मधेस प्रदेशका तत्कालीन सचिवसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौँ । मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा.नम्रता सिंहसहित आठ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सोमवार उनीहरूविरुद्ध विशेष अदालतमा आरोपपत्र दायर गरेको हो ।
सचिव डा.सिंहसहित पाँच जनालाई जनही एक करोड रुपैयाँ बिगो मागदाबी गरिएको छ । सचिव डा. सिंह, मन्त्रालयका तत्कालीन वरिष्ठ कृषि अर्थविज्ञ तथा कृषि ज्ञान केन्द्र धनुषाका तत्कालीन कार्यालय प्रमुख (सहकार्य प्रस्तावमा आधारित कृषि, पशुपन्छी तथा मत्स्य विकास कार्यक्रमका संयोजक) शंकर प्रसाद साह, मन्त्रालयका कृषि प्रसार अधिकृत अमर चन्द्र मण्डल, मन्त्रालयका सहलेखापाल ब्रजेश कुमार साह, महोत्तरीको युवरानी मत्स्य तथा कृषि फार्म प्रालिका सञ्चालक÷अध्यक्ष लक्ष्मी नारायण यादव, मन्त्रालयका तत्कालीन पशु चिकित्सक रंजित कुमार अधिकारी, कृषि प्रसार अधिकृत अविनाश कुमार झा र कृषि विकास निर्देशनालय, धनुषाका तत्कालीन कृषि अर्थविज्ञ विकास कुमार साहविरुद्ध आयोगले मुद्दा दायर गरेको हो ।
पशुपक्षी तथा मत्स्य विकास कार्यक्रमको रकममा व्यापक भ्रष्टाचार गरेको, नक्कली बिल भरपाईको आधारमा भुक्तानी दिएको र स्पेशिफिकेशन अनुसारको सामान खरिद नगरेको पाएपछि उनीमाथि आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता नरहरि घिमिरेले बताएका छन् ।
‘एक जोर जुत्ता’ कथामा बन्यो लघुचलचित्र
काठमाडौं । माध्यमिक तहको कक्षा ८ को नेपाली विषयको पाठ्यक्रममा समावेश ‘एक जोर जुत्ता’ कथामा लघुचलचित्र निर्माण भएको छ । ‘एक जोर जुत्ता’ कथाका लेखक महेश विक्रम शाह रहेका छन् । आफू विदेश यात्रामा रहँदा भएको यथार्थ घटनामा आधारित भएर लेखिएको कथा ‘एक जोर जुत्ता’ कथामा चलचित्र निर्माण हुँदा शाहले खुशी व्यक्त गरे । उनले लेखेको कृति ‘छापामारको छोरो’ ले मदन पुरस्कारसमेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ मा श्रमिक लुइँटेल, सुरज पराजुली, रामबाबु रेग्मी, गीताश्री थापा, समिरा थापा, सितास्मा खड्का, सहदेव बस्नेत र राजु कारंजितको अभिनय रहेको छ । ऐना आर्टसको प्रस्तुतिमा निर्माण भएको लघुचलचित्रलाई नारायण जिसीले छायांकन गरेका हुन् ।
कला निर्देशन सुमित राई र निर्माण व्यवस्थापन कविर शाक्यले गरेका छन् । छायाङ्कनअघि मुन क्रियशन फिल्म एकेडेमीमा कार्यशाला गरिएको लघुचलचित्रलाई अनिल कुमार महर्जनले रंग संयोजन तथा सम्पादन गरेका हुन् ।
लघुचलचित्रको निर्माणसँगै कास्टिङ डिरेक्सन रंगकर्मी सुरेन्द्र क्षेत्रीले गरेका हुन् । बालबालिकाको क्षेत्रमा लामो समयदेखि कार्यरत क्षेत्री काठमाडौंका विभिन्न स्कूलहरूमा पनि नाटक प्रशिक्षण गर्दै आईरहेका छन् ।
अहिले विद्यालयहरूमा पढाउने तरिका नै परिवर्तन भईरहेको अवस्थामा विद्यार्थीहरूका लागि कथा बुझ्न अझ सहज होस् भन्ने हेतुले लघुचलचित्र निर्माण गरिएको निर्माता क्षेत्री बताउँछन् । उनले निर्माण गरेको लघुचलचित्र ‘द स्कुल वाल’ले रसियामा उत्कृष्ट अवार्ड समेत प्राप्त गरेको थियो ।
लघुचलचित्र ‘एक जोर जुत्ता’ को पटकथा तथा निर्देशन मोहन अभिलाषीले गरेका छन् । उनको लेखन तथा निर्देशनमा निर्माण भएको लघुचलचित्र ‘भाउ’, ‘घुर्रा’, ‘पाउलो’, ‘द स्कूल वाल’ ले विभिन्न अन्तरराष्ट्रिय चलचित्र महोत्सवहरूमा छनोट भएर अवार्डसमेत प्राप्त गरेको थियो । पछिल्लो समय उनले लघुचलचित्र ‘दृश्य’ निर्माण गरेसँगै ठूलो पर्दाको चलचित्र निर्माणको तयारीमा लागेका छन् ।
उखु खेतीको विकल्पमा अन्य खेती खोज्दै कृषक
रौतहट। रौतहटका कृषकहरूले उखु खेतीको विकल्पमा अन्नबाली लगायतका अन्य खेती गर्न थालेका छन् । श्रीराम सुगर मिल बन्द भएपछि यहाँका कृषकले उखु खेती गर्न छाडेका हुन् । उखु खेतीबाट समयमा नै भुक्तानी नआउने र खेतीमा लागत बढी लाग्ने भएपछि उखु खेतीको विकल्पमा कृषकहरूले अन्य खेती रोज्न थालेका छन्। २०४९ साल देखि उखु खेती गर्दै आएका वृन्दावन–७ धमौराका रुपनारायण साहले विकल्पमा अन्य खेती गर्न थालेका छन् ।
यो सिजनमा उखु मासेर अन्य बाली लगाएको उनले बताए । तीन बिघाको खेतीबाट वार्षिक १५ देखि १७ सय क्विन्टल उखु चिनी मिललाई बेच्ने गरेको बताउँदै उनले रोप्नेदेखि बिक्री गर्ने बेलासम्मे हैरानी हुने बताए ।
यहाँका कृषकले चलानी, भुक्तानीमा झमेला र मल अभावले उखु खेती लगाउन छाडेका छन् । अहिले खेतमा उखु खेती फाटफुट मात्र देखिने गरेको छ । करिब चार वर्षअघि उक्त मिल बन्द भएपछि मुस्किलले ५ हजार किसानले उखु खेती गरिरहेको उखु उत्पादक संघ रौतहटका अध्यक्ष अशोक यादवले बताए ।
वार्षिक ३० लाख क्विन्टल उखु उत्पादन हुने रौतहटमा अहिले ७/८ लाख मात्र हुने गरेको उनको भनाई छ । श्री राम सुग मिल बन्द भएपनि कटहरिया नगरपालिकामा तिन वर्षदेखि बाबा वैद्यनाथ सुगर मिल सञ्चालनमा छ । गत वर्ष १५ लाख क्विन्टल उखु क्रसिङको लक्ष्य राखेको वैद्यनाथले ८ लाख भन्दा बढी उखु खरिद गर्न नसकेपछि बन्द भएको हो । रौतहटका उखु उत्पादक कृषकले मिल श्री राम सुगर मिल सञ्चालन गर्नु पर्छ भन्ने अडानमा छन् भने उद्योगीहरू सञ्चालन गर्न नसकिने अवस्थामा पुगेको बताउँछन् ।
कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुँदै
हेटौँडा । तेस्रो संस्करणको कमाने प्रिमियर लिग क्रिकेट प्रतियोगितामा ८ वटा टिम सहभागी हुने भएको छ । आइतवार क्लबले खेलाडी लिलामी कार्यक्रमको आयोजना गर्दै प्रतियोगितामा ८ वटा टिमहरू सहभागी हुने जानकारी गराएको छ।
कमाने क्रिकेट क्लबका अध्यक्ष किशोर खत्रीको सभाध्यक्ष तथा हेटौँडा उपमहानगरपालिका वडा नम्बर–८ का वडाध्यक्ष रामकृष्ण थापाको प्रमुख आतिथ्यमा लिलामी कार्यक्रम भएको हो ।
हेटौँडा–८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयको चौरमा आउँदो माघ १६ गतेदेखि १९ गतेसम्म प्रतियोगिता हुनेछ । कार्यक्रममा नगर खेलकुद विकास समितिका सदस्य यज्ञबहादुर रायको पनि उपस्थिति रहेको थियो ।
हेटौंडा उपमहानगरपालिका ८ नम्बर वडा कार्यालयको सहयोग रहने प्रतियोगितामा कमाने अर्ना, कमाने हन्टर्स, कमाने टाइगर, कमाने बुल्स, कमाने रोयल्स, कमाने लायन्स, कमाने राइनोज र कमाने राइडर्स गरी ८ वटा टिमको सहभागिता रहनेछ ।
खेलाडी लिलामी कार्यक्रममा सहभागी भएका ९८ जना खेलाडीलाई क्याटग्योरी ‘ए’देखि ‘पी’सम्म छुट्याएर छुट्टाछुट्टै टिममा सहभागी गराइएको छ । क्लबले जिल्लास्तरीय, प्रदेशस्तरीय तथा राष्ट्रियस्तरको प्रतियोगितामा भाग लिएका ८ जना खेलाडीलाई पनि प्रतियोगितामा सहभागी गराउन लागेको छ ।
लिलामी कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै वडाध्यक्ष थापाले वैदेशिक रोजगारी तथा उच्च शिक्षा हासिल गर्ने बहानामा युवा विदेशीने क्रम बढेकोमा चिन्ता व्यक्त गर्नुभएको छ । युवा पुस्तालाई विदेशीनबाट रोक्नका लागि खेलकुदमा सहभागी गराएर राष्ट्रियस्तरमा र्पुयाउन आवश्यक रहेको उनले औँल्याए । प्रतियोगिताको तेस्रो संस्करणसम्म आइपुग्दा वडाको स्तरलाई बढाएको आफूले मूल्याङ्कन गरेको उनले बताए ।
कमानेभित्रका खेलाडीहरूको पहिचान बढाउन, क्रिकेट खेलको क्रेज बढाउन, खेलाडीहरुबिच भातृत्वको सम्बन्ध कायम गराउन, खेलाडीलाई राष्ट्रियस्तरमा र्पुयाउन र क्रिकेट खेलको महत्वबारे बुझाउनका लागि यस वर्ष पनि क्लबले प्रतियोगितालाई निरन्तरता दिन लागेको अध्यक्ष खत्रीले बताए । उनका अनुसार प्रतियोगिताका लागि वडा कार्यालयले २ लाख रुपैयाँ बजेट छुट्याएको छ ।
प्रतियोगिताका लागि प्रथम पुरस्कार जनकपुर बोल्ट्सका ओप्नर उत्सव सिग्देलले प्रायोजन गर्ने घोषणा गर्नुभएको छ । उहाँले क्लबले गर्न लागेको प्रतियोगिताबारे यस वर्षबाट मात्र थाहा पाएको भन्दै पुरस्कार सौजन्य गर्ने निर्णय गरेको बताए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँ र उपविजेता टिमले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, सर्वोत्कृष्ट ब्याट्सम्यान र सर्वोत्कृष्ट बलरलाई पनि पुरस्कार प्रदान गरिने जनाइएको छ । गत वर्ष भएको दोस्रो संस्करणको कमाने टि–१० प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि कमाने राइडर्सले जितेको थियो ।
हात्तीको उपद्रो,१२ भन्दा बढी घरमा क्षति
रौतहट । रौतहटको दुई पालिकाको विभिन्न स्थानमा रहेको वस्तिमा १२ भन्दा बढी घर हातीले भत्काई दिएको छ । जङ्गली हातीको बथानले करिब दुई साताअघि चन्द्रपुर नगरपालिकामा ८ र फतुवा विजयपुर नगरपालिकामा ४ घर भत्काएको छ।
चन्द्रपुर नगरपालिका वडा नं. ३ गैडाटारमा ७ र वडा नम्बर २ को जुडिबेलामा एक घर भत्काएको छ । गैडाटारका स्थानीय नविन तमाङ्गका अनुसार सन्त बहादुर रुम्बा, मीना राई, छेनाम सिह लोप्चन, बली माया लोप्तन, बोम्जन साईला, सुबास ठोकर, साईला गोलेको घर जङ्गली हातीले भत्काई दिएको हो ।
हातीले जुडिवेलामा रहेको एक घर भत्काएको छ भने कालापानी सामुदायिक बन उपभोक्ता समूहको बनक्षेत्रमा निर्माण पार्क र पानी घट्टमा पनि क्षति पुराएको उनले बताए । चन्द्रपुर नगरपालिका अन्तर्गत वडा नम्बर २ को जुडिबेला, ३ गैडाटार , वडा नम्बर ४ कप्तानटोल र जंगलटोल क्षेत्रमा हात्तीले घर, टहरा, गोठ र धानको भकारी भत्काउनुका साथै किसानको बालीमा समेत क्षति पुरयाउदै आएपछि यहाँका बासिन्दा चिन्तित भएका छन् ।
फतुवा विजयपुर नगरपालिका वडा नं. ११ वुटवा वस्तिमा ४ घर हातीले भत्काईदिएको छ । स्थानिय विजय चौधरीका अनुसार उदय चौधरी, मिलन मगर ,हरिशरण मैनाली , लगायतका घरमा हातीले क्षति पुर्याएको छ । विगत केहि महिना देखि नगर भित्र रहेको जंगलमा देखा परेको हात्ती बेलुका र बिहान बस्ती नजिकमा आउने गरेको स्थानीयले बताएका छन् । हात्तीले केरा खतीमा बढी क्षति गरेको किसानको गुनासो छ ।
सामुदायिक वन क्षेत्रमा ७÷८ वटा समूहमा नै हात्ती देखा परेको उनीहरु बताउँछन् । उनीहरूका अनुसार हात्ती यस क्षेत्रको बन वरिपरि नै छ ।गाउँ नजिकै रातिको समयमा हाती देखा पर्न थालेपछि वरपरका बासिन्दा रातभर त्रासमा बस्ने गरेका छन् । रातैभर हात्तीको उपद्रोका कारण सुत्न समेत नपाएको गाँउलेहरूको गुनासो छ । गाउँ नजिक सामुदायिक वन रहेकाले त्यहीबाट हाति प्रवेश गरेको हुन सक्नै भन्दै सतर्कता अपनाउन सबैमा डिभिजन वन कार्यालय रौतहटले सुझाव दिएको छ । जङ्गली हात्ती हिँड्ने सम्भावित बाटोमा यात्रा गर्दा सावधानी अपनाउन र झिसमिसेमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ ।
पर्वतमा ग्यास चुहिएर आगलागी : एक जनाको मृत्यु, दुई जना घाइते
काठमाडौ। पर्वतमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा एक वृद्धाको घटनास्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन्। जिल्लाको कुश्मा नगरपालिका–१० पीपलटारीमा खाना पकाउने ग्यास चुहिएर आगलागी हुँदा ७३ वर्षीय वृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु भएको हो ।
सोही आगलागीमा परेर पीपलटारी स्थित तल्लो रोहोटेका घरधनी ५२ वर्षीय ध्रुब रेग्मी र तिला रेग्मी घाइते भएका वार्ड अध्यक्ष रामचन्द्र सुवेदीले जानकारी दिए।
ग्यास सिलिन्डर परिवर्तन गर्ने क्रममा चुहिएर एक्कासि आगलागी हुँदा चिया पिउने दूध लिन रेग्मीको घरमा गएकी ७३ वर्षीय वृद्धा दुर्गादेवी पौडेलको जलेर घटनास्थलमै मृत्यु बताइएको छ।
उक्त आगलागीमा परेर गम्भीर घाइते भएका घरधनी ५२ वर्षीय रेग्मीको जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि पोखरा पठाइएको प्रहरीले जानकारी दिएको छ ।
आगलागी लगत्तै सदरमुकाम कुश्माबाट पुगेको प्रहरी र सशस्त्र प्रहरीको टोलीले आगो नियन्त्रणमा लिएको थियो । आगलागीबाट घरमा क्षति पुगेको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
दक्षिण कोरियामा प्रदर्शन, राजनीतिक संकट गहिरिदै
एजेन्सी । दक्षिण कोरियाका अपदस्त राष्ट्रपति युन सुक–योलको पक्ष र विपक्षमा प्रदर्शन जारी छ । लामो संघर्षपछि निलम्बित राष्ट्रपति योललाई पक्राउ गर्ने प्रहरीको प्रयास असफल भएपछि पक्ष र विपक्षमा सडकमा मानिसहरूले प्रदर्शन गरिरहेका छन् ।
चिसो मौसमको बाबजुद, स्थानीयहरूको ठूलो भीडले देशको दक्षिणपूर्वको सहर डेगुमा प्रदर्शन गरेको छ । उनीहरूले संवैधानिक अदालतले युनको महाभियोग मुद्दा पारित गर्न माग गरेका छन् ।
युनमाथि शक्तिको दुरुपयोग गरेको र मार्सल कानुन लागु गर्न खोजेको भन्दै महाभियोग प्रस्ताव संसदमा पुगेपछि निलम्बित छन् । तर संसदको महाभियोग प्रस्तावको अन्तिम निर्णय संवैधानिक अदालतले गर्ने भएकाले महाभियोग पारित हुनुपर्ने माग बढेको हो ।
सरकारी अधिकारीहरू र युनको महाभियोगको लागि दबाब दिनेहरू बीचको तनाव बढ्दै गएकाले गहिरो राजनीतिक संकट निम्तिदै गएको छ ।
युनको सुरक्षामा रहेको सेनाको टोलीले मानव पर्खाल बनाएर पक्राउ गर्न आएका प्रहरीको बाटो रोकेको आरोप लागेको छ । पक्राउमा अवरोध गरेको आरोपमा राष्ट्रपति सुरक्षा सेवाका प्रमुखलाई सोधपुछका लागि बोलाएको छ ।
सीआईओ अन्वेषकहरू र प्रहरी अधिकारीहरूको समूहले शुक्रवार मध्य सियोलको राष्ट्रपति निवासमा युनलाई पक्राउ गर्ने प्रयास गरेका थिए ।
अदालतले तीनपटक बोलाउँदा पनि युन अदालतमा उपस्थित नभएपछि उनलाई पक्राउ गर्ने अनुमति दिएको थियो । तर, युनको सुरक्षा दस्ता र सेना प्रहरीसँगै भिड्ने अवस्थामा पुगेपछि प्रहरीले युनलाई पक्राउ गर्न असमर्थ भएको थियो । (सीसीटीभीप्लस)
एमाले केन्द्रीय समिति बैठक : ओलीले पेश गरे ४७ पृष्ठ लामो राजनीतिक प्रतिवेदन
काठमाडौं । नेकपा एमालेको केन्द्रीय समिति बैठक आज आइतवार सुरु भएको छ । पार्टी कार्यालय च्यासलमा आज देखि सुरु भएको बैठकमा प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीले ४७ पृृष्ठ लामो राजनीतिक प्रतिवेदन पेस गरेका छन् ।
अहिले उक्त प्रतिवेदनमाथि छलफल भइरहेको छ । नेकपा एमालेले दुई ठूला दलको सहकार्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु रहेको जनाएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (एमाले) केन्द्रीय कमिटीको आठौँ बैठकमा प्रस्तुत राजनीतिक प्रतिवेदनमा प्रधानमन्त्री केपी शर्मा ओलीले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै सहकार्य गर्ने अवस्था सिर्जना भएको उल्लेख गरिएको छ ।
‘नेकपा (एमाले) र नेपाली काङ्ग्रेसका बिचमा निर्माण गरिएको यस सहकार्यको मुख्य उद्देश्य मुलुकमा राजनीतिक स्थायित्व सुनिश्चित गर्नु हो । राजनीतिक अस्थिरता गहिरिँदै जाँदा यसले जनतामा नैराश्य वृद्धि गर्ने र लोकतान्त्रिक गणतन्त्रका विरुद्धमा रहेका शक्तिहरूको मनोबल बढ्दै गएर लोकतन्त्र नै सङ्कट पार्ने स्थितिलाई बोध गर्दै हामी यस निष्कर्षमा आइपुगेका हौँ।’ प्रतिवेदनमा भनिएको छ,‘अस्थिरता बढ्दै जाने र मुख्य राजनीतिक शक्तिहरू विभाजित अवस्थामा रहने स्थितिले राष्ट्रिय मनोबललाई कमजोर तुल्याउने, भूराजनीतिक प्रतिस्पर्धाको चुनौतीपूर्ण अवस्थामा राष्ट्रिय हितको रक्षा झनै कठिन हुने र नेपालको अहित चाहनेहरूलाई सजिलो हुने यथार्थलाई पनि हामीले अनुभूत गरेका छौँ।’
साथै सरकार गठनपछि ६ महिनाको समीक्षा प्रतिवेदन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थितिमा पार्टीलाई कसरी अघिबढाउने भन्ने विषयमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्नेछन् । बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिएका थिए ।
अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बसेको हो । संसदको हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेन्डा’ मा ठोस धारणा तय गर्ने छ ।
कांग्रेस महामन्त्री गगन थापा पोखरामा सक्रिय हुँदा रास्वपाका नेता, कार्यकर्ता सशंकित
पोखरा । सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेक बहस अन्तिम चरणमा पुगिरहदा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा पोखरामै आफ्नो पार्टीको आयोजित विभिन्न कार्यक्रमहरूमा सक्रिय सहभागी भइरहेका छन् ।
शनिवार बिहान हवाई उडानमार्फत पोखरा आएका महामन्त्री थापा शनिवार पार्टीको भातृ संस्था नेपाल मुस्लिम संघको भेला , नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले प्रदेशमा पार्टीका तर्फबाट विजयी जनप्रतिनिधिहरू सँगको अन्तरक्रिया कार्यक्रममा सहभागी भए ।
उनी आज पनि नेपाली कांग्रेस कास्कीले आयोजना गर्ने विभिन्न कार्यक्रमहरूमा सहभागी हुने कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालले जानकारी दिए ।
नेपाली कांग्रेसका महामन्त्री थापा आफ्नो पार्टीको कार्यक्रममा सहभागी भैरहदा राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरू सशंकित देखिएका छन् । उनीहरु महामन्त्री थापा कास्की जिल्ला अदालतमा चलीरहेको सुर्यदर्शन सहकारी ठगी प्रकरण मुद्दाको बहसमा प्रभाव पार्न आएको भन्दै सशंकित बनेका हुन।
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री थापा बसेको पोखराको लेकसाइडस्थित बरपिपल होटल वरपर आफ्नो पार्टीका कार्यकर्ताहरूले निगरानीमा राखेको सामाजिक सञ्जालमा जानकारी दिएका छन् ।
उनीहरूले नेपाली कांग्रेसका महामन्त्री थापाले को – कसलाई भेट गरेका छन् भन्ने बारेमा आफ्ना पार्टीका कार्यकर्ताहरूले निगरानी गरिरहेको बताउदै मुद्दासंग सम्बन्धित पक्षको महामन्त्री थापासंग भेट भएमा फोटो तथा भिडियो सार्वजनिक गरिदिने चेतावनी पनि दिएका छन् ।
उनीहरूले न्यायसँग सम्बन्धित पक्ष पनि महामन्त्री थापालाई भेट्न आउने पो हुन् कि भनेर आशंका गरिरहेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका नेता तथा कार्यकर्ताहरूले दुई दिन अघि कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पोखरा आएर बरपिपल होटेलमै बसेको जानकारी दिएका छन् ।
सुर्यदर्शन सहकारी ठगी प्रकरणमा थुनछेकको टुंगो लाग्ने लाग्दा पोखरामा व्यापक चहलपहल हुन थालेको छ । उक्त मुद्दाको थुनछेक बहसमा भाग लिन कानून व्यवसायीहरू पोखरा आएका छन् ।
यसैक्रममा सुर्यदर्शन सहकारी ठगी प्रकरणमा जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका निलम्बित सभापति रबि लामिछानेको पक्षमा आज कास्की जिल्ला अदालतमा थुनछेक बहस हुँदैछ ।
रास्वपाले गठन गर्यो ‘संविधान परिमार्जन सुझाव कार्यदल’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रमुख सचेतक सन्तोष परियारको संयोजकत्वमा ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको छ । आइतवार रास्वापले संविधानमा आवश्यक संशोधनको सन्दर्भलाई मध्यनजर गर्दै ‘संविधान परिमार्जन सुझाव कार्यदल’ गठन गरेको हो ।
कार्यदलले सातवटै प्रदेशमा आवश्यक छलफल गर्ने र सबै सम्बन्धित साझेदार तथा संविधानविदसँग छलफल गरेर दलको तर्फबाट सार्वजनिक धारणा बनाउने छ । कार्यदलमा कान्तिशिखा धिताल, डाक्टर नन्दन यादव, गणेश कार्की, सोभिता गौतम, असिम साह, डाक्टर तोसिमा कार्की, डाक्टर अच्युतम लामिछाने र मेघ आले रहेका छन ।
साथै कार्यदलले सातवटै प्रदेशमा गर्ने छलफल कार्यक्रमको संयोजक सोही प्रदेशका पार्टी सभापति रहनेछन् ।





















