एनपिएलको खेल तालिका सार्वजनिक
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले नेपाल प्रिमियर लिग (एनपिएल)को खेल तालिका सार्वजनिक गरेको छ । क्यानले यही मङ्सिर १५ गतेदेखि हुने नेपाल प्रिमियर लिगको खेल तालिका सार्वजनिक गरेको हो । क्यानका अनुसार मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा हुनेछ ।
उद्घाटन खेल मध्याह्न १२:१५ बजे त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा हुनेछ । मङ्सिर १७ देखि २४ गतेबाहेक पुस १ गतेसम्म निरन्तर लिग चरणका खेल हुनेछन् । मङ्सिर १७ देखि मङ्सिर ३० गतेसम्म दिनमा दुई वटा खेल हुनेछन् । पहिलो खेल बिहान ९:१५ बजेदेखि र दोस्रो खेल दिउँसो १:१५ बजेदेखि सुरु हुनेछ । पुस १ गते भने एक खेलमात्रै हुनेछ ।
यस्तो छ लिग चरणको खेल तालिका
मङ्सिर १५ गते हुने उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट्सबीच प्रतिस्पर्धा भएपछि दोस्रो खेल मङ्सिर १७ गते हुनेछ । आगामी पुस ३ गते पहिलो क्वालिफायर र इलिमिनेटर खेल हुनेछ । त्यस्तै पुस ३ गते नै दिउँसो १:१५ बजे पहिलो क्वालिफायरको खेल हुनेछ । दोस्रो क्वालिफायर खेल पुस ४ गते बिहीबार मध्याह्न १२:१५ बजे हुनेछ ।
दोस्रो क्वालिफायर खेल जित्ने टोली फाइनलमा प्रवेश गर्छ । एनपिएलको फाइनल खेल आगामी पुस ६ गते शनिवार मध्याह्न १२:१५ बजे हुनेछ । फाइनल खेलमा पहिलो क्वालिफायर खेल जितेको टोली र दोस्रो क्वालिफायर जित्ने टोली उपाधिका लागि भिड्नेछन् ।
आजको मौसमः केही भूभागमा वर्षाको सम्भावना
काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ ।
महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा भने हल्का वर्षाको सम्भावना रहेको छ ।
आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहने छ।
कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारका लागि लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार आज ,अमेरिकी डलर, युरो, स्टर्लिङ पाउण्ड,बहराइन दिनार, कुवेती दिनार र कतारी रियालको मूल्य घटेको छ । राष्ट्र बैङ्कका अनुसार, सोमबार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा रहेको थियो । मङ्गलबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७२ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३२ पैसा कायम छ ।
सोमबार युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ६७ पैसा थियो । मङ्गलबारका लागि युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ९६ पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ५९ पैसा निर्धारण गरिएको छ ।
सोमबार पाउण्ड स्टर्लिङ एकको खरिद दर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा रहेको थियो । मङ्गलबारका लागि पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६९ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ७२ पैसा तोकिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८६ रुपैयाँ ८९ पैसा, बिक्रीदर ८७ रुपैयाँ २८ पैसा निर्धारण भएको छ ।
क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ५७ पैसा, बिक्री दर ९६ रुपैयाँ, सिङ्गापुर डलर एकको खरिद दर एक सय रुपैयाँ १६ पैसा, बिक्रीदर एक सय रुपैयाँ ६१ पैसा बराबर रहनेगरी विनिमयदर तय गरिएको छ । यस्तै जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा, बिक्रीदर आठ रुपैयाँ ७३ पैसा रहेको छ ।
महिला मृत्युदर घटाउन निःशुल्क ‘एचपीभी’ खोप दिइने
काठमाडौँ । सरकारले पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ देशैभर निःशुल्क दिने भएको छ ।
आगामी माघ २२ गते देखि देशैभर पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको ‘एचपीभी खोप’ निःशुल्क दिइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो समय पाठेघरको मुखमा हुने क्यान्सरका कारण अकालमा मृत्यु हुनेको सङ्ख्या बढ्दो क्रममा रहेको कारण उक्त जोखिम न्यूनीकरण गर्ने उद्देश्यले करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी दिएको हो ।
मन्त्रालय विश्व क्यान्सर दिवस (फेब्रुअरी ४) को सन्दर्भ पारेर विद्यालयमा अध्ययनरत कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागेको हो । १६ लाख ८८ हजार सात सय ६८ किशोरीलाई खोप दिइने सरकारको लक्ष्य रहेको छ ।
१८ हजार नौ सय विद्यालयमा खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहनेछन् भने २७ हजार ८० जना स्वास्थ्यकर्मीहरू परिचालित हुनेछन् ।
उक्त अभियानमा ५४ हजार एक सय ६० जना स्वयंसेवक खटाइनेछ । १५ हजार छ सय ७४ सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
पूर्वसभामुख ढुंगानाको पशुपति आर्यघाटमा गरियो अन्त्येष्टि
काठमाडौं । पूर्वसभामुख दमननाथ ढुंगानाको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । ढुंगानाको आज (सोमवार)राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
आइतवार दिवंगत भएका उनलाई छोराहरू निमेष र निशेषले दागबत्ती दिएका हुन् । सो क्रममा नेपाली सेनाको टोलीले सलामी अर्पण गर्नुका साथै शोक धुन बजाएको थियो ।
कलेजोसम्बन्धी समस्याको उपचारका लागि पुरानो बानेश्वरको फ्रन्टलाइन अस्पताल भर्ना भएका ८३ वर्षका ढुंगानाको उपचारका क्रममा आइतबार दिउँसो निधन भएको हो ।
उनको पार्थिव शरीरलाई अन्तिम श्रद्धाञ्जलीका लागि सानोगौचरनमा राखिएको थियो । त्यहाँ प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएर श्रद्धाञ्जली अर्पण गरेका थिए ।
चीनमा पोथी पाण्डाको ‘मार्सल आर्ट’
एजेन्सी । चीनको उत्तरपश्चिम शान्क्सी प्रान्तको एक संरक्षण क्षेत्रमा एक विशाल पोथी पाण्डाले रोचक दृश्य प्रस्तुत गरेको छ ।
एउटा रूखमा आˆनो मार्सल आर्ट कौशल देखाएर उक्त पान्डाले आगन्तुकहरूलाई मनोरञ्जन दिएको थियो ।
किन्लिङ पर्वतको बीचमा अवस्थित पाण्डाहरूको घर मानिने फोपिङ नेचर रिजर्भमा रहेको एक रूपमा पाण्डाले कला कौशल प्रदर्शन गरेको हो ।
यो भिडियो चिनियाँ समाचार एजेन्सी सीसीटीभी प्लसले राखेको छ । डाङ शेङ नाम दिइएको उक्त पण्डा तीन वर्ष उमेरको हो । उक्त पाण्डाले रूख आरोहण गतिविधि वा सीपहरु देखाएको थियो ।
मन्त्रिपरिषदको बैठक बस्दै
काठमाडौं । मन्त्रिपरिषदको बैठक आज बिहान बस्दै छ । बैठक बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो ।
सोमबार र बिहीबार मन्त्रिपरिषद्को नियमित बैठक बस्ने गरेको छ।
तर आजको बैठकमा पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधनमा राज्यले गर्ने सम्मानका विषयमा निर्णय गर्ने तयारी रहेको छ ।
सोमवारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमवारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैङ्कका अनुसार आज अमेरिकी डलरको खरिददर एक सय ३४ रुपैयाँ ७४ पैसा, बिक्रीदर एक सय ३५ रुपैयाँ ३४ पैसा ताकिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ चार पैसा, बिक्रीदर एक सय ४२ रुपैयाँ ३७ पैसा, पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७० रुपैयाँ चार पैसा र बिक्रीदर एक सय ७० रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ सात पैसा, बिक्रीदर ८७ रुपैयाँ ४६ पैसा रहेको छ ।
त्यस्तै, क्यानेडियन डलर एकको खरिददर ९५ रुपैयाँ ६२ पैसा, बिक्रीदर ९६ रुपैयाँ पाँच पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ३५ पैसा, बिक्रीदर एक सय रुपैयाँ ७९ पैसा, जापानी येन १० को खरिददर आठ रुपैयाँ ७३ पैसा, बिक्रीदर आठ रुपैयाँ ७७ पैसा तोकिएको छ ।
विराटनगर किङ्ग्सको एम्बेसडर बने दयाहाङ राई
काठमाडौँ । विराटनगर किंग्सको गुडविलले चर्चित अभिनेता दयाहाङ राईलाई आगामी नेपाल प्रिमियर लिग (एनपिएल) का लागि आफ्नो ब्राण्ड एम्बेसडर घोषणा गरेको छ ।
आइतवार काठमाडौँमा आयोजित एक पत्रकार सम्मेलनमा राईलाई ब्राण्ड एम्बेसडर घोषणा गरिएको हो ।
ब्राण्ड एम्बेसेडरको रूपमा विराटनगर किङ्ग्समा आबद्ध भई राईले नेपाली खेलकुदमा पनि आफ्नो उपस्थिति जनाएका हुन् । उनले यो टिमसँग जोडिन पाउँदा खुसी लागेको बताए ।
उनले भने, ‘विराटनगर किङ्ग्सको लागि यो एउटा नयाँ आयाम हो । विराटनगर किङ्ग्सले यो अवसर दिएकोमा धेरै धेरै धन्यवाद । टिमसँग जोडिन पाउँदा निकै खुसी लागेको छ । क्रिकेटले हामी सबैलाई धेरैसँग जोडेको छ । क्रिकेटले नेपाललाई विश्वसँग नै जोडेको छ ।’
साथै उनले क्रिकेटले गर्दा नेपाली खेलहरूलाई नजिकबाट बुझेको बताए । उनले खेलले नै हामी सबैलाई ठूलो धैर्यता सिकाएको बताए । नेपाल प्रिमियर लिग (एनपीएल) आगामी १५ मंसिरदेखि ६ पुषसम्म चल्नेछ ।
उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।
स्थानीय तहको उपनिर्वाचनका लागि हुम्ला जिल्ला सर्केगाड गाउँपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट उपाध्यक्ष पदमा उम्मेदवारका लागि तयार रहेकी सुजता थापालाई उम्मेदवारी मनोनयनका लागि आवश्यक तयारी भइरहेको बेला उम्मेदवारी नदिन भन्दै धम्क्याइको कार्यवाहक महामन्त्री कविन्द्र बुर्लाकोटले विज्ञप्ति मार्फत जानकारी गराएका छन् ।
रास्वपाले धम्की दिने कार्यमा नेपाली कांग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको निर्वाचन आयोगलाई जानकारी गराएको छ । ‘मंसिर १ गते दिउँसो करिब १ बजे निज सुजाता थापा र उहाँको श्रीमान बल थापालाई करीब ४०–४५ जना युवाहरूको समूहले घरबाट लछारपछार गर्दै अपहरण शैलीमा अज्ञात स्थलतर्फ लिएर गएको र त्यस लगत्तै गाउँमा खैलाबैला भएको थियो । यो कुरा थाहा भए लगतै हुम्लाका प्रमुख जिल्ला अधिकारी श्री नारायण पाण्डेयलाई जानकारी गराइयो । प्रजिअलाई यसअघि पनि अन्य व्यक्तिले यस घटनाको सूचना दिएकोले आवश्यक खोजतलास उद्धारको लागि प्रहरी परिचालन गरिसकेको बताउनु भएको थियो ।’ बुर्लाकोटले निर्वाचन आयोगमा दिएको पत्रमा भनिएको छ ।
‘रास्वपाका उम्मेदवार र उहाँको परिवारलाई त्यसरी अपहरण शैलीका अज्ञात स्थलमा लछारपछार गरी लगी रास्वपाबाट उम्मेदवारी नदिन धम्क्याउँदै मानसिक दबाब दिने र उम्मेदवारी दिएमा जेपनि हुनसक्ने सम्मको यातना दिइएको पाइएको र त्यस पश्चात् निज सुजाता थापा र उहाँ परिवार मानसिक तनावमा देखिएको र हाल असुरक्षाका कारण उम्मेदवारी दिन नसकिने मनस्थितिमा पुग्नुभएको पाइएको छ । स्थानीय स्रोतका अनुसार उक्त निन्दनीय कार्यमा स्थानीय नेपाली काँग्रेसका सदस्यहरू संलग्न रहेको सूचना प्राप्त भएको छ । त्यसैगरी हुम्ला सर्केगाडमा उम्मेदवार तय गर्न र प्रचारप्रसारमा खटिनुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्यहरूलाई समेत दुर्व्यवहारका साथै लछारपछार र कुटपिट समेत भएको विवरण प्राप्त भएको छ ।’
रास्वपाले मधेस प्रदेशमा पनि स्वपाका सम्भावित उम्मेदवारहरूलाई धम्की दिने र प्रलोभनमा पार्ने सम्मका प्रयत्नहरू भएको दाबी गरेको छ । बुर्लाकोटीले निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको उल्लेख गरेका छन् । ‘लोकतन्त्रको महत्वपूर्ण पक्ष स्थानीय तह उपनिर्वाचनमा पहिलो पटक सहभागी हुन लागेको संसदको चौथो ठूलो राजनीतिक दलप्रति भएको निकृष्ट अलोकतान्त्रिक क्रियाकलापप्रति सम्मानित निर्वाचन आयोगको गम्भीर ध्यानाकर्षण गराउँदछौँ ।’
पत्रमा भनिएको छ, ‘यस घटनाले हामीलाई साह्रै दुःखी बनाएको त छ नै । साथै निर्वाचन प्रक्रियाप्रति नै आम जनमानसमा अविश्वास र त्रास समेत सिर्जना गरेको छ । उल्लिखित घटनाक्रमलाई ध्यान दिई आसन्न उपनिर्वाचनलाई स्वच्छ, स्वस्थ र धाँधली मुक्त वातावरणमा सम्पन्न गर्न अविलम्ब आवश्यक कदम चाल्नुका साथै घटनामा संलग्न दोषीहरूलाई कानुन बमोजिम कारबाही गर्नका लागि सम्मानित निर्वाचन आयोग समक्ष हार्दिक अनुरोध गर्दछौँ ।’


































