सुनचाँदीको मूल्य बढ्यो
काठमाडौँ । आज शुक्रवार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक सय रुपैयाँले बढेर तोलाको एक लाख ६० हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ ।
यस अघि बिहीबार सुन तोलाको एक लाख ६० हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर तोलाको १९१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
नेताहरूले देश बेचेपनि महानगर नेपाल बनेर उभिन्छ : मेयर बालेन
धरान। काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) ले काठमाडौँको फोहोरको दिगो व्यवस्थापन सम्भव भएको बताएका छन् । उनले दाउपेच ,राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह समेत गरेका छन् ।
शुक्रवार सामाजिक सञ्जालमा लेख्दै उनले काठमाडौँ महानगरको फोहोर व्यवस्थापनमा लगातार प्रयास गरेको भएपनि सरकारले साथ दिनको साटो सँधै अवरोध गरिरहेको भन्दै महानगरले भारतको इन्दोरमा रहेको फोहोर व्यवस्थापनको मोडेल अनुसार काम गर्ने बताए ।
उनले नेताहरूले देशनै बेच्न खोजेतापनि काठमाडौँ महानगर बिक्रीमा नरहेको भन्दै पुरै देश नै बेचेपनि काठमाडौँ एक्लै नेपाल भनेर उभिने दाबी गरे ।
उनले लेखेका छन्,
हामीले चुनाव पहिले काठमाण्डौको फोहोर सम्बन्धी धेरै कुरा गरेका थियौँ । आफ्ना योजना सुनाएका थियौँ । निर्वाचित भए पछि त्यही अनुसार हामीले धेरै विकल्पहरू हेर्यौँ । धेरै देशको व्यवस्थापन हेर्यौँ । पुराना, नयाँ प्रविधि हेर्यौँ ।
नेपालका सयौँ मान्छे र कम्पनीसँग भेट्यौँ । हाम्रो टोली इन्डिया, चीन, जापान लगायत धेरै ठाउँमा पुग्यो । तर हामीले भोगेको जस्तै समस्याबाट पार पाएको इन्दोर हाम्रा लागि उपयुक्त नमुना बन्न सक्ने देख्यौँ । त्यहाँका असफलता नि हेर्यौँ । त्यसलाई सुधारेर पाएको सफलता पनि थाहा पायौँ ।
फोहोरका किसिम होस् या समाजको फोहोर व्यवस्थापनको सोच होस्, अथवा विगतमा पाएको फोहोरको समस्या होस्, इन्दोर धेरै कुरामा हाम्रो लागि उपयुक्त नमुना थियो । हामीले इन्दोरको मोडेल नेपालमा स्थापना गर्न त्यहाँका विज्ञहरूसँग विगत एक वर्ष देखि परामर्शदाताकारूपमा निकट भएर काम गरिरहेका छौँ । केही पहिले प्रचण्ड प्रधानमन्त्री हुँदा उहाँ उता गएर हामीले पनि यस्तै गर्न सकिने रैछ भन्नु भएको थियो । अनि काठमाण्डौ बाहेक धेरै नगरपालिकाहरू पनि त्यो मोडल हेरेर चित्त बुझेर त्यो मोडेलमा काम गर्न खोज्दै हुनुहुन्छ । तर कसरी जम्मा गर्ने, कसरी व्यवस्थापन गर्ने उपयुक्त कार्यविधि र कानून नै थिएन ।
हामीले कानून बनायौँ । अनि त्यसको कार्यान्वयन तिर लाग्यौँ । तर विभिन्न किसिमका अवरोधहरू सिर्जना गरिदिने काम भइरह्यो । त्यही पनि हामीले केही वडाबाट पाइलट प्रोजेक्ट शुरू गर्यौँ । फोहोरलाई वर्गीकरण गर्ने त्यो वडाहरूमा सफलतापूर्वक काम हुँदैछ भने अर्गानिकलाई मल बनाउने काम पनि हुदैछ । हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ ।
तर त्यसमा नेपवेस्ट नामको कम्पनीले अवरोध सिर्जना गर्न मुद्दा दर्ता गर्न पुग्यो । त्यो कम्पनीले काठमाण्डौको फोहोर व्यवस्थापनमा अवरोध सिर्जना गरिरहेको पहिलो पटक थिएन । राज्यको सबै स्रोत साधन प्रयोग गरेर गैरकानुनी रूपमा अर्बौ कमाउने उक्त कम्पनी को स्वार्थ सधै हाबी रहयो ,यति सम्म कि प्रचण्ड प्रधानमन्त्री हुदा चिन जादा समेत उक्त कम्पनी बारे चर्चा भएको थियो ।
एक पटक त्यही कम्पनीको सौजन्यमा बसेको बैठकले अघिल्लो बैठकमा उसलाई नदिने निर्णय भए पनि त्यही कम्पनीको सौजन्यमा उपत्यका मेयर्स फोरमको बैठक बसेको थियो । मैले त्यसको सार्वजनिक असहमति प्रकट गर्दै मैले १ नोभेम्बर २०२३ मा लेखेको थिएँ, १७ वटा नगरपालिकाले कुनै प्राइभेट कम्पनीबाट पैसा खाएर बसाएको बैठक बहिस्कार गरेको हो, कसैको अपमान गरेको होईन । नेताज्युहरुले त देशनै बेच्न खोजिसक्नु भो, तर काठमाडौं महानगर बिक्रीमा छैन । तपाईंहरुले पुरै देशनै बेच्नुभो भने पनि, काठमाडौं एक्लै नेपाल भनेर उभिनेछ I
उक्त कम्पनी र छिमेकी नगरपालिकाहरूको असहयोगसँगै काठमाण्डौको फोहोर व्यवस्थापनले भोगिरहेको अर्को समस्या हो, संघीय सरकारको हस्तक्षेप । संघीय सरकारले फोहोरको स्थायी समाधान गर्ने भन्दा फोहोरलाई स्थायी राजनीतिक हतियार बनाउनेमा ध्याउन्नमा असहयोग मात्र गरिरह्यो । हाम्रो अधिकार माथि पनि केन्द्र सरकारको हस्तक्षेप रह्यो ।
संघीय सरकार र छिमेकी नगरपालिकाले उक्त कम्पनीकोलाई नै फोहोरको जिम्मा दिएर काठमाण्डौको फोहोरमा एकाधिकार लाद्ने र कहिलै दिगो समाधान नहुने बाटोमा लागे पनि हामी त्यसलाई वैधानिक रूपमा नै तोड्न क्रियाशील छौँ ।
यसैले हामीले सहि र दिगो समाधान गर्नका लागि वैधानिक मापदण्ड अनुसार टेन्डर गरेका थियौँ । त्यसमा नेपवेस्टमार्फत मुद्दा हालियो । तर, सम्मानित अदालतले यो अधिकार काठमाण्डौ महानगरमै निहित रहेको भन्ने आदेश दिएपछि काठमाण्डौको फोहोर व्यवस्थापनमा रहेको एकखालको अवरोध पाखा लागेको छ । फोहोरको दिगो व्यवस्थापनमा हामी एक कदम अगाडि बढेका छौँ । अवरोध, हस्तक्षेप र राजनीतिका खराब दाउपेच अझै पनि हुन सक्छन् । तर हामी रोकिने छैनौँ । फोहोरमा राजनीति गर्ने र गराउने दिन सकिएको पुनस् जानकारी गराउँछौँ । यसैले सबै किसिमका दाउपेच छोडेर, राजनीतिक पूर्वाग्रह त्यागेर महानगरको काममा सहयोगी बन्न आग्रह गर्दछौँ ।
हामी स्पष्ट छौँ, काठमाण्डौको फोहोरको दिगो समाधान सम्भव छ । यो काठमाण्डौबासीको अधिकारको कुरा हो । हामीले फोहोर थुपारेर बर्सौँदेखि अन्याय गरिरहेको सिस्डोल र बञ्चरे डाँडा लगायत स्थानका पिडितहरूको न्यायको कुरा हो । यो हजारौँको रोजगारी र देशभरको गौरव जोडिएको विषय हो । हामी समस्या समाधानको बाटोमै छौ अवरोध अझै आउन सक्छन तर यसमा रत्तिभर पनि सम्झौता नगरी अगाडी बदनेछौ ।
आज देखि नेपालले बंगलादेशलाई बिद्युत् बिक्री गर्दै
काठमाडौँ । नेपालले पहिलो पटक आज देखि बंगलादेशमा बिजुली निर्यात गर्ने भएको छ । गएको असोज १७ मा भएको त्रिपक्षीय सम्झौता अनुसार शुक्रवार सरकारले ४० मेगावाट बिजुली बंगलादेशलाई बिक्री गर्ने भएको हो ।
सम्झौता अनुसार भारत हुँदै बिजुली बंगलादेशमा पठाउन लागिएको हो । नेपालले हरेक वर्षको जुन १५ देखि नोभेम्बर १५ सम्म बङ्गलादेशलाई बिजुली बिक्री गर्ने सम्झौतामा छ । नेपालले हरेक वर्ष जुन १५ देखि नोभेम्बर १५ सम्म मात्रै बिजुली बेच्न पाउनेछ ।
बङ्गलादेशलाई बिजुली बेच्दा कुल ५ महिनामा १ लाख ४४ हजार मेगावाट बिजुली निर्यात भइ मुलुकलाई प्रतिमहिना करिब ३३ करोड रुपैयाँ आम्दानी हुने प्राधिकरणले जनाएको छ ।
नेपालका उर्जा जलस्रोत तथा सिँचाई मन्त्री दीपक खड्का सहित भारत र बङ्गलादेशका उर्जा मन्त्रीले दिउँसो पौने १ बजे संयुक्त रूपमा स्विच थिचेर बिजुली निर्यातको उद्घाटन गर्ने छन् ।
चितवन राइनोजमा इंग्ल्याण्डका रवि बोपारा अनुबन्ध
काठमाडौँ । आसन्न नेपाल प्रिमियर लिग एनपीएलका लागि चितवन राइनोजले इंग्ल्याण्डका रवि बोपारालाई अनुबन्ध गरेको छ ।
इंग्ल्याण्डबाट १७१ अन्तर्राष्ट्रिय क्रिकेट म्याच खेलेका उनले तीन वटै (टेस्ट, एक दिवसीय र टी–२०) फर्म्याटमा उत्कृष्ट प्रदर्शन गरेका छन् ।
३९ बर्षि क्रिकेटर बोपाराले २००२ मा फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका थिए । त्यसपछि उनले यु १९ विश्वकपमा इंग्ल्याण्डबाट खेलेका थिए । उनी सन् २०१६ मा इंग्ल्याण्डको टिमको कप्तान पनि भएका थिए । पछिल्लो समय राष्ट्रिय टिमबाट विदा भए पनि उनले फ्रेन्चाइज क्रिकेट भने खेल्दै आएका छन् । टी–२० लिगहरूमा ४७८ खेलबाट ९ हजार ४८६ रन र २९१ विकेट लिएका छन् । उनीसँग इन्डियन प्रिमियर लिग आइपीएल, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिग खेलेको पनि अनुभव छ ।
चितवन राइनोजपछि बोपाराले नेपालमा क्रिकेटप्रतिको क्रेज र समर्थनबारे जानकार रहेको बताउँदै नेपालमा आएर खेल्नका लागि उत्साहित रहेको बताएका छन् । त्यसैगरी चितवन राइनोजका प्रबन्ध निर्देशक आयुष न्यौपानेले बोपाराको उपस्थितिले टिम सन्तुलित हुनुका साथै ड्रेसिङरुममा पनि उत्कृष्ट हुने बताए ।
१४ जनालाई शान्ति समाजको स्रष्टा सम्मान पुरस्कार
काठमाडौँ । मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियान अन्तर्गत २०७७ सालमा स्थापना गरेको पुरस्कार अन्तर्गत वर्ष २०८१ को स्रष्टा सम्मान पुरस्कार १४ जनालाई प्रदान गर्ने निर्णय गरेको छ ।
कात्तिक २८ गते सम्पन्न स्रष्टा सम्मान पुरस्कार छनौट समितिको बैठकले प्राप्त मनोनयनहरू मध्येबाट यो निर्णय गरेको हो । चाडै कार्यक्रम आयोजना गरि रु. २० हजार पुरस्कार राशि सहित पुरस्कृत स्रष्टाहरूलाई सम्मान गरिने छ ।
यस क्रममा प्राणीशास्त्री वैज्ञानिक एवं जेष्ठ नागरिक अधिकार केन्द्रीत विभिन्न पुस्तकका सर्जक प्रा.डा. मुकेशकुमार चालिसेलाई मानबहादुर रावल वातावरण स्रष्टा सम्मान, संस्कृतका प्रकाण्ड विद्वान् प्रा.डा. ऋषिराम पोखरेललाई जोगमाया बराल स्रष्टा सौगात, नेपाल भाषाकी अग्रणी एवं अधिकारकर्मी प्रा.डा. चुन्दा बज्राचार्यलाई पवित्रादेवी चौलागाई मानव अधिकार स्रष्टा सम्मान, युद्ध विरोध र शान्तिको पक्षमा कलम चलाउने विवेक ओझालाई कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान, लिम्बु भाषाको प्रवर्धनमा योगदान गर्ने लिला हाङ्मा सेलिङ्ग माबोलाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान, साढे तीन दशक देखि अनवरत साहित्य साधनामा संलग्न बाबा बस्नेतलाई भूमिप्रसाद बराल स्रष्टा सौगात र बान्तावा भाषाका सुपरिचित हस्ताक्षर पदम राईलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
यसैगरी शान्ति समाजले प्रसिद्ध पुरातत्वविद एवं सामाजिक न्यायका सर्जक प्रकाश दर्नाललाई राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान, विगत ४ दशकदेखि साहित्य साधनामा संलग्न विवश पोखरेललाई महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान, लोपोन्मुख एवं अल्पसंख्यक समुदायको पक्षमा कलम चलाउने सत्यदेवी खड्कालाई जनककुमारी रेग्मी स्रष्टा सौगात, नेपालीका अतिरिक्त अंग्रेजी साहित्यमा समेत कलम चलाउने गोपी सापकोटालाई पद्यप्रसाद दाहाल स्रष्टा सौगात, भोजपुरी साहित्यमा योगदान गर्ने स्रष्टा पुजा बहारलाई राधादेवी दाहाल स्रष्टा सौगात, मैथिली साहित्यमा योगदान गर्ने विजेता कर्ण (चौधरी)लाई श्रीप्रसाद दाहाल स्रष्टा सौगात र थारु साहित्यमा योगदान गर्ने भूमिका थारुलाई श्रीनारायण दाहाल स्रष्टा सौगात पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो ।
पुरस्कृत स्रष्टाहरूले मानव अधिकार, शान्ति, लोकतन्त्र, वातावरण र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त नेवारी, संस्कृत, मैथिली, भोजपुरी, थारु, बान्तावा र लिम्बु गरी ७ भाषामा विशेष योगदान गरेका छन् भने अंग्रेजी भाषामा समेत उनीहरूका कृति प्रकाशित छन् ।
प्रथम ‘झापा १–काठमाडौँ कप’ फुटसल प्रतियोगिता शनिवार हुँदै
काठमाडौँ । प्रथम ‘झापा १–काठमाडौँ कप’ फुटसल प्रतियोगिता २०८१ हुने भएको छ ।
झापा १ सांसद सचिवालय, काठमाडौँ तथा नेपाली काँग्रेस झापा १ काठमाडौँ सम्पर्क समिति, काठमाडौँको आयोजनामा हुने प्रतियोगिता मंसिर १ गते शनिवार डिएभी स्कुल जावलाखेल, ललितपुरमा हुनेछ । प्रतियोगिताको उद्घाटन सभामुख देवराज घिमिरेले गर्ने कार्यक्रम छ ।
असोज १२ गतेका लागि निर्धारित प्रतियोगिता भारी वर्षाका कारण स्थगित भएको थियो ।
प्रतियोगितामा ७ वटा टिम समावेश हुने भएका छन । ३० वर्ष मुनीका खेलाडी सहभागी हुने फुटसल प्रतियोगितामा झापा क्षेत्र नं १ का ७ वटा टिमबिच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।
जसमा क्षेत्र नं १ का साविकका गाविस शान्तिनगर, बाहुन्डाँगी, धाइजन, मेचिनगर, ज्यामिरगढी, दुहागडी र चन्द्रगडीबिच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा विजेता हुने टिमले २१ हजार नगद सहित ट्रफी र सम्मानपत्र पाउने छन भने दोस्रो हुने टिमले ११ हजार नगद सहित ट्रफि र सम्मानपत्र पाउने आयोजक संस्था झापा १ काठमाडौँ सम्पर्क समितिका संयोजक प्रज्वल कोइरालाले जानकारी दिए ।
उक्त अवसरमा झापाका राजनैतिक दलका नेता भर्सेस झापाका कलाकारबिच मैत्रीपूर्ण खेल हुनेछ । सो खेलमा राप्रपा अध्यक्ष राजेन्द्र लिङँदेन, काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा, एमाले नेता रवीन कोइराला, एलपी साँवा,माओवादीका रन्जीत तामाङ सहितका नेताहरू खेल्नेछन् भने कलाकारकातर्फबाट सीताराम कट्टेल, प्रमोद खरेल, एलिना चौहान, विल्सन विक्रम राई, टीका भण्डारी, प्रकाश सुवेदी, हेमन्त बुढाथोकी लगायत भिड्नेछन् ।
साथै पेशा व्यवसायी भर्सेस कर्मचारी, झापा क्षेत्र नं। १ क र ख का महिला टीमबिच मैत्रीपूर्ण खेल समेत हुने भएको छ । झापाबाट काठमाडौँ आइ बसोबास गर्ने, व्यापार व्यवसाय गर्ने र विद्यार्थीहरूलाई लक्षित गरि उक्त खेलको आयोजना गरिएको छ ।
यस्तो छ,बिहीबारको विदेशी मुद्राको विनिमय दर
काठमाडौँ । नेपाल राष्ट्र बैँकले आज (बिहीबार)का लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ७१ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ३१ पैसा रहेको छ।
त्यस्तै,युरोपियन युरो एकको खरिददर एक सय ४२ रुपैयाँ ९६ पैसा र बिक्रीदर एक सय ४३ रुपैयाँ ६० पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७१ रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय ७२ रुपैयाँ ३५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ५३ रुपैयाँ १९ पैसा कायम गरिएको छ।
यस्तै अस्ट्रेलियान डलर एकको खरिद दर ८७ रुपैयाँ ८४ पैसा र बिक्रीदर ८८ रुपैयाँ २४ पैसा, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ४९ पैसा र बिक्रीदर ९६ रुपैयाँ ९२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय रुपैयाँ ६५ पैसा र बिक्रीदर एक सय एक रुपैयाँ १० पैसा निर्धारण गरिएको छ।
जापानी येन १० को खरिददर आठ रुपैयाँ ६९ पैसा र बिक्रीदर आठ रुपैयाँ ७३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १८ रुपैयाँ ७६ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३६ रुपैयाँ एक पैसा, कतार रियाल एकको खरिददर ३६ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३७ रुपैयाँ १२ पैसा रहेको छ।
गण्डकी प्रदेशकी सांसद गौचनको निधन
काठमाडौँ । गण्डकी प्रदेशकी सांसद विमला गौचनको निधन भएको छ । स्वास्थ्यमा समस्या आएपछि गएराति उपचारका लागि उनलाई ग्राण्डी हस्पिटलमा लगिएको थियो । उनको गएराति नै निधन भएको हो ।
डेङ्गु सङ्क्रमणबाट पीडित उनको हृदयघातका कारण निधन भएको अनुमान लगाइएको पारिवारिक स्रोतले जनाएको छ ।
उनी नेपाली काँग्रेसका तर्फबाट समानुपातिक सांसद बनेकी थिइन् ।
विराटनगर किङ्समा इस्मत आलम अनुबन्ध
काठमाडौँ । अफगानिस्तानका युवा क्रिकेटर इस्मत आलम नेपाल प्रिमियर लिग ( एनपीएल) का लागि विराटनगर किङ्समा अनुबन्धित भएका छन् । आलमले सामाजिक सञ्जाल मार्फत आफू एनपीएलका लागि विराटनगर किङ्समा अनुबन्धित भएको जानकारी दिएका हुन् ।
विराटनगरले यस अघि न्युजिल्यान्डका मार्टिन गुप्तिल, ओमानका आकिब इलियास, क्यानडाका निकोलस कीर्तन र स्कटल्यान्डका क्रिस सोललाई अनुबन्ध गरिसकेको छ I विराटनगरमा नेपाली राष्ट्रिय टोलीका लेग स्पिनर सन्दीप लामिछाने मार्की खेलाडी छन् ।
यस्तै आयरल्यान्डका पूर्वक्रिकेटर केभिन ओ ब्रायन टोलीका प्रशिक्षक हुन् ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा आगामी मंसिर १५ देखि पुष ६ गते सम्म काठमाडौंमा हुने एनपीएलमा ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् ।
दमक भ्यु–टावर’ सञ्चालन अझै अन्योलमा
झापा । सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक ‘दमक भ्यु–टावर’ सञ्चालन अझै अन्योलमा छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यतिबेला पर्यटक भुल्याउने माध्यम मात्र बनिरहेको छ । टावर सञ्चालनका सम्बन्धमा सङ्घीय सरकार र स्थानीय सरकारबिच मत बाझिएको स्थानीयको भनाइ छ ।
सञ्चालनका सम्बन्धमा सहरी विकास मन्त्रालयमा छलफल चलीरहेको उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहका स्वकीय सचिव युपी लामिछानेले जानकारी दिए । दमक टावर र काठमाडौँको धरहरा एउटै मोडालिटीमा सञ्चालन गर्नेगरी छलफल भइरहेको उनले बताए ।
करिब एक अर्ब ४५ करोडमा निर्माण भएको टावर मन्त्रालयबाट मोडालिटी र कार्यविधि टुंग्याएर उद्घाटन र सञ्चालनमा ल्याउने तयारी भइरहेको मन्त्रालयले जनाएको छ । तर दमक नगरपालिकाको नेतृत्वमा अन्य पार्टी भएका कारण भ्यू टावरको स्वामित्व कसले लिनेभन्नेबारे अन्योल रहेको स्थानीयको बुझाइ छ । दमकमा राप्रपाका प्रमुख र कांग्रेसका उपप्रमुख छन् ।
सरकारले २०७६ सालमा एक अर्ब ३८ करोड रुपैयाँमा सक्ने गरी ठेक्का लगाएको थियो तर लागत बढेर एक अर्ब ४५ करोड पुगिसकेको छ । दमक बजारबाट करिब तीन किलोमिटर उत्तर पश्चिमको दापगाछीमा रहेको टावर ५ बिघा क्षेत्रमा फैलिएको छ । उक्त स्थानमा पुग्न पूर्वाधारको अभाव देखिएको छ ।
टावरभित्र व्यापारिक पसल, कर्पोरेट अफिस, सेमिनार हल, प्रदर्शनीकक्ष, विभिन्न स्थानीय जातिको सांस्कृतिक संग्राहलय लगायतका कार्यालयहरू राखिने जनाइएको छ । तर भ्यू टावरसम्म पुग्न पूर्वाधारको अभाव भएकाले समस्या थप बढेर गएको छ । सडक कच्ची छ । पूर्वाधार निर्माणका लागि अझै ५० करोडजति बजेट लाग्ने भएकाले सञ्चालन अझै पर धकेलिने अनुमान गरिएको छ । केही पूर्वाधारविदहरूले भने टावर निर्माणका विषयलाई लिएर आलोचना समेत गर्ने गरेका छन् । टावर अनुचित र अनुपयुक्त स्थानमा निर्माण गरिएकाले सञ्चालनमा कठिनाइ हुने अनुमान उनीहरूले गरेका छन् ।
भिडियो हेर्न क्लिक गर्नुहोस् :
<iframe width="100%" height="315" src="https://www.youtube.com/embed/jPBKKLdtQqI?si=ViNJqSXqe5I6TRSB" title="YouTube video player" frameborder="0" allow="accelerometer; autoplay; clipboard-write; encrypted-media; gyroscope; picture-in-picture; web-share" referrerpolicy="strict-origin-when-cross-origin" allowfullscreen></iframe>












































