जंगलमै विवाह गरेकी सन्तमायाको दुखान्त जीवन कथा
हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिकामा बसोबास गर्दै आएकी अति लोपोन्मुख वनकरिया समुदायकी मुखिया ६५ वर्षीय सन्तमाया वनकरियालाई सुत्केरी हुँदा वनकेराको पातले बनाइएको छाप्रोमुनि केराको पातमा शिशु च्यापेर सुत्ने अनि कन्दमूल उसिनेर खाने गरेको आजझैँ लाग्छ ।
फिरन्ते जीवन बिताइरहेको वनकरिया समुदायलाई २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिले सामुदायिक वनको छेउमा २० वर्षका लागि जग्गा दिएर बस्ती बसाएको करिब १९ वर्ष भएको छ । नौ सन्तानकी आमा उनलाई अहिले पनि उही अवस्थाको जीवन र सुत्केरी अवस्थामा कटाएका कहालीलाग्दा दिनहरूले झस्क्याउने गर्छ ।
एकमात्र स्थानमा मात्र रहेको वनकरिया समुदायकी मुखिया सन्तमायाले २२ वर्षसम्म वनमा फिरन्ते जीवन बिताइन् । चेपाङको छोरी भएकाले विवाहभन्दा अगाडि भने उनी बस्तीमा नै बस्ने गरेको र वनकरियासँग कन्दमूल खोज्न जाँदा मन परेर उतै विवाह गरेर बसेको बताइन् । सन्तमायाले नौ सन्तान जन्माइन् ।
‘चार सन्तान वनमा र पाँच सन्तान बस्तीमा जन्माए’,उनी सम्झन्छिन्, ‘घना जङ्गलबीचमा त्यो वासस्थानको ठेगान नभएको, मान्छे मरेपछि खोल्सो कटेर बस्ने चलनले गर्दा फिरन्तै भएका थियौँ ।’
फिरन्ते जीवनबाट हालको जीवनसम्म आइपुग्दा निकै कष्ट भोगेको सन्तमाया बताउँछिन् । उनका अनुसार वर्षमा तीन महिना गिठ्ठा, भ्याकुर, च्याउ, खनायो, कुरिलो खनेर खाए पनि बाँकी समय खानेकुरा खोज्नका लागि पुरुषले माछा मार्ने र महिलाले कुचो बाँध्ने काम गर्ने गरेका छन् ।
सन्तमाया भन्छिन्, ‘माछा र कुचो गाउँमा लगेर बेच्दा पनि कहाँ खान पाउनु र ? पुग्दैनथ्यो । बालबच्चा नि धेरै हुन्थे ।’ वनकरियाको मुख्य खाना खनायो, नेमारो, च्याउ, माछा र कुरिलो हो । केराको पातले बनाएको छाप्रो अनि केराकै पात लगाउने गरेको सम्झना गर्दै मुखिया सन्तमायाले जङ्गलको झारपात नै औषधिका लागि प्रयोग हुने गरेको बताइन् । उनलाई आफू कता जन्मेको थाहा छैन तर जङ्गलमा नै विवाह भएर २० वर्ष बिताएको मात्र याद छ ।
विवाहोत्सव वा चाडपर्वमा पनि गिठ्ठा नै मुख्य खान्कीका रूपमा रहेको सन्तमाया बताउछिन् । वनकरिया समुदायमा विवाह, जन्म, नामकरण, मृत्युबाहेक अन्य संस्कार नगर्ने चलन छ ।
मृत्युपछि बस्ने स्थान सरेर घरमा धेरै जहान हुने १३ दिन र नहुनेले सात दिनमा काजकिरिया गर्ने गरेको उनको भनाइ छ । बच्चा जन्माउँदा पनि सात दिनमा नै तितेपातीको पानी र सुनपानी छर्केर चोख्याने गरेको उनी बताउँछिन् ।
सानै उमेरमा विवाह गरेकी सन्तमायाको जीवन वनमा नै सीमित रहन पुग्यो । विस्तारै बाहिरी मान्छेसँग भन्दा जनावरसँग डर नलाग्ने उनको भनाइ छ । खासगरी महिनावारी र सुत्केरी अवस्थामा गाह्रो भएको उनी सम्झन्छिन् । वनकरिया समुदायका बच्चाले पनि आमाको बाहेक दूध खान नपाएको उल्लेख गर्दै सन्तमायाले गाईभैँसी पालेर दूध, दही भाँडाभरि हुँदा छोराछोरी साना हुँदा खान नपाएको सम्झँदै रुन मन लाग्ने उनको भनाइ छ ।
दुई दशक जङ्गलमा बिते पनि हाल घरमा बस्न पाउँदा सन्तमायालाई खुसी मिलेको छ । अझै कहिलेकाहीँ वनको याद आउँदा बसेको स्थान हेर्न जाने गरेको उनले बताइन् । वनमा कन्दमूल र कहिलेकाहीँ साँटेको पिठो तथा चामलका भरमा दिन काट्दा खेती गर्ने र गाईवस्तु पाल्नेबारे थाहा नभएको सन्तमायाको भनाइ छ । उनीसँग गाउँमा जन्मेर वनकरिया जातिका व्यक्तिसँग विवाह गरेपछि २० वर्ष जङ्गलमै बिताएको र अहिले फेरि गाउँमै बसेर समुदायको अगुवाइ गर्दाको अनुभव छ ।
सन्तमाया हाल खेती गर्ने, भैँसी पाल्नेमात्र होइन, साबुन उत्पादनमा पनि जोडिएकी छन् । वनमा आधारित जीवनशैली भएका आफ्नो समुदायलाई मसिने शान्ति सामुदायिक वन मध्यवर्ती क्षेत्रमा परेपछि त्यहाँ कुचो काट्न जाँदा पनि सेनाले समातेर लगेको बताउँदै हाल आफ्नै गाउँ र मध्यवर्ती क्षेत्रको बाहिर जताततै पाइने तितेपाती, घिउकुमारी, निमजस्ता जडीबुटीबाट साबुन उत्पादन गरेर आम्दानीमा जोडिएको उनको भनाइ छ ।
सन्तमायासँगै बस्तीका महिलाले पनि खोला किनार र वनमा खेर गइरहेको तितेपाती र निमबाट साबुन बनाएर बेचिरहेका छन् । वनकरिया साबुन उद्योग सञ्चालनमा ल्याएर हाल उहाँहरू उद्यमी बन्नुभएको छ । विसं २०६२ मा जिल्ला विकास समिति मकवानपुर र मनहरी गाविसको सहयोगमा वनको घुमन्ते जीवनबाट बस्तीमा बस्न आएका वनकरिया अहिले आत्मनिर्भर हुनका लागि सन्तानलाई विद्यालय पठाउनेदेखि सकेको काम गर्ने गरिरहेका सन्तमायाले बताइन् ।
उनले जङ्गल जीवनमा जुन दुःख काटिएको थियो त्यो आफ्ना छोराछोरीलाई नपरोस् भनेर प्रयन्त गरिरहेको बताइन् । अन्न खानका लागि धेरै मेहेनत गर्नुपरेको बताउँदै सन्तमायाले भनिन्, ‘अन्न खान रहर लाग्दा लोग्ने मान्छेले कुरिलो, कुचो, माछा लिएर बस्ती जाने सम्झँदै छोराछोरीले खाना खान पाइरहेकामा खुसी व्यक्त गरिन् ।’
वनकरिया समुदायले सञ्चालन गरिरहेको उद्यममा स्थानीय सरकार र ग्रिन फाउन्डेसन नेपालको सहयोग जुटिरहेको छ । उनीहरूले वनकरिया साबुन उद्योग सञ्चालन गरिरहेका छन् ।
मुखिया सन्तमायाका अनुसार साबुन बनाउन मेहेनत परे पनि कच्चा पदार्थ गाउँ वरपर नै पाइन्छ । यहाँ उत्पादन गरिएको साबुन घाउखटिरा, चिलाउने समस्या र छालाको रोगका लागि राम्रो हुने उनको भनाइ छ । उत्पादन वृद्धि र बजारीकरण गर्न समस्या हुने भएकाले वनमा आधारित उद्यम विकासका लागि ग्रिन फाउन्डेशन नेपालले सहयोग गरिरहेको मुखिया सन्तमायाले बताइन् ।
जङ्गली कन्दमूलको सहारामा वर्षको आधा समय बिताउने वनकरिया समुदायमा पछिल्ला वर्षहरूमा क्रमशः परिवर्तन देखिएको छ । आधुनिक जीवनोपयोगी सीपसँग टाढा रहेका वनकरिया समुदायका पाँच किशोरी र एक किशोरले एसएलसी/एसइई परीक्षा उत्तीर्ण गरेका छन् । दुई किशोरी प्राविधिक क्षेत्रमा लागेका छन् ।
वनकरिया समुदाबाट पहिलोपटक एसइई परीक्षा ९२०७२० उत्तीर्ण गरेकी पम्फा वनकरिया ल्याब असिस्टेन्ट टेक्निसियन विषय अध्ययन गरी हाल मनहरीको रजैयामा ल्याब असिस्टेन्टको जागिर खाइरहेको मुखिया सन्तमायाले जानकारी दिइन् ।
पछिल्ला वर्ष सरकारले वनकरिया समुदायलाई जनही मासिक रु चार हजार सामाजिक सुरक्षाबापत भत्ता दिन थालेपछि उनीहरूको आर्थिक अवस्थामा सुधार आएको छ । अठार वर्षदेखि सुकुम्वासीका रूपमा मकवानपुरको मनहरी–४ मुसेधापमा बसोबास गर्दै आएका लोपोन्मुख वनकरियाको आफ्नो नाममा जग्गा छैन । अल्पसङ्ख्यक वनकरियाले जङ्गलमा फिरन्ते जीवन बिताउँदा कष्ट भएको भन्दै २०६२ सालबाट यहाँको कबुलियती वनमा सरकारले नै बस्न दिएको हो । यही बसोबास गरेकै स्थानमा उनीहरुले सामूहिक लालपुर्जाको माग गर्दै आएका छन् । मुसेधापमा अहिले २५ परिवारमा ९३ जना वनकरिया बसोबास गर्दै आएका छन् ।
नेपालका लोपोन्मुख १० जातिमध्ये वनकरिया एक हो । विसं २०५९ मा लोपोन्मुख आदिवासी जनजातिका रूपमा ‘वनकरिया’ जाति सूचीकृत भएको हो । करिब दुई दशक अघिसम्म बनजङ्गलमा फिरन्ते भएर जीवन गुजार्ने यो जातिका नागरिक अहिले मकवानपुरको मनहरि गाउँपालिका–४ वनकरिया बस्तीमा बस्छन् ।
काठमाडौंमा सुरक्षाकर्मीको हाईअलर्ट, संवेदनशील क्षेत्रहरुमा कडा निगरानी
काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह पोखराको एक साता बसाइँपछि काठमाडौं फर्किंदा राजावादी दल र समूहहरुले उनको स्वागतमा प्रदर्शन गर्दैछन् । उनीहरुको प्रदर्शनलाई मध्यनजर गरी काठमाडौंमा सुरक्षाकर्मीलाई ‘हाई अलर्ट’मा राखिएको छ ।
आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरुलाई परिचालन गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका उपरीक्षक संजय बहादुर राउतले बताए ।
नेपाल न्यूज बैंकलाई जानकारी दिँदै उनले भने, ‘आज पोखराबाट पूर्व राजा आउँदै हुनुहुन्छ । बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहित चाबहिल, गौशाला, महाराजगञ्ज लगायत संवेदनशील क्षेत्रहरुमा सुरक्षाकर्मीहरु परिचालन छन् । आवश्यकता अनुसार सुरक्षाकर्मीहरु परिचालन गरिएका छन् । जस्तो परिस्थिति आए पनि सामना गर्ने गरी रणनीति बनाएका छौं ।’
पूर्वराजा ज्ञानेन्द्र शाह पोखराबाट आज दिउँसो काठमाडौं आउँदैछन् । उनको स्वागतका लागि राजावादीहरु काठमाडौंका विभिन्न स्थानबाट जुलुससहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको गेट अगाडि भेला हुने तयारीमा छन् ।
पूर्वराजा पोखराबाट काठमाडौँ आउँदै, राजावादीहरूले शक्ति प्रदर्शन गर्ने
काठमाडौँ । पूर्वराजा आज पोखराबाट काठमाडौँ आउने अवसर पारेर राजावादीहरूले काठमाडौँमा शक्ति प्रदर्शनको तयारी गरेका छन् । पछिल्लो केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज दिउँसो काठमाडौँ आउन लागेका हुन् । यसै अवसरमा राजावादी दलहरू राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईं काठमाडौँमा संयुक्त रूपमा शक्ति प्रदर्शन गर्न लागेका छन् ।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश सकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरू उत्साहित हुँदै आफ्नो अभियानलाई तीव्र बनाइरहेका छन् ।
पूर्वराजाको अपिलले राजवादीहरू हौसिएपछि सत्तारूढ र प्रतिपक्ष दलहरू पनि तरङ्गित हुँदै पूर्वराजालाई चेतावनी दिइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पूर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन् ।
जर्मनी पुगेका ६ सय वर्ष पुराना ताडपत्र फिर्ता गर्न मन्त्री पाण्डेको पहल
बर्लिन । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रि प्रसाद पाण्डेले विदेशमा पुगेका ताडपत्र नेपालमा फिर्ता गर्न पहल गरेका छन् ।
शुक्रवार जर्मनीको बर्लिनस्थित हाइडेलबर्ग विश्वविद्यालयको भ्रमण गर्दै मन्त्री पाण्डेले नेपालबाट २ सय वर्षअघि नै जर्मनी पुगेका ताडपत्र फिर्ताका विषयमा छलफल गरेका हुन् ।
नेपाल अध्ययन र अनुसन्धानमा ख्यातिप्राप्त हाइडेलबर्ग विश्वविद्यालयको दक्षिण एसिया अध्ययन संकायका प्राडा सिमोन चुबेलिचको नेतृत्वमा प्राध्यापक, अनुसन्धानकर्ता, विद्यार्थी तथा प्रशासकहरूसँग नेपालसम्बन्धी अध्ययन र अनुसन्धानका विषयमा छलफल भएको मन्त्री पाण्डले जानकारी दिएका छन् ।
‘विभिन्न माध्यम हुँदै जर्मनी पुगेका ६००–७०० वर्ष पुराना ताडपत्रमा लेखिएका पाण्डुलिपिहरूको एक संग्रह करिब २ सय वर्षअघि यस विश्वविद्यालयमा आइपुगेको रहेछ,।’ मन्त्री पाण्डेले फेसबुकमा लेखेका छन्, ‘ती अत्यन्त महत्त्वपूर्ण सामग्रीहरू नेपालमै फिर्ता गरिनु पर्छ भन्ने विश्वविद्यालयको धारणा रहेको जानकारी पायौँ। ती सामग्रीहरू फिर्ता ल्याउन आवश्यक प्रक्रिया र सम्भावनाका बारेमा गहन छलफल भएको छ।’
ताडपत्रहरूलाई नेपालमा फिर्ता गर्न जर्मनीस्थित नेपाली दूतावासबाट गरिएको पहलकदमी र हाल नेपाल सरकारले ताडपत्र फिर्ता गर्ने पहल थालेपछि विश्वविद्यालय पनि ती ताडपत्र फिर्ता गर्ने प्रतिबद्धता जनाएको छ । हाइडेलबर्ग विश्वविद्यालयमा १३८६ मा स्थापना भएको युरोपकै पुरानोमध्येको एक विश्वविद्यालय हो।
मन्त्री पाण्डले जर्मनीमा डा निराजन काफ्ले, डा. माणिक वज्राचार्य, डा. रामहरि तिमल्सिना, र डा. राजन खतिवडालगायतसँग ताडपत्र फिर्ता, युरोपेली विश्वविद्यालयमा नेपालसम्बन्धी अध्ययनका विषयमा कुराकानी गरेका थिए । यसका साथै उनले नेपालबाट युरोप पुगेका ऐतिहासिक सामग्रीहरूको खोजी, संरक्षण र फिर्ता गर्ने प्रक्रियाका विषयमा पनि छलफल भएको जानकारी दिए ।
देशभरका शिक्षक आन्दोलनमा, काठमाडौँमा बृहत् प्रदर्शन
काठमाडौँ । देशभरका शिक्षकहरू फेरि सडक आन्दोलनमा उत्रिएका छन । आज शनिवार शिक्षकहरूले काठमाडौँको माइतीघर देखि नयाँबानेश्वर सम्म बृहत् प्रदर्शन गरेका हुन् ।नेपाल शिक्षक महासङ्घको नेतृत्वमा देशैभरका शिक्षकहरू काठमाडामौँ केन्द्रित भई शिक्षा ऐन जारी गर्न दबाब दिन बृहत् आन्दोलन सहित सुरु गरिएको छ । उनीहरू माइतीघर मण्डलाबाट नारा जुलुस गर्दै नयाँ बानेश्वरसम्म पुगेका छन् ।
विगतका सबै सहमति सम्बोधन हुने विद्यालय शिक्षा ऐन जारी गर्न राज्यलाई बाध्य पार्न उनीहरूले आन्दोलन गरेका हुन् । महासङ्घले चरणबद्ध आन्दोलनको घोषणा गरेको छ । यसअघि २०८० मा सरकारसँग भएको सहमति अनुसार शिक्षा ऐन जारी हुनुपर्ने उनीहरूको माग छ ।
यता, आन्दोलनमा भेटिएका नेपाल टे«ड युनियन काँग्रेसका महासचिव अजय कुमार राई आफू भौतिक रूपमै आन्दोलनमा ऐक्यबद्धता जनाउन आएको बताउँदै पटक पटक सम्झौता भएका मुद्दाहरूलाई कार्यान्वयन नगर्नु भनेको राज्यको दृष्टिकोण श्रमजीवी वर्गप्रति सकारात्मक नहुनु रहेको बताए ।
‘राजनीतिक दलहरू पनि श्रमजीवी वर्गप्रति अनुदार हुनुको कारण आज फेरी शिक्षक साथीहरू आन्दोलनको मैदानमा उत्रनु परेको हो । त्यसर्थ विद्यालय शिक्षा ऐन सरकारले यथाशीघ्र जारी गर्नु पर्दछ । भन्ने ट्रेड युनियन काँग्रेसको यही धारणा छ,’ उनले भने ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गरौँ : मन्त्री यादव
मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने गरी काम गर्नुपर्ने बताएका छन् । शनिबार मोरङको पथरीशनिश्वरे नगरपालिका स्थित पथरी खानेपानी आयोजनाको शिलन्यास समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले नेपाल सरकार खानेपानी मन्त्रालयले सुरक्षित, गुणस्तरीय र दिगो खानेपानी सेवा प्रत्येक नागरिकको मौलिक हकका रूपमा सुनिश्चित गर्ने लक्ष्य लिएको भन्दै ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्न सबै जुट्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘पथरीशनिश्वरे खानेपानी आयोजनाको शिलन्यास समारोह केवल एउटा पूर्वाधार निर्माणको घोषणा मात्र होइन, यो सरकारको प्रतिबद्धताको प्रतीक हो । ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मुल मन्त्रलाई साकार पार्ने दिशामा हामी सबै अघी बढौँ ।’
यसैगरी मन्त्री यादवले ‘एक घर, एक धारा’ अभियानमार्फत सरकारले मुलुकभरिका नागरिकसम्म स्वच्छ पानी पु¥याउने कार्यलाई तीव्र रूपमा अघि बढाइरहेको जानकारी दिए । उनले भने, ‘आज यहाँ शिलान्यास भएको आयोजना एउटा महत्वपूर्ण कडी हो । सरकारको ‘एक घर, एक धारा’ अभियानले मुलुकभरिका नागरिकलाई प्रत्यक्ष रूपमा सुरक्षित पानी आपूर्ति गर्नेछ ।’
नेपाल सरकार खानेपानी तथा ढल व्यवस्थापन क्षेत्रलाई उच्च प्राथमिकतामा राख्दै आवश्यक नीति निर्माण, स्रोत परिचालन, तथा पूर्वाधार विस्तारमा निरन्तर अग्रसर रहेको मन्त्री यादवले बताए ।
‘स्वच्छ पानी, स्वस्थ जीवन’ नारालाई कार्यान्वयन गर्दै प्रत्येक नागरिकका लागि गुणस्तरीय खानेपानी सेवा सुनिश्चित गर्ने, ‘एक घर, एक धारा’ अभियानलाई तीव्रता दिँदै देशभर खानेपानीको सहज पहुँच विस्तार गर्ने, संघीय, प्रदेश र स्थानीय सरकारको समन्वयमा खानेपानी तथा ढल व्यवस्थापनलाई थप प्रभावकारी बनाउने, जलस्रोत संरक्षण तथा प्रविधियुक्त व्यवस्थापन गर्दै दिगो खानेपानी सेवा प्रवाह गर्ने नेपाल सरकारको दृढ प्रतिबद्धता रहेको समेत मन्त्री यादवको भनाई छ ।
सोही कार्यक्रममा बोल्दै खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठले पथरी शनिश्चरे खानेपानी योजनाको लागि यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमती प्राप्त भई निर्माण कार्य शुरु हुने भएको जानकारी दिए ।
उनले भने, ‘यस वर्ष रु ३५ करोड बराबरको स्रोत सहमती प्राप्त भएको छ । खानेपानीको दीगो सामाधान हुने गरी संरचना निर्माण गर्न योजना निर्माणको क्रममा संघीय खानेपानी कार्यलयबाट अनुगमन निरिक्षण बढाउनुहोला । स्रोत सहमती, रकमान्तर लगायतका विषयमा सहयोग गर्नु भएकोमा अर्थ मन्त्रालयलाई हार्दिक धन्यवाद ।’
यसैगरी उक्त आयोजनामा भविष्यका योजना र सरकारका प्राथमिकताहरुमा नवीनतम प्रविधिको प्रयोग गरी खानेपानी व्यवस्थापनलाई अझ व्यवस्थित बनाउने, ग्रामीण तथा दुर्गम क्षेत्रहरूमा खानेपानी सेवा विस्तार गर्दै समावेशी विकासको सुनिश्चितता गर्ने, स्थानीय सरकारहरूसँगको सहकार्य मार्फत दिगो खानेपानी स्रोत संरक्षण र व्यवस्थापन गर्ने तथा वित्तीय स्रोत परिचालन गर्दै स्वच्छ पानीको प्रभावकारी वितरण प्रणालीको स्थापना गर्ने रहेका संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगरका कार्यालय प्रमुख सुरतलाल चौधरीले जानकारी दिए ।
आजको उक्त कार्यक्रममा स्थानीयवासी, जनप्रतिनिधि, आयोजनाका प्राविधिक, खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई रामकुमार श्रेष्ठ लगायतको सहभागिता रहेको थियो ।
विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदै
काठमाडौं । आज (शनिबार) विभिन्न कार्यक्रमहरु गरि विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइदैछ । ‘सबै महिला तथा बालिकाको लागि ः अधिकार, समानता र सशक्तिकरण’ भन्ने मूल नाराका साथ विश्वभर ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाउन लागिएको हो ।
सरकार र सरोकारवाला निकाय र विभिन्न महिला संगठनले आज विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाउने तयारी गरेका छन् । महिला सशक्तिकरण अभिवृद्धि गर्ने, लैङ्गिक असमानता र हिंसाजन्य क्रियाकलाप निर्मूल गर्ने यस दिवसले लक्ष्य राखेको छ ।
पहिलो पटक सन् १९११ मा मनाइएको अन्तर्राष्ट्रिय महिला दिवस त्यसवर्ष अस्ट्रेया, जर्मनी, डेनमार्क र स्विटजरल्यान्डमा मनाइएको थियो । न्यु योर्क सहरमा सन् १९०८ मा १५ हजार महिलाले आफूहरूमाथि भएको असमानता जस्तै कि काम गर्ने समय थोरै हुनुपर्ने, समान ज्याला दिनुपर्ने र मतदानको अधिकार हुनुपर्ने मागसहित ¥याली गरेसँगै नारी दिवसको सुरुवात भएको थियो । त्यसकै एक वर्षपछि अमेरिकाको समाजवादी पार्टीले पहिलो राष्ट्रिय महिला दिवस घोषणा गरेको थियो । यद्यपि यस दिवसलाई संयुक्त राष्ट्र सङ्घले सन् १९७५ मा आधिकारिक मान्यता दिएको थियो ।
होटल, क्यासिनो तथा रेष्टुराँ मजदुरहरुमाथि ‘कू’ भएको आरोप
काठमाडौं । श्रमिकहरुको हित विपरित सर्बोच्च अदालतद्वारा खारेज गरिएको सेवाशुल्क विधायिकाबाट कानून बनाई पुनः प्राप्त गर्नुपर्नेमा वक्ताहरुले जोड दिएका छन् । शुक्रबार काठमाडौंमा अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघले गरेको अन्तरक्रिया कार्यक्रममा अदालतको फैसला आममजदुर विरुद्ध भएकोसमेत जिकिर गरे ।
संयुक्त टे«ड युनियन समन्वय केन्द्र(जेटियूसीसी)का अध्यक्ष जगत सिम्खडाले श्रमिकहरुको अधिकार खोस्न अदालतसम्म लाग्नु दुर्भाग्य भएको बताए । अखिल नेपाल ट्रेड युनियन महासंघका अध्यक्षसमेत रहेका सिम्खडाले मजदुर अधिकार तथा आन्दोनलाई कमजोर बनाउँदा दक्ष जनशक्ति दिनप्रतिदिन पलायन भइरहेकोप्रति चिन्ता व्यक्त गर्दै भने,‘सेवा शुल्कको खारेजी र बैंक तथा वित्तीय क्षेत्रमा श्रम ऐन नलाग्ने फैसला टे«डयुनियन आन्दोलनमाथिको ‘कु’ हो ।’
सिम्खडाले सेवाशुल्क लगायतका मजदुर हक–अधिकारका लागि आफूहरु निर्णायक आन्दोलन गर्न पनि पछि नपर्ने चेतावनी दिए । वरिष्ठ अधिवक्ता गान्धी पण्डितले सेवा शुल्कको व्यवस्था श्रमिक तथा व्यवसायी दुबैको पक्षमा रहेकाले सो पुनः लागु गर्नुपर्ने धारणा राखे । पछिल्लो समय सेवाशुल्क खारेज हुनु दुःखद भएको बताउँदै भने,‘यसको सुरुवात हुँदा ड्राफ्टकर्ता म नै थिएँ र सेवाशुल्क खारेज हुँदा दक्ष श्रमिकहरु विदेशिन बाध्य भएका छन्, सो रोक्न कानूनमै व्यवस्था गरेर सेवाशुल्क लागु गरिनुपर्छ ।’
वरिष्ठ अधिवक्ता दिनमणि पोखरेल सर्बाेच्च अदालतले सेवाशुल्कको व्यवस्थालाई खारेज गरेपनि विधायीकाबाट कानून बनाएर ल्याउने बाटो बन्द नभएको बताए । पूर्व–महान्यायाधिवक्तासमेत रहेका पोखरेलले मजदुरहरुको हित विपरितको कुनै पनि फैसला तथा व्यवस्थालाई स्वीकार्न नहुनेसमेत सुझाए ।
अधिवक्ता घनेन्द्र श्रेष्ठले सरोकारवाला सबै पक्षहरुसँग घनिभूत बहस तथा छलफल गरी सेवाशुल्कको पुनः व्यवस्था गर्नुपर्नेमा जोड दिए । अधिवक्ता युवराज लुइँटेलले अदालतले खारेज गरिसकेकाले सेवाशुल्क सहजै पुनः प्राप्ति नहुने बताउँदै, त्यसका निम्ति मजदुरको तल्लो तहसम्म जागरण ल्याएर आन्दोलनको बलबाट कानून बनाउँन बाध्य पार्नुपर्छ ।
अधिवक्ता भक्तिराम घिमिरेले पर्यटन क्षेत्रका सबै संघ–संगठनहरु एकजुट भएर सरकार तथा सरोकारवाला पक्षलाई दबाब दिन जरुरी भएको बताए । अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका केन्द्रीय अध्यक्ष कुमार पन्तले यो आन्दोलन् यस क्षेत्रमा क्रियाशील सबै ट्रेड युनियन र मजदुरहरुको साझा भएकोले एकजुट भएर अगाडि बढ्न आग्रह गरे ।
कार्यक्रमा वरिष्ठ अधिवक्ता माधब भट्टराई, अखिल नेपाल टे«ड युनियन महासंघका उपाध्यक्ष विष्णु थापा, महासचिव सलिकराम काफ्ले, उपमहासचिवहरु माधव पाण्डे, शिब पोखरेल, रामचन्द्र कार्की, सचिव निरज गोले, अखिल नेपाल होटल, क्यासिनो तथा रेष्टुराँ मजदुर संघका वरिष्ठ उपाध्यक्ष मिलन मल्ल, उपाध्यक्षहरु लिला श्रेष्ठ, सुसिल राजभण्डारी, महासचिव रामकुमार खड्का, उपमहासचिव सदर्शन तिमल्सिना, सचिवहरु रामकुमार वाग्ले, अमृता सापकोटा, सुमन महर्जन, खिलबहादुर कोइराला, कोषाध्यक्ष राम पन्तलगायत अतिथिहरुको उपस्थिति रहेको थियो ।
अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यबद्धता जनाउने
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जन्म दिन आज विशेष तरिकाले मनाइँदैछ । उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सत्कर्ममा जोडौैँ’ अभियानमा ऐक्यबद्धता जनाउने कार्यक्रम छ । जन्मदिनका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ ।
निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण संरक्षणका महत्वकांक्षी उद्देश्यलाई जोड्ने अवसरमा एक अभिनव पहल सुरु गरेका छन् ।
रौतहटबाट हुरू भएको यस अभियानको उद्देश्य सत्कर्ममा जोड दिने र समाजलाई सकारात्मक परिवर्तनको मार्गमा अगाडि बढाउने रहेको छ । विशेष कार्यक्रमको दौरान, पार्टी अध्यक्ष नेपालले फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय गरिएको छ ।
आजको विशेष अवसरमा आफ्नै निवास, कोटेश्वरमा ४ः१५ बजे दिउँसो आयोजना हुने कार्यक्रममा महत्वपूर्ण नेताहरूको उपस्थितिका साथ विभिन्न व्यक्तित्वहरूले समाजसेवा र वातावरणको संरक्षणमा थप ध्यान पुर्याउनु आह्वान गर्नेछन् ।
बसन्तपुरमा ठड्याइयो चीर, रङको पर्व होली सुरु (तस्बिरसहित)
काठमाडौं । फागु पर्वको आजदेखि विधिवत् रूपमा सुरुवात भएको छ । फागुन शुक्ल अष्टमी अर्थात् आज बिहान शुभसाइतमा मौलिक बाजागाजासहित काठमाडौँको बसन्तपुरमा रंगीचंगी ध्वजा र पताकाले सिँगारिएको चीर उठाइएको हो । परापूर्वकालदेखि नै फागु पर्वको दिनभन्दा एक साता अघि यसरी चीर ठड्याउने परम्परा रहिआएको छ । चीर ठड्याइएसँगै नेपालमा फागु पर्व सुरु भएको मानिन्छ।
यसरी ठड्याइको चीर फागु पूर्णिमाको राति साइत हेरेर ढालिन्छ र टुँडिखेलमा जलाएर विसर्जन गर्ने चलन छ । चीर ढालेको भोलिपल्ट नेपालको तराईमा होली पर्व मनाउने गरिन्छ ।
यस पर्वका दौरान रँगहरूको उत्सव, मिठा परिकार र सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिन्छ, जसले समाजमा आपसी सद्भाव र भाइचारा वृद्धि गर्न मद्दत पु¥याउँछ।
फागु पर्वको महत्त्वको कारण, यो सबैको मनमा रँग र उमङ्गको उत्साह फैलाउने एउटा विशेष अवसर हो ।








