सबैभन्दा बढी कर तिर्ने उत्कृष्ट करदाता को को ?
काठमाडौं । कर दिवसको अवसरमा आन्तरिक राजस्व विभागले यस वर्षको उत्कृष्ट करदाता घोषणा गरेको छ । शनिवार आयोजना गरेको कार्यक्रममा आन्तरिक राजस्व विभागले आर्थिक वर्ष २०७९–८० मा विधागत रूपमा धेरै कर तिर्ने करदातालाई सम्बन्धित विधाबाट उत्कृष्ट करदाताको रुपामा छनोट गरेको हो ।
सबैभन्दा बढी कर तिर्नेमा आयकरतर्फ नेपाल टेलिकम, बैङ्क तथा वित्तीय संस्थातर्फ नबिल बैँक र वस्तु व्यापारतर्फ भाटभटेनी सुपरमार्केट रहेको छ ।
एकलौटी फर्मतर्फ श्रुति ट्रेडर्स, निर्यात तर्फ डाबर नेपाल, सूचना प्रविधि निर्यात तर्फ कोडावतार टेक प्रालि, कृषि तथा पशुपक्षीजन्य उद्योगतर्फ पतञ्जलि आयुर्वेद, बैङ्क तथा वित्तीय संस्था तर्फ नबिल बैङ्क, स्वास्थ्य सेवा तथा शैक्षिक संस्था तर्फ लुम्बिनी मेडिकल कलेज, पर्यटन व्यवसायतर्फ तारागाउँ रिजेन्सी होटेल, ऊर्जातर्फ भोटेकोसी पावर कम्पनी, रेमिटेन्स तथा मनि ट्रान्सफरतर्फ सिटी एक्सप्रेस मनि ट्रान्सफर, व्यक्तिगत आयकरतर्फ राजबहादुर शाह, मूल्य अभिवृद्धि कर (भ्याट) तर्फ धेरै र नियमिततर्फ होङ्सी सिमेन्ट र विशेष उद्योगतर्फ वरुण वेभरेज रहेको छ ।
यस्तै ५० करोडसम्म कारोबार भएकामध्ये धेरै कर तिर्ने सोल्टी इन्टरप्राइजेज रहेको छ । यसरी छानिएका व्यक्ति तथा संस्थाहरूलाई अर्थमन्त्री विष्णु पौडेलले उत्कृष्ट करदाताको प्रमाणपत्र सहित सम्मानित गरेका हुन् ।
‘पूर्णबहादुरको सारङ्गी’ ले गर्यो ३० करोड ग्रसकलेक्सन
काठमाडौँ । चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ देशभर हाउसफुल व्यापार गरिरहेको छ । आज शनिवार देशभरका अधिकांश शोहरू आउसफूल छन् । लक्ष्मीपूजालाई लक्षित गर्दै यही कात्तिक १५ गतेदेखि प्रदर्शनमा आएको यो चलचित्रले १६औँ दिनसम्म आइपुग्दा नेपालमा सर्वाधिक कमाउने चलचित्र बनेको छ ।
चलचित्रले प्रदर्शनको १५औँ दिनसम्म आइपुग्दा करिब ३० करोड ग्रसकलेक्सन गरेको निर्माता विनोद पौडेलले जानकारी दिएका छन् ।
एकैदिनमा सर्वाधिक कमाउने नेपाली सिनेमा समेत बन्न सफल भएको ‘पूर्णबहादुरको सारङ्गी’ले सर्वाधिक कलेक्सनको रुपमा मात्र इतिहास रचेन, सर्वाधिक शो पाउने फिल्मको रेकर्ड समेत राख्यो । अहिले पनि मुलुकका कम्तीमा ३५० भन्दा धेरै शो यो चलचित्रको कब्जामा छ ।
यस्तै, ‘पूर्णबहादुरको सारङ्गी’ले नेपालमा मात्रै होइन ओभरसिज मार्केटमा पनि नयाँ नयाँ रेकर्ड बनाएको छ । विदेशी बजारमा एक हप्तामा सबैभन्दा धेरै ग्रसकलेक्सन गर्ने नेपाली चलचित्रको रेकर्ड ‘पूर्ण बहादुरको सारङ्गी’को नाममा आएको छ । साथै ‘पूर्ण बहादुरको सारङ्गी’ ओभरसिज मार्केटमा सबैभन्दा धेरै शो पाउने चलचित्र बनेको छ ।
उनले भने, ‘हाम्रो गाउँघरको मौलिक कथालाई नेपालसँगै विश्वभर दर्शकले दिनुभएको मायालाई धन्यवाद भन्ने शब्द हामीसँग छैन, यस चलचित्रमार्फत हामीले विदेशी चलचित्रसँग डराउनुपर्ने प्रवृतिलाई पनि अन्त्य गरेका छौँ, नेपाली दर्शकसम्म जानकारी पुगेमा उनले नेपाली चलचित्रलाई नै माया गर्नुहुन्छ भन्ने प्रमाणित भएको छ ।’
नेपालभर चलचित्र हेर्ने दर्शकको चाप उस्तै भएपछि निर्माण समूह मोफसल भ्रमणमासमेत निस्किएको छ । ‘पूर्ण बहादुरको सारङ्गी’ टिम चलचित्रको प्रचारका लागि नभएर मुख्य शहरहरूका विभिन्न हलमा पुगेर सिनेमालाई मन पराइदिएको र सपोर्ट गरिदिएकोमा धन्यावाद दिन मोफसलका हल–हल पुगिरहेका छन् । यो भ्रमणमा निर्माताहरू सँगै अभिनेता विजय बराल, अभिनेत्री अञ्जना बराइलीलगायत छन् ।
यही भ्रमणका क्रममा निर्माण कम्पनी सेभेन सिस सिनेमाले ग्रसकलेक्सनको ‘फेक रिपोर्ट’ दिएको दिएको देखेपछि मोफसलका १९ वटा हलमा ‘पूर्ण बहादुरको सारङ्गी’ शनिबारबाट प्रदर्शनमा नआउने निर्माणपक्षले निर्णय गरेको छ ।
हाउसफूल अकुपेन्सीमा चलचित्र प्रदर्शन भए पनि हलहरुले निर्माणपक्षलाई निकै कम ग्रसकलेक्सनको रिपोर्ट उपलब्ध गराएको भन्दै निर्माण कम्पनीले शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अरुण हल बिराटनगर, निलम सिनेमाज जनकपुर, विना हल लालबन्दी, गोरखा हल गोरखा, बर्दिवास हल बर्दिवास, विराटचोक हल मोरङ, सी.वी हल इनरुवा, दीपक हल बरहथवा, हिमालय हल विराटनगर, चरिकोट हल दोलखा, एभरेस्ट हल राजगढ, धनकुटा हल धनकुा, फिदिम हल पाँचथर, त्रिशूली हल नुवाकोट, इलाम हल इलाम, लभ कुश हल महेन्द्रनगर, त्रिमूर्ति हल र गिरिराज हल जनकपुरमा आज (शनिवार)देखि चलचित्र प्रदर्शन नहुने जनाएको छ ।
सरोज पौडेलको निर्देशनमा बनेको चलचित्रमा विजय बराल मुख्य भूमिकामा छन् । प्रकाश सपुत, अन्जना बराइली, मुकुन भुसाल, बुद्धि तामाङ, भोलाराज सापकोटा लगायत कलाकार चलचित्रको मुख्य भूमिकामा छन् ।
चलचित्रमा संवाद महेश दवाडीले लेखेका छन् । सेभेन सिस सिनेमा र बासुरी फिल्मसको प्रस्तुति रहेको सिनेमाका निर्माता विनोद पौडेल र प्याट्रिक सुवेदी हुन् । कार्यकारी निर्मातामा रमेश चौलागाईं, हरि श्रेष्ठ र रमेश ढकाल छन् ।
जसपा नेपालले उपनिर्वाचनलाई जनमत निर्माण गर्ने अवसरको रूपमा लिएको छ : पूर्ण बस्नेत
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले स्थानीय तहको उपनिर्वाचनलाई पार्टीले संघीयता कार्यान्वयनका अधुरा कार्यभार पूरा गर्न जनमत निर्माण गर्ने अवसरको रूपमा लिएको बताएका छन् ।
स्थानीय तहको उपनिर्वाचन सन्दर्भमा बोल्दै बस्नेतले संघ, प्रदेश र स्थानीय तहबिच यथोचित साझेदारी, सुमधुर र सहयोगात्मक सम्बन्धको विकास गर्दै जनअपेक्षा पूरा गर्ने तर्फ ध्यान दिनुपर्ने कुरा बताएका हुन् ।
बस्नेतले भने, ‘स्थानीय तहसँग जनताको जनजीवनलाई प्रत्यक्ष प्रभाव पार्ने काम, सेवा र सुविधाहरू जोडिएको हुन्छ । स्थानीय तह समावेशी लोकतन्त्र र समावेशी विकासलाई अपनत्वसहित प्रत्याभूति गर्ने प्रमुख आधार हो ।’
संघीय लोकतान्त्रिक गणतन्त्रले निर्दिष्ट गरेका लक्ष्य तथा उद्देश्य हासिल गर्न सवल, सक्षम, सुदृढ र सुशासित स्थानीय तह आवश्यक हुने भन्दै संघीयता कार्यान्वयनका हाम्रा अनुभव, सफल अभ्यास र सकारात्मक पक्षको आत्मसात् गरेर अगाडि बढ्नुपर्नेमा बस्नेतले जोड दिए ।
संविधान जारी गर्दाका बखत पार्टीका केही सैद्धान्तिक विमति रहेका थिए । तसर्थ स्थानीय तह उपनिर्वाचनको अभियान सञ्चालन गर्दैगर्दा संविधान संशोधन तथा पुनर्लेखनको पक्षमा पार्टीले जनआवाजलाई अझ जोडले मुखरित गर्ने उनले बताए ।
डिजेल र मट्टीतेलको भाउ बढ्यो
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ डिजेल र मट्टीतेलको भाउ बढाएको छ । प्रतिलिटर ३ रुपैयाँले बढाइएका यी इन्धनको मूल्य अब १५० देखि १५३ रुपैयाँसम्म पर्नेछ । शुक्रवार साँझ बसेको निगम सञ्चालक समिति बैठकले बढाएको डिजेल र मट्टीतेलको नयाँ मूल्य शनिवार मध्यराति १२ बजेदेखि लागु हुनेछ ।
निगमले पेट्रोल, ग्यास र हवाई इन्धनको मूल्य भने यथावत् राखेको छ । अब चाराली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज क्षेत्रमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५० रुपैयाँ पर्नेछ । उपभोक्ताले सुर्खेत र दाङमा प्रतिलिटर १५२ रुपैयाँ तथा काठमाडौँ, पोखरा र दिपायलमा प्रतिलिटर १५३ रुपैयाँ तिर्नुपर्नेछ ।
मिसन– २०२६ अन्तर्गत विशेष प्रशिक्षण आजदेखि
काठमाडौँ । जापानमा हुने २० औँ एसियाली खेलकुदमा स्वर्णसहित दोहोरो अंकमा पदक जित्ने लक्ष्यसहित गत आर्थिक वर्षदेखि राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले सुरुआत गरेको मिसन– २०२६ अन्तर्गत खेलाडीको विशेष प्रशिक्षण शनिवार देखि सुरु हुने भएको छ ।
चालु आ.व. को विशेष प्रशिक्षणमा पारा ताइक्वान्दो र ताइक्वान्दो सहित ११ खेल समावेश गरिए पनि हाललाई ९ खेलको मात्र शनिवार देखि विशेष प्रशिक्षण सुरु हुन लागेको हो । पारा ताइक्वान्दो र ताइक्वान्दो खेलाडीको नाम उपलब्ध नभएकोले नाम उपलब्ध भएपछि ताइक्वान्दोलाई पनि विशेष प्रशिक्षणमा समावेश गरिने छ ।
विशेष प्रशिक्षणमा ३७ पुरुष र ४८ महिला गरी ८५ खेलाडी सहभागी हुने राष्ट्रिय टिम तयारीका उप निर्देशक दीपक श्रेष्ठले जनाएका छन् । प्रशिक्षकको सङ्ख्या १९ रहेको छ ।
करातेमा समान ५–५ पुरुष/महिला, बक्सिङमा ३ पुरुष र ५ महिला, उसुमा ५ पुरुष र ३ महिला, एथलेटिक्समा समान ४–४ पुरुष-महिला तथा जुडो र कुस्तीमा समान ३–३ पुरुष/महिला खेलाडी प्रशिक्षणमा सहभागी हुने छन् । कबड्डीमा समान १२–१२ पुरुष/महिला तथा महिला भलिबलमा १२ खेलाडी हुने छन् । गल्फमा २ पुरुष र १ महिला खेलाडी सामेल हुने छन् ।
गत आ.व. मा ५ खेलको छ महिना तथा थप ५ खेलको ३ महिना विशेष प्रशिक्षण सञ्चालन गरिएको थियो । कुनै पनि एसियाली खेलकुद सम्पन्न भए लगत्तै यति लामो समय आगामी संस्करणका लागि तयारी थालिएको पहिलो पटक हो ।
राखेपका सदस्य–सचिव टंकलाल घिसिङले वैज्ञानिक, लामो र व्यवस्थित तयारीलाई मध्यनजर गर्दै गत आ.व. देखि मिसन– २०२६ को अवधारणा अनुरूप विशेष प्रशिक्षण थालिएको हो ।
एसियाली खेलकुदको कुनैपनि संस्करणमा नेपालले हालसम्म दोहोरो अंकमा जितेको छैन । एसियाली खेलकुदमा नेपाल हालसम्म स्वर्ण विहीन पनि छ । सन् १९८६ मा दक्षिण कोरियको सिओलमा भएको एसियाली खेलकुदमा नेपालले बक्सिङ र ताइक्वान्दोमा समान ४–४ गरी ८ कांस्य पदक जितेको थियो । सङ्ख्याका हिसाबले त्यो सिओल एसियाड नै नेपालले हालसम्म एसियाली खेलकुदमा जितेको सर्वाधिक पदक हो ।
जलवायु वित्तको भुक्तानी माग गर्दै काठमाडौँमा प्रदर्शन
काठमाडौँ । धनी राष्ट्रहरूले जलवायु क्षतिपूर्ति तिर्नुपर्ने माग गर्दै जलवायु अभियन्ताहरूले काठमाडौँमा प्रदर्शन गरेका छन् । विश्वका गरिब र जलवायु परिवर्तनको प्रभावबाट सबैभन्दा बढी जोखिममा रहेका देशहरूका निम्ति जलवायु क्षतिपूर्तिमा ५ खर्ब डलर माग गर्दै शनिवार जलवायु अभियन्ताहरूले काठमाडौँमा विरोध प्रदर्शन गरेका हुन् ।
विरोध प्रदर्शनमा उनीहरूले अन्यायपूर्ण ऋण खारेज गर,जलवायु वित्त भुक्तानी गर लगायत प्लेकार्डहरू प्रदर्शन गरेका थिए । याल्ली भृकुटीमण्डप देखी शान्तिबाटिका हुँदै रत्नपार्क क्षेत्रमा पुगेको थियो ।
विश्वका दक्षिणी देशहरू पहिले नै ऋणको बोझले ग्रस्त रहेकाले जलवायु वित्त ऋणका रूपमा नभई अनुदानका रूपमा आउनुपर्ने, तत्काल आवश्यक जलवायु कार्यका आवश्यकता सम्बोधन गर्न जलवायु वित्त पर्याप्त र समयमा आउनुपर्ने अभियानको माग छ ।
त्यस्तै जलवायु वित्तले अनुकूलन, न्यूनीकरण, हानि–नोक्सानी र प्रभावित समुदायको न्यायोचित रूपान्तरणलाई समेट्नुपर्ने र कोषहरूको वितरण पारदर्शी, उत्तरदायी तथा विश्वका दक्षिणी देशहरूको प्राथमिकता अनुरूप हुनुपर्ने माग रहेका छन् ।
विश्वका औद्योगिक विकसित देशका झुटा वाचाले विश्वव्यापी दक्षिणी समुदाय, अर्थव्यवस्था तथा पर्यावरणमा सहनशीलता अझै कमजोर बनाएको र भोग्नुपरेका घोर असमानता र अन्याय अझ गहिरो बनाएको अभियन्ताको भनाइ छ । खनिज इन्धनमुखी राष्ट्रहरूले जलवायु संकट निम्त्याउन ऐतिहासिक जिम्मेवारी स्वीकार गरी अघि बढ्नुपर्ने बताइएको छ ।
आगामी मंसिरमा अजरबाइजनको वाकु शहरमा हुन गइरहेको संयुक्त राष्ट्रसङ्घको पक्ष राष्ट्रहरूको २९औँ सम्मेलन (कोप२९) मा तत्काल जलवायु कार्यको बढ्दो लागत सम्बोधन गर्न महत्वपूर्ण निर्णय हुने भएकाले त्यसमा प्रभावकारी दबाब दिन पनि अभियानको आवश्यकता रहेको आयोजकको भनाइ छ ।
टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले हरायो
काठमाडौं । टी–२० क्रिकेटमा भारतले दक्षिण अफ्रिकालाई १३५ रनले पराजित गरेको छ । ४ खेलको सिरिजमा शुक्रबार राति जित निकालेसँगै भारतले सिरिज ३–१ ले आफ्नो पक्षमा पारेको हो ।
जोहानेसबर्गमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले सञ्जु सामसन र तिलक वर्माको शतकीय पारिले निर्धारित २० ओभरमा जम्मा १ विकेट गुमाएर २८३ रनको विशाल योगफल तयार पारेको थियो ।
जवाफमा घरेलु टोली दक्षिण अफ्रिका १८.२ ओभरमा १४८ रन मै समेटियो । लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाको सुरुवात निकै खराब रह्यो । उसले पावरप्लेमा ४ विकेट गुमाएको थियो । ट्रिस्टन स्टब्स र डेभिड मिलरले सम्हाल्ने प्रयास गरे पनि यी दुई ब्याट्सम्यान आउट भएपछि दक्षिण अफ्रिकी टोलीले ‘कमब्याक’ गर्न सकेन र ठूलो स्कोरको पराजय भोग्न बाध्य बन्यो ।
दक्षिण अफ्रिकाका लागि स्टब्सले सर्वाधिक ४३ रन बनाए भने मिलरले ३६ रन बनाएका थिए । मार्को जोन्सनले १२ बलमा दुई चौका र तीन छक्का प्रहार गर्दै २९ रनमा नटआउट रहे ।
दक्षिण अफ्रिकाका ७ ब्याटरले दोहोरो अंकमा रन स्कोर गर्न असफल भए । भारतका लागि अर्शदीपले ३ विकेट लिँदा वरुण चक्रवर्ती र अक्षर पटेलले समान २–२ विकेट हात पारे । यसैगरी हार्दिक पाण्ड्या, रमनदीप सिंह र रवि बिश्नोईले एक एक विकेट आफ्नो नाममा लेखाए ।
त्यसअघि पहिला ब्याटिङ गर्दा भारतले उत्कृष्ट सुरुवात गरेको थियो । सञ्जु सामसन र अभिषेक शर्माबीच पहिलो विकेटका लागि ७३ रनको साझेदारी भएको थियो । उक्त साझेदारीलाई लुथो सिपामलाले तोडेका थिए । उनले छैटौं ओभरमा अभिषेकलाई क्लासेनको हातबाट क्याच आउट गरे । उनी ३६ रन बनाएर मैदानबाट बाहिरिए । त्यसपछि विकेटकिपर ब्याट्सम्यान सञ्जुसँग दोस्रो विकेटका तिलक बर्माले ८६ बलमा २१० रनको नटआउट साझेदारी गरे ।
दुवैको शतकीय पारीका कारण भारतको स्कोर २८० भन्दा माथि पुगेको थियो । सञ्जुले ५६ बलमा ६ चौका र ९ छक्का प्रहार गर्दै १०९ रन बनाए भने तिलक वर्माले ४७ बलमा १० छक्का र ९ चौकाको मद्दतले १२० रन बनाए । सामसनले आफ्नो टी–२० अन्तर्राष्ट्रिय करियरको तेस्रो शतक र तिलकले दोस्रो शतक बनाए । यी दुवैले यस सिरिजमा दुई–दुई शतक प्रहार गरेका छन् ।
रनको हिसाबले दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो हार भएको छ । यसअघि सन् २०२३ मा अस्ट्रेलियासँग १११ रनले पराजित भएको थियो । रनको हिसाबले यो खेल भारतको यो सबैभन्दा ठूलो जीतको सूचीमा तेस्रो स्थानमा समावेश भएको छ । गत वर्ष भारतले घरेलु मैदानमा न्युजिल्याण्डलाई १६८ रनले पराजित गरेको थियो भने २०१८ मा आयरल्याण्डलाई १४३ रनले पराजित गरेको थियो ।
एनपीएलका लागि पोखराले छान्यो पहिलो आइकनिक प्लेयर
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को सबैभन्दा महँगो टिम पोखरा एभेन्जर्सले ट्यालेन्ट हन्टमार्फत आइकनिक खेलाडी छनौट गरेको छ ।
गण्डकी प्रदेशका लागि भएको ट्यालेन्ट हन्टमा नवलपुरका सुदिप अर्याल आइकनिक खेलाडी छनौट भएका हुन् । अलराउन्डर रहेका अर्याल ट्यालेन्ट हन्टबाट छनौट भएर एनपीएल खेल्न पाउने पहिलो आइकनिक प्लेयर बनेका छन् ।
पोखरा एभेन्जर्सका अध्यक्ष सुबोध त्रिपाठीका अनुसार टिमले गण्डकी हिरोज टिमका लागि उत्कृष्ट पाँच खेलाडी छनौट गरेको छ । जसमध्ये उत्कृष्ट हुँदै आइकनिक खेलाडी बनेका अर्यालले एनपीएल खेल्ने अवसर पाएका हुन् ।
अर्यालसँगै स्याङ्जाका सन्दिप खत्री, कास्कीका कृष्ण पौडेल र सोहेल कुँवर र तनहुँका सन्दिप पराजुली गण्डकी हिरोजका रुपमा छनौट भएका छन् । ‘स्थानीय क्रिकेट र युवा खेलाडीको विकासका लागि हामीले गण्डकी हिरोजको अवधारणा अघि सारेका हौँ। । पोखरा एभेन्जर्स अन्तर्गत रहने गण्डकी हिरोजले स्थानीयसँगै प्रदेश स्तरबाट विभिन्न प्रतियोगितामा वर्षभरीनै प्रशिक्षण र प्रतिष्पर्धामा सहभागी हुनेछ,’ अध्यक्ष त्रिपाठीले भने ।
पोखरा एभेन्जर्सका प्रबन्ध निर्देशक मनोबल श्रेष्ठ घरेलु क्रिकेटको विकासका लागि गण्डकी हिरोजको अवधारणले टेवा पु¥याउने बताउँछन् । ‘गण्डकी हिरोजका रूपमा छनौट भएका खेलाडीलाई हामी प्रशिक्षित गर्दै स्थानीय खेलाडीको स्तर वृद्धिमा जोड दिनेछौँ,’ श्रेष्ठले भने ।
आगामी मंसिर १५देखि पुस ६ सम्म काठमाडौँमा आयोजना हुन गइरहेको एनपीएलमा पोखराका लागि नेपाली राष्ट्रिय टोलीका ओपनर कुशल भुर्तेल मार्की छन् ।
टिमका सल्लाहकार एवम् परामर्शदाताका रूपमा दक्षिण अफ्रिाकाका लेजेन्ड खेलाडी जोन्टी रोड्स अनुबन्ध भइसकेका छन् । त्यस्तै चेन्नई सुपरकिंग्सका ब्याटिङ र फिल्डिङ प्रशिक्षक रहेका राजिव कुमार मुख्य प्रशिक्षकका रूपमा अनुबन्ध भइसकेका छन् ।
रोनाल्डोको उत्कृष्ट प्रदर्शनमा पोर्चुगल क्वाटरफाइनलमा
काठमाडौँ । क्रिस्टियानो रोनाल्डोको दुई गोलको मद्दतले पोर्चुगलले शुक्रवार राति पोल्यान्डलाई ५–१ ले हराएको छ । यस जितसँगै पोर्चुगल नेसन्स लिगको क्वाटरफाइनल पनि पुगेको छ । खेलका सबै छ गोल दोस्रो हाफमा भएको थियो ।
दोस्रो हाफमा निरन्तर गोलको अग्रता बनाइरहेको खेलमा अन्तिम क्षणमा रोनाल्डोले पोस्टको छेउबाट सानदार ‘एक्रोब्याटिक’ गोल गर्दै टिमको फराकिलो जित निश्चित गरे । पहिलो हाफ गोलरहित बराबरी भएको खेलमा सबै पाँच गोल पोर्चुगलले दोस्रो हाफमा गरेको दबाबपूर्ण प्रदर्शनमा सम्भव भएको थियो ।
राफाएल लियाओले हेडर मार्फत पोर्चुगलले ५९ औं मिनेटमा सुरुवाति गोल गरेको थियो । यसबाहेक, आर्सनल डिफेन्डर याकुब किभियोरले पेनाल्टी एरिया भित्र फाउल गरेपछि पोर्चुगललाई पेनाल्टी दिइयो । रोनाल्डोले उक्त बललाई बललाई जाली चुमाउँदै टिमको अग्रता दोब्बर बनाए ।
यो जितसँगै पोर्चुगल लिग ए को समूह १ को विजेता बनेर क्वाटरफाइनल प्रवेश गरेको छ ।
सांसद बजगाईंले कुप्रचार गरेको भन्दै मन्त्री पाण्डेले दिए उजुरी
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेले नेपाली काँग्रेसकै सांसद राजेन्द्र बजगाईंले शृङ्खलबद्ध रूपमा आफू विरुद्ध कुप्रचार प्रसार गरेको भन्दै पार्टी केन्द्रीय अनुशासन समिति र संसदीय दलमा उजुरी दिएका छन् ।
अनुशासन समितिमा विहीवार र संसदीय दलमा शुक्रबार बुझाइएको उजुरीमा नेपाली कांग्रेसका महासमिति सदस्य तथा गोरखा जिल्ला क्षेत्र नं १ बाट प्रतिनिधित्व गर्ने सांसद तथा पर्यटन व्यबसायी बजगाईलें आफू मन्त्री नियुक्त भएदेखि नै शृखलावद्ध रुपमा विभिन्न आरोप लगाउँदै सामाजिक सञ्जालहरुमा कुप्रचार गर्दै आएको पाण्डेले उजुरीमा उल्लेख गरेका छन् ।
उजुरीमा भनिएको छ,‘नेपाली काँग्रेसको निर्वाचित माननीय सांसदले पार्टीको आन्तरिक अनुशासन र मेरो व्यक्तिगत इमान र निष्ठामा धावा बोल्ने गरी भए गरेका निराधार आरोपले मेरो व्यक्तिगत भावना माथि मात्र गम्भीर चोट नपुगी पार्टीको विचार, सिद्धान्त र आदर्शमा समेत आँच पुगेको छ। लोकतन्त्र र विधिको शासनमा यस खाले अवाञ्छित क्रियाकलापलाई कानुनको दायरामा नल्याएसम्म अराजकताले प्रोत्साहन पाइ इमान र निष्ठाको उपहास हुनेछ ।’
बजगाईंले एक क्यासिनोलाई इजाजत दिँदा भ्रष्टाचार गरेको भन्दै मंगलबार सामाजिक सञ्जलमा पोस्ट गरेपछि त्यसलाई लिएर केही अनलाइनहरूले समाचार प्रकाशित गरेका थिए ।
सो सम्बन्धी समाचार सार्वजनिक भए लगत्तै मन्त्री पाण्डेले आफूमाथि निराधार आरोप लागेकाले त्यस विरुद्ध कानुनी बाटो अपनाउने प्रतिक्रिया दिएपछि सांसद बजगाइँले पाण्डे विरुद्धका सबै पोस्टहरू केही घण्टापछि नै सामाजिक सञ्जालबाट हटाएका थिए ।
लिखित उजुरीमा भनिएको छ, ‘मन्त्रीको शपथ ग्रहण भएको मितिदेखि श्रृङ्खलाबद्ध रूपमा मन्त्रालयको कामकारबाही र मेरो व्यक्तिगत चरित्र र मानमर्यादामा आँच पुग्ने गरी कुण्ठित मनसायका गम्भीर आरोप लगाई, कुप्रचार–प्रसार गर्दै मेरो व्यक्तिगत नैतिक आचरण र ख्यातिमा दोष लगाउने अमर्यादित र गैर कानुनी कार्य गरी आउनुभएको छ । यस कार्यले नेपाली काँग्रेस पार्टी र मेरो व्यक्तिगत चरित्र र पार्टीको आन्तरिक अनुशासन तथा अंगिकार गरेका मूलभूत विचार र सिद्धान्तलाई समेत खलल र्पुयाएको छ ।” उजुरीमा भनिएको छ,‘म आफ्नो व्यक्तिगत र राजनीतिक जीवनलाई निष्ठा इमानदारी र नैतिकताको मार्गमा अविचलित रूपमा अगाडि बढाइरहेको छु । नेपाली काँग्रेस पार्टी र शीर्ष नेतृत्वले देखाएको त्याग समर्पण र नैतिकताको बाटोको पदचिहलाई पछ्याउँदै आफ्नो राजनीतिक यात्रामा आफूलाई समर्पित गरिरहेको छु ।’
‘मेरो निष्ठा र इमानको बाटोलाई कुनै पनि प्रकारको दाग लाग्न नदिन दृढ सङ्कल्पित छु । माननीय बजगाईका अवाञ्छित अराजक र गैरकानूनी कार्यले विधिको शासन, लोकतन्त्र, पार्टी र संसदीय पद्धति मर्यादा, कानुन र अनुशासनको समेत गम्भीर उलङ्घन गरेको छ’, उजुरीमा भनिएको छ ।
‘प्रतिनिधि सभा सदस्यले पदीय मर्यादा र गरिमा समेतको ख्याल नगरी मिति २०८१ कात्तिक २७ गते आफ्नो व्यक्तिगत सामाजिक सञ्जाल ट्विटर (एक्स) र फेसबुक मार्फत निन्दनीय भाषामा लगाएको आधारहीन आरोपलाई चुनौती दिँदै सत्यतथ्यको उजागर गराई, यस खालका अमर्यादित अवाञ्छित अराजक तथा गैरकानुनी कार्यमाथि अनुसन्धान गरी आवश्यक कारबाही गरिदिनु हुन अनुरोध गर्दछु ।’
























































