मंगलबारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैंकले मंगलबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।
राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ ।
त्यस्तै, युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ८६ पैसा निर्धारण गरिएको छ ।
त्यसैगरी, आज जापानी येन १० को खरिददर आठ रुपैयाँ ७९ पैसा र बिक्रीदर आठ रुपैयाँ ८३ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८३ पैसा र बिक्रीदर १८ रुपैयाँ ९२ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको छ ।
युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७१ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३० रुपैयाँ ७८ पैसा र बिक्रीदर ३० रुपैयाँ ९२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७० पैसा र बिक्रीदर नौ रुपैयाँ ७५ पैसा कायम भएको राष्ट्र बैंकले जनाएको छ ।
तिहार अर्थात् यमपञ्चक सुरु
काठमाडौं । प्रत्येक वर्ष कार्तिक कृष्ण त्रयोदशीदेखि सुरु हुने हिन्दुहरूको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहार आजदेखि विधिवत् रूपमा आरम्भ हुँदैछ । बिहान ११ ः ०१ बजेसम्म द्वादशी र त्यसपछि त्रयोदशी तिथि लाग्ने भएकाले आजदेखि तिहार सुरु भएको हो ।
बिहान ११ : ०१ बजेपछि कार्तिक कृष्ण त्रयोदशी तिथि परेकाले आज धनतेरस अर्थात् धनत्रयोदशी पर्व मनाउनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ ।
यस वर्ष यमदीपदान भने भोलि अर्थात् बुधबारदेखि सुरु हुनेछ । काग तिहार पनि कात्तिक १४ गते बुधबार नै परेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले जानकारी दिए। बिहान त्रयोदशी परेका दिन धनतेरस अर्थात् धनत्रयोदशी र बेलुकी त्रयोदशी तिथि परेका दिन यमदीपदान सुरु हुने शास्त्रीय नियम रहेको छ ।
यमपञ्चकका अवसरमा यमदीप दान गरे यमयातनाबाट मुक्ति पाइने शास्त्रीय मान्यता छ । धनवन्तरी जयन्ती पनि कात्तिक १४ गते बुधबार परेको समितिका अध्यक्ष प्रा अधिकारीले जानकारी दिए। तिथिको घटबढका कारण बिहीबार कुकुर तिहार र लक्ष्मीपूजा एकैदिन परेको समितिले जनाएको छ ।
यमदीपदान परिवारका सदस्य सङ्ख्याका आधारमा गरिन्छ । यमदीपदान गर्दा दक्षिण फर्काएर गर्नुपर्ने धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीया अर्थात् भाइटीकाका दिनसम्म यमदीपदान गर्ने शास्त्रीय विधि छ ।
कात्तिक १५ गते बिहीबार अरुणोदयकालमा नरक स्नान गरेर बिहान कुकुर तिहार पर्व मनाइन्छ । बेलुकी लक्ष्मीपूजा गर्नुपर्ने समितिका अध्यक्ष अधिकारीले बताए । बिहीबार बिहान अरुणोदयकालअघि अपामार्गसहित स्नान गरिन्छ । यसलाई नरक स्नान भनिन्छ । यस दिन बिहान विधिपूर्वक स्नान गरी बत्ती बालेर नदीमा बगाउनाले नरकको यातना सहनु नपर्ने शास्त्रीय मान्यता छ ।
कात्तिक १५ गते दिउँसो १५ः१४ बजेसम्म चतुर्दशी र त्यसपछि औँसी तिथि लाग्ने भएकाले लक्ष्मीपूजा पनि यसै दिन गर्नुपरेको समितिका अध्यक्ष प्रा अधिकारीले उल्लेख गरे ।
उनका अनुसार रातमा औँसी तिथि परेका दिन लक्ष्मीपूजा गर्ने शास्त्रीय विधि छ । यस वर्ष कात्तिक १६ गते शुक्रबार औँसी तिथि बेलुकी १७ः१५ बजेसम्म परेको छ । यस दिन तिहारका कुनै पनि पर्व भने परेको छैन ।
गाईगोरुपूजा कात्तिक १७ गते शनिबार परेको छ । हलितिहार, गोवर्द्धन पूजा, बलीपूजा र आत्म (म्ह) पूजा कात्तिक पनि यसैदिन परेको छ । कार्तिक शुक्ल प्रतिपदाका दिन गाई, गोरु, गोवर्द्धन र आत्म (म्ह) पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । प्रतिपदाका दिन सूर्योदय भएकै दिन नयाँ वर्ष मनाउनुपर्ने शास्त्रीय वचनअनुसार नेपाल संवत् ११४५ पनि यसै दिनदेखि सुरु हुन्छ ।
कात्तिक १८ गते आइतबार भाइटीका लगाउनुपर्ने समितिले जनाएको छ । यस दिन बिहान ११ः३७ बजे भाइटीकाको शुभ साइत रहेको समितिका कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । भाइटीका पश्चिम मोहडा गरेर गर्नुपर्ने समितिले जनाएको छ ।
सर्वसाधारणका लागि मध्याह्नकालमा टीका लगाउनु पनि शास्त्रसम्मत् हुने उनले सुनाए। राज्य सञ्चालकले भने साइतमा टीका लगाउनुपर्छ । भाइपूजा र नेवारी भाषामा किजापूजा भनिने पर्व कात्तिक १८ गते नै गरिन्छ । बेलुकी सूर्यास्त नभएसम्म भाइटीका लगाउन कुनै समस्या नरहेको समितिले जनाएको छ ।
बालोन डी ओर अवार्ड रोड्रीलाई
काठमाडौं । पुरुष फुटबलरहरुको प्रतिष्ठित ‘बालोन डी ओर’ अवार्ड स्पेन तथा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले जितेका छन् ।
फ्रान्सको पेरिसस्थित थिएटर डु शाटेलेटमा आयोजित समारोहमा म्यानचेस्टर सिटीका मिडफिल्डर रोड्रीले यो वर्षको पुरुष ब्यालोन डी’ओर अवार्ड जितेका हुन् ।
रोड्रीले यो अवार्ड जित्नका लागि रियल म्याड्रिडका स्टार खेलाडीहरू भिनिसियस जुनियर र जुड बेलिंगह्यामलाई पछाडि पारेका छन् । भिनिसियस मुख्य दावेदार मानिए पनि अन्तिम समयमा रोड्रीलाई यस वर्षको सर्वश्रेष्ठ खेलाडी घोषित गरिएको हो ।
रोड्रीले यस वर्ष स्पेनलाई युरो कप जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । साथै उनले म्यानचेस्टर सिटीसँग लगातार चौथो पटक प्रिमियर लिगको उपाधि पनि जितेका थिए । २८ वर्षीय रोड्री सेप्टेम्बरमा घुँडाको चोटले खेलबाट बाहिरिएका थिए ।
यस वर्ष, भिनिसियस र बेलिंगह्याम अवार्ड समारोहमा अनुपस्थित थिए । यद्यपि, रियल म्याड्रिडले क्लब अफ द इयर अवार्ड जितेको थियो भने कार्लो एन्सेलोटीले पुरुष कोच अफ द इयरको सम्मान पाएका थिए । गार्ड म्युलर ट्रफीको उपाधि पेरिस सेन्ट–जर्मेनका केलियन एमबाप्पेले इंग्ल्याण्ड र बायर्न म्युनिखका ह्यारी केनसँग संयुक्तरुपमा प्राप्त गरे ।
यसैगरी लामिन यामालले यस वर्षको सर्वश्रेष्ठ २१ वर्ष मुनिका खेलाडीलाई प्रदान गरिने कोपा ट्रफी प्राप्त गरे । उनले स्पेनलाई युरो २०२४ को उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेका थिए ।
यसैगरी, महिला अधिकारको पक्षमा गरेको योगदानका लागि जेनिफर हर्मोसोलाई सोक्रेटिस अवार्डले सम्मानित गरियो भने अर्जेन्टिना र एस्टन भिल्लाका गोलकिपर एमिलियानो मार्टिनेजले लगातार दोस्रो पटक यासिन ट्रफी जित्दै यस वर्षका उत्कृष्ट गोलकिपरको उपाधि प्राप्त गरे ।
बालो डी ओरमा सन २००८ यता क्रिष्टियानो रोनाल्डो र लियोनल मेस्सीको दबदबा रहँदै आएको थियो । मेस्सीले यो अवार्ड ८ पटक जितेका छन् भने ५ पटक जितेका छन् । रोनाल्डोले पछिल्लो बालोन डि ओर सन् २०१७ मा जितेका थिए भने मेस्सीले २०२३ को अवार्ड जितेका थिए ।
महिलातर्फ
२०२४ महिला ब्यालोन डी’ओरको प्रतिष्ठित अवार्ड बार्सिलोनाकी एइताना बोनमतीले जितेकी छिन् । २५ वर्षीया एइतानाले स्पेन र बार्सिलोनाका लागि उत्कृष्ट प्रदर्शन गर्दै यो पुरस्कार हात पारेकी हुन् ।
उनले बार्सिलोनालाई स्पेनिश प्रिमेरा डिभिजन र महिला च्याम्पियन्स लिगमा विजयी बनाउन महत्वपूर्ण भूमिका खेलिन् । स्पेनका लागि पनि उनले आफ्नो उत्कृष्ट खेल प्रस्तुत गर्दै महिला विश्वकप २०२३ जित्न ठूलो योगदान दिइन् । एइतानाको मिडफिल्डमा उच्च दक्षता, खेल नियन्त्रण गर्ने क्षमता र गोल गर्ने कला नै उनको प्रमुख विशेषताहरू हुन् ।
मौसम पूर्वानुमान: पहाडी भू–भागमा हल्का देखि मध्यम वर्षाको सम्भावना
काठमाडौं । देशका केही भू–भागमा आज वर्षाको सम्भावना छ । कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार पहाडी भू–भागमा बिहान आंशिक बदली रहेको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ ।
विभागले दिउँसो पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी प्रदेशलगायत देशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।
विभागका अनुसार राति कोसी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ । बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ ।
कोसी र गण्डकी प्रदेशका पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
प्रधानमन्त्री प्रयोग गरेर एनआरएनएमा बद्री केसी समूहले धम्क्याएको इतर समूहको आरोप
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)का अभियन्ताहरूले बद्री केसीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नै प्रयोग गरेर आफू इतर समूहलाई धम्क्याउने प्रयास गरेको भन्दै असन्तुष्टि पोखेका छन् । पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई लक्षित गरेर ओलीले दिएको अभिव्यक्तिमा एनआरएनएकै केसीको विपक्षमा रहेकाहरूलाई पनि निशाना बनाउने काम भएको अभियन्ताहरूको भनाइ छ ।
चौतर्फी विरोधका बिच प्रधानमंत्री ओली आइतबार बद्री केसी पक्षको अवैध साधारणसभामा सहभागी भएका थिए । सो क्रममा उनले ओलीले संघमा विवाद भए छलफल र संवाद गर्न आग्रह गर्दै प्रचण्डलाई जोडेर ‘हतियार उठाउनेलाई बिसाउन लगाउन पनि जानेका छौँ’ भनेका थिए ।
छलफल संवादभन्दा बाहिरका विधिहरू एनआरएनएमा गर्न नहुने भन्दै उनले भने, ‘हिजो एकजना (प्रचण्ड) उफ्री उफ्रीकन भाषण गर्दै थिए । हतियार बिसाएको मात्रै हो, भ्रम नहोस् चलाउन बिर्सेको मात्रै हो ।
त्यस्तै त्यस्तै त हुन भएन नि ।’ ओलीले थपे, ‘धम्क्याएको भरमा खाने रु हतियारलाई कसरी बिसाउन पर्छ भन्ने तरिका पनि जानेका छौँ । हामी चलाउन त चलाउँदैनौँ कसरी बिसाउने भन्नेचाहिँ जानेका छौँ ।’
यस्तै कार्यक्रममा ओलीले संघको आधिकारिक नै केसी भएको जसरी अधिवेशन सफलताको शुभकामना पनि दिनमात्रै भ्याएनन् परराष्ट्रमन्त्री डा आरजु देउवाले कार्यक्रम बहिस्कार गरेको कुराको पनि बचाउ गरे ।
उनले परराष्ट्रमन्त्री बिरामी भएकाले कार्यक्रममा नआएको दावी गरे । जवकि परराष्ट्रमन्त्री एकताको पक्षमा रहेको र सोहीअनुसार सर्वोच्चको फैसलाअनुसार एकताको महाधिवेशन गराउनका लागि पूर्वअध्यक्ष शेष घलेलाई पत्राचार गरेकै कारण कार्यक्रममा गएकी थिइनन् ।
तर, ओली आफ्नो पार्टी एमालेको बाहुल्य रहेको बद्री केसी समूहलाई वैधता दिने प्रयास गर्दै परराष्ट्रमन्त्रीको पत्राचारलाई समेत पेलेर कार्यक्रममा गएका थिए ।
ओली कार्यक्रममा जानुअघि केसीले प्रधानमन्त्रीलाई आफ्नो पक्षमा बोलिदिन आग्रह गर्दै अनुनय विनय गरेको उनी पक्षीय एक अभियन्ताले बताए ।
सोहीअनुसार ओली कांग्रेसका केही मन्त्रीलाई समेत कार्यक्रममा जान बाध्य पारेर बालुवाटारबाट निस्केको बताइएको छ । सो कार्यक्रममा ओलीले केसी पक्षको खुलेर प्रशंसा गरेका थिई । एक अभियन्ताले भने,ओलीलाई नै प्रयोग गरेर बद्रीबाट आफ्ना विरोधीलाई धम्क्याउने काम भएको छ । यो ठीक होइन I
यसैगरी एनआरएनएका एक अभियन्ताले पूर्वअध्यक्षसहितका बहुमत अभियन्ताहरु एकताको पक्षमा हुँदा र अदालतमा समेत मुद्दा हुँदासमेत ओलीको केसी प्रेमले एकताको माहोल थप बिग्रिएको बताए ।
केसी पक्षलाई एकताको प्रक्रिया सुरु गर्नुपर्ने भएकाले साधारण सभा रोक्न अभियन्ताहरूबाट तीव्र दबाब भएपनि उनीहरू यो गर्न लागिपरे भने सरकारको साथबाट सोमबार सम्पन्न पनि गरिसकेको छ । तर, केपी पक्षले सत्ताको दुरुपयोग र संस्थाको कोषको समेत मनपरी खर्च गरेर गरेको कार्यक्रमले समस्या थप बढाएको बताइन्छ ।
एनआरएनएमा हाल तीन समूह रहेका छन् । केसीले एउटा समूहको नेतृत्व गर्दा आरके शर्मा र महेश श्रेष्ठको समूह शर्माको नेतृत्वमा छ । यस्तै १० औँ महाधिवेशनबाटै छुट्टिएको विनोद कुँवरले नेतृत्व गरेको समूह पनि छ ।
एनआरएनएको झन्डै दुइ तिहाइ संख्यालाई बाहिर राखेर अदालतको आदेशलाई अपव्याख्या गर्दै केसी समूहले बोलाएको कथित अधिवेशनमा भाग लिएर प्रधानमंत्री ओलीले ८० लाख एनआरएनहरुको भावनामा ठेस पु(याएको अभियन्ताहरु बताउँछन्।
एनआरएनएको आधिकारिकता विवादमा गत चैत २१ गते सर्वोच्च अदालतले पूर्व अध्यक्ष शेष घलेको नेतृत्वमा एकता महाधिवेशन गर्न आदेश दिएपनि केसी समूह कामकाजको माग गर्दै फेरि सर्वोच्च गएको थियो ।
केसी पक्षको सो मुद्दाका आधारमा तत्काल काम गर्न सर्वोच्चले बाटो खोलिदिएको दावी गर्दै केसी समूहले केन्द्रीय कार्यालय कब्जा गर्नुका साथै कोषको दुरुपयोग गरि रहेको छ। परराष्ट्रले अहिले विधिवत एकताको महाधिवेशन गराउन पत्र पठाएपनि केसी पक्षले कुनै पनि हालतमा घलेलाई काम गर्न नदिने रणनीति अपनाइरहेको छ ।
अदालतको मानहानी
एकातिर सर्वोच्चले एकताको महाधिवेशन गराउने र अर्कोतिर केसी पक्षले आफूलाई नै आधिकारिक भन्न थालेपछि पूर्वअध्यक्ष घले अदालतको मानहानि भएको भन्दै अदालत जाने कि भन्ने छलफलमा जुटेका छन् । अदालतले एकताको महाधिवेशन गर्नु भनेपनि केसी पक्षको रवैयाले अदालतको मानहानि भएको बुझाइका साथ कानुनविद्सँग छलफल थालेका उनलाई केही कानुनविद्ले मानहानिको मुद्दा लिएर अदालत जान समेत सुझाएका छन् । घले पक्षका एक अभियन्ताले केसी पक्षबाट मानहानिको क्रियाकलाप भएकाले मुद्दा हाल्नेबारे कुरा भएको बताए । यद्यपि यसबारे अन्तिम निर्णय भने हुन बाँकी छ । यस्तै केसीले ११ औँ महाधिवेशनमा धाँधली गरेको सप्रमाण दावी गरेका आरके शर्माले आफूहरूको दुई वटा मुद्दा अदालतमै विचाराधीन रहेको बताए । विभिन्न कागजात र सरकारी अध्ययनहरूले समेत चुनावमा धाँधली भएको देखाइसकेको भन्दै केसी पक्ष आधिकारिक हुनै नसक्ने उनले बताए । यदि कसैले आधिकारिकता पाउँछ भने आफूहरुले पाउने उनको जिकिर छ । यद्यपि आफूहरूको पहिलो प्राथमिकता एकता भएको उनको भनाइ छ ।
धोनीले आइपीएल खेल्ने
काठमाडौँ । आईपीएल २०२५ को सिजनको तयारी सुरु भइसकेको छ र केही दिनमा फ्रेन्चाइजीहरूले खेलाडीलाई रिटेन गर्ने र रिलिज गर्ने निर्णय गर्दै छन् । आसन्न आइपीएलमा यस पटक पनि सबैको नजर सफल फ्रेन्चाइजी क्लब चेन्नाई सुपर किंग्सका पूर्व कप्तान महेन्द्र सिंह धोनीमा हुने छ । सबै फ्रेन्चाइजीले ३१ अक्टोबरसम्ममा रिटेन गरिएका खेलाडीको सूची बुझाउनुपर्नेछ ।
चेन्नाईले यस वर्ष धोनीलाई अनक्याप्ड प्लेयरको रूपमा राख्नेछ, जसले उनलाई टोलीमा सामेल हुन जारी राख्ने मार्ग प्रशस्त गर्नेछ । धोनीले आईपीएल २०२४ अघि सीएसकेको कप्तानी छोडेर रुतुराज गायकवाडलाई टोलीको कमाण्ड सुम्पेका थिए । जसका कारण उनको भविष्यको बारेमा अड्कलबाजी गरिएको थियो ।
अब धोनी आफैले आईपीएल २०२५ खेल्ने संकेत गरेका छन् । उनले पछिल्लो केही वर्षमा खेलाडीको रुपमा खेलेको जुनसुकै क्रिकेटको मजा लिन मन लागेको बताएका छन् ।
धोनीले भने, ‘मैले पछिल्ला केही वर्षमा जति पनि क्रिकेट खेल्न पाएको छु त्यसको मजा लिन चाहन्छु । म खेलको रमाइलो गर्न चाहन्छु जसरी बाल्यकालमा हामी साँझ चार बजे बाहिर निस्केर खेल्थ्यौं, खेलको मजा लिन्थ्यौं । जब तपाइँ व्यावसायिक रूपमा खेल खेल्नुहुन्छ, कहिलेकाहीँ यसलाई मजा लिन गाह्रो हुन्छ । मैले गर्ने सबै कुरामा भावना र प्रतिबद्धताहरू समावेश छन्, तर म आगामी केही वर्षसम्म खेलको आनन्द लिन चाहन्छु ।
भर्खरै, चेन्नई सुपर किंग्सका मुख्य कार्यकारी अधिकारी कासी विश्वनाथनले पनि आउँदो सिजनमा धोनी एक खेलाडीको रूपमा टोलीमा हुनेमा आफू आशावादी रहेको बताएका थिए । धोनीले २०२३ मा बायाँ घुँडाको शल्यक्रिया गरिसकेपछि २०२४ को आईपीएल सिजनमा तलको क्रममा ब्याटिङ गरेका थिए ।
मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै मन्त्री यादवलाई सम्मान
काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौँ उपत्यकावासीका लागि समयमै मेलम्चीको पानी ल्याउन सफल भएको भन्दै सम्मान गरिएको छ ।
मन्त्री यादवले खानेपानी मन्त्रालय सम्हाले पश्चात् हालसम्म उनले सम्पादन गरेको कार्य प्रशंसनीय भएको भन्दै काठमाडौँ उपत्यका मेलम्ची खानेपानी संघर्ष समितिले कोटेश्वरमा स्वागत तथा धन्यवाद ज्ञापन कार्यक्रम–२०८१ को आयोजना गरी सम्मान गरेको हो ।
सोही कार्यक्रमलाई सम्बाधेन गर्दै मन्त्री यादवले काठमाडौँ उपत्यकावासीका लागि बाह्रै महिना शुद्ध र स्वच्छ पानी उपलब्ध गराउन आफू पूर्ण प्रतिबद्ध रहेका बताए । मन्त्री यादवले काठमाडौँ उपत्यकामा खानेपानीको समस्यालाई अल्पकालीन र दीर्घकालीन रूपमा समाधान गर्न सरकारले ठोस कदम चालिरहेको बताए ।
उनले भने, ‘मानिसलाई पानी नभइ नहुने चिज हो, पानी बिना बाँच्न सकिदैन, काठमाडौँ उपत्यकाको खानेपानी समस्या समाधानका लागि ठोस कमद चाल्छौँ ।’
काठमाडौँ उपत्यकामा हेलम्बुवासी, नागरिक समाज एवं जनप्रतिनिधिहरूको साथ र सहयोगका कारण यस वर्ष समयमै मेलम्चीको पानी ल्याउन सफल भएको बताउँदै उनले सम्पूर्ण मेलम्चीवासीलाई धन्यवाद समेत व्यक्त गरे । उपत्यकावासीहरूको साथ र सहयोगमा पानीको समस्या समाधान गर्न सकिने समेत मन्त्री यादवले बताए ।
उनले भने, ‘मलाई गरिएको सम्मानले नागरिकका अपेक्षाहरू पूरा गर्न थप ऊर्जा दिएको छ । निरन्तर गुणस्तरीय सेवा गर्दै मेलम्ची परियोजनालाई प्रभावकारी बनाउने यात्रा जारी रहनेछ । सहयोग र सुझावका लागि सबैलाई धन्यवाद छ ।’
दक्षिणकालीका नागरिक, मेलम्चीवासीहरूसँग हात जोडेर आफूले काठमाडौँ उपत्यकामा पानी ल्याउन सफल भएको बताउँदै मन्त्री यादवले सरकारले नागरिकका गुनासो र मागलाई सम्बोधन गर्नुपर्ने बताए ।
यसैगरी मन्त्री यादवले खानेपानी मन्त्रालय नागरिकका समस्या र गुनासोहरू सम्बोधन गर्नका लागि सधैँ अग्रसर रहेको बताए ।
सुनचाँदीको मूल्य घट्यो
काठमाडौं । साताको पहिलो कारोवार दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ ।
आज सुन प्रतितोला ४ सय रूपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोवार भइरहेको छ ।
इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले बाँडे अंक
काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल र लिभरपुलले २–२ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
शीर्ष स्थानमा उक्लने लक्ष्यसहित आर्सनलको मैदान इमिरेट्स पुगेको लिभरपुलले जम्मा १ अंकमा चित्त बुझायो ।
लिभरपुल दोस्रो स्थानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीभन्दा १ अंकले पछि रहेको छ । उता आर्सनल भने १८ अंकका साथ तेस्रो स्थानमा छ ।
आर्सनलले पहिलो हाफमै २–१ को अग्रता लिएको थियो । तर खेलको अन्त्यतिर मोहम्मद सलाहले बराबरी गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।
आर्सनलका बुकायो साकाले उत्कृष्ट गोल गर्दै घरेलु टोलीलाई नवौं मिनेटमा अग्रता दिलाएका थिए । तर, लिभरपुलका कप्तान भर्जिल भान डाइकले सेट–पिसको सदुपयोग गर्दै १८ औं मिनेटमा खेललाई बराबरीमा ल्याएका थिए ।
आर्सनलका लागि ४३ औं मिनेटमा मिकेल मेरिनोर्ले गोल गर्दै पहिलो हाफमै टोलीलाई २–१ को अग्रता दिलाए ।
दोस्रो हाफमा आर्सनलका प्रशिक्षक मिकेल आर्टेटाले टिमलाई डिफेन्सिभ खेल खेल्न निर्देशन दिएपछि आर्सनलले आफ्नो अग्रतालाई जोगाउने प्रयास गरिरहेको थियो ।
तर खेलको ८१ औं मिनेटमा डार्विन नुनेजको पासमा मोहम्मद सलाहले उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा ल्याएका थिए ।
सोमवारको विदेशी मुद्राको विनिमय दर कति ?
काठमाडौं । नेपाल राष्ट्र बैँकले आज (सोमवार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैँकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २४ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८४ पैसा कायम भएको छ ।
युरोपियन युरो एकको खरिददर एक सय ४४ रुपैयाँ ९१ पैसा र बिक्रीदर एक सय ४५ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रुपैयाँ १० र बिक्रीदर एक सय ७४ रुपैयाँ ७८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ८६ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६५ पैसा र बिक्रीदर ८९ रुपैयाँ ५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ९७ रुपैयाँ ६ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय एक रुपैयाँ ५९ पैसा र बिक्रीदर एक सय २ रुपैयाँ ४ पैसा निर्धारण गरिएको छ ।
यस्तै साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९० पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८२ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९८ पैसा कायम भएको राष्ट्र बैँकले जनाएको छ ।


















































