ब्रिटिश गोर्खा भूतपूर्व सैनिकहरूको प्रदर्शन, सर्वोच्चको आदेश कार्यान्वयनको माग
काठमाडौँ । सर्वोच्च अदालतले नेपाल सरकारका नाममा गरेको निर्देशनात्मक आदेश कार्यान्वयन नगरेको भन्दै ब्रिटिस गोर्खा भूपू सैनिकहरूले सडकमा मार्चपास गरेका छन् ।
ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो)को नेतृत्वमा हजारौँको सङ्ख्यामा उत्रेका भूपू सैनिकहरूले काठमाडौँको माइतीघर मण्डलाबाट नयाँबानेश्वर पुगी त्यहाँबाट फर्किएर पुनः मण्डलामा आई कोणसभा गरेका छन् ।
सन् १९४७ को नोभेम्बर ९ मा नेपाल, भारत र संयुक्त अधिराज्यबिच भएको त्रिपक्षीय सम्झौता अन्तर्गत भर्ती भएको गोरखा सैनिकहरूमाथि हुँदै आएको अन्याय, असमानता र विभेदका विषयहरूलाई लिएर बिगेसो लामो समयदेखि सङ्घर्षको मैदानमा छ ।
यस भर्तीको विरुद्धमा खोलिएका संगठनहरू अहिले गुमनाम अवस्थामा पुगेका छन्, भने पदम सुन्दर लिम्बु नेतृत्वको बिगेसोको आन्दोलन उत्कर्षमा पुगेको छ । उसले कूटनीतिक, राजनीति पहल हुँदै, सडकदेखि सर्वोच्च अदालतसम्म गएर ऐतिहासिक सफलता प्राप्त गरिसकेको छ ।
बिगेसोले अदालतमा लडेको कानुनी लडाईले ब्रिटिस गोर्खा सैनिकहरूको पक्षमा सर्वोच्च अदालतले २४ माघ २०७९ सालमा फैसला मात्रै गरेन उसले नेपाल सरकारका नाममा निर्देशनात्मक आदेश नै जारी गरिसकेको छ ।
सर्वोच्चको फैसला कार्यान्वयन निर्देशनालयबाट नेपाल सरकारका प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय र परराष्ट्र मन्त्रालयलाई यही वर्षको गत ८ साउन र २० पुसमा दुई पटक ताकेता पत्र पठाइसकेको छ । तर सरकारले कार्यान्वयनको पाटोमा ध्यान नदिएको बिगेसोको गुनासो छ ।
सरकारलाई कार्यान्वयनको लागि दबाबस्वरूप निरन्तर सङ्घर्ष गर्दै आइरहेको बेला पछिल्लो समय सरकारले बिगेसोसँग बार्ता पनि गर्न थालेको उनिहरू बताउँछन् । सरकारले बार्ता गरे पनि कर्मकाण्ड चलाएको भन्दै आन्दोलन चर्काउँदै लगेका छन्, त्यसैको द्योतककारुपमा आजको प्रदर्शन बनेको छ ।
इटहरी मेयर–उपमेयरको विवाद समाधान हुने, जुट्यो मौखिक सहमति
इटहरी । सुनसरीको इटहरी उपमहानगरपालिकामा मेयर उपमेयर बीचको विवाद समाधान उन्मुख भएको छ । बिहीबार भएको छलफलमा मौखिक रूपमा सहमति जुटेको इटहरी उपमहानगरपालिकाकी उपमेयर संगिता कुमारी चौधरीले जानकारी दिइन् ।
‘एक प्रकारको मौखिक सहमति भयो । आइतवार लिखित रूपमा सहमति हुन्छ,’उनले भनिन्,‘प्रमुख प्रशासकीय अधिकृत बिरामी भएकाले आइतवार लिखित सहमति हुने भएको हो ।’
उनका अनुसार गत माघ ३ गते आफ्नो अध्यक्षतामा बसेको कार्यपालिका बैठक आंशिक रूपमा कार्यान्वयन हुनेछ । जसअनुसार एमालेले जितेका वडाका सरुवा भएका कर्मचारीलाई नचलाउने र कार्यपालिकाले कामकारबाहीको सिफारिस गरेका कर्मचारीलाई माफी दिने भएको हो ।
उपमहानगरका मेयर हेमकर्ण पौडेल गत पुस २८ गते कर्मचारी सरुवा गरेर भारत गएका थिए । त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन् । कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो ।
यस्तै, प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संजिव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको थियो । त्यसपछि चर्किएकोको विवाद उत्कर्षमा पुगेको हो । जसका कारण ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी समेत गरेका थिए ।
तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले बुधवार ताला फुटाइदिए । त्यसपछि मेयरकै कार्यकक्षमा ताला लगाउने बताएका उपमेयर सहित एमाले जनप्रतिनिधिले सहमति गरेका हुन्।
सहमति अनुसार मेहता र खड्कालाइ माफी दिने भएको उपमेयर चौधरीले बताइन् ।
युके एफसिको फाइनल खेल्ने सपना अधुरै , उपाधि लिने दाउमा एनआरटी र चर्च ब्वाइज
धरान । धरानमा जारी २५ औ बुढासुब्बा गोल्डकपको फाइनलमा साबिक विजेता एनआरटी र चर्च ब्वाइज बिच प्रतिस्पर्धा हुने भएको छ । आज सम्पन्न दोस्रो सेमिफाइलमा युके एफसी भारतलाई हराउँदै एनआरटी काठमाडौँ फाइनलमा प्रवेश गरेको हो ।
खेलको २७ औ मिनेटमा शिशिर लेखीले एनआरटीबाट पहिलो गोल गरे । लगत्तै ३ मिनेटको अन्तरालमा युके एफसी भारतको तर्फबाट हेमराज भुजेलले गोल गर्दै खेल बराबरी बनाए । एनआरटीका प्रदिप बुढाथोकीले ४४ औ मिनेटमा १ गोल, ७० औ मिनेटमा थप १ गोल गरि फाइनलको यात्रा पक्का पक्की गरे भने ३-१ को गोलअन्तरले हार ब्यहोर्दै युके एफ.सि को फाइनल पुग्ने सपना अधुरो रहयो ।
खेलको उत्कृष्ट खेलाडी एनआरटीका पहिलो गोल गर्ने शिशिर लेखी घोषित भए । उनले नगद १० हजार ट्रफी हात पारे । शनिवार एनआरटीले जित यथावत् राख्न खेल्नेछ भने चर्च ब्वाइजलाई जित्नैपर्ने दबाब रहेको छ ।
शनिवार दिनको १ बजे चर्च ब्वाइज र एनआरटी बिच फाइनल खेल हुने आयोजक धरान फुटबल क्लबले जानकारी गराए । उपाधि जित्ने टिमले नगद १० लाख मेडल ट्रफी पाउनेछ भने दोस्रो हुने टिमले ५ लाख मेडल ट्रफी पाउनेछ ।
दलित युवालाई गृहमन्त्रीको प्रत्यक्ष संलग्नतामा यातना दिइएको भन्दै माईतिघरमा विरोध प्रदर्शन
काठमाडौं । दलितका लागि दलित अभियानले आज (बिहीबार) पनि विरोध प्रदर्शन गरेको छन् ।
गत मंगलबारदेखि अभियानले अन्तरजातीय प्रेमविवाह गरेका सर्लाहीका दलित युवा सत्येन्द्रकुमार रामलाई गृहमन्त्रीकै प्रत्यक्ष संलग्नतामा यातना दिइएको भन्दै काठमाडौंको माईतिघरमा विरोध प्रदर्शन गर्दै आईरहेको छ ।
दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले जनताको जिउधनको सुरक्षाको जिम्मा लिएर बसेको संस्थाको प्रमुख र नेतृत्वबाट भएको अपराध क्षमा योग्य नहुने भन्दै गृहमन्त्रीले राजिनामा दिएर मात्र पनि नहुने बताए ।
उनले भने, ‘गृहमन्त्रीले अपराध गरेका छन् । ६० लाख दलितसँग गृहमन्त्री डराउनु पर्दैन ? १६० जना राउटेको आन्दोलन हो र यो ? त्यो सत्येन्द्रकुमार चमार भन्ने केटोले गरेको अपराध के हो ? नमराज वि.क, सेते दमाईहरुले गरेको अपराध के हो ? यो विषय गृहमन्त्रीले ढाकछोप गरेर ढाकिदैन, अब गृहमन्त्रीले राजिनामा दिएर मात्र सकिदैन एउटा नेतृत्वमा बसेको प्रहरी संगठन जनताको जिउधनको सुरक्षा जिम्मा लिएर बसेको संस्थाको प्रमुख र नेतृत्वबाट भएको अपराध क्षम्य छैन । प्रहरीले यसको बिरुद जाहेरी लिनुपर्छ । यो कुनै तानाशाहको प्रहरी होइन, राजाको प्रहरी होइन । जनताको प्रहरी हो ।’
त्यस्तै, उनले नेपाली कांग्रेसको पार्टी कार्यालयमा गएर विश्वप्रकाश र गगन थापालाई कांग्रेसले दलितमाथि गरेको अपराधमा कांगे्रसको धारणा के हो भनेर प्रश्न गर्ने पनि बताए ।
उनले भने, ‘आन्दोलन प्रहरीमा जाने प्रहरीले नहेरे अदालत जाने भोलि नेपाली कांग्रेसको पार्टी कार्यालयमा जाने विश्वप्रकाश र गगन थापालाई कांग्रेसले दलितमाथि गरेको अपराधमा कांगे्रसको धारणा के हो ? दलितलाई हेर्ने नजर के हो भनेर सोध्नेछौं । अन्तरजातीय बाल विवाहको विषयमा गृहमन्त्री कै निर्देशनमा अत्याचार भएको भन्दै प्रदर्शन गरिएको हो ।’
सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा युवाहरूको विरोध छ : सुमना श्रेष्ठ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले सामाजिक सञ्जाल सम्बन्धी विधेयकमा युवाहरूको विरोध भएकाले सरकारले यसको समाधान गर्नुपर्ने बताएकी छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले युवाहरूको आवाज सदनले सुन्नैपर्ने बताएकी हुन् ।
उनले भन्नि, ‘सोसल मिडियामा कन्टेन्ट क्रियटर के हो त्यो बुझ्न जरुरी छ । सामाजिक सञ्जालमा आफ्नो आइडिनटीनिटि कसरी बनाइन्छ यो सामान्य कुराहरु पनि नबुझेर यो विधेयक लिएको छ । यो विधेयकप्रति युवाहरूले गरेको सामाजिक सञ्जालमा जुन विरोध छ त्यसको सरकारले अहिले नै मनन गरेर यसको सम्बोधन गर्नुपर्छ ।’
साथै, उनले सबै सांसदहरूले युवाहरूको आवाज बोक्नुपर्ने बताइन् । उनले युवाको आवाज ‘बोल्न दे सरकार’ रहेकाले पनि जनताको आवाजलाई दाब्न नहुने बताइन् ।
विधेयक विरुद्ध अनलाइन टिभी पत्रकार संघले आन्दोलन गर्ने
काठमाडौँ । सरकारले राष्ट्रिय सभामा दर्ता गराएको सामाजिक सञ्जाल विधेयक २०८१ संशोधन गर्नुपर्ने माग गर्दै अनलाइन टिभी पत्रकार संघले आन्दोलनको घोषणा गरेको छ ।सामाजिक सञ्जालमै मिडिया सञ्चालन गर्दै आएका अनलाइन टिभीकर्मीहरूको साझा संस्थाको रूपमा रहेको संघले सामान्य आग्रहबाट मात्रै सरकार र पार्टीहरूले नटेर्ने ठहर गर्दै आन्दोलन गर्ने निर्णय गरेको हो ।
संघका अध्यक्ष जीवन भण्डारीको अध्यक्षतामा बसेको संघका पदाधिकारी र प्रभावशाली अनलाइन टिभीकर्मीहरूको बैठकले विधेयकका धेरै विषयवस्तु संशोधन हुनैपर्ने निष्कर्ष निकालेको छ ।
अनलाइन टिभीका नाममा र सामाजिक सञ्जाल प्रयोगका क्रममा धेरै विकृति र अपराध भएकाले त्यसलाई नियमन गर्नु आवश्यक भएपनि सरकारले नियमनको आवरणमा नियन्त्रणको नियत राखेको संघको ठहर छ ।
विधेयकका कतिपय व्यवस्थाले आफूहरूको पेशा मात्रै संकटमा नपारी आलोचना र खबरदारी गर्ने नागरिक अधिकार समेत खोस्ने संघको दावी छ । संघले नागरिक अधिकार नै कुण्ठित पार्ने विधेयकलाई संशोधन गराउन सबै नागरिकहरू पनि आन्दोलित हुनुपर्नेमा जोड दिएको छ ।
संघले गलत व्याख्या भएर दुरुपयोग हुने व्यवस्थाहरूलाई हटाउन हस्ताक्षर सङ्कलन देखि विरोध प्रदर्शन र ज्ञापनपत्र बुझाउने सम्मका कार्यक्रमहरू गर्ने तय गरेको छ ।
संघले यसअघि हिजो नै संघको स्थापना दिवसको अवसरमा सामाजिक सञ्जाल विधेयककै बारेमा प्रमुख दलका सांसदहरू र सरोकारवालाहरूलाई बोलाएर वृहत् छलफल कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रममा सहभागी काँग्रेसका सांसद रामहरि खतिवडा, एमालेका सांसद योगेश भट्टराई, रास्वपाका सांसद शिशिर खनाल, माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले संघको सुझाव अनुसार विधेयकमा संशोधन गराउन आफुहरूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
त्यसैगरी प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले पनि विधेयकमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएको उल्लेख गरे भने पत्रकार महासङ्घका महासचिव रामप्रसाद दाहालले संशोधनका लागि सरकार तथा दलहरू तयार नभएमा आन्दोलन गर्ने चेतावनी दिए ।
उनीहरूले अनलाइन टिभीकर्मीहरूलाई जिम्मेवार र व्यवस्थित गराउन संघले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थापना दिवसको अवसरमा शुभकामना समेत दिनु भएको थियो ।
विक्रम सम्वत् २०७६ सालको आजकै दिन अर्थात् माघ २४ गते नेपालमै पहिलो पटक भण्डारीकै नेतृत्वमा युट्युबरहरूको राष्ट्रिय भेला आयोजना गरी अनलाइन टिभी पत्रकार संघको स्थापना भएको हो ।
इटहरीका मेयर र उपमेयर आमन सामने, विवाद उत्कर्षमा
इटहरी । मेयर हेमकर्ण पौडेलले प्रशासन शाखामा लगाइएको ताला फुटाइदिएपछि सुनसरीको इटहरी उपमहानगरपालिकाभित्रको राजनीतिक विवाद थप उत्कर्षमा पुगेको छ । गत ११ माघमा उपप्रमुख संगीताकुमारी चौधरीसहित एमालेबाट निर्वाचित वडाध्यक्षहरूले प्रशासन शाखाका प्रमुख संजिव खड्काको कार्यकक्षमा तालाबन्दी गरेका थिए ।
तालाबन्दीका कारण सेवाग्राहीलाई सेवा प्रवाहमा समस्या भएको भन्दै पालिका प्रमुख हेमकर्ण पौडेलले ताला फुटाइदिएका हुन् । मेयर पौडेलले प्रेस विज्ञप्तिमार्फत भनेका छन,‘माघ ११ गतेदेखि लागेको ताला नखुल्दा कार्यालयको दैनिक कामकाजमा समेत बाधा पुग्न गएको, त्यसैगरी वडा कार्यालयहरूको सेवा समेत प्रभावित भइ सेवाग्राहीहरूलाई सेवा लिन कठिनाइ भएकाले स्थानीय सरकार प्रमुखको नाताले नगरवासी र सेवाग्राहीको समस्यालाई हृदयङ्गम गर्दै प्रशासन शाखामा लगाइएको ताला खोलि कार्यालयबाट प्रदान गरिने सेवालाई नियमित सुचारु गर्न आवश्यक भएकाले उक्त ताला फोरेर काम सुचारु गर्न गराउन बाध्य भएको छु ।’
तर, यस कार्यको एमालेका जनप्रतिनिधि मानेका छैनन् बरु, एमाले जनप्रतिनिधिहरू मेयरको ‘दादागिरी’भन्दै मेयरकै कार्यकक्षमा नै ताला लगाउने चेतावनी दिइरहेका छन् ।उपमहानगरपालिकाकी उपमेयर चौधरीले भनिन्,‘मेयरजीको दादागिरी शैलीमा जुन ताला तोडिएको छ । समाधान दिन सक्नुभएन भने हामी मेयरज्यूको कार्यकक्षमा ताला लगाउँछौँ ।’
इटहरीमा मेयर कांग्रेसका हुन भने उपमेयर सहितका बहुमत कार्यपालिका एमालेको रहेको छ । ‘सहमति होला जस्तो छैन । ताला लाग्ने जस्तो देखिन्छ,’ स्रोतले भन्यो ।
विवाद के हो ?
खासगरी इटहरीमा तालाबन्दीको अवस्था सृजना हुनुको मुख्य कारण भनेको कर्मचारीको सरुवाको विषय हो । गत पौष २८ मा मेयर हेमकर्ण पौडेल र प्रमुख कार्यकारी अधिकृत रामचरित्र मेहताले कर्मचारीको सरुवा गरेका थिए । सो सरुवामा कांग्रेसले जितेका वडाका बाहेकका कर्मचारी चलाएको भन्दै एमाले आन्दोलित बनेको हो ।
कर्मचारी सरुवा गरेर मेयर पौडेल भारत गएका थिए । त्यस बखत कार्यवाहक मेयरको जिम्मेवारी पाएकी उपमेयर चौधरीले कर्मचारी सरुवा गर्दा पक्षपात गरेको भन्दै आफ्नो अध्यक्षतामा कार्यपालिका बैठक डाकिन् । कार्यपालिकामा एमालेको बहुमत नै भएकाले ३ माघमा कार्यपालिका सदस्यको बैठकले सरुवाको निर्णय उल्टायो ।
तर, मेयर पौडेल उल्टाएको निर्णय कार्यान्वयन गर्ने पक्षमा छैनन् । अर्कोतर्फ उपमेयरको अध्यक्षतामा बसेको बैठकले उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामचरित्र मेहता र शाखा प्रमुख संिजव खड्कालाई नै कारबाहीको लागि सिफारिस गरिएको अवस्था छ । शाखा प्रमुख खड्का भने सातौँ तहमा बढुवा भएर सुनसरीकै देवानगञ्ज गाउँपालिकामा पोस्टिङ भएका छन् ।
‘उहाँको पोस्टिङ भइसकेको छ । उहाँ यहाँ बिदामा भएकाले मंगलबारबाट देवानगञ्ज हाजिर हुनुहुन्छ होला’ उपमहानगरपालिका एक अधिकारले भने ।
विवाद बढ्दै जाँदा तालाबन्दीसम्मको अवस्था आएको हो । उपमेयरले कर्मचारीको कोठामा तालाबन्दी गरेपछि लिखित रूपमा माफी माग्नुपर्ने भन्दै उपमहानगरका कर्मचारी पनि आन्दोलित भएका थिए ।
प्रमुख पौडेलले ताला फुटाएपछि भने कर्मचारीले आन्दोलन फिर्ता लिएका छन् । तर, एमाले कांग्रेसको राजनीतिक विवाद थप चुलिएको छ ।
रवि लामिछानेविरुद्ध थुनछेक बहस बिहीबार पनि जारी रहने
काठमाडौँ । साहारा चितवन सहकारी ठगी आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं गोर्खा मिडिया नेटवर्कका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेमाथिको थुनछेक बहस आज पनि जारी रहने जनाइएको छ ।
बुधवार जिल्ला न्यायाधीश दयाराम ढकालको इजलासमा लामिछानेको बयानपछि सुरु भएको थुनछेक बहस नसकिएपछि आज पुनः बहस हुने भएको हो ।
थुनछेक बहस नसकिएको हुँदा जाहेरवाला र प्रतिवादीको तर्फबाट बहससहित थुनछेक गर्न पूर्वगृहमन्त्री समेत रहेका रवि लामिछानेलाई अदालत उपस्थित गराइने छ ।
बहस आज सुरु हुदैछ हिजो वादीतर्फका सरकारी वकिलले बहस गरेका थिए भने आज विपक्षी प्रतिवादीको तर्फबाट बहस गर्नेछन् ।
बुधवार बहस नसकिएपछी लामिछानेलाई बुधवार जिल्ला प्रहरी कार्यालय चितवनको न्यायिक हिरासत पठाइएको थियो ।
.साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिनाको अभियोगमा जिल्ला सरकारी वकिलको कार्यालय चितवनले सोमवार रविसहित १५ जना व्यक्ति र ६ वटा कम्पनीविरुद्ध अदालतमा पूरक अभियोग दायर गरेको थियो ।
अध्यादेशबारे जसपा नेपालले औपचारिक निर्णय गर्दै
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारले प्रस्तुत गरेको अध्यादेशको पक्षमा वा विपक्षमा उभिनेबारे संसदीय दलको बैठकबाट निर्णय गर्ने भएको छ ।
पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले अध्यादेश अध्ययन कार्यदलले आज बिहान ९ बजे प्रतिवेदन बुझाउने र बिहान ११ बजे संसदीय दलको बैठक बसी यसबारे निर्णय लिइने बताएका छन् ।
पार्टीका उपाध्यक्ष राजकिशोर यादव संयोजकत्वको कार्यदलले अध्यादेशबारे विज्ञहरूसँग छलफल गरी प्रतिवेदन तयार पारेको छ ।
सुन चाँदी पसल चोरी गर्ने योजना बनाएका ४ जना व्यक्ति पक्राउ
सिराहा । लहान बजारमा रहेको विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा चोरी गर्ने योजना बनाएका ४ जना व्यक्तिलाई प्रहरीको नियन्त्रणमा लिएको छ । लहान नगरपालिका वडा नं. ७ बस्ने विकास कुमार शारदाको जाहेरीमा सुखिपुर नगरपालिका वडा नं. ८ बस्ने अन्दाजी ४५ वर्षका ईन्दल भन्ने इन्द्र नारायण चौधरी लहान नगरपालिका वडा नं. २२ बस्ने वर्ष ३१ को भैरव भन्ने देव कुमार मुखिया र भारत पश्चिम बंगालका निरोज भन्ने मेहराज मोन्डललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
उनीहरूले लहान नगरपालिका वडा नं. ७ लहान बजार स्थितमा विकाश ट्रेडर्स (सुन चाँदी व्यवसायी) मा डाँका गर्ने योजना बनाएको गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएका प्रहरी नायब उपरीक्षक विरेन्द्र कुमार पासवानको कमाण्डमा विशेष प्रहरी टोलीले पक्राउ गरेको थियो ।
यस घटनामा सिरहा जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भइरहेका जिल्ला प्रहरी कार्यालय सिराहाले जानकारी दिएको छ ।












