पर्साको तिलावे पुलको पिलर भत्कियो, आवतजावतमा समस्या
वीरगञ्ज (पर्सा), ३० भदौः पर्साको ग्रामीण भेगसँग जोड्ने वीरगञ्ज महानगरपालिका र बहुदरमाई नगरपालिकाको सीमानामा रहेको तिलावे पुल क्षतिग्रस्त हुँदा सर्वसाधारणलाई आवतजावतमा गर्न समस्या भएको छ ।
पर्सा जिल्लामा आएको वर्षात्को पानीको बहावले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान(पिलर)लाई क्षतिग्रस्त बनाएपछि पुल जोखिमयुक्त बनेको हो ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख मनोज पटेलले तिलावे पुलको फाउण्डेसनसँगै रहेको स्पान भत्किएसँगै सवारीसाधन चलाउन नमिल्ने अवस्थामा पुगेको बताउनुभयो । “पहिलादेखि नै तिलावे पुल जीर्ण अवस्थामा थियो । अहिले पुलको फाउण्डेसनसँगै रहेको पिलरमा चिरा परेर भत्किने अवस्थामा छ”, उहाँले भन्नुभयो, “तिलावे पुलबाट हुने आवतजावतलाई पूर्ण रुपमा रोक लगाइएको छ । सरोकारवाला निकाय सिँचाइ विभाग र सडक विभागलाई पनि मौखिक रुपमा जानकारी गराइसकेका छौँ ।” प्रमुख पटेलले गण्डक नहरसँगै ५० वर्षअघि यो पुलको संरचना निर्माण गरिएको बताउनुभयो ।
सडक सुधार तथा विकास योजना बाराका प्रमुख विनोद साहले उक्त खण्डको सडक स्तरोन्नति आफूले गरे पनि पुल निर्माणको जिम्मेवारी भने नरहेको स्पष्ट पार्नुभयो । “तिलावे पुल भत्किएको विषयमा सडक विभाग मातहतको पुल महाशाखालाई आवश्यक जानकारी गराउने तयारीमा छौँ”, उहाँले भन्नुभयो, “सडक विभागबाट आवश्यक बजेट आएको खण्डमा भत्किएको पुलको निर्माण अघि बढाउनेछौँ ।
उहाँले बाराको सिम्रनगढदेखि पर्सा जिल्लाको अन्तिम विन्दुसम्म करिब ५९ किलोमिटर सडक स्तरोन्नति अघि बढाएको बताउनुभयो ।
नारायणी सिँचाइ व्यवस्थापन कार्यालयका प्रमुख पटेलले वर्षांैदेखिको जीर्ण पुल भएकाले पनि मर्मतसम्भारभन्दा पनि नयाँ पुल निर्माण गर्दा राम्रो हुने बताउनुहुन्छ । “स्पान भत्किएकाले पनि नयाँ निर्माण आवश्यक छ”, उहाँले भन्नुभयो, “पुल महाशाखासँग प्रविधि र जनशक्ति दुवै भएकाले पनि मर्मतसम्भार गरेर पनि चलाउन सक्ला कि भन्ने लाग्दछ ।”
नेप्से परिसूचक ५० अङ्कले घट्यो, कारोबार रकममा सुधार
काठमाडौँ, ३० भदौः नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५० दशमलव ७३ अङ्क अर्थात् एक दशमलव ८८ प्रतिशतले घटेर दुई हजार छ सय ३७ दशमलव ७९ को बिन्दुमा कायम भएको हो । लगातार छ कारोबार दिनसम्म घटेको नेप्से परिसूचक गत साता कारोबारको अन्तिम दिन उच्च अङ्कले बढेको थियो । तर बजार सम्हालिन नसक्दा आज पुनः घटेको छ ।
आज विभिन्न तीन सय २४ कम्पनीका दुई करोड ४८ लाख ४६ हजार सात सय ८२ कित्ता शेयर एक लाख १९ हजार सात सय ३९ पटक खरिदबिक्री हुँदा रु १० अर्ब ३३ करोड ९२ लाख ३५ हजार नौ सय ५७ बराबरको कारोबार भएको छ । यो कारोबार रकम पछिल्ला सात दिनमा सबैभन्दा उच्च हो ।
आजको कारोबारपछि वित्त समूह र होटल तथा पर्यटन समूहको उपसूचकमा उच्च गिरावट देखिएको छ । वित्त समूह तीन दशमलव ५३ र होटल तथा पर्यटन समूह तीन दशमलव ६८ प्रतिशतले घटेको छ । त्यस्तै, बैंकिङ शून्य दशमलव ९३, विकास बैंक दुई दशमलव ५१, जलविद्युत् एक दशमलव ४८, लगानी दुई दशमलव ८० र जीवन बीमा समूह दुई दशमलव ७४ प्रतिशतले घटेको छ ।
उत्पादन तथा प्रशोधन समूह एक दशमलव ७९, लघुवित्त एक दशमलव ८८, म्युचुअल फन्ड एक दशमलव ६१, निर्जीवन बीमा दुई दशमलव १६, व्यापार शून्य दशमलव ९० र अन्य समूह दुई दशमलव २३ प्रतिशतले घटेको नेप्सेले जनाएको छ ।
आज दुई सय १९ कम्पनीको शेयर मूल्य घट्दा २४ वटाको मात्रै बढेको छ । जसमध्ये रिभर फल्स पावर लिमिटेड, हिमालयन हाईड्रोपावर लिमिटेड र रावा इनर्जी डेभलपमेन्ट लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । थ्रीस्टार हाईड्रोपावर लिमिटेडको शेयर मूल्यमा भने नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको रु ६४ करोड ३८ लाख ६६ हजार सात सय ८० बराबरको शेयर खरिदबिक्री भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिङ्गटी हाईड्रो इनर्जी लिमिटेडको नौ लाख ३४ हजार पाँच सय ७८ कित्ता शेयर किनबेच भएको छ ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदाय अझै समस्यामा
काठमाडौँ, ३० भदौः लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले नागरिकता, विवाह, सम्पत्तिलगायत क्षेत्रमा अहिले पनि विभिन्न समस्या भोग्दै आएका छन् ।
मितेरी नेपालले आज यहाँ आयोजना गरेको ‘लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायका सवालहरुको सम्बोधनमा सांसदहरुको भूमिका’ विषयक नीति संवाद कार्यक्रममा उक्त समुदायले आफूहरु नेपालको नागरिक भए पनि अन्य नागरिक जस्तै समान हक नपाएको बताएका हुन् ।
कानुन, न्याय तथा मानव अधिकार समितिका सभापति विमला सुवेदीले नेपालको संविधान २०७२ मा सम्पत्तिको हकलाई मौलिक हकका रुपमा व्यवस्था गरे यो समुदायका महिलाको सम्पत्तिमाथि हक नभएकाले पछाडि पर्नुका साथै विभिन्न समस्या भोग्नु परेको बताउनुभयो । उहाँले विद्यमान समस्या समाधान गर्न कानुनी क्षेत्रबाट आफूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
सभापति सुवेदीले आफू यो समुदायप्रति गम्भीर तथा संवेदनशील रहेको बताउँदै कानुन बनाउने ठाउँबाट आफूले विस्तृत रुपमा छलफल गरी सरकारलाई आवश्यक सुझाव र निर्देशन दिने प्रतिबद्धता जनाउनुभयो ।
महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले भोगका घटना सुन्दा आफूलाई हृदयविदारक लागेको भन्दै उनीहरुको समस्या समाधानका लागि समितिबाट सबै अध्ययन गरी आवश्यक सहयोग गर्ने बताउनुभयो । यो समुदायका व्यक्ति पनि प्राकृतिक रुपमा जन्मिएनुका साथै सामाजिक, आर्थिक क्षेत्रमा योगदान पु¥याउने भएकाले समाजमा सम्मानपूर्वक र विभेदरहित तरिकाले बाँच्नका लागि राज्यले वातावरण मिलाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राष्ट्रिय मानव अधिकार आयोगका सहसचिव नवराज सापकोटाले आयोगले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायको हक, अधिकार स्थापित गराइ कायान्वयनका लागि सरकारलाई सिफारिस गरेको बताउनुभयो । उहाँले यस विषयमा आयोगले पुनः सरोकार भएका निकायसँग विस्तृत छलफल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
मितेरी नेपालका अध्यक्ष लक्ष्मी घलानले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक समुदायले घरदेखि समाज र राज्यबाट धेरै दुःख झेल्नुपरेको उल्लेख गर्नुभयो । उहाँले संविधान र कानुनले गरेका व्यवस्थाहरु पनि व्यवहारमा कार्यान्वयन हुन नसक्दा कठिनाइ झेल्नुपरेको भन्दै समस्या समाधान गर्न सांसदहरुको ध्यानाकर्षण गराउनुभयो ।
कार्यक्रममा उक्त समुदायबाट सहभागी भएकाले विवाह दर्ताको व्यवस्था नभएको, बच्चा जन्मिए पनि दर्ता गर्ने व्यवस्था नभएको, धर्मपुत्र वा धर्मपुत्री लिने व्यवस्था नभएको, नागरिकतामा आफ्नो पहिचानअनुसार लिन नपाएकोलगायत समस्या भोग्नुपरेको धारणा राख्दै विद्यमान समस्या समाधानमा सबैले सहकार्य गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
मितेरी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा सिआइबीको अनुसन्धान सुरु
काठमाडौँ, ३० भदौः नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले मितेरी बचत तथा ऋण सहकारी संस्थामा भएको रकम अनियमितताबारे अनुसन्धान सुरु गरेको छ ।
उक्त संस्थामा भएको रकम अनियमितताबारे निवेदन परेपछि अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “उक्त संस्थामा रकम अपचलन भएका विषयमा हामी कहाँ उजुरी परेपछि हामीले अहिले मुख्य रुपमा सहकारीका कर्मचारी र सञ्चालक समितिमाथि अनुसन्धान अघि बढाएका छौँ ।”
सो सहकारीका अध्यक्ष कुम्भराज गुरुङले सहकारीको महाप्रबन्धक रहेका बेला ज्योति गुरुङले रु १२ करोड ५० लाख ठगी गरेको भन्दै सहकारी रजिस्ट्रारको कार्यालयमा गत साउन महिनामा उजुरी दर्ता गर्नुभएको जनाइएको छ ।
म्यान्मामा हावाहुरी र बाढीबाट मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो
याङ्गुन, ३० भदौ : म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् ।
म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।
म्यान्मामा शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ ।
सन् २०२१ मा सेनाको ‘कू’ पछि युद्ध चर्किरहेको देशलाई बाढीले थप दुःख दिएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पु¥याएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ ।
शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु भएको थियो भने दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।
राजधानी न्यापितको बाहिरी भागलगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेका छन् ।
पहाडी क्षेत्रमा धेरै स्थानमा पहिरो गएका खबर आएको छ । त्यहाँ सडक र पुलमा क्षति पुगेको छ भने फोन तथा इन्टरनेटको लाइन बन्द हुँदा सूचना सङ्कलन गर्न कठिन भएको छ ।
मध्य र दक्षिणी म्यान्मा हुँदै बग्ने सिताउङ र बागो नदीमा पानीको सतह आइतबार पनि खतराको तहभन्दा माथि रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् ।
म्यान्माका अधिकारीहरूले विस्थापितलाई राख्नका लागि ८२ वटा ‘राहत शिविरहरू’ खोलेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।
थाइल्याण्डको मौसम कार्यालयले मेकोङ नदीको छेउछाउका प्रान्तहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ।
द्वन्द्वका कारण २७ लाखभन्दा बढी मानिस विस्थापित भएको म्यान्मामा आँधीका कारण आएको बाढी र डुबानले थप सङ्कट निम्त्याएको छ ।
म्यान्मारको जुन्टा प्रमुखले बाढीसँग जुध्नका लागि विदेशी सहयोगका लागि दुर्लभ अनुरोध गरेको सरकारी सञ्चारमाध्यमले शनिबार जनाएका छन् ।
सेनाले यसअघि पनि विदेशबाट आउने मानवीय सहायतालाई रोकेको वा दुरूत्साहित गरेको थियो ।
शौचालयबाट कैदी फरार
सुरुङ्गा (झापा), ३० भदौः जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदी आज फरार भएका छन् ।
फरार हुनेमा २४ वर्षीय जीवन साह रहेको प्रहरीले जनाएको छ । भद्रपुरस्थित ओमसाई पाथीभरा अस्पतालबाट आज बिहान उनी फरार भएका हुन् । त्यहाँ उपचाररत साहलाई आज बिहान ३ः४० बजे सोही अस्पतालको शौचालय लगिएकामा शौचालयबाटै उनी फरार भएको प्रहरीको भनाइ छ ।
छातीमा समस्या भएपछि भद्रपुर नगरपालिका–५ घर भएका साहलाई यही भदौ २५ गते प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । त्यहाँबाट थप उपचारका लागि ओमसाई पाथीभरा अस्पतालमा रेफर गरिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक मिलन केसीको कमाण्डमा फरार कैदी साहको खोजी भइरहेको बताइएको छ ।
यसअघि इलाका प्रहरी कार्यालय बिर्तामोडका एकजना थुनुवा हतकडी फुस्काइ फरार भएका थिए । फरार भएको चार दिनपछि भदौ ८ गते उनी बिर्तामोड बसपार्कबाट समातिएका थिए । फितलो सुरक्षा व्यवस्थापनको फाइदा उठाउँदै झापामा एकपछि अर्काे यस्ता घटना घट्न थालेको बताइएको छ
सुनको मूल्यमा कीर्तिमान
काठमाडौँ, ३० भदौः स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागिरहेको सुनको मूल्य आज प्रतितोला रु पाँच सयले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार प्रतितोला रु एक लाख ५६ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ५६ हजार आठ सय निर्धारण भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यस्तै चाँदीको मूल्य तोलामा रु ४० ले वृद्धि भएको छ । शुक्रबार प्रतितोला रु एक हजार आठ सय ६० मा कारोबार भएको चाँदीको मूल्य आजका लागि भने रु एक हजार नौ सय निर्धारण भएको छ ।
निर्वाध सदन सञ्चालन गर्न सचेतकहरूसँग परामर्श गर्दै सभामुख
काठमाडौँ, ३० भदौः बिनाअवरोध सदन सञ्चालन गर्न सभामुख देवराज घिमिरले प्रतिनिधिसभामा प्रतिनिधित्व गरेका प्रमुख दलका प्रमुख सचेतक र सचेतकलाई छलफलका निम्ति आमन्त्रण गर्नुभएको छ ।
सङ्घीय संसद्का प्रवक्ता एकराम गिरिका अनुसार सभामुखले आज बिहान ११ः३० बजे हुने बैठकमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), प्रमुख विपक्षी दल (माओवादी केन्द्र) तथा प्रतिपक्षी दलद्वय राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक तथा सचेतकलाई छलफलमा आमन्त्रण गर्नुभएको हो ।
यही भदौ १२ गतेको प्रतिनिधिसभा बैठकमा एमालेका सांसद योगेश भट्टराईले प्रयोग गरेको ‘हिंसा’ शब्दप्रति विमति जनाउँदै माओवादी केन्द्रका सांसदहरुले उक्त शब्द संसद्को अभिलेखबाट हटाउन माग गर्नुभएको थियो । यद्यपि सभामुखले यही भदौ २६ गतेको बैठकमा हिंसा शब्द अभिलेखबाट नहटाउने बताएपछि माओवादी सांसदहरुले संसद्मा अवरोध गर्नुभयो । उक्त पार्टीका सांसदले आजको बैठकमा पनि अवरोध गर्ने घोषणा सार्वजनिक गरेपछि निकासका निम्ति सभामुखले बैठक डाक्नु भएको हो । प्रतिनिधिसभाको आजको बैठक अपराह्न १३ः०० बजेका निम्ति आह्वान गरिएको छ ।
तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
चितवन, ३० भदौः खानेतेल बोकेर सिमाराबाट काठमाडौँ गइरहेकोे ट्रक त्रिशूलीमा खसेको छ । ना६ख ६२८३ नम्बरको ट्रक आज बिहान त्रिशूलीमा खसेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक भेषराज रिजालका अनुसार भरतपुर महानगरपालिका–२९ पच्चीस किलोबाट ट्रक नदी छेउमा खसेको हो । ट्रकका चालक र सहचालकको खोजी भइरहेको छ । घटनास्थलमा इलाका प्रहरी कार्यालय मुग्लिनको टोली पुगेको उहाँले बताउनुभयो ।
नेपाली र अमेरिकी सेनाको संयुक्त अभ्यास आजदेखि
काठमाडौँ, ३० भदौः नेपाली र अमेरिकी सेनाबीचको चौथो संस्करणको सैनिक अभ्यास आजदेखि सुरु भएको छ ।
अभ्यासका क्रममा खोज तथा उद्धारलाई प्रभावकारी बनाउन अपनाउनुपर्ने विधि तथा प्रक्रियाका सम्बन्धमा ज्ञान आदानप्रदान हुने नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । संयुक्त अभ्यास काठमाडौँ, मकवानपुर र धादिङमा हुनेछ ।
विपद् व्यवस्थापन तथा मानवीय सहयोगको क्षेत्रमा अनुभव आदानप्रदान गरी विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सन् २०१२ देखि अभ्यास सञ्चालन हुँदै आएको छ । अभ्यास असोज ४ गते सम्पन्न हुनेछ ।




























