जनतालाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गर्न सकिन्छ : अध्यक्ष प्रचण्ड
मोरङ, २१ साउन : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई अझ अधिकार सम्पन्न गर्नेगरी संविधान संशोधन गर्न सकिने बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा आज बेलुकी सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले जनताले अहिलेसम्म प्राप्त गरेका उपलब्धिमा टेकेर उत्पीडित जाति, क्षेत्र र समुदायलाई अझ बढी अधिकार सम्पन्न बनाउनेगरी संविधान संशोधन गर्न सकिने प्रष्ट पार्नुभयो ।
पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “संविधान संशोधनमार्फत जनताले प्राप्त गरेको समावेशी, समानुपातिकको अधिकार कटौती भएमा सडकमा गएर प्रतिवाद गर्ने छौँ ।” उहाँले पूर्ण समानुपातिक प्रणाली नेपाल जस्तो बहुभाषिक, बहुजातीय, बहुसांस्कृतिक देशमा उपयुक्त हुने विचार व्यक्त गर्नुभयो ।
प्रचण्डले भन्नुभयो, “पार्टीको मान्यता प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख हुनुपर्छ पर्छ भन्ने अहिले पनि कायम रहेको छ ।” उहाँले उद्यमीहरूसँग विद्युत्को बाँकी रहेको राज्यको अर्बौं रकम छुट दिने चलखेल नगर्न सरकारलाई आग्रह गर्नुभयो ।
प्रमुख प्रतिपक्ष दलका नेतासमेत रहनुभएका अध्यक्ष दाहालले प्रतिनिधिसभा र लेखासमितिमा यस सम्बन्धमा आफ्ना सांसदहरूले सशक्त रुपमा कुरा राखेको जानकारी दिनुभयो । लेखासमितिको सभापति विगतदेखि प्रतिपक्षीलाई दिने परम्परा रहेको उल्लेख गर्दै उहाँले माओवादी अहिले प्रमुख प्रतिपक्षी भएकाले सभापति दिनुपर्छ र यसलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ भन्नुभयो ।
शिक्षक तथा कर्मचारीलाई पार्टी सदस्यता लिन रोक
दमक (झापा), २१ साउनः झापाको कमल गाउँपालिकाले सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीलाई राजनीतिक दलको सदस्यता लिन रोक लगाएको छ ।
पालिकाका अध्यक्ष हुकुमसिंह राईले आज सूचना जारी गर्दै सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको सदस्यता लिन तथा नवीकरण गर्न नपाउने उल्लेख गर्नुभएको छ ।
शिक्षा ऐन, २०२८ (संशोधनसहित) १६ (ङ) को उपदफा (५)को खण्ड (छ) शिक्षक वा कर्मचारीले राजनीतिक दलको कार्यकारिणी समितिको सदस्य रहेमा पद मुक्त गरिने र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा १४ को उपदफा (२) को खण्ड (ग) अनुसार शिक्षक वा कर्मचारीले कुनै पनि दलको सदस्यता लिन नपाउने प्रावधान रहेको उल्लेख गर्दै पालिकाले अब त्यसलाई कडाइका साथ कार्यान्वयन गरिने उहाँले सूचित गर्नुभएको छ ।
उहाँले शिक्षक वा कर्मचारीले राजनीतिक दलको सदस्यता लिएको वा नवीकरण गरेको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने सूचनामा उल्लेख गर्नुभएको छ ।
पालिकाले यसअघि सामुदायिक तथा संस्थागत विद्यालय परिसरमा कुनै पनि राजनीतिक दलको भेला, सभा तथा बैठकलगायतका कार्यक्रम गर्न निषेध गरेको थियो ।
बङ्गलादेशमा आन्दोलनः नेपालमा उच्च सुरक्षा निगरानी
काठमाडौँ, २१ साउनः बङ्गलादेशमा विकसित घटनाक्रमलाई मध्यनजर गर्दै नेपालले सुरक्षा व्यवस्था कडाइ गर्नुका साथै सीमा क्षेत्रमा उच्च निगरानी बढाएको छ ।
गृह मन्त्रालयको निर्देशनअनुसार असम्बन्धित र विदेशी नागरिकको घुसपैठ तथा अवैध प्रवेश बढ्नसक्नेतर्फ सचेत रहँदै सीमाक्षेत्र र अन्तर्राष्ट्रिय मार्गमा उच्च निगरानी बढाइएको हो ।
केन्द्रीय सुरक्षा समितिको बैंठकको निर्देशनबमोजिम नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले आवश्यकताका आधारमा जनशक्ति बढाएर सुरक्षालाई मजबुद बनाउन र परिस्थितिको मूल्याङ्कनसहित उच्च निगरानी र सतर्कता अपनाउन सर्कुलर भएको जनाएका छन् ।
नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले हाल तैनाथ गरिएका सुरक्षाकर्मीसँगै थप बल परिचालनगरी सुरक्षा व्यवस्था चुस्त बनाइएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “नराम्रो घटना नहोस्, विदेशी मानिसहरू जथाभावी प्रवेश हुन नपाउन् भनेर सुरक्षा निगरानी र सतर्कता बढाइएका छौँ । विमानस्थल तथा देश भित्रिने र बाहिरिने नाकाका साथै विशेष गरी तराई र भारतीय सीमा क्षेत्रमा सुरक्षाकर्मीलाई चुस्त रहन र सम्भावित जोखिम आँकलन गरी सुरक्षा प्रबन्ध मिलाउन निर्देशनसमेत दिइएको छ ।”
सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता, नायब महानिरीक्षक कुमार न्यौपानेले अन्य मुलुकबाट मानिसको घुसपैठ हुनेतर्फ सतर्क रहँदै सीमा क्षेत्रमा जनशक्ति थपगरी सुरक्षा तैनाथी बढाइएको र उच्च सतर्कता अपनाइएको जानकारी दिनुभयो ।
नेपालले मल्दिभ्सलाई हरायो
काठमाडौ २१ साउनः काभा महिला नेसन्स भलिबल लिगअन्तर्गत आजको खेलमा नेपालले माल्दिभ्सलाई पराजित गरेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा आज भएको समूह चरणको अन्तिम खेलमा नेपालले मल्दिभ्सलाई ३–० को सोझो सेटमा पराजितगरेको हो ।
नेपालले मल्दिभ्समाथि पहिलो सेटमा २५–८, दोस्रो सेट २५–१९ र तेस्रो सेटमा २५–१८ ले पराजित ग¥यो । नेपाल समूह चरणको अङ्क तालिकामा दोस्रो स्थानमा रह्यो । नेपालले यसअघि श्रीलङ्का र भारतलाई पराजित गरेको थियो भने इरानसँग पराजित भएको थियो ।
नेपालले सेमिफाइनलमा इरानसँग खेल्नेछ । इरान अङ्क तालिकाको तेस्रो स्थानमा रह्यो । नेपाली टोलीका मुख्य प्रशिक्षक जगदीश भट्टले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य रहेको भन्दै सेमिफाइनलमा इरानलाई पराजित गर्नेमा विश्वास व्यक्त गर्नुभयो । नेपाली टोलीकी कप्तान अरुण शाहीले आफ्नो टोलीमा भएको कमजोरीलाई सुधार गर्दै इरानविरुद्धको खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने बताउनुभयो ।
अर्को सेमिफाइनलमा भारत र श्रीलङ्काबीच प्रतिस्पर्धा हुनेछ । भारत लिग चरणमा शीर्ष स्थानमा रह्यो भने श्रीलङ्काले चौथो स्थानमा रहेर अन्तिम चारमा स्थान पक्का गरेको हो । भोलि दिउँसो ३ बजे सुरु हुने पहिलो सेमिफाइनलमा श्रीलङ्काले भारतको सामना गर्नेछ भने साँझा ५ः१५ बजे सुरु हुने दोस्रो सेमिफाइनलमा नेपाल र इरानबीच प्रतिस्पर्धा हुनेछ ।
‘डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरियो’
काठमाडौँ, २१ साउन : नेकपा (माओवादी केन्द्र) का सांसद शक्तिबहादुर बस्नेतले डेडिकेटेड र ट्रङ्क लाइन महशुल उठाउन छोडेर अनावश्यक तर्क गरिएकामा आपत्ति प्रकट गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै पूर्वऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रीसमेत रहनुभएका सांसद बस्नेतले संसद्को सार्वजनिक लेखा समितिमा पछिल्ला दिनमा भइरहेको बहस तर्कसङ्गत नभएको बताउनुभयो ।
महशुल उठाउन पाइँदैन भनेर नेपाल विद्युत् प्राधिकरणलाई भृकुटी कागज कारखाना बनाउन खोजिएको हो ? भन्ने प्रश्न गर्दै सांसद बस्नेतले पटक पटक अदालतले आदेश दिएको र विभिन्न निकायले निर्णय गरेका आधारमा थप छुट महशुल उठाउन खोजिएको बताउनुभयो । उहाँले लोडसेडिङको समयमा २० घण्टाभन्दा बढी बिजुली प्रयोग गर्ने उद्योगले थप महशुल तिर्नुपर्छ भन्ने सामान्य विषयलाई नजरअन्दाज नगर्न र छुट नदिन आग्रह गर्नुभयो । सांसद बस्नेतले सरकारमा बसेर प्रश्न मात्रै गर्ने तर कुनै निष्कर्ष नदिने छुट कसैलाई नभएको स्पष्ट पार्नुभयो ।
प्राधिकरणको सञ्चालक समितिको बैठकमा फरक मत राखेका आधारमा सञ्चालक समितिका सदस्यहरुलाई कारवाही गरिएकामा सांसद बस्नेतले गुनासो गर्नुभयो । “सरकारले कुन आदेश ग¥यो र कुन आदेश सञ्चालक समिति सदस्यले उल्लङ्घन गरे ? फरक मत राखेको आधारमा कारवाही गर्दैजाने हो भने लोकतन्त्रको योभन्दा मजाक अरु हुनै सक्दैन”, उहाँले भन्नुभयो । संविधान संशोधनको विषय गलत मनसायका साथ आएको सांसद बस्नेतको आरोप थियो ।
अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका छन् ः सांसद गैरे
नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले वर्तमान सरकार गठन भएपछि मुलुकको अर्थतन्त्रका सूचक सकारात्मक देखिँदै गएका बताउनुभएको छ । उहाँले संविधान कार्यान्वयनमा देखिएका कमी कमजोरीलाई सुधार गरेर जाने भनेर प्रमुख दुई दलबीच भएको सहमतिलाई पूर्णता दिन सकिए थप आशाको सञ्चार हुने बताउनुभयो ।
संविधान संशोधन कुनै पनि अर्थमा प्रतिगमन हुन नसक्ने तर्क गर्दै सांसद गैरेले यथास्थितिमा रहनुपर्छ, कुनै सुधार गर्नुहुन्न भन्ने मतलाई भने गलत मान्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले देशव्यापी रुपमा मनसुनका कारण सडक सञ्जालमा क्षति पुगेकाले त्यसको मर्मत सम्भारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराउनुभयो । सार्वजनिक सवारी साधनको सहज प्रबन्ध गर्न सकिए नजिकिँदो चाडपर्वमा नागरिकले सहजरुपमा यात्रा गर्न सक्ने वातावरण बन्ने उहाँको भनाइ थियो ।
दुग्ध किसानले मूल्य नपाएको, रासायनिक मल नपाएको अवस्था अन्त्य गरेर कृषि क्षेत्रलाई सबल र सक्षम बनाउनुपर्नेमा सांसद गैरेले जोड दिनुभयो । खाद्यान्न आयात गुर्नपर्ने अवस्था अन्त्य गर्न सबैको सार्थक पहल हुनुपर्ने र कृषि क्षेत्रको औद्योगिकरण गर्नुपर्ने उहाँको भनाइ थियो । सांसद गैरेले वैदेशिक रोजगारीको क्षेत्रमा देखिएको समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराउँदै असुरक्षित रहेका देशमा पुनः कामदार पठाउन लागिएको भनेर सार्वजनिक भएका विषयको सत्य तथ्य के हो भन्दै प्रश्न गर्नुभयो ।
मुलुकभित्र समस्याका रुपमा रहेको आर्थिक अनियमितता, भ्रष्टाचारको नियन्त्रणका लागि सरकारले कडा कदम चाल्नुपर्ने उहाँले बताउनुभयो । प्रमुख प्रतिपक्षी दलले कोही कसैमाथि छानबनि नै गर्न पाइँदैन भनेर गरेको तर्क यर्थाथसँग मिल्दो नभएको सांसद गैरेको धारणा थियो ।
बङ्गलादेश अपडेट : प्रधानमन्त्री हसिना सरकारी निवास छोडी ‘सुरक्षित स्थान’ तर्फ प्रस्थान
ढाका, २१ साउन (रासस/एएफपी): बङ्गलादेशकी प्रधानमन्त्री शेख हसिनाले आफ्नो राजीनामाको माग गर्दै व्यापक विरोध प्रदर्शन भइरहेका बेला राजधानी ढाकामा रहेको आफ्नो सरकारी निवास छोडेको उहाँनिकट स्रोतले सोमबार जानकारी दिएको छ ।
नाम उल्लेख नगर्ने शर्तमा उक्त स्रोतले भन्यो, “प्रधानमन्त्री र उहाँकी बहिनी प्रधानमन्त्रीको सरकारी निवास (गणभवन) छोडेर सुरक्षित स्थानमा जानुभएको छ । “उहाँले देशबासीका नाममा सम्बोधन रेकर्ड गराउन चाहनुभएको थियो । तर त्यसो गर्ने मौका पाउनुभएन ।”
बङ्गलादेशमा सरकारी जागिरमा आरक्षण (कोटा) प्रणालीको विरोध गर्दै बिद्यार्थी समूहले सुरू गरेको आन्दोलन थप हिंसात्मक बनिरहेको समय बङ्गलादेशका सेना प्रमुख वाकर–उज–जमानले आज देशबासीका नाममा सम्बोधन गर्ने सैनिक श्रोतले एएफपीलाई जानकारी दिएको केही समयपछि नै प्रधानमन्त्रीले सुरक्षालाई मध्यनजर गर्दै सरकारी निवासबाट बाहिरिनुभएको हो ।
आन्दोलनमा प्रहरीले धरपकड हुँदा भएको क्षतिपछि सडक प्रदर्शनमा जनसहभागिता बढ्दै जाँदा आन्दोलनलाई थप उर्जा मिलेको छ । प्रदर्शनकारीले प्रधानमन्त्री शेख हसिनाको राजीनामाको मागलाई बुलन्द पारेका छन् ।
राष्ट्रियसभा : विशेष समयमा सांसदहरु बोल्ने क्रम जारी
काठमाडौँ, २१ साउन: राष्ट्रियसभाको बैठक केही बेरअघि सुरु भएको छ । बैठकको विशेष समयमा अहिले सांसदहरुले आफ्नो धारणा राखिरहनुभएको छ ।
सांसद सुमित्रा बिसीले मुलुकमा बाढी, पहिराका घटना, बस दुर्घटना, हवाई दुर्घटनालगायत प्राकृतिक विपत्तिको घटनामा ठूलो जनधनको क्षति भएको उल्लेख गर्दै मृतकहरुप्रति श्रद्धाञ्जलि तथा शोक सन्तप्त परिवारजनमा समवेदन प्रकट गर्नुभयो । उहाँले नर्सिङ क्षेत्रमा लामो समय काम गरेकाको स्तरवृद्धि नभएको गुनासो सम्बोधन गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराउनुभयो ।
आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले ‘तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्’, भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुने कार्यसूची छ ।
यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले मन्त्रिपरिषद्को निर्णयबाट आयोगको कार्यावधि थप गर्ने गरी जारी भएको आदेश, बेपत्ता पारिएका व्यक्तिको छानविन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन, २०७१ को दफा ४२ बमोजिमको बाधा अड्काउ फुकाउ आदेश सदन समक्ष पेश गर्ने कार्यसूची रहेको छ ।
पेरिस ओलम्पिक : आइतबारसम्मको खेलमा अमेरिका १९ स्वर्णसहित शीर्ष स्थानमा
पेरिस, २१ साउन (रासस/एएफपी) : आइतबारका विभिन्न स्पर्धापछि पेरिस ओलम्पिक खेलमा अमेरिकाले १९ स्वर्ण, २६ रजत र २६ कास्यसहित सबैभन्दा बढी ७१ पदकसहित अङ्क तालिकामा शीर्ष स्थानमा रहेको छ ।
दोस्रोमा चीनले १९ स्वर्ण, १५ रजत र ११ कास्यसहित कुल ४५ पदक हात पारेको छ भने फ्रान्सले १२ स्वर्ण, १४ रजत र १८ कास्य पदकसहित कुल ४४ पदक जित्दै अहिलेसम्मको पदक तालिकामा तेस्रो स्थान हासिल गरेको छ ।
त्यसैगरी, चौँथो स्थानमा रहेको अष्ट्रेलियाले १२ स्वर्ण, ११ रजत र आठ कास्यसहित ३१ पदक जितेको छ भने पाँचौ स्थानमा बेलायतले १० स्वर्ण, १२ रजत र १५ कास्यसहित कुल ३७ पदक जितेको छ ।
पदक तालिकामा छैठौँ स्थानमा रहेको दक्षिण कोरियाले १० स्वर्ण, सात रजत र सात कास्यसहित कुल २४ पदक जितेको छ भने जापानले नौ स्वर्ण, पाँच रजत र १० कास्यसहित २४ पदक जित्दै सातौँ स्थानमा रहन सफल भएको छ ।
आठौँ स्थानमा रहेको इटालीले सात स्वर्ण १० रजत र पाँच कास्यसहित कुल २२ पदक जितेको छ भने नेदरल्यान्डसले छ स्वर्ण, पाँच रजत र चार कास्यसहित कुल १५ पदक जित्दै नवौँ स्थानमा रहेको छ । जर्मनीले पाँच स्वर्ण, पाँच रजत र दुुई कास्यसहित कुल १२ पदक जितेर शीर्ष दशमध्ये अन्तिम स्थानमा पर्न सफल भएको छ ।
पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलन आयोजना गर्दै भारत
नयाँदिल्ली, २१ साउन (रासस/एएनआई): पहिलो बिमस्टेक व्यापार शिखर सम्मेलनको आयोजना अगस्ट ६ देखि ८ सम्म भारतको नयाँदिल्लीमा गर्न सम्पूर्ण तयारी सकिएको भारतले जनाएको छ ।
सम्मेलनको लागि विदेश मन्त्रालयले भारतीय उद्योग परिसङ्घ (सिआइआई) सँगको सहकार्यमा तीन दिने कार्यक्रमको आयोजना गर्नेछ ।
विदेश मन्त्रालयको प्रेस विज्ञप्ति अनुसार विदेश मन्त्री एस जयशङ्करले सम्मेलनको उद्घाटन गर्नुहुने छ भने केन्द्रीय वाणिज्य तथा उद्योग मन्त्री पियुष गोयललगायतका नेताहरूले सम्मेलनलाई सम्बोधन गर्नेछन् ।
सम्मेलनमा व्यापार, वाणिज्य, उद्योगका साथै ऊर्जा क्षेत्रका समस्याबारे बिमस्टेक सदस्य राष्ट्रका मन्त्री, उच्च पदस्थ सरकारी अधिकारी, उद्यमीलगायतको सहभागितामा छलफल हुनेछ ।
मन्त्रालयले सम्मेलनको पहिलो उद्देश्य बहु–क्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बे अफ बङ्गाल इनिसिएटिभ (बिमस्टेक) का सदस्य राष्ट्रबीच व्यापार र लगानीको माध्यमबाट क्षेत्रीय सहयोगलाई वृद्धि गर्ने रहेको जनाएको छ ।
कार्यक्रम आर्थिक सहकार्य सहज बनाई व्यापार, ऊर्जा सुरक्षा, दिगो विकासललगायतमा केन्द्रित रहने छ ।
गुडिरहेको माइक्रो बसमाथि रुख ढल्दा नौ यात्रु घाइते
मलेखु (धादिङ), २१ साउन : पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–५ जरेमा गुडिरहेको माइक्रो बसमाथि रूख ढल्दा नौ यात्रु घाइते भएका छन् ।
धादिङबाट काठमाडौँतर्फ जाँदै गरेको बागमती १–००६च ६२१२ नम्बरको माइक्रो बसमाथि जरेपुलनजिक रूख ढल्दा उक्त दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक मकेन्द्रकुमार मिश्रका अनुसार घाइते यात्रुको गजुरीका विभिन्न स्वास्थ्य संस्थामा उपचार भइरहेको छ ।
“घाइते सबै खतरामुक्त रहेका छन्”, प्रहरी नायव उपरीक्षक मिश्रले भन्नुभयो । रूख ढल्दा पृथ्वी राजमार्ग केहीबेर दुइतर्फी अवरूद्ध बनेको थियो । अहिले दुईतफीरुपमा यातायात सेवा सञ्चालन भएको प्रहरीले जनाएको छ ।