१४ वर्षसम्म पुल निर्माणको काम अधुरै
रौतहट । सर्लाही सीमा क्षेत्रमा पर्ने वाग्मती पुल निर्माणको काम सुस्त गतिमा भएको छ । पुल निर्माणको काम थालेको करिब १४ वर्षसम्म पनि निर्माणको काम अधुरो रहेको छ ।
नदीले धार परिवर्तन गरेपछि अलपत्र परेको पुल निर्माणको ठेक्का महालक्ष्मी, विकास, वाईपी जेभीले ५७ करोड ४० लाख रुपैयाँमा ठेक्का लाएको हो । २०७९ वैशाख ११ मा ठेकेदारले २०८१ कात्तिक १० मा काम सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । तर पुलको काम सुस्त गतिमा भैइरहेको मत्सरीका युवा पवन गुप्ताले बताए ।
उनका अनुसार पुल बनेपछि बसतपुर, बडहर्वा, राजदेवीलगायतका बासिन्दालाई सहज हुनेछ । अहिले यहाँका बासिन्दा बर्खाको समयमा जोखिम मोलेर डुंगामा वारपार गर्दै आएको उनले बताए ।
तोकिएको समयमा पुल बनेको भए दुवै जिल्लाका स्थानीयलाई वारपार गर्न अहिले सहज हुने उनको भनाइ छ । वाग्मती नदीले कटानमा पारेपछि केहीको खेतबारी सर्लाहीतिर छ । अहिले खेतीको कामका लागि डुंगा चढेर आउजाउ गर्नुपर्ने बाध्यता रहेको उनले बताए ।
माधवकुमार नेपालले शिलान्यास गरेको पुलको लम्बाइ ६३४ मिटर र चौडाइ डबल लेन्थको छ । पुलको काम अहिले पनि भैइरहेको हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।
चितुवा मृत अवस्थामा फेला
रौतहट । रौतहटको बलेरीको नहरमा एक चितुवा मृत अवस्थामा फेला परेको छ । चितुवाको मुखबाट रगत आएको कारण चोरी सिकारीले मारेको हुन सक्ने आँकलन गरिएको छ ।
यद्यपि चितुवा नहरको पानीले बगाएर ल्याएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् । चोरी सिकारीको उदेश्यले मारेको हुन सक्ने स्थानीय रूप नारायण पटेलले बताए ।उनका अनुसार वृन्दावन नगरपालिका–१ बलेरीको नहरबाट कृषकको खेतसम्म आइपुगेको हो । तर डिभिजन बन कार्यालय रौतहटले सिकारीले मारेको नभइ आफैँ मरेको बताएको छ ।
चितुवाको प्रकृति हेर्दा कालगतिले मरेको देखिएको डिभिजन वन कार्यालय रौतहटका निमित्त प्रमुख राम गणेश साहले बताए । यस विषयमा अनुसन्धान गरिने उनले जानकारी दिए ।मरेको चितुवालाई स्थानीय प्रशासन र जनप्रतिनिधिको रोहबरमा खाडल खनेर पुरिएको छ ।
स्वास्थ्य बीमा ऐन संशोधन : नियमावली पनि संशोधन हुने
काठमाडौँ । स्वास्थ्य बीमा सेवाका लागि अब हरेक तहमा एउटा सेवाप्रदायक संस्था रहने भएका छन् । स्वास्थ्य बीमा ऐन २०७४ मा भएको संशोधनअनुसार अब स्वास्थ्य बीमा बोर्डले सम्झौता गर्दा हरेक तहमा कम्तीमा एक वटा सेवा प्रदायक संस्था रहने गरी सम्झौता गर्नुपर्ने व्यवस्था गरिएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले यससम्बन्धी संशोधन प्रस्ताव मन्त्रीपरिषद् बैठकमा लगेकामा स्वीकृत भइ कानून संशोधन भएको हो ।
संशोधित ऐनको व्यवस्थाअनुसार यसअघि बीमा सदस्य बने पनि पालिकामा सेवा लिन नपाउने समस्या अन्त्य हुने अपेक्षा गरिएको छ ।
ऐन संशोधनको प्रष्टीकरण खण्डमा ‘यसअघि स्थायी ठेगाना भएको तहबाट रेफरल लिनुपर्ने भएकामा अबको व्यवस्थाले प्रथम सेवा विन्दु भन्नाले विमितले सर्वप्रथम स्वास्थ्य सेवा लिने गरी रोजेको स्वास्थ्य संस्था सम्झनुपर्छ,’ भनेर व्याख्या गरिएको छ ।
यस आधारमा अब बिमित कार्यरत क्षेत्रमा प्रथम बिन्दु कायम गर्न चाहेमा सम्भव हुने भएको छ । यसका लागि स्वास्थ्य बिमा नियमावलीसमेत संशोधन गर्ने गरी तयारी अघि बढेको मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
यसअनुसार नियमावली संशोधन भएपश्चात कार्यरत स्थानबाट बीमा सुविधा लिन स्थायी ठेगाना भएको ठाउँमा जानैपर्ने अवस्था कम हुने विश्वास मन्त्रालयले गरेको छ ।
मन्त्री पौडेलले बिमित रहेकै स्थानबाट सेवा लिन मिल्ने गरी व्यवस्था गर्ने सार्वजनिक प्रतिबद्धता जनाएका थिए ।
मन्त्रालयका प्रवक्ता प्रकाश बुढाथोकीका अनुसार संशोधनमार्फत अब कार्यकारी निर्देशक नियुक्त नहुँदासम्मका लागि वैकल्पिक व्यवस्था भएको छ ।
ऐनको (४)दफा २५ को उपदफा (५) पछि देहायको उपदफा (६) थपिएको छ । जसमा ‘कुनै कारणले कार्यकारी निर्देशकको पद रिक्त भएमा दफा २२ को उपदफा (३) बमोजिम कार्यकारी निर्देशक नियुक्ति नभएसम्मको लागि कार्यकारी निर्देशकको रूपमा काम गर्न मन्त्रालयले मन्त्रालय र अन्तर्गतको नेपाल स्वास्थ्य सेवाको कम्तीमा एघारौँ तहको कर्मचारीलाई खटाउन सक्ने’ उल्लेख छ ।
यसले कार्यकारी निर्देशक नियुक्त नहुँदासम्म निमित्त कार्यकारीका सट्टा पूर्ण अधिकारसहितकै कार्यकारी निर्देशकका रूपमा कर्मचारी खटाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई बाटो खुला गरेको छ ।
यसले भावी दिनमा कार्यकारी निर्देशकको रिक्ततासम्बन्धी समस्या सम्बोधन गर्न सक्ने मन्त्री पौडेलको सचिवालयले जनाएको छ ।
स्वस्थानीका बारेमा बुझेर मात्र व्रत बस्दा राम्रो हुन्छ : पण्डित लेखनाथ न्यौपाने
काठमाडौँ । नेपाल ज्योतिष परिषद्का वरिष्ठ उपाध्यक्ष लेखनाथ न्यौपानेले एक महिनासम्म लाग्ने स्वस्थानी व्रतका बारेमा सबै सनातन हिन्दुहरूले अझै राम्रोसँग बुझ्न नसकेको बताएका छन् । उपाध्यक्ष न्यौपानेले सबैभन्दा पहिला स्वस्थानी भनेको के हो भनेर बुझ्न जरुरी रहेको बताएका हुन् ।
उनले भने, ‘सबैभन्दा पहिला त स्वस्थानी के हो त्यो बुझ्न एकदमै जरुरी छ । आजको समयमा सबै व्रत लिने सबै नेपालीले स्वस्थानी के हो भनेर बुझेको अवस्था छैन । हामी सबैले बुझाउन आवश्यक छ । स्वस्थानीको ‘स्व’भनेको ‘म, मेरो’ र थानी भने ‘आफ्नो’,‘मेरो’आफ्नै देवता भन्ने बुझिन्छ । नेपालीहरूको इष्टदेवता भनेको स्वस्थानी हो ।’
यसैगरी स्वस्थानी व्रत नेपालमा मात्रै हुने गरेको उनी बताउँछन् । ‘स्वस्थानी व्रत आफ्नो स्थानीय देवता भएकाले नेपालीको लागि धेरै नै महत्वपूर्ण व्रत भएको बताए । यो व्रत पौष शुक्लपक्ष पूर्णिमाको दिनबाट यसको तीथि निर्धारण हुन्छ । पूर्णिमाको दिन शुद्ध बसेर, नङ काटेर, नुहाइधुवाइ गरेर माघ कृष्णपक्षको प्रतिपदाबाट व्रत शुभारम्भ गर्ने गरिन्छ । र माघ शुक्ल पक्षको पूर्णिमाको दिन स्वस्थानी व्रत समापन हुन्छ,’ उनले भने ।
यसैगरी उनले स्वस्थानी व्रतमा पूजा गर्ने बिधी सबैभन्दा सहज रहेको बताए । उनले स्वस्थानी व्रत एक जनाले बालुवाको शिव लिङ्ग बनाएर जल चढाएर पूजा गरेको इतिहासमा रहेको बताए ।
उनले भने, ‘हामी पूजा गर्ने भन्छौँ तर तडकभडकका साथ गरिरहेको हुन्छौँ । सबै देखावटी गर्नु हुँदैन । पूजा भनेको मन र परमात्माको संयोग गराउने एउटा माध्यम हो । तपस्या गरेर व्रत गर्यो भने भगवानले दृष्टि राख्नुहुन्छ । पूजा भनेको भगवान र भक्तको सामीप्ययता बढाउने, एकआपसमा ध्यान केन्द्रित गराउने माध्यम मात्र पूजा हो । पूजामा धेरै खर्च गरेर खर्चिलो र देखावटी नबनाऔँ ।’
साथै स्वस्थानी पूजा सबैभन्दा सरल रहेको स्पष्ट पारे । स्वस्थानी व्रतमा शिव लिङ्गमा जल चढाएर, खेतबारीमा फलेको फलफूल र चन्दन अर्थात् जे छ हामीसँग त्यसलाई नै प्रयोग गरेर व्रतमा पूजा गर्न सकिने बताए ।
उनले भने, ‘मन कत्तिको शुद्धता छ भन्ने कुरा सबैभन्दा ठूलो हो । स्नान गरेर आफू चोखो भएँ भन्ने हुँदैन् । तर मन चोखो र शुद्ध आसनमा बसेर व्रत शुभारम्भ गर्न सकिन्छ ।’
‘व्रत ३० दिनको हो । कहिलेकाहीँ घटबढ भयो भने २९ र ३१ दिनसम्म पनि जान सक्छ । यो व्रत महिला–पुरुषले नै बस्न मिल्छ,’ उनले भने ।
‘महिला र पुरुषको व्रतमा पूजा गर्ने विधि पनि एउटै हुन्छ । इतिहासको कालखण्डमा एकजना महिलालाई पात्र बनाएर कथा भनिएको छ । जसमा चन्द्रवतिको नाम कथामा समेटिएको छ । पूजा सबैले गर्दा हुन्छ । इष्ट देवता हामी सबैको हो । यसैगरी स्वस्थानी व्रतको सुरुवात र अन्तिममा चाहिने सामग्री सबै एउटै हुन्छ । पञ्चामृत, अमृत, फलफूल आदि इत्यादि । अन्तिम दिन १०८ सेल, १०८ सुपारी, १०८ पान, १०८ अक्षता फूल स्वस्थानी व्रतको विधिमा चाहिन्छ,’ उनले भने ।
‘सेल पनि साना–साना बनाएर, गरिब दुःखीले धेरै गर्न नसक्ला नि त । ठूलो देखाउने हिसाबमा होइन । सानो सानो भएपनि विधि गरेको राम्रो नै हुन्छ,’ उनले अगाडि भने,‘नुहाएर मात्र शुद्धता हुने होइन, मनको शुद्धता हुनुपर्छ । मनको मैलालाई पखाल्न सक्नुपर्यो । व्रत बस्ने व्यक्तिले रिस गर्नु हुदैँन्, रिसाउनु हुदैँन् । क्रोध आयो भने त्यो व्रत नै समापन हुन्छ । सबैसँग सद्भाव राख्नुपर्छ । शत्रुलाई पनि मित्र हो भन्ने भावना राख्नुपर्छ र प्रसन्न आत्मा, प्रसन्न मन लिएर व्रत बस्नुपर्छ ।’
नेपालमा स्वस्थानी व्रत महत्व धेरै रहेको उनले बताए । ‘नेपालमा यसको महत्व अझ बढी छ । पहिलो देखिनै स्वस्थानीको भूमि नेपाल भएकाले यहाँ बम्ह, शिव, त्यसपछि चार वेद, १८ पुराणको उत्पत्ति भयो । अनि मानव सभ्यताको उत्पत्ति भयो । ज्ञानको उत्पत्ति यहीबाट भयो । वेद पुराण नै यहीबाट उत्पत्ति भएको हो ।
त्यसकारण हिमालयकी पुत्री सति र पार्वतीले भगवान शिवलाई पति पाउँ भनेर प्रार्थना गरेको पाइन्छ । कथा एकदमै पुरानो भएकाले त्यसबेलादेखि इष्ट देवता मानेर नेपालीले स्वस्थानी व्रतको आरम्भ गरेको देखिन्छ । किनभने व्रत कथामा इतिहास र सृष्टिका कुरा पनि आएका छन् । सृष्टि गर्ने क्रममा हिमालयबाट सुरु भएको र विश्व ब्रम्हण्डमा फैलाएको भनेर जानकारी गराउनका लागि सृष्टिको कालखण्डको पनि कुरा गरिएको उनले जानकारी दिए ।
व्रतमा शालीनदीको कथा आउँछ । नेपाल वरिपरिको कथा आउँछ । स्वस्थानी व्रत कथामा नेपालबाहेक अरू कतैको कथा छैन् । त्यसकारण यसलाई पौराणिक र ऐतिहासिक भन्न कुनै लाज मान्नुपर्ने अवस्था नभएको न्यौपानेको भनाइ छ ।
‘यो व्रतमा भोको बस्नु पर्दैन् । संसारमा कतै पनि भोकै बस भनेको छैन् । नखाने कुरा कहिले पनि खानु हुँदैन । शरीरलाई असर गर्ने कुरा खानु हुँदैन् । स्वास्थ्यलाई नकारात्मक प्रभाव पार्ने कुरा कहिल्यैपनि खानु हुँदैन । फलफूल, दूधहरू कहिले पनि खान छोड्नु हुँदैन्,’ उनको भनाइ छ ।
व्रत बस्नेले भोजन एकपटक मात्र गरेको राम्रो हुन्छ । किनकी ध्यान नछुटोस् भनेर हो धेरै खाएपछि शौचालय पनि धेरै जानुपर्ने भएकाले ध्यान भंग हुने भएकाले यस्तो भनिएको उनको बुझाइ छ ।
हिन्दु धर्ममा भएका धार्मिक कुराहरूले फाइदा गर्ने गरेको उनको बुझाइ छ । ‘जति पनि हाम्रा धार्मिक कुराहरू छन् । त्यसले प्रत्यक्ष र अप्रत्यक्ष रूपमा लाभ प्राप्त भएको हुन्छ । त्यो अनुभव गर्ने कुरा हो । एक महिनाभर नराम्रो विचार आएन्, नराम्रो खाएको छैन् भने म आफैं सकारात्मकतातर्फ जान्छ । व्रत बस्ने व्यक्तिले झुठ बोल्दैँन्, चोरी गर्दैन्, समाजमा गर्न हुने राम्रा कुराहरू मात्र उसले सोच राख्छ भने समाज सुधार हुन्छ । व्रतले शारीरिक र मानसिक रूपमा स्वास्थ्य राख्न मद्दत गर्छ,’ न्यौपानेले भने ।
‘स्वस्थानी व्रत बसेका बेला परिवार र समाज बिगार्ने सोचियो भने असर गर्छ । विशेषगरी ब्रह्मचर्यमा रहनुपर्छ । ब्रह्मचर्य भनेको शारीरिक सम्पर्क गर्न हुँदैन् । अरूलाई अर्थात् व्रत नलिने मान्छेलाई स्पर्श पनि गर्न हुँदैन् । भुईँमा सुत्नुपर्छ । खाटमा सुत्न हुँदैन् । आसनीमा सुत्नुपर्छ । पातमा भोजन गर्नुपर्ने हुन्छ । खानेकुरोमा एकदमै शुद्धता चाहिन्छ । त्यो भन्दा बढी मनको शुद्धता झनै चाहिन्छ । चारतिर दिमाग लगायो भने व्रत असफल हुन्छ,’ उनको सुझाव छ ।
स्वस्थानीको पुस्तकको सन्देश आफ्नो स्थानीय देवतालाई खुसी पार्ने नै भएको उनले बताए । अहिलेको पुस्ताहरू कतिपय सनातनी नियममा नबस्ने, आफ्नो धर्म छाडेर आफ्नो आमा बाउलाई ढोग्न छाडेर अन्त्य ढोग्न पुग्नु नराम्रो भएको उनले बताए ।
‘आफ्नो इष्ट देवता भनेकै स्वस्थानी र परमेश्वर हुन् । त्यहाँभन्दा माथि अरू कोही पनि छैन् । त्यो भन्दा माथि संसारमा अरू कुनै ईश्वर छैन् । स्वस्थानी परमेश्वरी व्रत कथा र आफूले लिन सकिएन भने पनि स्वस्थानी व्रत लिएको मान्छेको दर्शन गरेपनि पुण्य प्राप्त हुन्छ प्रचलन छ । मेला रमिताको हिसाबले गएर हुने केही होइन् । तर वास्तविक श्रद्धाभावले एक दिनमा व्रत बसेपनि पुण्य प्राप्त हुन्छ,’ उनले भने । स्वस्थानीको व्रत बस्न सबैले मिल्ने उनले बताए । भगवान भनेको हिन्दुको मात्र होइन् । हिन्दु शब्द पहिचान मात्र भएको उनको भनाइछ ।
यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने
काठमाडौं। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षा चैत ७ गतेदेखि हुने भएको छ । मंगलबार सूचना जारी गर्दे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले (एसइई) को समय तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परीक्षा सुरु हुने जानकारी दिएको हो ।
परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा चैत १९ गते सकिनेछ।
पहिलो दिन अनिवार्य अङ्ग्रेजी, संस्कृतस् वेदविद्या श्रमतर्फ (अनिवार्य संस्कृत रचना, अनिवार्य अङ्ग्रेजी मदरसातर्फ(अनिवार्य अरेबिक भाषा अनिवार्य अङ्ग्रेजी अनिवार्य संस्कृत भाषा र साहित्य (वेदविद्याश्रम तर्फ)अनिवार्य नेपालीको परीक्षा हुनेछ।
त्यस्तै दोस्रो दिन अनिवार्य नेपाली र गैरनेपाली विद्यार्थीको लागि अङ्ग्रेजी र तेस्रो अनिवार्य गणितको परीक्षा हुने छ ।
अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार, अमेरिकी डलरको भाउ वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ भने अन्य विदेशी मुद्राको मूल्य पनि वृद्धि भएको छ।
अमेरिकी डलर एकको खरिददर एक सय ३८ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३८ रुपैयाँ ८३ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ४७ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ ३२ पैसा, स्विस फ्र्याङ्क एकको खरिदर एक सय ५० रुपैयाँ ७७ पैसा र बिक्रीदर एक सय ५१ रुपैयाँ ४२ पैसा निर्धाण गरिएको छ।
यस्तै,अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ९८ पैसा र बिक्रीदर ८५ रुपैयाँ ३५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ८० पैसा र बिक्रीदर ९६ रुपैयाँ २२ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ निर्धारण गरिएकोे छ।
त्यस्तै,जापानी येन १० को खरिदर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८२ पैसा, चिनियाँ युआन एकको खरिदर १८ रुपैयाँ ८५ पैसा र बिक्रीदर १८ रुपैयाँ ९३ पैसा, साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ९२ पैसा र बिक्रीदर ३८ रुपैयाँ आठ पैसा कायम भएको छ।
थाई भाट एकको खरिदर तीन रुपैयाँ ९७ पैसा र बिक्रीदर तीन रुपैयाँ ९९ पैसा, युएई दिराम एकको खरिदर ३७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८० पैसा, मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ६५ पैसा र बिक्रीदर ३० रुपैयाँ ७८ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ३९ पैसा र बिक्रीदर नौ रुपैयाँ ४३ पैसा, हङकङ डलर एकको खरिदर १७ रुपैयाँ ७५ पैसा र बिक्रीदर १७ रुपैयाँ ८३ पैसा, कुवेती दिनार एकको खरिदर चार सय ४७ रुपैयाँ ५२ पैसा र बिक्रीदर चार सय ४९ रुपैयाँ ४६ पैसा, बहराइन दिनार एकको खरिदर तीन सय ६६ रुपैयाँ ६७ पैसा र बिक्रीदर तीन सय ६८ रुपैयाँ २६ पैसा, ओमनी रियाल एकको खरिदर तीन सय ५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर तीन सय ६० रुपैयाँ ६२ पैसा कायम भएको छ।
आज पौषमा पकाएर माघमा खाने पर्व : माघे सङ्क्रान्ति
काठमाडौँ । आज देशभर भर थारू समुदायका साथै अन्य समुदायले माघे सङ्क्रान्ति पर्व मनाउँदै छन्। सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिने गरेको पाइन्छ । माघे सङ्क्रान्तिमा पुस मसान्तमै पकाएर राखी भोलिपल्ट माघको पहिलो दिनमा खाने चलन रहेको छ ।
माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकारका साथै माटोमुनि फलेका तरुल, सखरखण्ड, इस्कुसको जरा, पिँडालुसँगै खिचडी आदि खाने चलन नेपाली समाजमा रहेको छ । यी परिकारले जाडोमा न्यानो प्रदान गर्ने भएकाले चिसो समयमा पर्ने माघ महिनामा यस्ता परिकार खाने गरिएको हो । यी खाद्य परिकारले शरीरलाई चिसो तथा चिसोका कारण शरीरमा लाग्ने रोगसँग लड्ने क्षमताको विकास गर्न मद्दत गर्नुका साथै शरीरमा शक्ति प्रदान गर्छ ।
आजका दिन शरीरमा तिलको तेलले मालिस गर्दा दूषित पदार्थ बाहिर निस्कन्छ भन्ने जनविश्वास रहेको छ । शरीरका नाडी, स्नायुमण्डल र हड्डीलाई तिलको तेल मालिसबाट सुदृढ र स्वस्थ राख्न सकिने आयुर्वेद शास्त्रीय मान्यता छ ।
आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनहरूको घुइँचो लाग्नसाथै विशेष मेलासमेत लाग्ने गर्दछ।
तराईवासीले माघ १ लाई नहान अर्थात् नुहाउने पर्वका रूपमा मनाउँछन्। उनीहरूले आज अनिवार्य नुहाउनुपर्ने मान्यता राख्छन्।
बिहानै तीर्थस्थलमा गई स्नान गरेर तिल दान गर्नाले सुन दान गरेसरहको पुण्य प्राप्त हुने धार्मिक विश्वास छ। धर्मसिन्धुमा माघे सङ्क्रान्तिका दिन घ्यू, चाकु, तिलका परिकार, खिचडी नखाने, दान नगर्ने, जलाशयमा गई स्नान नगर्ने, ध्यान नगर्ने व्यक्ति जीवनभर रोगी हुने उल्लेख गरिएको।
‘वसन्त’को गीत ’साँझ पर्यो झमक्क’ युट्युबको ट्रेन्डिङमा
काठमाडौं । गायक तथा अभिनेता प्रकाश सपुतले आफ्नो डेव्यु निर्देशकिय सिनेमा ‘वसन्त’को पहिलो गीत दुई दिनअघि रिलिज गरेका थिए । सिनेमाको पहिलो गीत ‘साँझ पर्यो झमक्क’ रिलिज भएको २४ घण्टा पनि नपुग्दै युट्युबको ट्रेन्डिङमा उक्लिएको थियो ।
हाल यो गीत युट्युबको ट्रेन्डिङ अन्र्तगत म्युजिक सेक्सनको तेस्रो नम्बरमा छ । सार्वजनिक गीतले दर्शकमाझ चर्चा पाइरहेकाले युट्युब ट्रेन्डिङको शिर्ष स्थान तर्फ आफ्नो पाइला बढाइरहेको छ ।
गायक, अभिनेता तथा निर्देशक समेत रहेका सुपतले नै शब्द रचना र संगीत तयार पारेको गीतको अडियो र भिडियो दुवै पक्ष अब्बल रहेको प्रतिक्रिया पाइरहेको छ ।
गीतको कमेन्टबक्समा दीपक विश्वकर्मा नामका दर्शकले लेखेका छन्, ‘प्रकाश सपुतको यो कलालाई उच्च सम्मान छ । यो सिनेमा ‘वसन्त’ सुपरहिट बन्न सफल बनोस् । शुभकामना ।’ यता अर्का दर्शक अनिलले लेखेका छन्, ‘म त प्रकाश सपुतको प्रतिभा र क्षमता देखेर अचम्मै पर्छु । भगवान छन भने र भगवानले मान्छे बनाउछन भने साच्चिकै फुर्सदमा धेरै समय खर्चेर बनाएको मान्छे जस्तो । आहा कति प्रतिभाशाली ।’
यस्तै अर्का दर्शक दीपक बस्नेतले लेखेका छन्, ‘हाम्रो पुरानो सव्यता संस्कृति जोगाउने अहिलेको एकमात्र पुरुष प्रकाश सपूत । तिमी साचिँकै सपूत हौं ।’ उनीसँगै गीतको कमेन्टबक्समा अर्का दर्शक हिमाल सागर हिङमाङ्गले लेखेका छन्, ‘बिस्तारै नयाँ पिढीँहरु यसैगरी नेपाली मौलिक लोक गीतहरुमा भिज्दै गइरहेको देखिन्छ यो सबै कथावस्तुको प्रभावले हो । जो प्रकाश दाईले आफ्ना प्रस्तुतीहरु मौलिकपन एकपछि अर्को गर्दै दिइरहनु भएको छ । सिनेमा ‘वसन्त’को सम्पुर्ण टिमलाई उच्च सफलताको कामना गर्दछु ।’
सार्वजनिक गीतमा गायनमा सपुतलाई पछिल्लो समयकी चर्चित गायिका शान्तिश्री परियारले साथ दिएकी छन् ।
सिनेमामा प्रकाश सपुत, स्वस्तिमा खड्का, प्रभात पाल ठकुरी, श्री शिभान्सी, उर्मिला लाम्गादे र खड्क बहादुर पुन (खबपु), अनुप बराल, कमलमणी नेपाल, प्रकाश घिमिरे लगायतका कलाकारको पनि अभिनय रहेको छ ।
गलबन्दी प्रोडक्सनको प्रस्तुति रहने सोसल ड्रामा सिनेमामा कथा, पटकथा र संगीत पनि सपुतले नै तयार पारेका हुन् । विपन्न विश्वकर्मा समुदायको छोराको लेखक बन्ने सपना र लक्ष्य हासिल गर्न उसले गर्ने संघर्षको कथा सिनेमाले भन्ने छ । सिनेमाको निर्मातामा मोहन विश्वकर्मा र बिन्दु बोहोरा तथा कार्यकारी निर्मातामा अनुरोध भट्टराई, नाना थकाली र विरेन्द्र नारायण श्रेष्ठ छन् ।
सिनेमालाई सुसन प्रजापतिले खिचेका हुन् । काठमाडौं उपत्यकामा डिसिएन र मोफसलमा एफडी कम्पनिले सिनेमालाई वितरण गर्नेछन् ।
कबड्डी लिग माघ ४ गतेबाट हुने
काठमाडौं । नेपाल कबड्डी लिग (एनकेएल) आगामी माघ ४ गते हुने भएको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा आगामी माघ ४ गतेदेखि नेपाल कबड्डी लिग हुन लागेको हो ।
खेल अघि सोमबार काठमाडौंमा खेलाडी र पत्रकारबीच भेटघाट कार्यक्रम भएको छ ।
सोही क्रममा नेपाली राष्ट्रिय कबड्डी टोलीका कप्तान घनश्याम रोका मगरले नेपाल कबड्डी लिगको नेपालमा पहिलो पटक हुन लागेको हुनाले उत्साहित रहेको बताएका छन् ।
उनले भने, ‘धेरै नै उत्साहित छु नेपाल कबड्डी लिगको लागि किनभने नेपालमा पहिलो पटक यो कबड्डी लिग हुन लागेको हो । म २ वर्ष अगाडि यहाँ आउदा यति धेरै कबड्डीको क्रेज थिएन तर अहिले धेरै नै क्रेज देख्न पाएको छु । नेपाली खेलाडीहरुलाई पनि राम्रो सेवा सुविधा लिएको छ यसरी नै अगाडि बढाउने हो भने नेपालमा खेलको भविष्य छ ।’
एनकेएलको पहिलो सिजन फ्रेन्चाइज टिमको अवधारणामा विभिन्न छ सहरका छ टिमले प्रतिस्पर्धा गर्दैछन् । एनकेएलको उद्घाटन खेलमा काठमान्डु माभरिक्स र पोखरा लेकर्स भिड्ने भएका छन् । विराटनगरले पहिलो खेलमा धनगढी वाइल्डक्याट्सको सामना गर्नेछ भने यता जनकपुर नाइट्सले बुटवलको हिमालयन रेइडर्स विरुद्ध प्रतिस्पर्धा गर्दै एनकेएलमा ‘डेब्यु’ गर्नेछ ।
राउन्ड रोबिन लिगमा १५ खेल हुने छन्, जसको शीर्ष चार टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । लिगका शीर्ष दुई टिमले माघ १४ गते क्वालिफाइर १ खेल्नेछ, जसको विजेता सिधै फाइनलमा पुग्नेछ ।
त्यसैगरी लिगमा तेस्रो र चौथो स्थानमा रहेका टिमले माघ १४ गते नै इलिमिनेटरमा खेल्नेछ, जसको विजेता क्वालिफाइर २ मा पुग्नेछ । क्वालिफाइर १ मा पराजित भएका टिम र इलिमिनेटरका विजेताबीच माघ १६ गते हुने क्वलिफाइर २ मा जित हासिल गर्ने टिमले फाइनलमा स्थान पाउनेछ ।फाइनल खेल भने आगामी माघ १८ गते हुनेछ ।
एमालेको कारवाहीप्रति आक्रोश : ‘फरक मत राख्नेमाथि कारवाही गरिनु गलत’
काठमाडौं । राजनीतिक दलहरुले भिन्न मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाएर लोकतन्त्रमाथि धावा बोलेको एक कार्यक्रमका वक्ताहरुले धारणा राखेका छन् ।
मायाको पहिचान नेपालले सोमबार आयोजना गरेको अन्तरक्रियामा बोल्दै वक्ताहरुले दलहरुमा लोकतान्त्रिकीकरण आवश्यक भएको औंल्याए ।
बृहत नागरिक आन्दोलनका अगुवा संजिव उप्रेतीले दलहरुभित्र लोकतन्त्रको अभ्यास कमजोर रहेकाले नागरिक तहबाट खबरदारी आवश्यक भएको बताए । ‘दलको नेतृत्वप्रति प्रश्न उठाउँदा कारवाही गर्ने, पार्टीभित्रको गलत निर्णय हुँदा औंला उठाउने जोकोही कारवाहीमा पर्नु लोकतान्त्रिक होइन् । यसका लागि नागरिक तहबाट खबरदारी जरुरी छ,’ उनले भने ।
नेकपा एमालेको स्थायी कमिटी सदस्यबाट निलम्बनमा परेकी बिन्दा पाण्डेले आफूले उठाएको मुद्दा ठिक हो भन्नेहरुको संख्या ठूलो रहेको बताउँदै समाजवाद उन्मुख पार्टीको निर्णय गलत भएको बताइन् ।
‘मौलिक हक र अभिव्यक्ति स्वतन्त्रताको हक संविधानले व्यवस्था गरेको छ । संविधानभन्दा माथि कुनैपनि राजनीतिक दल हुन सक्दैन् । पार्टीहरुले मत र मन जितेर अघि बढ्नुपर्छ । एमालेले हामीहरुमाथि गरेको निर्णय गलत छ,’ उनले भनिन्,‘सबैकुरा तथ्यले प्रमाणित गर्दै जान्छ । म ६ महिना होइन एक बर्ष कारवाही भोग्न तयार छु । तर सत्य बोल्न छाड्दिन ।’
आफू जन्मिदै एमाले भएको बताउँदै पाण्डेले आजीवन एमाले भएर बस्ने प्रतिवद्धता पनि जनाइन् । ‘म एमालेको सिद्धान्त पढेर हुर्किएकी हुँ । सत्य बोल्दा अनुशासनको कारवाही मेरा लागि केही होइन् । एमालेबाट अलग हुने परिकल्पना गर्न सकिदैन् । पाँच दशक एमालेमा सक्रिय भएका भीम रावललाई निस्कासित गर्नु ठूलो गल्ती हो, उनले भनिन् । उनले संविधान संशोधन संख्याका आधारमा हुने भन्दै संख्या नपुगे संविधान संशोधन नहुने बताइन् । उनले संविधान संशोधनका लागि जनमत आवश्यक पर्ने पनि बताइन् ।
त्यस्तै एमालेकै केन्द्रीय कमिटी सदस्यबाट निलम्बनमा परेकी उषाकिरण तिमल्सिनाले पार्टीले कारवाही गर्दा आफूहरु सेलिब्रेटीजस्तो भएपनि पार्टीभित्र निराशा छाएको बताइन् । ‘हामी एमालेमै राजनीति गर्ने हो । तर कानुन र समाजलाई असर पर्नेगरीका निर्णय मान्न तयार हुन सकिदैन्,’ उनले भनिन् । कार्यक्रममा माओवादी केन्द्रका रामकाजी महर्जन, सीता गौडेललगायतले सार्वजनिक मुद्दामा बोल्दा कारवाही गरिनु गलत भएको बताए ।
कार्यक्रममा मायाको पहिचान नेपालका कार्यकारी निर्देशक सुनिलबाबु पन्तले लोकतान्त्रिक दलहरुमा भिन्न मत राख्नेहरुलाई स्पेस नदिनु दुःखद भएको बताए । उनले भने,‘फरक मत राख्नेहरुलाई कारवाहीको डन्डा चलाइनु लोकतान्त्रिक विधि होइन् । दलहरुभित्र लोकतान्त्रिकीकरण आवश्यक छ ।

















