वीरगञ्जमा प्रहरी जवानको हत्या, चारजना पक्राउ
रौतहट । पर्साको वीरगन्ज महानगरपालिका–९ श्रीपुरस्थित भारतीय राजदूतावास पछाडि एक युवकको धारिलो हतियार प्रहार गरी हत्या भएको छ । मृत्यु हुनेमा पर्साको कालिका माई गाउँपालिका–१ मुडली निवासी २८ वर्षीय विकास चौरसिया रहेका छन् । उनी नेपाल प्रहरीका बहालवाला कर्मचारी (प्रहरी जवान) हुन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी हरिबहादुर बस्नेतका अनुसार, वीरगन्ज–९ मुरलीस्थित फिरोजा मियाको घरमा एक व्यक्ति गम्भीर घाइते अवस्थामा रहेको सूचना पाए लगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो ।
घटनास्थलमा चौर सियाको शरीरका विभिन्न भागमा धारिलो हतियार प्रहार गरिएको र अत्यधिक रक्तश्राव भइरहेको अवस्थामा फेला पारिएको थियो ।
उनलाई तत्काल उपचारका लागि नारायणी अस्पताल लगिएको भएपनि चिकित्सकले मृत घोषणा गरेका थिए । मृतक चौर सिया वीरगन्जकै मुर्लीमा डेरा गरी बस्दै आएका थिए र उनी १० दिनको बिदा लिएर घर आएका थिए । प्रहरीले सो हत्यामा संलग्न भएको आशङ्कामा एक महिलासहित चार जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेहरूमा रौतहटका २६ वर्षीय सन्तोष साह, उनकी पत्नी २४ वर्षीया सोनी साह, बाराका १९ वर्षीय विशाल साह र १९ वर्षीय भारतीय नागरिक कन्हैया कुमार रहेका छन्। घटनाको कारण र प्रकृतिबारे प्रहरीले थप अनुसन्धान गरिरहेको डिएसपी बस्नेतले जानकारी दिएका छन् ।
राप्रपामा महाधिवेशनको माग तीव्र, नेतृत्वमाथि प्रश्न
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भित्र केन्द्रीय महाधिवेशनको माग तीव्र बनेको छ । पार्टीका नेता तथा कार्यकर्ताहरूले हालै सम्पन्न संसदीय निर्वाचनमा भएको कमजोर प्रदर्शनपछि नेतृत्वको भूमिकामाथि गम्भीर प्रश्न उठाउँदै तत्काल महाधिवेशन गर्न माग गरेका छन् ।
०७८ सालको एकता महाधिवेशनपछि नयाँ उत्साहका साथ अघि बढेको राप्रपा हालको निर्वाचनसम्म आइपुग्दा उल्लेखनीय रूपमा खुम्चिएको उनीहरूको निष्कर्ष छ ।
आइतबार जारी गरिएको साझा विज्ञप्तिमार्फत निर्वाचनअघि पार्टी अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीलाई देशकै पहिलो शक्ति बनाउने दाबी गरे पनि नतिजा अपेक्षाविपरीत आएको भन्दै असन्तुष्टि व्यक्त गरिएको छ ।
नेताहरूले निर्वाचन परिणाम सार्वजनिक भएको झण्डै डेढ महिना बितिसक्दा पनि पार्टीले असफलताको समीक्षा, आत्मालोचना तथा नैतिक जिम्मेवारी वहन नगरेको आरोप लगाएका छन्।
केन्द्रबाट स्पष्ट दिशानिर्देश नआएको भन्दै देशभरका कार्यकर्तामा निराशा बढ्दै गएको र पार्टी परित्याग गर्ने क्रमसमेत बढेको जनाइएको छ ।
त्यसैगरी, उपसभामुख निर्वाचनमा पार्टीले उम्मेदवारी दिने निर्णय प्रक्रियामाथि पनि प्रश्न उठाइएको छ । केन्द्रीय कार्यसमिति वा कार्यसम्पादन समितिमा पर्याप्त छलफल नगरी निर्णय गरिएको भन्दै पार्टीको विधि, पद्धति र प्रजातान्त्रिक अनुशासनमाथि गम्भीर असर परेको बताइएको छ ।
यसैबीच, पार्टीलाई पुनर्जीवन दिन केन्द्रीय महाधिवेशनमार्फत ताजा जनादेश लिनुपर्ने माग गरिएको छ। चार वर्षे कार्यकाल सकिएर अतिरिक्त अवधिमा रहेको पार्टीले २०८३ जेठभित्र महाधिवेशन गर्ने निर्णय गरिसकेको सन्दर्भमा ढिलाइ नगर्न दबाब बढेको छ ।
नेता–कार्यकर्ताहरूले निष्पक्ष व्यक्तिको संयोजकत्वमा महाधिवेशन आयोजक समिति गठन, एक हप्ताभित्र महाधिवेशनको मिति घोषणा तथा पार्टीभित्र भएका गतिविधिको छानबिन गर्न समिति गठन गर्न माग गरेका छन् ।
विकृति हटाउने नाममा विद्यार्थी संगठनलाई नियन्त्रण गर्न खोज्नु मूर्खता हो : वरिष्ठ अधिवक्ता भण्डारी
काठमाडौं । वरिष्ठ अधिवक्ता एकराज भण्डारीले विद्यार्थी संगठनमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णयको कडा आलोचना गरेका छन्। आइतबार संयुक्त विद्यार्थी संगठनद्वारा आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले उक्त निर्णयलाई ‘दुसाहस’ को संज्ञा दिएका हुन् ।
भण्डारीले २०८२ भदौ २३ गतेको आन्दोलन स्मरण गर्दै त्यसमा सहभागी विद्यार्थीहरूको योगदानबाट नै वर्तमान सरकारले बहुमत प्राप्त गरेको दाबी गरे।
‘त्यतिबेला विद्यार्थीहरू युनिफर्ममा सडकमा थिए, तिनैको बलबाट सत्ता प्राप्त भयो,’ उनले भने, ‘तर अहिले सत्ता पाएपछि तिनै संगठनमाथि प्रतिबन्ध लगाउने कुरा सोच्नु पनि गलत हो ।’
उनले सरकारको कदमले लोकतान्त्रिक अभ्यासमाथि प्रहार हुने चेतावनी दिँदै यस्तो निर्णय दीर्घकालीन रूपमा सफल नहुने बताए।
‘चाहे बहुमतको सरकार होस् वा दुई तिहाइको, यस्तो निर्णयले अन्ततः आफ्नै विनाश निम्त्याउँछ,’ उनले उल्लेख गरे ।
भण्डारीले विगतमा विश्वविद्यालयहरूमा राजनीतिक प्रभावका आधारमा पदाधिकारी नियुक्ति हुँदा विद्यार्थी संगठनहरूले विरोध गरेको प्रसंग पनि उठाए । उनले कहिलेकाहीँ संगठनहरूले तालाबन्दी जस्ता नकारात्मक गतिविधि पनि गरेका छन्, तर सत्तामा आफ्नै विचारधाराको सरकार हुँदा समेत सडकमा उत्रिनु सकारात्मक पक्ष भएको बताए।
‘विगतमा नेताको नजिकमा मान्छे टिपेर विश्वविद्यालयको प्रशासक प्रमुख नियुक्त गर्दाखेरी विद्यार्थी संगठनहरुले आन्दोलन गरे । विद्यार्थीहरुको पठनपाठन र गुणस्तरको एजेण्डा भन्दा नियुक्तिको कुरामा विश्वविद्यालयहरुमा तालाबन्दी लगायतका नराम्रा काम पनि गरे,’उनले थप भने, ‘तर विद्यार्थीको संगठनको एउटा राम्रो काम मलाई के लाग्छ भने आफ्नो नजिक भएका विचारसँग सम्बन्धि पार्टी सरकारमा हुँदा पनि ति संगठन सडकमा आएका छन् । त्यो अत्यन्तै राम्रो कुरा हो, त्यो जोगाइराख्नु पर्छ ।’
उनले विद्यार्थी संगठनलाई नै नियन्त्रण गर्न खोज्नु भन्दा नियमन गर्न कानून बनाउनुपर्ने बताए ।
‘विकृति हटाउने नाममा विद्यार्थी संगठनलाई नै नियन्त्रण गर्न खोज्नु मूर्खता हो,’ उनले भने, ‘सरकारले नियमन गर्न कानून बनाउनुपर्छ, प्रतिबन्ध होइन ।’
उनले विश्वविद्यालयसम्बन्धी ऐन संशोधन गरेर नेतृत्व चयन प्रक्रिया सुधार गर्नुपर्नेमा जोड दिँदै मूल समस्या समाधान नगरी प्रतिबन्ध लगाउनु उचित नहुने स्पष्ट पारे।
‘विश्वविद्यालय सम्बन्धि जुन ऐन बनाइएको छ, त्यो ऐन संशोधन गरेर त्यसको नेतृत्व कसरी चयन गर्ने त्यो सोच्नुपर्यो । नियमन गर्न कानून नबनाउने हो भने विद्यार्थी संगठनहरुमाथि प्रतिवन्ध लगाएर हुन्छ ? त्यो कसरी हुन्छ, सुध्रिनु पर्यो,’ उनले भने ।
भारतीय संगीतकी हस्ती आशा भोसलेको ९२ वर्षको उमेरमा निधन
काठमाडौं । भारतीय संगीत जगतकी सुप्रसिद्ध र बहुमुखी प्रतिभाकी धनी पाश्र्व गायिका आशा भोसलेको ९२ वर्षको उमेरमा आइतबार निधन भएको छ । आठ दशक लामो सांगीतिक यात्रामार्फत भारतीय चलचित्र र संगीतलाई नयाँ उचाइमा पु¥याएकी भोसलेको निधनले संगीत क्षेत्रमा एउटा युगको अन्त्य भएको छ ।
मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालका डा.प्रतित समदानीले उनको निधनको पुष्टि गरेका हुन् । डा. समदानीका अनुसार मल्टी–अर्गन फेलियर (विभिन्न अङ्गहरूले काम गर्न छोडेकाले) उनको मृत्यु भएको हो । अत्यधिक थकाई र छातीमा संक्रमण देखिएपछि उनलाई शनिबार साँझ अस्पताल भर्ना गरिएको थियो । उनकी नातिनी जनाई भोसलेले यसअघि सामाजिक सञ्जालमार्फत हजुरआमा अस्पताल भर्ना भएको जानकारी दिँदै परिवारको गोपनीयताको सम्मान गर्न आग्रह गरेकी थिइन् ।
आठ दशकको सांगीतिक विरासत
सन् १९३३ मा जन्मिएकी आशा भोसलेले सानै उमेरदेखि संगीत यात्रा सुरु गरेकी थिइन् । सन् १९५० को दशकदेखि चर्चामा आएकी उनी विश्वकै सबैभन्दा सम्मानित पाश्र्व गायिकामध्ये एक बनिन् । उनको चञ्चल, भावुक र जुनसुकै शैलीमा ढल्किन सक्ने स्वरले धेरै पुस्ताका संगीत प्रेमीहरूको मन जितेको छ । आफ्नो असाधारण करियरमा भोसलेले हजारौँ गीतहरू विभिन्न भारतीय भाषाहरूमा रेकर्ड गराएकी छन् । शास्त्रीय संगीत, गजल, क्याबरे, पपदेखि लोक संगीतसम्म उनको दख्खल थियो । अग्रणी संगीतकार र फिल्मकर्मीहरूसँगको उनको सहकार्यले हिन्दी सिनेमामा कयौँ यादगार गीतहरू दिएको छ ।
सम्मान र उपलब्धि
उनको योगदानको कदर गर्दै भारत सरकारले उनलाई प्रतिष्ठित ’दादासाहेब फाल्के अवार्ड’ र भारतको दोस्रो उच्च नागरिक सम्मान पद्म विभूषणबाट सम्मानित गरेको थियो । सन् २०११ मा गिनिज वल्र्ड रेकड्र्सले उनलाई संगीत इतिहासमै सबैभन्दा धेरै गीत रेकर्ड गर्ने कलाकारको रूपमा औपचारिक मान्यता दिएको थियो ।
उनका दिल चिज क्या है, पिया तु अब तो आजा, मेरा कुछ सामान र चुरा लिया है तुमने जस्ता गीतहरू आज पनि उत्तिकै लोकप्रिय छन् ।
उनको निधनको खबरले भारतभर शोकको लहर छाएको छ । सामाजिक सञ्जालमार्फत विश्वभरका प्रशंसक, कलाकार र विशिष्ट व्यक्तिहरूले उनीप्रति श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । एएनआई
अमेरिका र इरानबीच भएको २१ घण्टा लामो वार्ता ठोस सहमति बिना नै टुङ्गियो
काठमाडौं । पाकिस्तानको राजधानी इस्लामावादमा अमेरिका र इरानबीच भएको २१ घण्टा लामो सघन वार्ता कुनै ठोस सहमति बिना नै टुङ्गिएको छ । आइतबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा कैयौँ गम्भीर छलफलहरू भए पनि अन्ततः कुनै निष्कर्ष निस्कन नसकेको जानकारी दिए ।
उनले अमेरिकाले आफ्ना अडान र लचिलो हुन सक्ने विषयहरू स्पष्ट रूपमा राखेको भए पनि इरानले अमेरिकी सर्तहरू स्वीकार नगरेको बताए । भान्सका अनुसार यो सम्झौता हुन नसक्नु अमेरिकाको तुलनामा इरानका लागि धेरै नराम्रो खबर हो ।
वार्ताको क्रममा अमेरिकी टोलीले इरानसँग आणविक हतियार निर्माण नगर्ने र त्यसका लागि आवश्यक प्रविधि तथा उपकरणहरू नजुटाइने कुरामा स्पष्ट प्रतिबद्धता खोजेको थियो । उपराष्ट्रपति भान्सले आफूहरू वार्तामा निकै लचिलो बनेको दाबी गर्दै अब इरानका अगाडि अमेरिकाको अन्तिम र उत्तम प्रस्ताव छाडेर स्वदेश फर्कन लागेको बताए । यो वार्ता अवधिभर अमेरिकी टोलीले राष्ट्रपति डोनाल्ड ट्रम्पका साथै विदेशमन्त्री मार्को रुबियो, रक्षा मन्त्री पिट हेगसेथ, र अर्थमन्त्री स्कट बेसेन्ट लगायतका उच्च अधिकारीहरूसँग निरन्तर संवाद र समन्वय गरिरहेको थियो ।
यसैबीच, इरानी विदेश मन्त्रालयलाई उद्धृत गर्दै सिएनएनले जनाएअनुसार यो म्याराथन वार्तामा मुख्य रूपमा स्ट्रेट अफ हर्मुजको सुरक्षा र इरानको आणविक कार्यक्रमका विषयहरू समेटिएका थिए । अमेरिकाले इरानको सर्त स्वीकार्ने तत्परता नदेखाएको कारण वार्ता गतिरोधमा फसेको बताइएको छ । अहिलेलाई अमेरिकाले आफ्नो प्रस्ताव इरानको हातमा छाडेको छ र अब इरानले त्यसलाई स्वीकार गर्छ वा गर्दैन भन्ने कुराले आगामी रणनीतिक बाटो तय गर्ने देखिन्छ । एएनआई
४ धुर जमिनमा बनेको त्यो सानो घर, जहाँबाट देशले उपसभामुख पायो
जनकपुरधाम । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिका वडा नं. १४ मुजेलीया सहरको कोलाहलभन्दा केही टाढा रहेको स्थानमा पुग्दा लाग्छ, कुनै शान्त ग्रामीण भेगको गाउँमा आइपुगियो । यही मुजेलीयाको एउटा बस्तीमा ४ धुर जमिनमा बनेको एकतल्ले सानो घर छ । घरको मोहडामा ग्रिल लागेको एउटा झ्याल छ ।
बाहिरबाट हेर्दा अत्यन्तै साधारण देखिने यही घरकी सदस्य हुन् २५ वर्षीया रुबी कुमारी ठाकुर । उनी हालै संघीय संसद्को प्रतिनिधि सभाको उपसभामुख पदमा निर्वाचित भएकी छन् । रुबी उपसभामुख बनेसँगै अहिले यो सानो घर र मुजेलीया गाउँ देशभरकै चर्चाको केन्द्र बनेको छ ।
रुबी जति साधारण छिन उनको परिवार र उनिहरुको रहनसहन त्योभन्दा बढी साधारण छ । अचम्म त के छ भने, देशको दोस्रो उच्च संसदीय पदमा पुगेकी रुबीका बुबा, आमा र भाइलाई अझै पनि ‘उपसभामुख’ पद भनेको के हो र यसको गरिमा कति छ भन्ने स्पष्ट जानकारी छैन । उनीहरूलाई यति मात्र थाहा छ कि छोरीले कुनै ठूलै राजनितीक पद पाएकी छिन् ।
रुबीका बुबा सोगारथ ठाकुर वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरबमा थिए । छोरी सांसद बनेको खबर उनले उतै सुनेका थिए । ९ दिनअघि मात्र दुई महिनाको बिदामा घर आइपुगेका सोगारथ भन्छन,‘साउदीमा रहेका नेपालीहरूले बधाई दिँदा गर्वले छाती चौडा हुन्थ्यो । गरिबीका कारण विदेशिनु परेकाले छोरीसँग धेरै समय बिताउन पाइनँ, तर आज उसले जनकपुरकै नाम राखेको देख्दा खुसी लागेको छ ।’
रुबीलाई यो उचाइसम्म पु¥याउन सबैभन्दा ठूलो योगदान उनकी आमा रेणु ठाकुरको छ । ४ छोरी र २ छोराकी आमा रेणु दिनभर ‘बटैया’ (अधियाँ) लिएको खेतमा पसिना बगाउँछिन् । छोरी उपसभामुख बनेको खबर सुन्दा उनलाई अझंै पनि सपना जस्तै लाग्छ । रेणु सम्झिन्छिन रुबीलाई पढ्न असाध्यै रुचि थियो । ‘छोरीले घरभन्दा टाढा सर्लाहीको बलरा गएर पढ्छु भन्दा मैले नाइँ भनिनँ । त्यसबेला आफन्तहरूले छोरीलाई धेरै पढाउनु हुँदैन, बाहिर पठाउनु हुँदैन भनेर मलाई सम्झाउँथे,’ रेणु भन्छिन, ‘आज तिनै आफन्तले फोन गरेर बधाई दिँदा कता–कता गर्वको महसुस हुन्छ ।’
अहिले पनि खेतको काममा व्यस्त रहने रेणुलाई ‘सांसद’ वा ‘उपसभामुख’ को परिभाषा थाहा छैन । रुबीले दिनमा एक–दुई पटक फोन गर्छिन् । ‘सबै ठिक छ भन्छिन्, हामीलाई विश्वास छ तर आमाको मन, चिन्ता भने लागिहाल्छ,’उनी भावुक बन्छिन् ।
जस्तापाताको छानो भएको घरको छतमा सुकाइएको विस्कुन रुँगेर बसिरहेका रुबीका भाइ शनि कुमार ठाकुरले भर्खरै एसईई दिएका छन् । उनले पनि दिदी ठूलो मान्छे भएको कुरा फेसबुकबाटै थाहा पाएका हुन् । साथीभाइले बधाई दिँदा उनलाई दंग पर्छन् । दिदीको सफलताले शनिमा पनि पढेर ठूलो मान्छे बन्ने सपना पलाएको छ ।
जनकपुरबासीहरू अहिले सामाजिक सञ्जालमा ‘मधेशकी छोरी’ को सफलतालाई उत्सवका रूपमा मनाइरहेका छन् । सामान्य परिवार, सानो घर र अभावका बीचबाट देशको नीति निर्माण गर्ने थलोको उपल्लो तहमा पुग्नु आफैँमा एउटा ठूलो क्रान्ति हो । मुजेलीयाको त्यो ४ धुर जमिनमा बनेको घरले आज सिंगो देशलाई एउटा सन्देश दिएको छ कि ‘सपना देख्न र पूरा गर्न महल नै चाहिन्छ भन्ने छैन ।’
अहिले सम्पूर्ण धनुषाबासीको एउटै चाहना छ, २५ वर्षीया यी युवा उपसभामुखको कार्यकाल सफल होस् र उनी देशभरका रुबीहरूका लागि प्रेरणाको स्रोत बन्न सकून् ।
बाबुराम भट्टराई भोलि भारत भ्रमणमा जाने
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई भारत भ्रमणमा जाने भएका छन् । उनको सचिवालयका अनसार भट्टराई भोलि (आइतबार) भारत प्रस्थान गर्ने छन् ।
भ्रमणका क्रममा उनी भारतको ग्वालियरस्थित आईटीएम युनिभर्सिटीको औपचारिक निमन्त्रणामा १ वैशाखमा आयोजना हुने ‘डा. राममनोहर लोहिया स्मृति व्याख्यान’ कार्यक्रममा प्रमुख वक्ताका रूपमा सहभागी हुनेछन् ।
उक्त कार्यक्रम राममनोहर लोहियाको स्मृतिमा आयोजना हुँदै आएको हो भने भीमराव अम्बेडकरको जन्मजयन्तीको अवसरसँग पनि जोडिएको छ ।
भट्टराईसँगै उनकी पत्नी तथा पूर्वमन्त्री हिसिला यामी पनि भारत जाने कार्यक्रम रहेको छ ।
औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीका छानबिन गर्न समिति गठन
काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय ले औषधिको मूल्य वृद्धि सम्बन्धी उजुरीको छानबिन गर्न समिति गठन गरेको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रानुसार औषधि व्यवस्था विभागका महानिर्देशकले प्रचलित कानूनले तोकेको प्रक्रिया पूरा नगरी औषधिको मूल्य वृद्धि गरेको भन्ने उजुरी परेपछि छानबिन प्रक्रिया अघि बढाइएको हो।
मन्त्रालयको निर्णयअनुसार अतिरिक्त स्वास्थ्य सचिव डा. श्रीकृष्ण श्रेष्ठ को संयोजकत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको छ। समितिमा कानून शाखा प्रमुख गोपीकृष्ण रेग्मी र विषय विज्ञ कविन मलेकु सदस्य रहेका छन्।
समितिलाई औषधिको मूल्य निर्धारण प्रक्रिया, सो प्रक्रिया पालना भए÷नभएको, र कुनै अनियमितता भए त्यसमा कसको संलग्नता रहेको भन्ने विषयमा विस्तृत अध्ययन गरी ७ दिनभित्र प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ।
साथै, आवश्यक परेमा समितिले अन्य विज्ञ तथा कर्मचारीलाई आमन्त्रण गर्न सक्ने व्यवस्था गरिएको मन्त्रालयले जनाएको छ।
हर्मुज जलमार्गमा इरानले पारवहन शुल्क लगाउने प्रयास गरे स्वीकार्य हुँदैनः ट्रम्प
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रणनीतिक रूपमा महत्त्वपूर्ण मानिने हर्मुज जलमार्गबाट गुज्रने जहाजहरूमा शुल्क लगाउने इरानको कुनै पनि प्रयासलाई वासिङ्टनले अनुमति नदिने बताएका छन् । शनिबार जोइन्ट बेस एन्ड्रुजमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले हर्मुज जलमार्ग एक अन्तर्राष्ट्रिय जलमार्ग भएको र यसमा कुनै पनि प्रकारको पारवहन शुल्क लगाउन नपाइने बताएका हुन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सको विदेश भ्रमण अगाडि पत्रकारहरूसँग बोल्दै ट्रम्पले भने,‘हामी इरानको कदमलाई अनुमति दिने छैनौँ । यो अन्तर्राष्ट्रिय जलक्षेत्र हो । यदि उनीहरूले त्यसो गर्न खोजिरहेका छन् भने, हामी त्यो हुन दिने छैनौँ ।’ यसअघि ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथ सोसल मार्फत इरानको यो प्रस्तावको कडा आलोचना गरेका थिए । उनले लेखेका छन,‘इरानीहरूले यो महसुस गरेका छैनन् कि उनीहरूसँग अन्तर्राष्ट्रिय जलमार्ग प्रयोग गरेर विश्वलाई अल्पकालीन धम्की दिनु बाहेक अरू कुनै कार्ड बाँकी छैन । उनीहरू आज जीवित हुनुको एक मात्र कारण वार्ता हो ।’ यस्तै आफ्नो अर्को एक पोस्टमा ट्रम्पले इरानको सञ्चार रणनीतिको व्यङ्ग्य गर्दै इरानीहरू लड्नमा भन्दा ‘फेक न्यूज मिडिया’ र ‘जनसम्पर्क’ सम्हाल्नमा बढी सिपालु रहेको टिप्पणी गरे ।
इरानको प्रस्ताव के हो ?
इरानको संसदीय राष्ट्रिय सुरक्षा आयोगका प्रमुख इब्राहिम अजिजीका अनुसार, एउटा संसदीय प्रस्ताव अन्तर्गत हर्मुज जलमार्ग भएर जाने जहाजहरूले इरानी मुद्रा ‘रियाल’मा पारवहन शुल्क तिर्नुपर्ने व्यवस्था गर्न खोजिएको छ । मुम्बईस्थित इरानी महावाणिज्य दूतावासले सामाजिक सञ्जाल एक्समा साझा गरेको जानकारी अनुसार, सुरक्षा र दिगो विकासका लागि रणनीतिक कार्ययोजना अन्तर्गत इरानले आवश्यक परेमा ओमानसँग सम्झौता समेत गर्न सक्ने उल्लेख छ ।
किन महत्त्वपूर्ण छ हर्मुज जलमार्ग ?
हर्मुज जलमार्ग विश्वकै सबैभन्दा महत्त्वपूर्ण सामुद्रिक मार्गहरूमध्ये एक हो । विश्वको तेल आपूर्तिको ठूलो हिस्सा यही बाटो भएर जाने भएकाले यहाँ हुने कुनै पनि अवरोध वा शुल्क वृद्धिले विश्वव्यापी ऊर्जा बजार र व्यापारमा ठूलो प्रभाव पार्ने गर्दछ ।
यो तनावपूर्ण स्थिति यस्तो समयमा आएको छ जब अमेरिका र इरानबीच दुई हप्ताको तत्काल युद्धविरामको सम्झौता भएको छ र पश्चिम एसियामा महिनाौँदेखि जारी द्वन्द्व अन्त्यका लागि दुई पक्षबीच वार्ताको तयारी भइरहेको छ । एएनआई
अमेरिका–इरान शान्ति वार्ता अघि इस्लामाबादका सडकहरुमा कडाइ
एजेन्सी । पाकिस्तानको राजधानी इस्लामाबादको सरकारी क्षेत्र रेडजोन जाने धेरै सडकहरू अवरुद्ध गरिएको छ । जहाँ राष्ट्रपति भवन, प्रधानमन्त्री कार्यालय र विभिन्न मन्त्रालयहरूसहित प्रमुख प्रशासनिक कार्यालयहरू छन्, । आगामी अमेरिका–इरान वार्ताअघि अवरुद्ध गरिएको हो ।
इरानमा अमेरिका–इजरायली संयुक्त सैन्य हमला सुरु भएको एक महिनाभन्दा बढी समयपछि मंगलबार घोषणा गरिएको दुई हप्ताको युद्धविरामको कूटनीतिक विन्डोको क्रममा अमेरिका र इरानले शनिबार बिहान वार्ता सुरु गर्ने कार्यक्रम छ।
वार्तापूर्व उक्त क्षेत्र शुक्रबार सडक चौबाटोहरूमा सैनिकहरूले चेकजाँच गर्दै र पहरा दिँदै उभिएका छन् । पाकिस्तानी र अन्तर्राष्ट्रिय मिडिया आउटलेटका रिपोर्टरहरू रेड जोनको परिधी क्षेत्रहरूमा भेला भएका छन् ।
स्थानीय समय अनुसार शुक्रबार बिहानसम्म, अमेरिकी र इरानी प्रतिनिधिमण्डलका प्रमुख कर्मचारीहरू इस्लामाबाद आइपुगेको पुष्टि भइसकेको छैन् । यद्यपि, सार्वजनिक विमान ट्र्याकिङ वेबसाइटहरूका अनुसार, केही अमेरिकी यातायात विमानहरू इस्लामाबादमा अवतरण गरेका छन् ।
पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्रीका अनुसार पाकिस्तानले वार्तामा भाग लिने प्रतिनिधिहरू र पत्रकारहरूलाई आगमनमा भिसा प्रदान गरेको छ। उच्चस्तरीय शान्ति वार्ताका लागि अमेरिका र इरानका प्रतिनिधिमण्डलहरू पाकिस्तानको इस्लामाबाद पुग्दैछन् ।
अमेरिका र इजरायलले इरानमा गरेको समन्वयात्मक आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएको ठिक ६ हप्तापछि वार्ता हुन लागेको हो। जारी द्वन्द्वले हजारौँ मानिस मारिएका छन्, विश्वको सबैभन्दा महत्त्वपूर्ण तेल मार्ग बन्द भएको छ र ऊर्जाको मूल्य अकासिएको छ ।(सीसीटीभीप्लस)
यही बिच शनिबार इस्लामाबादमा शीर्ष अमेरिकी र इरानी अधिकारीहरूबिच वार्ता हुन लागेको हो ।