसेवक परिचालन गरी ६ हजार भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरिएको थियो । बराहक्षेत्र नगरपालिकामा ‘दुव्र्यसन निषेधित घर’ घोषणा गर्दै प्रत्येक घरमा सचेतनामूलक स्टिकर टाँस गरिएको छ ।

आदर्श मावि चताराले ‘दुव्र्यसन निषेधित विद्यालय’ घोषणा गर्दै लागुऔषधविरुद्धको अभियानलाई थप सशक्त बनाएको छ। अभियानलाई अझ प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरीले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूसँग सहकार्य गर्दै आएको छ ।

बराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाले अन्य संघ–संस्था तथा क्लबहरूसँग मिलेर ‘फ्यान क्लब’ गतिविधिहरूलाई समेत समावेश गर्ने योजना अघि सारेको छ । प्रदेश सरकारले यसलाई दीर्घकालीन रूपमा अघि बढाउने योजना बनाएको छ । मुख्यमन्त्रीको नेतृत्वमा गौरवको योजनाका रूपमा यसलाई अगाडि बढाउने तयारी छ । 

प्रदेश सरकार तथा स्थानीय निकायहरूको सहकार्यमा फ्यान अभियानलाई संस्थागत गर्न विभिन्न योजना बनाइएको छ ।  आगामी दिनमा विद्यालयस्तरमा ‘फ्यान’ पुस्तकालय स्थापना गरी लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी प्रदान गर्ने, ‘फ्यान आलमुनी’ गठन गरी अभियानमा संलग्न विद्यार्थीहरूलाई संगठित गर्ने, ‘फ्यान मोनिटरिङ डेस्क’ स्थापना गरी अभियानको प्रभावकारिता सुनिश्चित गर्ने, ‘फ्यान आईडल’ घोषणा गरी दुव्र्यसनविरुद्ध उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने, दुव्र्यसन मुक्त विद्यालयहरूको ‘ग्रेडिङ’ प्रणालीअन्तर्गत उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र अभिभावकहरूलाई लक्षित गर्दै ‘दुव्र्यसनविरुद्ध आमाहरू’ अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ ।

प्रकाशित मितिः सोमबार, २६ फागुन २०८१