शनिबार, १३ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J4GJ1S3FBAQD3NKC8MB2RGE3.jpg

सुनको मूल्य तोलाको एक लाख ५० हजार

काठमाडौँ, २१ साउन : सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धिपछि हालसम्मकै उच्च बिन्दुमा पुगेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार कायम भएको छ । आइतबार छापावाला सुन प्रतितोला रु एक लाख ४९ हजार सात सयमा कारोबार भएको थियो । आइतबारको तुलनामा सोमबार छापावाला सुन प्रतितोला रु तीन सयले वृद्धि भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको छ । आइतबार प्रतितोला रु एक लाख ४९ हजार दुई सयमा कारोबार भएको तेजाबी सुन आजका लागि रु एक लाख ४९ हजार पाँच सय निर्धारण भएको छ ।

चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी प्रतितोला रु एक हजार सात सय ८५ मा कारोबार भइरहेको महासंघले जनाएको छ । 

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://jawaaf.com/storage/01J4GD6ATWC3SADY99Q6GK1RAG.jpg

संविधान जोगाउन दलहरूबीच सहकार्यको खाँचो छ: अध्यक्ष नेपाल

काठमाडौँ, २१ साउनः नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टीले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभएको छ । नेकपा समाजवादी काठमाडौँ महानगर कमिटीद्वारा कामपा–१८ नरदेवीमा आइतबार अयोजित कार्यक्रममा उहाँले लोकतन्त्र,संविधानको रक्षा  एवं राजनीतिक सङ्कटका समाधानमा आफ्नो पार्टीले समन्वयकारी नेतृत्व लिँदै आएको छ भन्नुभयो ।  

उहाँले भन्नुभयो,“आगामी दिनमा पार्टीलाई आत्मविश्वासका साथ जनताको सेवामा थप सशक्त र केन्द्रित गर्नुपर्छ ।  आर्थिक समृद्धि र सुशासन कायम गर्नु नै अहिलेको प्रमुख चुनौती हो । लोकतान्त्रिक गणतन्त्रलाई कमजोर बनाउने कुनै प्रकारको षड्यन्त्र सह्य हुँदैन । वामपन्थी र प्रगतिशील शक्तिबीच एकताको खाँचो  छ ।” पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष नेपालले संविधान र गणतन्त्रको रक्षाका लागि सबै दलहरूबीचको समन्वय र सहकायलाई बलियो बनाउनुपर्छ । सो अवसरमा अध्यक्ष नेपालले आफ्नो पार्टीमा प्रवेश गरेकालाई स्वागतसमेत गर्नुभएको थियो ।

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://jawaaf.com/storage/01J4GCNDTPNEGAWJX2GSGKKC1M.jpg

राजनीतिकर्मीको कृषिमोह : तीन सय रोपनीमा किबी र लोठसल्लाखेती

बनियानी (झापा), २१ साउनः कृषि क्षेत्रमा भविष्य देखेका सातजना युवाको समूह यतिबेला किबी र लोठसल्ला (टेक्सस मेरिइ)को खेतीमा रमाएका छन् । सप्तरङ्गी बहुउद्देश्यीय कम्पनी प्रालि सञ्चालन गरेर इलामको सन्दकपुर गाउँपालिका–२ मा तीन सय रोपनी जग्गामा उनीहरूले किबी र लोठसल्लाको खेती गरिरहेका हुन् । तीन सय रोपनीमध्ये एक सय ५० रोपनीमा किबी र एक सय ५० रोपनीमा लोठसल्ला लगाइएको छ ।     
     
कृषि क्षेत्रमा भविष्य देखेपछि सिपी कडरिया, तेजमणि प्रसाईँ, कमलप्रसाद कडरिया, दुष्यन्त भट्टराई, श्रीप्रसाद सिटौला, ईश्वरीप्रसाद तिवारी र झलकबहादुर राईले इलामको सन्दकपुरमा किबी र लोठसल्लाखेती गर्ने योजना बनेको हो । बेरोजगारी घटाउन, राजनीतिकर्मीलाई उत्पादनसँग जोड्न र मुलुकमा प्रविधि भित्र्याउने उद्देश्यले कृषिकर्ममा लागेको कम्पनीका अध्यक्ष सिपी कडरिया बताउनुहुन्छ । राजनीतिकर्मी कडरिया भन्नुहुन्छ, “राजनीतिकर्मी उत्पादनसँग जोडिन जरुरी छ, नत्र भ्रष्टाचार अझै मौलाउँछ ।”     
     
कुल गार्हस्थ्य उत्पादनमा सबैभन्दा ठूलो २४ प्रतिशत हिस्सा कृषिको छ । सरकारले पनि दिगो विकासको लक्ष्य हासिल गर्न कृषिलाई मुख्य आधार मानेको उहाँ बताउनुहुन्छ । राससकर्मीसँगको कुराकानीमा उहाँ भन्नुहुन्छ, “हामी कृषिप्रधान मुलुक भन्छौँ, तर जुनसुकै कुरामा पनि आयातमुखी बनेका छौँ ।” आयात प्रतिस्थापन गर्न र निर्यात बढाउन पनि कृषि क्षत्रेमा लगानी गरिएको उहाँ बताउनुहुन्छ । विसं २०७२ मा सुरु गरिएको किबी र लोठसल्लामा हालसम्म रु तीन करोड ५० लाख लगानी भइसकेको छ । किबी फलफूलका रूपमा प्रयोग हुने र लोठसल्ला क्यान्सर रोगको उपचारका लागि औषधि बनाउन प्रयोग हुने भएकाले बजार र माग राम्रो भएको उहाँ बताउनुहुन्छ ।     
     
“गत वर्षदेखि किबी उत्पादन सुरु भएको छ, यो वर्षदेखि हामी लगानी बन्द गर्छौँ”, उहाँले भन्नुभयो, “अर्को वर्षदेखि नाफा हुने अपेक्षा छ ।” एउटा किबीको बोटले तीन वर्षपछि उत्पादन दिने उहाँको भनाइ छ । एउटा बोटबाट वार्षिक ३५ देखि ५० वर्षसम्म उत्पादन लिन सकिन्छ भने वार्षिक ५० केजी उत्पादन हुने कडरियाले बताउनुभयो । एउटा बोटमा वार्षिक रु पाँचदेखि छ सय लगानी हुने जनाइएको छ ।     
     
गत वर्ष साविक मेची अञ्चलमा मात्र सात लाख केजी किबी उत्पादन भएको कडरिया बताउनुहुन्छ । “इलाममा मात्र डेढ लाख केजी उत्पादन भएको तथ्याङ्क छ”, उहाँले भन्नुभयो, “उत्पादन अझै बढ्दै जाने देखिन्छ ।”     
     
नेपाली किसानले किबी उत्पादन गरे पनि भण्डारणमा समस्या हुँदा सस्तोमा बेच्नुपरेको उहाँको अनुभव छ । उत्पादनस्थलबाट बजारसम्म पुर्याउन ‘कुलिङ चेन’ जरुरी हुने उहाँले बताउनुभयो । “भण्डारणका लागि उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको किबी चाँडै बिग्रिने समस्या देखिएको छ”, उहाँले भन्नुभयो, “यसले गर्दा किसानले मूल्य पाएका छैनन्, बजार पनि कस्किएको छ ।”     
     
बेमैसममा नेपालमा न्यूजरल्याण्डबाट किबी आयात हुने गरेको कडरिया बताउनुहुन्छ । विश्वमा सबैभन्दा धेरै न्यूजील्याण्ड र चीनमा उत्पादन हुने किबीले ओगटेको उहाँको भनाइ छ । “यहाँ उत्पादन हुने किबीको स्वाद राम्रो छ”, उहाँले भन्नुभयो, “किबी उत्पादन गरेर विश्व बजारमा पुर्याउने सोचका साथ विभिन्न एजेन्सीसँग कुरा गरिरहेका छौँ ।”     
     
किसानको उत्पादनलाई सुरक्षित गर्न सरकारले उपयुक्त शीतभण्डारगृह निर्माणमा जोड दिनुपर्ने कडरियाले बताउनुभयो । “राज्यले आयात प्रतिस्थापन गर्ने हो भने कृषि क्षेत्रमा विशेष लगानी गर्न जरुरी छ”, उहाँले भन्नुभयो, “वास्तविक किसानले राज्यले दिने सुविधाको उपयोग गर्न पाएका छैनन् ।”     
     
किबी उत्पादनका लागि भाले र पोथी बिरुवा आवश्यक पर्छ । जसका लागि परागसेचनको महत्त्वपूर्ण भूमिका हुन्छ । हावा र माहुरीको भरमा परागसेचन हुँदा किबीखेतीमा चुनौती देखिएको व्यवसायी कडरियाले बताउनुभयो । परागसेचनका लागि चीन र न्यूजरल्याण्डले अपनाएको प्रविधि स्वदेशमा ल्याउन जरुरी छ ।     

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://jawaaf.com/storage/01J4G1S752YJF30TQHXE7BEFGP.png

भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालन

किमाथाङ्का (सङ्खुवासभा), २१ साउनः सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा अवरुद्ध टेलिफोन सेवा सञ्चालनमा आएको छ । गत साउन १७ गते राति बिहीबारदेखि  चिचिला र सभापोखरी गाउँपालिको सीमावर्ती क्षेत्र बर्खेडाँडामा रहेको टावरमा विद्युत् आपूर्ति बन्द भएपछि उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन अवरुद्ध भएको थियो । चिचिला र सभापोखरी सीमावर्ती क्षेत्र बर्खेडाँडामा मर्मत र नियमित विद्युत् आपूर्ति भएपछि चार दिनपछि दुर्गम उत्तरी क्षेत्र भोटखोलामा टेलिफोन सेवा सञ्चालन भएको दूरसञ्चार कार्यालय खाँदबारीका प्रमुख प्रेमकुमार राईले बताउनुभयो ।

विद्युत् आपूर्ति बन्द हुँदा उत्तरी क्षेत्रका बर्खेडाँडा, भाटभटेनीडाँडा र लच्चीडाँडालगायतका टावर बन्द भएको उहाँले बताउनुभयो । चट्याङका कारण ब्याट्री व्याकअप, उपकरण र टावरका सामग्री  पड्कँदा बेलाबेला उत्तरी क्षेत्रमा टेलिफोन सेवा अवरुद्ध हुने गरेको छ । अवरुद्ध टेलिफोन सेवा सञ्चालन भएपछि भोटखोला–२ र ३ का  हटिया, च्याम्ताङ, चेपुवा, लिङगम, छुम्सुर, रिदाकलगायत गाउँका बासिन्दा लाभान्वित भएका छन् । विद्युत सेवा नपुगेका दुर्गम गाउँमा बिटिएस टावर अझै सोलार पावरका भरमा चल्ने गरेको छ । प्रतिकूल मौसम र कठिन भूगोल भएका कारण सदरमुकाम खाँदबारीबाट प्राविधिक टोली समयमा पुग्न कठिन भएको थियो । उच्च हिमाल क्षेत्रमा हुरीबतास र चट्याङ पर्ने भएका कारण टावरमा समस्या आउने गरेको छ । 

प्रकाशित मितिः सोमबार, २१ साउन २०८१
https://jawaaf.com/storage/01J4F3CYA9QXEBRPTKSYTF69AF.jpg

सङ्खुवासभामा लाखे निकाल्न नेवा देयः दबुमा सूचीकृत हुनुपर्ने

खाँदबारी (सङ्खुवासभा) २० साउनः सङ्खुवासभामा नाग पञ्चमीबाट सुरु हुने नेवार समुदायको लाखे नाचमा अन्य वर्ग वा समुदायलाई समावेश नगर्न नेवा देय दबु खाँदबारीले आग्रह गरेको छ ।

 आज यहाँ आयोजित पत्रकार सम्मेलनमा नेवा देयः दबुले खाँदबारी नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने नेवार समुदायका समूह र संस्था वा व्यक्तिलाई मात्रै लाखे नाचमा सहभागी हुन आग्रह गरेको हो । लाखे नाच्न अनिवार्य रुपमा नेवा देयः दबुमा सुचीकृत हुनुपर्ने छ । लाखे नाचमा मादकपदार्थ सेवन गरी हुलहुज्जत गर्न नपाइने नगर अध्यक्ष पुष्पबहादुर श्रेष्ठले बताउनुभयो । उहाँले लाखे नेवार समुदायको संस्कृतिसँग जोडिएकाले अन्य वर्ग वा समुदायबाट लाखे नाच प्रस्तुत नगर्न आग्रह गर्नुभयो ।

नेवार जातिको संस्कृति र पहिचानको रुपमा मनाइने लाखेनाच विशेष गरी नागपञ्चमीदेखि सुरु भएर कृष्णाअष्टमीका दिन समापन हुन्छ । श्रेष्ठले विशेष परिस्थितिबाहेक अन्य समय अवसर वा अन्य कार्यमा लाखे नाचलाई प्रस्तुत गर्न पूर्ण बन्देज गरिएको पनि बताउनुभयो ।

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EWEB1BD77FWFNME51Y00MT.png

विद्युत्को तार व्यवस्थापन नहुँदा जोखिम बढ्यो

उदयपुर, २० साउनः उदयपुरको त्रियुगा नगरपालिका क्षेत्रको गाईघाट बजारसहित वडा नं १०, ११, १२ र १३ का क्षेत्रमा विद्युत्को तार व्यवस्थापन नहुँदा जोखिम बढेको स्थानीयले बताएका छन् । 

यी क्षेत्रमा सडक विस्तार र नाला निर्माण गर्ने गर्दा विद्युत्का पोल हटाउने र सार्ने क्रममा तार व्यवस्थापन नगर्दा आवतजावत गर्दा समस्या भएको स्थानीयको भनाइ छ । 

शनिबार वडा नं १३ पोर्ताहास्थित वडा कार्यालय नजिकै स्थानीय चित्र कार्की मोटरसाइकलबाट गाईघाट बजारतर्फ आउँदै गर्दा सडकमा खसेको विद्युत्को तारले करेन्ट लागेर घाइते हुनुभएको थियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरका अध्यक्षसमेत रहनुभएको कार्कीको हाल जिल्ला अस्पताल उदयपुरमा उपचार भइरहेको रास्वपा त्रियुगा नगरसमितिका अध्यक्ष उत्तम रिजालले बताउनुभयो ।

त्रिनपा–१२ को डिएमगेट क्षेत्र र शनिमन्दिर क्षेत्रमा झन्डै पाँच सय मिटर सडक खण्डमा विद्युत्का तार छरपस्ट छन् । निवर्तमान वडाअध्यक्ष विक्रम राईले पोलबाट खसाइएका तार व्यवस्थापन नहुँदा यस क्षेत्रका सडकमा हिँड्डुल गर्नसमेत निकै जोखिम बढेको बताउनुभयो ।

वडा नं १३ को पोर्ताहा, असारी र लक्ष्मीपुर क्षेत्रका सडकमा विद्युत् तार सडकमा छाडिएका छन् । यसकारर्ण  हिँड्डुल गर्न पनि निकै समस्या भएको स्थानीय राजदेव चौधरीको गुनासो छ । चाँडै तार व्यवस्थापन नगरे  नागरिक झनै जोखिममा पर्ने उहाँले बताउनुभयो । 

विद्युत् प्राधिकरण कार्यालय उदयपुर गाईघाटका प्रमुख विजयबाबु खत्री भने सडक विस्तार र नाली निर्माण गर्दा विद्युत् पोल सार्नुपर्दा यस्तो समस्या भएको बताउनुहुन्छ ।  आफ्नो कार्यालय तार व्यवस्थित गर्न आवश्यक जनशक्ति परिचालन गरे पनि नेपाल टेलिकम र विभिन्न केवल नेटवर्क कम्पनीले आफ्नो तार व्यवस्थापन नगर्दा समस्या भएको उहाँको धारणा छ । 

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EQZBA7XRTTDBXZC3E16SXW.png

बिहारको मुख्यमन्त्रीको कार्यालय उडाउने धम्की

पटना (भारत), २० साउन (रासस/एएनआई): पटनामा मुख्यमन्त्रीको कार्यालय (सिएमओ) लाई भवन उडाउने धम्कीपूर्ण इमेल प्राप्त भएपछि बिहार प्रहरीले उक्त मामिलालाई दर्ता गरेको छ ।
 
सिएमओले जुलाई १६ मा एक अज्ञात अकाउन्टबाट अल–कायदासँग सम्बद्ध रहेको दाबी गरेको इमेल प्राप्त गरेको थियो । इमेल प्रेषकले सीएमओ परिसरलाई बमले उडाइनेछ भनी धम्की दिएको र बिहारको विशेष प्रहरीले पनि यसलाई रोक्न नसक्ने बताएको छ । 

धम्कीपूर्ण इमेलले प्रहरी र प्रतिआतङ्कवाद दस्ता (एटिएस) लाई अनुसन्धान सुरु गर्न प्रेरित गरेको थियो । त्यसपछि अगस्ट २ मा स्टेशन हाउस अफिसर सञ्जीव कुमारको बयानका आधारमा सचिवालय प्रहरी थानामा एफआइआर दर्ता गरिएको थियो । 

भारतीय न्याय संहिता, २०२३ को धारा ३५१ (४) र (३) का साथै आइटी ऐन को धारा ६६ (एफ) अन्तर्गत निवेदन दर्ता गरिएको प्रहरीले बताएको छ । 

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EQJM1PNHZYN1MPAYT9YM6E.jpg

गाईजात्राका लागि हाँस्यकलाकार जोगिन्दरको कोसेली ‘ठगाठग कम्पनी’

 काठमाडौँ, २० साउन : हाँस्यव्यङ्ग्य पर्व ‘गाईजात्रा’ नजिकिँदै गर्दा यससम्बन्धी सामग्री बजारमा आउने क्रम सुरू भएको छ । यसैक्रममा प्रहसन र व्यङ्ग्यात्मक प्रस्तुतीमार्फत विसं २०६१ देखि हरेक वर्ष गाईजात्राको प्रस्तुति दर्शकसामू पस्किरहनुभएका जोगिन्दर उपनामले परिचित हाँस्यकलाकार शिवशङ्कर रिजालले नयाँ कोसेली ‘ठगाठग कम्पनी’ सार्वजनिक गर्नुभएको छ । यसमा उहाँकै लेखन, निर्माण तथा निर्देशन रहेको छ ।     
      
गाईजात्रा पर्वको परम्परा र संस्कृतिसँगै प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्र प्राप्तिपछि विद्यमान राजनीतिक, सामाजिक तथा आर्थिक विकृति र विसङ्गतिमाथि व्यङ्ग्य प्रहार गर्दै आफ्नो बाइसौँ गाईजात्रे कोसेली तयार गरेको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो । “विशुद्ध मनोरञ्जन दिने र विकृति विसङ्गतिमाथि प्रहार गर्दै चेतना प्रवाह गर्ने उद्देश्यले मैले कलाकारिता सुरू गरेदेखि नै हरेक वर्ष गाईजात्राको अवसरमा कोसेली ल्याउने गरेको छु । भूकम्प र कोरोना महामारीका वर्षमा भने निरन्तरता दिन सकिएन । राजनीतिक घटनाक्रम, सामाजिक विकृति विसङ्गतिदेखि, फेसन र ग्ल्यामरसम्मका विकृतिलाई व्यङ्ग्य गर्ने गरेको छुँ”, उहाँले भन्नुभयो ।     
      
क्यासेट, भिसिडी, सिडी हुँदै अहिले प्रविधिको प्रयोगलाई मध्यनजर गर्दै ‘ठगाठग कम्पनी’ इन्टरनेट (युट्युब) मा सार्वजनिक गरिएको हाँस्यकलाकार रिजालले जानकारी दिनुभयो । यसमा उहाँसँगै राधिका हमाल, गोपाल ढकाल ‘छन्दे’, दिनेश काफ्ले, सुरेश तिमिल्सेना, सिला उप्रेती, सोनम शेर्पा, वीजेन्द्र नौबागे, धीरेन्द्र सिंह, सावित्री लामिछाने, प्रेम शर्मा पौडेल लगायतका कलाकारले अभिनय गर्नुभएको छ । रिजालकानुसार यस प्रस्तुतिमा प्यारोडी गीत समावेश गरिएको छ ।     
देशका विभिन्न क्षेत्र विशेष गरी नेवार समुदायले मनाउने गाईजात्रा पर्वले परम्परागत, धार्मिक र सांस्कृतिक विशेषता बोकेको छ । गाईजात्रामा वर्षभरिको शोक र दुःख भुलाउन हास्यव्यङ्ग्यका कार्यक्रम र प्रस्तुति प्रस्तुत गर्ने परम्परा छ । यस वर्ष आगामी भदौँ ४ गते गाईजात्रा पर्व परेको छ ।   

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EQ509H4QEZQ7Y2QTDD21ES.jpg

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा शाह नियुक्त

सुदूरपश्चिम, २० साउन: सुदूरपश्चिमको मुख्यमन्त्रीमा नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाह नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख नजिर मियाँले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) को समर्थनमा शाहलाई आज मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । शाहलाई नागरिक उन्मुक्ति पार्टीको पनि समर्थन रहेको छ ।     
     
यसअघि आजै बसेको कांग्रेस संसदीय दलको बैठकले दलका नेता शाहलाई मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरेको थियो । मुख्यमन्त्रीका लागि कांग्रेसभित्र दलका नेता शाहलगायत बहादुरसिंह थापा, प्रकाशबहादुर देउवा र दिवानसिंह विष्ट आकांक्षी रहेका थिए । केन्द्रको निर्देशनअनुसार शाहलाई नै मुख्यमन्त्रीमा अघि सार्ने निर्णय गरिएको कांग्रेसले जनाएको छ ।     
     
शाह दोस्रो पटक प्रदेशको मुख्यमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँ विसं २०७९ मा भएको आमनिर्वाचनमा कैलाली निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित हुनुभएको थियो । यसअघि विसं २०७९ माघ २७ गते नेकपा (माओवादी केन्द्र) नागरिक उन्मुक्ति पार्टी, नेकपा (एकीकृत समाजवादी) को समर्थनमा उहाँ मुख्यमन्त्रीमा नियुक्त हुनुभएको थियो । केन्द्रमा फेरिएको समीकरणसँगै माओवादी केन्द्र र एकीकृत समाजवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नुभएका शाहले गत चैत्र २२ गते पदबाट राजीनामा दिनुभएको थियो ।     
     
त्यसपछि बनेको नयाँ समीकरणअनुसार गएको वैशाख ६ गते एकीकृत समाजवादी प्रदेशसभा संसदीय दलका नेता दीर्घबहादुर सोडारी मुख्यमन्त्री बन्नुभएको थियो । फेरि केन्द्रमा कांग्रेस र एमालेसहितको सत्ता गठबन्धन बनेपछि अल्पमनमा पर्नुभएका सोडारीले यही साउन १८ गते पदबाट राजीनामा दिनुभएको थियो ।     
सोही दिन मुख्यमन्त्री नियुक्तिका लागि प्रदेश प्रमुखद्वारा आह्वान भएअनुसार आज दिउँसो शाहले दाबी पेस गर्नुभएको थियो । मुख्यमन्त्रीका लागि ५३ सदस्यीय प्रदेशसभामा २७ जना आवश्यक पर्नेमा कांग्रेस र एमालेका २९ सदस्य छन् । नागरिक उन्मुक्तिले समर्थन गर्दा मुख्यमन्त्रीको पक्षमा ३६ सदस्य पुग्छ ।     
     
प्रदेशसभामा नेपाली कांग्रेसका १८, माओवादी केन्द्रका सभामुखबाहेक १०, एमालेका ११, नागरिक उन्मुक्तिका सात, एकीकृत समाजवादीका चार, राप्रपाका एक र एक स्वतन्त्र सदस्य छन् ।    

प्रकाशित मितिः आइतबार, २० साउन २०८१
https://jawaaf.com/storage/01J4EPZEYZQSVZX0ZGMZZP4W8S.jpg

एमाले केन्द्रीय कमिटी उपाध्यक्ष र सदस्यलाई सपथ

काटमाडौँ, २० साउन: नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालै पार्टीमा मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउनुभएको छ । पार्टी केन्द्रीय कार्यालय ललितपुर, च्यासलमा आज आयोजित कार्यक्रममा उहाँले उपाध्यक्षमा मनोनीत गुरु बराल र अन्य १६ जना केन्द्रीय सदस्यलाई सपथ गराउनुभएको हो ।     
      
प्रधानमन्त्री तथा अध्यक्ष ओलीले एमालेको विधान, २०४९ (संशोधित २०७८) को धारा ६६ को २ (च)मा भएको व्यवस्थाअनुसार मनोनीत पदाधिकारी र केन्द्रीय सदस्यलाई सपथ ग्रहण गराउनुभएको थियो ।     
      
मनोनीत केन्द्रीय सदस्यहरू सुवास कर्माचार्य (सिन्धुपाल्चोक), जितेन्द्र देव (सुनसरी), रामपृत राम (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमल तिमिल्सिना (अछाम), गोविन्द पुन (सल्यान) केदार सिग्देल (तनहुँ) र मनमोहन पौडेल (पर्वत) रहनुभएको छ ।     
      
यसैगरी हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (अर्घाखाँची), प्रभा कोइराला (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जवेगु (पाँचथर) मनोनीत केन्द्रीय सदस्यले आजै प्रधानमन्त्री ओलीबाट सपथ लिनुभयो ।     
      
नयाँ थपिएका १६ जनासहित अब एमालेमा तीन सय ७४ सदस्यीय केन्द्रीय कमिटी बनेको छ । गत साउन १७ गते बसेको सचिवालय बैठकले एक उपाध्यक्ष र १६ जना केन्द्रीय सदस्यलाई पार्टी विधानको धारा ६५ अनुसार मनोनयन गरेको थियो ।

प्रकाशित मितिः आइतबार, २० साउन २०८१