जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजार मुख्य सडकमा ढलान गर्ने काम सम्पन्न
खोटाङ, १९ असार I जन्तेढुङ्गा गाउँपालिकाको चिसापानी बजारको मुख्य सडक ढलान गर्ने काम सम्पन्न गरिएको छ । कोशी प्रदेशअन्तर्गत सहरी विकास तथा भवन कार्यालय ओखलढुङ्गाको रु २५ लाखको लागतमा ढलानको काम सम्पन्न गरिएको हो ।
जन्तेढुङ्गा गाउँपालिकाका अध्यक्ष अरुणादेवी राईले ढलान गर्ने काम तोकिएको समयभन्दा अगाडि नै सम्पन्न भएको बताउनुभयो । निर्माण कम्पनीले विसं २०८१ असार–१५ गतेभित्र सक्ने गरी विसं २०८० चैत २५ गते सडक ढलानको सम्झौता गरेको थियो ।
सहरी विकास तथा भवन कार्यालयको रु पाँच लाख बजेटमा विसं २०८१ असार–१० गतेभित्र सक्ने गरी सोही निर्माण कम्पनीले विसं २०८० चैत २५ गते नै सम्झौता गरेको थियो । यसैबीच जन्तेढुङ्गा –५ चिसापानी र जन्तेढुङ्गा ६ दिप्लुङको सिमानामा पर्ने धार्मिक तथा पर्यटकीयस्थल जन्तेढुङ्गाको पर्यटन विकासको काम अलपत्र परेको छ । जन्तेढुङ्गा पार्क (उद्यान) निर्माण, पोखरी निर्माण, घेराबारा, पर्खाललगायत निर्माणका काम अलपत्र परेको हो ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको ६० र गाउँपालिकाको ४० प्रतिशत लागतमा करिब रु दुई करोड ३० लाख बजेटमा दुई वर्षभित्र सक्ने गरी निर्माण कम्पनीले विसं २०७८ जेठ–३० गते सम्झौता गरेको थियो । तर काम भने २० प्रतिशत मात्र सकिएको जन्तेढुङ्गा गाउँपालिकाका प्रमुख इन्जिनियर अरुण साहले बताउनुभएको छ ।
पेश्कीबापतको रु ४६ लाख निर्माण सम्बद्ध कम्पनीले लिएको उक्त योजनाको असारभित्र काम सक्ने गरी म्याद थप भएको छ । तर, काम भने नभएको गाउँपालिका उपाध्यक्ष खेमबहादुर खड्काले बताउनुभयो ।
संस्कृति तथा पर्यटन मन्त्रालयले आव २०७९/८० मा बजेट नपठाएकाले काम रोकिएको जनाइएकोछ । आव २०८०/८१ मा भने रु ३७ लाख बजेट पठाए पनि निर्माण कम्पनीले काम नगर्दा अलपत्र परेको हो । आव २०८१/८२ मा गाउँपालिकाले बजेट विनियोजन गरेको छैन । ठेकेदार कम्पनीले यसअघि सम्झौता गरिएका योजनाका काम नगरेपछि यस पटक बजेट नराखिएको गाउँपालिका अध्यक्ष अरुणादेवीले बताउनुभएको छ ।
जन्तेढुङ्गा उक्त गाउँपालिकाको प्रमुख पर्यटकीय क्षेत्रका रुपमा प्रसिद्ध मानिन्छ । किम्वदन्तीअनुसार गोल्माराजा–गोल्मारानीको विवाहमा जन्ती अलप भएको र टाढाबाट हेर्दा जन्तीजस्तै लहरै देखिने भएकाले यसलाई जन्तेढुङ्गा भनिएको हो ।
ऐतिहासिकस्थल जन्तेढुङ्गामा मङ्सिर पूर्णिमामा उँधौली र वैशाखे पूर्णिमामा उँभौली मेला लाग्ने गरेको छ । जन्तेढुङ्गामा पर्व विशेष मेलाबाहेक दैनिजसो आन्तरिक तथा बाह्य पर्यटक आउने गरेका छन् । धार्मिक तथा ऐतिहासिकस्थलको रुपमा अवस्थित जन्तेढुङ्गाको स्तरोन्नतिमा ठेकेदार कम्पनीको लापर्वाही भएपछि स्थानीय बासिन्दा समस्या बनेका छन् । जन्तेढुङ्गाको स्तरोन्नति गरेर पर्यटन प्रवद्र्धन गर्न सकेमा गाउँपालिकाको आम्दानीको स्रोत वृद्धि हुने पर्यटन व्यवसायीले बताएका छन् ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
काठमाडौँ, १९ असार I पछिल्लो राजनीतिक घटनाक्रमको समीक्षा गर्दै पार्टीले अबलम्बन गर्ने रणनीति तय गर्न नेपाली कांग्रेस पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्ने भएको छ । पार्टी सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज बिहान ९ बजे बैठक बस्न लागेको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमको विकासक्रमबारे छलफल हुने कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।
संसद्मा दुई ठूला दल कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले सत्ता समीकरणका लागि सोमबार नयाँ सहमति गरेका थिए । बैठकमा उक्त विषयका बारेमा समेत छलफल हुने बताइएको छ । कांग्रेस र एमालेबीच संविधान संशोधनलगायतका विभिन्न ‘एजेन्डा’सहित राष्ट्रिय सहमतिको सरकार बनाउन सहमति भएको जनाइएको छ ।
नमोबुद्ध नगरपालिकाले ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा
काभ्रेपलाञ्चोक, १९ असार I यहाँको नमोबुद्ध नगरपालिकाले ‘ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम’अन्तर्गत ७० वर्षमाथिका छ हजारभन्दा बढी ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य परीक्षण गरेको छ । नगरका स्वास्थ्यकर्मी, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका तथा जनप्रतिनिधि, कर्मचारीलगायतको सहयोगमा छ हजार ६५ ज्येष्ठ नागरिकलाई टोलटोलमै स्वास्थ्य सेवा प्रदान गरिएको हो । नगरको ११ वटा वडाका ६३ टोलमा एक हजार पाँच सय ३५ को रक्तचाप मापन, एक हजार चार सय ८३ को मधुमेह जाँच, आठ सय ६० को अन्य जाँच गर्नुका साथै सात सय ५२ जनालाई निःशुल्क औषधि वितरण गरिएको नगर स्वास्थ्य शाखा प्रमुख सुनिल केसीले जानकारी दिनुभयो । उहाँका अनुसार एक हजार चार सय ३५ जनालाई परामर्श प्रदान गरिएको छ ।
ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम सञ्चालन गरी ज्येष्ठ नागरिकलाई घरदेलौ र पायक पर्ने स्थानमा स्वास्थ्य सेवा प्रदान गरेको र यस कार्यक्रमलाई निरन्तरता दिइने नगर प्रमुख कुनसाङ लामाले बताउनुभयो । उहाँले ज्येष्ठ नागरिक वर्ग, पूर्ण अशक्त वर्ग र अति विपन्न वर्गलाई लक्षित गरी स्वास्थ्य उपचारका लागि निःशुल्क एम्बुलेन्स सेवा, मासिक घुम्ती स्वास्थ्य परीक्षण शिविर सञ्चालन, निम्न आयस्तर भएका र अति विपन्न वर्गको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो ।
यसअघि नगरले १८ वर्षमाथिका सम्पूर्ण नगरवासीको निःशुल्क स्वास्थ्य परीक्षण गरेको थियो । नसर्ने रोगको वृद्धिदर बढ्दै गएको जनाउँदै नगरले रक्तचाप, मधुमेह (सुगर), अल्कालीन, प्रोटिन परीक्षण गरी मेथिनकोट अस्पतालबाट थप परीक्षण गराई एक वर्षसम्म निःशुल्क औषधि वितरण गरेको थियो ।
यसैबीच नमोबुद्ध नगरले चालु आर्थिक वर्षमा पूर्ण खोप सुनिश्चित नगर घोषणा गरेको छ । चालु आवको गत चैत मसान्तसम्मको अवधिमा १५ महिनामुनिका दुई सय ३६ बालबालिका र १६ देखि ५९ महिनासम्मका दुई सय ३७ जना बालबालिकाले १६ महिनादेखि २३ महिनासम्मका बालबालिकाले पाउनुपर्ने खोप लगाएको सुनिश्चित भएपछि सोमबार खोप सुनिश्चित नगर घोषणा गरिएको हो ।
बालबालिकाले १६ महिनासम्ममा पाउनुपर्ने खोप सो अवधिमा नपाएको भए २३ महिनासम्ममा पूरा गरिन्छ । यसअघि विभिन्न मितिमा नगरका सबै वडालाई पूर्ण खोप सुनिश्चित वडा घोषणा गरिएको थियो ।
खोटाङ बन्यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला
खोटाङ, १८ असार I खोटाङलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । जिल्लाका दशवटै स्थानीय तहले पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरेपछि आज जिल्लालाई औपचारिक रुपमा पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको हो ।
जन्मिएदेखि १५ महिनासम्मका दुई हजार आठ सय ८१ तथा १६ महिनादेखि पाँच वर्षमुनिका ६ हजार चार सय २२ बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका (१३ किसिमका) खोप लगाएको पाइपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख जीवनप्रसाद चौलागाईँले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो, “आगामी दिनमा पनि सबै बालबालिकालाई सरकारले निःशुल्क उपलब्ध गराउने सबै प्रकारका खोप दिलाउन सबैको उत्तिकै भूमिका हुन्छ । सबैको समन्वय र सहकार्यमा पूर्ण खोप कार्यक्रमलाई सफल बनाउनुपर्छ ।”
जिल्ला खोप समन्वय समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले स्वास्थ्य कार्यालयका प्रमुख चौलागार्इँलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्लाको प्रमाणपत्र प्रदान गर्नुभयो । सो अवसरमा दशवटै स्थानीय तहका प्रमुख, उत्कृष्ट स्वास्थ्यकर्मी, उत्कृष्ट कर्मचारी, उत्कृष्ट महिला स्वास्थ्य स्वयम्सेविका, विभिन्न सङ्घ संस्थालगायतलाई सम्मान गरिएको थियो । कोशी प्रदेशका १४ मध्ये खोटाङ पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गर्ने चौथो हो ।
सुरेश अधिकारी प्रतिनिधिसभा सचिव नियुक्त
काठमाडौँ, १८ असार I राष्ट्रपति रामचन्द्र पौडेलले सङ्खुवासभाका सुरेश अधिकारीलाई प्रतिनिधिसभाको सचिवमा नियुक्त गर्नुभएको छ । “राष्ट्रपति पौडेलले प्रतिनिधिसभाका सभामुखको सिफारिसमा नेपालको संविधानको धारा, १०६ को उपधारा (१) बमोजिम खाँदबारी नगरपालिका–२ निवासी अधिकारीलाई सङ्घीय संसद्, प्रतिनिधिसभाको सचिव पदमा नियुक्त गर्नुभएको छ,” राष्ट्रपतिको कार्यालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
झापामा हात्तीको त्रास, चालु आवमा छजनाको मृत्यु
झापा, १८ असार I मेचीनगर वडा नं १२ की ५२ वर्षीया भीममाया राई दुई दिनअघि बेलुकी ९ः३० बजेतिर पसलबाट घर फर्किंदै गर्दा बाटोमा हात्तीको आक्रमणमा परेर घाइते हुनुभयो । विर्तामोडको बी एण्ड सी अस्पतालमा उपचार सम्भव नभएपछि उहाँको सिलगुढीस्थित अस्पतालमा उपचार भइरहेको छ । “पसलबाट घर आउँदै गर्दा कालीझोडाबाट निस्किएको हात्तीले एक्कासि आक्रमण गर्यो”, घाइते भीममायाका पति डिल्ली राईले भन्नुभयो,“साँझ बिहानको बेला बाटोघाटोमा हिँड्दा हात्तीले मार्ला कि भन्ने डर भइसक्यो ।”
जिल्लाको मेचीनगर, अर्जुनधारा, बुद्धशान्तिलगायत पालिकाका धेरैजसो वडामा वर्षायाममा बाढीसँगै हात्ती आक्रमणको त्रास बढेको छ । सर्प र चट्याङको डर त छँदैछ । दिनभरि खेतमा काम गर्ने किसान हात्तीको डरले रातभरि आराम गर्न पाउँदैनन् । साँझ परेपछि गाउँ पस्ने हात्तीलाई धपाउन उनीहरु अनिँदै बस्नुपर्ने अवस्था छ । असारको पहिलो साता दिउँसो १ बजेतिर मेचीनगर–९ मागुरमाडी गाउँमा पसेका दुईवटा हात्तीले टङ्कप्रसाद श्रेष्ठको १० कठ्ठा खेतमा लगाइएको मकैबाली नष्ट ग¥यो । “हात्तीले पहिल्यैदेखि राति दुःख दिँदै आएका थिए, अचेल दिउँसै दुःख दिन थालेपछि थप समस्या भएको छ”, श्रेष्ठले भन्नुभयो,“मानो रोपेर मुरी उब्जाउने बेला हात्तीको समस्या भयो । गाईबस्तु भए पो खेद्नु, हात्तीले टेर्दैनन् !”
डिभिजन वन कार्यालयका प्रमुख मेघराज राईले चालु आर्थिक वर्षको असार १५ गतेसम्ममा हात्तीको आक्रमणबाट छजनाको मृत्यु भएको र १३ जना घाइते भएका बताउनुभयो । सोही अवधिमा चारवटा हात्तीसमेत मरेका उहाँले जानकारी दिनुभयो ।
यहाँका किसान हात्ती मात्र होइन, वर्षायाममा बाढी र चट्याङको त्रासदीबाट पनि गुज्रिरहेका छन् । नदीमा पर्याप्त तटबन्धन नहुनु, भारी वर्षा हुनासाथ बाढी र डुबानको समस्या आउने मनसुनजन्य विपद्ले बर्सेनि यहाँ मानवीय तथा भौतिक क्षति हुने गरेको छ । मेची, निन्दा, विरिङ, कनकाई, कमल, रतुवा र मावा नदीले बर्सेनि ठूलो मात्रामा उर्वर खेतीयोग्य जग्गा कटान गरेर बगर बनाइरहेको छ । यसको रोकथामका लागि भने ठोस प्रयास हुन सकेको छैन ।
गत असार ३ गते परेको चट्याङले मेचीनगर–३ भावना टोलका योगेन्द्र भट्टराईको गोठमा बाँधेका एक हल राँगा मरे । बर्खामा खेत जोत्न हुर्काएका हल राँगा नै मरेपछि भट्टराई दुःखमा परेका छन् । वर्र्षौदेखि हुर्काएका एक हल राँगा मरेको पीडा त छँदैछ खेत जोत्न एक हल राँगा किन्नु पर्ने र त्यसका लागि रु डेढलाख ऋण काड्नुपर्ने अवस्थाले उहाँलाई थप समस्यामा पारेको छ ।
यस्तै यही असार १२ गते बिहान गौरीगञ्ज र कमल गाउँपालिकामा परेको छुट्टाछुट्टै चट्याङ लागेर खेतमा काम गरिरहेका दुईजनाको मृत्यु र एक घाइते भए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कृष्णबहादुर चन्दका अनुसार गौरीगञ्ज–३ ठेकीटोलमा धानको बीउ उखेल्ने काम गरिरहेका गौरादह–८ का ४२ वर्षीय विकास गिरी र कमल–२ समयगढका ४६ वर्षीय राजन खड्काको चट्याङ लागेर मृत्यु भएको हो ।
वर्षायाममा सर्पदंशको समस्यासमेत त्यस्तै छ । असार ११ गते बेलुका ५ः३० बजेतिर कचनकबल–३ की १२ वर्षीया मनिषा राजबंशीलाई आफ्नै घरको सोफा बसिरहेका बेला विषालु सर्पले डस्यो । उपचारका लागि लैजाँदै गर्दा उहाँको मृत्यु भयो ।
उतारचढावबीच नेप्से परिसूचक ४७ दशमलव ०४ अङ्कले बढ्यो
काठमाडौँ, १८ असार I तीव्र उतारचढावका बीच आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ४७ दशमलव ०४ अङ्कले बढेको छ । आज नेप्से परिसूचक दुई दशमलव २९ प्रतिशतले बढेर दुई हजार एक सय दशमलव ४३ को बिन्दुमा कायम भएको हो ।
आजको कारोबार सुरु भएलगत्तै परिसूचक चार प्रतिशतले बढेपछि पहिलो पटक २० मिनेटका लागि कारोबार स्थगित भएको थियो । नेप्सेको नियमअनुसार दोस्रोपटक कारोबार सुरु भएको एक मिनेटमै परिसूचक थप एक प्रतिशत बिन्दुले बढेर पाँच प्रतिशत पुगेपछि कारोबार अर्को ४० मिनेटका लागि बन्द भएको थियो ।
आजको कारोबारमा विभिन्न तीन सय १५ कम्पनीको एक करोड १६ लाख ४५ हजार नौ सय पाँच कित्ता शेयर ६० हजार सात सय २० पटक खरिदबिक्री हुँदा रु चार अर्ब ५७ करोड ६८ लाख ३१ हजार सात सय २० बराबरको कारोबार भएको छ ।
आज सबै समूहको उपसूचक बढेको छ । सबैभन्दा धेरै उत्पादन तथा प्रशोधन तीन दशमलव ३०, व्यापार तीन दशमलव १२ र बैंकिङ तीन दशमलव ०३ प्रतिशतले बढेको छ । त्यस्तै, विकास बैंक दुई दशमलव ०१, वित्त दुई दशमलव ११, होटल तथा पर्यटन एक दशमलव ०९, जलविद्युत् एक दशमलव ८०, लगानी दशमलव ३१ र जीवन बीमा दुई दशमलव १७ प्रतिशतले बढेको छ । लघुवित्त एक दशमलव ४५, म्युचुअल फण्ड शून्य दशमलव ३६, निर्जीवन बीमा दुई दशमलव ४३ र अन्य समूह एक दशमलव ७३ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा सबैभन्दा धेरै हिमालयन डिस्टलरी लिमिटेडको शेयर मूल्य आठ दशमलव ५४ र समाज लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य छ दशमलव ९६ प्रतिशतले बढेको छ । शेयर मूल्य घट्नेमा भने सबैभन्दा धेरै उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको छ दशमलव ४६ र हिमालयन ऊर्जा विकास कम्पनीको छ दशमलव २१ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको रु १२ करोड ३३ लाख ८५ हजार पाँच सय ६९ र कारोबार भएका शेयर सङ्ख्याका आधारमा सबैभन्दा धेरै सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडको प्रमोटर शेयर तीन लाख ६६ हजार पाँच सय कित्ता शेयर किनबेच भएको छ ।
रास्वपा नयाँ सत्तागठबन्धनमा सहभागी नहुने
काठमाडौँ, १८ असार I राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) नेतृत्वको नयाँ सत्तागठबन्धनमा सहभागी नहुने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले वर्तमान सरकारबाट पार्टी बाहिरिने तर नयाँ गठबन्धनमा सहभागी नहुने निर्णय गरेको पार्टी सचेतक सन्तोष परियारले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “वर्तमान राजनीतिक घटनाक्रम अगाडि बढिसकेपछि अब हामी नयाँ गठबन्धनमा रहदैनौँ । नयाँ सरकार बन्ने प्रक्रिया अगाडि बढ्ने वित्तिकै वर्तमान सरकारबाट बाहिरिन्छौँ ।”
दुई ठूला शक्ति सरकारमा रहनु लोकतान्त्रिक संस्कार विपरीत रहेको भन्दै सचेतक परियारले यो गठबन्धनले राजनीतिक स्थायित्व दिनेमा रास्वपा विश्वस्त नरहेको उल्लेख गर्नुभयो ।
प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिने
काठमाडौँ, १८ असार I प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिनुहुने भएको छ । पछिल्लो राजनीतिक समीकरण विकास भएसँगै आज बिहान बसेको नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को पदाधिकारी बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री दाहालले विश्वासको मत लिने प्रक्रियाका लागि आवश्यक काम अघि बढाउने बताउनुभएको हो ।
“प्रधानमन्त्रीले संसद् ‘फेस’ गरेर विश्वासको मतको प्रस्तावमा जाने निर्णय भएको छ”, बैठकपछि माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले भन्नुभयो । वर्तमान सत्ता समीकरणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी, प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसलगायत सबै दलसँग विश्वासको मतका सम्बन्धमा छलफल गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष दाहालले पछिल्लो राजनीतिक विकासक्रमबारे प्रारम्भिक ‘ब्रिफिङ¬’ गर्नुभएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो ।
राप्रपाद्वारा केन्द्रीय पदाधिकारी बैठक आह्वान
काठमाडौँ, १८ असार I राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आज केन्द्रीय पदाधिकारी बैठक आह्वान गरेको छ । परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आह्वान गरिएको सो पार्टीका प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले राससलाई जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न पार्टीको केन्द्रीय पदाधिकारी बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेगरी आह्वान गरिएको हो ।”