महिला टी–२० श्रृङ्खलामा नेपालको लज्जास्पद हार
काठमाडौं । काठमाडौंमा भएको महिला टी–२० श्रृङ्खलामा नेपालले लज्जास्पद प्रदर्शन गरेको छ । नेपालले खेलेका सबै ६ खेलमा हार बेहोरेको हो । शुक्रबार भएको अन्तिम खेलमा नेपाल थाइल्याण्डसँग ७ विकेटले पराजित भयो । कीर्तिपरस्थित त्रिवि क्रिकेट मैदानमा ८२ रनको चुनौती थाइल्याण्डले १७ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो ।
यसअघि नेपालले टस जितेर पहिले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ८७ रन बनायो । सम्झना खड्काले सर्वाधिक १७ रन बनाएको इनिङ्समा कविता जोशीले १४ तथा डेब्यु खेलाडी राजमती ऐरीले १७ बलमा अविजित रहँदै ११ रन बनाइन् ।
नेपाल यसअघि खेलेका पाँच वटै खेलमा पराजित भएको थियो । यसअघि नेपाल नेदरल्याण्ड्ससँग २० रन, १५ रन र १० विकेटले तथा थाइल्याण्डसँग ४ विकेट र पाँच रनले पराजित भएको थियो ।
थाइल्याण्ड भने पाँच खेल जितेर उपाधि जित्न सफल भएको छ । नेदरल्याण्ड्स ८ अंकसहित दोस्रो भएको छ ।
बेलायती राजकुमार पोखरामा, गोर्खा सैनिकमा भर्ती भएकाहरूसँग भेटघाट
पोखरा । नेपाल भ्रमणमा रहेका बेलायती राजकुमार एडवार्ड र राजकुमारी डचेस सोफी पोखरामा छन् । उनीहरूले गोर्खा सेनामार्फत बेलायत–नेपाल मित्रताको गहिरो सम्बन्ध रहेकोबारे चर्चा समेत गरे ।
बेलायती सेनामा औपचारिक रूपमा सामेल भएका २७४ नेपाली युवाहरूको वार्षिक प्रमाणीकरणमा सहभागी भएका उनीहरूले गोर्खा सैनिकमा नेपालीहरूको सक्रियताको प्रशंसा गरेका थिए । त्यस क्रममा बेलायती सेनामा नयाँ भर्ना भएका केही युवाका परिवारका सदस्यहरूसँग भेटघाट पनि गरेका थिए ।
अत्यधिक प्रतिस्पर्धात्मक भर्ती प्रक्रिया पछि २७४ जना प्रशिक्षार्थी राइफलम्यानहरू बेलायती सेनामा सामेल हुनेछन् । गोर्खा सेनाको ब्रिगेड ब्यान्डको नेतृत्वमा परेडको मार्च–आउटमा नेपालभरबाट आएका नयाँ भर्ती भएकाहरूका परिवारका सदस्यहरू उपस्थित थिए ।
राजकुमारले भने, ‘अब तपाईँ गोर्खा सैनिक बन्नुभएको छ । यस वर्ष भर्ती हुन सम्भावना बोकेका १३,००० भन्दा बढीमध्ये केवल २७४ नयाँ गोर्खा मध्ये एक हुनुहुन्छ । यो तपाईँको जीवनको सबैभन्दा ठूलो चुनौतीहरू मध्ये एक रहेको छ । आफ्नो उपलब्धिमा धेरै गर्व महसुस गर्न सक्ने अवस्थामा हुनुहुन्छ ।’
उनीहरू बेलायतको क्याटरिङमा रहेको सैन्य प्रशिक्षण केन्द्र (आइटीसी) पुग्नेछन्, जहाँ उनीहरूले नौ महिना लामो प्रशिक्षणमा सहभागी हुनेछन् ।
समारोहमा उपस्थित अन्य व्यक्तित्वहरू नेपालका लागि बेलायती राजदूत रोब फेन; गोर्खा ब्रिगेडका कर्नल कमान्डेन्ट मेजर जनरल स्ट्रिकल्याण्ड डिएसओ एमबीइ; गोर्खा ब्रिगेडका डेपुटी कर्नल कमान्डेन्ट मेजर जनरल द लर्ड ल्यान्कास्टर टिडी पीसी; ब्रिटिस गोर्खा नेपाल (बिजीएन) का कमान्डर कर्नल ड्यान रेक्स एमभिओ; र बिजीएनका डेपुटी कमान्डर लेफ्टिनेन्ट कर्नल राजेशकुमार गुरुङले भर्ती भएका नयाँ सैनिकहरूको प्रमाणीकरणको अवलोकन गरे ।
परेडमा गोर्खा र ब्रिटिस कर्मचारीहरूलाई ३८ वटा राज्याभिषेक पदक र दुई वटा दीर्घ सेवा तथा असल आचरण पदकहरू पनि प्रदान गरिएको थियो । राजकुमार र राजकुमारीले १०४ वर्षीय आशा कुमारी तामाङलाई पनि भेटेका छन् । जसका स्वर्गीय श्रीमान्ले दोस्रो विश्वयुद्धमा चौथो गोर्खा राइफलमा आबद्ध भई सेवा गरेका थिए ।
राजकुमार दम्पतीलाई पोखराका मेयर धनराज आचार्य, प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले स्वागत गरेका थिए । उनीहरू बिहीबार र शुक्रवार कास्कीमा रहने छन् ।
पृष्ठभूमि
गोर्खा वेल्फेयर ट्रस्ट भूपू गोर्खा सैनिक, उनीहरूका परिवार र समुदायलाई सहयोग गर्न समर्पित अग्रणी परोपकारी संस्था हो । यसको स्थापना सन् १९६९ मा कल्याणकारी पेन्सनधारीहरू (एमओडी पेन्सनका लागि योग्य हुनु अगावै बेलायती सेना छोडेका)लाई आर्थिक सहायता प्रदान गर्न भएको थियो । आज ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई नेपालमा र भारत जहाँ केही गोर्खा लाभग्राहीहरूले आर्थिक र स्वास्थ्य सहयोग प्राप्त गरिरहेका छन् सम्मानित जीवन बाँच्न सकिन् भन्ने कुरा सुनिश्चित गर्न आर्थिक, स्वास्थ्य र विकासजन्य सहायता प्रदान गर्दछ । नेपालस्थित ५१५ जनाको प्रभावकारी टोलीमार्फत ट्रस्टले नेपालभरि उल्लेखनीय प्रभाव पारेको छ, प्रत्येक वर्ष लगभग २ करोड ४० लाख पाउण्ड विभिन्न कार्यमा खर्च गर्दै आएको छ जस्तै ः हजारौँ गरिब भूपू गोर्खा सैनिक र विधवाहरूलाई कल्याणकारी पेन्सन र अनुदान, जसले उनीहरू सम्मानका साथ बाँच्न सकून् भन्ने कुरा सुनिश्चित गरेको छ; भूकम्पपछि राहत र उत्थानशील आवास (ट्रस्टले भूपू गोर्खा सैनिक र उनीहरूका विधवाहरूका लागि तत्काल राहत सहयोग उपलब्ध गराउनुका साथै १,७५० भन्दा बढी भूकम्प–प्रतिरोधी घरहरू निर्माण गरिसकेको छ ); स्वास्थ्य उपचार सेवाः भूपू गोर्खा सैनिक र उनीहरूका परिवारहरूलाई उच्चस्तरको स्वास्थ्य सेवा प्रदान गर्दै आएको छ । गत वर्ष २१ हजार २०० भन्दा बढी बिरामीहरूले चिकित्सा सेवा प्राप्त गरे; स्वच्छ खानेपानी र सरसफाइ (गत वर्ष मात्र १,५९० धाराहरू जडान गरी दुर्गम समुदायहरूमा स्वच्छ खानेपानी पु¥याउने काममार्फत ८ हजार ८०० भन्दा बढी व्यक्तिहरू लाभान्वित भएको); र शिक्षाः ट्रस्टको विद्यालय कार्यक्रमले दुर्गम क्षेत्रहरूमा विद्यालयहरू निर्माण र मर्मतसम्भार गर्दछ जसले नेपाली बालबालिकाहरूको शिक्षामा पहुँच सुधार हुनपुगेको छ ।
ब्रिगेडियर ’बनी’ बर्नेटले सर होरेस कदुरीलाई नेपालमा रहेका भूपू सैनिकहरूलाई ब्रिगेड अफ गोर्खाजले कसरी राम्रो सहयोग पु¥याउन सक्छ भन्ने बारेमा चासो व्यक्त गर्दा कदुरी कृषि सहायता संघ सन् १९६८ बाट सुरु भएको हो । योजना सुरु भएदेखि कदुरी परिवारले नेपालका पहाडी समुदायहरूको सहयोगार्थ १२ करोड ५० लाख पाउण्ड उपलब्ध गराइसकेको छ । संघले हाल कृषिमा भन्दा पनि पूर्वाधार इन्जिनियरिङ र तालिमको क्षेत्रमा धेरै काम गर्छ ; तर सारमा यो “आफूलाई मद्दत गर्नेहरूलाई मद्दत गर्ने” र “वञ्चितीकरणमा परेकाहरूको जीवनमा अवसर निम्त्याउने“ बारे हो । संघलाई पूर्णतः कदुरी चैरिटेबल फाउन्डेसनले आर्थिक सहायता प्रदान गर्दै आएको छ; ःएमओडीको अनुरोधमा र उनीहरूको सहयोगमा यो गोर्खा कल्याण ट्रस्टसँगै कार्यान्वयन साझेदारको रूपमा काम गर्दछ । सामान्यतया प्रतिवर्ष लगभग ७ करोड ५ लाख पाउण्ड बराबरका क्रियाकलापहरूमा पूर्वाधार, रोजगारी तालिम, विशेष परियोजनाहरू, र केही स्वविवेकी योजनाहरू समावेश हुनेगर्छन् । पछिल्लो समय यसले २०७२ साल को भूकम्पमा नष्ट हुन पुगेकालाई प्रतिस्थापन गर्न ८०० वटा घरहरू निर्माण गर्नुका साथै नेपालको कोभिड प्रतिक्रियामा उदारतापूर्वक योगदान दिएको छ ।
७ फेब्रुअरीमा ब्रिटिस गोर्खा पोखरा (बीपीपी) मा हुने भर्ती इन्टेक २५ (आरआइ२५) प्रमाणीकरण परेड ब्रिटिस गोर्खा नेपाल (बिजिएन) द्वारा सञ्चालित तीन चरणको छनोट प्रक्रियाको अन्तिम क्रियाकलाप हो । परेडमा गोर्खाजको ब्रिगेडमा सामेल हुने २७४ जना प्रशिक्षार्थी राइफलम्यान सहभागी हुनेछन् । त्यसका लागि गत मार्च महिनाभरि १३ हजार भन्दा बढी सम्भावित व्यक्तिहरूले गोर्खा सैनिक बन्न आवेदन दिएका थिए । स्वतन्त्र, निष्पक्ष र पारदर्शी भन्ने गोर्खा भर्तीको मन्त्रको परिपालना भएको सुनिश्चित गर्न सम्पूर्ण प्रक्रियालाई स्वतन्त्र रूपमा आश्वस्त पार्ने काम गरिन्छ ।
सबैभन्दा ठूलो एवम् घातक हत्याकाण्डका कारण शोकमा स्वीडेन
एजेन्सी । सबैभन्दा घातक सामूहिक गोलीबारीका कारण ११ व्यक्तिको मृत्यु भएपछि स्वीडेन शोकमा डुबेको छ । मंगलबार राजधानी स्टकहोमको पश्चिमतर्फ रहेको ओरेब्रोको रिसबर्गस्का क्याम्पसमा सबैभन्दा ठूलो एवम् घातक हत्याकाण्ड भएको हो ।
प्रधानमन्त्री उल्फ क्रिस्टर्सनले इतिहासको सबैभन्दा ठूलो सामूहिक हत्या कान्ड भएको पुष्टि गरे । घटनापछि पत्रकार सम्मेलन गर्दै उनले मृतकप्रति श्रद्धाञ्जली तथा पीडित परिवारप्रति समवेदन व्यक्त गरेका छन् ।
विद्यालय परिसरभित्र एक बन्दुकधारीले अन्धाधुन्ध गोली चलाएका थिए । मृत्यु हुनेमा गोली प्रहार गर्ने सन्दिग्ध पनि रहेको प्रहरीले जनाएको छ । उनी को थिए भन्ने आधिकारिक रूपमा पुष्टि नभएपनि ३५ वर्षीय बेरोजगार व्यक्ति रहेको अनुमान गरिएको छ ।
सन्दिग्धले तीनवटा हतियार, धेरै राउन्ड बारुद र एक चक्कु बोकेको प्रहरीले जनाएको छ । हरियो सैनिक पोसाकमा रहेको उनी पहिले क्याम्पसको एउटा बाथरुममा प्रवेश गरेको र त्यसपछि आक्रमण सुरु गरेको बताइएको छ ।
घट्नाको अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरूले रिसबर्गस्का वयस्क शिक्षा केन्द्रको क्याम्पसको दृश्यलाई ‘अराजकता र आतङ्क’ भनिएको छ ।
घट्नामा परी घाइते भएका ६ जना अस्पतालमा रहेका छन् । तीमध्ये अधिकांश गम्भीर तर स्थिर अवस्थामा छन् ।
घटनापछि स्वीडेन सरकारले केही परिवारहरूसँग शोक मनाइरहेको छ । स्थानीय र घट्ना प्रभावितहरूले आँसु थाप्न सकेका छैनन् भने एक अर्कालाई सान्त्वना दिइरहेका छन् । (सीसीटीभीप्लस)
शुक्रवार सुनको मूल्य घट्यो
काठमाडौँ । शुक्रवार सुनको मूल्य सामान्य घटेको छ भने चाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा तोलामा ४०० रुपैयाँ घटेको हो ।
महासंघका अनुसार बिहीबार सुनको मूल्य तोलामा १ लाख ६८ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो भने आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६८ हजार १०० रुपैयाँमा कायम भएको छ ।
यसैगरी, आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेको छ । बिहीबार तोलामा १ हजार ९८० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रवार तोलामा एक हजार ९८५ रुपैयाँमा कायम भएको महासंघले जनाएको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बैठक बस्नेछ ।
आजको बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतीय व्यापार विधेयक सम्बन्धी समितिको प्रतिवेदन २०८१ पेस गर्ने कार्यसूची छ ।
त्यस्तै, कानुनमन्त्री अजय कुमार चौरसियाले कानुन, न्याय तथा मानवअधिकार समितिको प्रतिवेदनसहितको विधायन विधेयकमाथि छलफल गरियोस् र विधायन विधेयकलाई पारित गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।
यसैगरी आजको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरदसिंह भण्डारीले अन्तर्राष्ट्रिय श्रम संगयठनको अन्तर्राष्ट्रिय सम्मेलनले स्वीकृत गरेका नयाँ अन्तर्राष्ट्रिय श्रम मापदण्डहरूको संयन्त्रहरू (महासन्धी, प्रोटोकल र सिफारिस)सम्बन्धी प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको छ ।
यस्तै आज प्रतिनिधि सभा अन्तर्गत गठित पूर्वाधार विकास समितिको बैठक पनि बस्दैछ । बिहान ९ बजे बस्ने बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयसँग छलफल हुदैछ ।
आज नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा आगामी दिनमा हुने राष्ट्रिय खेलकुदको विद्यमान अवस्था, भए गरेका कामकारबाही, समस्या र भावी कार्यदिशाका सम्बन्धमा युवा तथा खेलकुद मन्त्रालयसँग छलफल हुदैछ ।
एनआरएनलाई भिसा दिने प्रावधान हास्यास्पद : प्रचण्ड
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले गैरआवासीय नेपाली (एनआरएन) हरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद भएको टिप्पणी गरेका छन् ।
बिहीबार प्रतिनिधि सभामा बोल्दै पूर्व प्रधानमंत्री प्रचण्डले सो अध्यादेशमा भएको व्यवस्थाप्रति गैरआवासीय नेपालीहरूले असन्तुष्टि जनाइरहेको जनाए ।
‘हामी सबैको सहमतिमा नेपालको संविधानमा गैरआवासीय नेपाली नागरिकताको प्रावधान हामीले राख्यौं । म प्रधानमन्त्री हुँदा मेरै हातले एनआरएनएका तत्कालीन अध्यक्ष कुल आचार्यलाई पहिलो गैर आवासीय नेपाली नागरिकता प्रदान गरेँ’, प्रचण्डले भने, ‘त्यसयता झन्डै चार हजार जना एनआरएनहरुले गैरआवासीय नेपाली नागरिकता लिइसक्नु भएको छ । तर सरकारले मातहतका निकायलाई एउटा सर्कुलरसम्म नगर्दा त्यसको कार्यान्वयन हुन सकेको छैन । यो कागजको खोस्टो सरह भयो भनेर उहाँहरूले गुनासो गरिरहनु भएको छ । अहिले आएर एनआरएनहरुलाई निःशुल्क भिसा दिने प्रावधान राख्नु हास्यास्पद छ ।’
संविधानले नै राजनीतिकबाहेकका सबै अधिकार नेपाली नागरिक सरह पाउने कुरा सुनिश्चित गरिसकेपछि फेरि भिसाको प्रावधान संविधानको मर्म र भावना विपरीत पनि भएको उनले बताए ।
‘यसले एनआरएन लगानीलाई मात्र दुरुत्साहन गर्दैन, दोस्रो तथा तेस्रो पुस्ताका एनआरएनलाई नेपालसँग जोड्ने पहलमा पनि आघात पुग्छ । त्यसैले संविधानले एनआरएनहरुलाई दिएको अधिकारमा दायाँबायाँ नहुने गरी तत्काल कार्यान्वयनमा ल्याउन म सरकारलाई खबरदारी गर्दछु’, प्रचण्डले भने ।
एनआरएन नागरिकता लागू गर्न अपिल
यसैबीच एनआरएनका पूर्व केन्द्रीय अध्यक्ष कुल आचार्यले संविधानले उल्लेख गरेका सम्पूर्ण अधिकार उपभोग गर्न पाउने गरी एनआरएन नागरिकता लागू गर्न र व्यवहारिक कठिनाइ तथा वाधा व्यवधान हटाउन तत्काल निर्देशन दिन प्रधानमंत्री केपी शर्मा ओली, सम्बद्ध मंत्रीहरु तथा नेपाल सरकारलाई हार्दिक आग्रह गरेका छन् । उनले अध्यादेशमा रहेको एनआरएनहरुलाई भिसा दिने प्रावधान हटाउन साथै संविधानले दिएको अधिकार कार्यान्वयन गराउनको लागि आआफ्नो ठाउँबाट पहलकदमी गर्न पनि संसारभरि रहेका एनआरएनहरुलाई आग्रह गरेका छन् । उनले संसदमा गैरआवासीय नेपाली नागरिकताको तत्काल कार्यान्वयन गर्न नेपाल सरकारलाई आग्रह गरेकोमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई धन्यवाद पनि दिएका छन् । उनले २०८० अशोज ३० गते पहिलो गैर आवासीय नेपाली नागरिकता प्राप्त गरेका थिए ।
बारामा अवैधरुपमा गरिएको गाँजा खेती नष्ट
बारा । बारा प्रहरीले ९ बिगाहा खेतमा लगाएको अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको छ । जिल्ला प्रहरी कार्यालय मातहत प्रहरी ईकाइ कार्यालयहरूबाट खटीएका प्रहरी टोलीले गाँजा खेती फँडानी तथा नष्ट गरेको हो ।
इलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटीएकोे प्रहरी टोलीले जीतपुर सिमरा उपमहानगरपालिका वडा नं.२२ को चकरी गाउँ र नयाँ बस्ती टोल क्षेत्रमा लगाएको ५ बिगाहा गाँजा फँडानी गरेको प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार करिब १ लाख गाँजाका बोटहरू नष्ट गरिएको छ ।
इलाका प्रहरी कार्यालय निजगढको प्रहरी टोलिले निजगढ नगरपालिका, वडा नं.१२ र वडा नं. १३ ४ बिगाहा खेतीमा लगाएको गाँजा फँडानी गरेको उनले जानकारी दिए । सो क्षेत्रमा करिब ८० हजार गाँजाका बोटहरू नष्ट गरिएको प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । जिल्ला प्रहरी कार्यालयबाट खटिएको मातहतको टोलिले माघ २४ गते बिहान साढे ९ बजेदेखि साँझ करिब ७ बजेसम्म अवैध गाँजा खेती फँडानी तथा नष्ट गरेको हो । अवैध गाँजा एक लाख ८० हजार बोटहरू फँडानी तथा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार आज पनि अमेरिकी डलरको मूल्यमा पुनः वृद्धि भएको छ ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलर एकको खरिददर १३९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४० रुपैयाँ ४३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १४४ रुपैयाँ ९६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ५८ पैसा, हङकङ डलर एकको खरिददर १७ रुपैयाँ ९६ पैसा र बिक्रीदर १८ रुपैयाँ ०४ पैसा कायम गरिएको छ ।
यस्तै, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७३ रुपैयाँ ७८ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ४९ पैसा र बिक्रीदर १५५ रुपैयाँ १५ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ६४ पैसा र बिक्रीदर ८८ रुपैयाँ ०१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८६ पैसा, सिङ्गापुर डलर एकको खरिददर १०३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १०३ रुपैयाँ ८० पैसा कायम गरिएको छ ।
यस्तै राष्ट्र बैङ्कले आज जापानी येन १० को खरिददर नौ रुपैयाँ १७ पैसा र बिक्रीदर नौ रुपैयाँ २१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १८ पैसा र बिक्रीदर १९ रुपैयाँ २६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३७ रुपैयाँ २८ पैसा र बिक्रीदर ३७ रुपैयाँ ४४ पैसा, कतारी रियाल एकको खरिददर ३८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ३८ रुपैयाँ २३ पैसा , थाई भाट एकको खरिददर चार रुपैयाँ १४ पैसा र बिक्रीदर चार रुपैयाँ १६ पैसा, युएई दिराम एकको खरिददर ३८ रुपैयाँ ०७ पैसा र बिक्रीदर ३८ रुपैयाँ २३ पैसा तोेकिएको छ ।
यसैगरी मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ५३ पैसा र बिक्री दर ३१ रुपैयाँ ६६ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपैयाँ ६५ पैसा र बिक्रीदर नौ रुपैयाँ ६९ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ८१ पैसा र बिक्रीदर १२ रुपैयाँ ८६ पैसा तोकिएको छ ।
कुवेती दिनार एकको खरिददर ४५३ रुपैयाँ १२ पैसा र बिक्रीदर ४५५ रुपैयाँ ०६ पैसा, बहराइन दिनार एकको खरिददर ३७० रुपैयाँ ९० पैसा र बिक्रीदर ३७२ रुपैयाँ ४९ पैसा र ओमनी रियाल एकको खरिददर ३६३ रुपैयाँ १८ पैसा र बिक्रीदर ३६४ रुपैयाँ ७४ पैसा निर्धारण भएको छ ।
‘फेरि रेशम फिलिली’ को टिजर सार्वजनिक
काठमाडौं । महाशिवरात्रीको अवसर पारेर फागुन १४ गतेबाट रिलिज हुने सिनेमा ‘फेरि रेशम फिलिली’को टिजर सार्वजनिक गरिएको छ ।
बिहीबार सार्वजनिक सिनेमाको १ मिनेट ४१ सेकेण्ड लामो टिजरले अमेरिका जान एक युवाले गर्ने संघर्षको कथा प्रस्तुत गरिएको छ ।
सिनेमाको टिजरमा सार्वजनिक संवादले चर्चा पाउने देखिन्छ । सिनेमाको टिजरले दर्शकमाझ कौतुहलता पैदा गर्न सफल देखिन्छ । रोचक ढंगले काटिएको टिजरले सिनेमाको कथावस्तु प्रकाश पार्छ । सिनेमाको यसअघि सार्वजनिक पोस्टर तथा गीतले दर्शकमाझ सिनेमाप्रति अपेक्षा बढाइरहँदा टिजरले ‘फेरि रेशम फिलिली’ प्रतिको उत्साह अझै थपेको छ ।
सिनेमामा विनय श्रेष्ठ, सुपुष्प भट्ट, कामेश्वर चौरासिया, नीर शाह, प्रकाश घिमिरे, शिशिर वाङ्गदेल, रविन्द्र झा, लक्ष्मी गिरी, महेश त्रिपाठी, एवनराज उप्रेती, मेक्सम गौडेल, प्रकाश घिमिरे, सजन थापा लगायतको पनि अभिनय छ ।
सुसन प्रजापतीको छायांकन, निर्देशक महर्जन र आकाश बरालको पटकथा, नरेश किङ्ग योगीको द्वन्द्व निर्देशन तथा कालीप्रसाद बाँस्कोटा, एसडी योगी, हर्क साउद, जयन जे वाइवा र दीपक शर्माको संगीत र सुरेन्द्र पौडेलको सम्पादन सिनेमामा रहेको छ ।
सिनेमा आर्ट र वि मोसन पिक्चर्सको सहकार्यमा निर्माण भएको सिनेमामा रौनक विक्रम कडेल निर्माता तथा कार्यकारी निर्माता सुरज बम ठकुरी र सह–निर्मातामा एनि थापा छन् । सिनेमालाई निरोज महर्जनले निर्देशन गरेका हुन् । सिनेमाको कथा पनि उनले नै लेखेका हुन् ।
सिनेमाको पोस्टर डिजाइन ट्राइडेन्ट कन्सेप्टका रोयल भिमसेनले गरेका हुन् । यो सिनेमालाई गोविन्द शाहीको काफिया फिल्मस् र कुवेर सिने डिष्ट्रीव्युसनले वितरण गर्दैछन् । यो वर्षकै प्रतिक्षित मध्यको एक सिनेमा हो ।
सोरु गाउँपालिकाका स्थानीय बासीहरू जोखिम मोलेर पुल तर्न बाध्य
मुगु । सोरु गाउँपालिकाको कुलाहा स्थित झोलुङ्गे पुल जीर्ण भएपछि स्थानीय बासीहरु जोखिम मोलेर पुल तर्न बाध्य छन् । पुल जीर्ण हुँदा कालै, खनाया, जिमा, पुरुमुरु लगायत दर्जनौं भन्दा बढी गाउँका नागरिकलाई वारिपारि गर्न मुस्किल भएको छ ।
मुगुको कुलाहास्थित मुगु कर्णाली नदीको जीर्ण झोलुङ्गे पुल लामो समयदेखि जीर्ण बन्दा स्थानीयलाई ज्यानकै बाजी थापेर पुल तर्नुपर्ने बाध्यता छ ।
खनाया गाउँका जनकबहादुर शाहीले पुल जीर्ण भएको झन्डै एक दशक बिते पनि मर्मतमा बेवास्ता भइरहेको बताए । उनका अनुसार पुलमा बिछ्याइएका पाताहरू सबै उप्किएका छन् भने वरपरको तार जाली खियाले चुँडिएको छ ।
उनले भने, ‘टाढाबाटै हेर्दा पुल डरलाग्दो छ, एक जना भन्दा बढीले पुल तर्न सकिँदैन, हिँडाइको सन्तुलन नमिले कुन बेला नदीमा खसिने हो थाहै हुँदैन ।’
छेदविच्छेद भएको उक्त पुलमा पशुचौपायालाई पनि वारपार गराउनुपर्ने भएकाले थप जोखिम भएको उनले बताए । उनका अनुसार हिउँद लागे पनि कर्णाली नदीको बहाब नघटेकाले अहिले पनि नदी तर्न नसकिने बताए ।
स्थानीय सोरु गाउँपालिकाको केन्द्र पुग्न यसै पुलमार्फत आउजाउ गर्ने गरिन्छ । योजना सम्झौता गर्न, बजेट माग गर्न, सामाजिक सुरक्षा भत्ता बुझ्न, बैँकमा खाता खोल्न र सरकारी सेवा लिन जोखिमपूर्ण पुल तर्नुपर्ने बाध्यता भएको स्थानीय हर्कबहादुर शाहीले बताए ।
उनका अनुसार बालबालिका र ज्येष्ठ नागरिक भने पुल तर्न डराउँदा उनीहरूले लामो समयदेखि गाउँ छोड्न सकेका छैनन् । प्रदेश सरकारदेखि स्थानीय तहसम्मको ध्यानाकर्षण गराए पनि पुल निर्माणमा कसैको चासो नगएको उनको गुनासो छ ।
‘दैनिक उपभोग्य सामग्री ढुवानी गर्न पनि समस्या भइसक्यो, सोरुकोट बजार जान पनि यो पुल तर्नुको विकल्प छैन,’ उनले भने, ‘पुल जीर्ण हुँदा स्थानीय उत्पादन पनि बजारसम्म पु¥याउन सकिएको छैन ।’
कुलाहा पुल धेरै पुरानो र जीर्ण भएको हुँदा बजेट छुट्याएर जीर्ण पुल मर्मत गर्ने योजना भई रहेको सोरु गाउँपालिका अध्यक्ष धर्मबहादुर शाहीले बताए । शाहीका अनुसार पालिकाभरि कति पुल जीर्ण भएका छन् र ती पुल मर्मत गर्न कति बजेट आवश्यक पर्छ भन्ने बारे तथ्यांक सङ्कलन गरी जीर्ण पुलहरूको मर्मत तथा निमार्ण गर्नको लागि सङ्घीय सरकार,प्रदेश सरकारसंग बजेटको लागि पहल गरिने समेत बताए ।





