शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J4EPV6CXPG16E9Y95KJZM2MA.jpg

राष्ट्रपतिद्वारा भोटोजात्रा अवलोकन

पाटन (ललितपुर), २० साउनः राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ । उहाँले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गर्नुभएको हो ।

राष्ट्रपतिसँगै उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले भोटोजात्रा अवलोकन गर्नुभयो । उहाँहरुलाई ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठ, महानगर उपप्रमुख मञ्जली शाक्य बज्राचार्यले स्वागत गर्नुभएको थियो । 

हरेक वर्ष राष्ट्रप्रमुखको उपस्थितिमा मच्छिन्द्रनाथको रथमा उभिएर गुठी संस्थानका कर्मचारीले भोटो देखाउने परम्पराअनुसार आज राष्ट्रपति पौडेलको उपस्थितिमा भोटो देखाइएको हो । सो अवसरमा राष्ट्रपति पौडेलले रातो मच्छिन्द्रनाथको दर्शन गर्नुका साथै प्रसाद ग्रहण गर्नुभयो । उहाँले जीवित देवी कुमारीको दर्शन पनि गर्नुभयो । 

भोटेजात्राका अवलोकन गर्न उपप्रधानमन्त्री प्रकाशमान सिंह, नेपाल सरकारका मन्त्रीहरु, संवैधानिक अङ्गका प्रमुखहरु, काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह, उपत्यकाका स्थानीय तहका प्रमुख, उपप्रमुखहरू, सुरक्षा निकायका प्रमुखहरु सहभागी हुनुहुन्थ्यो । भोटोजात्रा हेर्न आम नागरिकको उल्लेख्य उपस्थिति थियो । 

वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको रथलाई पुल्चोकबाट गावहाल, मङ्गलबार, टङ्गाल इटीटोल, कुमारीपाटी मानभवन हुँदै जावलाखेल ल्याइएको चार दिनपछि भोटो देखाएर जात्राको समापन गरिने प्रचलनअनुसार भोटो देखाइएको हो । यससँगै यस वर्षको रथयात्रा सम्पन्न भएको छ ।

गत वैशाख २७ गते रातो मच्छिन्द्रनाथको मूर्तिलाई पुल्चोकमा रथारोहणका गरेसँगै यो जात्रा सुरु भएको थियो । रातो मच्छिन्द्रनाथको मूर्ति मच्छिन्द्रबहालस्थित मन्दिरबाट बोकेर रथारोहण गरेपछि जात्रा प्रारम्भ भएको थियो । यो जात्रा काठमाडौं उपत्यकाको सबैभन्दा प्रसिद्ध जात्रामध्येको एक हो । जात्रा करिब एक हजार छ सय वर्षअघि सुरु भएको विश्वास गरिन्छ । 

भोटो देखाएकै दिन रातो मच्छिन्द्रनाथको मूर्तिलाई खटमा राखी बुङ्गमती पु¥याउनुपर्ने परम्परा रहको गुठी संस्थानका प्रमुख बैकुण्ठ आचार्यले जानकारी गराउनुभयो ।

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EPGXP6AEPA1VZNWQZ852HH.jpg

ताप्लेजुङको आँखोप केन्द्रविन्दू भएर भूकम्प

काठमाडौँ, २० साउन: ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरकानुसार आज दिउँसो ४ः०४ मिनेटमा ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको हो ।

यसअघि साउन १३ गते ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो । नेपालमा पछिल्लो समय साना भूकम्प जाने क्रम जारी छ । 

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EK83HSBJXAAY0QBX6S7AXJ.jpg

आज देखी समाजवादी फुटसल कप शुरू

धरान, २० श्रावण: महेन्द्र बहुमुखी क्याम्पस धरान अन्तर  संकाय  'दोस्रो समाजवादी पुरुष तथा महिला फुटसल कप– २०८१' सुरु भएकोछ । फुटसल कप, समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरान इकाई समितिद्वारा आयोजना गरिएको हो । 


जसपा केन्द्रीय नेता तथा पूर्व स्ववियु सभापति भीम राई, जसपा धरान नगर अध्यक्ष नगेन्द्र पारघरी लिम्बु,कौसिला चेम्जोङ्ग, क्याम्पस स्ववियु सभापति युवराज राई (अलौकिक),समितिका इकाई अध्यक्ष विजय राई र नेवि संघ विद्यार्थी नेता विनोद आले मगर लगायतको उपस्थितिमा आज धरान ११ स्थित मितेरी फुटसल हलमा प्रतियोगिता उद्घाटन भएको हो  ।


क्याम्पसमा अध्यायनरत विद्यार्थीहरूलाई आफ्नो शैक्षिक कार्य सँगै खेलकुद र यस प्रकारको अतिरिक्त क्रियाकलापहरूमा पनि सहभागी गराउने उदेश्यले वार्षिक रूपमा समितिले ‘समाजवादी पुरुष तथा महिला फुटसल कप’ आयोजना गरीरहेको समितिका खेल संयोजक सन्देश बेघा लिम्बुले बताए ।


संयोजक लिम्बुका अनुसार आज उद्घाटन गरिएको फुटसल कपमा पुरुष तर्फ २० समूह र महिला तर्फ ४ समूह रहेकाछन् पुरुष समूह तर्फको खेलमा विजेताले बिस हजार दुई सय बाइस उपविजेताले दश हजार एक सय एघार त्यसैगरी महिला समूह तर्फ विजेताले बाह्र हजार दुई सय बाइस उपविजेताले सात हजार सात सय सतहत्तर रुपैयाँ पुरस्कार प्राप्त गर्ने जानकारी गराएका छन् । साथै उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक र सर्वाधिक गोलकर्तालाई एक–एक वटा ट्रफी प्राप्त गर्ने छन् । फुटसल कप खेल प्रतियोगिता कार्यक्रम यही २२ श्रावणमा समापन हुने जानकारी गराए ।

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EJFB6KP33T9TMPWY3BX6PV.jpg

अमेरिका र क्यानडाका विश्वविद्यालयको अध्ययन सामग्रीमा छानियो ‘को–हजबेन्ड’

काठमाडौँ, २० साउनः नेपालको बहुपति प्रथाका बारेमा निर्माण गरिएको वृत्तचित्र फिल्म ‘को–हजबेन्ड’ (सहायक श्रीमान्)लाई अमेरिका र क्यानडाका विभिन्न क्याम्पस र विश्वविद्यालयमा अध्ययन सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउने भएका छन् । पत्रकार गणेश पाण्डेद्वारा निर्देशित ३५ मिनेटको सो वृत्तचित्र कर्णाली प्रदेशको हुम्लामा छायाङ्कन गरिएको हो ।     
     
सन् १९६८ मा अमेरिकामा स्थापित डकुमेन्ट्री एजुकेशनल रिसोर्सेसले अमेरिका र क्यानडाका क्याम्पस र विश्वविद्यालयमा सन्दर्भ सामग्रीका रुपमा पठनपाठनमा सहभागी गराउन लागेको हो । को–हजबेण्डले विश्वका थुप्रै देशमा दर्जन अवार्ड जित्न सफल भएको छ । यसअघि क्यानडाको टोरोन्टोमा अमेरिकन एन्थ्रोपोलिजिकल एशोसियन र क्यानेडियन एन्थ्रोपोलोजी सोसाइटीबाट आयोजित ३६ वर्ष पुरानो सोसाइटी अफ भिजुअल इन्थ्रोपोलोजी फिल्म एण्ड मिडिया फेस्टिबलमा को–हजबेण्डले नगद पुरस्कारसहित उत्कृष्ट सर्ट फिल्म अवार्ड जितेको थियो ।     
     
बहुपति प्रथामा आधारित यो बृत्तचित्रमा घरमा जति दाजुभाइ छन्, एउटै श्रीमती बिहे गर्ने संसारकै अनौठो चलन अहिले पनि हुम्लालगायतका हिमाली जिल्लामा विद्यमान छ । सोही विषयलाई निर्देशक पाण्डेले पहिलोपटक पर्दामा उतार्नुभएको हो । करिब चार वर्षको छायाङ्कनमा सो वृत्तचित्र निर्माण गरिएको हो । साइन मिडिया प्रालिले निर्माण गरेको यो वृत्तचित्रको लेखन पनि निर्देशन पाण्डेले नै गर्नुभएको हो ।     
     
निर्देशक पाण्डेले मानवशास्त्रसँग सम्बन्धित अध्ययन गर्ने विभिन्न विश्वविद्यालयहरूमा उत्कृष्ट सन्दर्भ सामग्रीको रुपमा ‘को–हजबेण्ड’ लाई समावेश गरिनु देशका लागि पनि गर्वको कुरा हो भन्नुभयो । यसअघि पनि निर्देशक पाण्डेको बहुचर्चित डकुमेन्ट्री फिल्म ‘भाग्यले बाँचेकाहरु’ले पनि डेढ दर्जन अन्तर्राष्ट्रिय पुरस्कार जितेको थियो । 

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EJ82XNWRN1EHX22WN6RTXS.jpg

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

काठमाडौँ, २० साउनः प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज क्यानका पदाधिकारी, पूर्वक्रिकेटर, कलाकार केकी अधिकारी र प्रकाश सपुतलगायत क्रिकेट प्रमीसँगको संयुक्त भेटमा प्रधानमन्त्री ओलीले क्रिकेट, खेलाडी र यससँग सम्बन्धित पक्षको विकास र विस्तारका विषयमा छलफल गर्नुभएको हो ।

“क्रिकेट रङ्गशालाका विषयमा आज क्यानका पदाधिकारी, खेलाडी, खेलप्रेमी कलाकार र सचिवालयका साथीहरुबीच छलफल भयो । यससँगै रङ्गशाला निर्माणलाई द्रूत गतिमा अघि बढाउन सजिलो हुने विश्वास लिएका छौँ”, प्रधानमन्त्री ओलिले भन्नुभयो । 

मन्त्रिपरिषद्को पहिलो बैठकले त्रिवि मैदानलाई तीन सय दिनमा अन्तर्राष्ट्रितनस्तरको सुविधा सम्पन्न रङ्गशाला बनाउने निर्णय गरेको थियो । 

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4DXCADM39AXKGBSZ3AFWFGK.jpg

सोमबारदेखि स्वयम्भूमा एकमहिने मेला

काठमाडौँ, २० साउनः स्वयम्भूमा भोलि सोमबारदेखि एक महिनासम्म जारी रहने मेलाको सम्पूर्ण तयारी पूरा भएको छ ।   
 
स्वयम्भू व्यवस्थापन तथा संरक्षण महासमितिले विश्वसम्पदा स्वयम्भू तथा त्यस आसपास क्षेत्रका सम्पदास्थलमा दर्शनका लागि आउने भक्तजनको सुरक्षा, भीड व्यवस्थापन, सरसफाइ, रङरोगन, सडकबत्ती व्यवस्थापनलगायत सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । प्राचीन सम्पदास्थलका चैत्य तथा विभिन्न भाग मर्मत तथा जीर्णोद्धार सम्पन्न गरिएकाले मेलामा आउनेको सङ्ख्या बढ्ने अपेक्षा गरिएको छ ।   
 
महासमितिका महासचिव अशोक बुद्धाचार्यले मन्दिर आसपासमा अस्थायी पसल हटाइएको तथा सहयोगापेक्षीलाई बस्न नदिने व्यवस्था गरिएको बताउनुभयो । थेरवाद, महायान र वज्रयान सम्प्रदायका अनुयायीहरू राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट पाँच लाख मानिस आउने अपेक्षा गरिएको महासमितिले जनाएको छ ।   
 
काठमाडौँ महानगरपालिका–१५ का वडाध्यक्ष ईश्वरमान डङ्गोलले महासमितिसँग समन्वय गरी मेला व्यवस्थापनको प्रबन्ध भएको जानकारी दिनुभयो । स्वयम्भूस्थित महानगरीय प्रहरी वृत्तले ट्राफिक प्रहरीसँगको सहकार्यमा सडक जामलाई व्यवस्थापन गर्ने जनाएको छ ।   
 
गुँला पर्वका रूपमा बौद्ध धर्मावलम्बीले मनाउने चाडका अवसरमा आयोजित मेलाअवधिभर हरेक दिन बिहान गुँला बाजा बजाउँदै स्वयम्भू महाचैत्यको दर्शन परिक्रममा, शोभाभगवतीसँगै विजेश्वरी र सेतो मत्स्येन्द्रनाथको परिक्रमा तथा करुणामयको नामबाट पनि चिनिने सेतो मत्स्येन्द्रनाथको दर्शन गर्ने परम्परा छ ।  

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4DWZB63TGX55CAGCR0AEXXW.jpg

खोटाङको राजापानीमा बाघ आतङ्क

खोटाङ, २० साउन: हलेसी तुवाचुङ नगरपालिका–११ राजापानीमा बाघको आतङ्क छ । जङ्गलबाट गाउँ पसेको बाघले खोरका खसीबाख्रा, गोठमा बाँधिएका बाच्छापाडा तथा कुकुर मार्न थालेपछि स्थानीय बासिन्दा आतङ्कित बनेका हुन् ।   
 
केही दिनअघिदेखि गाउँ पसेको एउटा बाघले शुक्रबार राति साविक राजापानी गाविस वडा नं २ भोगटिनीस्थित देविका चौहानको घरमा बाँधेको कुकुर तथा सोही राति शम्भुप्रसाद भण्डारीको खसी मारेको स्थानीय बासिन्दाले बताएका छन् । चौहानको घर बाहिर राखिएको खाटमा बाँधेको कुकुर साङ्लोसहित २० मिटर तल लगेर टाउकोबाहेक सबै खाए पनि भण्डारीको खसी भने खोरबाट निकाल्न नसक्दा मारेर भागेको जनाइएको छ । बाघले शनिबार भोगटिनीकै देवीबहादुर कार्कीको बोका मारेको छ ।   
 
राजापानीका स्थानीयका अनुसार केही दिनअघि साविक ६ नं वडामा पर्ने मापाचुलीका कीर्तिमान कार्कीको गोठको बाच्छो बाघले मारेको छ । दुई वर्षअघि पनि जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने लिकुवापोखरीमा चितुवाको त्रास थियो । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा त्यतिबेला चितुवाले २५ भन्दाबढी चौपाया मारेको थियो ।  

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4DWCNCVD7ZKKJ1YKT37V0Z5.jpg

अकबरेखेतीबाट वार्षिक १५ लाख आर्जन गर्दै इलामका खड्गबहादुर

फिक्कल (इलाम), २० साउनः जिल्लाको माङसेबुङ गाउँपालिका–२ का खड्गबहादुर कार्कीलाई घरखर्च टार्न अरुको मुख ताक्नुपरेको छैन । आफ्नै बारीमा गरेको व्यावसायिक अकबरेखेतीबाट घरखर्च चलेको छ । वार्षिक उहाँले रु १५ लाख आर्जन गर्दै आउनुभएको छ ।   
 
मलेसियाको रोजगारीबाट फर्केर दुई वर्षअघि ‘बताहा कृषि तथा नर्सरी फार्म’ दर्ता गरी व्यावसायिक रूपमा अकबरेखेती सुरु गर्नुभएका उद्यमी कार्कीले वार्षिक रु तीन लाख आम्दानी गर्दै आउनुभएको छ । “गत वर्ष एक हजार बोटबाट ११ क्विन्टल अकबरे उत्पादन भएको थियो, पहिलोपटक नै प्रशस्त आम्दानी भयो”, कार्कीले भन्नुभयो, “प्रतिकेजी रु दुई सय ५० देखि रु तीन सयसम्ममा बारीमा नै बिक्री हुने भएकाले यस वर्षदेखि खेती विस्तार गरेको छु ।”   
 
यो वर्ष उहाँले पाँच हजार बोट अकबरे रोप्नुभएको छ । आफ्नै चार तथा छिमेकीको चार रोपनी जग्गा भाडामा लिएर आठ रोपनी क्षेत्रमा खेती विस्तार गर्नुभएको हो । उत्पादिन अबकरे बिक्रीका लागि बजारको चिन्ता नभएपछि खेती विस्तार गरेको उहाँ बताउनुहुन्छ । “सबै खर्च कटाएर वार्षिक रु १० देखि १५ लाखसम्म कमाइ गर्ने लक्ष्यका साथ खेती विस्तार गरेको छु ।” “दुई वर्षसम्म यही बोटले उत्पादन दिन्छ, हरियो खुर्सारी दिनैपिच्छे पनि टिप्न पाइन्छ तर पाकेको भने सातामा दुईपटक टिप्न मिल्छ, एक हजार बोटबाट पहिलोपटक ३० र दोस्रो खेपमा २० केजीसम्म उत्पादन हुन्छ”, कार्कीले भन्नुभयो ।   
 
हरियो खुर्सानी प्रतिकेजी रु दुई सय ५० मा बारीबाटै बिक्री हुने गरेको छ । यहाँ उत्पादित अकबरे इलाम बजारसहित झापाको दमक र सुनसरीको इटहरीसम्मका व्यापारीले लैजाने गरेका छन् ।   
 
सुरुमा थोरै लगानीमा आफ्नै बारीमा अकबरेखेती सुरु गर्नुभएका कार्कीले १० हजार बोट अकबरे विस्तार गर्ने योजनामा रहेको सुनाउनुभयो । उहाँले अबकरेका साथै गोलभेँडा, भण्टा, बन्दाकोभी, प्याजखेती तथा एभोकाडो र कफीका बिरुवा पनि उत्पादन गर्दै आउनुभएको छ ।  

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4DMFGZ0PR1TH0N8DD9SFQEP.jpg

प्युठान–रोल्पाको दुःखः गर्जेनी

स्वर्गद्वारी (प्युठान), २० साउनः माण्डवी गाउँपालिका–१ गर्जेनीको पहिरोले प्युठान, रोल्पा र गुल्मीका सडकयात्रीले सास्ती भोग्नुपरेको छ । प्युठान र रोल्पाका अधिकांश भाग तथा गुल्मीको मदाने गाउँपालिका क्षेत्रका स्थानीय आवतजावत गर्ने मार्ग पहिरोका कारण पटकपटक अवरुद्ध हुँदै आएको छ ।     
      
दाङ देउखुरीको भालुवाङ–प्युठानको खलङ्गा, रोल्पाको लिवाङ जोड्ने मुख्य सडक हो । प्युठानी र रोल्पालीका दैनिक जीवनसँग जोडिएको यो सडक पटकपटक अवरुद्ध हुँदा उनीहरूको दैनिकी प्रभावित भएको छ ।     
      
दाङ हुँदै बुटवल, काठमाडौँ, भैरहवा, भरतपुर, नेपालगञ्जलगायत स्थानमा उपचारका लागि जाने तथा अन्य कामले विभिन्न स्थानमा जाने यात्री अलपत्र पर्ने गरेका छन् । प्रत्येक वर्ष बर्खा लागेसँगै गर्जेनीमा पहिरो जाँदा बर्सेनि सास्ती खेप्नुपरेको रोल्पा सुनिल स्मृति गाउँपालिका–२ खुङ्ग्रीका मनबहादुर पुनले गुनासो गर्नुभयो ।     
      
भालुवाङ–चकचके खण्डमा पर्ने गर्जेनी, खहरेखोलालगायत स्थानमा निरन्तर पहिरो खस्दा समस्या भएको छ । भालुवाङ–प्युठान सडकअन्तर्गत बडडाँडा–चकचके खण्डमा असार १९ यता २१ पटक बाटो अवरुद्ध भएको छ । सडक डिभिजन कार्यालयले सामाजिक सञ्जालमा सार्वजनिक गरेको सूचनाअनुसार २१ पटक गरी कम्तीमा ९१ घण्टा सडक अवरुद्ध भएको छ । एकैपटक धेरै ठाउँमा पहिरो झर्ने समस्याका कारण पहिरोको सङ्ख्या भने २१ भन्दा धेरै छ । हिजो शनिबार मात्र गर्जेनीको पहिरो नौ घण्टापछि हटाएर यातायत सञ्चालन गरिएको थियो ।     
      
प्युठान नगरपालिका–७ का टीकाराम पोख्रेलले गर्जेनीमा पहिरो गयो कि गएन भनेर समाचार, सूचना हेरेर मात्र यात्रा गर्नुपर्ने बाध्यता सुनाउनुभयो । सडक डिभिजन कार्यालय प्युठानका इन्जिनियर कमल पुनका अनुसार अवरुद्ध सडक सञ्चालन गर्न रु छ लाख खर्च भइसकेको छ । “ सोइलमेलिङ प्रविधिबाट पहिरो रोकथाम गर्न सकिन्छ”, इन्जिनियर पुनले भन्नुभयो, “त्यसका रु पाँच करोड ५० लाख लाग्ने देखिन्छ, विभागबाट रकम प्राप्त भएको छैन ।” कुनै प्रविधि प्रयोग नगरे गर्जेनीले सताइरहने उहाँको ठम्याइ छ ।  

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4DM5WASA0NM3P7F3YTZNJRW.jpg

बाघको आक्रमणबाट घाइते

चितवन, २० साउनः बाघको आक्रमणबाट भरतपुर महानगरपालिका–२ बेलटाडीका ६० वर्षीय पशुपति श्रेष्ठ घाइते हुनुभएको छ । प्रातभ्रमणका क्रममा उहाँ बाघको आक्रमणमा पर्नुभएको हो ।

भरतपुर महानगरपालिका–१ नारायणी नदी किनारमा हिँडिरहेका बेला उहाँलाई बाघले आक्रमण गरेको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो । आक्रमणबाट घाइते श्रेष्ठको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । उहाँको मुख र हातमा चोट लागेको र अवस्था स्थिर रहेको जानकारी उहाँले दिनुभयो । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बाघको खोजीका लागि जिल्ला वन कार्यालयबाट एउटा टोली परिचालन भएको छ । 

प्रकाशित मितिः आइतबार, २० साउन २०८१