मनोरञ्जन क्षेत्रको राजस्व घटेपछि बालेनको आक्रोश ः प्रदेश सरकार गैरजिम्मेवार बन्यो
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को अध्यक्षतामा बिहीबार लेखा परीक्षणको प्रारम्भिक बैठक सम्पन्न भएको छ ।
प्रमुखको कार्यकक्षमा भएको बैठकमा उपप्रमुख सुनिता डंगोल, नायव महालेखा परीक्षक ताराप्रसाद पाण्डे, निर्देशक कल्पना अर्याल पोखरेल, लेखा परीक्षण अधिकारी रामकृष्ण पोखरेल, गीता पन्थी र राजु पाण्डेसहित महानगरपालिकाका विभागीय प्रमुखहरू सहभागी थिए ।
बैठकमा प्रमुख शाहले, प्रदेश सरकारले आर्थिक ऐनमा गैरजिम्मेवारपूर्वक संशोधन गरेर स्थानीय सरकारले प्राप्त गरिरहेको मनोरञ्जन शीर्षकबाट प्राप्त हुने राजस्व घटाइदिएको उल्लेख गरे । ‘क्यासिनो, स्काइ वक र मेला महोत्सवमा लिइने शुल्कको उदाहरण दिँदै उनले भने, ‘पहिले आकाशे शिशाको पुल पाँच प्रतिशत थियो । यसबाट महानगरपालिकाले वार्षिक २३ लाख ८६ हजार रुपैयाँ राजस्व प्राप्त भएको थियो । अहिले वार्षिक ५० हजार रुपैयाँ तोकिएको छ । यसबाट सोझै २३ लाख ३० हजार रुपैयाँ राजस्व घटेको छ । पहिले क्यासिनोमा खर्च गरिएको रकमको पाँच प्रतिशत शुल्क थियो । अहिले प्रति टिकटमा ५० रुपैयाँ तोकिएको छ । पहिले मेला महोत्सव, कन्सर्ट, जादु सर्कसमा प्रवेशको पाँच प्रतिशत कर थियो । अहिले महानगरपालिकाभित्र प्रतिदिन १५ हजार रुपैयाँ तोकेको छ ।’ यस्ता नीतिगत भ्रष्टाचारलाई लेखापरीक्षणका क्रममा कसरी सम्बोधन हुन्छ ?’ परीक्षण अधिकारीलाई प्रश्न गर्दै उनले भने,‘यसरी राजस्व घटेपछि महानगरपालिकाले चलचित्र, कला तथा सिर्जनाको प्रोत्साहन तथा प्रवर्धनमा कार्यक्रममा बजेट राख्न पाएन । अर्कोतिर संविधानले स्थानीय सरकारको एकल अधिकारका रूपमा दिएको बहाल कर संघीय सरकारले संकलन गरिरहेको छ । यसबाट पनि महानगरपालिकाको आय घटेको छ । नीतिगत यस्ता विषयलाई पनि लेखा परीक्षणका क्रममा औँल्याउनु पर्छ ।’
वित्तीय अनुशासनमा नियामक निकायबाट प्राप्त भएका सुझावलाई योजना तथा कार्यक्रम तर्जुमादेखि नै कार्यान्वयन गरिएको प्रमुख शाहको भनाइ छ । लेखा परीक्षण अधिकारीसँगका अपेक्षासँगै प्रमुख शाहले विभागीय प्रमुख र खर्च गर्ने अधिकारीहरूलाई परीक्षणका क्रममा माग गरिएका विवरण, आधार, प्रमाण र कारणहरू तत्काल उपलब्ध गराउन निर्देशन दिए । ‘वित्तीय सुशासनमा हामी प्रतिबद्ध छौँ,’ भन्दै उनले आन्तरिक नियन्त्रण प्रणालीलाई बलियो बनाउन नियामक निकायबाट सहयोगको अपेक्षा राखे ।
त्यस क्रममा उपप्रमुख सुनिता डंगोलले, कानुनले दिएका अधिकारलाई करदाताप्रति जिम्मेवार भएर परीक्षण कार्य सम्पन्न हुने अपेक्षा राखिन् ।
परीक्षणका क्रममा कामको वित्तीय विवरण, यसअघिका परीक्षणबाट औँल्याएका विषय, सुधारका लागि दिइएका सुझाव, आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व कानुनबमोजिम प्रक्रिया तथा पद्धतिहरू हेरिन्छ । महानगरपालिकाले वित्तीय प्रक्रिया सञ्चालन गर्दा हुन सक्ने जोखिम, आन्तरिक नियन्त्रण प्रणाली, आन्तरिक लेखा परीक्षणको प्रभावकारिता र नियन्त्रण, वित्तीय जोखिमको अवस्था मूल्याङ्कन गरिन्छ । केन्द्र, वडासहित खर्च हुने ठाउँबाट सञ्चित रकम खर्च गर्दा अपनाउनु पर्ने नियमितता, मितव्ययिता, कार्यदक्षता उपर परीक्षण गर्ने गरी लेखापरीक्षण योजना बनाइएको छ ।
महानगरपालिकाले वित्तीय सुशासनका लागि पूर्वलेखा परीक्षण, आन्तरिक लेखा परीक्षण र अन्तिम लेखा परीक्षण गरी ३ चरणमा लेखा परीक्षण गर्ने गरेको छ । आ. व. २०७१÷०७२ को नगरपरिषद् (तत्कालीन) को निर्णय अनुसार १ लाख ५० हजार रुपैयाँसम्मका भुक्तानीमा महानगरपालिकाले पूर्व लेखापरीक्षण गराउँदै आएको छ । आन्तरिक लेखा परीक्षणका लागि छुट्टै एकाइले काम गर्दै आएको छ ।
आ.व. २०७३/०७४ (२०७४ बैशाख) देखि महालेखा परीक्षकको कार्यालयबाट अन्तिम लेखापरीक्षण हुँदै आएको छ । त्यसअघि अनुमति प्राप्त लेखा परीक्षकबाट अन्तिम लेखा परीक्षण हुने गरेको थियो ।
वित्त विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार महानगरपालिकाको केन्द्र, ३२ वटा वडा, हनुमान ढोका दरबार संरक्षण कार्यक्रम र जग्गा एकीकरण आयोजना गरी ३५ वटा एकाइको छुट्टाछुट्टै परीक्षणबाट प्रारम्भिक प्रतिवेदन तयार हुनेछ ।
प्रशासन विभागले पुस १६ गते आन्तरिक परिपत्र जारी गर्दै अन्तिम लेखा परीक्षणको कार्यअवधिभर विभागका प्रमुख र खर्च कार्यक्रममा सम्लग्न अधिकारी, वडा सचिव, लेखापाल, राजस्व हेर्ने कर्मचारीलाई बिदामा नबस्न, विदा स्वीकृत गर्ने अधिकारीलाई विदा स्वीकृत नगर्न भनेको छ ।
बाह्रै महिना मेलम्चीको पानी बन्द हुने छैन् : मन्त्री यादव
काठमाडौँ । खानेपानी मन्त्री प्रदीप यादवले आगामी वर्षदेखि वर्षातको समयमा पनि मेलम्चीको पानी बन्द नहुनेगरी काम भइरहेको बताएका छन् । बिहीबार मन्त्रालयमा सञ्चारकर्मीहरूसँगको कुराकानीका क्रममा मन्त्री यादवले प्रत्येक वर्ष वर्षातको समयमा मेलम्चीको पानी बन्दै गरिदै आएको भएपनि आगामी वर्षदेखि बन्द नगरी काठमाडौँ उपत्यकाका नागरिकलाई बाह्रै महिना शुद्ध पानी खुवाउने गरी काम भइरहेको बताए ।
उनले भने,‘बिगतका वर्षमा वर्षा सुरु हुने बित्तिकै मेलम्चीबाट आउने पानी बन्द हुने गथ्र्यो, अब हामीले वर्षातको समयभरी नै मेलम्चीको पानी सुचारु गर्नेगरी काम सुरु गरेका छौँ । आउँदो वर्षबाट बाह्रै महिना नै मेलम्चीको पानी वितरण गर्ने प्रणालीको विकास गर्ने काम अन्तिम चरणमा पुगेको छ । अब वर्षातको समयमा मेलम्चीको पानी बन्द गरिने छैन् ।’
मन्त्री यादवले अहिले पनि नेपालका विभिन्न जिल्लाका नागरिकले डोकोमा पानी बोक्नुपर्ने अवस्था कायमै रहेकाले नागरिकले खानेपानी डोकोमा बोकेर जोहो गर्नुपर्ने अवस्थाको अन्त्य गर्नका लागि मन्त्रालयले ठोस कदम चालिरहेको बताए ।
उनले भने,‘म नेपालका तराई, पहाड र हिमाली जिल्लाका बिकट बिकट गाउँ वस्तिमा पुगी सकेको छु । कतिपय गाउँ त पानीका लागि बसाइँ सराइ गर्नु पर्ने अवस्थामा छन् । ती क्षेत्रहरूका नागरिकका लागि शुद्ध खानेपानीको व्यवस्था गर्न म ठोस कदम चाल्दै छु ।’
काठमाडौँ उपत्यकासहित देशभरीका नागरिकलाई शुद्ध अनि सफा पानी वितरण गर्नका लागि मन्त्रालयले पछिल्लो समय खानेपानीका थुप्रै आयोजनाहरू अघि सारेको बताउँदै यादवले भने,नागरिकलाई शुद्ध पानी खुवाउन मन्त्रालयले थुप्रै खानेपानीका आयोजनाहरू अघि सारेको छ । मेलम्ची नजिकै रहेको अर्को खोलाको पानी काठमाडौँ ल्याउने विषयमा पनि अधयन सुरु भएको छ । सबैको पहुँचमा शुद्ध पानी पुयाउँछु ।’
सोही क्रममा मन्त्री यादवले हाल मेलम्चीबाट आइरहेको खानेपानी कुनै कारणवश बन्द भएमा अथवा बन्द गर्नु पर्ने अवस्था आइपरे मकवानपुरको सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर नागरिकलाई वितरण गर्नका लागि पनि गृहकार्य भइरहेको पनि जानकारी दिए ।
उनले भने,हाल सम्म मेलम्चीको बिल्क मेलम्ची नै हो तर केही कारण बस मेलम्चीको पानी बन्द भएमा सिस्नेरी खोलाबाट १४ करोड लिटर पानी ललितपुरमा ल्याएर पनि नागरिकलाई वितरण गर्ने गरी काम गर्दै छौँ ।’
देशका अधिकाङ्स ठाउँमा अहिले पनि खानेपानीको सहज पहुँच नरहेकाले ती स्थानमा खानेपानी आयोजना सञ्चालन गरेर घरघरमा धारा र सबै नागरिक माझ स्वच्छ, सफा खानेपानी पुराउन योजनाबद्ध ढङ्गले काम गरिरहेको मन्त्री यादवले जानकारी दिए ।
जलस्रोतको क्षेत्रमा नेपाल धनी मुलुक हुँदा हुँदै पनि यहाँका नागरिकले पानीका लागि आन्दोलन गर्नु पर्ने अनि पिठ्युँमा बोकेर खानेपानीको जोहो गर्नु आफैमा दुःख कुरो भएको उनको गुनासो छ । उनले भने,‘जलस्रोतको क्षेत्रमा धनी देशमा पानी देउ सरकार भन्दै आन्दोलन गर्नु अनि पिठ्युँमा खानेपानी बोकेर जोहो गर्न लाजमर्दो कुरा हो ।’
जलवायु परिवर्तनले तराईमा पानी सुक्दै गएको र पहाड, हिमाली क्षेत्रमा जनताले पिठ्युँमा खानेपानी बोकेर जोहो गर्नु परेको र समस्या समाधान गर्न निकै चुनौती पूर्ण रहेकाले त्यसको समस्या समाधानका लागि खानेपानीका आयोजना सञ्चालनमा पर्याप्त बजेट व्यवस्था गरी खानेपानीको समस्या दीर्घकालीन रूपमा अन्त्य गर्नु पर्ने उनको भनाई छ ।
नयाँ वर्षमा सुनसान बन्यो दक्षिण कोरिया, व्यवसायमा उच्च गिरावट
एजेन्सी । दक्षिण कोरियामा यसपालिको नयाँ वर्ष खासै उत्साहजनक रहेन । स्थानीय समाचारमाध्यमहरूका अनुसार राजनीतिक उथलपुथल र हालै भएको हवाई दुर्घटनाका कारण कोरियावासीले नयाँ वर्षलाई शोकका रूपमा ग्रहण गरेका छन् ।
डिसेम्बरको सुरुमा अल्पकालीन मार्सल ल लागुको कारणले राजनीतिक अस्थिरता छाएको र त्यसपछि नयाँ वर्षको पूर्वसन्ध्यामा आइतवारको दुखद जेजु एयरको विमान दुर्घटनाले १ सय ७९ जनाको ज्यान लिएको घट्नालाई दक्षिण कोरियाको झण्डै तीन दशकमा सबैभन्दा खराब उड्डयन प्रकोपको सामना गरेको जनाएको छ ।
जसका कारण राष्ट्रिय शोकको अवस्था निम्त्याएको जनाइएको छ । विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको सम्झनामा मंगलबार सियोल सिटी हलको अगाडि एउटा स्मारक स्थापना गरिएको सात दिने राष्ट्रिय शोक अवधि समाप्त नभएसम्म शोक व्यक्त गर्न क्रम जारी रहने छ ।
उक्त स्थानमा २०२४ को अन्तिम दिनमा धेरै नागरिकहरू पीडितहरूलाई श्रद्धाञ्जली दिन, पुष्पगुच्छा अर्पण गर्न र मौन बस्न आएका थिए।
‘हामी पनि अभिभावक हौं, त्यसैले यो दुखद दुर्घटनामा परिवारका सदस्य गुमाउनु परेको शोकमा सहभागी छौँ। मृतकको चिरशान्तिको कामना गर्दै उहाँको चिरशान्तिको कामना गर्दै यहाँ छौँ। सबैजना तयार हुँदाहुँदै यस्तो गम्भीर दुर्घटना भएकोमा दुःखी छौँ। नयाँ वर्षको शुभारम्भ गर्नका लागि हामीलाई कठिन भयो,एक स्थानीय बासिन्दाले भने।
दक्षिण कोरियाका प्रमुख व्यापारिक जिल्लाहरूका शपिंग मलहरू सामान्यतया वर्षको अन्त्यमा हुने गर्छन । यद्यपि, यस पटक, सियोलको प्रख्यात होङ्गडे व्यापार जिल्लाका सडकहरू अघिल्लो नयाँ वर्षको पूर्वसन्ध्यामा तुलनात्मक रुपमा रूपमा बढी सुनसान छन्। धेरै नागरिकहरूले यो मनोरञ्जन गतिविधिहरूको लागि उपयुक्त समय नभएको बताएका छन्।
‘यस वर्ष, म नयाँ वर्षको पूर्वसन्ध्या शान्त बिताउन चाहन्छु, र हामीले हाम्रो गतिविधि कम गर्ने योजना पनि बनाएका छौं। विगतका वर्षहरूमा जस्तो नभई, म मेरो परिवारसँग घरमै हुनेछु र नयाँ वर्षलाई सरल र शान्त तरिकाले स्वागत गर्नेछु,’ एक स्थानीयले भने ।
मार्सल लको घोषणा पछिको हप्ता कोरियाका आठ प्रमुख क्रेडिट कार्ड कम्पनीहरूको क्रेडिट कार्ड खर्च अघिल्लो हप्ताको तुलनामा लगभग २६ प्रतिशतले घटेको थियो । बैंक अफ कोरियाको तथ्याङ्कले दक्षिण कोरियाको उपभोक्ता विश्वास सन् २००८ यताकै सबैभन्दा ठूलो गिरावट आएको देखाएको छ। (सीसीटीभीप्लस)
बाल गायक सचिन परियारको निधन, अन्त्येष्टिको तयारी
काठमाडौँ । बाल गायक सचिन परियारको निधन भएको छ। स्वास्थ्यमा समस्या देखिएपछि महाराजगन्ज स्थित टिचिङ अस्पताल भर्ना भएका परियारको बिहीबार बिहान १० बजे निधन भएको हो ।
स्वास्थ्यमा समस्या देखिएपछि उनी बुधवार अस्पताल भर्ना भएका थिए। छोराको निधनबारे उनका बुवा तेजेन्द्र परियारले पुष्टि गरेका छन् ।
सचिनको स्वास्थ्य अवस्थामा समस्या आएको र उपचारको लागि रकम आवश्यकता भएको भन्दै उनको परिवारले आर्थिक सहयोगको माग समेत गरेको थियो।
भाइरल बाल गायकका रूपमा परिचित सचिनले गाएका गीत सामाजिक सञ्जालमा चर्चित छन् । उनको शवलाई अस्पतालबाट निकालेर अन्तिम संस्कारका लागि लैजाने तयारी भइरहेको छ ।
‘रातो रबर एक’, ‘रुमाल खस्छकी’, ‘के छ र हजुर’, ‘बरको छायाले’लगायत उनका रुचाइएका गीत हुन्। भाइरल बाल गायकका रूपमा परिचित सचिन थुप्रै गीत गाएका छन्, भने अभिनेता राजेश हमालसँग एक म्युजिक भिडियो अभिनय गरेका छन् । हास्य श्रृखला ‘मेरी बास्सै’मा पनि उनले अभिनय गरेका छन्।
सचिनलाई सञ्चारकर्मी मोहन बस्नेतले गुल्मीदेखि काठमाडौँ ल्याएका थिए ।
पारिवारिक विचलनको मारमा परेका सचिनलाई विभिन्न निकाय, सञ्चारमाध्यमले ठूलो सहयोग गरेता पनि उनको रेखदेखमा कमी भएका कारण पटक पटक स्वास्थ्य समस्या भोग्दै आएका सचिनले अन्तत टिचिमा अन्तिम श्वास फेरेका छन् । एक सातादेखि टिचिङमा उपचार गराइरहेका बेला सचिनको स्वास्थ्य अवस्था झनै कमजोर बन्दै गएको उनका बाबु परियारले जानकारी दिए ।
मुकुल ढकालले भने – पार्टी भित्रैकै मान्छेले मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पूर्वमहामन्त्री डा.मुकुल ढकालले पार्टी सभापति रवि लामिछानेलाई आफूबाट अलग गर्न पार्टीभित्रबाट खेल भएको स्मरण गरेका छन् । बुधवार साँझ सामाजिक सञ्जालमा लेख्दै उनले मलाई पार्टीबाट कारबाही गरेर सभापतिमाथि नै प्रहार गरेको बताएका हुन् ।
उनले लेखेका छन् , ‘सभापतिलाई महामन्त्रीबाट अलग गराएपछि सभापति कमजोर हुन्छन् भन्ने बुझेकाले नराम्ररी नै खेले । मैले बुझाउने प्रयास गरे , म असफल रहेँ । मलाई कारबाही गरे, अनि सभापतिमाथि नै प्रहार गरे । पार्टी बाहिरबाट खेले । पार्टी भित्रैबाट पनि खेले । मैले यतिबेला यो राजनीति भइराछ, जोगिऔँ भने , तर यतिबेलासम्म उहाँ उहाँलाई पुर्न बनाइएको खाल्डोमा परिसक्नु भएको थियो । मैले बार बार सम्झाए, बुझाए, तर खाल्डोमा परेको कुरा पत्याउनु भएन । उल्टै मलाई कारबाही गर्नु भयो । अरूका राजनीति नबुझेरै उहाँले मेरो राजनीतिक रूपमा हत्या गर्ने प्रयास गर्नु भयो र म पनि त्यसै अनुसार प्रतिक्रियात्मक हुन पुगे । ’
यसैगरी उनले पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पु्याउने उनीहरूको योजना सफल हुँदै गएको बताएका छन् ।
उनले थप भनेका छन्, ‘पार्टीलाई उग्र दक्षिणपन्थी अवसरवादी विदेशी दलालहरूले कब्जामा पु्याउने उनीहरूको योजना सफल हुँदै गएको छ । मिति नै तोकेर भन्दा पनि मलाई पत्याएनन् , अब जब कुराहरू पूरा हुँदै छ, अलि अलि पत्याउनेको सङ्ख्या बढ्न थालेको छ तर म कामना गर्छु कि यो नहोस्, त्यो सङ्ख्या चाहिने जतिमा पुगुन्जेल धेरै ढिलो भइसकेको नहोस् ।’
सूर्यदर्शन सहकारी ठगी प्रकरण :आजबाट जाहेरवालाकातर्फबाट वकिलहरूको थुनछेक बहस
पोखरा । सूर्यदर्शन सहकारी ठगी प्रकरणमा आजदेखि कास्की जिल्ला अदालतमा जाहेरवालाहरूको तर्फबाट वकिलहरूले थुनछेक बहस गर्दैछन् । नेपालका कान्छा न्यायाधीश नीतिज राईको इजलासमा सरकारी वकिलहरूले थुनछेक बहस सकेपछि आजबाट जाहेरवालाको तर्फका वकिलहरूले थुनछेक बहस गर्न लागेका हुन् ।
अब जाहेरवालातर्फबाट बहस सकिएपछि प्रतिवादीका तर्फबाट बहस हुनेछ । प्रतिवादीका तर्फबाट वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, डा. नारायण घिमिरे, हरि सुवेदी, रोहित बाँस्तोला, डा. नारायणदत्त कँडेल, सुदीज्ञ पन्त लगायतले बहस गर्ने तयारी गरेका छन् । रास्वपा सांसद समेत रहेकी सोविता गौतम पनि प्रतिवादी लामिछाने लगायतको पक्षमा बहस गर्ने तयारीमा छिन् ।
यसअघि बुधवार सरकारी वकिल कार्यालयका तर्फबाट नायव महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, सहन्यायाधिवक्ता सुजाता पौडेल, शान्तिदेवी शर्मा, विपिनराज तिवारी र कमला काफ्लेले बहस गरेका थिए । उनीहरूले पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेसहितका प्रतिवादीहरूलाई सूर्यदर्शन सहकारी संस्थाको रकम अपचलन मुद्दामा पुर्पक्षमा पठाउनुपर्ने तर्क प्रस्तुत गरेका थिए ।
दुवै पक्षको बहसपछि उच्च सरकारी वकिल कार्यालयका अधिवक्ताहरूले जवाफी बहस गर्ने छन् । त्यसपछि बल्ल प्रतिवादीहरूलाई थुनामा राखेर मुद्दा फैसला गर्ने कि बाहिरै राखेर भन्ने आदेश न्यायाधीशले सुनाउने छन् ।
सहकारीको रकम अपचलन आरोपमा पूर्वगृहमन्त्री एवम् गोर्खा मिडिया प्रालिका पूर्वप्रबन्धक समेत रहेका लामिछानेसहित ४४ जनाविरुद्ध १ अर्ब ५१ करोड ४० लाख १९ हजार बिगो दाबी गर्दै जिल्ला सरकारी वकिलको कार्यालयले यही पुस ७ गते मुद्दा दायर गरेको थियो ।
लामिछानेसँगै रामबहादुर खनाल, पूर्वडीआईजी छविलाल जोशी, जोशी र लीला पछाईँविरुद्ध सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा दायर गरिएको छ ।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरेको छ ।
सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको हो ।
बुधवार १ लाख ५१ हजार रुपैयाँमा कारोबार भएको छापावाला सुन आज बढेर १ लाख ५१ हजार ५ सय रुपैयाँमा कारोबार भैइरहेको छ । यस्तै बिहीबार चाँदीको मूल्य पनि बढेको छ । बुधवार तोलामा १ हजार ७६५ रुपैयाँमा कारोबार भएको चाँदी आज २५ रुपैयाँले बढेर १ हजार ७ सय ९० रुपैयाँमा कारोबार भैइरहेको छ ।
क्यान्सर पीडित गायिका गोलेलाई पोर्चुगलबाट आर्थिक सहयोग
लिस्बन । क्यान्सर रोगबाट पीडित गायिका इन्दिरा गोले गुरुङलाई पोर्चुगलबाट आर्थिक सहयोग गरिएको छ । नेपाल राष्ट्रिय तामाङ घेदुङ (संघ) पोर्चुगलले रकम सङ्कलन गरेर गायिका गोलेको उपचार सहयोगार्थ आर्थिक सहयोग गरेको हो ।
घेदुङले पोर्चुगलमा सञ्चालन गरेको आर्थिक सहयोग अभियान अन्तर्गत सङ्कलित दुई हजार तीन सय ४५ यूरो अर्थात् रु.तीन लाख ३२ हजार पाँच सय ७९ नगद रकम पीडित गोलेलाई उपलब्ध गराएको हो ।
सहयोग रकम ‘इन्दिरा गोले बचाउ अभियान’ का संयोजक योगेश लामा र नेपाल तामाङ कलाकार संघका अध्यक्ष विशाल काल्तेनमार्फत गोलेलाई हस्तान्तरण गरिएको नेपाल राष्ट्रिय तामाङ घेदुङ पोर्चुगलका अध्यक्ष इमानसिंह तामाङले जानकारी दिए । पीडित गोलेको आर्थिक अवस्था कमजोर रहेको र उनको उपचारमा थोरै भएपनि सहयोग पूगोस् भन्ने उद्देश्यले आर्थिक सङ्कलन गरेर सहयोग रकम नेपाल पठाइएको तामाङले बताए ।
पीडित गोलेको उपचार सहयोगार्थ नेपाल तामाङ कलाकार संघको संयोजकत्वमा ‘इन्दिरा गोले बचाउ अभियान’ सञ्चालन गरेर स्वदेश तथा विदेशमा आर्थिक सहयोग सङ्कलन गरिएको थियो । विगत दुई वर्षदेखि क्यान्सर रोगसँग लडिरहेकी गोले हाल उपचाररत छिन् ।
लामो समयदेखि साङ्गीतिक क्षेत्रमा समर्पित रहँदै आएकी गायिका गोलेले तामाङ सेलो र नेपाली लोक तथा दोहोरी गीतहरूमा स्वर दिएकी छन् ।
आज ६ वटा संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । संघीय संसद अन्तर्गत विभिन्न ६ वटा समितिको बैठक बस्दैछ । आज अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कानून, न्याय तथा मानवअधिकार समिति, राज्य व्यवस्था तथा सुशासन समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो । सबै समितिका बैठक बिहान ११ देखि दिउँसो ३ को बीचमा सिंहदरबारमा बस्नेछन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आर्थिक वर्ष २०८१–८२ को कार्यक्रम तथा हालसम्मको प्रगतिका बारेमा छलफल हुनेछ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक सम्बन्धमा छलफल गर्न गठित उपसमितिको प्रतिवेदनमाथि छलफल गर्ने तयारी छ ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफाहरूमा छलफल गर्ने कार्यसूची रहेको छ ।
पूर्वाधार विकास समितिको बैठकमा जलस्रोत विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीहरूसँग छलफल गर्ने तयारी छ ।
यसैगरी, विधायन व्यवस्थापन समितिको बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
एकै दिन ३२ जना फरार प्रतिवादी पक्राउ
गौर । रौतहट प्रहरीले एकै दिन ३२ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा आपराधिक क्रियाकलाप गरि फरार रहेका अभियुक्तलाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी प्रवक्ता डिएसपी दीपक कुमार रायका अनुसार एकै दिनमा जिल्लाको विभिन्न ठाउँबाट लुकीछिपी बसेको अवस्थामा गोप्य सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो ।
पक्राउ हुनेहरूमा सवारी ज्यान मुद्दाका ८ जना, चेक अनादर मुद्दामा ६ जना , अभद्र व्यवहारका ६ जना, बोक्सीको आरोपमा दुर्व्यवहार गर्ने ४ जना, कुटपिटमा ३ जना , गाली बेईजतिमा ३ जना, लेनदेन बिगोमा १ जना र नापतौल कसुरका आरोपी १ जना गरी ३२ जना फरार प्रतिवादी पक्राउ गरिएको उनले जानकारी दिए ।पक्राउ परेकामध्ये सबैभन्दा बढी सवारी ज्यान कसुर सम्बन्धी मुद्दाका आरोपी रहेको उनको भनाइ छ । पक्राउ परेका ३२ जनालाई फैसला कार्यान्वयनको लागी जिल्ला अदालत रौतहटमा उपस्थित गराइएको प्रवक्ता रायले बताए ।
उनीहरूबाट जरिबाना स्वरूप करिब ६५ हजार रुपैयाँ र ६ महिना कैद असुल गरिनुपर्ने देखिएको जिल्ला प्रहरी कार्यालय रौतहटको सूचनामा उल्लेख गरिएको छ ।




















