रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैयाँ जरिबाना
काठमाडौं । काठमाडौँ अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्लो भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैयाँ जरिबाना तिराएको छ ।
सोमवार ट्रक व्यवसायी महासङ्घकाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्लो भेटिएको थियो ।
खाजामा साङ्लो भेटिएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैयाँ जरिमाना तिराइएको विभागका सूचना अधिकारी डिक बहादुर कार्कीले जानकारी दिए ।
‘सोमवार दिउँसो भएको एक कार्यक्रममा वितरण गरिएको खाजामा किरा भेटिएको उजुरी आएको थियो । हाम्रो अनुगमन टोली किरा भेटिएको पुष्टि गरेपछि तीन लाख रुपैयाँ जरिमाना गराएका छौं,’ कार्कीले भने ।
साङ्लो वा अन्य किरा फेला परेको हो भन्ने विषयमा रेस्टुरेन्टका संचालकलाई सम्पर्क गर्दा उनी यसबारे बोल्न चाहेनन् ।
यस्ता छन् मन्त्रीपरिषद्का निर्णयहरू
काठमाडौँ । सरकारले समृद्धिका लागि वन परियोजनाको लागि विश्व बैंकबाट प्राप्त हुने थप १२ मिलियन अमेरिकी डलर (करिब १ अर्ब ६३ करोड रुपियाँ बराबरको) अनुदान सहायता स्वीकार गरेको छ ।
हिजो आइतवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको प्रवक्ता पृथ्वी सुव्वा गुरुङ्ले जानकारी दिए ।
त्यस्तै,सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने,नागरिक लगानी कोषको चुक्ता पूँजी वृद्धि गरी रु.६ अर्ब ४८ करोड १७ लाख १२ हजार २ सय ५० कायम गर्न स्वीकृति प्रदान गर्ने,र आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१ जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।
त्यस्तै उनका अनुसार सरकारले आर्थिक वर्ष २०८१/८२ को लागि गहुँको न्यूनतम समर्थन मूल्य प्रति क्विन्टल रु. ३.८६७.३८ निर्धारण गर्ने संयुक्त बजार अनुगमन निर्देशिका २०६९, शहीदका परिवारलाई पेट्रोलियम पदार्थको विक्रेता नियुक्त गर्दा र टैंक ट्रक राख्न अनुमति प्रदान गर्दा सहुलियत दिने सम्बन्धी कार्यविधि २०६७ र उत्पादनमूलक उद्योगलाई औद्योगिक प्रयोजनका लागि आवश्यक पर्ने कच्चा पदार्थ सुपारी, केराउ र मरिचको पैठारीलाई व्यवस्थित गर्नेसम्बन्धी कार्यविधि २०७८ खारेज गर्ने पनि निर्णय भएको छ ।
त्यस्तै सरकारले राजस्व न्यायाधिकरण काठमाडौँको कानून सदस्य तथा अध्यक्ष पदमा उच्च अदालत पाटनका माननीय न्यायाधीश ब्रजेश प्याकुरेललाई र विशेष अदालत काठमाडौँको सदस्य पदमा उच्च अदालत पाटनका माननीय न्यायाधीश विदुर कोइरालालाई तोक्ने पनि निर्णय गरेको छ ।
साथै नेपाल न्याय सेवाका राजपत्राङ्कित द्वितीय श्रेणीका १५ जना अधिकृतहरूलाई सम्बन्धित सेवा समूहको राजपत्राङ्कित प्रथम श्रेणीमा बढुवा गर्ने र ९ जना राजपत्राङ्कित प्रथम श्रेणीका अधिकृतहरूको सरुवा गर्ने पनि निर्णय भएको उनले जानकारी दिए ।
कुनै दल फुटाउने र मिलाउने काम म गर्दिनँ : प्रधानमन्त्री
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक दलसम्बन्धी कानुनलाई सच्याउनुपर्ने आवश्यकता भए पनि कुनै दललाई फुटाउने र मिलाउने काम आफ्नो नभएको स्पष्ट पारेका छन् ।
नेपाल पत्रकार महासङ्घका नवनिर्वाचित पदाधिकारीलाई आज प्रधानमन्त्री निवास, बालुवाटारमा बधाई तथा शुभकामना दिने क्रममा प्रधानमन्त्री ओलीले दल विभाजन गराउने सम्बन्धी अध्यादेश ल्याउन लाग्यो भनेर झुुठ र नकारात्मकता फैलाइएकामा चिन्ता व्यक्त गर्दै कुनै पनि दल मिल्ने र फुट्ने ती दलको आन्तरिक विषय भएको स्पष्ट पारेका हुन् ।
उनले विगतमा आफू प्रधानमन्त्री हुँदा कुनै दल विभाजन हुने स्थिति आएमा संसदीय दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउनुपर्ने संविधानको व्यवस्था कार्यान्वयनमा जटिलता आएकाले संसदीय दल वा केन्द्रीय कमिटीमा ४० प्रतिशतको प्रबन्ध गरेर अध्यादेश ल्याएको र विरोध आएपछि फिर्ता लिएको तर तिनै विरोध गर्नेहरूले ‘लाज शरम’ पचाएर २० प्रतिशत सांसदले पनि विभाजन गर्न पाउने भन्ने व्यवस्था गरेर दल विभाजन गराएको स्मरण गराउँदै आफू त्यस्तो कुकर्म गर्ने मनसाय नरहेको स्पष्ट गरे ।
प्रधानमन्त्री ओलीले देश विकास र जनताका सेवालाई ध्यानमा राखेर सरकारले राष्ट्रपतिसमक्ष विभिन्न अध्यादेश सिफारिस गरेको जनाउँदै नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाबाट त्यसको विरोध भयो भन्ने झुुठो वक्तव्य प्रचार गरिएका जस्ता घटनाबाट नेपाली पत्रकारिता बच्नुपर्नेमा जोड दिए ।
यस्ता सूचना र समाचारका कारण जनताको सूचनाको हकको घाँटी निमोठिने भएकाले लोकतन्त्रको दुरुपयोग हुन नदिन पत्रकार महासङ्घले पनि भूमिका निर्वाह गर्नुपर्नेमा उनले जोड दिए ।
जारी हुन नै बाँकी रहेको अध्यादेशलाई राति राति जारी गर्यो भनेर सम्प्रेषण गरिएको सुनाउँदै उनले देश र जनताका पक्षमा आफूहरूले दिन र रात नभनी काम गरेको बताए । ‘हामी १०–५ को जागिर खान आएका होइनौँ । देश र जनताप्रतिको जिम्मेबारी बोध गरेर दिउँसो वा राति काम हुन्छ । लुकाएर र छलछाम गरेर काम गर्ने मेरो बानी छैन । देशका हितमा खुलेआम काम गर्ने हो ।’, प्रधानमन्त्री ओलीले प्रश्नात्मक शैलीमा भने, ‘राम्रो काम राति गर्न हुन्न भन्ने छ र ? के बिहान साइत पारेर भ्रष्टाचार गरेरमा त्यो राम्रो हुन्छ र ?’
सञ्चार क्रियाकलापका नाममा किर्ते र जाली काम रोक्ने काम गर्न सरकारले कानुन ल्याउने जानकारी दिँदै प्रधानमन्त्री ओलीले पत्रकारको पेसागत सुरक्षा हुनुुपर्ने र त्यसमा राज्यले भूमिका हुने विश्वास दिलाए ।
सो अवसरमा महासङ्घका अध्यक्ष निर्मला शर्मासहितका पदाधिकारी र सदस्यलाई प्रधानमन्त्री ओलीले बधाई दिनुुभएको थियो भने महासङ्घका अध्यक्ष र महासचिव रामप्रसाद दाहालले सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका विषयमा ध्यानाकर्षण हस्तान्तरण गरेका थिए ।
अध्यक्ष शर्माले महासङ्घको निर्वाचन हुन विविध कारणले ढिलाइ भए पनि यस पटक महिला अध्यक्षको इतिहास रचिएको उल्लेख गर्दै यसमा राजनीतिक दल, पत्रकारिताका सङ्गठन र आम पत्रकारको साथ रहेको बताए ।
स्थानीय सरकार भनेको जनताको सरकार हो : उपप्रमुख डंगोल
काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले स्थानीय सरकार भनेको जनताको सरकार भएको बताएकी छिन् । सोमवार फास्टफुड एसोसियसन नेपालको आठौँ राष्ट्रिय अधिवेशनको समुद्घाटन समारोहमा बोल्दै उनले सबै भन्दा बढी आम नागरिक र समुदायलाई चिनेको बुझेको सरकार नै स्थानीय सरकार भएको बताएकी हुन् ।
उनले भनिन्, ‘आम नागरिकले धेरै राम्रोसँग व्यवसाय गरिरहनु भएको छ, तर हामी सबैले सचेत हुन जरुरी छ, सरकारले सधैँ ट्याक्स मात्र हामीलाई तिराउँछ , जरिबाना हामीलाई मात्र लगाउछ, कानूनमा मात्र बसाल्छ हामीलाई भन्ने लाग्न सक्छ । तर स्थानीय सरकार भनेको जनताको सरकार हो । नजिकको सरकार हो, सबैभन्दा बढी आम नागरिकलाई समुदायलाई चिनेको बुझेको सरकार हो भनेर आभास गराउनु पनि महत्वपूर्ण छ । त्यसकारणले पनि काठमाडौँ महानगरपालिकाले फास्टफुडकै कम्पनीहरूसँग आबद्ध रहेका सबैलाई तालिम समेत दिएका थियौँ ।’
यसैगरी उनले महानगर जनताको राम्रो काम गर्न सधैँ तत्पर रहेको बताइन् । उनले राम्रो व्यवसाय गर्नेहरूलाई महानगरले प्रोत्साहन समेत गर्ने बताइन् ।
दमकल नजाने गल्लीमा ‘ड्राइ राइजर’ विस्तार गर्दै महानगरपालिका, वडा नं. ७ मा फायर फाइटिङ पाइपलाइन जडान
काठमाडौं । काठमाडौं महानगरपालिका–७ मा फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको छ । पाइप लाइनको सोमवार सफल परीक्षण गरिएको महानगर प्रहरी इन्स्पेक्टर धुब्र कुमार भुजेलले बताए ।
उनले भने, ‘साँघुरा गल्लिहरूमा काठमाडौँ महानगरपालिकाले विपद् व्यवस्था विभाग अन्तर्गतका बजेटहरूबाट फायर फाइटिङ पाइप लाइन ९ड्राइ राइजर० जडान गरिएको हो । विभिन्न वडाहरूमा जहाँ दमकल जान सक्दैन । जसले आगलागी हुँदाखेरी आगो निभाउका निम्ति पानीको अत्यन्त आवश्यक हुन्छ । पानीलाई निकाल्नको निम्ति ड्राइ राइजरको सहयताले पानी छिराउने गर्छौँ ।’
साथै उनले आगो निभाउनका लागि धेरै गल्लिहरूमा ड्राइ राइजर राखिएको बताए । उनले वडा नं। १२, ३, ६, १५ मा यो भन्दा अगाडि नै राखिएको भए पनि आज ७ नं वडामा ड्राइ राइजर राखिएको बताए ।
दमकल जान नसक्ने साँघुरा सडक तथा गल्लीमा आगलागीका समयमा आगो निभाउन प्रयोग गर्न सकिने गरी राखिएको पाइप लाइन ड्राइ राइजर हो । यसको दुवैतर्फ दमकल पुग्ने ठाउँमा इनलेट भल्व राखिएको हुन्छ । दमकलको पानी इनलेटमा राखेपछि आवश्यकताका आधारमा पाइपलाइनका बीचमा जुनसुकै आउटलेट खोले पनि पानी प्राप्त हुन्छ । यसमा डेलिभरी होर्ज जोडेर आगो नियन्त्रण गर्न सकिन्छ ।
अकूत सम्पत्ति कमाएको अभियोगमा सिँचाइ विभागका इन्जिनियर विरुद्ध मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जलस्रोत तथा सिँचाइ विभागमा कार्यरत तत्कालीन इन्जिनियर विष्णुकुमार श्रेष्ठविरुद्ध अकूत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगले श्रेष्ठ सार्वजनिक सेवामा प्रवेश गरेदेखिको आर्जनको हिसाब किताब गरेको जनाएको छ । इन्जिनियर श्रेष्ठ २०४६ असार ३० गते सरकारी सेवामा प्रवेश गरेका थिए । आयोगले सरकारी सेवामा प्रवेश गरेपछि २०७७ असार ३१ गतेसम्मको सम्पत्तिको विषयमा अध्ययन गरेको थियो ।
वैधानिक रूपमा श्रेष्ठले रु ११ करोड २५ लाख ६५ हजार एक सय ९९ बराबरको आर्जन गरेको पाइएको छ । यस्तै, रु १६ करोड १३ लाख ९५ हजार पाँच सय २८ बराबर लगानी एवम् खर्च गरेको पाइएको छ । रु चार करोड ८८ लाख ३० हजार तीन सय २९ बराबरको रकमको वैधानिक स्रोत नखुलेको आयोगले जनाएको छ ।
सार्वजनिक सेवामा रहँदा आफ्नो पदीय हैसियतको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको र अस्वाभाविक जीवनयापन गरेको पुष्टि भएको आयोगको ठहर छ ।
गैरकानुनीरुपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्तिसमेत पत्नी लक्ष्मीकुमारी श्रेष्ठ, बाबु हरिकुमार श्रेष्ठ, आमा इन्द्रकमारी श्रेष्ठ, छोरा विवेक श्रेष्ठसमेतको नाममा राखेको पाइएकाले सबैलाई प्रतिवादी बनाइ आइतबार विशेष अदालतमा मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
सोमबार एकैदिन पाँच संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । सोमवार पाँच वटा समितिको बैठक बस्दैछ । जसअन्तर्गत संघीय संसद, प्रतिनिधिसभा, अर्थ समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ ।
यसैगरी, आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठक बस्दैछ । प्रधानमन्त्रीबाट भएको पछिल्लो वैदेशिक भ्रमण सम्बन्धमा बैठकमा छलफल हुनेछ भने परराष्ट्र मन्त्रालयको आ.ब २०८१/८२ को कार्यक्रम तथा हालसम्मको प्रगति सम्बन्धमा पनि छलफल हुनेछ । बैठक बिहान ११ बजे बस्दैछ ।
यस्तै,न्याय तथा मानव समितिको बैठक पनि आज बस्ने भएको छ । बिहान साढे १० बजे बस्ने बैठकमा नेपाली ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल हुनेछ ।
आजै विधायन व्यवस्थापन समितिको ३४ औँ बैठक पनि बस्दैछ । बैठक अपरान्ह् १२ः३० बजे बस्दैछ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुँदैछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २५४ औँ बैठक आज बस्दैछ । बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल हुँदैछ । दिनको १ बजे बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्री र सचिवलाई आमन्त्रित गरिएको छ ।
‘वाइल्डलाइफ फोटोग्राफर’ चुङ्बा शेर्पाको निधन
काठमाडौँ । चर्चित वाइल्डलाइफ फोटोग्राफर चुङ्बा शेर्पाको निधन भएको छ । ६४ वर्षीय शेर्पाको आइतबार राति १२ः१५ बजेको समयमा ग्रान्डी अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका–१, लुक्ला स्थायी ठेगाना भएका शेर्पा कलेजोसम्बन्धी समस्याका कारण एक सातादेखि उपचाररत थिए । उपचारकै क्रममा शेर्पाको निधन भएको हो ।
वाइल्डलाइफ फोटोग्राफीमा सक्रिय शेर्पा फोटोग्राफी सम्बन्धी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध थिए ।
सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैङ्कले सोमबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३७ रुपैयाँ २५ पैसा र बिक्रीदर एक सय ३७ रुपैयाँ ८५ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ६२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ २३ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर एक सय ६७ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ६८ रुपैयाँ २९ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिदर ८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८४ रुपैयाँ ७५ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ १६ पैसा र बिक्रीदर ९५ रुपैयाँ ५८ पैसा, सिङ्गापुर डलर एकको खरिदर एक सय रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय रुपैयाँ ५१ पैसा निर्धारण गरिएको छ ।
साउदी अरेबियन रियाल एकको खरिदर ३६ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७२ पैसा, कतारी रियाल एकको खरिददर ३७ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३७ रुपैयाँ ८१ पैसा , मलेसियन रिङ्गेट एकको खरिदर ३० रुपैयाँ ५२ पैसा र बिक्रीदर ३० रुपैयाँ ६६ पैसा कायम भएको छ ।
धरौटीमा रिहा भएका लामिछाने न्यायिक हिरासतमा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछानेको बयान सकिएको छ । काठमाडौँ जिल्ला अदालतमा भएको बयान सकिएसँगै अब थुनछेक बहस सुरु हुनेछ ।
स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा बयानका निम्ति लामिछाने आइतवार बिहान आफैँ काठमाडौँ जिल्ला अदालतमा उपस्थित भएका थिए । बयान सकिएपछि अदालतले न्यायिक हिरासतमा राख्न भनेको छ । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान भएको थियो ।
बयान सकिएलगत्तै थुनछेक बहस गराउन लामिछानेपक्षका कानून व्यवसायीको माग गरेका थिए । थुनछेक बहस नभएका कारण लामिछानेलाई जिल्ला प्रहरी परिसरको हिरासतमा पठाइएको हो । पोखराबाट धरौटीमा रिहा भएका लामिछाने आइतवार न्यायिक हिरासतमा गएका हुन् ।











