शुक्रबार, १२ भदौ २०८३

/frontend/images/redline.png
https://jawaaf.com/storage/01J1S03J7J2WD0WXYAEW67K7Z1.avif

कोशी प्रदेशमा ड्रागन फल खेती गर्ने बढ्दै

बेलबारी(मोरङ), १८ असार I ड्रागन फलले बजार पाउन थालेपछि कोशी प्रदेशमा यसको खेती गर्नेहरुको सङ्ख्या पनि बढेको छ । कृषि विकास निर्देशनालय कोशी प्रदेशका अनुसार हाल प्रदेशका विभिन्न जिल्लामा एक सय ८६ हेक्टर क्षेत्रफलमा ड्रागन फलको खेती भइरहेको र एक सय १० हेक्टरबाट उत्पादन भइरहेको छ । 

प्रदेशका १४ जिल्लामध्ये विशेषगरी छ जिल्लामा ड्रागन फलको खेती भइरहेको छ । झापामा ६० हेक्टर, मोरङमा ३५ हेक्टर, सुनसरीमा २५ हेक्टर, भोजपुरमा छ हेक्टर, इलाममा ११ हेक्टर, सङ्खुवासभामा ३७ हेक्टर जमिनमा यसको खेती भइरहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका योजना शाखाका अधिकृत काजिमान प्रधानले जानकारी दिनुभयो । 

आर्थिक वर्ष २०७९/८० मा प्रदेशभरबाट एक हजार दुई सय १९ दशमलव २२ मेट्रिक टन ड्रागन फल उत्पादन भएको अधिकृत प्रधानले बताउनुभयो । बजारमा यसको माग उच्च भएको कारण पछिल्लो समय यसको खेतीप्रति किसानको आकर्षण बढ्दो रहेको कृषि विकास निर्देशनालय कोशी प्रदेशका प्रमुख प्रकाशकुमार डाँगीको भनाइ छ । 

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी प्रदीप शाह पनि ड्रागन फल उत्पादनमा सक्रिय हुनुहुन्छ । बिदाको समयमा बिहानैदेखि खेतबारीमा भेटिने मोरङको बेलबारी घर भएका शाह केराबारी गाउँपालिका–९ घङ्गरुमा जग्गा भाडामा लिएर कृषि फार्म सञ्चालन गर्नुभएको छ । शाहसहित दुई जना मिलेर ओसिस स्मार्ट एग्रो फार्ममार्फ ड्रागन फलको खेती गरिरहनुभएको छ । 

खेती सुरु गरेको दुई वर्षबाटै राम्रो आम्दानी हुन थालेको उहाँको भनाइ छ । कूल १५ कठ्ठा जमिनमा लगाइएको ड्रागन फलमध्येबाट छ कठ्ठामा पहिलो चरणको उत्पादन सुरु भएको छ । वैशाखदेखि असोज मसान्तसम्म उत्पादन दिने उहाँले बताउनुभयो । हालसम्म पाँच सय केजीभन्दा धेरै उत्पादन भइसकेको शाहले जानकारी दिनुभयो । 

बारीमै थोकमा प्रतिकिलो तीन सयका दरले उक्त फल बिक्री भइरहेको उहाँले बताउनुभयो । उहाँले दुई वर्षअघि झापाबाट ड्रागन फलको बिरुवा ल्याएर यसको खेती सुरु गर्नुभएको थियो । खेतीमा कुनै रासायनिक विषादी प्रयोग नगरेको उहाँको भनाइ छ । 

कोरोना महामारीको सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीमा निर्माण व्यवसाय छाडेर ड्रागन फल खेतीमा लाग्नुभएका मोरङ सुनवर्शी नगरपालिका–१ का गणेश राई यतिबेला कृषि पेसाबाट सन्तुष्टि मिलेको बताउनुहुन्छ । तत्कालीन समयमा ठूलो जोखिम लिएर रु एक  करोडको लगानीमा फर्म सञ्चालनमा ल्याएको र अहिले तुर्छा ड्रागन फ्रुट तथा बहुउद्देश्यीय कृषी फर्ममार्फत ड्रागन फलको खेती राम्रो भइरहेका बताउनुभयो । 

उहाँको फार्ममा यतिबेला दैनिक छ जना कामदार ड्रागन फल टिप्दै गरेको भेटिनुहुन्छ । राईले चार वर्षअघि तीन विघा जमिनमा तीन हजार ड्रागन फलका विरुवा लगाउनुभएको छ । हाल महिनामा तीनदेखि चार पटकसम्म फल टिप्ने गरेको उहाँको भनाइ छ । 

एकपटकमा करिव तीन क्विन्टल फल टिप्दै गरिएको उहाँले बताउनुभयो । सुरु थोकमा प्रतिकेज रु तीन सय ५० मा बिक्री गर्ने गरिएकोमा हाल प्रतिकेजी रु तीन सयका दरले बिक्री भइरहेको उहाँको भनाइ छ । राईले भन्नुभयो, “ड्रागन फलको खेती सुक्खा र पानी नजम्ने ठाँउमा गर्दा राम्रो हुन्छ एक पटकको लगानीबाट कम्तीमा २५ वर्षसम्म आम्दानी गर्न सकिन्छ”, उहाँले भन्नुभयो । 

मेक्सिको र दक्षिण अमेरिकाबाट नेपाल भित्रिएको सिउँडी प्रजातिको फल दुई किसिमको हुने कृषि विकास निर्देशनालय कोशी प्रदेशका बागवानी विकास अधिकृत टोनि वर्देवाले बताउनुभयो । उहाँका अनुसार यसको हाँगा काटेर अन्यन्त्र रोप्नुपर्ने हुन्छ । ड्रागन फलमा प्रशस्त मात्रामा भिटामिन सी पाइन्छ ।

प्रकाशित मितिः मङ्गलबार, १८ असार २०८१
https://jawaaf.com/storage/01J1RXAFM8PMGH3PHRRT560XBW.jpg

एकीकृत समाजवादी महाधिवेशन : चार प्रतिवेदनमाथि छलफल

काठमाडौँ, १८ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को महाधिवेशनमा विभिन्न चार विषयका प्रतिवेदन माथि छलफल प्रारम्भ गरिएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानको सभाहलमा जारी महाधिवेशनमा प्रतिनिधिहरूको धारणा लिन राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधानसम्बन्धी र साङ्गठनिक प्रतिवेदनमा सामूहिक छलफल सुरु गरिएको हो ।

यी प्रतिवेदनमा उल्लिखित पार्टीका नीति तथा कार्यक्रमका आधारमा नयाँ कार्यसमिति निर्वाचित गरिने पोलिटब्यूरो सदस्य सोमप्रसाद पाण्डेले जानकारी दिनुभयो । पार्टी अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तयार पार्नुभएको राजनीतिक प्रतिवेदनमा राष्ट्रिय एकता, सामाजिक, सांस्कृतिक पक्ष उल्लेख गरिएका छन् । उक्त प्रतिवेदनमा मुलुकको समसामयिक परिस्थिति, राजनीतिक अवस्था, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिस्थिति, पार्टीको आगामी कार्ययोजनासमेत प्रस्तुत गरिएको छ ।

सम्मानित नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले प्रस्तुत गर्नुभएको समाजवादी कार्यक्रमसम्बन्धी प्रतिवेदनमा समाजवादको स्वरुप, आर्थिक रुपान्तरणका साथै वैज्ञानिक समाजवादका विषय छन् । भूमि व्यवस्थित गरी उत्पादन बढाउने, रोजगारी सिर्जना गर्ने, विकास तथा समृद्धिका आधार तयार गरिएको छ । मुलुकमा सामाजिक न्याय, समानतासहित विकास तथा समृद्धिका लागि समाजवादी व्यवस्था कार्यान्वयनमा जोड दिइएको छ ।

 पार्टीका उपाध्यक्ष बेदुराम भुसालको विधान दस्तावेजमा पार्टीमा तल्लो तहदेखि माथिल्लो तहसम्म निर्वाचित हुनुपर्ने, सबै कमिटीलाई लोकतान्त्रिक पद्धतिबाट अनुमोदित गराउने विशेषता छ । युवा सहभागिता वृद्धि गर्ने विषयलाई प्राथमिकता दिएको जनाइएको छ ।

यसैगरी महासचिव घनश्याम भुसालले प्रस्तुत गर्नुभएको साङ्गठानिक प्रतिवेदन देशभर पार्टीको सङ्गठनको अवस्था, आगामी योजना तथा कार्यक्रम, सशक्त सङ्गठन निर्माणका विधि, महाधिवेशन केन्द्रित अभियान उल्लेख छन् । सशक्त पार्टी निर्माणका लागि सङ्गठनको महत्त्वपूर्ण भूमिका उल्लेख गरिएको दस्तावेजमा पार्टी निकट सबै सङ्गठन जनहितमा परिचालन गर्नुपर्नेमा जोड दिइएको छ ।

पार्टीका नेता राजेन्द्र राई र साध्यबहादुर भण्डारीले पूरक प्रतिवेदन पेस गर्नुभएको छ । यसमा पनि छलफल गरिने छ ।  महाधिवेशनमा एक हजार आठ सय ४९ प्रतिनिधिसहभागी छन् । छलफल सकिएपछि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ । निर्वाचन विद्युतीय उपकरणबाट गरिने तयारी छ । यही असार २० गतेसम्म महाधिवेशन चल्ने छ ।

प्रकाशित मितिः मङ्गलबार, १८ असार २०८१
https://jawaaf.com/storage/01J1RP4AQ72GMPABAJVVPGCKSM.jpg

पहिराले कालीगण्डकी करिडोर अवरुद्ध

ढोरपाटन (बागलुङ), १८ असार I अविरल वर्षाले सडकमाथिबाट पहिरो खस्दा कालीगण्डकी करिडोर अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका–५ माझबौरस्थित सडकमाथिबाट पहिरो खस्दा  करिडोर अवरुद्ध हुँदा मुक्तिनाथ जाने भारतीय पर्यटकसहित जैमिनीको छिस्ती, जैदी, अर्जेवा, बिनामारेलगायत स्थानबाट जिल्ला सदरमुकाम बागलुङ बजार आउने सवारीसाधन ठप्प  भएका छन् । 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले राष्ट्रिय गौरवको सो आयोजनाले सडक खुलाउने प्रयास गरे पनि भारी वर्षाका कारण उपकरण सञ्चालन गर्न नसकेकोे बताउनुभयो । वर्षा नरोकिँदासम्म सडक खुलाउन नसकिने उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “  अहिले भारी वर्षा जारी रहेको हुँदा सडक खुलाउन सकिएको छैन, अहिले पनि सडकमाथिबाट लगातार पहिरो खसिरहेको छ ।” यसैगरी करिडोरको बागलुङ नगरपालिका–१० दब्ल्याङमा पनि पहिराले सडक अवरुद्ध भएको छ । भारी वर्षाका कारण खुलाउन नसकिएको बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिनुभयो । सडक अवरुद्ध हुँदा दक्षिण बागलुङ सिधा यातायताबाट बिच्छेद भएको छ ।

प्रकाशित मितिः मङ्गलबार, १८ असार २०८१
https://jawaaf.com/storage/01J1RM35XFZAFEFHGEH9HJQ565.jpg

चन्दा सङ्कलन गरेर खेलमैदान निर्माण

म्याग्दी, १८ असार I म्याग्दीको रघुगङ्गा गाउँपालिका–६ पाखापानीमा चन्दा जुटाएर खेलमैदान निर्माण भएको छ ।  स्थानीयवासी, प्रवासीहरू र गाउँपालिकाको सहयोग जुटाएर स्टार स्पोर्टस् क्लबले खेलमैदान निर्माण गरेको हो । रु ४३ लाख ७७ हजार एक सय ५७ को लगानीमा निर्माण भएको खेलमैदानका लागि रु ३५ लाखभन्दा बढी प्रवासी र स्थानीयवासीले चन्दा सहयोग गरेका क्लबका अध्यक्ष केशव पाइजाले बताउनुभयो ।  “खेलमैदानमा भलिबल, बास्केटबल र एथलेटिक्स विधाका खेल सञ्चालन गर्न सकिन्छ”, उहाँले भन्नुभयो, “खेलाडीहरूलाई अभ्यास गर्न र प्रतियोगिता सञ्चालन गर्न सहज भएको छ ।” 

स्थानीयवासीले उपलब्ध गराएको पाखोबारी सम्याएर ढलानसहितको खेलमैदान निर्माण गरिएको हो । चालीस मिटर लम्बाइ र १८ मिटर चौडाइमा ढलान गरी फाइबर बोर्ड राखिएको खेलमैदानको कुनातर्फ दर्शक बसेर खेल अवलोकन गर्न मिल्ने प्यारापिट बनाइएको छ ।  स्थानीय रामकुमारी पाइजा, धनबहादुर रोका, जसे पुन, कुल तुलाचन, हेमलाल शेरपुञ्जा र गोरे पुनले निःशुल्क जग्गा उपलब्ध गराउनुभएको थियो । हाल हङ्कङमा कार्यरत पाखापानीका भीम पुनको नेतृत्वमा रु १८ लाख छ हजार एक सय ५३, बेलायतमा रहनुभएका क्लबका संस्थापक सचिव असुन पाइजा र कोषाध्यक्ष रमेश पाइजाको पहलमा रु छ लाख ९१ हजार, अष्टेलियामा रहेका पूर्वसहकोषाध्यक्ष डेक पाइजाको अगुवाइमा रु दुई लाख १५ हजार र सिङ्गापुरबाट रु एक लाख सहयोग प्राप्त भएको क्लबले जनाएको छ । 

रघुगङ्गा गाउँपालिकाले चालु आव २०८०/८१ मा रु सात लाख ४७ हजार अनुदान उपलब्ध गराएको योजनाका लागि देशभित्रै र विश्वका अन्य देशमा रहेका पाखापानीवासीहरूले रु आठ लाख १८ हजार पाँच सहयोग गरेका छन् ।  पाखापानीका एक सय ५२ घरधुरीले न्यूनतम दुई दिनका दरले श्रमदान गरेका छन् । थिरवाङ टोलवासीले गिट्टी र रु १२ हजार नगद सहयोग गरेका थिए । कमनाथबाट रु ११ हजार र पाखापानी गाउँबाट रु नौ हजार सहयोग प्राप्त भएको थियो । 
 
स्वर्गीय टेकबहादुर र तीर्थकुमारी पुनको स्मृतिमा उहाँका छोराहरू खिम पुन र भीम पुनले रु तीन लाख छ हजार खर्च गरेर पाखापानीको मूल सडकबाट खेलमैदान जोड्ने सडक निर्माण गर्नुभएको छ । खेलमैदानमा घेराबार, नाली र स्टेजसहितको भवन निर्माण गर्ने लक्ष्य राखिएको अध्यक्ष पाइजाले बताउनुभयो । 

प्रकाशित मितिः मङ्गलबार, १८ असार २०८१
https://jawaaf.com/storage/01J1Q3W7ZW54YF9KHHE873DVE7.jpg

महासमितिबाट पारित दस्तावेज केन्द्रीय समितिमा लगिने

काठमाडौँ, १७ असार I नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको छ । सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा पार्टीका पदाधिकारी एवं पूर्वपदाधिकारीको आज बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले ती दस्तावेजलाई अन्तिम रुप दिन केन्द्रीय समितिमा लैजाने निर्णय गरेको पार्टीका केन्द्रीय सदस्य एवं प्रचार विभाग प्रमुख मीन विश्वकर्माले सञ्चारकर्मीलाई जानकारी दिनुभयो । 

बैठकले पार्टीका धेरै जसो भ्रातृ संस्थाका केन्द्रीय समितिको समयावधि समाप्त भएकाले थप गर्ने विषयमा छलफल भएको पनि उहाँले बताउनुभयो । यसैगरी नेपाल सरकारले चीनको बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) का सम्बन्धमा छलफल गरिरहेको सन्दर्भमा बैठकले ऋण नभई अनुदान सहयोग मात्र लिन सकिने धारणा बनाएको नेता विश्वकर्माले जानकारी दिनुभयो ।

प्रकाशित मितिः सोमबार, १७ असार २०८१
https://jawaaf.com/storage/01J1Q09DCJNC0W9119MX2KR8Y9.jpg

म्याग्दीका किसान टिम्मुरखेतीतर्फ आकर्षित

गलेश्वर (म्याग्दी) १७ असार I म्याग्दीको बेनी नगरपालिका–३ मुसुङका लालबहादुर घर्ती यतिखेर खेतमा रोपाइँ गर्दै हुनुहुन्छ । रोपाइँमा व्यस्त भए पनि उहाँको ध्यान भने पाखो र खेत नजिकैको खाली जग्गामा लगाएको टिम्मुरका बोटमा पुगेको देखिन्छ ।     
     
घर्तीले आफ्नै बारीमा नर्सरी स्थापना गरेर टिम्मुरका बिरुवा उमारी बिक्री गर्दै आउनुभएको छ । डिभिजन वन कार्यालय, उद्योग वाणिज्य सङ्घलगायत सङ्घसंस्थाको पहलमा प्राविधिक तालिम लिएर स्थापना गरिएको नर्सरीबाट रु २५ मा प्रतिबिरुवा बिक्री हुने गरेको घर्तीले जानकारी दिनुभयो ।     
     
म्याग्दीमा टिम्मुरखेती व्यावसायिक बन्दै गएको छ । खेतबारीका कान्ला र बाँझो जग्गामा मात्रै होइन खेतीयोग्य जमिनमा पनि अरू खेती छोडेर यहाँका किसानले टिम्मुरखेती गर्न थालेका छन् । बेनी वडा नं ३ भकिम्ली, वडा नं ९ घतान, तोरीपानी र वडा नं १० पात्लेखेतसहित मालिका, मङ्गला र अन्नपूर्ण गाउँपालिकामा व्यावसायिकरुपमा टिम्मुरखेती गरिएको डिभिजन वन कार्यालयले जनाएको छ ।     
     
अन्य अन्नबाली छाडेर खेतबारी, निजी तथा सामुदायिक वनमा टिम्मुरखेती गर्न थालिएको कार्यालयका सहायक वन अधिकृत एवं टिम्मुरविज्ञ चन्द्रमणि सापकोटाले जानकारी दिनुभयो । एक दशकअघिसम्म त्यत्तिकै खेर गइरहेको टिम्मुरको पछिल्लो समय स्वदेश तथा विदेशबाट अत्यधिक माग हुन थालेपछि यहाँका किसान टिम्मुरखेतीमा आकर्षित भएका उहाँको भनाइ छ ।     
     
जिल्लामा २० समूह गठन गरी टिम्मुरखेती विस्तार भइरहेको डिभिजन वन कार्यालयले जनाएको छ । टिम्मुरविज्ञ सापकोटाले सामुदायिक वनमा रहेको टिम्मुर आर्थिक अवस्था कमजोर भएका र एकल महिलाले सङ्कलन गरेर बिक्री गर्ने गरेका बताउनुभयो । पाँच वर्ष अघिसम्म ६० घरधुरीले टिम्मुरखेती गरेकामा अहिले करिब एक सय ५० घरधुरीले टिम्मुरखेती गरिरहेका उहाँले जानकारी दिनुभयो ।     
     
टिम्मुरखेतीलाई प्रोत्साहन गर्न जिल्लास्थित उद्योग सङ्घले विभिन्न किसिमका औजारसहित तालिममा सहयोग गरिरहेको छ । ‘एक गाउँ एक उत्पादन’अन्तर्गत तोरीपानीसहित विभिन्न गाउँमा १९ हजार पाँच सय बिरुवासहित प्राविधिक सहयोग गरिएको सङ्घले जनाएको छ ।     
     
जिल्लामा किसानले टिम्मुर प्रशोधन गर्ने औजारसमेत ल्याएका छन् । तोरीपानीका नीलपहरा सामुदायिक वन उपभोक्ता समूहले टिम्मुर सुकाउने, प्रशोधन गर्ने, तौलने, मसला बनाउने औजार खरिद गरेको छ । वन डिभिजन कार्यालयको रु १० लाख अनुदानमा ती औजार खरिद गरिएको स्थानीय टेकबहादुर चोखालले बताउनुभयो ।     
     
तोरीपानी गाउँबाट वार्षिक छ हजारको हाराहारीमा बिरुवा जिल्लाबाहिर बिक्री हुने गरेको छ । एकजना किसानले छ किलोदेखि माथि टिम्मुर उत्पादन गर्दै आइरहेका छन् । प्रशोधन औजारको प्रयोगसँगै मसला बनाई बजारमा बिक्री गर्न, मिसावट रोक्न, गाउँकै ‘ब्रान्ड’लाई स्थापित गर्नलगायत बजारीकरणमा सहज भएको कृषक समूहले जनाएको छ । जिल्लामा वार्षिक पाँच हजार किलो टिम्मुरको माग भए पनि वार्षिक तीन हजार किलो मात्र उत्पादन हुने अनुमान गरिएको छ । यहाँको टिम्मुर विदेशमा समेत निर्यात हुने गरेको छ ।     
     
म्याग्दीका गाउँमा फलेको टिम्मुर स्वादिलो हुने भएकाले पनि व्यापारी गाउँमै पुग्ने गरेका बेनी–३ मुसुङका अगुवा कृषक लालबहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार गाउँबाटै प्रतिकिलो रु एक हजार छ सयदेखि रु दुई हजारसम्ममा बिक्री हुने गरेको छ ।     

प्रकाशित मितिः सोमबार, १७ असार २०८१
https://jawaaf.com/storage/01J1PY75GER4NXT9YDFC6J57AW.jpg

‘शिक्षा क्षेत्रमा संरचनागत सुधारको प्रयास जारी छ’

काठमाडौँ, १७ असार I शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले शिक्षा क्षेत्रको संरचनागत सुधारका लागि प्रयास भइरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुबाट उठेका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री श्रेष्ठले यस क्षेत्रको सुधारका लागि मन्त्रालय मात्र नभइ सबै पक्ष जिम्मेवारीका साथ लाग्नुपर्ने बताउनुभयो ।     
     
“शिक्षा क्षेत्रमा संरचनागत सुधार आवश्यक छ भन्न थालेको लामो समय भयो तर संरचनागत सुधार मन्त्री परिवर्तन गरेर मात्र हुने कुरा होइन । सुधारका लागि सरकारको मुखमात्र ताकेर हुँदैन”, उहाँले भन्नुभयो, “संरचनागत सुधारका लागि सुझाव दिने कार्यदल गठनको तयारी भइरहेको छ ।     
     
शिक्षा मन्त्रालयमा बाहिरका कर्मचारी नआउने र शिक्षा क्षेत्रकै कर्मचारी आउने व्यवस्था गर्ने तथा शिक्षाको गुणस्तर मापन गर्ने संयन्त्र तयार पार्नेगरी काम भइरहेको छ ।” शिक्षा क्षेत्रको रुपान्तरणका लागि शिक्षक, विद्यालय व्यवस्थापन समिति, अभिभावक सबैको जिम्मेवारी हुने मन्त्री श्रेष्ठले दोहो¥याउनुभयो ।     
     
सामुदायिक विद्यालयका प्रधानाध्यापकहरुका लागि छुट्टै सेवा आयोग बनाउने विषयमा काम भइरहेको जानकारी दिँदै शिक्षामन्त्रीले हालै सार्वजनिक भएको माध्यामिक शिक्षा परीक्षा (एसइई) को निर्मम समीक्षा गर्नुपर्ने बताउनुभयो ।     
     
शिक्षालाई श्रम बजारसँग जोड्नेगरी ‘समाजसँग पाठ्यक्रम’ कार्यक्रम ल्याइएको र विद्यालय तथा विश्वविद्यालयका पाठ्यक्रम बनाउँदा पनि रोजगारसँग जोड्नेगरी बनाउन निर्देशन दिएको उहाँको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति कसरी गठन भएको छ भनेर अध्ययन भइरहेको, विद्यार्थी र शिक्षकको अनुपात असन्तुलित देखिएकाले प्राथमिक तहका दरबन्दी काटेर माथिल्लो तहमा दरबन्दी बढाउन सकिनेबारे मन्त्रालयले गृहकार्य गरिरहेकोलगायत सुधारका काम भएका उहाँले जानकारी दिनुभयो ।     
     
आगामी आर्थिक वर्षको बजेटमा सामुदायिक विद्यालयमा एक हजार कक्षाकोठा थप्ने गरी योजना तर्जुमा गरिएको तथा त्यो मानव सुचकाङ्कमा पछाडि परेका दुई सय ४० वटा पालिकामा विनियोजन गरिएको मन्त्री श्रेष्ठले बताउनुभयो ।     
     
त्रिभुवन विश्वविद्यालयको जग्गा अतिक्रमणसम्बन्धमा पूर्वसचिव शारदाप्रसाद त्रितालको संयोजकत्वमा गठन भएको छानबिन कार्यदलले प्रस्तुत गर्ने प्रतिवेदनअनुसार निर्णय हुने उहाँले जानकारी दिनुभयो ।     

प्रकाशित मितिः सोमबार, १७ असार २०८१
https://jawaaf.com/storage/01J1PVSBA7K5VRNZ9R5Y2PWTT0.jpg

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्षमण्डल

काठमाडौँ, १६ असार I नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता झलनाथ खनालको अध्यक्षतामा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरेको छ ।     
     
पार्टी अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको महाधिवेशनको बन्दसत्रले अध्यक्ष मण्डल गठन गरेको हो । अध्यक्षमण्डलमा डा वेदुराम भुसाल, राजेन्द्रप्रसाद पाण्डे, घनेन्द्र बस्नेत, प्रमेश हमाल, केशवलाल श्रेष्ठ, धर्मनाथ साह, जयन्ती राई, रामचन्द्र झा, नागेन्द्र चौधरी, सावित्रा भुसाल, महबुज आलम र गणेश विक सदस्य रहनुभएको छ ।     
     
बन्दसत्रले पार्टीका उपमहासचिव प्रकाश ज्वाला संयोजक रहनुभएको तीन सदस्यीय माइन्युट लेखन कमिटी गठन गरेको छ । समितिका सदस्यमा डा गङ्गालाल तुलाधर र डा विजयकुमार पौडेल रहनुभएको छ ।     
     
यसैगरी बन्दसत्रले उपमहासचिव जगन्नाथ खतिवडा संयोजक तथा सदस्य राजेन्द्र राई, रामकुमारी झाँक्री, धर्मनाथ साह, जीवनराम श्रेष्ठ, हरि पराजुली, देवसिंह महता, भविश्वर पराजुली, यादव रायमाझी, अनारकली मियाँ, अब्दुल हुसेन खाँन, सरिता खड्का र नवराज श्रेष्ठ रहेको बहस नोट कमिटी गठन गरेको छ ।     
     
त्यस अवसरमा अध्यक्ष नेपालले महाधिवेशन सम्पन्न गर्नका लागि अध्यक्ष मण्डलका अध्यक्ष खनाललाई टोपी र झोला प्रदान गरी जिम्मेवारी हस्तान्तरण गर्नुभयो । अध्यक्ष मण्डलले सम्पूर्ण महाधिवेशन सञ्चालन गर्न विभिन्न संयन्त्र बनाउने तथा विधान र प्रतिवेदनमाथि छलफलबाट सुझाव लिई दस्तावेज बनाएर पारित गर्ने जिम्मेवारी रहेको छ ।     
     
     
सो अवसरमा पूर्वप्रधानमन्त्री नेपालले कम्युनिष्ट आन्दोलनमा विशिष्ट योगदान पु¥याउने पुराना कम्युनिष्ट नेताहरु सिद्धिलाल सिंह, कमल कोइराला, मोदनाथ प्रश्रित, शम्भु शाह, रामऔतार पासवान, हुन्छेबहादुर ढुकुचु, नारायणप्रसाद वैद्य, शीतल झा, विजयलाल श्रेष्ठलगायतलाई सम्मान गरियो ।     
     
एक हजार आठ सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहेको उक्त महाधिवेशन यही असार २० गतेसम्म सञ्चालन हुने महासचिव डा घनश्याम भुसालले जानकारी दिनुभयो ।     
 

प्रकाशित मितिः सोमबार, १७ असार २०८१
https://jawaaf.com/storage/01J1PP6K32ZZ4YGCECBZEBAGYD.webp

इजरायलको गोलान हाइट्समा ड्रोन आक्रमणमा परी १८ इजरायली सैनिक घाइते

जेरुसेलम, १७ असार I इजरायलको नियन्त्रणमा रहेको गोलान हाइट्समा आइतबार भएको ड्रोन आक्रमणमा परी १८ जना इजरायली सैनिक घाइते भएका छन् भने एकको अवस्था गम्भीर रहेको इजरायली रक्षा बल (आईडीएफ)ले जनाएको छ ।

आईडीएफले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “गोलान हाइट्सको उत्तरी क्षेत्रमा आक्रमण भएको थियो, यद्यपि ड्रोन कताबाट आएको थियो भन्नेबारे केही बताइएको छैन ।

घाइते सैनिकहरूलाई तत्काल उपचारका लागि नजिकैको अस्पतालमा लगिएको छ । प्रतिक्रियामा इजरायली वायु सेनाले आइतबार राति दक्षिणी लेबनानको हिजबुल्लाह शिविरलाई लक्षित गरी आक्रमण गरेको छ ।

आक्रमणमा मर्काबा नजिकैको हिजबुल्लाह अवलोकन चौकी र आयता एस शाब नजिकैको उत्तरी इजरायलतर्फ मिसाइल प्रक्षेपण गर्न प्रयोग गरिएको लञ्चरस्थलमा प्रहार गरिएको इजरायली सेनाले बताएको छ । पछिल्लो घटनाले इजरायल र लेबनानको सशस्त्र समूह तथा राजनीतिक दल हिजबुल्लाहबीच सन् २०२३ को अक्टोबरदेखि जारी सीमापार हिंसाको निरन्तरतालाई सङ्केत गरेको छ । रासस/सिन्ह्वा

प्रकाशित मितिः सोमबार, १७ असार २०८१
https://jawaaf.com/storage/01J1PNSKXY3CDD9BDGY4NHAJBA.jpg

व्यवसायिक बाख्रापालनबाट वार्षिक चार लाख बचत

गलकोट (बागलुङ), १७ असार I जिल्लाको जैमिनी नगरपालिका–६ अर्जेवाका चन्द्रबहादुर थापाले व्यावसायिक बाख्रापालनबाट वार्षिक रु चार लाख बचत गरिरहनुभएको छ ।मलेसियामा पाँच वर्ष रोजगारी गरेर स्वदेश फर्केपछि ४१ वर्षीय थापाले ‘चन्द्रबहादुरको जिमिरे बाख्राफार्म’ मार्फत व्यावसायिक बाख्रापालन गर्दै आउनुभएको हो । आमा मनरुपा थापाले गाउँलेको अधियाँ लिएर बाख्रापालन गरी घरखर्च गर्दै आउनुभएको देखेकाले विदेशबाट फर्किएर फार्म दर्ता गरी व्यावसायिक बाख्रापालन सुरु गरेको थापाले बताउनुभयो । चार वर्षदेखि उक्त व्यवसायमा लागेको भन्दै उहाँले सबै खर्च कटाएर वार्षिक रु चार लाख बचत भइरहेको जानकारी दिनुभयो ।     
      
चन्द्रबहादुरको जिमिरे बाख्राफार्म अहिले यस क्षेत्रको नमूना बाख्राफार्मका रुपमा चिनिन थालेको छ । व्यावसायिक बाख्रापालनमा आमाको प्रेरणा रहेको बताउँदै उहाँले बाख्रापालनमा बजारीकरणको समस्या नरहेको उल्लेख गर्नुभयो । थापाका अनुसार अहिले फार्ममा तीन वटा परम्परागत खोरमा ७५ बाख्रा र पाठा छन् । “आमाले अधियाँमा बाख्रापालन गरेको देख्दा बाख्राफार्म सञ्चालन गर्ने रहर थियो । लगानी अभावमा भएकाले पाँच वर्ष मलेसियामा कमाएर आएपछि सोही रकम बाख्रापालनमा लगानी गरेको हुँ”, उहाँले भन्नुभयो । अहिले दुई सय बाख्रा क्षमताको आधुनिक खोर निर्माणमा जुटेको जनाउँदै थापाले आमाले अधियाँमा पालन गरिरहेका बाख्रालाई आफूले व्यावसायिक बनाएको बताउनुभयो । “लगानी नहँुदा १६ वर्ष पहिला मलेसिया पुगेँ । त्यहाँ कमाएको रकमले बाख्रापालन थालेको हुँ । आमाको दुःख देखेकाले आफू बाख्रा उद्यमी सपना देखेको थिएँ, अहिले पूरा गर्ने चरणमा छु”, उहाँले भन्नुभयो ।     
      
एक वर्षभित्रै दुई सय बाख्रा पु¥याउने उद्देश्यले अहिले आधुनिक खोर निर्माण थालेको थापाले जानकारी दिनुभयो । “आधुनिक खोर निर्माणमा रु १० लाख लगानी भइसक्यो”, उहाँले भन्नुभयो, “बाख्रापालनबाट खर्च कटाएर वार्षिक रु चार लाख बचत हुन्छ । स्थानीय जातका खसी, बोका यहाँ हुने भएकाले स्थानीय व्यापारीले लागि खोजी–खोजी लैजान्छन् ।” एक वर्षमा तीस वटा बोका बिक्री गर्दै आएको जनाउँदै थापाले सरकारी निकायबाटसमेत बाख्रापालनलाई प्रोत्साहन प्राप्त भइरहेको बताउनुभयो ।     
      
पहिला गाउँलेका बाख्राका पाठा लिएर अधियाँमा हुर्काउने र पाठा बाढेपछि बिक्री गरी जीविकोपार्जन गर्दै आएकामा अहिले छोराले व्यावसायिक रुपमा फार्म दर्ता गरी बाख्रापालन गरेको देख्दा निकै उत्साहित भएको आमा मनरुपाले बाताउनुभयो । छोराले बाख्रापालनलाई बढाउँदै बचत भएको रकमबाट लगानी वृद्धि गरिरहेको उहाँको भनाइ छ ।     
      
“बाख्रापालनमा मेहनत गर्न सके प्रशस्त आम्दानी हुनसक्ने रहेछ । आम्दानीका लागि विदेश जानु भन्दा स्वदेशमा परिवारसँगै बसेर मेहनत गर्न सकिन्छ भन्ने उदाहरण छोराले दिएको छ”, मनरुपाले भन्नुभयो, “परम्परागत रुपमा पाल्दै आएको बाख्रापालनलाई अहिले छोराले व्यवसायिकता दिएको छ ।” उहाँका अनुसार तीन वटा परम्परागत शैलीका खोरमा बाख्रापालन गर्दै आएकामा अहिले आधुनिक खोर निर्माणको अन्तिम चरणमा पुगेको छ । बाख्रापालनको खोर सुधारका लागि भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले रु एक लाख १९ हजार र जैमिनी नगरपालिकाले रु २३ हजार अनुदान दिएको चन्द्रबहादुरले जानकारी दिनुभयो । घाँसमा आधारित पशुपालनबाट उत्पादन लागत घट्ने र आम्दानी बढ्ने भएकाले स्थानीय जातका बाख्रा पालनलाई जोड दिइएको उहाँको भनाइ छ । 

प्रकाशित मितिः सोमबार, १७ असार २०८१