जनताको पानी र सरकारको लगानी गर्ने विषय हाम्रो मूल लक्ष्य हो : मन्त्री यादव
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले मन्त्रालय जनताको पानी र सरकारको लगानी भन्ने विषयलाई लिएर अगाडि बढि रहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित ‘दिगो खानेपानी सरसफाइ तथा स्वच्छतामा लगानी’ विषयक सरोकारवालहरुबिच गोष्ठी कार्यक्रममा उनले पानीमा जिरो प्रतिशत जनताको लगानी र सय प्रतिशत नै सरकारले लगानी गर्ने भन्दै यसको नीतिसहित अगाडि बढिरहेको बताए ।
उनले भने, ‘जनताको पानी र सरकारको लगानी भनेर हामी अगाडि बढि रहेका छौ । अब जनताको एक रुपैयाँ पनि पानीमा नलाग्ने जिरो प्रतिशत जनताको लगानी रहने गरि सय प्रतिशत नै खानेपानीमा नेपाल सरकारले लगानी गर्ने गर्छ । यसको नीतिसहित हामी अगाडि बढि रहेका छौ । खानेपानीको पहुँच विस्तारमा महत्वपूर्ण योगदान पु¥याई रहेका छौ भन्ने विश्वास पनि लिएका छौ ।’
उनले डाटा अनुसार जनतालाई २७ प्रतिशत स्वच्छ र शुद्ध पानी वितरण गरिएको भन्दै प्रदेश र स्थानीय सरकारको सहयोगमा यसलाई एक वर्षभित्र ५७ प्रतिशत पु¥याउनको लागि मन्त्रालय अगाडि बढिरहेको बताए ।
यसको साथै, उनले तीनै तहका सरकारबिच सुशासनमार्फत अन्तर समन्वय गर्दै पानीमा समान पहुँच न्याय सँगत वितरण र दीर्घकालीन व्यवस्थापन प्रवर्धनमा पहल गरिरहेको बताए ।
प्रधानमन्त्रीको हप्ता दिन : समृद्धिका दर्जन भाषण, कार्यमा शून्यता
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो हप्ता उद्घाटन, शिलान्यास र चर्को भाषणमा व्यस्त देखिए । चैत १ गतेदेखि ८ गतेसम्मका दैनिक गतिविधिहरू प्रधानमन्त्री भाषण र उद्घाटनका कार्यक्रममा मात्र व्यस्त देखिएका छन् । तर ती कुनै पनि कार्यक्रमहरू द्रुत र स्थायी सुधारको संकेत देखिँदैन ।
यही कारण ओली नेतृत्वको सरकारप्रति ठूलो प्रश्न उठ्न थालेको छ । ओलीको यो हप्ता विभिन्न कार्यक्रम र उद्घाटनहरूमा सहभागिताजनाए । तर कुनै एक विषयमा पनि ‘स्थायित्व’ र ‘कार्यमा सुधार’को ठोस कार्यान्वयनका पहलहरू नजरअन्दाज गरिएको देखिन्छ ।
प्रधानमन्त्री ओलीको प्रत्येक कार्यमा बाहिरी रूपमा आकर्षक शब्द र भाषण मात्र देखिन्छन्, तर त्यसको वास्तविक प्रभाव र कामको ठोस मूल्याङ्कन भने लगभग शून्य नै छ । बितेको एक हप्तामा अर्थात् चैत १ गतेदेखि ८ गतेसम्म प्रधानमन्त्री ओलीको समय उद्घाटन, निर्देशन र भाषणमा वितेको स्पष्ट देखिन्छ ।
चैत १ गते प्रधानमन्त्री ओली सगरमाथा संवाद कार्यक्रममा सहभागी भए । जहाँ उनले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौँमा हुने सगरमाथा संवाद कार्यक्रमलाई चुस्त र दुरुस्त बनाउन निर्देशन दिए ।
चैत २ गते ओलीले मदन भण्डारी कला–साहित्य प्रतिष्ठानद्वारा आयोजित तीनदिने ‘हिमवतखण्ड कला–साहित्य–संस्कृति सम्मेलन–२०८१’ मा सहभागी भए ।
जहाँ उनले हिमवतखण्ड मानव सभ्यतासम्मको इतिहासको भूभाग भएकाले यस भूखण्डको कला–साहित्य–संस्कृतिलाई समेटेर अन्तर्राष्ट्रियस्तरको सम्मिलनको दोस्रो शृङ्खला आयोजना भएकोमा खुसी प्रकट गरे । ओलीले मौलिक संस्कृति नै नेपालीको जग भएको उल्लेख गर्दै यस हिमवत् भूखण्डबाट ज्ञान, योग, गणित, दर्शन र सभ्यताको प्रादुर्भाव भएको बताए ।
चैत ३ गते ओली उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र नेपाल उद्योग परिसङ्घद्वारा आयोजित महिला नेतृत्व सम्मेलन, २०२५ को उद्घाटन गरे ।
जहाँ उनले महिला र पुरुषको समान सहभागिताले मात्र समृद्धि सम्भव हुने बताए । ओलीले महिला र पुरुषको समान सहभागिताबाट मुलुकको सबै क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन आवश्यक रहेको बताए ।
यसैगरी चैत ५ गते ओलीले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौं सभा बैठक सम्पन्न गरे । जहाँ उनले गत आर्थिक वर्षको महालेखा परीक्षकको प्रतिवेदनबारे जानकारी गराइँदै त्यसमा रहेका सुधार्नुपर्ने पक्षहरूमा ध्यान दिन जोड दिए।
चैत ६ गते ओलीले माल्दोभाका उपप्रधानमन्त्रीबिच भेटवार्ता गरे । नेपाल भ्रमणमा रहेका माल्दोभाका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री मिहेल पोप्सोइले शिष्टाचार भेट गरेका थिए ।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा दुुईपक्षीय सम्बन्ध र हितका विषयमा छलफल भएको थियो । यसैगरी सोही दिन नै ओली संसद्मा प्रस्तुत गर्न पुगे । जहाँ उनले हरेक सांसदहरूका प्रश्नहरूको जवाफ आखाँ चिम्लेरै दिए । उनले संसदमै यो देश बन्दैन, यहाँ केही बन्दैन भन्ने गलत भाष्य फैलाउनु हुँदैन कसैले भन्दै कडा प्रहार व्यक्त गरे ।
चैत ८ गते ओली नेकपा (एमाले) को जनसंगठन नेपाल उद्योग तथा व्यवसायी महासङ्घको तेस्रो महाधिवेशनको उद्घाटन गर्न पुगे ।
जहाँ उद्घाटन गर्दै ओलीले राष्ट्रिय उत्पादन र प्रयोगमा जोड दिँदै देशलाई आत्मनिर्भर बनाउन आग्रह समेत गरे ।
उनले भने,‘राष्ट्रिय उत्पादनमा जोड र हाम्रा आवश्यकताहरू उपभोग्य वस्तुहरू हामी आफै तयार गर्न सकौँ भन्ने हो । आत्मनिर्भरतामा देशलाई लैजान सकौँ भन्ने जोड र निर्यातलाई जोड, आयातलाई प्रतिस्थापन गर्नका लागि धागो उत्पादन कपडा र मोजा उत्पादन गर्न जरुरी छ । बिहान उठ्ने बित्तिकै आफ्नै देशको उत्पादन ब्रस र मन्जनले मुख सफा गर्न पाउँदा पनि कति खुसी हुन्थ्यो तर त्यो पनि स्थिति छैन । स्वदेशी उत्पादनलाई वृद्धि गर्नुपर्ने छ । हाम्रा उत्पादीत वस्तुहरूपनि प्रयोग गर्ने जनताले बानी बसालौँ ।’
सारांशमा, प्रधानमन्त्री ओलीको पछिल्लो हप्ता निश्चित रूपले असल गतिविधिहरूको चाँदीको पत्र हो, तर त्यसको भित्री तात्त्विकता शून्य छ । महत्त्वपूर्ण योजनाहरूका बारेमा उनलाई आवश्यक नेतृत्व लिने गरेपनि परिणाम सन्तोषजनक देखिएको छैन् । उनको प्राथमिकता भनेको देशको वास्तविक हित होइन, केवल आफूलाई ठूलो देखाउने र कसमसाउने नै रहेको बुझ्न सकिन्छ ।
विश्वकै व्यस्त बेलायतको हिथ्रो विमानस्थल प्रभावित, आगलागीले अस्तव्यस्त
एजेन्सी । युरोपको सबैभन्दा व्यस्त बेलायतको हिथ्रो विमानस्थल आगलागीका कारण प्रभावित भएको छ । शुक्रबार बिहानै लन्डनको पश्चिममा रहेको बिजुली आपूर्ति गर्ने विद्युतीय सबस्टेशनमा ठूलो आगलागी भएपछि शुक्रबार बिहान विमानस्थल बन्द गरिएको थियो ।
स्थानीय अग्नि नियन्त्रण विभागले आगो अहिले नियन्त्रणमा आएको बताएको छ। बेलायती मिडिया आउटलेट स्काई न्यूजका अनुसार, पहिले नै हवाई उडानमा रहेका १२० सहित १,३०० भन्दा बढी उडानहरू प्रभावित भएका छन्।
अर्को सूचना नभएसम्म यात्रुहरूलाई विमानस्थलमा यात्रा नगर्न सल्लाह दिइएको छ। विमानस्थलका प्रवक्ताले बिजुली कहिले सुचारु हुन्छ भन्ने कुरा अझै स्पष्ट नभएको बताए। हिथ्रोले वर्षमा आठ करोडभन्दा बढी यात्रुको व्यवस्थापन गर्दछ ।
विमानस्थलबाट करिब २.४ किलोमिटर टाढा लागेको आगलागीका कारण नजिकैका करिब १६,००० घरहरू पनि बिजुलीविहीन भएका छन्। लन्डन फायर ब्रिगेडले लन्डन बरोको हिलिङडन सहरको हेसको सबस्टेशनमा आगलागी भएको बताएको छ ।(सीसीटीभीप्लस)
‘ह्विल चेयर चढेर बिदा गरेको राजसंस्था रथ चडेर फिर्ता हुने आशामा छ’
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अपाङ्गता भएका ब्यक्तिहरूले ह्विल चेयरमा चढेर बिदा गरेको राजसंस्था आज रथ चढेर फिर्ता हुने आशामा रहेको बताएका छन्।
काँग्रेसको भातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघको प्रथम महाधिवेशनको उद्घाटनसत्रलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री शर्माले राजतन्त्र अब फर्किन नसक्ने बताए।
‘हामीले, हाम्रा अपाङ्गता भएका साथीहरूको अगुवाइमा दरवारमार्गको सडकमा ह्वील चेयरमा बसेर बिदा गरेको राजतन्त्र रथ चढेर फिर्ता हुने आशमा छ, अब त्यो सम्भव छैन भन्ने सन्देश दिनुहोला,’ काँग्रेस महामन्त्री शर्माले महाधिवेशनको उद्घाटन शत्रलाई सम्बोधन गर्दै भने।
उनले स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा गणतन्त्र पक्षधर विद्यार्थी संगठनले प्राप्त गरेको मतले पनि गणतन्त्र पक्षधरताको अवस्था देखाएको बताए।
महामन्त्री शर्माले कांग्रेसको महाधिवेशन विधानले निदृष्ट गरे अनुसार नै हुने भन्दै त्यसमा कुनै शंका नगर्न आग्रह गरे। ‘काग्रेसको विधानले गरे अनुसार नै महाधिवेशन हुन्छ, त्यसमा कुनै शंका गर्नु पर्दैन, २०८४ सम्म अधिवेशन नहोलाकी भन्ने केहीलाई लागेको छ, त्यस्तो हुन्न,’ शर्माले भने।
रुसी सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी
एजेन्सी । रुसले बिहीबार आफ्नो सेनाले २०० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालेको दाबी गरेको छ । त्यस्तै युक्रेनी पक्षले विगत २४ घण्टामा रुसी सैन्य हवाई अड्डामाथि आक्रमण गरेको जनाएको छ ।
रुसी रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार, रुसी सेनाले विगत २४ घण्टामा १५३ क्षेत्रहरूमा युक्रेनी सैन्य हवाई क्षेत्रको पूर्वाधार, कमाण्ड पोस्ट, ड्रोन भण्डारण सुविधा, गोला बारुद र हतियार बोक्ने सैन्य रेलहरू, र सेना र उपकरण केन्द्रहरूलाई निशाना बनाएको जनाएको छ।
रुसी सेनाले खार्किभ, डोनेट्स्क र जापोरिजियाको दिशामा युक्रेनी आक्रमणहरूलाई विफल पारेको दाबी गरेको छ । रुसी वायु रक्षा बलले २२५ युक्रेनी ड्रोनलाई अवरुद्ध गरेको पनि जनाएको छ ।
कुस्र्क क्षेत्रमा, रुसी सेनाले युक्रेनी हतियार र दुई ड्रोन नियन्त्रण बिन्दुहरू नष्ट गरेको दाबी गरेको छ। तर यता, युक्रेनी सशस्त्र बलका जनरल स्टाफले आफूहरुले गरेको आक्रमणको कारण हवाई क्षेत्रमा विस्फोट र आगलागी भएको र त्यसपछि दोस्रो विस्फोट भएको दाबी गरेका छन् । (सीसीटीभीप्लस)
नाङ्ङिएको सरकारको लाज छोप्न अदालत धाइरहेको छु : रवि लामिछाने
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार नाङ्ङिएको भन्दै सरकारको लाज छोप्न आफू अदालत धाइरहेको बताएका छन् । शुक्रवार जिल्ला अदालत काठमाडौँको आदेशविरुद्ध पुनरावेदनका लागि उच्च अदालत पाटन पुगेका उनले सञ्चारकर्मीसँग कुराकानी गर्दै ठूला दुई राजनीति दल मिल्दा देश भयावह अवस्थामा पुगेको भन्दै क्रान्तिको लागि सबैलाई तयार रहन आग्रह गरे ।
उनले भने,‘देशको भविष्य मेरो पुस्ताको, हाम्रो पुस्ताको हातमा छ । त्यसैले यो एकदमै गम्भीर हुने समय हो । दुई तिहाइको सरकार छ । यसले देशका तमाम समस्या समाधान गर्नुपर्ने हो । वाचा त्यही अनुसार गरिएको छ । जब दुईवटा ठूला राजनीतिक दलहरू मिलछन भने त्यसबाट उत्पन्न हुने परिस्थिति कति भयावह हुन्छ अन्दाज गर्नुहोल भनेर संसदमै भनेको थिए । अहिले त्यही स्मरण गराउन चाहन्छु । सरकार अहिले नाङ्ङिएको हुनाले सरकारको लाज छोप्दिनका लागि अदालत घुमिरहेको छु । ठाउँ ठाउँमा पुग्नुपर्ने छ । समय आउँदै छ चाँडै नै । म सबैलाई तयार हुन अनुरोध गर्न चाहन्छु । क्रान्तिको लागि तयार रहनु होला ।’
त्यस्तै उनलाई पत्रकारहरूले तपाईलाई त राजावादी रहेछ भन्ने आरोपहरू पनि आइरहेको छ नि भन्दै प्रश्न गरेका थिए । उनले जवाफमा भने,‘म आवेग र उत्तेजनामा छैन । किनकी देश एउटा गम्भीर अवस्थामा आइपुगेको छ । एउटा जिम्मेवार राजनीतिक दलको हिसाबले र नेपाली जनताले एउटा आशा एवं भरोसाका साथ हेरेको एउटा दलको हिसाबले म कुनै आवेग र उत्तेजनामा आएर उत्तर दिने पक्षमा छैन ।’
पद्मकन्यामा नेविसंघलाई पाखा लगाउँदै सबै पदमा स्वतन्त्रको जित
काठमाडौँ । पद्मकन्या क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनावमा स्वतन्त्र उम्मेदवारले जित निकालेको छ । प्रमुख दलका भातृ संगठन नेविसंघ र अनेरास्ववियुलाई पाखा लगाउँदै सबै सिट स्वतन्त्र उम्मेदवारले जितेको हो ।
क्याम्पसको अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार भुपेश्वरी ऐर ७३० मतका साथ विजयी भएकी हुन् । उनकी निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघकी पूर्णिमाया परियारले ३७९ मत पाएकी छन् । सचिवमा सन्ध्या बस्याल ६९५ मतसहित विजयी भएकी छन् । उनकी प्रतिस्पर्धी नेविसंघकै विपना न्यौपानेले ३६१ मत पाएकी छन् । कोषाध्यक्ष संकल्पिका थापा ६६६ मत ल्याएर विजयी हुँदा नेविसंघी चाँदनी शाह ४०५ मत ल्याएर पराजित भएकी छन् ।
त्यसैगरी सदस्यमा उर्वशी पाण्डे, चेतना नहर्की, अस्मिता वि.क, स्वस्तिका विष्ट, आशु चौधरी, आकृति पाण्डे, निशा कार्की र यनसु कटवाल विजयी भएका हुन् । प्रमुख पद र सदस्यमा निर्वाचित सबै स्वतन्त्र उम्मेदवार हुन् ।
चैत ७ गते भएको निर्वाचनको परिणाम आयोगले गएराति सार्वजनिक गरेको हो । पद्मकन्या क्याम्पसमा नेविसंघ एक्लै चुनावमा सहभागी हुँदा एमाले र माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु क्रान्तिकारीले गठबन्धन गरेका थिए ।
नागरिक उन्मुक्तिको केन्द्रीय समिति बैठक आजबाट
काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीको केन्द्रीय समिति बैठक बस्दैछ । पहिलो महाधिवेशन पछि आजबाट सुरु हुन लागेको यो पहिलो केन्द्रीय समिति बैठक हो ।
बैठक चैत ८ र ९ गते मध्य बानेश्वरस्थित सनराइज क्याफेमा बस्दैछ । बैठक बिहान ११ः०० बजेबाट सुरु हुनेछ ।
अध्यक्ष रञ्जिता श्रेष्ठले समसामयिक राजनीतिक विषय तथा अन्य पार्टीसँगको एकीकरण र मोर्चाबन्दी लगायत विभिन्न विषयमा छलफल गर्न आकस्मिक केन्द्रीय समिति बैठकको आह्वान गरेको जनाएकी छन् ।
सो बैठकमा पार्टीका प्रमुख संरक्षक रेशम चौधरी जेलमा हुँदा बनेका केन्द्रीय सदस्यहरू, प्रथम महाधिवेशनबाट निर्वाचित केन्द्रीय सदस्यहरू, संस्थापक केन्द्रीय सदस्यहरूलाई बैठकमा बोलाइएको छ ।
साथै, पार्टीबाट निर्वाचित सङ्घ र प्रदेशका उम्मेदवार पालिकाका प्रमुख र उप– प्रमुखहरू, जसलाई पछि केन्द्रीय समिति सदस्य बनाइएको थियो, उनीहरूपनि केन्द्रीय समिति बैठकमा बस्नेछन् ।
नाउपाको पहिलो महाधिवेशन गत वर्ष पुस २६–२८गतेसम्म कैलालीको टिकापुरमा सम्पन्न भएको थियो ।
अख्तियारद्वारा पोखरा महानगरको उजुरी हेर्ने अधिकारी २५ हजार घुससहित पक्राउ
पोखरा । पोखरा महानगरको उजुरी फर्छ्यौट शाखामा कार्यरत अधिकारी कपिल गिरी २५ हजार रुपैयाँ घुससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले महानगरपालिकाको गेटबाट उनलाई बिहीबार घुससहित पक्राउ गरेको हो ।
अख्तियार पोखराका सूचना अधिकारी राकेश पाण्डेका अनुसार गिरीले अख्तियारलाई मिलाउन घुस चाहिने भन्दै एक लाख रुपैयाँ रकम मागेकोमा २५ हजार रुपैयाँ लिएको अवस्थामा महानगरको गेट अगाडिबाट गिरीलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराले जानकारी जनाएको छ ।
महानगरका विषयमा अख्तियारमा परेका उजुरी फर्छ्यौट गर्ने जिम्मेवारीमा रहेका गिरीले अख्तियार मिलाउन भन्दै पोखरा महानगरपालिकाको वडा नम्बर १ , ३ र ३० हेर्ने अमिनसँग एक लाख रुपैयाँ घुस मागेको अख्तियारको जिकिर छ ।
आफूविरुद्ध अख्तियारमा उजुरी परेको खबरले अत्तालिएका ती अमिनले आफूसँग त्यति ठुलो रकम नभएको भन्दै गिरीसँग गरेको टेलिफोन वार्ताको रेकर्ड पनि अख्तियारले प्राप्त गरेको बताइएको छ ।
स्याङ्जाका गिरी यसअघि पुतलीबजार नगरपालिका वडा नम्बर २ मा कार्यरत थिए। त्यहाँ कार्यरत हुँदा उनलाई त्यतिबेला पनि अख्तियारको टोलीले घुस रकमसहित पक्राउ गर्न खोजेको थियो । तर त्यति बेला उनको साथबाट घुसरकम फेला नपरे पछि उनी कारबाहीबाट बचेका थिए ।
पुतलीबजार २ मा रहँदा नै बढुवा भएपछि पोखरा महानगरपालिकामा सरुवा भएर आएका थिए र उनलाई महानगरले पोखरा १७ मा खटाएको बताइएको छ । त्यहाँ पनि विवादित बनेका उनलाई पोखरा महानगरपालिकाको कार्यालयमा तानिएको थियो ।
वडा नम्बर १७ मा विवादित भएर तानेको भए पनि महानगरपालिकाले उनलाई उजुरी फर्छ्यौट शाखामा जिम्मेवारी दिएको बताइएको छ ।
मौसम पूर्वानुमान : चार प्रदेशमा वर्षा हुने
काठमाडौं । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायूको समेत आंशिक प्रभाव रहेको छ । कोशी र मधेस प्रदेशलगायत मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, मधेस, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । साथै उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपात हुनसक्नेछ ।
त्यसैगरी आज राति कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा पनि आंशिक बदली हुनेछ ।
कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा हुने सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।
आगामी २४ घण्टामा कोशी, मधेस, गण्डकी र कर्णाली प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका पहाडी भागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको जनाउँदै महाशाखाले त्यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाईउड्डयनमा आंशिक प्रभाव पर्नसक्ने भएकाले सतर्कता अपनाउन अनुरोध गरेको छ ।
