काठमाडौंमा बर्ड फ्लु देखियो : नियन्त्रणका लागि उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडाहरूमा ‘हाइली प्याथोजेनिक एभियन इन्फ्लुएन्जा’ अर्थात् बर्ड फ्लु रोग पुष्टि भएपछि नगरपालिकाले उच्च सतर्कता अपनाउन सार्वजनिक अपिल गरेको छ । नगरपालिकाले सोमबार सुचना जारी गर्दै वडा नं. २, ३ र ४ मा बर्ड फ्लु देखिएपछि उक्त क्षेत्रका पन्छी र पन्छीको आहारा लगायतका वस्तुहरू नष्ट गरी संक्रमण नियन्त्रणको कार्य तीव्र पारिएको जनाएको हो ।
सूचना अनुसार, सङ्क्रमण देखिएका क्षेत्रमा रहेका हाँस, कुखुरा, बट्टाई, लौकाट लगायतका पन्छीहरू, अण्डा र दानालाई सुरक्षित रूपमा नष्ट गरी खाल्डोमा गाड्ने र सो क्षेत्रलाई निसंक्रमण गर्ने कार्य भइरहेको छ ।
रोग फैलिन नदिन नगरपालिकाले पन्छी फार्महरूमा अनावश्यक व्यक्ति र सवारी साधनको प्रवेशमा रोक लगाएको छ भने प्रवेश गर्नै परेमा अनिवार्य निसंक्रमण गर्नुपर्ने नियम लागु गरेको छ । एक फार्ममा काम गर्ने व्यक्ति अर्को फार्ममा जान नहुने, प्रयोग भइसकेको अन्डा राख्ने क्रेट पुनः प्रयोग नगर्न र फार्मको ढोकामा अनिवार्य रूपमा चुना वा निसंक्रामक औषधि राखिएको फुटपाथ प्रयोग गर्न निर्देशन दिइएको छ । साथै, खोरभित्र जाँदा छुट्टै बुट र एप्रोनको प्रयोग गर्न र दैनिक रूपमा खोर निसंक्रमण गर्न समेत कृषकहरूलाई भनिएको छ ।
यसैगरी, नगरपालिकाले पन्छी फार्म परिसरमा कुकुर, बिरालो र मुसा जस्ता जनावरहरूको प्रवेश रोक्न र मरेका पन्छीहरूलाई तुरुन्तै सुरक्षित तवरले खाल्डोमा गाड्न आग्रह गरेको छ । पन्छीजन्य उत्पादनको ओसारपसार गर्दा अनिवार्य रूपमा भेटेरिनरी प्रमाणपत्र लिनुपर्ने र मासु तथा अण्डाजन्य पदार्थहरू राम्ररी पकाएर मात्र सेवन गर्न सर्वसाधारणलाई सूचित गरिएको छ । यदि कतै ठूलो संख्यामा पन्छीहरू बिरामी परेमा वा मरेमा तुरुन्तै नजिकको पशु सेवा शाखा वा स्थानीय तहमा सम्पर्क गर्न नगरपालिकाले अनुरोध गरेको छ ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । प्रतिनिधि सभा बैठक बस्दै छ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले ‘पर्यटन विधेयक, २०८१ माथि विचार गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्न कार्यसूची रहेको छ ।
प्रधानमन्त्री तथा गृह मन्त्री, विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बालेन शाहको तर्फबाट माननीय कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमल ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस’ भन्ने प्रस्ताव प्रस्तुत कार्यसूचि छ ।
यस्तै, बैठकमा ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने, ‘प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने र ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ माथिको दफावार छलफल सदनमा गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
यसैगरी, ‘मतदाता नामावली (पहिलो संशोधन) विधेयक, २०८३ लाई पारित गरियो’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
प्रधानमन्त्रीले २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका छन् । मंगलबार शाहले दोस्रोपटक संयुक्तरुपमा २३ युरोपेली मुलुकका राजदूत र कूटनीतिज्ञलाई भेट्ने भएका हुन् ।
उनले यसअघि विदेशी देशका राजदूतहरूलाई एक्लाएक्लै भेट्ने परम्परा तोड्दै प्रशंसा बटुलेका थिए । भ्रमण टोलीमा अस्ट्रिया, बेल्जियम, बुल्गेरिया, साइप्रस, चेक गणतन्त्र, डेनमार्क, इस्टोनिया, फिनल्याण्ड, फ्रान्स, जर्मनी, ग्रीस, इटाली, लिथुआनिया, लक्जेम्बर्ग, नेदरल्यान्ड्स, पोल्यान्ड, पोर्चुगल, रोमानिया, स्लोभाकिया, स्लोभेनिया, स्पेन र स्विडेनका राजदूत तथा उपराजदूतहरू सहभागी छन् ।
दाइजो र बालविवाहविरुद्ध सास रहुन्जेल लड्छु : उपसभामुख ठाकुर
सर्लाही । प्रतिनिधिसभाकी उपसभामुख रुबीकुमारी ठाकुरले छोरीलाई शिक्षित बनाउन र सम्मानका साथ हुर्काउन अभिभावकलाई आग्रह गरेकी छन् ।
सर्लाहीको चन्द्र नगर गाउँपालिकामा आयोजित दुई दिने ‘बाल विवाह एवं दाइजो प्रथा उन्मूलनका लागि बृहत् सभा’मा आइतबार बोल्दै उनले विशेष गरी मधेस क्षेत्रमा गहिरो रूपमा जरा गाडेर बसेको बालविवाह र दाइजो प्रथाविरुद्ध अन्तिम समयसम्म संघर्ष गर्ने बताइन् । समाज परिवर्तनका लागि छोरीलाई पढाउनै पर्नेमा जोड दिँदै उनले दाइजो र बालविवाह देशकै लागि कलंक बनेको उल्लेख गरिन् ।
उपसभामुख ठाकुरले विवाहपछि परिवार टुक्रिने, सम्बन्ध बिग्रिने र सामाजिक तनाव बढ्नुमा दाइजो प्रथाले ठुलो भूमिका खेलेको बताइन् । दाइजो दुवै परिवारका लागि अभिशाप बनेको उल्लेख गर्दै उनले यस्तो कुप्रथाको अन्त्य गर्न सबै तहबाट अभियान चलाउनुपर्ने धारणा राखिन् ।
उनले पछिल्लो समय किशोर किशोरी घर छाडेर हिँड्ने प्रवृत्ति बढ्दै गएकोतर्फ पनि चिन्ता व्यक्त गरिन् । अभिभावकको सुझावलाई गलत अर्थमा नलिन र आवेगमा निर्णय नगर्न युवापुस्तालाई आग्रह गरिन् ।
यस्तै, कार्यक्रममा सर्लाही क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद नीतिमा कार्की भण्डारीले समाजमा रहेका कुरीति, कुसंस्कार र विभेद शिक्षा मार्फत मात्रै हटाउन सकिने बताइन् । उनले छोरी शिक्षित भए परिवार र समाज दुवै सबल बन्ने भएकाले छोरीको शिक्षामा विशेष ध्यान दिन आग्रह गरिन् ।
वार्षिक २० हजार टन कार्बन सोस्ने हरित सडक : मरुभूमि भित्रै बन्यो अद्भूत पार्क
काठमाडौं । चीनको सबैभन्दा ठूलो मरुभूमि, ताक्ला मकानलाई छिचोल्ने तारिम मरुभूमि सडकले हरित ऊर्जा उत्पादनमा एक नयाँ कोशेढुङ्गा पार गरेको छ ।
चीनको सरकारी तेल कम्पनी पेट्रोचाइनाका अधिकारीहरूका अनुसार, सन् १९९५ मा यो सडक सुरु भएदेखि हालसम्म यहाँ जडान गरिएका सौर्य प्यानलहरूबाट १ करोड ५० लाख किलोवाट–घण्टा स्वच्छ ऊर्जा उत्पादन भएको छ । ५२२ किलोमिटर लामो यस सडकको किनारमा राखिएका सौर्य प्यानलहरूले यो उपलब्धि हासिल गरेका हुन् ।
यस सौर्य ऊर्जाको मुख्य प्रयोग सडकको दुबै किनारमा लगाइएको विशाल हरित पर्खालमा सिँचाइ गर्नका लागि पानी तान्ने पम्पहरू चलाउन गरिन्छ । मरुभूमिको विस्तार रोक्न र सडकलाई बालुवाको कटानबाट जोगाउन सडकको दुबैतर्फ करिब २ करोड रुख र बुट्यानहरू रोपिएका छन् ।
यो हरित क्षेत्रले वायुमण्डलमा रहेको कार्बन उत्सर्जनलाई कम गर्न महत्त्वपूर्ण भूमिका खेलिरहेको छ । तथ्याङ्कका अनुसार यस आश्रय क्षेत्रले वार्षिक २० हजार टन कार्बन डाइअक्साइड सोस्ने गर्दछ । यसैका कारण यो मार्ग अहिले विश्वकै नमुना ’जिरो–कार्बन’ (शून्य कार्बन) राजमार्गको रूपमा स्थापित भएको छ ।
पर्यावरण संरक्षण र पूर्वाधार विकासलाई सँगै लैजान सकिन्छ भन्ने यो परियोजनाले विश्वका अन्य देशहरूका लागि पनि एउटा प्रेरणादायी उदाहरण प्रस्तुत गरेको छ । सीसीटीभी
ह्वाइट हाउस नजिक गोली चल्यो, संदिग्धको मृत्यु
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारी निवास ह्वाइट हाउस नजिक शनिबार राति भएको गोलीकाण्डमा एक संदिग्धको मृत्यु भएको छ । अमेरिकी गोप्य सुरक्षा निकायका अनुसार संदिग्धले चेकपोस्ट नजिक झोलाबाट हतियार निकालेर सुरक्षाकर्मीमाथि गोली चलाएका थिए । त्यसपछि सुरक्षाकर्मीले पनि जवाफी फायर गरेका थिए ।
घटनामा एक सर्वसाधारण पनि घाइते भएका छन् । घटनाका बेला अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाइट हाउसमै रहेका थिए, तर उनको सुरक्षामा कुनै असर नपरेको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको अमेरिकी अधिकारीहरूले बताएका छन् । एएनआई
इरानी विद्यालयमा त्यो विनाशकारी अमेरिकी क्षेप्यास्त्र, जसले धेरैको जीवन अन्धकार बनायो
एजेन्सी । इरानको एक प्राथमिक विद्यालयमा भएको विनाशकारी अमेरिकी क्षेप्यास्त्र आक्रमणको झन्डै तीन महिनापछि पनि परिवारका सदस्यहरु शोकमा छन् ।
आक्रमणमा मारिएका व्यक्तिका परिवारहरूले आफ्नो चकनाचुर जीवनका विलौनाहरु अहिलेपनि सुनाउने गर्छन् । आक्रमणमा १६० भन्दा बढी मानिसहरू मारिएका थिए । जसमा प्रायः बालबालिकाहरू थिए ।
इरानको दक्षिणी प्रान्त होर्मोज्गानको मिनाबमा रहेको शजाराह तैयबेह प्राथमिक विद्यालयमा भएको आक्रमण फेब्रुअरी २८ मा भएको थियो । जसले इरानमाथि अमेरिका र इजरायली युद्धको सुरुवातलाई चित्रित गर्छ ।
उक्त घटनाको व्यापक अन्तर्राष्ट्रिय निन्दा भएको थियो । र अमेरिकाले नजिकैको इरानी सैन्य अड्डालाई लक्षित गरेको थियो ।
स्थानीय बासिन्दाहरूका अनुसार, कम्तीमा तीनवटा क्षेप्यास्त्रहरू थिए जसले सिधै स्कूलमा प्रहार गरेका थिए । जसको परिणामस्वरूप लगभग १२० स्कूले बालबालिका सहित १६० भन्दा बढी व्यक्तिहरूको मृत्यु भएको थियो ।
सो विद्यालय हाल भग्नावशेष अवस्थामा छ । खाली रहेका केही कक्षाकोठाहरूमा, श्रद्धाञ्जलीस्वरूप डेस्कहरूमा फूलहरू राखिएका छन्। त्यहाँ राखिएका तस्विरहरु हेरर आफन्तहरु भावुक हुने गरेका छन् ।
‘मेरा बच्चाहरूको कक्षाकोठा लगभग यहीं थियो। यो ध्वस्त भएको छ र यहाँ केही पनि बाँकी छैन। जब म यो विद्यालयमा आउँछु, मलाई उनीहरू स्कूलको आँगनमा खेलिरहेका दिनहरू सम्झन्छु, तर आज, उनीहरूको कुनै नामोनिशान छैन,’ पीडित अहमद रेजा र जावादकी आमा राहेलेह चमानीजादेहले भनिन्।
अर्की सोमायेह कामानीले पनि आक्रमणमा आफ्नो छोरा अमिर अली हसनजादेह र उनका पति गुमाइन्। उनले त्यो भयानक दिनमा सामना गरेको भयानक परिणामलाई स्तब्ध पार्ने विवरण सुनाइन् ।
विद्यालय अन्ततः पुनर्निर्माण हुनसक्ने भए पनि स्थानीय बासिन्दाहरूले त्यो त्रासदी कहिल्यै बिर्सने छैनन् । जसले उनीहरूको जीवनलाई सधैंको लागि अँध्यारो बनाएको छ।(सीसीटीभीप्लस)
रामेछाप बजारमा व्यवस्थित सडक बन्दै
रामेछाप । रामेछापको पुरानो सदरमुकाम रामेछाप बजारमा अब व्यवस्थित सडक बन्ने भएको छ । २०८ वर्ष भन्दा लामो समय सदरमुकाम बसको रामेछाप बजार हुँदै सेलेघाट– सालु– साँघुटार सडक निर्माणको कामले गति लिएपछि रामेछाप बजारमा व्यवस्थित सडक बन्न लागेको हो ।
सो सडकको बजार क्षेत्रमा जग्गा विवादको कारण सडक निर्माणको काम अघि बढ्न सकेको थिएन । रामेछाप बजारमा सडक क्षेत्रका परेका घरहरूले मुआब्जा लिएको लामो समय बित्दा पनि घर भत्काउन मानेका थिएनन् । तर अहिले मुआब्जा लिएका घर भत्काएर बजार क्षेत्रमा सडक चौडा गर्ने काम अघि बढेको छ ।
बजार क्षेत्रमा रहेको पुरानो सडक साँघुरो भएको कारण सडक विस्तार गर्नु परेको हो । अहिले रामेछाप बजारमा सडक चौडा पार्ने, पर्खालहरू उठाउने तथा नाला बनाउने काम भइरहेको छ । सडक चौडा बनाएर पिच गरे पछि रामेछाप बजार नयाँ स्वरूपमा देखिने विश्वास लिइएको छ ।
२०४५ सालसम्म रामेछापको जिल्ला सदरमुकाम रहेको रामेछाप बजारमा सदरमुकाम मन्थली सरेपछि चहलपहल घटेको छ । व्यवस्थित सडक र बजार बनेपछि चाप बढ्ने विश्वास पनि लिइएको छ ।
सरकारलाई गगन थापाका पाँच प्रश्न र सुझाव : संख्याका भरमा दम्भ नपाल्न चेतावनी
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारलाई पाँच प्रश्न र सुझाव दिँदै संख्याको भरमा दम्भ नदेखाउन सरकारलाई चेतावनी दिएका छन् ।
नेपाली कांग्रेसले सुनसरीमा आयोजित कार्यक्रममा बोल्दै सरकारलाई जबाफदेही बनेर जनजीविकाका सवाल सम्बोधन गर्न आग्रह गरे । थापाले सरकारलाई गरेका पाँच प्रश्न तथा सुझाव यस्ता छन् ।
सरकारमा शक्तिको कारण जबाफदेहिता नदेखिएको भन्दै थापाले चिन्ता व्यक्त गरेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड बहुमत प्राप्त गरेर करिब दुई तिहाइको शक्ति प्राप्त गरेर सरकार चलाउने मेण्डेड पाएको भए पनि ठिक ढंगले नचलाएको बताए । विगतमा बहुमत प्राप्त गरेका सरकारले ठिक ढंगले सञ्चालन गर्न नसकेको स्मरण गर्दै थापाले जबाफदेही हुन आग्रह गरे ।
‘सरकार चलाउने जनमत रास्वपाले पाएकोमा सम्मान गर्छौँ,’ थापाले भने, ‘तर, सरकार जबाफदेही बन्नुपर्छ ।’ विगतमा सुविधाजनक जनक बहुमत प्राप्त गरेका कार्यकाल पुरा नभएको स्मरण गर्दै त्यस्तो नहोस् भन्दै शुभकामना दिए ।
करिब दुई तिहाइको जनमत र लोकप्रिय छु भन्दैमा संवैधानिक सीमालाई ख्याल गर्न थापाले प्रधानमन्त्री बालेन्द्र शाहलाई आग्रह गरे । ‘सरकारले हेक्का राखोस् संविधान र कानुनमाथि कोही पनि हुँदैन,’ थापाले भने, ‘शक्तिशाली र लोकप्रिय भन्दैमा जे पनि गर्न पाइँदैन ।’
पद र शक्ति छ भन्दैमा लहडका भरमा सुकुम्बासी बस्ती भत्काउन नपाइने थापाले बताए । ‘सरकारले बस्ती व्यवस्थित गरोस् हाम्रो साथ रहन्छ, ’थापाले भने, ‘कसैलाई रहर लाग्दैमा सुकुम्बासीको व्यवस्थापन नगरी बस्ती भत्काउन पाइन्छ ? अतिक्रमण भएको भए खाली गर्ने जिम्मेवारी भए पनि कानुनले तोकेको जिम्मेवारी अनुसार काम गर्न चेतावनी दिए ।
सरकारले उद्योगी, व्यवसायी, बैंकरलाई मनपरी पक्राउ गरेको भन्दै कांग्रेस सभापति थापाले आक्रोस पोखे । ‘मन्त्रीले बोलाउँदा भेट्टे समय नदिएको भन्दै निर्माण व्यवसायीलाई घरबाट प्रहरी लगाएर उठाउने काम भयो,’ थापाले भने, ‘बैंकका सिइओ लाई पनि बिना कारण पक्राउ गरेको खबर सुनियो ।’ चित्त नबुझेको खण्डमा जसलाई मन लाग्यो त्यसलाई पक्राउ नगर्न थापाले चेतावनी दिए । ‘कानुन विपरीतका कार्यमा असहमति रहेको र त्यस्ता कार्य दोहो¥याए कांग्रेसले प्रतिवाद गर्छ,’ थापाले भने । थापाले कांग्रेस जिउँदो रहेको भन्दै कमजोर नठान्न आग्रह गरे । ‘संख्या छ भन्दैमा सरकारले दम्भ नपालोस्,’ थापाले भने ।
नागरिकको जनजीविकामा गम्भीरता खै ?
सभापति थापाले आम नागरिकको जनजीविकासँग जोडिएको विषयमा सरकारलाई गम्भीर बन्न आग्रह गरेका छन् । मध्यपूर्वको संकटले नागरिकको दैनिक जीवनमा असर परेको भन्दै सरकारको ध्यानाकर्षण गराए ।
‘इन्धनको मूल्यवृद्धिले जनजीवन प्रभावित भएको छ,’ थापाले भने, ‘सामान्य श्रम गरेर आम्दानी गरेका नागरिकको भान्सा चलाउन हम्मे भएको छ । यसका लागि सरकारले काम गरोस् ।’
ढुवानी खर्च र लागत खर्च बढेकाले दैनिक उपभोग्य वस्तुको भाउ बढेको बताउँदै भान्सा थेग्न नसक्ने अवस्थामा पुगेको थापाले बताए ।
सहकारीबाट पीडित बनेकाहरूलाई करिब एक खर्ब रुपैयाँ फिर्ता गर्नुपर्ने अवस्था भए पनि सरकारले केही करोड निकासा गरेको भनेर लोकप्रियतामा रमाउन खोजेको आरोप लगाए । स्वास्थ्य बिमामा देखिएको समस्या समाधान गर्न कांग्रेस सभापति थापाले आग्रह गरे ।
सीमा क्षेत्रमा सय रुपैयाँ भन्दा बढी सामानमा कडाइ गर्दा सीमा क्षेत्रका नागरिक समस्यामा परेको भन्दै यो विषयमा संवेदनशील बन्न आग्रह गरे । जनजीविकाका सवालमा सरकारले आह्वान गरेमा सहयोग गर्न कांग्रेस तयार रहेको बताए ।
संविधान संशोधनलाई खेलाँची नठान
सभापति थापाले सरकारले अहिले संविधान संशोधन गर्न गठन भएको कार्यदलप्रति प्रश्न उठाउँदै संविधान संशोधनको विषयलाई खेलाँची नठान्न आग्रह गरे । २०७२को संविधानमा नेपालीको भावना जोडिएको बताए ।
विविधता भएको समाजका भावनालाई ठिक ढंगले संवोधन गरिएन भने दुर्घटना हुन सक्ने भन्दै संविधान संशोधनको बहसमा कांग्रेसको पनि सरोकार भएको बताए ।
थापाले भदौ २४को घटनाको छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । ‘भदौ २३ र २४ जेनजी आन्दोलन भयो । पुर्व न्यायाधिशको संयोजकत्वमा छानविन समिति पनि बन्यो,’ थापाले भने, ‘समितिले २३ गतेको विषयमा प्रतिवेदन दिएर कारबाही प्रक्रिया अघि बढाएको भए पनि भदौ २४को घटना पनि छानविन हुनुपर्छ ।’ ‘भाद्र २४मा सबैभन्दा धनजनको क्षति पुगेको छ,’ सभापति थापाले भने, ‘दोषीलाई कानुनी कठघरामा ल्याउनुपर्छ ।’ जेनजी आन्दोलनको बारेमा राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गरे ।
सगरमाथा म्याराथनमा आएका अमेरिकी नागरिकलाई लेक लागेपछि उद्धार
सोलुखुम्बु । सगरमाथा म्याराथनमा सहभागी हुन सोलुखुम्बु आएका एक अमेरिकी नागरिकलाई लेक लागेपछि प्रहरीले उद्धार गरी अस्पताल पुर्याएको छ ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ खुम्जुङस्थित आमादब्लम होटलमा बसिरहेका अमेरिकी नागरिक अन्दाजी ४० वर्षीय अलेक्जेन्डर राइट (पासपोर्ट नं. A४७८५८०१७) बिहीबार दिउँसो अचानक बिरामी परेका थिए । जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार उनलाई उच्च हिमाली क्षेत्रमा हुने ‘लेक’ (Altitude Sickness) को समस्या देखिएपछि प्रहरी चौकी खुम्जुङबाट प्रहरी सहायक निरीक्षक सुरेन्द्र प्रसाद ढुङ्गानाको कमाण्डमा तीन सदस्यीय टोली खटिएको थियो ।
नेपाल प्रहरी र स्थानीय बासिन्दाको सहयोगमा उनलाई उद्धार गरी खुम्बु पासाङल्हामु गाउँपालिका–४ स्थित खुन्दे अस्पतालमा उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।
हाल उनको अवस्था सामान्य रहेको तथा बोल्न सक्ने अवस्थामा रहेको जिल्ला प्रहरीले जानकारी दिएको छ ।
सगरमाथा क्षेत्र उच्च हिमाली भूगोलमा पर्ने भएकाले यहाँ आउने विदेशी पर्यटक तथा आरोहीमा लेक लाग्ने समस्या समय–समयमा देखिने गरेको छ ।