राजर्षि जनक विश्वविद्यालयमा तालाबन्दी
जनकपुर । राजर्षि जनक विश्वविद्यालयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले समावेशी नीतिको उल्लंघनको विरोधमा डीन कार्यालयमा संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।
विद्यार्थी संगठनहरूले फागुन ८ गते जारी गरिएको करार तथा दैनिक ज्यालादारीमा शिक्षक र कर्मचारी नियुक्तिसम्बन्धी विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग तथा अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण तथा समावेशीताको अधिकार सुनिश्चित नगरेको आरोप लगाएका छन् ।
अनेरास्ववियुका इन्चार्ज रवि कुमार साह र नेविसंघका कार्यबाहक अध्यक्ष त्रिलोक कुमार यादवले उक्त विज्ञापनलाई समावेशी बनाउन र आरक्षणको व्यवस्था लागू गर्न माग गरेका छन्। उनीहरूका अनुसार विश्वविद्यालयले विगतदेखि नै शिक्षक तथा कर्मचारी नियुक्तिमा समावेशीतालाई बेवास्ता गर्दै आएको छ ।
विद्यार्थीहरूको भनाइ अनुसार नेपालको संविधानले समावेशीताको अधिकार सुनिश्चित गरेको हुँदा विश्वविद्यालयले यस अधिकारलाई उपेक्षा गर्न मिल्दैन । उनीहरूले विज्ञापनमा सुधार गरी समावेशीताको प्रत्याभूति गर्नुपर्ने, साथै करार र दैनिक ज्यालादारीमा नियुक्ति प्रक्रियाको विभेद हटाउनुपर्ने माग राखेका छन् ।
विद्यार्थी संगठनहरूले विज्ञापनमा सुधार गरी समावेशी अधिकार लागू गर्न, आरक्षणको व्यवस्था सुनिश्चित गर्न र विश्वविद्यालयको भवन निर्माण कार्य सम्पन्न गर्न माग गरेका छन्। साथै, विज्ञापन प्रक्रियामा एकरुपता ल्याई सेवामा आयोगको पहल आवश्यक रहेको बताएका छन्।
विद्यार्थीहरूले आफ्नो माग पूरा नभएसम्म संघर्ष जारी राख्ने चेतावनी दिएका छन्।
कोशी प्रदेश सभाको हिउँदे अधिवेशन १२ बजेबाट अन्त्य हुने
इटहरी । कोशी प्रदेशसभाको चालु छैठौँ अधिवेशन बिहीबार राति १२ बजेबाट अन्त हुने भएको छ । बिहान बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले जानकारी गराए ।
उनका अनुसार चालु हिउँदे अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख पर्शुराम खापुङलाई सिफारिस गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको हो । उनका अनुसार बैठकले कोशी प्रदेश जनस्वास्थ्य नियमावली २०८१ समेत स्वीकृति गर्ने निर्णय पनि गरेको छ ।
त्यस्तै, बैठकले समस्याग्रस्त सहकारी संस्था वा संघ व्यवस्थापन समितिको सदस्य सचिवमा चन्द्रबहादुर कार्कीलाई तोक्ने निर्णय गर्दै समितिको कार्यालयका लागि १ करोड २८ लाख ६० हजार रुपैयाँ बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको छ ।
मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारबाट स्थानीय तहलाई प्रदान गर्ने वित्तीय समानीकरण अनुदानको लागि अनुमानित सीमा १ अर्ब ५० करोड तथा राजस्व बाँडफाँटको अनुमान सीमा १ अर्ब १० करोड स्वीकृत गर्ने निर्णयसमेत बैठकमा भएको छ ।
बैठकले उच्च तथा जिल्ला अदालत सुदृढीकरणका लागि १ करोड ५० लाख बाँडफाँट गर्न स्वीकृत प्रदान गरेको उनले बताए ।
चीनमा अहिलेसम्मकै ठूलो ड्रोनबाट कार्गो उडान
एजेन्सी । चीनले देशकै अहिलेसम्मको ठूलो कार्गो ड्रोनको पहिलो उडान सफलतापूर्वक पूरा गरेको छ । शनिबार बिहान एक टन पेलोड बोक्न सक्ने चीनको पहिलो ठूलो कार्गो ड्रोन, टिपि एक हजारले पूर्वी चीनको शानडोङ प्रान्तको छिङदाओ शहरमा उक्त उडान सफलतापूर्वक पूरा गरेको हो ।
यो नवीन विमान एयरड्रप क्षमताले सुसज्जित देशको पहिलो ठूलो मानवरहित यातायात विमान रहेको समाचार एजेन्सीहरुले जनाएका छन् । ठूला कार्गो ड्रोनहरूको लागि चीनको नागरिक उड्डयन मापदण्ड अनुसार पूर्ण रूपमा विकसित, टिपि एक हजारको टेकअफ तौल क्षमता ३.३ टन रहेको बताइन्छ । यस्तै अधिकतम पेलोड क्षमता एक हजार किलोग्राम रहेको छ ।
यी ड्रोनहरूले कम उचाइको कार्गो ढुवानीको बढ्दो माग पूरा गर्न भरपर्दो रहेको बताइन्छ। ‘पहिलो उडान २६ मिनेटसम्म चल्यो, र विमानको प्रदर्शन भर स्थिर रहेको थियो । सबै प्रदर्शन मेट्रिक्सले हाम्रो अपेक्षाहरू पूरा गर्यो। उडानको क्रममा, ड्रोनले उत्कृष्ट स्थिरता, गतिशीलता र पावर प्रणाली प्रदर्शन प्रदर्शन ग¥यो, सबै प्यारामिटरहरू आदर्श दायरा भित्र रह्यो’ टिपि एक हजार अनुसन्धान र विकास टोलीका नेता जिन गेले भने ।
सो ड्रोन २०२६ सम्ममा सञ्चालन सेवामा प्रवेश गर्ने अपेक्षा राखिएको छ । जसले चीनको मानवरहित हवाई वाहन प्रविधि र आपतकालीन अवस्थामा उपयोगी रहने दाबी गरिएको छ। ‘सिसिटीभीप्लस’
युगान्डबाट नेपाली राष्ट्रिय महिला टोली स्वदेश फिर्ता
काठमाडौं । वुमन्स डे महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताको लागि युगान्डा पुगेको नेपाली राष्ट्रिय महिला टोली नेपाल फर्किएका छन् । बुधबार बिहान चार राष्ट्र सम्मिलित प्रतियोगितामा चौथो भएर उनीहरु नेपाल फर्किएका हुन् । प्रतियोगितामा नेपालसहित घरेलु टोली युगान्डा र नामिबियाले सहभागिता जनाएका थिए ।
विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले टोलीकी कप्तान इन्दु बर्माले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिने भन्दै त्यसमा आफ्नो पनि केही गल्तीहरु भएको बताईन् ।
उनले भनिन्, ‘समग्रमा प्रतियोगिता एकदमै राम्रो नै भयो, हामीले परिणाम ल्याउन सकेनौ भन्ने कुरा हो । हामीले आफ्नो तर्फबाट एकदमै राम्रो क्रिकेट खेलेका हौ तर परिणाम राम्रो आउन सकेन् । हामीले सुरुवात देखि नै राम्रो खेलेको भए जित्न सकिन्थ्यो होला मेरो आफ्नो पनि केही गल्ती थियो होला ।’
यस्तै, नेपाली महिला क्रिकेट टोलीका कोच मनोज कटुवालले खेलको क्रममा भएका साना साना गल्तीले गर्दा हार व्यहोर्नु परेको स्वीकार गरेका छन् । नामिबियासँग नेपाल ६ विकेट र २३ रनले पराजित भएको थियो । युगान्डालाई पहिलो खेलमा एक विकेटले हराउँदा अर्को खेलमा नेपाल ४० रनले पराजित भएको थियो । हङकङसँग पहिलो खेलमा दुई रनको हार बेहोरेको नेपालले अर्को खेल भने वर्षाको कारण रद्द भएको थियो ।
पर्यटनमन्त्री पाण्डे र कम्बोडियाली समकक्षीबीच भेटवार्ता
काठमाडौ । कम्बोडिया भ्रमणमा रहनु भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल र कम्बोडियाबीच वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे छलफल गरेका छन् ।
मन्त्री पाण्डेले कम्बोडियाका पर्यटनमन्त्री हुअट हाक र संस्कृति तथा धार्मिक मामिला मन्त्री चाई बोरिनसँग मंगलबार भएको भेटका क्रममा सो सम्भावना बारे छलफल भएको हो ।
कम्बोडियाका पर्यटन र संस्कृति तथा धार्मिक मन्त्रालयमा भएको भेटवार्तामा नेपाल र कम्बोडियाबीच संस्कृति र पर्यटनका क्षेत्रमा समन्वय र सहयोगको सम्भावनाबारे छलफल भएको थियो ।
भेटवार्ताका क्रममा मन्त्री पाण्डेले नेपाल र कम्बोडियाको ऐतिहासिक सन्दर्भ र द्विपक्षीय पर्यटन सहयोगको महत्त्वलाई उल्लेख गर्दै भने,‘कम्बोडिया र नेपालका इतिहास र धर्म एक अर्कासँग गहिरो सम्बन्ध राख्दछन् । हाम्रो मुलुकहरू दशकोंसम्म युद्ध र संघर्षको अवस्थाबाट गुज्रिएका छन्, र अहिले हामी शान्ति, स्थायित्व र समृद्धिको बाटोमा अघि बढिरहेका छौं ।नेपालका प्रमुख धार्मिक स्थलहरू जस्तै लुम्बिनी, मुक्तिनाथ र जानकी मन्दिर तथा कम्बोडियाको अङ्कुरवाट दुई देशका साझा सम्पदा र तीर्थस्थलको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले भन्नुभयो, हाम्रो धार्मिक र सांस्कृतिक परिप्रेक्ष्यले समानता देखाउँछ, र हामीसँग एक समान धार्मिक सहिष्णुता र सद्भाव छ ।’
दुवै पक्षले धार्मिक र सांस्कृतिक पर्यटन साझेदारी वृद्धि गर्ने विषयमा छलफल भएको छ। नेपाल र कम्बोडियाबीच सिधा हवाई उडानको सुरुवात हुन सकेको अवस्थामा पर्यटकहरूको आवागमनमा ठूलो सुधार गर्न सकिने विषयमा दुबै पक्ष सहमत भएका छन् । यसका साथै, वृहत्तर बुद्ध सर्किटको निर्माणमा साझेदारीको सम्भावनाबारे पनि छलफल भएको बताइएको छ ।
मन्त्री पाण्डेले कम्बोडियाको एशिया क्षेत्रको सबैभन्दा ठूलो विमानस्थल निर्माणको बारेमा चर्चा गर्दै भन्नुभयो, यस परियोजनाले नेपाल र कम्बोडियाबीचको भौतिक दूरीलाई छोटो बनाउने बताए । उनले नेपलमा पनि भैरहवा र पोखरामा निर्माण भएका अन्तर्राष्ट्रिय विमानस्थलहरुमा उडान भर्ने वायुसेवा कम्पनीहरुलाई विशेष सहुलियतसहितको व्यबस्था पछि ती सञ्चालनमा आएको प्रसंग उल्लेख गरे ।
कम्बोडियाली पक्षले नेपाललाई धन्यवाद दिँदै लुम्बिनीमा कम्बोडियाको स्तुपा निर्माणका लागि स्थान उपलब्ध गराएकोमा आभार व्यक्त गरेको छ। साथै, नेपाल र कम्बोडियाबीच द्विपक्षीय सहयोगका क्षेत्र र कार्यसम्पादन मोडालिटिको पहिचानका लागि राजदूत र कर्मचारीस्तरीय टोली गठनको आवश्यकतामा जोड दिएका छन्।
कम्बोडियाले २०२४ मा ७२ लाख अन्तर्राष्ट्रिय पर्यटकको आगमनको अपेक्षा गरेको जानकारी दिएको छ । पर्यटन क्षेत्रको पुनर्निर्माण र समृद्धिका लागि युएन टुरिजमको बृहत्तर छाता अन्तर्गत सहकार्यका लागि कम्बोडिया इच्छुक रहेको जनाइएको छ । अन्त्यमा, कम्बोडियाले धार्मिक र सांस्कृतिक सहयोगका लागि नेपालसँग अझ नजिकको सहकार्यमा प्रवेश गर्ने प्रतिवद्धता जनाएको छ । यस भेटघाटले दुवै राष्ट्रका बीचको सम्बन्धलाई अझ मजबुत बनाउनका लागि एक नयाँ दिशा खोल्ने अपेक्षा गरिएको छ ।
चोक नामाकरण विवादमा पाँच बुँदे सर्वपक्षीय सहमति
जनकपुर । धनुषाको सबैलामा चोक नामाकरण सम्बन्धि उत्पन्न भएको विवादलाई समाधान गर्नका लागि पाँच बुँदे सहमति भएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय धनुषा, सुरक्षा प्रमुख, जनप्रतिनिधि, सरोकारवाला निकाय र स्थानीयहरुबीच भएको छलफलमा विभिन्न पाँच बुंदे सहमति भएको छ ।
सर्वपक्षीय सहमतिमा सबैला नगरपालिकाले विवादित चोकको आगामी दुई महिनाभित्र नामाकरणका गरिने निर्णय भएको छ । यससम्बन्धी निर्णयमा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा नगरपालिकाले जिल्ला सुरक्षा समितिसंग समन्वय गर्ने भएको छ ।
त्यस्तै, घटनामा घाइते भएका व्यक्तिहरूको उपचार र क्षतिपूर्तिका लागि जिल्ला सुरक्षा समितिले गृहमन्त्रालयसंग समन्वय गर्ने निर्णय भएको छ । विवादित चोकको नामाकरण नहुँदासम्म सो स्थानको अवस्था परिवर्तन नगर्ने सहमतिसमेत भएको छ ।
घटनाको छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षकको संयोजकत्वमा एक समितिको गठन गरिएको छ । समितिको प्रतिवेदनका आधारमा थप निर्णय गरिनेछ ।
सर्वपक्षीय सहमति पत्रमा सबै पक्षलाई संयमित र सम्मानजनक व्यवहार गर्न आग्रह गरिएको छ । चोकको नामाकरण नभएसम्म सबै पक्षले एक अर्कासँग शान्तिपूर्वक र सम्मानपूर्वक व्यवहार गर्ने सहमति गरेका छन् ।
चोकको नामकरणलाई लिएर उत्पन्न विवादका क्रममा सोमबार प्रहरीले चलाएको गोली, शहिदनगरका २० वर्षीय युवक संतोष यादवलाई लागेको थियो । अहिले यादवको उपचार काठमाण्डौमा भइरहेको छ ।
प्रहरीमा व्यापक सुधार आवश्यक छ : नवनियुक्त (आईजीपी) थापा
काठमाडौं । सरकारले नवनियुक्त प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापालाई दज्र्यानी चिन्ह प्रदान गरेको छ ।
मंगलबार गृहमन्त्रालयमा आयोजित एक समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले दज्र्यानी चिन्ह प्रदान गरेका हुन् । सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले थापालाई ३१औं आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो ।
३०औं महानिरीक्षक वसन्तबहादुर कुँवर ३० वर्षे सेवा अवधि पूरा गरी गएरातिबाट बिदा भइसकेका छन् । थापाले आजैबाट कार्यभार सम्हाल्ने छन् ।
कार्यभार सम्हाल्दै नवनियुक्त (आईजीपी) दीपक थापाले प्रहरीमा व्यापक सुधार आवश्यक रहेको बताएका छन् । उनले प्रहरी भित्रको सुधार आफैंबाट सुरू गर्ने बताएका हुन् । उनले भने, ‘प्रहरी कस्तो छ भनेर हामीले लुकाउनुपर्ने केही छैन । ती पक्ष लुकाएर वा दबाएर प्रहरीमा सुधार हुन्छ भन्नेतर्फमा म विश्वास पनि गर्दिनँ । प्रहरीभित्र सुधार ल्याउन साइत कुरेर बस्न पनि जरूरी छैन । सुधारको प्रारम्भ कोही र कसैबाट होइन म भित्रैबाट नै आवश्यक छ भन्ने स्वीकार गरी अघि बढ्नुको विकल्प छैन ।’
साथै उनले मुलुकमा शान्ति सुरक्षाको कार्यान्वयन र मानव अधिकारको प्रत्याभूति गर्न आफू प्रतिवद्ध रहेको बताए I
आउँदो बिहीबारदेखि शुरू हुने एसईईको सबै तयारी पूरा
काठमाडौं । यसवर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को सबै तयारी पूरा भएको रष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । बोर्डले परीक्षाका लागि प्रश्नपत्र, सिम्बोल नम्बर, उत्तरपुस्तिका र अन्य सामग्री सबै जिल्लामा पुगिसकेको जनाएको छ ।
यसवर्षको परीक्षामा अघिल्लो वर्षको तुलनामा ४९ हजार दुई सय ८६ जना बढी अर्थात पाँच लाख १४ हजार ७१ जना सहभागी हुँदैछन् । कार्यालयले यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ७९ परीक्षा केन्द्र निर्धारण गरेको छ ।
परीक्षामा एक सय ५० जनासम्म परीक्षार्थी भएको केन्द्रमा एक जना सहायक केन्द्राध्यक्ष हुने छन् भने २० जना विद्यार्थी बराबर एक जना निरीक्षक खटिने भएका छन् ।
यस पटकको एसईईमा बाल सुधार केन्द्र र कारागार गरी तीनवटा विद्यालय बाहिरका केन्द्र निर्धारण गरेको छ ।
यस वर्षको एसईई चैत ७ गतेदेखि शुरू भएर १९ गते सकिनेछ । परीक्षा बिहान ८ बजेदेखि बिहान ११ बजेसम्म सञ्चालन हुनेछ ।
पोखरामा खुँडा हानेर भागेका युवा खुँडासहित पक्राउ
पोखरा । पोखरामा धारिलो हतियार खुँडा प्रहार गरेर भागेका एक युवक पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नम्बर १८ स्थित फेवातालको किनारमा रहेको सेदी बसपार्कमा शनिबार साँझ २० वर्षीय समिर बडाललाई खुँडा प्रहार गरी भागेका पोखरा १७ विरौटा बस्ने २२ वर्षीय मनिष ठकुरीलाई प्रहरीले पक्राउ गरेको हो ।
अभियुक्त ठकुरीले लागूऔषध कारोबारमा कुरा नमिल्दा समिरलाई खुँडा प्रहार गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले जानकारी दिएको छ । खुँडा प्रहारबाट घाइते भएका बराललाई तत्काल उपचारका लागि गण्डकी मेडिकल कलेज पोखरामा लगिएकोमा उनी उपचारपछि घर फर्किएको पनि प्रहरीले बताएको छ ।
पक्राउ परेका ठकुरीविरुद्ध जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
राष्ट्रियसभाको बैठक बस्दै (कार्यसूचीसहित)
काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक दिउँसो सवा १ बजे संसद भवन नयाँ बानेश्वरमा बस्नेछ ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति तुलसा कुमारी दाहालले ‘बैंकिङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ सम्बन्धी विधायन व्यवस्थापन समितिको प्रतिवेदन सभा समक्ष पेस गर्ने कार्यसूची छ ।
यस्तै, शिक्षा विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
यसैगरी, मन्त्री भट्टराईले ‘विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् । उनले ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ पारित गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने कार्यसूची छ ।