महिला भलिबलमा भारतमाथि नेपालको ऐतिहासिक जित
काठमाडौँ १९ साउनः राजधानीमा जारी काभा महिला भलिबल नेसन्स लिग भलिबल प्रतियोगितमा नेपालले पहिलो पटक भारतलाई पराजित गरेको छ ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा आज भएको खेलमा भारतलाई ३-२ को सेटमा पराजित गर्दै नेपालले एतिहासिक जित दर्ता गराएको हो । महिला भलिबल प्रतियोगितामा नेपालले पहिलो पटक भारतलाई हराएको हो । जारी प्रतियोगितामा नेपालको यो दोस्रो जित हो ।
निकै प्रतिस्पर्धात्मक खेलमा पहिलो सेट नेपालले २५-१८ ले जित्यो । खेलको दोस्रो सेट भारतले २५-१२ ले आफ्नो पक्षमा पार्यो । तेस्रो सेट भने नेपालले जित्यो । नेपालले भारतलाई २५-१७ ले पाखा लागायो । तर चौथो सेट १८-२५ ले गुमाएको नेपालले अन्तिम तथा निर्णायक पाँचौ सेटमा भारतलाई १५-१३ ले पराजित गर्यो ।
उक्त च्याम्पियनसिपमा नेपालसहित भारत, श्रीलङ्का, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्नेछन् । उक्त प्रतियोगिताअन्तर्गत भोलि दिउँसो ३ बजे हुने पहिलो खेलमा श्रीलङ्का र माल्दिभ्स भिड्नेछन् भने सवा पाँच बजे हुने दोस्रो खेलमा नेपालले इरानसँग खेल्नेछ । उक्त दुवै खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा हुनेछ ।
जारी प्रतियोगिताको आफ्नो पहिलो खेल नेपालले श्रीलङ्कालाई ३-० को सोझो सेटमा पराजित गरेको थियो । नेपालले श्रीलङ्कामाथि २५-१९, २५-१८, र २५-१९ ले पराजित गरेको थियो ।
समाजवादी विद्यार्थी युनियनको पुनर्गठन कार्यक्रम सम्पन्न
धरान, १९ श्रावण । जनता समाजवादी पाटी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको इकाई समिति पुनर्गठन कार्यक्रमबाट अध्यक्षमा विजय राई चयन भएकाछन् ।
सोही क्याम्पसको सभामा आयोजित पुनर्गठन कार्यक्रमले उपाध्यक्षहरुमा अस्मिता थापा मगर, प्रकाश कुलुङ्ग, सन्देश बेघा लिम्बु, अनिश बस्नेत, विशाल चाम्लिङ राई चयन भएकाछन ।
त्यसैगरी सचिव पदका लागि जितेन दुमी, सहसचिवहरुमा मिथिला लिम्बु, मन कुमार आले मगर, कस्मिर राई, ईराशा राई, दिलीप काम्दुङ र कोषाध्यक्षमा निशा दाहाल चयन भएकाछन । आजको पुनर्गठन कार्यक्रमले पदाधिकारी सहित पचासी सदस्य इकाई समिति निर्माण भएको समितिका अध्यक्ष विजय राईले जानकारी गराएका छन ।
समितिका उपाध्यक्ष अस्मिता थापा मगरका अनुसार, भाद्र ३१, २०८० मा समाजवादी विद्यार्थी युनियन महेन्द्र बहुमुखी क्याम्पस धरानको चौथो ऐतिहासिक इकाई अधिवेशन सम्पन्न भएको थियो । तर, उक्त अधिवेशन मार्फत चयन भएका अध्यक्ष, उपेन्द्र यादव नेतृत्वको पार्टी निकट विद्यार्थी संगठन समाजवादी विद्यार्थी युनियन नेपालमा रहने निश्चित भए पश्चात् इकाई समिति पुन गठन गर्नु परेको हो भनी जानकारी गराए ।
उक्त पुनर्गठन कार्यक्रममा यही क्याम्पसका पूर्व स्ववियु सभापति तथा जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य भीम राईको प्रमुख आतिथ्ययतामा सम्पन्न भएको थियो । त्यसैगरी विशेष अतिथिमा समाजवादी विद्यार्थी युनियनका केन्द्रीय उपमहासचिव बरदान राई, अतिथिहरूमा किरात राष्ट्रिय समिति बाट मान भगत चाम्लिङ, जिल्ला समितिबाट हरी वान्तावा, धरान नगर समितिबाट अध्यक्ष नगेन्द्र पारघरी लिम्बु, सचिव शम्भु राई (पृथक),समाजवादी युवा संघ धरान नगर अध्यक्ष रञ्जित राई, समाजवादी विद्यार्थी युनियन जनता बहुमुखी क्याम्पस इकाई अध्यक्ष तथा स्ववियु प्रवक्ता लक्ष्मण लिम्बु लगायतको उपस्थितिरहेको थियो ।
प्राधिकरणका कर्मचारी कुटिए
किमाथाङ्का (सङ्खुवासभा), १९ साउनः नेपाल विद्युत् प्राधिकरण कार्यालय सङ्खुवासभाको शाखा कार्यालय मादीका इञ्चार्जसहित दुईजना कर्मचारीमाथि कुटपिट भएको छ ।
विद्युत् महसुल नतिरेपछि लाइन काटेको जनाउँदै लाइन जोड्न धम्की दिँदै कर्मचारीमाथि कुटपिट भएको शाखा कार्यालयका प्रमुख शत्रुधन यादवले जानकारी दिनुभयो । उहाँका अनुसार इञ्चार्ज राजकुमार राई र प्रदीप जिमी यही साउन १५ गते कुटपिट भएको थियो ।
कुटपिट गरेको आरोपमा मादी नगरपालिका–४ ओखरबोटका स्थानीय लक्ष्मण लिङ्थेप र हर्कहाङ लिम्बू विरुद्ध इलाका प्रहरी कार्यालय चैनपुरमा मुद्दा दर्ता भएको
कार्यालयका प्रहरी निरीक्षक बाबुराम कार्कीले जानकारी दिनुभयो । “निजहरु विरुद्ध अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता भएको छ । उजुरी लगत्तै उहाँहरु फरार भएकाले खोजी कार्य भइरहेको छ”, उहाँले भन्नुभयो ।
विद्युत् महसुल नतिरेर लाइन काटिएको विषयमा विवाद हुँदा राई र जिमीमाथि गाली गलौज, हातपात तथा कुटपिट भएको थियो । स्थानीय लिङ्थेपको क्रशर उद्योगले रु छ लाख ४० बक्यौता नतिरेपछि प्राधिकरणले लाइन काटेको प्रमुख यादवले बताउनुभयो । कर्मचारीमाथि कुटपिट भएपछि मादीस्थित शाखा कार्यालय गत साउन १५ गतेदेखि बन्द छ ।
उक्त कार्यालयमा छजना कर्मचारी कार्यरत छन् । शाखा कार्यालय बन्द भएपछि सेवाग्राही मारमा परेका छन् । कर्मचारीमाथि कुटपिट भएपछि अन्य कर्मचारी त्रासमा रहेकाले कार्यालय बन्द गरेर सदरमुकाम आएका छन् ।
मधेस प्रदेशको औद्योगिक विकासमा सघाउने मुख्यमन्त्रीको प्रतिबद्धता
जनकपुर, १९ साउनः मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले यहाँ रहेका उद्योग तथा वाणिज्य क्षेत्रको विकासमा प्रदेश सरकारले सकारात्मक सहयोग गर्ने बताउनुभएको छ ।नेपाल उद्योग वाणिज्य महासङ्घ मधेस प्रदेशका प्रतिनिधिमण्डलसँग आज यहाँ भएको भेटमा मुख्यमन्त्री सिंहले प्रदेशमा रहेका औद्योगिक, वाणिज्य क्षेत्रको विकास गर्दै व्यवसायीको मनोबल उच्च बनाउन प्रदेश सरकार सधैँ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले बारा–पर्सा औद्योगिक कोरिडोर घोषणा गर्न सङ्घ सरकारसँग छलफल गरिने उल्लेख गर्नुभयो ।
औद्योगिक कोरिडोर घोषणा गर्न प्रदेश सरकारले योजनाबद्ध रुपमा काम गरिरहेको बताउँदै मुख्यमन्त्री सिंहले आवश्यकताका आधारमा सङ्घ सरकार समन्वय गर्ने बताउनुभयो । “कानुनसम्मत भएको खण्डमा बारा–पर्सा औद्योगिक करिडोरको घोषणा प्रदेश सरकारले गर्नेछ । यो विषयमा सरोकार भएकासँग आवश्यक छलफल गरी निर्णय गर्नेछौँ”, उहाँले भन्नुभयो ।
मुख्यमन्त्री सिंहले उद्योगको आवश्यकता र अपेक्षाअनुसार दक्ष कामदार उत्पादन गर्न प्रदेश सरकारले सीपमूलक तालिम दिने योजना बनाइरहेको जानकारी दिनुभयो । उहाँले उद्योगलाई आवश्यक पर्ने कच्चा पदार्थ नियमित र सहज रुपमा आपूर्तिको व्यवस्था गर्ने विषयमा प्रदेश सरकार गम्भीर रहेको बताउनुभयो ।
“यहाँका सिमेन्ट उद्योगले अन्तर्राष्ट्रियस्तरमा प्रतिस्पर्धा गर्न नसकिरहेको विषयमा अध्ययन टोली गठन गर्नेछौँ”, मुख्यमन्त्री सिंहले भन्नुभयो । प्रदेशका सिमेन्ट उद्योगले प्रतिबोरा रु एक राजस्व तिर्नुपर्ने दायित्व निर्वाह गर्नुपर्नेमा जोड दिँदै उहाँले यहाँका केही उद्योगले मात्र राजस्व बुझाएका बताउनुभयो ।
प्रदेश सरकार इ–गभर्नेन्समा जान लागेको भन्दै उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयमार्फत औद्योगिक क्षेत्रको प्रवर्द्धन गर्न प्रविधिसँग जोड्ने तयारी भइरहेको मुख्यमन्त्री सिंहले जानकारी दिनुभयो ।
बारा र पर्साका उद्योगी, व्यापारीको प्रतिनिधित्व रहेको महासङ्घको टोलीले प्रदेशको समृद्धिका लागि कृषि, पर्यटन, उद्योग क्षेत्रका चुनौती र सम्भावनाका बारेमा मुख्यमन्त्री सिंहलाई ध्यानाकर्षण गराउनुभएको थियो ।
प्रतिनिधिमण्डलले जनकपुरधाम तथा मधेसको सर्वाङ्गीण विकास, काठमाडौँस्थित श्रम अदालतको अधिकार प्रदेशको उच्च अदालतमा प्रत्यायोजन र वातावरणीय अध्ययन प्रतिवेदनका काम प्रदेश उद्योग विभागका महानिर्देशकले गर्नेगरी कानुनी व्यवस्था गर्नुपर्ने आग्रह गरेको छ ।
कृषिक्षेत्र वर्गीकरण गर्नुपर्ने, केन्द्र सरकारको क्षेत्राधिकारमा रहेका खाद, बीउलगायत कृषिजन्य वस्तु प्रदेश सरकारमार्फत वितरण हुनुपर्ने, व्यावसायिक खेती र मूल्यमा आधारित कृषि वस्तुको अनुसन्धान गर्न राज्यले उत्प्रेरित गर्नुपर्ने, जडीबुटीलगायत अन्य वनजन्य उत्पादनको अनुमति प्रदेश सरकारबाट लिइनुपर्ने व्यवस्था, प्रदेशस्तरमा व्यापार तथा निर्यात केन्द्र सञ्चालन गरिनुपर्नेलगायत माग प्रतिनिधिमण्डलको छ ।
उद्योग, वाणिज्य महासङ्घ जनकपुरले धनुषाधामस्थित वन तथा मन्दिरको सौन्दर्यकरण गरिनेपर्ने, जनकपुरधामको १५ दिने परिक्रमाका हजारौँ तीर्थयात्रीको रात्रीबासको व्यवस्था, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, जनकपुरधाम–जयनगर रेल्वेमा मालवाहक गाडीको व्यवस्था, जनकपुरधामका पोखरी, मन्दिर, धार्मिक तथा पर्यटकीय स्थलको योजनाबद्ध विकास, किसानलाई प्राविधिक ज्ञानलगायत विषयमा मुख्यमन्त्री सिंहको ध्यानाकर्षण गराएको छ ।
देशभर २५ जनामा हैजा पुष्टि
काठमाडौँ, १९ साउनः मुलुकभर हैजा सङ्क्रमितको सङ्ख्या २५ पुगेको छ । स्वास्थ्य सेवा विभागअन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी)ले सार्वजनिक गरेको पछिल्लो बुलेटिनअनुसार मुलुकभर सङ्क्रमितको सङ्ख्या २५ पुगेको हो ।
पछिल्लो २४ घण्टामा दुई जनामा सङ्क्रमण पुष्टि भएको छ । अहिलेसम्म ललितपुरको गोदावरी नगरपालिकामा १६, काठमाडौँको टोखा नगरपालिकामा आठ र कैलालीको धनगढी उपमहानगरपालिकामा एकजनामा हैजा सङ्क्रमण देखिएको इडिसिडीले जनाएको छ ।
हैजा ‘भिब्रियो कोलेरी’ प्रजातिको जीवाणुबाट मानिसमा लाग्ने अति सङ्क्रामक झाडापखालासम्बन्धी रोग हो । हैजालगायत पानीजन्य रोगहरुबाट बच्न सरसफाइमा ध्यान दिन र पानी उमालेरमात्र पिउन स्वास्थ्य क्षेत्रका विज्ञले सुझाव दिएका छन् ।
सुपारीखेती भरपर्दो आम्दानीको स्रोत
भद्रपुर (झापा), १९ साउन : झापामा नगदेबालीका रुपमा लगाइने सुपारीखेती भरपर्दो आम्दानीको स्रोत बन्दै गएको छ । कम लगानीमा राम्रो प्रतिफल दिने भएकाले यहाँका किसान सुपारीखेतीतर्फ आकर्षित भएका हुन् ।
झापाको बुद्धशान्तिका रुद्रप्रसाद पोखरेलले दुई बिघाभन्दा बढी जमिनमा सुपारीखेती गर्नुभएको छ । “व्यापारी बगानमै आएर सुपारी खरिद गर्ने भएकाले बजारको चिन्ता छैन । वार्षिक रु पाँच लाखभन्दा बढी आम्दानी भइरहेको छ । मेहनत गर्ने हो, गोडमेल गर्ने हो भने आम्दानी अझै बढाउन सकिन्छ”, उहाँले भन्नुभयो ।
सुपारीले अन्य बालीलाई असर नगर्ने भएकाले यसतर्फ आकर्षण बढेको बुद्धशान्तिका चन्द्रशेखर पौडेल बताउनुहुन्छ । “मैले एक बिघा १२ कट्ठा जमिनमा सुपारीखेती गरेको छु, सुपारीको बारी भित्रै सिजनअनुसार तरकारी, रोपाइँ र मकै खेती गर्ने गरेको छु । सुपारीबाट मात्रै वार्षिक रु तीन लाखभन्दा बढी आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।
अरु खेती लगाउँदा हात्तीले नोक्सान गर्ने भएकाले नगदेबाली सुपारी खेतीमा लागेको अर्का किसान निर्मल भट्टराई बताउनुहुन्छ । उहाँका अनुसार सुपारीका दानासँगै यसको पत्ताबाट दुनाटपरी बनाउन सकिन्छ । सुपारीको बोटमा फल लागेदेखि नै व्यापारीले अग्रिम भुक्तानी गर्ने गरेको अर्का किसान बिन्दु पौडेल बताउनुहुन्छ ।
“बिरुवा लगाएको सात वर्षदेखि यसले फल उत्पादन सुरु गर्छ । त्यसपछि निरन्तर यसबाट वार्षिक रुपमा आम्दानी भइरहन्छ”, उहाँले भन्नुभयो ।
राज्यले उन्नत जातका सुपारीका बिरुवामा लगानी गर्दै किसानको उत्पादनलाई बजारीकरणमा समन्वय गरिदिने हो भने सुपारीखेती गर्ने किसानको आम्दानी बढ्दै जाने स्थानीय प्रेम राई बताउनुहुन्छ । “पहिले घरआँगन सजाउनका लागि सुपारीका बिरुवा रोप्ने गरिन्थ्यो । पछिल्लो समय सुपारीखेती व्यावसायिक रुपमा गर्दै वार्षिक लाखौँ रुपैयाँ आम्दानी भइरहेको छ”, उहाँले भन्नुभयो ।
आजदेखि भानु कप फुटबल
दमौली (तनहुँ), १९ साउन : तनहुँमा आजदेखि १७औँ भानु कप फुटबल प्रतियोगिता सुरु हुँदैछ । भन्सार युवा क्लबको आयोजनामा भानु नगरपालिका–१ भन्सारस्थित खेल मैदानमा उक्त प्रतियोगिता हुन लागेको हो ।
भानुभक्त आचार्यको जन्मथलो चुँदीरम्घाको प्रचारप्रसारका लागि क्लबले प्रत्येक वर्ष फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ । क्लबका खेल संयोजक विष्णु अधिकारीका अनुसार उद्घाटन खेलमा साविक विजेता तनहुँको सेभेन स्टार युवा क्लब र योङ ब्वाइज एफसी चितवनबीच हुनेछ ।
यही साउन २६ गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा २४ टोलीको सहभागिता रहने क्लबका अध्यक्ष अर्जुनकुमार श्रेष्ठले जानकारी दिनुभयो । नकआउट चरणमा खेलाइने सो प्रतियोगिताको विजेताले रु दुई लाख ५० हजार दुई सय ११ तथा उपविजेताले रु एक लाख २५ हजार दुई सय ११ सहित ट्रफी प्राप्त गर्नेछन् । त्यस्तै सेमिफाइनलमा पुग्ने दुई टोलीले जनही रु २५ हजार दुई सय ११ पुरस्कार प्राप्त गर्नेछन् ।
प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई रु पाँच हजार दुई सय ११, उत्कृष्ट गोलरक्षकलाई रु पाँच हजार दुई सय ११ तथा सर्वाधिक गोलकर्तालाई रु पाँच हजार दुई सय ११ पुरस्कार प्रदान गरिनेछ । सोही अवसरमा आयोजना हुने छेलोतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ र बाघचालतर्फ प्रथम हुनेलाई रु ६ हजार दुई सय ११ पुरस्कार प्रदान गरिने आयोजक संस्थाले जनाएको छ ।
अटोमा सवार दुई जनालाई खोलाले बगायो
तुलसीपुर, १८ साउन : दाङमा अटो चढेका दुई जनालाई खोलाले बगाएको छ । आज साँझ ७ः३० बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गरेको अटो काला खोलाले बगाउँदा दुई जना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोखरेलले बताउनुभयो ।
तुलसीपुर उपमहानगरपालिका–४ खाद्रेतर्फ जाँदै गर्दा अटो खोलाले बगाएको हो । अटोमा सवार पाँच जनामध्ये तीन जना सकुसल रहेका छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ । नियमितको वर्षाका कारण दाङका नदी तथा खोलामा पानीको बहाव बढेको छ ।
इलाममा मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते
फिक्कल (इलाम), १८ साउनः इलाममा मोटरसाइकल दुर्घटनामा परी एकको मृत्यु भएको छ । अन्य दुई जना गम्भीर घाइते भएका छन् ।
झापाबाट माई नगरपालिकातर्फ आउँदै गरेको ना ४८ प ८६३८ नम्बरको मोटरसाइकल जिल्लाको माई नगरपालिका–२ स्थित सितली र नमस्ते चोक जोड्ने गरुवा खोला पुलमा आज साँझ ६ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो ।
तीन जना सवार मोटरसाइकल दुर्घटनामा परी मोटरसाइकलको बीचमा सवार माई नरपालिका–१० गजेनी भञ्ज्याङका २६ वर्षीय दिनेश कार्कीको घटनास्थलमा नै मृत्यु भएको छ । अन्य दुई गम्भीर घाइते भएको स्थानीय लोदिया प्रहरी चौकी दानाबारीका हवल्दार सरोजकुमार यादवले जानकारी दिनुभयो ।
मोटरसाइकल चालक माई नगरपालिका–१० गजेनी भञ्ज्याङकै ३२ वर्षीय विनोद लिम्बू र पछाडि सवार सोही ठाउँका १६ वर्षीय रोशन लिम्बू गम्भीर घाइते भएका छन् । विनोदको टाउको र बाँयाँ खुट्टामा गम्भीर चोट लागेको छ भने रोशनको बायाँ हात र मुखमा चोट लागेको छ । उनीहरु दवैको झापाको विर्तामोडस्थित बिर्तासिटी अस्पतालमा उपचार भइरहेको यादवले जानकारी दिनुभयो ।
मोटरसाइकल लोदिया प्रहरी चौकीले नियन्त्रणमा लिई आवश्यक अनुसन्धान सुरु गरेको प्रहरीले जनाइएको छ ।
एकीकृत समाजवादीद्वारा केन्द्रीय कमिटीलाई पूर्णता
काठमाडौँ, १८ साउन : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएको छ । पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आज बसेको केन्द्रीय समिति बैठकले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितको तीन सदस्यीय कार्यदलले सिफारिस गरेका नामलाई अनुमोदन गरेसँगै केन्द्रीय कमिटीले पूर्णता पाएको हो ।
केन्द्रीय सदस्य सोमप्रसाद पाण्डेयले आजको बैठकले दुई सय ५१ केन्द्रीय सदस्य मनोनित गरेको र अब १८ पदाधिकारी छनोट गरिने जानकारी दिनुभयो । गत असार १६ देखि २० गतेसम्म सम्पन्न महाधिवेशनले तीन पदाधिकारी र ९० केन्द्रीय सदस्य चयन गरेको थियो । अब केन्द्रीय कमिटी तीन सय ४४ सदस्यीय बनेको छ ।
पार्टीमा केन्द्रीय सदस्यका लागि आकांक्षी धेरै भएपछि नेताहरूको योगदान, कार्यक्षमता तथा भूगोल, क्षेत्र तथा सन्तुलन मिलाएर विधानअनुसार बनाइएको क्लष्टर तथा सातै प्रदेशबाट सिफारिस नामावलीका आधारमा कार्यदलले केन्द्रीय सदस्य तोकेको पाण्डेयले बताउनुभयो ।
आगामी बैठकबाट पदाधिकारी, विभाग र आयोग तथा नेताहरूको जिम्मेवारीसमेत बाँडफाँट गरिने जनाइएको छ ।
