समाजवादी विद्यार्थी सुनसरीको पहिलो बैठक सम्पन्न, चारवटा स्थानीय तहमा इन्चार्ज तोकियो
१७ फागुन, धरान । समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला समितिको पहिलो पूर्ण बैठक सम्पन्न भएको छ । शनिवार धरान ३ वसुन्धरा भवन स्थित जनता समाजवादी पार्टी धरान नगरको कार्यालयमा भएको बैठकले सुनसरी जिल्ला अन्तर्गतका बाह्र मध्ये चार स्थानीय तहका लागि इन्चार्ज र सह-इन्चार्जको जिम्मेवारी तोकेको हो ।
धरान उपमहानगरको लागि इन्चार्ज सन्जुहाङ लिम्बु ,सह–इन्चार्ज एरिना राई ईटहरी उपमहानगरका लागि नवराज किराती सह–इन्चार्ज देबि खापुङ लिम्बु बराहक्षेत्र, इनरुवा को लागि समितिका अध्यक्ष दिपेश राईलाई जिम्मेवारी दिइएको सुनसरी जिल्ला सचिव सुनन्द राईले बताए ।
बैठकले आगामी चैत्र ५ मा हुने स्ववियु निर्वाचनका लागि "मिसन चैत्र – ५" शीर्षकमा समितका अध्यक्ष दिपेस राई को नेतृत्व र तोकिएको इन्चार्ज सह ईन्चार्ज सदस्य रहने सदस्य सचिवमा सन्जुहाङ लिम्बु रहेको छुटै समिति समेत गठन गरेको उनले जानकारी गराए ।
बैठक समाजवादी विद्यार्थी युनियन सुनसरी जिल्ला अध्यक्ष दिपेश राईको अध्यक्षता र जसपा सुनसरी जिल्ला विद्यार्थी इन्चार्ज सुमन राईको उपस्थितिमा सम्पन्न भएको हो ।
शिक्षकलाई पार्टीहरूले दुरुपयोग मात्रै गरे : सुमना श्रेष्ठ
इटहरी । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले शिक्षकहरूलाई पुराना पार्टीहरूले दुरुपयोग मात्रै गरेको बताएकी छिन् । शनिवार सुनसरीको रामधुनीमा पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै श्रेष्ठले अहिलेको शैक्षिक नतिजा पार्टीले शिक्षकको दुरुपयोग गरेर आएको उल्लेख गरेकी हुन् ।
‘शिक्षक जस्तो सम्मानित पेसालाई राजनीतिक रूपमा दुरुपयोग मात्रै गरियो । उनले भनिन्, ‘त्यो शिक्षण पेसालाई दलीय राजनीति मुक्त नबनाउन्जेलसम्म केही हुने वाला छैन,’ सांसद श्रेष्ठले तालाबन्दीले विद्यालयमा पढ्ने वातावरणको सिजृना नभएको उल्लेख गरेकी छिन् ।
व्यवहारिक शिक्षाको आवश्यकता औँल्याएकी श्रेष्ठले दक्ष जनशक्ति बनाउन आवश्यक रहेको बताइन् । श्रेष्ठ पार्टीले जिल्लामा आयोजना गरेका विभिन्न कार्यक्रममा सहभागी भएकी छिन् ।
रिंकु सदाका हत्यारालाई कारवाही नगरेको भन्दै लहानमा प्रदर्शन
सिरहा । नवराजपुर गाउँपालिका–१ भगवतीपुर तामासुइयाकी १७ वर्षीया किशोरी रिंकु सदाको सामूहिक बलात्कारपछि दुरुत्साहनपूर्ण हत्या भएको घटनामा दोषीहरु उपर कानूनी कारवाही गर्न ढिलाई भएको भन्दै मुसहर समुदायले प्रदर्शन गरेका छन् ।
मुसहर समुदाय सघर्ष समिति सिरहाद्वारा लहानमा शनिबार एक विशाल प्रदर्शनको आयोजना गरियो । हजारौं मुसहर नरनारी, किशोर किशोरी तथा युवाहरुले न्यायको माग गर्दै लहानको सडकमा सिंहनाद गरे ।
उनीहरुले वास्तविक अपराधी पक्राउ गर्न प्रहरीले आनाकानी र ढिलाई गरिरहेको भन्दै दोषीलाई कानूनको कठघरामा ल्याउन ढिलाई गरे कडा सघर्षमा उत्रिने चेतावनी पनि दिए ।
मुसहर समुदायका अगुवा अरुण सदाले दलित, गरिब र कमजोर वर्गप्रति न्याय गर्न र उनीहरुको सुरक्षा प्रवन्ध गर्न सरकारसँग माग गरे । सदाले रिंकुलाई न्याय दिन ढिलाइ गरिए सिरहाको सडकमा आगो बल्ने दावी गरे ।
उनले स्थानीय प्रहरी प्रशासनलाई चेतावनीयुक्त स्वरमा भने,‘आन्दोलनको बाढीले बगाउला । सामुहिक बलात्कार र हत्या जस्तो जघन्य अपराधमा पनि अपराधी बचाउन खोज्ने प्रहरी तथा प्रशासनलाई छोडिने छैन ।’
प्रदर्शनसहितको ¥यालीले लहान बजार परिक्रमा गरेर स्थानीय प्रहरी र प्रशासन विरुद्ध चर्का नारा लगाएका थिए । कोण सभा गरी समापन गरिएको थियो ।
डिजेल र मट्टितेलको मूल्य घटयो, यस्तो छ मुल्य सूची
काठमाडौं । नेपाल आयल निगमले शनिबारदेखि लागु हुने गरि डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर १ रुपैयाँ घटाउने निर्णय गरेको छ ।
इन्डियन आयल कर्पोरेसन (आईओसी) बाट फेब्रुअरी २८, २०२५ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यमा आधारित रहेर निगम सञ्चालक समितिको बैठकले घटाउने निर्णय गरेको हो ।
आईओसीबाट प्राप्त मूल्य अनुसार डिजेल र मट्टितेलको खरिद मूल्यमा प्रतिलिटर ०.९० रुपैयाँ घटेको छ भने हवाई इन्धनको मूल्य प्रतिलिटर ०.४२ रुपैयाँले कम भएको छ । यस्तै, पेट्रोलको खरिद मूल्य प्रतिलिटर ०.५० रुपैयाँ र एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर ६.२७ रुपैयाँले बढेको छ ।
सोही अनुसार निगमले पहिलो वर्गका क्षेत्रमा डिजेल र मट्टीतेल १५२.५० रुपैयाँ, दोस्रो वर्गका स्थानमा १५४ र तेस्रो वर्गका स्थानमा १५५ रुपैयाँ पर्नेछ । पहिलो वर्गमा चारआली, विराटनगर, वीरगन्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्र पर्छन्।दोस्रो वर्गमा सुर्खेत र दाङ क्षेत्र पर्छन् भने तेस्रो वर्गअन्तर्गत काठमाडौं, पोखरा र दिपायल क्षेत्र पर्छन्। यद्यपि, पेट्रोल, काठमाडौँको आन्तरिक तथा अन्तर्राष्ट्रिय हवाई इन्धन र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् राखिएको निगमले जनाएको छ ।
इन्धनको हकमा भने पोखरा र भैरहवाको अन्तर्राष्ट्रिय उडानका लागि ब्रेक इभन प्वाइन्ट (लागत बराबरको मूल्य) कायम गरिएको निगमले जानकारी दिएको छ । निगमका अनुसार, मूल्य समायोजन भारतबाट प्राप्त नयाँ खरिद मूल्यलाई आधार बनाएर गरिएको हो । भारतबाट आयात हुने पेट्रोलियम पदार्थको मूल्यमा हुने उतारचढावलाई ध्यानमा राख्दै नेपाली बजारमा पनि समयानुकूल मूल्य समायोजन गर्ने नीति अवलम्बन गर्दै आएको निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
काठमाडौं महानगरले गुणस्तरीय शिक्षालाई व्यवहारमै लागु गरेको छ : डंगोल
काठमाडौं । काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले महानगरपालिका विद्यार्थीहरुलाई गुणस्तरीय शिक्षा दिनको लागि निरन्तर प्रयास गरिरहेको बताएकी छन् ।
शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होइन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेको भन्दै यसमा सबैको सहयोग आवश्यक भएको बताइन् ।
उनले भनिन्, ‘विद्यार्थीहरुले गुणस्तरीय शिक्षा पाउनुपर्छ, भन्ने कुरा नारामा मात्र होईन व्यवहारमा लागू गर्नका लागि निरन्तर प्रयास गरिरहेका छौ । महानगरपालिकाको बजेट पनि हेर्न सक्नुहुन्छ, बजेटमा पनि महानगरपालिकाको लागि हाम्रो बालबालिका कति प्राथमिकतामा परेको छ भन्ने कुरा झल्किन्छ । यो काम महानगरपालिका एक्लैले गरेर सम्भव छैन्, त्यसको लागि सबै जनाको सहयोग आवश्यक हुन्छ ।’
यसको साथै, उनले देश निर्माणमा काम गर्ने हो भने पहिला बालबालिकामा काम गर्नुपर्ने भन्दै बालबालिकाहरुलाई समसामयिक शिक्षा दिने अभ्यास र अभियानमा पनि रहेको बताइन् ।
लामो सुख्खा पछि पानी पर्दा स्थानीय खुसि
मुगु । मुगु लगाएत कर्णाली प्रदेशमा लामो समयपछि पानी पर्दा किसान हिउँदे अन्न बालि राम्रो हुने भन्दै खुसी भएका छन् । लामो समयपछि बिहीवारबाट वर्षा हुँदा किसानहरु निकै खुसी भएका हुन् ।
मुगु लगाएत आसपासका जिल्लाहरुमा बिहान ४ बजेबाट पानी परेसँगै मौसम अन्धकार बनेको छ । यससँगै जिल्लामा बिद्युत सेवा पनि अवरुद्ध भएको छ । लामो समय पछि पानी पर्दा बाँझो जमिन खनजोत गर्न तथा कार्तिके बाली कोदो, मकै छर्नका लागि खेतबारीमा हलो लगाउन सजिलो हुने छायाँनाथ रारा नगरपालिका वडा नं ५ का किसान दिनेश मल्लले बताएका छन् ।
मुगु जिल्ला आकासे पानीको सिँचाइले फलफूल खेती र तरकारी उत्पादनमा निर्भर हुने जिल्ला भएकोले कृषकहरुले स्याउ, ओखर, आरुलगाएतका बिरुवालगाउन निकै समस्या भएको थियो । गए रातिबाट पानी पर्दा अब कृषकहरुलाई फलफुलका बिरुवा लगाउन सहज हुने भएकोले खुसी भएको फलफुल कृषक मणिचन्द भामले बताएका छन् ।
कृषक भामका अनुसार पानी परेपछि मुगुका थुप्रै ठाउँमा भइरहेको आगलागी समेत नियन्त्रणमा आउने बताएका छन् ।
लामो समय देखि पानी नपरेपछि यो वर्ष हिउँदे खेतीमा नराम्रो असर परेको अब केही सुधार हुदै जाने छ भने बर्खे खेती र फलफुल खेति गर्ने कृषकहरुलाई राम्रो हुने भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ मुगुका प्रमुख तेज बिक्रम मल्लले बताए ।
‘सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै !’
सप्तरी । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सक्कली मधेसवादी दल माओवादी केन्द्र मात्रै भएकाले अब मधेसी जनताको मुक्तिको सम्पूर्ण जिम्मा माओवादीले लिने बताएका छन् ।
जनतासँग माओवादी, तराई मधेस जागरण अभियानअन्तर्गत सप्तरीको राजबिराजमामा आयोजित स्थानीय जनप्रतिनिधि, बुद्धिजीवी र नागरिक समाजका अगुवाहरूसँगको अन्तरक्रियालाई सम्बोधन गर्दै उनले यस्तो धारणा राखेका हुन् ।
मधेसी जनता मधेसवादको नारामा स्थापित नक्कली मधेसवादी दलको भुलभुलैयामा परेको भन्दै अध्यक्ष प्रचण्डले उनीहरूबाट मधेसी जनताको मुक्ति नहुने प्रमाणित भइसकेकाले अब वास्तविक मधेसवादी दल माओवादीसित जोडिनुपर्ने बेला आएको पनि बताए ।
आफूलाई मधेसवादी भन्ने दलहरूको दिशा जनतातिर नभई प्रतिक्रियावादी दिशा उन्मुख रहेकाले नक्कली मधेसवादी दलसँग सावधान रहन उनले आग्रह गरे ।
मधेसको मुक्तिविना देशको मुक्ति सम्भव छैन भन्ने दृढ मान्यताका साथ पार्टीले सबैभन्दा पहिले मधेसी मुक्ति मोर्चा गठन गरेर जनयुद्ध थालनी गरिएको स्मरण गराउँदै अध्यक्ष प्रचण्डले मधेससँगै वर्गीय मुक्तिका लागि जीवन आहुति दिने एक हजार तीन सय मधेसका सहिद सहित मधेस मुक्तिका लागि ज्यान गुमाउने सबै सहिदका सपनाको जिम्मेवारी पनि अब माओवादीले लिने प्रतिबद्धता व्यक्त गरे ।
सङ्घीयता, समावेशिताको बढी आवश्यकता मधेसी समुदायलाई भएको र यसको नेतृत्वकर्ता शक्ति माओवादी भएकाले अब माओवादी र मधेसी जनतको एकता अपरिहार्य र अनिवार्य भइसकेको अध्यक्ष प्रचण्डले स्पष्ट गरे ।
अन्य प्रदेशमा पहिचानको सवाल कम सम्बोधन भए पनि मधेस प्रदेशको नामाकरण पहिचानबाट भएकोमा गर्व महसुस भएको उल्लेख गर्दै उनले माओवादी र मधेसी जनता एक ठाउँमा केन्द्रित हुने होइन भने प्राप्त उपलब्धि खोसिने खतरा रहेकोतर्फ सचेत रहनुपर्ने बताए ।
राजनीतिक दलको तर्फबाट माओवादीले नै पहिलोपटक हुलाकी मार्ग केन्द्रित राजनीतिक अभियान सुरु गरिएको उल्लेख गर्दै उनले यसको मुख्य उद्देश्य यस क्षेत्रका जनताको आर्थिक सामाजिक जीवनमा परिवर्तन ल्याउनु भएको स्पष्ट पारे ।
नेपालमा सबैभन्दा पुरानो सडकको रूपमा हुलाकी मार्ग रहेको भए पनि राज्यले अलपत्र पारेको अवस्थामा आफू प्रधानमन्त्री भएको बेला भारत भ्रमणमा जाँदा समकक्षी नरेन्द्र मोदीलाई यो सडक बनाउने हो कि होइन भनेर प्रश्न गरेपछि उनले बनाउने नै हो भन्ने प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रचण्डले त्यसपछि हुलाकी मार्ग निर्माण सुरु भएको र आफूले सिराहामा आएर यसको उद्घाटन गरेको जानकारी दिए ।
मधेसमा सिँचाइ, मल बीउ आदिका समस्या समाधान, कृषि उत्पादन वृद्धि र बजारीकरण, शिक्षा, स्वास्थ्य आदिको अवस्थामा परिवर्तन ल्याउन पार्टी पूर्णरूपमा समर्पित भएर लाग्ने प्रतिबद्धता पनि दिए ।
पार्टीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले माओवादी नेतृत्वको सरकारले थालेको मिटरब्याज पीडितलाई न्याय दिन थालेको ऐतिहासिक अभियान अहिले रोकिएको उल्लेख गर्दै पार्टीको गत केन्द्रीय समिति बैठकले मधेस प्रदेशमा प्रदेशस्तरीय र अन्य प्रदेशका जिल्लाहरूमा मिटरब्याज पीडित संघर्ष समिति बनाएर आन्दोलन अघि बढाउने जानकारी दिए । पार्टीले थालेको सुशासनको अभियान भ्रष्टाचार विरुद्धको अभियान मात्र नभएर दलाल पुँजीवादविरुद्धको आन्दोलन भएको पनि बताए ।
आज शेर्पा समुदायको ग्याल्पो ल्होसार, विविध कार्यक्रमहरु गरेर मनाईँदै
काठमाडौँ । आज ग्याल्पो ल्होसार । प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रमहरु आयोजना गरी आज मनाइँदै छ ।
शेर्पा समुदायले नयाँ वर्षका रूपमा २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । ल्होसार मनाउने समुदायमा ‘ल्होसार’ अर्थात् वर्षहरू बाह्र वटा हुन्छन् । ती वर्षका नामहरूलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता पशुपन्छी र जीवजन्तुका नामबाट राखिएको पाइन्छ ।
ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो ।
नेपालको हिमाली क्षेत्रमा बसोबास गर्ने शेर्पा समुदायले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाउँदछन् । शेर्पा समुदायले ल्होसार सुरु हुनु एक महिना अघि नै आ–आफ्नो घर रङ्गाउने, फोहोरहरू फाल्ने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् । उनीहरूले सम्बोटा लिपिलाई सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्ट मङ्गलका चिन्हहरूले घर सजाउने गर्दछन् ।
तिन प्रकारका ल्होसारहरू मध्य हिमाली समुदायले मनाउने ल्होसारलाई विशेषतः ग्याल्पो ल्होसार भनिन्छ, तथापि यस ल्होसारमा अन्य समुदायहरूको पनि उत्कृष्ट समभाव अनि सक्रियता पाइन्छ । शेर्पा, तामाङ, गुरुङ, हुम्ली, मुस्ताङे अनि मनाङै लगायत अन्य धेरै समुदायको यो एउटा साझा ल्होसार हो ।
विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल बढेर २२ जिल्लामा मनाइन्छ ।
कुलमानका पक्षमा माइतीघर मण्डलामा प्रदर्शन
काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका समर्थकहरूले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । विहीवार ‘नेपाली जनता’को व्यानरमा खबरदारी कार्यक्रम गरिएको हो । सरकारले घिसिङलाई पदबाट हटाउने तयारी गरेपछि समर्थकहरू सडकमा आएका हुन् ।
‘देशलाई अन्धकारमा धकेल्ने सरकार चाइदैन,कुलमान घिसिङलाई प्राधिकरणबाट हटाउन पाइदैन ।’ भन्ने नाराका साथ हातमा टुकी बत्ती लिएर खबरदारी गरिएको छ ।
प्रदर्शनकारी सुखी नेपाली अभियानका संयोजक रामेश्वर श्रेष्ठले देशलाई माया गर्ने व्यक्ति देशलाई चाइएको व्यक्ति हटाउन पाइदैन भन्दै कुलमानलाई स्पष्टीकरण सोधेर काम गर्ने वातावरण नदिएको बताएका छन् । यस्तै समाजसेवी प्रकाश कुवँरले कुलमानलाई हटाउदा सरकार नै हट्ने वातावरण बन्ने बताए ।
खानेपानी संस्थानलाई नाफामा लगेरै छाडिन्छ : मन्त्री यादव
काठमाडौं । खानेपानी मन्त्री प्रदिप यादवले नयाँ योजना र सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा लानेगरी कामहरू भइरहेको बताएका छन् । बिहीबार काठमाडौँमा खानेपानी संस्थानको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले घाटामा रहेको खानेपानी संस्थानलाई मुनाफामा ल्याउनको लागि सबैले प्रयास गर्नुपर्ने भन्दै यसको लागि मन्त्रालयको तर्फबाट पनि प्रयास गर्ने बताए ।
उनले भने, ‘नयाँ योजना र नयाँ सोचका साथ घाटामा रहेको संस्थानलाई नाफामा कसरी ल्याउने भनेर मन्त्रालयले संस्थानका साथीहरूसँग बसेर छलफलमार्फत नाफामा ल्याउँछ, अगाडि बढाउँछ । नेपाल खानेपानी संस्थान घाटामा छ । यसलाई मुनाफामा ल्याउनको लागि कम्मर कस्नुपर्छ । नत्र सबैको कम्मर भाँचिन सक्छ । संस्थान बच्न सकेन भने हामी कोही बाच्न सक्दैनौँ ।’
यसको साथै, उनले जनतालाई सेवा दिने मन्त्रालयमा आएको भन्दै जनताको पक्षमा निर्णय लिनको लागि कहिले पनि पछि नहट्ने बताए ।
उनले भने, ‘मेरो कलम चलेसम्म म डराउने मान्छे होइन, मन्त्रीको तेस्रो कार्यकाल हो । निर्णय गर्ने कुरामा म कहिले पनि डराउदिन्, कसैको डर छैन् । जनतालाई सेवा दिने मन्त्रालयमा म आएको छु ।’


