सघीय संसद् अधिवेशन आजदेखि सुरु
काठमाडौं । प्रतिनिधिसभाको निर्वाचनपछि संघीय संसद्को पहिलो अधिवेशन आज सुरु हुँदैछ । मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको पहिलो बैठक आज दिउँसो २ः०० बजे संघीय संसद् भवनको बहूद्देश्यीय कक्षमा बस्ने गरी आह्वान गरेका छन् ।
आजकाे बैठकमा ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा वाचन गर्नेछन् ।
बैठकमा राष्ट्रपति पौडेलले प्रधानमन्त्रीमा बालेन्द्र शाहलाई नियुक्त गरेको जानकारी सदनलाई गराइनेछ ।
यही चैत १६ गते नेपालको संविधानबमोजिम मन्त्रिपरिषद्को सिफारिसमा आजका लागि सङ्घीय संसद्को दुवै सदनको अधिवेशन आह्वान गरेका थिए ।
सभामुखको अनुपस्थितिमा प्रतिनिधिसभा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूको मनोनयन गर्नुपर्ने नियमावलीको व्यवस्था रहेको छ । सोहीअनुसार केसीले सभामुखको अनुपस्थितिमा बैठकको अध्यक्षता गर्नका लागि सांसदहरूलाई मनोनयन गर्नेछन् ।
एमाले संसदीय दलको नेता बने रामबहादुर थापा बादल
काठमाडौं । रामबहादुर थापा बादल नेकपा एमालेको संसदीय दलको नेतामा निर्विरोध निर्वाचित भएका छन् । बुधबार बसेको संसदीय दलको बैठकले पार्टी उपाध्यक्षसमेत रहेका बादललाई सर्वसम्मत रूपमा दलको नेता चयन गरेको हो ।
दलको नेताका लागि दाबी गरिरहेका सुहाङ नेम्वाङले समर्थक र प्रस्तावकसमेत नपाएपछि बादल निर्विरोध निर्वाचित भएको घोषणा गरिएको थियो ।
दलको नेता चयन भएपछि बैठकका निर्णय सार्वजनिक गर्दै बादलले भने, ‘आजको बैठकले संसदीय दलको नेता सर्वसम्मतिले चयन गरेको छ । दल नेताको रूपमा मलाई चयन गरिएको छ । निकट भविष्यमा दुवै सदनका माननीय सदस्यहरू राष्ट्रिय सभा र प्रतिनिधिसभाका माननीयज्यूहरूलाई अभिमुखीकरण कार्यक्रम यही २१ गते गर्ने तय गरिएको छ ।’
उनले बैठकले केपी शर्मा ओली र रमेश लेखकको गैरकानुनी तथा पूर्वाग्रहपूर्ण गिरफ्तारीको विरोधमा प्रस्ताव पारित गरेको पनि जानकारी दिए ।
बादलले भोलि हुने प्रतिनिधिसभा तथा आगामी दिनमा हुने प्रतिनिधिसभा र राष्ट्रिय सभाका बैठकहरूमा आफ्ना एजेन्डा सशक्त रूपमा उठाउने संकल्प गरिएको बताए । ‘हामीले घोषणापत्रमा गरेका प्रतिबद्धताहरूलाई संसदमा उठाउनेछौं र प्रतिपक्षको भूमिका निर्वाह गर्दै सजग पहरेदारका रूपमा काम गर्नेछौं,’ उनले भने ।
यसैबीच, नेता चयन प्रक्रियाबारे प्रतिक्रिया दिँदै सुहाङ नेम्वाङले आफूले अपेक्षा गरेअनुसार परिणाम नआएको बताए । ‘मभन्दा अर्को उम्मेदवार संसदीय दलको नेता हुन योग्य छ भन्ने खालको नतिजा आएको छ,’ उनले सञ्चारकर्मीहरूसँग भने ।
उनले संसदमा प्रवेश गर्दा सत्ता–प्रतिपक्षको सोचभन्दा माथि उठेर देश र जनताको हितमा काम गर्नुपर्नेमा जोड दिए ।
उनले भने, ‘संसद भित्र जाने बेलामा कोही पनि सत्तापक्ष, प्रतिपक्ष भनेर आफूलाई अगाडि नै सोचेर हिड्ने हो भने जनता र देशको हितमा कहिले पनि राम्रो हुँदैन भनेर हामीले बुझ्नुपर्छ । हामीले सशक्त ढंगले सरकारले गरेका राम्रा कामहरुलाई हामीले सहयोग पुर्याउनुपर्छ । सरकराले गरेका कमीकमजोरीलाई हामीले औंल्याउँदै खबरदारीका साथमा रचनात्मक हिसावले सल्लाह सुझाव सहयोग पुर्याउनुपर्छ ।’
सुहाङले अब नयाँ पुस्ताले नेतृत्व पाउनुपर्ने भन्दै दलको नेतामा दाबी गरेका थिए । प्रतिनिधिसभामा एमालेका २५ सांसद छन् ।
निर्वाचनमा पार्टीका सदस्यहरुले गरेको अनुशासन उल्लङ्घनको उजुरी पठाउन समितिको निर्देशन
काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन –२०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेमा यही चैत्र मसान्तभित्र उजुरी पठाउन निर्देशन दिएको छ ।
बुधबार बसेको समितिको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन– २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेको भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन दिने निर्णय गरेको समितिका संयोजक तारामान गुरुङले जानकारी दिए ।
उनले भने,‘प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का सन्दर्भमा पार्टीका सदस्यहरुले अनुशासन उल्लङ्घन गरेका भए सोको उजुरी चैत्र मसान्तभित्र नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिमा पठाउन निर्देशन गर्छ ।’
त्यस्तै उनले छानविनबाट वर्गिकरण गरिएका उजुरीको हकमा अुनशासन उल्लङ्घन गरिएको भनि आरोप लागेका व्यक्तिहरुबाट सात दिनभित्र स्पष्टिकरण तथा सफाई माग गर्ने निर्णय गरेको पनि जानकारी दिए ।
म्याद बुझेर काठमाडौं फर्किए रास्वपा सभापति रवि लामिछाने
विरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पर्सा जिल्ला अदालतमा निर्धारित कानुनी प्रक्रिया पूरा गरी काठमाडौं फर्किएका छन्।
बुधबार सिमरा हुँदै विरगञ्ज आएका लामिछानेले पर्सा जिल्ला अदालतमा उपस्थित भई म्याद बुझ्ने कार्य सम्पन्न गरेका हुन्। अदालतमा आवश्यक प्रक्रिया पूरा गरेपछि उनी सोही दिन अपराह्न सुरक्षा व्यवस्थाकाबीच काठमाडौं फर्किएका छन् ।
अदालत परिसरमा उनको उपस्थितिलाई मध्यनजर गर्दै बिहानदेखि नै कडा सुरक्षा व्यवस्था मिलाइएको थियो। नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको संयुक्त टोली परिचालन गरी सम्भावित भिड व्यवस्थापन गरिएको थियो। लामिछाने अदालत पुग्दा उनका समर्थकहरू पनि आसपास क्षेत्रमा भेला भएका थिए।
यसअघि पनि विभिन्न मुद्दाका सन्दर्भमा लामिछाने पटक–पटक अदालतमा उपस्थित हुँदै आएका छन्। पछिल्लो पटकको उपस्थितिसँगै उनले कानुनी प्रक्रियाअनुसारको दायित्व पूरा गरी पुनः काठमाडौं फर्किएका हुन्।
सुधन गुरुङ एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेका एक वृद्धालाई भेट्न उनकै निवास पुगे
काठमाडौं । नेकपा एमालेको दुर्व्यवहार परेका वृद्धलाई भेट्न गृहमन्त्री सुधन गुरुङ उनकै निवास पुगेका थिए।
उनलाई दुर्व्यवहार गर्ने राम शरण शर्मा बजगाईँ पक्राउ परेको केही समयपछि नै गुरुङ उनलाई भेट्न निवास नै पुगेसुधन गुरुङ एमाले कार्यकर्ताबाट दुर्व्यवहारमा परेकी एक वृद्धालाई भेट्न उनकै निवास पुगे हुन् ।
गृहमन्त्री गुरुङलाई आफू पीडित हुँदा यसरी तुरुन्तै एक्सनमा उत्रिएर साथ दिएको भन्दै जेष्ठनागरिकले धन्यवाद दिएका छन् । गृहमन्त्री गुरुङ आफ्नो काम सकेर निवास फर्कँदै गर्दा जेष्ठ नागरिककै निवास पुगेका थिए ।
उक्त घटनाले आफू निदाउन समेत नसकेको भन्दै गृहमन्त्री गुरुङ तुरुन्तै एक्सन लिएको बताए ।
गृहमन्त्री गुरुङकै निर्देशनमा ललितपुर प्रहरीले दुर्व्यवहार गर्ने व्यक्ति राम शरण शर्मा बजगाईँलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी परिसर ललितपुरमा राखी थप अनुसन्धान भइरहेको छ ।
सरकारको निर्णयलाई स्वागत गर्दै एमाले निकट सागरनाथ वन विकास परियोजना सर्लाही कर्मचारी संगठन भंग
सर्लाही । सर्लाहीस्थित सागरनाथ वन विकास परियोजनामा क्रियाशील कर्मचारी संगठन सरकारले गरेको निर्णयलाई स्वागत गर्दै भंग गरिएको छ ।
नेकपा एमाले निकट उक्त संगठनले नेपाल सरकारको शासकीय सुधार र मितव्ययिता सम्बन्धी निर्णयलाई स्वागत गर्दै संगठनले आफ्नो संगठन विघटनको घोषणा गरेको हो । संगठनका अध्यक्ष प्रदीप अर्याल र सचिव युवराज कार्कीले संयुक्त रूपमा सूचना जारी गर्दै सरकारको निर्णयअनुसार कार्यसमिति भंग गरिएको जानकारी दिएका छन्।
जारी सूचना अनुसार गत २०८२ साल चैत्र १३ गते बसेको मन्त्रिपरिषद्को बैठकले स्वीकृत गरेको १०० बुँदे शासकीय सुधारका कार्यसूचीहरू मध्ये बुँदा नम्बर १२ मा उल्लेखित प्रशासनिक सुधार, पुनर्संरचना र मितव्ययिता सम्बन्धी व्यवस्थालाई कार्यान्वयन गर्न यो कदम चालिएको हो ।
गत चैत १३ गते बसेको नवगठित मन्त्रिपरिषद् बैठकले कर्मचारी संघ संगठनहरू भंग गर्ने निर्णय गरेको थियो।
कांग्रेस संस्थापनइतर समूहको बैठक : १५ औं महाधिवेशनबारे छलफल हुँदै
काठमाडौं । नेपाली कांग्रेसको संस्थापनइतर समूहको बैठक आज (मंगलबार)देखि सुरू भएको छ ।
नेपाली कांग्रेसका पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काको आह्वानमा काङ्ग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिको बैठक अहिले जारी छ ।
बिहान ११ बजे धुम्बाराहीको होटल स्मार्टमा बोलाइएको दुई दिने बैठकका लागि इतर समूहले तीनवटा एजेन्डामा छलफल भइरहेको छ ।
बैठकमा लागि २१ फागुनमा सम्पन्न निर्वाचन र पार्टीले प्राप्त गरेको परिणाम, १५ औं महाधिवेशन कार्यतालिका तथा महाधिवेशनको तयारी र सम्भावनाबारे छलफल हुनेछ ।
बैठक १४ औँ महाधिवेशनबाट उपसभापतिमा निर्वाचित र गत असोज २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकमा सभापति शेर बहादुर देउवाले कार्यवाहक सभापतिको जिम्मेवारी दिएका पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको हो ।
बैठकमा ५० बढी नेताहरुको सहभागिता छ । बैठकमा नेता डा.शेखर कोइराला, पूर्वउपसभापतिहरू विमलेन्द्र निधि र प्रकाशमान सिंह, पूर्वमहामन्त्री डा. शशांक कोइरालालगायत नेताहरु सहभागी छन् । डा.शेखर ढिलागरी बैठक स्थल पुगेका थिए ।
दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा
दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको ट्यांकर अल सल्मीमा लागेको आगो पूर्ण रूपमा नियन्त्रणमा आएको छ । दुबई मिडिया अफिसले मंगलबार उक्त जानकारी दिँदै घटनामा मानवीय क्षति नभएको पुष्टि गरेको छ । करिब २० लाख ब्यारेल कच्चा तेल बोकेको उक्त ट्यांकर कुवेत र साउदी अरेबियाबाट चीनको छिङदाओतर्फ जाँदै गर्दा दुबईको जलक्षेत्रमा क्षतिग्रस्त भएको थियो । आगलागीका कारण जहाजको बाहिरी संरचना (हल) मा क्षति पुगेको छ भने सम्भावित तेल चुहावटको जोखिमबारे चिन्ता व्यक्त गरिएको छ ।
दुबईका सम्बन्धित निकायका अनुसार आपतकालीन टोलीहरूले तत्काल उद्धार तथा नियन्त्रण कार्य सञ्चालन गर्दै आगो निभाएका हुन् । जहाजमा सवार सबै २४ जना चालकदल सदस्य सुरक्षित रहेको र कुनै घाइते नभएको जनाइएको छ ।
यसैबीच, कुवेत पेट्रोलियम कर्पोरेसनले प्रारम्भिक जानकारी दिँदै उक्त ट्यांकर इरानी आक्रमणबाट प्रभावित भएको दाबी गरेको छ, जसका कारण जहाजमा आगलागी भएको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ । घटनासँगै सोमबार साँझदेखि मंगलबार बिहानसम्म दुबई क्षेत्रमा ठूला विस्फोटजस्ता आवाजहरू सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।
दुबई प्रशासनले अवस्थाको निरन्तर अनुगमन गरिरहेको र आवश्यक कदमहरू चालिरहेको जनाएको छ । साथै, परिस्थितिबारे थप विवरण क्रमशः सार्वजनिक गरिने बताइएको छ । एएनआई
प्रभू साह र रवि लामिछानेबीच भेटवार्ता : सरकारले मधेसलाई प्राथमिकता दिने
काठमाडौं । आम जनता पार्टीका अध्यक्ष प्रभू साह र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । मंगलबार विहान बुढानिलकण्ठमा भएको भेटमा सभापति लामिछानेले मधेसलाई सरकारले प्राथमिकतामा राखेर काम गर्ने जानकारी गराएका थिए ।
देश र अझ विशेषगरी मधेसले परिवर्तन चाहेको जनमतबाट स्पष्ट देखिएकाले यसलाई आत्मसात् गरि पारस्परिक सहयोगमार्फत अघि बढ्ने विषयमा छलफल केन्द्रित भएको लामिछानेको सचिवालयले जनाएको छ । सो क्रममा अध्यक्ष साहद्वारा पार्टी र सभापति लामिछानेले औपचारिक रूपमा बधाई दिएका थिए ।
यसैबीच, रास्वपा सभापति रवि लामिछाने र राष्ट्रिय सभा सदस्य महन्थ ठाकुर बीच पनि भेटवार्ता भएको छ । बुढानिलकण्ठस्थित ठाकुरको निवासमा भएको भेटमा वर्तमान राजनीतिक अवस्था, मधेसको विकास तथा प्राथमिकता दिनुपर्ने योजनाहरूका विषयमा छलफल भएको बताइएको छ ।
पछिल्लो जनादेशअनुसार समग्र विकासका लागि सहकार्य गर्दै अघि बढ्ने कुरामा दुवै पक्ष एकमत भएका छन् ।
प्रहरी पोसाक उत्पादनका लागि आफ्नै फ्याक्ट्री बनाउछैँ : गृहमन्त्री गुरुङ
काठमाडौं । गृहमन्त्री सुधन गुरुङले नेपाल प्रहरीका लागि आवश्यक पोसाक स्वदेशमै उत्पादन गर्ने योजना अघि सारिएको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रममा गृहमन्त्री गुरुङले प्रहरीको पोसाक उत्पादन गर्न आफ्नै फ्याक्ट्री स्थापना गरिनेछ, जुन सहरभन्दा बाहिर गाउँ क्षेत्रमा राखिने बताएका हुन् । उनले यसबाट गाउँका स्थानीय बासिन्दाले रोजगारी पाउने, स्वदेशमै उत्पादन बढ्ने बताए ।
मन्त्री गुरुङले भने, ‘प्रहरीको पोसाक आफैं उत्पादन गर्ने हो भने देशमै उद्योग विकास हुन्छ, रोजगारी सिर्जना हुन्छ र आवश्यक सामग्री समयमै उपलब्ध हुन्छ ।’
त्यस्तै, उनले प्रहरीको न्युट्रिसनु (पोषण) र कार्य अवस्थाबारे पनि कुरा उठाएका बताए । उनले प्रहरी कर्मचारीहरू दिनरात खट्नुपर्ने भएकाले उनीहरूको पोषण तथा सुविधामा सुधार आवश्यक रहेको बताए ।
उनले यस विषयमा आफूले पहिलेदेखि नै आवाज उठाउँदै आएको उल्लेख गर्दै सम्बन्धित फाइल मन्त्रालयबाट अघि बढिसकेको र अब कार्यान्वयन चरणमा लैजान तयार रहेको जानकारी दिए ।