‘उज्यालो इटहरी’ अभियान
इनरुवा, २० असार । सुनसरीको इटहरी उपमहानगरपालिकाले ‘उज्यालो इटहरी’ अभियान सुरु गरेको छ । अभियानअन्तर्गत उपमहानगरको विभिन्न चोक तथा मुख्य सडकसँगै विद्युत्का खम्बामा बत्ती जडान गर्ने कार्य सुरुआत गरिएको छ । इटहरी–१ स्थित बजार तथा चोकमा सडक बत्ती जडान गरी अभियान थालिएको इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेलले जानकारी दिनुभयो ।
सबै वडालाई उज्यालो बनाउने अभियानअन्तर्गत २० वटै वडामा रहेका विद्युत्का खम्बामा बत्ती राख्ने अभियान सुरु गरेको उहाँले बताउनुभयो I
रास्वपा महामन्त्री एवं प्रवक्ता डा ढकाल निलम्बित
काठमाडौँ, २० असार I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टीका महामन्त्री एवं प्रवक्ता डा मुलुक ढकाललाई एक हप्ताका लागि निलम्बन गरेको छ । पार्टीको अनुशासन आयोगको सिफारिसमा उहाँलाई पार्टीको केन्द्रीय समितिले निलम्बन गरेको हो । बुधबार राति अबेरसम्म बसेको पार्टीको केन्द्रीय समितिको बैठकले डा ढकाललाई बैठकमा अमर्यादित र अनुशासनहीन काम व्यवहार गरेको भन्दै कारबाहीका लागि निर्णय गरेको थियो ।
“केन्द्रीय समितिको बैठकमा उहाँले पार्टीको अनुशासनविपरीत अभद्र, अमर्यादित व्यवहार प्रस्तुत गर्नुका साथै पार्टीको छवि प्रतिकूल पार्ने अभिव्यक्ति दिँदै हिँड्नुभएकाले उहाँलाई निलम्बन गर्ने निर्णय गरिएको हो”, केन्द्रीय सदस्य सोविता गौतमले भन्नुभयो, “तत्काललाई पार्टी सहमहामन्त्री कविन्द्र बुर्लाकोटिलाई कार्यवाहक महामन्त्री र सहप्रवत्ता मनिष झालाई कार्यवाहक प्रवक्ता तोकिएको छ ।”
डा ढकालको समीक्षा यात्राको प्रतिवेदनबारे बुधबार बिहानदेखि राति १२ बजेसम्म छलफल भएको थियो । बैठकमा उहाँले बैठकको प्रत्यक्ष प्रशारण गर्न र प्रतिवेदन सार्वजनिक नगरेको जनाउँदै मुखमा माक्समाथि कालो टेप लगाएर आपत्ति जनाउनुभएको थियो ।
बैठकको सुरुआतमा महामन्त्री डा ढकालले केन्द्रीय समितिको बैठकलाई प्रत्यक्ष प्रसारण गर्नुपर्ने माग राख्नुभएको र सभापतिले उक्त प्रस्तावमा आफ्नो मञ्जुरी रहेको उल्लेख गरे पनि अन्य सदस्यले महामन्त्रीको प्रस्तावविरुद्ध मत राख्दै प्रत्यक्ष प्रसारण नगर्ने निर्णय गरेको कार्यवाहक प्रवक्ता झाले बताउनुभयो ।
आफ्नो माग पारित नभएपछि महामन्त्रीले आफ्नो लोकतान्त्रिक अधिकार हनन भएको जनाउँदै कालोपट्टी बाँधेर बैठकमा सहभागी हुनुभएको थियो ।
उक्त बैठकमा डा ढकालमाथि कारबाहीसम्बन्धी छलफलका लागि केन्द्रीय अनुशासन आयोगका प्रमुख डा भरतमणि देवकोटालाई समेत बैठकमा आमन्त्रित गरिएको थियो । डा ढकालले सामाजिक सञ्जालमा निलम्बन पत्रसहित पार्टी सभापति रवि लामिछानेप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ ।
गाउँ–गाउँमा क्षयरोगका बिरामी खोजी अभियान
तुलसीपुर (दाङ), २० असार I नेपाललाई क्षयरोगका बिरामी मुक्त बनाउने अभियानअन्तर्गत गाउँ–गाउँमा यसका बिरामी खोजी अभियान थालिएको छ । सो अभियान यस वर्ष दाङका तुलसीपुर उपमहानगरपालिका र गढवा गाउँपालिकामा थालिएको छ । सोहीअनुसार गाउँ–गाउँमा गएर क्षयरोगका बिरामी पहिचान गरी उपचार थालिएको तुलसीपुर–४ स्थित हलवार स्वास्थ्यचौकी प्रमुख शिवप्रसाद तिवारीले बताउनुभयो । “अहिले पनि धेरै क्षयरोगका बिरामीको पहिचान हुन सकेको छैन”, उहाँले भन्नुभयो, “त्यसका लागि गाउँ–गाउँमा अभियान लिएर बिरामीको खोजी गर्न थालिएको छ ।” क्षयरोगका बिरामीको पहिचान नहुँदा रोग सार्ने क्रम झनै बढिरहेको भन्दै यो अभियान थालिएको हो ।
गाउँ–गाउँमा गएर खकार परीक्षण गर्ने, गाउँ–गाउँमा गएर यो रोगबारे जनचेतना अभिवृद्धि गराउनेजस्ता कार्यक्रमको कार्ययोजना बनाएर सुरु गरेको उहाँको भनाइ छ । जनचेतना कार्यक्रमका लागि आमा समूह, समुदाय, विद्यालय शिक्षा, होर्डिङ बोर्ड निर्माण गर्ने, भित्ते लेखन तथा माइकिङ गर्ने कार्य हुने प्रमुख तिवारीको भनाइ छ । उहाँका अनुसार अहिलेसम्म तुलसीपुर–४ मा सात जना क्षयरोगीले उपचार गराइरहेका छन् ।
तुलसीपुरमा चालु वर्षमा दुई सय ६५ क्षयरोगी छन् । तीमध्ये एकसय ३२ जनामा खकार देखिएका, ३६ जना खकारमा नदेखिएका र ७२ जना फोक्सोभन्दा बाहिर रहेको तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखाका फोकल पर्सन विमल केसीले बताउनुभयो ।
उहाँका अनुसार चालु वर्षमा क्षयरोगबाट तुलसीपुरमा आठ जनाको मृत्यु भएको छ । सबै क्षयरोगी सम्पर्कमा नआउने भएकाले पनि उनीहरुको खोजी गर्ने गरी अभियान सञ्चालन हुने उहाँको भनाइ छ । “धेरै क्षयरोगी स्वास्थ्य संस्थाको सम्पर्कमा नआउँदा एथेष्ट जानकारी आउने गरको छैन”, उहाँले भन्नुभयो, “जसले गर्दा क्षयरोगीका बिरामीले अरुलाई पनि सारिरहेका हुन सक्छन्, त्यसैले अहिले सबै वडामा यस्तो कार्यक्रम चलिरहेको छ ।” उहाँका अनुसार आँकडाअनुसार तुलसीपुरमा चारसय ३८ को हाराहारीमा बिरामी पहिचान हुनुपर्ने भए पनि त्यसो छैन ।
तुलसीपुरमा सबैभन्दा बढी ६५ वर्षमाथिका व्यक्तिमा क्षयरोगको समस्या देखिएको छ । चुरोट, गुट्खा, जाँड,रक्सी खाने व्यक्तिमा बढी यो समस्या देखिने गरेको केसीले बताउनुभयो । दाङमा एक हजार चार सय ५३ जना क्षयरोगका बिरामी भेटिएका छन्, भने लुम्बिनी प्रदेशमा आठ हजार ८५ बिरामी छन् ।
दाङमा क्षयरोग परीक्षणका लागि दुईवटा आधुनिक मेसिन रहेका छन् । एउटा मेसिन घोराही र एउटा लमही रहेका छ । त्यस्तै माइक्रोस्कपी २० वटा, डिओटिएस ५० वटा रहेका छन् । गएको आवमा २५ स्थानीय तहमा यो कार्यक्रम चलेको थियो ।
नौबिसे नागढुङ्गा सडक आज र भोलि राति बन्द हुने
मलेखु (धादिङ), १९ असार I नौबिसे नागढुङ्गा सडकखण्ड आज र भोलि राति बन्द गरिने भएको छ ।
त्रिभुवन राजथपअन्तर्गत पर्ने नौबिसे खोलामा बन्दै गरेको पुलको काम गर्न लागिएकाले सम्भावित जोखिमलाई मध्यनजर गरी आज र भोलि राति १० बजेदेखि बिहान ३ बजेसम्म दुईतर्फी सडक बन्द गर्न लागिएको हो ।
दिउँसोको समयमा गाडीको चाप बढी हुने भएकाले रातिको समयमा पाँच घण्टा सवारी आवागमन बन्द गरेर काम गर्न लागिएको नागढुङ्गा मुग्लिन सडक आयोजना (पूर्वी खण्ड)का सिनियर डिभिज्नन इञ्जिनियर ईश्वरबहादुर रिजालले जानकारी दिनुभयो । “पुलको आरसिसी विम (प्रिकास्ट ब्रिज गर्डर) पुलभन्दा बाहिरको जमिनमा बनाइएको छ । त्यसलाई क्रेनले उचालेर पुलको दुवैतर्फको पिल्लर (एभिडमेन्ट)मा राख्नुपर्नेछ”, इञ्जिनियर रिजालले भन्नुभयो, “नयाँ पुलमा का गर्ने भए पनि पुरानो पुलसँगै रहेकाले आइपर्नसक्ने जोखिमलाई मध्यनजर गरी सवारी रोकेर काम गर्न लागिएको हो ।”
हेभी इक्पिमेन्टको प्रयोग भइरहँदा सवारीसाधन आवागमनमा बाधा पर्न जाने भएकाले सवारीको चाप नहुने समय (रातिको समय)मा काम गर्न लागिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । मिश्रका अनुसार एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सवारीसाधनलाई पूर्ण रुपमा रोकिने छ । चालकलाई आफ्नो लेन अनुशासन कायम राख्न र जथाभावी ओभरटेक नगर्न सूचना जारी गरिएको पनि उहाँले बताउनुभयो ।
उक्त समयमा दुईपाङ्ग्रे तथा साना सवारीसाधन प्रयोगकर्ताले वैकल्पिक मार्गको रूपमा धार्के शीतापाइला सडक प्रयोग गर्न सक्नेछन् ।
तीस दिनभित्र दोहोरो पद छोडिसक्न सहकारी संस्थाका सञ्चालकलाई निर्देशन
काठमाडौँ, १९ असार I सहकारी विभागले एउटै व्यक्ति दुई वा त्यसभन्दा बढी सहकारी संस्थाको सञ्चालक हुन नपाउने व्यवस्था गरेको छ ।
विभागले कोही दोहोरो पदमा रहेको भए त्यसलाई त्यागेर एकल पद कायम गर्न सबै सहकारी संस्थालाई आज निर्देशन दिएको हो ।
सहकारी ऐन २०७४ को दफा ४१ (५) मा कुनै व्यक्ति एकै समयमा एकमात्र सहकारी संस्थाको सञ्चालक हुन सक्ने व्यवस्था रहेकोले ऐनको उक्त प्रावधान कार्यान्वयन गर्न निर्देशन जारी गरिएको सहकारी विभागका रजिष्ट्रार पीताम्बर घिमिरेले जानकारी दिनुभयो । सहकारी बैंकको हकमा पनि पनि यस्तै निर्देशन दिइएको छ ।
यो निर्देशन कार्यान्वयन भए–नभएको अनुगमन गरिने र यदि कार्यान्वयन नभएको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि विभागले जनाएको छ । विभागले आजै सहकारी संस्थाका ऋणीहरुको कर्जा तीन महिनाका लागि पुनर्तालिकीकरण गर्न परिपत्र पनि गरेको छ ।
“परिस्थितिजन्य कारणले समस्यामा परी कर्जालाई नियमित गर्न नसकेका ऋणीलाई कर्जा चुक्ता गर्न परेको कठिनाईलाई दृष्टिगत गरी ऋणी सदस्यलाई परेको प्रभाव मूल्याङ्कन गरी सदस्यको माग, आवश्यकता र औचित्यका आधारमा गत वर्ष खराब ऋणीको सूचीमा नपरेका र यसअघि यस्तो सुविधा नलिएका ऋणीहरुको हकमा मात्र कर्जा पाकेको ५० प्रतिशत ब्याज भुक्तानी गरेमा बाँकी साँवालाई तीन महिनाको अवधिका लागि पुनर्तालिकीकरण गर्न सकिनेछ”, विभागको परिपत्रमा भनिएको छ ।
नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो
काठमाडौँ, १९ असार I नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य अङ्कको सुधार देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ७९ अङ्कले बढेर दुई हजार एक सय चार दशमलव २२ को अङ्कमा कायम भएको हो ।
आज तीन सय १४ कम्पनीको एक करोड ७१ लाख ३४ हजार ८२ कित्ता शेयर ६१ हजार एक सय ९९ पटक खरिद बिक्री हुँदा कारोबार रकम रु पाँच अर्ब आठ करोड ३५ लाख २८ हजार नौ सय ३५ बराबर पुगेको छ ।
आजको कारोबारमा व्यापार समूहको सूचक सबैभन्दा धेरै छ दशमलव १२ र वित्त समूहको सूचक छ दशमलव ०४ प्रतिशतले बढेको छ । बैंकिङ शून्य दशमलव ६३, विकास बैंक दुई दशमलव ७१ र लगानी शून्य दशमलव १८ प्रतिशतले बढेको छ । अरु सबै समूहको उपसूचक घटेको छ ।
होटल तथा पर्यटन शून्य दशमलव १९, जलविद्युत् शून्य दशमलव ६८, जीवन बीमा शून्य दशमलव २५, उत्पादन तथा प्रशोधन एक दशमलव ०७, लघुवित्त शून्य दशमलव १४, म्युचुअल फण्ड शून्य दशमलव ०९, निर्जीवन बीमा शून्य दशमलव २३ र अन्य समूह शून्य दशमलव ६७ प्रतिशतले घटेको छ ।
सेन्ट्रल फाइनान्स कम्पनी लिमिटेड र आइसीएफसी फाइनान्स लिमिटेडको शेयर मूल्यमा आज सकारात्मक सर्किट लागेको छ । सबैभन्दा धेरै गुमाउनेमा भने चिर्खुवा हाइड्रोपावर लिमिटेडको शेयर मूल्य चार दशमलव ७० प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै मञ्जुश्री फाइनान्स लिमिटेडको रु २३ करोड एक लाख ७७ हजार सात सय ७४ बराबरको कारोबार भएको छ । कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरै एनएमबी–५० को ३८ लाख १४ हजार आठ सय १५ कित्ता शेयर किनबेच भएको छ ।
नेपालमा पहिलोपटक एआईको प्रयोगसम्बन्धी अवधारणापत्र तयार
काठमाडौँ, १९ असार I सरकारले पहिलोपटक आर्टिफिसियल इन्टेलिजेन्स (एआई)को प्रयोग तथा अभ्याससम्बन्धी अवधारणापत्र तयार गरेको छ । विश्वव्यापी रुपमा एआईको विकास र प्रयोग बढ्दै गए पनि नेपालमा कुनै नीति र कानुन नभएकाले यससम्बन्धी आवश्यक नीति र कानुन निर्माणको आधार तय गर्न सरकारले अवधारणापत्र तयार गरेको हो ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गठन गरेको प्राविधिक समितिले झण्डै पाँच महिना लामो अध्ययनपछि अवधारणापत्र तयार गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माको निर्देशानुसार मन्त्रालयले सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा पाँच सदस्यीय प्राविधिक समिति गठन गरेको थियो ।
समितिका सदस्य मन्त्रालयका उपसचिव नारायण तिमिल्सिना, सूचना प्रविधि विभागका सूचना प्रविधि निर्देशक पवित्र डङ्गोल, इञ्जिनीयरिङ अध्ययन संस्थानका उपप्राध्यापक डा बाबुराम दवाडी र सदस्य सचिवमा मन्त्रालयका कम्प्युटर इञ्जिनीयर सूर्यप्रकाश उपाध्याय रहनुभएको थियो । गत माघ ५ गते गठित समितिले अवधारणापत्रसम्बन्धी प्रतिवेदन तयार पारेर मन्त्रालयमा पेस गरेको छ । प्रतिवेदनले एआईको विकास, प्रयोग र नियमनका लागि सरकारले आवश्यक नीति, कानुन र कार्यविधि बनाउनुपर्ने सुझाव दिएको छ ।
साइबर सुरक्षा, डाटा सुरक्षण र गोपनीयताका विषयलाई नीतिगत तहमा सम्बोधन गर्नुपर्ने आवश्यकता आँैल्याउँदै प्रतिवेदनले एआईसम्बन्धी राष्ट्रिय नीतिको तर्जुमा, राष्ट्रिय रणनीतिको निर्माण, कानुनी आधारसहित डाटा सुरक्षण रुपरेखा, एआईको प्रयोग र प्रयोगकर्ताको गोपनीयता तथा सुरक्षण समेटिएका नीति र कानुनको अन्तर्राष्ट्रिय मापदण्डसँग अनुकूलन हुने गरी मानक निर्धारण गर्नुपर्ने सुझाव दिएको छ ।
प्रतिवेदनले एकीकृत राष्ट्रिय पोर्टलको विकास गरी एआईसम्बन्धी सूचना आदानप्रदान गर्न एकीकृत संरचनाको निर्माण गर्नुपर्ने, यस विषयमा अनुसन्धान, विकास र उपयोगलाई प्राथमिकताका साथ अघि बढाउनुपर्ने, एआईको प्रयोगमा गति प्रदान गर्ने गरी कार्यक्रम सञ्चालन गर्नुपर्ने, यसको रुपान्तरणकारी प्रकृतिलाई आर्थिक सामाजिक विकासमा उपभोग गर्न राष्ट्रिय परियोजना एवं क्षेत्रगत पहलको विकास गर्नुपर्ने सुझाव दिइएको मन्त्रालयका उपसचिव एवं अवधारणापत्र तयारी प्राविधिक समितिका सदस्य तिमिल्सिनाले जानकारी दिनुभयो ।
“गोपनीयता संरक्षण, पारदर्शीता र जवाफदेहिताको प्रवर्द्धन, एआई प्रयोगको विकास र प्रवर्द्धनलगायत विषयमा अनुसन्धान, लगानी र सहकार्यलाई वृद्धि गर्ने रणनीति लिनुपर्ने देखिन्छ”, प्रतिवेदनमा भनिएको छ, “यसका लागि सम्बन्धित क्षेत्रले आफ्नो नीति, रणनीति र कार्यक्रममा एआई प्रयोगको विकास र प्रवर्द्धनलाई प्राथमिकतामा राख्नुपर्ने हुन्छ ।”
विद्यमान जनशक्तिको पहिचान गरी उनीहरुको क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिँदै सार्वजनिक र निजी क्षेत्रमा दक्षजनशक्तिको उपलब्धता पश्चात् एआई विकास, प्रयोग र प्रवर्द्धनलाई गति दिन सकिने भएकाले यस क्षेत्रमा मानव पुँजी निर्माणमा सबैको ध्यान जानुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको समितिका सदस्य तिमिल्सिनाले बताउनुभयो ।
रोग निवारण र उपचार, वित्तीय सेवा र विश्लेषण, निर्माण तथा उत्पादन, शिक्षा र विकास, सञ्चार र अनुभव सुधार, साङ्गठनिक प्रबन्धन, सरकारी सेवा, सामाजिक सुरक्षा, खेलकूद, अनुसन्धान र विकास, कृषि, पर्यटनलगायत क्षेत्रमा एआईको प्रयोग गर्नुपर्ने सुझाव प्रतिवेदनमार्फत दिइएको उहाँको भनाइ छ ।
“नेपालमा आर्टिफिसियल इन्टेलिजेन्स विकासको वर्तमान ई–कोसिस्टमको अवस्था, प्रवर्द्धनका सम्भावित क्षेत्रहरु, अनुसन्धान र विकासको क्षमता, कार्ययोजनाको मूल्याङ्कन गर्नुपर्ने हुन्छ”, प्रतिवेदनमा भनिएको छ, “राष्ट्रिय रणनीतिले स्वास्थ्य सेवा, कृषि, शिक्षा, स्मार्ट सहर एवं पूर्वाधार, स्मार्ट मोलिलिटी र यातायातलगायत प्रमुख क्षेत्रहरु निर्धारण गरी उक्त विषयमा भावी कार्ययोजना तय गर्नुपर्दछ ।”
एआईसम्बन्धी रणनीतिले डाटा र डिजिटल पूर्वाधार, एआई ‘स्टार्टअप’लाई गति दिन आर्थिक तथा वित्तीय व्यवस्था, अनुसन्धान र विकास, नैतिकता, डाटा गोपनीयता, सुरक्षा र नियमन, जनशक्तिलाई सीप र क्षमता वृद्धि, प्रविधिको औद्योगिकीकरण तथा क्षेत्रगत पहल समेट्नुपर्ने प्रतिवेदनको सुझाव छ ।
प्राविधिक समितिले एआईको पृष्ठभूमि, अवधारणा, एआई इकोसिष्टम, यसका आधारभूत सिद्धान्त, दृष्टिकोण, उद्देश्य, विद्यमान अवस्था, नीतिगत व्यवस्था, संस्थागत एवं प्रयोगको अवस्था, अन्तर्राष्ट्रिय अभ्यास र रणनीतिलगायत क्षेत्रमा अध्ययन गरेर नेपालले लिनुपर्ने आगामी कार्यदिशा तथा योजना तर्जुमाका विषय प्रतिवेदनमा समेटिएको उपसचिव तिमिल्सिनाले जानकारी दिनुभयो ।
उहाँका अनुसार युरोपेली युनियन, संयुक्त राष्ट्रसङ्घ, नर्डिक–बाल्टिक क्षेत्र, यूएई, भारत, अर्जेन्टिना, अष्ट्रेलिया, ब्राजिल, क्यानडा, चिली, चीन, डेनमार्क, फिनल्याण्ड, फ्रान्स, जर्मनी, इटाली, सिङ्गापुर, दक्षिण कोरियालगायतले जारी गरेका एआई प्रयोगसम्बन्धी रणनीतिको अध्ययन गरी प्रतिवेदनमा तुलनात्मक विश्लेषण समावेश गरिएको छ ।-रासस
भारतमा धार्मिक सभामा भागदौड हुँदा मृत्यु हुनेको सङ्ख्या १२१ पुग्यो
हाथरस, भारत, १९ असार I उत्तरी भारतमा आयोजित हिन्दु धार्मिक सभामा मङ्गलबार भएको घातक भागदौडका कारण घाइते भएका थप २४ व्यक्तिको मृत्युसँगै बुधबारसम्ममा मृत्यु हसनेको सङ्ख्या १२१ पुगेको छ ।
प्रहरी प्रतिवेदन अनुसार भारतको उत्तर प्रदेश राज्यमा भएको सभामा दुई लाख ५० हजारभन्दा बढी धर्मावलम्बीहरूले भाग लिएका समय एक्कासी भागदौड हुँदा ठूलो सङ्ख्यामा हताहत भएको थियो ।
घटनाको केही समयपश्चात बुधबार बिहान फ्याँकिएका कपडा र हराएका जुत्ताहरू राजमार्गको छेउमा रहेको खुला मैदानमा छरिएका भेटिएको थियो ।
अधिकारीहरूका अनुसार उपासकहरूले प्रचारकको पाइलाबाट माटो सङ्कलन गर्ने प्रयास गर्दा भागदौड सुरु भएको बताएका छन् भने कतिपयले धुलोको आँधी आउँदा मानिसहरूबीच भागदौड मच्चिएको बताएका छन् ।
“महिला र बालबालिकासहित सम्पूर्ण भीड एकैचोटि कार्यक्रम स्थलबाट निस्किए । सभामा पर्याप्त ठाउँ थिएन र मानिसहरू एकअर्कामाथी थिचिएका थिए,” सुरक्षा सेवामा खटिनुभएका प्रहरी अधिकारी शीला मौर्यले बताउनुभयो ।
धेरैको एकले अर्कालाई कुल्चिएर, एकमाथि अर्को ढलेर र केही मानिस भागदौडमा सडक किनारको नालीमा खसेर मृत्यु भएको थियो ।
मृत्यु हुनेमा सात बालबालिका, एक पुरुष र बाँकी सबै महिलाहरु रहेका थिए ।
उत्तर प्रदेशको राज्य विपद् व्यवस्थापन केन्द्र, राहत आयुक्तको कार्यालयले बुधबार बिहान मृतकको सूची जारी गरेको छ । यसले घटनामा १२१ जनाको मृत्यु भएको बताएको छ । (रासस/एएफपी)
सङ्खुवासभामा बाढीपहिरोबाट ४३ परिवार विस्थापित
किमाथाङ्का (सङ्खुवासभा), १९ असार I सङ्खुवासभामा मनसुनी वर्षा सुरु भएयता हालसम्म बाढीपहिरोका कारण ४३ परिवार विस्थापित भएका छन् । बाढीपहिरोबाट २० गोठ भत्किएका छन् ।
मनसुनजन्य प्रकोपबाट दुई जनाको मृत्यु हुनुका साथै ६ जना घाइते भएका छन् । सो अवधिमा बाढीपहिरोबाट ६ मोटरेवल पुलमा क्षति पुगेको छ । विस्थापितहरु आफन्तकहाँ आश्रय लिएर बसेका छन् । पहिरोले कोशी राजमार्ग अन्तर्गतका र ग्रामीण क्षेत्रका सडकका साथै विद्युत् आयोजनामा क्षति पुगेको प्रमुख जिल्ला अधिकारी धुब्रबहादुर खड्काले जानकारी दिनुभयो । बाढीपहिरोबाट मकालु गाउँपालिका–२ सागसेवा र मूलगाउँमा २४ परिवार विस्थापित भएका छन् । बाढीपहिरोले खाँदबारी नगरपालिकामा खानेपानीको मुहान र विद्युत् पोलमा क्षति पुगेको छ ।
बाढीपहिरोका कारण अन्नबाली लगाएको ठाउँ बगरमा परिणत भएको छ । जिल्लास्थित तीनवटै सुरक्षा निकायलाई खोज तथा उद्धार कार्यका लागि तयारी अवस्थामा राखिएको प्रजिअ खड्काले बताउनुभयो ।
नेकपा एस महाधिवेशनः १२ समूहका सुझाव पेस हुँदै
काठमाडौँ, १९ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को जारी १०औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।
बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।
आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।
एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।